अब पनि म मौन रहें भने
अत्ति प्रिय थियो मलाई मेरो मौनता !
राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं
राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई झैं
राखेको थिएँ स्नेहले पुलपुल्याएर, काखको
शिशुलाई झैं
लाग्थ्यो,
मौन भएरै पाएको हुँ यो जिन्दगी र यो दुनियाँ
मौन भएरै हिँडेको हुँ यत्रो लामो जीवनको बाटो
मौन भएरै चढेको हुँ समयको शिखर
किशोरीहरु चिच्याउँथे, भागिहिँड्दथे चीत्कारदेखि
‘अनागरिक’ का आँसु–आँसु र आँखा–आँखा बोल्थे,
भागिहिँड्दथेँ त्यो भूगोलबाटै
साथीहरु सडकबाटै मुठी उठाउँथे,
भागिहिँड्थदेँ आफ्नो मुठी लुकाएर म
लाग्थ्यो,
मौन भएरै झरी बन्छ बादल
कि बिर्सिसकेको थिएँ
बर्सिनुअघिको बादल कति जोडजोडले गडगडाउँछ
लाग्थ्यो,
मौन भएरै देख्न पाउँछ कोही कसैले बिहानी
कि बिर्सिसकेको थिएा
निष्पट्ट चिसो रात कसरी गुजारेर ब्युँझन्छ ऊ
लाग्थ्यो,
मौन भएरै पाएको हुुँ यो मुस्कान
कि बिर्सिसकेको थिएँ
पृथ्वीमा टेक्नासाथ जोड जोडले चिच्याएको थिएँ म
गर्भबाट झर्नासाथ जीवित भएको प्रमाण चिच्याहटमा थियो मेरो
तर, चिच्याहटको गर्भकथा छाडिदिएथेँ त्यतै मैले
चिच्याहटको शक्ति र सामर्थ्य बिर्सिएथेँ त्यहीँबाटै
मभित्र दनदन बलिरहने आगो निभाइदिन्थेँ त्यतै मैले
मभित्रको आँधीलाई थुनिदिएथेँ त्यतै मैले
म सोच्दथेँ –
म मौन रहेँ भने धेरैथोक हुनेछ यहाँ
एउटा हल्ला कम हुनेछ, एउटा चिच्याहट कम हुनेछ
एउटा कोलाहल कम हुनेछ, एउटा प्रतिरोध कम हुनेछ
र म मौन रहिरहेँ...
सिर्फ मौन, मात्र मौन
केवल मौन....
संविधान च्यातियो – मौन बसेँ म
अधिकार खोसियो – मौन बसेँ म
भाषा मासियो– मौन बसेँ म
पहिचान र आस्थामाथि बन्दुक पड्काइयो –
मौन बसेँ म
र मौनतालाई सत्य मानिरहेको बखत
अथवा मौनताभित्रै बाँचिरहेको बखत
मेरो आवाज खोसियो !
यसपछि मात्रै बाहिर निस्किएँ म गहिरो मौनताबाट
अचानक बाहिर निस्किएँ म अँध्यारो गुफाबाट
कि यतिबेला लागिरहेछ
मौनताकै आसक्तिले बिर्सिदिएँ – ‘म मानिस हुँ ।’
मौनताकै आसक्तिले बिर्सिदिएँ – ‘म नागरिक हुँ ।’
यतिबेला आफ्नै ती मौनताप्रति घृणा जागिरहेछ
ठीक यो घडीमा
आफ्नै मौनतालाई दुत्कार्न मन लागिरहेछ
लागिरहेछ
कि आफ्नै यो कुरुप मौनतालाई बेतोडले चिथोरिदिऊँ
नांगेझार बनाइदिऊँ
पुर्खा सम्झेर पित्री फलाकिदिऊँ
आवाजलाई फर्काइदिऊँ
र चिच्याइदिऊँ जोड जोडले
कराइदिऊँ आफ्नै सीमितताको पर्खाल भत्कने गरी
कि भोलि मौन बसेकैले पछुताउन नपरोस्
कोही कसैले ।
प्रकाशित : फाल्गुन ८, २०७७ १२:३३