पहाडको अर्थ खोज्दै

किताबले हिमाली संस्कृति, नेपालका विविध जातजातिको मिथकदेखि पश्चिमा संस्कृति र सभ्यताको उकाली–ओरालीलाई सम्बोधन गरेको छ
विश्‍व सिग्देल

मानिससँग हिँड्दाहिँड्दै कहिल्यै नसकिने बाटाहरू हुन्छन् । खाँदाखाँदै कहिल्यै नसकिने खाने क्रम हुन्छ । लाउँदा–लाउँदै नसकिने लुगाहरूको फेहरिस्त, गाउँदा–गाउँदै नसकिने जीवनगीत अनि लेख्दा–लेख्दै नसकिने खाली पानाहरूको थाक हुन्छ । अर्थपूर्ण संगति खोज्दाखोज्दै ती पानाहरू खाली नै रहन पुग्छन् । मेरो अगाडि प्रत्येक पानाहरू सुन्दर कविताले भरिएका ‘पानाहरू खाली छन्’ नामको युयुत्सु आरडी शर्माको कविता संग्रह छ ।

पहाडको अर्थ खोज्दै

वर्तमानलाई कठिन घडी नभनेरै ती कठिनताहरू उनी आफ्ना कवितामा पस्कन्छन् । हामीले भोगेका आरोह–अवरोह अनि हाम्रा भनाइ र गराइको बेमेलले गोडमेल गरेका भग्न मान्यताहरू पस्कन्छन् । कविता साधनामा दिन–रात ध्यानमग्न एउटा मिलरेपा फुत्त निस्कन्छ तार्के घ्याङ तलको ‘मिलरेपा गुफा’ बाट र छरिन्छ हावाले देबदारका हाँगामा अडिएको हिउँ–भुइँ झारेर छरेजस्तै ‘पानाहरू खाली छन्’ भित्र ।

पहाडको अर्थ खोज्ने जमर्कोमा आफैं पहाड हुन रमाइरहेका देखिन्छन् युयुत्सु । हिमालको अर्थ खोज्न अग्लिने र पग्लिने लगातार भइरहन्छन् उनी । खच्चरहरूका खुरहरूबाट उडेको धूलो र फुर्वाको शेर्पा भान्साघरबाट पुत्ताइरहेको धुवाँमा रङमगिएको तस्बिर उनी उन्दछन् आफ्ना कवितामा । शेर्पिनी आमाको आतिथ्यको सबभन्दा गहिरो निद्रा सुतेपछि यशुको क्रस ओसारिरहेको बूढी हजुरआमाको कमजोर ढाड उनी अनुभव गर्छन् । शिखरको ऊर्जाले बोकिरहेको खोंचहरूको अवसाद लुक्दैनन् उनका कवि मस्तिष्कबाट । उनी लुङ्दर भइदिन्छन्– फर्फराउँछन्, उनी देउरालीका ढुंगा भैदिन्छन्– कसैको हृदयले चढाउँदै जान्छन्– थिचिन्छन्, उनी हिमाली खोला भैदिन्छन्– काँचो गीत प्रकृतिको गाई हिँड्छन् । तिब्बती लामाको मन्त्रको कर्णप्रिय ध्वनिजस्तै उनका कविता बिम्ब र प्रतीकहरूमा उनिन्छन् र प्रस्तुत हुन्छन् । उनी कतै बोधगम्य कतै हाम्रो मनजस्तै अबोध्य बन्छन् ।

‘पानाहरू खाली छन्’ संग्रहभित्र भाग एक, दुई, तीन र चार गरी भिन्न कालक्रममा लेखिएका कविताहरू छन् । भाग एकमा उनले पहाडको अर्थ उपशीर्षक दिँदै १६ वटा कविता पस्किएका छन् । कविले यी कवितामा अग्रज नेपाली कविलाई नमन गरेका छन्, जसले संघर्षको एउटा गोरेटो कोरेका थिए । विश्वले नेपाललाई हेर्ने आँखामा बुद्ध र लुम्बिनी कसरी अंकित हुन्छ र तिनीहरूको वर्तमान मूल्य विघटनको कथा उनले यी कविताहरूमा उनेका छन् । क्षय हुँदै गरेको संस्कृति, खिया लाग्दै गरेको संस्कार र वर्तमानका धपेडीहरूले गुम्स्याएका दुर्घटित यौनको पाटोमा उनले नेपाली समाजको चित्रण गरेका छन् । जसमा गरिबी, भोक र करुणाको शृंखला अटुट देखिन्छ । फ्रायडेली यौन बिम्बलाई खेलाउँदै हाम्रो मगजको फोहोरलाई प्रकाश पार्ने काम केही कवितामा भएको देखिन्छ भने केही कवितामा पहाडको अर्थ पर्गेल्ने कविका शब्द

