१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एउटा मण्डपमा 'सेमियोटिक्स’

भृंगी भेडा हो । भिरंग रोग (सिफिलिस) बनेको हो सिपिलस नामको पात्रबाट भन्ने ग्रिक आख्यान छ । सिप भनेको भेडा नै हो । पूर्वबाट टिपेकाले ग्रिक आख्यान यतिबेलासम्म भ्रमान्ध भइसकेको छ ।
सौरभ

सेमियोटिक्सको अर्थ
नयाँ उब्जेका प्रतीकहरूलाई शास्त्रीय रूप दिने, त्यसको मूल्यलाई स्थापित एवं व्याख्या गर्ने कार्य हो सेमियोटिक्स साह्रै सरल भाषामा भन्नुपर्दा । मोटो अर्थमा प्रतिमा लक्षणशास्त्र (आइकनोग्राफी) र सेमियोटिक्समा भिन्नता छ जस्तो लाग्दैन पनि । तर, यसको चलन नै नेपालमा नभएको हुँदा सेमियोटिक्सलाई एउटै शब्दमा परिभाषित यतिबेला गर्न सकिन्न । त्यो हास्यास्पद हुन पुग्छ, कृत्रिम लाग्छ ।

एउटा मण्डपमा 'सेमियोटिक्स’

मण्डपको पृष्ठभूमि

यो मण्डप उपत्यकाको पश्चिमी भागमा पर्ने आदेश्वर महादेव मन्दिर परिसरभित्र २०७६ सालमा पुनर्निर्मित चाहिँ हो । जुन २००३ सालमा निर्माण भएर कालान्तरमा जगान्तर हुन पुगेको थियो ।

सीमितता र समिति

पुनर्निर्माण गरिनुपर्ने स्थानमापको सीमितता र स्थानीय संरक्षण समिति, पुरातत्त्वका स्थानविशेषको जिम्मेवारी लिएका पदाधिकारी आदिसँगको सर्तमूलक सहकार्य भएको एउटा लामो समयपछि १८x१२ फिटको यो मण्डपलाई वर्तमान रूप दिन सकियो ।

अब यो माथिको तीन उपशीर्षकको भूमिका छोडेर सोझै सेमियोटिक्समा जाऊँ ।

गजुर

तीनवटा गजुर छन् यसमा । बीचको ठूलो चाहिँले नेपालका आदिदेव शिवको प्रतिनिधित्व गर्छ । शिवको गजुरमा सामान्यतः एउटा कलश आकार हुन्छ । तर, कलश नै भनेर राखिएको पाइँदैन । यसमा जानाजान कलश राखिएको छ, कैलाशको प्रतीकको रूपमा, त्यो पनि एउटामाथि अर्को गरेर । एउटाले पार्वती र अर्कोले गंगाको प्रतिनिधित्व गर्ने गरी । यहाँ पंक्तिकारले तोकेको गंगा इन्डिया उत्तरको होइन, गांगरी (कैलाश) बाट मानसरोबर, त्यसपछि पानीको सानो सोतोबाट राक्षसताल हुँदै बगिआउने घोंगज्यू (कर्णाली) हो ।

यो गजुरमा कमल छैन । कमल नेपालको रैथाने होइन । र, कामदेवको वाणमा कमल परेकाले नेपाली मान्यतामा शिवलाई चढ्न पनि सक्दैन । तर, पाटन, हौगलका गजुर निर्माता बज्राचार्य, शाक्य र अन्य उनीहरूको शास्त्र मिलेन भन्दै कमलपत्र नहाली गजुर बनाउन तयार भएनन् ।

तिनलाई बौद्धकमल पलेस्वाँ होइन पुण्डरिक स्वाँ हो भनेर बुझाउनसमेत सकिएन । बज्राचार्यले नै बज्रयानी कमल उफो स्वाँ हो भनेर बुझ्न नचाहनु त झनै परेको कुरा । बनाउने नै हो भने एकैपल्ट बाह्रवटाको अर्डर दिनुपर्ने सर्त तेर्स्याए तिनले । अन्ततः हौगलमा पसल खोलेर बसेका विष्णु खत्री तयार भए यो बनाइदिन । यसपछि मात्र यो र अन्य दुई बिनाकमलका गजुरको निर्माण हुन सक्यो । विष्णुसँगको भेट धार्केमा गोरखनाथ मन्दिर निर्माणका अभियन्ता सरोज श्रेष्ठले गराएका हुन् ।

