१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आपा क्हार्पको इन्द्रधनुष

ठूलो विपत्तिलाई सफलतापूर्वक टेकेर त्यसैमाथि उभिएको लेखक हो— तीर्थ गुरुङ । यस अर्थमा ऊ विजेता हो ।
रोशन शेरचन

सूर्योदय हेर्न उक्लनुस्
बेलुका अबेरसम्मै बसियो । तीर्थ गुरुङको कथासंग्रह ‘आपा क्हार्प’ को विमोचन सम्पन्न भएको खुसियाली, पोखराको चिसो साँझ मज्जैले तातेको थियो । लेकाली चुल्होको आतिथ्यको न्यायो पनि त्यसमा मिसिएको थियो ।

आपा क्हार्पको इन्द्रधनुष

सखारै मोबाइलले ब्युझिएँ । अर्धनिद्रामै थिएँ । ‘दाइ, सूर्योदय हेर्न उक्लनुस्’, तीर्थ गुरुङको धोद्रो स्वर थियो । ढिलो सुतेकाले उठ्न मन लागेको थिएन । तर, सूर्योदय हेर्ने लालसाले ओछ्यान छाडेँ । छेउको ओछ्यानमा प्रकाशक भूपेन्द्र खड्का मस्त निद्रामै थियो । ज्याकेट र जुत्ता लगाई सिकलेसबाट निस्किएँ । हामी बसेको कोठाको नाम सिकलेस थियो । कोठाको नामकरण स्थानबाट गरिएको थियो— घान्द्रुक, सिकलेस, घनपोखरा आदि । सबै नामकरण सायद गुरुङ गाउँहरूबाटै थियो कि ? मनमनै त्यो आइडियालाई प्रशंसा गरेँ ।

होटल टास्कको रुफटपमा तीर्थ अघि नै उक्लिसकेको थियो । पोखरामा झन्डै तीन दशक बसेँ तर मध्यसहरबाट सूर्योदय देख्न सकिन्छ भन्ने पत्तै भएन । मान्छे त्यतिविधि अनभिज्ञ कसरी हुन सक्छ ? सूर्योदय भन्नासाथ सराङकोटको स्मृति मात्रै आउँथ्यो । तर, अग्लो होटल टास्कको माथिल्लो तला त भ्यु–प्वाइन्ट नै हो । त्यहाँबाट सूर्योदय, हिमाल र पोखरा मनमोहक देखिन्थ्यो । हामी सबैभन्दा माथिल्लो तलामा चढ्यौं । तीर्थलाई उचाइको भय रहेछ । रिंगटा लाग्यो भन्दै ऊ ओर्ल्यो । ऊ ओर्ले पनि म चढिरहने कुरा भएन । म पनि ओर्लें र रुफटपमै उत्सुकतावश घाम कुरिरह्यौं ।

माछापुच्छ्रे र अन्नपूर्ण सेताम्मे नदेखिए पनि प्रशस्त चिसो बोकेर ल्याएको थियो । सडकको सुनसान मिररमा सहर अझै निदाएको देख्न सकिन्थ्यो । ‘ल घाम देखियो,’ तीर्थको धोद्रो स्वर फेरि सुनियो । यसपटक त्यो धोद्रोमा थोरै उत्तेजना पनि मिसिएको थियो । सूर्योदयको आरम्भको दृश्य यस्तो देखियो मानौं अबिरमा लत्पतिएको डबल क्षितिजको आकाशको परत उप्काएर अगाडि बढ्दै छ । अब खिच्नुपर्छ, ढिलो गर्नु हुँदैन, यो चाँडै उदाउँछ, घोरेपानीमा प्राप्त मेरो अनुभव बोल्यो ।

