छोरा पाउँदिनस् !

मैले छोरा नजन्माउँदा मसँग तपाईंका अनेक गुनासा होलान् । तर, माफ गर्नुहोस्, म मेरो निर्णय बदल्ने छैन ।
अनिता न्यौपाने

घरमा बुबाको श्राद्ध थियो । हामी टीका लगाउन लाम लाग्यौं । पहिले छोरी अनि म । पुरोहितले मेरो निधारमा केशरी लतपतिएको बूढीऔंलो घसार्दै सोधे, ‘कति छन् बच्चाबच्ची ?’

छोरा पाउँदिनस् !

-‘यही एउटी छोरी ।’

-‘आम्मै कहाँ हुन्छ ! छोरा त चाहियो नि !’

-‘तपाईंका छोराहरू के गर्छन् नि ?’

-‘कोही ड्राइभर छन्, कोही काठमाडौंतिर हल्लिरहेका छन् !’

-‘खुसी हुनुहुन्छ त छोराहरूदेखि ?’

-‘खुसी त छैन । तर, सन्तुष्ट छु । गर्वका साथ भन्न पाएको छु– मेरा छोरा छन्, त्यो पनि तीन–भाइ ।’

-‘मेरी छोरी मेरा लागि सन्तुष्टि, गर्व, रहर, सपना सबै हो । तपाईंको र मेरो रोजाइको विषय फरक छन् पक्कै !’

यस्ता प्रश्नको सामना गर्ने ममात्रै होइन । अनि तपाईं मात्रै पनि होइन । तपाईं–हामीजस्ता धेरैजसोलाई बर्सिरहेकै हुन्छन् परम्परावादी प्रश्नहरू ।

छोरीलाई ‘अर्काको घर जाने जात’, ‘अर्काको नासो’ भनिएको सुन्नुभएको छैन भने एकचोटि सोच्नुस्– तपाईं यही समाजमै बसिरहनुभएको छ ? अझै पनि धेरै महिला छोरा नजन्माएकैले घरबाट निकालिन्छन् । लिंग पहिचानपछि भ्रूणहत्याको ग्राफ उकालो लागिरहेकै छ । ‘ढिकुरोको पुजारी’ जन्माउनकै लागि लोग्नेहरू दोस्रो विवाहको तयारीमा छन् । लोग्नेको यातनापछि आत्महत्या गर्नेहरू पनि बढेकै छन् ।

कुनै उत्सव वा कार्यक्रम होस्, गाउँका मान्छेहरूको पहिलो प्रश्न यही हुन्छ, ‘छोरा कहिले पाउने ?’ अनि प्रश्नसँगै सुरु हुन्छन् झर्कोलाग्दा उपदेशहरू– छिटो गर् पछि पछुताउलिस् । उमेर हुँदै पाउनुपर्छ, उमेर नाघेपछि फेरि गाह्रो हुन्छ । लोग्ने फेरि अर्को केटीपट्टि लाग्लान् नि ! होस् पुर्‍याउनू ! केटा मान्छेको त भर हुन्न है !

वास्तवमा म निकै भागेँ प्रश्नहरूसँग । लामो समय माइती गइनँ, देखिइनँ मान्छेहरूमाझ । अब त अति भो । कति भोगूँ तनाव ! कत्तिलाई गाली गरौं ? कत्तिलाई जवाफ दिऊँ ? अब लिन्नँ तनाव, दिन्नँ जवाफ कसैलाई । चाहे जति नै छुटून् अब सम्बन्धहरू ।

***

म पनि तीन दिदी–बहिनीमध्येकी माइली हुँ । दाजु–भाइ छैनन् । हामी आफ्ना दुःख दिदीबहिनीमै बाड्छौँ । आमालाई दुःख दिएका छैनौं । आमालाई हामीमाथि गर्व छ, हामीलाई आमामाथि ।

म सानो छँदा हजुरबा–हजुरआमाले ‘अब यसको वंश सिद्धिने भयो’ भनेर आमालाई धेरैपटक रुवाएको घटना मेरो स्मृतिमा ताजै छन् । छोरा नहुँदा आमाले प्रत्येक दिन भोगेका बुहार्तन म सायदै बिर्सन सक्छु । गाउँतिर, बिहे–बटुलतिर गइरहेकी आमालाई मान्छेहरू भन्थे– ल हेर, छोरीको लर्को लेर आई ! छोरा नभएसम्म यसको पानी चल्दैन ! मरेपछि यसको काजकिरिया कसले गर्छ ? अनेक प्रश्न र विस्मय बोकेर सदिऔंदेखि बाँचिरहेको छ मेरो समाज ।