पूर्वी गजुर गणेशका लागि समर्पित छ । यसमा पित्तलबाट बनेका हात्तीका दुई दाह्रा दक्षिणतर्फ तेर्सिएका छन् । किनभने गणेशको शिर नै हात्तिको हो र हात्तीका कम्तीमा छवटा प्रजातिका प्रागऐतिहासिक अवशेष नेपालमा पाइएका छन् । दाह्रा हौगलकै अर्जुन घतानीले बनाएका हुन् ।

पश्चिमी गजुर कुमारका लागि समर्पित छ । कुमारको गजुरमा वाण छ । हाम्रो परम्परामा वाणको रूप वाणलिंगमाथि मात्रै हुन्छ तर यसमा वाण हालिनुको कारण कुमार युद्धका देवता भएर हो ।

अमात्य, जोशी, राजभण्डारी, प्रधान, मास्के आदि छथरी श्रेष्ठ अर्थात् उच्च भारदार हुन् र अरू श्रेष्ट (संस्कृतको श्रेष्टी, स्रेस्तादार अर्थात् व्यापारी) हुन् भन्ने भिन्नता बुझियो भने कुमार र गणेशको भिन्नताबोधले दसौं हजार वर्षको नेवार संस्कृतिलाई अरू टड्कारो पार्छ ।

जब नेवारहरू उपत्यका बसाइँको आदियुगमा थिए, ती भिडन्तमा विश्वास गर्थे । तिनको कुमारकेन्द्रित पूजा चरममा थियो । जब ती युद्ध छोडेर व्यापारमा लागे तिनको बिघ्नेश (गणेश) पूजन चर्केर गयो । गणेश, भीमसेनको पूजा तिनले व्यापार फलाइफुलाइ दिऊन् भनेर होइन, बिघ्न नपारिदिऊन् भनेर पन्छाउन सुरुमै गरिने पूजा हो । यो मूलतः इन्डियन चलन हो । र, उतैबाट आएको हो । मच्छिन्द्रनाथ पूजाको सुरुमा हुने बौपूजा (भूत पूजा) जस्तै हो । नतिजा के भने कुमार पूजा आज लत्रेर सिठिनखमा सीमित हुन पुगेको छ ।

गजुरको ‘प्लिन्थ’

अहिले प्लिन्थ शब्दलाई गजुर उभिएको धरातल वा आधारको क्षेत्र भन्ने बुझौं । यो प्लिन्थ पूर्व पश्चिम तेर्सिएको छ । त्यो शिवलेक (चुरे शृंखला) को प्रतीक हो । जहाँ कुमारको प्रतीक ‘षर’ (वाण) अर्थात् जिनस ‘थेमेडा’ का बहुल प्रजातिहरू पाइन्छ, जुन शिवको त्रिशूलको पूर्वरूप पाटे सिउँडीको प्राकृतिक स्थल हो । र, जहाँ गणेशको प्रतीक प्रागऐतिहासिक हात्तीका पाँच प्रजातिका अवशेष शिवलेकको उत्तर र दक्षिण फेदीका खोलाहरूमा पाइएको छ ।

वाण (अस्त्र) र त्रिशूल एवं दाह्रा (शस्त्र) हुन् । त्रिशूल आकाशतिर फर्काउने चलनले मात्रै ऊर्ध्वाकारको राखिएको होइन । भारवीको ‘किरातार्जुनीय’ को कूटनीतिक आशयलाई केशरबहादुर केसीले व्याख्या गरेको कार्यलाई सम्मानित गरिएको पनि हो । मानदेवका छोरीपट्टिका नाति मानिन्छन् भारवी ।

गजुरमाथिको प्रतिवाद

४ भदौ २०७६ मा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको ‘डिपार्टमेन्ट अफ आर्किटेक्चर’ ले एउटा प्रवचन कार्यक्रम राखेको थियो— तीन ‘नन आर्किटेक्ट’ हरूको । ती तीनमध्येको एक पंक्तिकारले यस मण्डपमाथिको आफ्नो व्याख्या सकेपछि श्रोतावर्गका तर्फबाट आर्किटेक्ट सुदर्शन तिवारीको भनाइ आयो— तर नेपालमा गजुरको इतिहास छैटौं शताब्दीदेखि मात्रै भएको पाइन्छ ।