तीर्थ र म क्यामेरामा उक्लँदै गरेको सूर्यको दृश्य खिच्न थाल्छौं । त्यो बिस्तारै ठूलो हुँदै गयो । र, लालीमाको वृत्त फैलँदै गयो । ‘वाउ, सुन्दर, सुन्दर !!!’, मेरो मुखबाट शब्द अनायास निस्किरह्यो (पछि मोबाइल हेर्दा थाहा पाएँ, ब्युटिफुल ब्युटिफुल भनिरहेको रहेछु) । सोचेँ, देखिरहेको त्यो सौर्यमण्डलकै केन्द्र हो । पृथ्वीको मात्र नभई असंख्य प्लानेटहरूको पनि केन्द्र, मठ हो । त्यसैको कारण पृथ्वीमा जीवन सम्भव भएको छ । सौर्यमण्डल मात्र होइन, मिल्की–वे ग्यालेक्सीसहित करोडौं ग्यालेक्सीहरूसँग द्रुत गतिमा फैलँदै गएको ब्रह्माण्डमा हाम्रो पृथ्वी कतै अज्ञात दिशातिर वेगले हुर्रिंदै (स्पिनिङ) छ, सोच्दा अभिभूत भएँ ।

विपत्ति टेकेर उभिएको लेखक

जीवनको ठूलो विपत्तिलाई सफलतापूर्वक टेकेर त्यसैमाथि उभिएको लेखक हो— तीर्थ गुरुङ । यस अर्थमा ऊ विजेता हो । मलाई उसको यो विजयी यात्रा अनन्तसम्म हेर्न मन छ । पहिला मृगौला रोग र पछि पारिवारिक विघटन, सानो विपत्ति होइन । सानो कठिनाइमै हात खुट्टा छाड्ने लेखकहरू प्रितकर हुँदैनन् । त्यस्ता लेखकहरू र जुनसुकै क्षेत्रका त्यस्ता व्यक्तिहरूसँग म तर्कन्छु । रुवावासी गर्नेसँग त छेवै पर्दिनँ । तर, केही लेखकहरू राम्रा मात्र लेख्दैनन्, उनीहरूको जीवनले ऊर्जा पनि प्रदान गर्छन् । तीर्थ गुरुङ मलाई त्यही कोटीको लेखक लाग्छ ।

अघि ‘पाठशाला’ र अहिले ‘आपा क्हार्प’ लेखेपछि, ऊ निरन्तरको यात्रामा देखिन्छ । विमोचन कार्यक्रममा लेखक सरस्वती प्रतीक्षाले सही भनेकी थिइन्– खहरेजस्तो हल्ला गर्दै आउने र हराउने लेखकहरू पनि छन् तर तीर्थ दाइ सेतीझैं कहिले फुक्दै कहिले लुक्दै तर निरन्तर लेखिरहने लेखक हुन् । वक्ताद्वय गनेस पौडेल र कुमारी लामाले पनि कथाकार गुरुङको उच्च मूल्यांकन गरेका थिए ।

दुई दशकभन्दा बढी भएछ, तीर्थ गुरुङलाई चिनेको । ऊ उमेरले भाइ हो तर रचनाधर्मिताले होइन । उसको लेखनको परिपक्वता र स्वतन्त्रचेत लोभलाग्दो छ । यस अर्थमा ऊ मेरो सहयात्री हो । लेखकहरू स्वतन्त्र (इन्डिपेन्डेन्ट) र विज्ञानसम्मत भएको जहिल्यै सुन्दर हुन्छ ।

