२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बलात्कार

कल्पना चिलुवाल

आमाले पकाइदिएको खाना
दिदीले धोइदिएको लुगा
बहिनीले तिहारमा लगाइदिएको मखमली फूल
प्रेमिकाले दिएको प्रेमको चिनो
सबलाई रछ्यानमा मिल्काएर
घरबाट निर्वस्त्र निस्किएको छ बलात्कारी
सिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न

बलात्कार

सुनसान स्थानमा

कुनै बेनाम स्त्रीमाथि बलात्कार भइरहँदा

ऊसँगै बलात्कृत भइरहेकी हुन्छे

नवजात सन्तानलाई

स्तनपान गराइरहेकी सुत्केरी आमा

माइतीको सलामतीको प्रार्थना गरिरहेकी दिदी

तिहारमा माला उनिरहेकी बहिनी

प्रेम उपहार सजाउँदै गरेकी प्रेमिका

ताजा वरमाला हेरिरहेकी नवदुलही

निर्जन स्थलमा

कुनै अज्ञात युवतीमाथि बलात्कार भइरहँदा

ऊसँगै बलात्कृत हुन्छन्

चकलेट चुसिरहेकी अबोध बालिका

लोककथा सुनाइरहेकी हजुरआमा

पाठ पढाइरहेकी शिक्षिका

वकालत गरिरहेकी वकिल

बिरामी जाँचिरहेकी डाक्टर

देशको सर्वोच्च स्थानमा रहेकी

राष्ट्रपति

धर्मशास्त्रले पढाएको पापको डर

देशको कानुन

मान्छे हुनुको नैतिकता

सबलाई डम्पिङसाइटमा मिल्काएर

निर्वस्त्र निस्केको छ बलात्कारी

सिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न


कुनै एकान्त ठाउँमा

कुनै एउटी महिला बलात्कार भइरहँदा

एकसाथ बलात्कृत भइरहेका हुन्छन्

संसारका सारा महिला

जसमा ऊ पनि पर्छे

स्वयं बलात्कारीकी

आफ्नै निर्दोष आमा ।

प्रकाशित : फाल्गुन ८, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?