निश्चय नै रोनाल्ड बर्नियरले ‘द नेप्लिज पगोडा ः अरिजिन एन्ड स्टाइल’ मा जस्तो लाग्छ पगोडा शैलीको सबैभन्दा पुरानो मन्दिर इन्डियाको हिमाचल प्रदेशको चाम्बामा भएको कुरा एक ठाउँमा लेखेका छन् । जुन शैली पश्चिम नेपालका शिखर शैलीका मन्दिरहरूसँग मिल्छ । तर यो पगोडाशैली होइन, बर्नियरको त्रुटि छ यसमा । र, दसौं शताब्दीभन्दा अघिको पनि होइन ।

बरु अश्वघोषले बुद्ध निर्वाणको पाँच सय वर्षपछि लेखेको ‘बुद्धचरित’ मा तत्कालीन शुद्धोधनको दरबारछेउको एक ठाउँमा हात्तीले फूलमाला चढाउने गरेको कुरा उल्लेख गरेका छन् । गजको अर्थ हात्ती हो । गजराको अर्थ जुरोमा लगाइने माला हो । गजको जुरो हो गजुर । यसर्थ गजुरको चलन छैटौं शताब्दीदेखिको हो भन्ने गरिए पनि त्यो छैटौं शताब्दीदेखि मात्रै सुरु भएको हो भन्न गाह्रो छ । किनभने इतिहास दस्तावेजहरूको रिसाइक्लिङ मात्रै होइन, प्रजेक्सन पनि हो । यद्यपि प्रागऐतिहासिक हात्तीको युगमा नै गजुर थियो भन्ने आशय पंक्तिकारको किमार्थ होइन ।

गजुर लक्ष्मीप्रसाद बास्तोलाले फिट गरेका हुन् ।

गजुरको रङ

यो रङको कुरोमा जानुअघि पशुपतिमा हालिन लागेको अर्बौं मूल्यबराबरको सुनको जलहरीको सन्दर्भ उठाउनु सही हुनेछ । सुनको जलहरीले पशुपतिको सांस्कृतिक मान्यताको उल्लंघन हुने हुँदा तीव्र विरोध गरेर रोकिने उद्घोष त्यहाँका वैद्य, भण्डारी, बिसेटहरूले गरिरहेका छन्, तर दुई सय वर्ष मात्र पुरानो चाँदीको जलहरी समात्दै भएको यसको विरोध सय प्रतिशत मात्र होइन एक सय एक प्रतिशत अज्ञानताको परिचायक हो ।

शिवको एउटा नाम अर्जुन हो । र, अर्जुनको अर्थ सुन पनि हो । शिवको एउटा नाम हाटक हो । र, हाटकको अर्थ सुन नै हो । यसैले एउटै परिवारका सदस्यहरूको पर्यायवाची नाम हिरण्यशमशेर, सुवर्णशमशेर, रुक्मशमशेर, कनकशमशेर, हाटकशमशेर हुन गएको हो । नभन्दै पशुपतिमा पारसमणि छ, जसलाई कुनै धातु छुवाए पनि सुन बन्छ भन्ने किंवदन्ती नै छ । भलै पारस भनिएको वस्तु कच्चा धूलोबाट सुन मात्रै सोसेर लिने पारो नै किन नहोस् । हरेक भोगमा एक तोला सुन हाल्ने चलन भएको चाहिं किन हो ? तिनले जवाफ दिनुपर्छ अब ।

यसैले यस मण्डपको गजुरमा टिन र तामाको निश्चित मात्रा मिलाएपछि बन्ने सुनौलो रङ लगाइयो ।

(प्रसंग मोडिएको नलागोस् पाठकहरूलाई । पशुपतिको सुनको जलहरीप्रति पंक्तिकारको एउटा अर्कै संशय भने छ । २ सय वर्षअघिका शासकहरू सुनको जलहरी हाल्न नसक्ने मानिस थिएनन् । तर, तिनले किन हालेनन् होलान् भन्ने सोच्नुपर्छ ।

अर्बौं मूल्यको सुन खुला रूपमा हालिएपछि त्यो चोर्ने मनसायले हुने आक्रमण र तोडफोडको आशंका निरन्तर भइरहन्छ । पशुपति सेनालाई सुम्पिनुपर्ने, अनावश्यक बोझ आइलाग्छ नै । सम्भावित तोडफोडले पशुपतिलाई आसन्न संकटमा धकेल्छ समसुद्धिन इलियासको कालमा जस्तै । अरब स्प्रिङपछि लिबिया र इजिप्टका संग्रहालयहरूमा भएका लुटलाई बिर्सिदिने हो भने कुरा अर्कै हो ।)