मेरी आमाले त छोरा जन्माइनन् । सानिमाको दुःखको कथा पनि उत्ति फरक छैन । बिहे भएको वर्षौंसम्म पनि सानिमाको गर्भमा बच्चा बसेन । अनेकौं धामी–झाँक्री लगाइयो । अनेकथरी झार–जडीबुटी खुवाइयो । बेलैमा अस्पताल पुर्‍याउन नसकेको भए सायद सानिमाले आजको दिन देख्ने थिइनन् । बिहे गरेको १९ वर्षसम्म बच्चा नहुनुको दोष सानिमा एक्लैले आफ्नो थाप्लोमा बोकिरहिन् । २० औं वर्षमा अस्पतालमा लाखौं रुपैयाँ खर्च गरेर सानिमाले छोरा जन्माइन् । त्यसपछि उनको मुहारमा फुलेको सन्तान–सुखको फूल साँच्चै हेर्नलायक थियो ।

आमाले जस्तै, सानिमाले जस्तै मैले पनि जीवनभर एउटै प्रश्नको सामना गरिरहनुपर्ने ? हजुरआमा, आमा, छोरी– सबै पुस्ताले दुःखको उही जाँतोमा घुमिरहनुपरेको छ । हामी छोरीहरूको यो कस्तो नियति ? जुन घरमा दुर्गा, देवी, लक्ष्मी, सरस्वतीको पूजा हुन्छ, त्यही घरमा कैयौं बुहारीहरू छोरा पाउनैपर्ने दबाबमा बाँचिरहेका छन् । वास्तवमा हाम्रा धेरै बुहारी मानसिक तनावमा छन् । समाजले यस्तो व्यवहार प्रदर्शन गर्छ– मानौं छोरा नजन्माएर आमाहरूले जघन्य अपराध गरिरहेका छन् र उनीहरू दण्डका लायक छन् ।

पढेलेखेका, स्कुल–कलेजतिर समानताको पाठ पढाउने व्यक्तिबाट पनि यस्ता प्रश्न आउँछन् । छोरा नजन्माएका दम्पतीलाई उनीहरूको दबाब हुन्छ– कुलको दीप नबल्ने भयो तपाईंको घरमा ! जहिले पाए पनि हुन्छ, एउटा छोराचाहिँ पाउनुस् ! भोलिको भविष्य भनेकै छोरा हो ! छोरीले त छोडेर गइहाल्छन् ! छोरीका लागि साथी पनि त चाहिन्छ !

पारिवारिक दबाब ! सामाजिक दबाब ! मानसिक दबाब ! दबाबको विशाल चट्टानले थिचिएर मानिसहरू जीवनभर दुःखको यात्रा गरिरहेका छन् । दबाबैले कलेज जाने छोरीका अघि भर्खरै छोरा पाइरहेका आमाहरू हाम्रै आँखाअघि देखिन्छन् । आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा छोरीहरूमाथि गरेको व्यवहारमा हाम्रो समाजले कहिल्यै आत्मसमीक्षा गरेको छैन ।

एउटा घटना पढौं । एक जना शिक्षक छन्, उनी कविता पनि लेख्छन् । श्रीमतीले छोरीको रहर सुनाइरहँदा उनी छोरै पाउनुपर्छ भनेर श्रीमतीलाई अस्पतालमा तर्साइरहेका थिए । त्यति मात्रै होइन, समाजका उच्च तहका नागरिक पनि श्रीमतीको पेटमा छोरा कि छोरी भनेर गरिने भ्रूणपरीक्षणको लाइनमा उभिएका भेटिन्छन् । उफ्, भ्रूणपरीक्षणको लाइनमा उभिएका उनीहरूको विचार हुन्छ– छोरा भए राख्ने, छोरी भए फाल्ने ! सम्झेरै नौनाडी गल्छ मेरो ।

जसरी सदिऔंदेखि आमाहरूले यस्ता प्रश्नको सामना गरे, अबको पुस्ताले यी प्रश्न गर्नेलाई भन्न सक्नुपर्छ– म मेरी छोरीमै सन्तुष्ट छु ! लोग्नेलाई श्रीमतीले भन्न सक्नुपर्छ– मेरो कोख मेरो अधिकार ! म कसैका लागि बच्चा जन्माइरहन सक्दिनँ !

मैले छोरा नजन्माउँदा मसँग तपाईंका अनेक गुनासा होलान् । तर, माफ गर्नुहोस्, म मेरो निर्णय बदल्ने छैन ।

प्रकाशित : फाल्गुन १५, २०७७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?