सामर्थ्यले टक्क रोकिदिन्छ यसरी कि आमाका सपनाहरूमा आमाहरू यथार्थसँग पौंठेजोरी खेल्दै सपना देख्न हौस्याउँछन् छोराहरूलाई– आमाका शब्दहरू/मेरो पिरो स्तब्ध मुटुको सतहमा/बिस्तारै खस्छन् ।

‘खच्चरहरू’ उपशीर्षकमा उनका आठवटा कविता छन् । बर्सेनि हजारौं पर्यटकको आकर्षणको केन्द्रविन्दु रहेको अन्नपूर्ण सर्किटको जीवन्त वर्णन कवितामा पाइन्छ । खच्चरका घाँटीको घण्टीले पहिल्याउने बाटो पछ्याउँदै कवि उँभो लाग्छन् । नीला नदीहरू, ढुंगाका डंगुर मानौं, एक–एक बुद्धका वाणीहरू कुँदिएका अक्षरहरू छरिएजस्तै, हावामा फर्फराइरहने लुङ्दरहरू, कुइराले छोपेको हिमाली भेगका झुप्राहरू र त्यहाँका जीवन उनी टपक्क टिप्छन् । आधुनिकता र विश्वव्यापीकरणको दाह्रा र नंग्राले गाँज्दै गएको हाम्रो पहाडको चित्रको कोलाज उनी पस्कन्छन् । तेस्रो भागमा फुर्वाको यार्लिङ नाम दिएर उनले लाङटाङ–गोसाइँकुण्डको पदयात्राका विविध रङहरूलाई समेटेका छन् । हिमाली संस्कृति, जनजीवन र मिथकलाई उनले आफ्ना कवितामा सुन्दर ढंगले प्रस्तुत गरेका छन् । कलात्मक प्रस्तुति र बिम्बात्मक भाषाले काव्य रस हिमाली झरनाझैं उनका कवितामा झर्छन् । खच्चरका घाँटीका घण्टीले पहिल्याएको गोरेटो छिचोल्दै कवि हिमाल पढ्छन्, पहाड पढ्छन् र पढ्छन् टाकुराहरूले छोपेको उपत्यका– उँघिरहेको उपत्यका/तारैताराले भरिएका आकाशहरूले चिनेका छन्/तिनका गोप्य पसिनाका चस्स दुखाइहरू ।

वर्षको आधाआधी कविता पाठ, लेखन कार्यशाला आदिका लागि विदेशमै बिताउने युयुत्सुले संग्रहको भाग चारमा ह्विटम्यानकी छोरी उपशीर्षक दिएर एघारवटा कविता पस्केका छन् । उनका यी कवितामा पश्चिम समाजको चित्र पाइन्छन् तर त्यो पश्चिमा समाजलाई कवि पूर्वीय बिम्ब, प्रतीक र मिथकहरूको साहारा लिई चित्रण गर्छन् । हाम्रो भन्दा विल्कुल भिन्न परिवेशलाई पनि कविले लेखकका आँखाले नापजोख गरिहाल्न भ्याउँछन् र जीवन्त प्रस्तुत गर्छन् । पश्चिमाहरूको खुला सोच, अग्ला भवन, रंगीचंगी बजारको मात्र कवि कुरा गर्दैनन्, ती ठाउँमा भूमिगत मार्ग र ट्युब स्टेसनमा रहेका मागेर गुजारा चलाउनेका कथा पनि उनी बिर्संदैनन् ।

किताबले हिमाली संस्कृति, नेपालका विविध जातजातिको मिथकदेखि पश्चिमा संस्कृति र सभ्यताको उकाली–ओरालीलाई सम्बोधन गरेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?