झंगटी र छानाको चरा

छानाको चरा अग्निपन्छी हो र चीनको कुन्लुनसानबाट हिउँदतिर आउने चरा हो भन्ने निर्क्योल ‘कान्तिपुर’को ३ माघ २०७७ को ‘अग्निपन्छीको एथेन्स उडान’ शीर्षकको लेखोटमा आइसकेकाले यहाँ पुनरुक्ति नगरौं । चरा सानो आकारको हुने र सोही साइजमा ढाल्दा देख्नै गाह्रो हुने भएकाले उल्रिच वेल्सनरको कथित संज्ञा ‘कर्नर हर्न’ माथि यसलाई बिराजमान गराउनुपर्‍यो । यसलाई बनाइदिने जिम्मा सूर्यमान ताम्राकारले लिएका हुन् । संयोगवश उनको कुलदेवी सेन्ट जेभियर्स स्कुलबाहिरको उग्रतारा भएकाले र त्यसको भर्खरै मात्रै जीर्णोद्धार भएकाले पनि चराको साइज मिल्न गयो ।

तर, छानामा हालिने सानो टायल अर्थात् ‘झिंगटी’ को शुद्ध रूप झंगटी हो । झंग अर्थात् नेवारीमा चरा+टी अर्थात् तरल, झोल, वर्षात्को पानी । भन्नाले, चार चरा भए पनि एक पटकमा विपरीत दुई कुनाका दुई चराले फिँजाएका पखेटाहरू जोडिएर बनेको हो नेपाली छानाको रूप । जुन पखेटाहरूको आश्रयमा देउता र मानव आदि हुरी, पानीबाट जोगिएर बस्छन् ।

यसो भएपछि मण्डपको छानामा चलनचल्तीको झिंगटी हाल्ने कुरा भएन । त्यो मध्ययुगमा युरोप हुँदै भित्रिएको सानो टायल मात्र हो । यद्यपि रामायण, महाभारत आदिमा आउने तल, अतल, सुतल, महातल आदिबाट नै हिन्दीको टोल, अंग्रेजीको टायल आदि बन्न पुगेको हो ।

अब प्वाँख आकारको झंगटी तयार पार्नुपर्ने भयो । परम्परागत इँटामा काम गरिरहेका भक्तपुरका भट्टाहरू त्यसलाई बनाउन तयार भएनन् । त्यसका लागि साँचो बनाइदिने सिकर्मी फेला पार्न झनै सजिलो भएन । अन्ततः खोकनाको फाँटमा बिनासाइनबोर्ड काम गरिरहेका एक पात्रसँग सम्पर्क भयो । उनले झंगटीमा ग्रिप (पकड) हाल्न पटक्कै नसकिने, प्वाँखको रूपसम्म देखिने तर दसवटाको अर्डर दिनुपर्ने र मूल्य सामान्य नहुने बताए । हस् भनेर स्वीकार्नैपर्ने हुन गयो ।

त्यो पनि अन्तमा आठवटा साँचो बन्यो तर पाको रूपमा ढाल्न कुनै भट्टा पाइएन । अन्तमा माटाका भाँडाकुँडा बनाउने एक ठिमीवासी प्रजापति तयार भए । कमजोर प्रविधिको कारण चिनियाँ इँट वा सेरामिक्सको जस्तो कडापनसमेत यसलाई दिन सकिएन ।

त्यसपछि छानो हाल्ने विभिन्न कालीगढ तीनपटक सम्झौता हुँदा पनि भनेको समयमा भक्तपुरबाट आइदिएनन् । आखिर खोटाङकी पुष्पा राई नामकी एक कर्मठ महिला कारिगर तयार भइन् र उनले खट बाँधेर झंगटी हालिन् । उनैले झल्लर र टेराकोट्टाका अन्य रूपहरू जडान गरिन् ।

