कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ब्याकबेन्चर

केशव सिलवाल

फर्स्टम्यानले बेइमानीमा प्रथम हुने कसरत गरेपछि
मलाई ब्याकबेन्चर हुनुमा कुनै अफसोस छैन
कुनै पछुताव छैन

ब्याकबेन्चर

त्यसो त ब्याकबेन्च मेरो संसार हो

म ब्याकबेन्चको भाषा मात्र जान्दछु

ब्याकबेन्चको संस्कृति मात्र मनाउँछु

ब्याकबेन्च नै बाँचिरहेछु

मलाई ब्याकबेन्चर हुनुमै गर्व छ

जब कि सबैले अघाएपछि मात्र

मलाई खाने अवसर हुन्छ

सबैले लगाएपछि मात्र

मलाई लगाउने अवसर मिल्छ

सबैले बसेपछि मात्र

मलाई बस्ने अवसर जुर्छ

म बेन्च सफा गर्दा गर्दै

पछिल्लो लहरमा आइपुगेको हुँ

म अरुलाई बस्ने ठाउँ छोड्दा छोड्दै

पछिल्लो लहरमा धकेलिएको हुँ

देशले जब हाजिर उठाउँछ

अन्तिममा आउँछ मेरो नाम

म मर्न लागिसकेको हुन्छु

तब सबैलाई भ्याएपछि मात्र झुल्किन्छ चिकित्सक

अर्थात् यसो भनौँ–

आउँदै आउँदैन मेरो बाँच्ने पालो

के के हुने हो ?

(म मौन बसेँ भने !)

के के गर्ने हो ?

अगाडिदेखि बीचसम्म भ्याइसक्छन् सबैले

अघिल्लो बेन्चमा बस्नेले गरेको फोहोरमा

मेरो कुनै हिस्सेदारी छैन

ड्राइभरको हातमा लरखराइरहेको स्टेरिङमा

मेरो कुनै योगदान छैन

बस्, म हल्ला गर्दै रहेँ

फर्स्ट बेन्चमा बस्नेले

कहिल्यै सुनेनन् पछाडिको कुरा

कहिल्यै हेरेनन् पछाडि फर्किएर

कहिल्यै चिनेनन् पछिल्लो अनुहार

के के सल्लाह गर्ने हो ?

अघिल्तिर नै हुन्छ

कहाँकहाँ जाने हो ?

अघिल्तिर नै तोकिन्छ

बस, म त दर्शक हुँ

जब पछाडिबाट चियाउँछु

कसैले बीचमै उठेर छेकिसक्छ

म चुपचाप हुँदा

मेरो हिस्साको आँगनको अघिल्लो छेउ

पहिलो लहरको नाममा दर्ता भो

मैले गोडेको रंगीन बगैँचा

अगाडि उफ्रिरहनेका लागि रंगमञ्च भइदियो

अघिल्लो लहरको बेढंग नाच हेरेर

ताली बजाउँदा बजाउँदा

नठान्नू– थाकिसकेको छु म

कसैले पछाडिबाट ढुंगा हान्यो भने

त्यो म नै हुनेछु ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?