शान्ति स्तूपा बसिबियाँलो

विमोचनको भोलिपल्ट शान्ति स्तूपासम्मको हाइकिङको कार्यक्रम बन्यो । निबन्धकार कुमारी लामा व्यस्तताले काठमाडौं फर्किइन् । लेखकद्वय गनेस पौडेल र तीर्थ गुरुङ, आर्टिस्ट कृष्ण मर्सानी, त्रिवेणी भाइ र म छोरेपाटनमा ओर्ल्यौं । खाजाघरमा चिया–चना खाई उकालो चढ्यौं । समीको चौतारा हो सायद, त्यसमा कविता वाचन दृश्यांकन गर्‍यौं । कवि भूपीनको ‘सुप्लाको हवाईजहाज’ संग्रहबाट तीर्थले एउटा कविता पढ्यो । मैले गिम्बलमा मोबाइल अड्याएर क्यामरा मोडमा राखेँ । गनेस र मैले भिडियो खिच्यौं । पार्दी, बिरौटाको उज्यालो पृष्ठभूमिमा तीर्थको सिलहट अमूर्त आएको छ । म फ्रेममा अलि उज्यालो खोज्दो रहेछु, गनेस डार्क ।

चौतारोबाट उकालो लाग्छौं । म हिजोको विमोचन कार्यक्रम सम्झँदै छु । तमू समाजले आफ्नो समुदायको प्रतिभाप्रति दर्साएको प्रेम सम्झिरहेको छु । गौरी तमूलगायतको सक्रियता सम्झिरहेको छु । पछिल्लो पाँच–सात वर्षको अवधिमा, पोखराको साहित्यमा हस्तक्षेप सम्झने हो भने त्यो कविता विधामा नभई आख्यानमा देखिन्छ । अब एक्लो लेखकले हस्तक्षेप गर्न अत्यन्त कठिन छ । तीन–चार जनाको समष्टि बल नमिस्सिए अनुभूति गर्ने तहमा हस्तक्षेप अब असम्भवप्रायः नै छ । हिजो एउटा संयोग भएको थियो । ‘नथिया’, ‘पाठशाला’ र ‘पैताला’ लेख्ने तीनै लेखकहरू एकै मञ्चमा देखिएका थिए । भिन्न धारका यी उपन्यासहरूले नेपाली औपन्यासिक फाँटमा देखिने तरंग ल्याएकै हो ।

रैथाने गनेस अन्य मामिलामा पनि चल्तापुर्जा छ । बाटैबाट उसले स्तूपाको एक होटलमा ढिँडो र लोकल कुखुरा तयार पार्न भन्यो । छोरेपाटनबाट एक घण्टाको यात्रा हो । तर, बात मार्दै बिस्तारै उकालो चढ्यौं । घामको न्यायो किरणले डाढमा छरिएर धकेल्दै थियो । स्वच्छ हावाले चराचुरुंगीको चिरबिर बोकेर आवतजावत गरेको देख्न सकिन्थ्यो । प्राकृतिक सान्निध्य र संगतिको मात चढ्दै गएको थियो ।

एलिट अर्ग्यानिक हाउसको छेवै क्रान्तिकारी चे–ग्वेभाराको चित्र कोरिएको थियो । त्यो कुनो सेल्फी कर्नरको रूपमा प्रसिद्ध छ । गनेसले आइडिया फुरायो– अर्ग्यानिक हाउसको अग्लो फलामे भर्‍याङ क्रमशः चढ्ने र त्रिवेणीले तलबाट भिडियो खिच्ने । माथि हलमा पुगेपछि झ्यालबाट क्यामेरातिर फर्केर हात हल्लाउने । गनेस अवतारी हो, विचित्र गर्छ । रुफटपबाट हिमाल, ताल र पोखराको दृश्य अद्भुत देखिन्थ्यो । मैले कवि विमल निभाको ‘आगोनेर उभिएको मानिस’ को एउटा कविता वाचन गरेँ । त्यसपछि गनेस र तीर्थको ‘आपा क्हार्प’ माथिको अनौपचारिक वार्तालाप सुरु भयो । त्रिवेणी, राजु क्षत्री र मैले भिडियो खिच्यौं । उन्मुक्त हाँसो हाँस्दै गनेसले कथाहरूउपर तीर्थको विचार जान्न चाह्यो । मिथककै बारेमा धेरै कुराकानी भयो । गुरुङ मिथकको प्रयोगले शीर्षक कथा ‘आपा क्हार्प’ विशिष्ट बनेको छ । त्यसमा ठूलो छोरासँग भाग्ने आमाको कथा छ । हामीले इडिपस कम्प्लेक्सको बारेमा सोफोक्लेसको ‘किङ अडिपस’ नाटकबाट थाहा पायौं तर त्यो ग्रन्थी (कम्प्लेक्स) हाम्रै जनजाति मिथकमा सदियौंदेखि रहेछ ।