थामहरू

शिवको एउटा नाम पशुपति पनि हो । उनको वाहन नै साँढे जसका चार खुट्टाहरू हुन्छन्, यही कारण हो, १८ फिटका बीचमा अरू दुइवटा थाम हाल्न मिल्ने हुँदाहुँदै पनि हालिएन । त्यसरी हालिएपछि यो किट वर्ग (इन्सेक्ट) को बन्न जान्थ्यो । बाह्र फिटका बीचमा अर्को दुई थाम हाल्न सकिन्थ्यो, त्यसो गर्दा यो आर्किनाडा (माकुरा, बिच्छी वर्ग) को बन्न जान्थ्यो ।

थामका दक्षिण फर्किएका चार भित्तामा चारवटा बाजाका रेखाचित्र पनि अर्जुन घतानीले उतारेका हुन् । यसमा पश्चिमी थाममा भीषण नाद नामको सिङ बाजा छ । त्यसपछाडि पिपिरी बाजा छ, पूर्वी पछिल्लो थाममा पिउँरा बाजा छ र पूर्वी अघिल्लो थाममा भेरी बाजा छ । सुरुका तीन थामको रेखाचित्र रामप्रसाद कँडेलको ‘म्युजिकल इन्स्ट्रुमेन्ट्स अफ नेपाल’ बाट लिइएको हो । कँडेलको दशकौं वर्षदेखिको मिहिनेतलाई सार्वजनिक सम्मान गर्ने उद्देश्यले नै यसो गरिएको हो । अन्यथा अर्को रेखाचित्र हाल्न सकिने थियो नै । पहिलो बाजा सिङ बाजा साँढेको सिङबाट बनेको छ । यो ब्राम्हिनी गाई (बस इन्डिकस) हो, जसमा अछामी गाई पनि पर्दछ । दोस्रो बाजा पनि सिङ बाजा नै हो, तर योचाहिँ भेडाको सिङबाट बनेको छ । नन्दी (साँढे) र भृंगी (भेडा) हो । भृंगी इन्डियनहरूले दिनेजस्तो मानव रूपको जीव होइन । भेडाको सिङबाट बनेको बाजालाई भेरी भनिन्छ । सम्झिए हुन्छ भेरी नदी ।

तर, कँडेलको पुस्तकमा परेको ‘पाटनको शृंगभेरी जात्रामा, बजाइने नेकू बाजा’ भन्ने वाक्यांशले पाटनको परम्परा दिग्भ्रमित भइसकेको बुझाउँछ । शृंगको अर्थ सिङ हो, भेरी भेरी नै भयो । हुनुपर्थ्यो भेडाको सिङको बाजा, भइदियो राँगोको सिङ (नेकू) को बाजा । यसैले कँडेलको पुस्तकबाट नेकू बाजाको रेखाचित्र भने उतारिएन ।

पश्चिमी पछिल्लो भित्ताको पात बाजा हो, जसलाई पिपिरी भनिन्छ नेपालीमा । र, पूर्वी पछिल्लो भित्ताको रेखाचित्र चिलाउनेको रूखको बोक्रा बाजा हो, जसलाई पिउँरा भनिन्छ नेपालीमा । अगाडि जीव र पछाडि वनस्पतिलाई मिलान गरिएको हो । अर्थ हो भित्री आयाताकार जंगल हो । पूरै स्थापत्य भने मनोरञ्जनका निम्ति हो ।

भृंगी भेडा हो भन्ने कुरालाई अर्थ्याऊँ । भिरंग रोग (सिफिलिस) बनेको हो सिपिलस नामको पात्रबाट भन्ने ग्रीक आख्यान छ । सिप भनेको भेडा नै हो । पूर्वबाट टिपेकाले ग्रीक आख्यान यतिबेलासम्म भ्रमान्ध भइसकेको छ । भिरंग र भेडामा के घनिष्ठ सम्बन्ध छ प्याथलजिस्टहरूले भन्न सक्लान् । पशुपतिका गणमा साँढे र भेडालाई लिइनुको कारण जनावरहरूमा सबैभन्दा सोझा मानिएर हो ।

भुइँ

मण्डपको भुइँमा तेलिया इँटले छापियो, तर बीचमा तीनवटा प्रस्तर जडान गरेर । मध्य र पूर्वी छेउमा राखिएको प्रस्तरमा बाघचालको रेखा कोरिएको छ । यो विशुद्ध नेपाली ‘गेम’ खेल्न स्थानीयहरू फुर्सदमा भेला होऊन् भनेर मात्र होइन । बाघ र भेडा पशु भएकाले र तिनका मालिक पशुपतिप्रति समर्पित मण्डप भएकाले पनि हो । अर्थात् पशुपति स्वयं यी प्रस्तरमा विराजमान छन् अदृश्य रूपमा ।

पश्चिमी किनारको प्रस्तर च्याम्पटी खेलको ‘बोर्ड’ हो । यो नेवारहरूको परम्परागत गेम उपत्यकाबाट लोप भइसक्यो । त्यसलाई जीवित राख्न होइन, त्यसको परिचय दिलाइरहन पनि हो र वनस्पति आधारित भएकाले पनि हो ।

रेखांकन भक्तपुर जाँदाको एउटा ढुंगा डिपोका कारिगरले गरेका हुन् । बोर्डचाहिं कोटेश्वरबाट जडीबुटीतिर जाँदाको ठाउँमा एक पत्थरकट्टाले बनाएका हुन् ।

यहाँ पित्तलमा कोरिएको रेखाचित्र स्थापना गर्न निश्चय नै सकिन्थ्यो तर प्रस्तर छानियो । किनभने स्थाणुको अर्थ प्रस्तर र शिव दुइटै हो । यही नेपालीको स्थान र अंग्रेजीको स्टोन हुन्छ । यही यशोब्रह्म शाहको गद्दी हुन पुगेको हो र एडिनबरास्थित यही ‘सिकोन’ मा बसेपछि मात्रै ब्रिटिस राजा वा रानीको राज्याभिषेक पूरा हुन्छ ।

निर्क्योल के भने यस प्रस्तर नै शिव भएकाले यसमाथि धुनी बनाउन निषिद्ध छ ।

आँगन

मण्डपपछि एउटा अर्को ठूलो पेटी छ । त्यसभन्दा तल आँगन छ दक्षिण फर्केको । आँगनमा पखेटा फिँजारेर पूर्वतर्फ उडिरहेको एक विशाल बाजको इँट निर्मित मूर्ति छ ।

यो मूर्ति सम्भवतः नेपालमै पहिलोपल्ट निर्मित ‘यजुष्मती’ नामक यजुर्वैदिक इँट हो । जसका माध्यन्दिनी र तैतिरीय शाखा नेपालको पूर्वी तराईमा लेखिएको मानिन्छ । यसमाथि होम गरिने परम्परा छ वा होमका निम्ति राखिने इँट यो रूपको हुन्छ, जसलाई स्थायी रूपमा यहाँ जडान गरियो । शाही बाज नेपालको रैथाने हो नै । बाजलाई अरुण मानिन्छ भन्ने लेखोट (बालकृष्ण पोखरेल) ले दर्साएकाले पनि यसलाई सूर्योदयको दिशातर्फ फर्कार्इएको हो ।

शिर निर्माणको निम्ति स्थान प्रयोग गर्दा यसअगाडि पहिला नै निर्मित एउटा पौवाको भित्ता उभियो । त्यसलाई उडान मार्गमा नपार्न दक्षिणतर्फ यसलाई धकेल्नुपर्‍यो र टाउको पनि दायाँतर्फ फर्काउनुपर्‍यो ।

त्यसपछि बाजको वरिपरि तीनतिर तीनवटा गमला राखिए । यो तन्त्रको मान्यतामा आधारित छ । शिव+देवी, काली नभएपछि त्यो शव मात्र हुन पुग्ने कारणले ती तीन गमला त्रिकोण विन्दुका रूपमा स्थापित गरिएको हो ।

तर, त्यस गमलाको आकार कमल भएको हुँदा माथिको कमलको प्रसंगसँग मेल खाएन भनेर पाठकहरूलाई निश्चय नै लाग्नेछ । अब यसलाई स्पष्ट पारौं । पशुपति भण्डारखालमा पाइएका केही माटाका भाँडाका टुटफुट संकलनहरू एक स्थानीयले पंक्तिकारलाई धेरै वर्षअघि देखाएका थिए ।

खुट्टा भाँचिएको वाइन ग्लासरूपी ती दुई भाँडाहरू उनका अनुसार लिच्छविकालतिरका ठूलाठूला भारदारी परिवारले देउतालाई नैवेद्य चढाउँदा उपयोग गरिने पात्रहरू थिए । जसमा उनीहरूको पारिवारिक प्रतीक चिह्न (फेमेली सिल) को छाप लागेको हुन्थ्यो । संकलक तिनको रङ र कडापन हेरेर भन्थे— सिमेन्ट त उतिबेलै थियो । सायद उनी फेरोसिमेन्टलाई संकेत गर्दै थिए ।