एलिट हाउसको लोकेसन गज्जब छ । हलचल मच्चाउँछ । ढिँडोसँग लोकल कुखुराको झोल खाएर तृप्त भयौं । त्यसपछि शान्ति स्तूपाको दर्शनमा निस्क्यौं । ‘सौं चुहा खाके बिल्ली हज चली’ भनेजस्तै भएको थियो । मांसाहारी खान्की खाएर स्तूपा पुगेका थियौं । कोरोनाको कारण बन्द भएपछि स्तूपा हिजो मात्र खोलिएको रहेछ । करिब पैंतालीस मिनेट रानीवन हुँदै ओरालो हिँडेपछि फेवा किनारमा आइपुग्यौं । इन्द्रधनुषको अर्को रङलाई किनारमै बिदा गरेर डुंगा चढ्यौं ।

चित्रकार कृष्ण मर्सानीसँग

कृष्ण मर्सानी पोखरेली साथी । उनीसँगको परिचयको आयुले तीस वर्ष नाघिसक्यो । मेरा धेरै साथी छैनन् । तर, भएका साथीसँग दस, पन्ध्र, बीस वर्षभन्दा अधिकको घनिष्ठता छ । नयाँ साथी बनाउनुभन्दा पुरानै सम्बन्धलाई मलजल गर्न र सम्भव भएसम्म थाँक्रो हाल्न रुचाउँदो रहेछु, म । नयाँ साथी बनाउने मामिलामा म कन्जरभेटिभ नै छु । म पोखरा जाऊँ, कृष्णसँग कुरा नहोस् वा नभेटिहोस्, त्यो सम्भव छैन । फेवा किनारमा बियर खाएर बात मार्नु प्राथमिकतामा पर्छ ।

विसं २०४५ सालमा पश्चिमाञ्चल वन निर्देशनालयमा रेन्जर हुँदा परिचय भएको । म प्राविधिकतर्फ थिएँ । उनी प्रशासनतर्फ । कृष्णको अर्को परिचय छ, चित्रकारको । मुखाकृति बनाउन उनी अब्बल छन् । हरेक बिहान फेसबुकमा बसिबियाँलो शीर्षकमा उनले लेखक, कवि, राजनीतिज्ञ वा आफ्नो क्षेत्रमा ख्याति कमाएका हस्तीहरूको पोट्रेट बनाएर पोस्ट गरेको वर्षौं भइसक्यो ।

मलाई ताल किनारका रेस्टुरेन्टहरूले जहिल्यै मुग्ध बनाउँछन् । काठको मुढा भएको एउटा रेस्टुरेन्टमा छिर्‍यौं । अगाडि ताल छ । पानी नजिक भएपछि मन अधीर हुन्छ । हिमाल तर तालको विपरीत छ । त्यसले धैर्य र स्थिरता भाव दिन्छ । मन्द बतास चलिरहेको छ । बैंसका रूखहरू मानौं स्वागतार्थ उभिएको छ । बियर अर्डर गर्छौं । कस्तो संयोग ! प्रकृतिको सान्निध्यमा बियर आइपुग्छ— नेचर ब्रान्डको । चुस्की लिँदै अब केहीबेर प्रकृतिछेउ मौन बस्न चाहन्छौं । आखिर हिजोदेखि नै हामीले धेरै बातचित गरिसकेका थियौं ।

प्रकाशित : फाल्गुन १५, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?