नभन्दै एउटा पात्रमा त्यो प्रतीक चिह्न देख्न सकिन्थ्यो । कुनाचाहिँ गोलोगोलो भएका एउटा चुतुष्कोणभित्र कमलाकार गमला थियो । गमलामा टीके कर्कलो (क्यालाडियम बाइकलर) का पातजस्ता लाग्ने ठाडा दुइटा पात हालिएका थिए । गमलाबाहिर उभिएको देखिएको गाई उनका अनुसार कपिला (कैली गाई) थियो ।

पंक्तिकारले त्यही गमलालाई यहाँ स्थापित गरेको मात्र हो । नभन्दै अंग्रेजीको भी आकारका वर्तमान गमलाहरू युरोपियन मोडेलका हुन् । यो रूप आयातित हो । नुवाकोटको अशोक वाटिकामा जमिनबाट झिकेर फुटेपछि गाडिएका भनिएका अंशुवर्माकालीन गमलाको रूप पंक्तिकारलाई थाहा नभएकाले पनि यसो गरिएको हो ।

पश्चिमी गमलामा पत्करी (क्लोरोफाइटम नेपालेन्सिस) किन राखियो होला भनेर ती वनस्पतिशास्त्रीहरूले सजिलै बुझ्नेछन् जसलाई श्वेतमुसली (क्लोरोफाइटम बोरिभिलियानम) हो भनेर थाहा छ । पूर्वी गमलामा अजम्बरी (कालान्कोए स्पाथलाटा, न कि पिन्नाटा) राखिनुको कारण अरूभन्दा पूर्वी पहाडका राईहरूले बढी बुझ्नेछन् । दक्षिण छेउमा पहाडी सिम कर्कलो (क्यालोक्यासिया एफिनिस) किन राखियो होला भन्ने कुरा पनि अरूले भन्दा उनीहरूले अझ बढी बुझ्नेछन् । जसलाई कर्कलोको पानी पिएकी निनामरिम्दु वा सुम्निमाको कथा विस्तृत रूपमा थाहा छ ।

नभनिने कुरा

खुलै रूपमा व्याख्या नगरिने, गर्न नमिल्ने केही प्रतीकहरू यसमा स्वतः निर्मित हुने गरी तय गरिएका छन् । त्यो पारखी आँखाले मात्रै ठम्याउने कुरा हो । पुनर्निर्माणकालमा परिसरभित्र बसेका एक दुई गैरस्थानीयले अनेक दुःख नदिइरहेको भए यसको विस्तृत आयतनमा अरू डेढ दर्जन प्रतीकहरू तय गर्न सकिन्थ्यो पनि होला । यद्यपि वैष्णव मन्दिरका तुलनामा शैव स्थापत्यहरू उदासीन, झलकमलकरहित हुन्छन् ।

डा. वासुदेवकृष्ण शास्त्रीले मोहोडा र स्थान वास्तुशास्त्रीय कोणले सही ठहर्‍याएपछि यसको भौतिक ढाँचाको प्राथमिक रेखांकन रमेश कटुवालले गरेका हुन् । पछि अरू दुई इन्जिनियरले त्यसमा परिमार्जन गरे । मूल ढाँचाको स्थायी निर्माण अश्विन बिहारीले गरेका हुन् ।

नसकिएको कुरा

तल्ला तीन सिँढीमा हाल्न तय गरिएका हरिण, गैंडा र बाघको जोडामध्ये गैंडाको साँचो (मोल्ड) बन्यो । तर, बाघको मोल्ड बनाउन अर्डर दिइएको कलाकार पात्रले दुईपल्ट भत्काउन लगाउँदा पनि पाटेबाघको ठाउँमा घरेलु बिरालोको रूप मात्रै निकाल्न सक्यो । बैना नै छोडियो । ढुंगा वा पित्तलका महँगो माध्यम उपयोग गरिए पनि चोरी भएर जाने त्यहाँको लथालिंग अवस्था हुँदा फर्माउन सकिएन । अझै त्यो कोण अलपत्र नै छ । त्यसको र त्यसको क्रमको सेमियोटिक अर्थ यति बेला खुलाइहाल्ने कुरा पनि भएन ।

पुरातत्वले सिमेन्टको बनाउने अनुमति दिँदैन । यद्यपि चोभार गणेश परिसरमा उभ्याइएको र घण्टा झुन्ड्याइएको स्तम्भ उतिबेलाको चोभार सिमेन्ट कारखानाबाट उत्पादित पहिलो बोराबाट बनेको गुणस्तरयुक्त भएकाले होला आज पनि सिमेन्ट भनेर त्यहाँ नलेखिएको भए प्रस्तर नै ठान्थे यात्रुहरूले । पुल्चोकको इन्जिनियरिङ क्याम्पसको प्रसंगको लगत्तै पंक्तिकार प्रिन्सटन विश्वविद्यालयको इन्जिनियरिङ विभागको पुस्तकालय पुगेको थियो । त्यहाँ लगभग सय किसिमका सिमेन्ट ब्लकका नमुनाहरूले रहस्य खोलिदिए— त्यो मुलुकमा बिच्छ्याइएका र उभ्याइएका करिब करिब सबै बनोट प्रस्तरकै थिएनन् । प्रविधि भित्र्याउन नसक्दा भएको समस्या यहाँ लेखेर साध्य नै भएन ।

२००३ को पात्र

ग्वालियर (इन्डियाको मध्यप्रदेश) को घना जंगलबीच बन्दुक हान्न सिकिरहेको त्यो पात्र त्यहाँको स्वतन्त्रता संग्रामको पूर्वसन्ध्यामा के गरिरहेको थियो अन्योल नै छ । एकाएक घोडामा चढेर सामुन्ने पर्न आएको धमर्धुस पात्र जियाजिराओ सिन्धिया हो भन्ने थाहा पाएपछि भागाभाग भएको थियो उसको । सबैलाई थाहा भएकै कुरा हो ग्वालियरले प्रधानमन्त्री रणजंग पाँडेलाई र नेपाललाई सबैभन्दा ठूलो धोका दिएको थियो, अंग्रेज भगाऊ अभियानमा ।

ल्हासामा एकाएक उत्रिएको चीनले एक महिना बन्दी बनाएको थियो नेपालीका छोराछोरीलाई प्राथमिक भाषा पढाएर बसिरहेको उसलाई । र, नेपालले सामान्य यायावर हो भनेर परिचय दिलाएपछि छोडिदिएको थियो । उसले कम्युनिस्ट चीन त छोड्न चाहेकै थिएन, तर पूर्ण विकासपछि मात्र विदेशीलाई स्वागत गरिनेछ भनेका थिए चिनियाँ सिपाहीहरूले हाँसेरै ।

इन्द्रबहादुर राईको ‘जयमाया एक्लै लेखापानी आइपुगी’ कथाका सयौं आवृत्ति उसले नागाल्यान्डमा देखेको थियो, त्यो कथा लेखिनु धेरैअघि नै । अर्थात् बर्मामा नेविन आउनु कैयन्अघि ।

राणाकालीन ‘शारदा’ मा एउटा रचना छापिएपछि १९९८ सालमै फ्रायडको ‘एलेक्ट्रा कम्प्लेक्स’ मा आधारित सहित छ वटा पूर्ण कथाका पाण्डुलिपि छोडेर यायावर बनेको त्यो पात्र नजाने किन हो यो मण्डप बनाउन पुगेको थियो आदेश्वरमा । र, एउटा शिवालय बनाउन पुगेको थियो मनमैजुमा । त्रिपन्न वर्षअघि नै उनन्चास वर्षको उमेरमा बितेको त्यो पात्रको श्रीमतीले पुनर्निर्माण निम्ति छोडेर गएको रकमले उसका पाँच सन्तानले फेरि उभ्याइदिएको स्थापत्य हो यो । पात्रको नाम हो शेष ।

पुछारमा

त्यो शिवालयछेउ अर्को मण्डप बनाइदिन भिरालोमा उभ्याइएको ‘रिटेन्सन वाल’ ६–७ वर्षअघि नै भत्कियो । नक्सा कामनपाको नगर योजना आयोगले महिनौं लगाएर तयार गरिदिएको पनि छ— शिवका ६ ऋतु दर्साउने फलक होस् भन्ने आशयअनुसार । तर, विभिन्न कारणले जाँगर चलेको छैन अहिलेलाई ।

कतिबाहेक भने सेमियोटिक्सको अर्कै धार त्यसमा उभ्याउन सकिन्छ । तर, कम कष्टसाध्यचाहिँ छैन ।

प्रकाशित : फाल्गुन १५, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?