कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हेर्दा जाबो कागज !

कागज धेरै नहुनेलाई ढुंगाको सिरानी भए पनि निद्रा लाग्छ । कागज धेरै हुनेलाई सिमलको भुवामा पनि रातभरि निद्रा भाग्छ । यो कागज सल्केरै एक दिन पृथ्वीका सबै प्राणी डढ्नेछन् ।
आज पृथ्वीनारायणकै सन्तानले घूस खान्या र खान छुट दिन्या सुरु गरे ।
हरिवंश आचार्य

कागजको आविष्कार नभएको समयमा पनि लेख्ने अक्षरको आविष्कार भइसकेको थियो । कागजको आविष्कार कुन देशबाट भएको हो भनेर अलिकति लख काट्न सकिन्छ तर अक्षरको आविष्कारचाहिँ इन्द्रको बाबु चन्द्रकै पालामा सुरु भइसकेको हुनुपर्छ । यो अक्षरको आविष्कार गर्ने अक्षरबहादुरले जमिनमा छेस्कोले कोरेर हिमाल, पहाड, नदी, फूलको चित्र कोरे होलान् । अक्षरबहादुरलाई मानिसले बोल्ने भाषाको पनि चित्र बनाउन मन लाग्यो होला । त्यसपछि ‘क’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘क’ अक्षरको चित्र भुइँमा कोरे होलान् । ‘ख’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘ख’ को चित्र बनाए होलान् ।

हेर्दा जाबो कागज !

त्यसैगरी ‘क’ देखि ‘क्ष’ ‘त्र’ ‘ज्ञ’ सम्मकै अक्षरको कल्पना गरेर चित्र कोरे होलान् । ‘क’ देखि ‘ज्ञ’ सम्म अक्षरको चित्र बनाएपछि बोल्दा आधा मात्र उच्चारण हुने अक्षर ‘कन्या’, ‘भन्या’ जस्तो शब्दको चित्र बनाउँदा ‘न’ लाई आधा बनाएर सिंगो ‘य’ सँग जोडिदिएर ‘कन्या’, ‘भन्या’ जस्तो शब्दको चित्र बनाए होलान् । ‘गरी’, ‘भरी’, ‘मरी’ शब्दको चित्र बनाउँदा ‘ग’ पछाडि एउटा धर्को तानेर थपेको धर्कोमाथि चन्द्रमाजस्तो चित्रलाई घोप्टो पारेर टोपीजस्तो लगाएपछि ‘मरी’, ‘गरी’, ‘भरी’ जस्तो शब्दको चित्र बनाउँदै बोलिने सबै शब्दको चित्र बनाउन भ्याए होलान् ।

अक्षरबहादुरले आफूले कल्पना गरी भुइँमा छेस्कोले कोरेको अक्षर बिर्सिएला, मेटिएला भनेर दर्सनढुंगोमा फलामको चुच्चोले खोपी–खोपी लेखे होलान् । अक्षरको जस्तै अंकको पनि कल्पना गरेर एक, दुई, तीनदेखि नौसम्मको चित्र कोरे होलान् । धेरैबेर सोचेर एकको पछाडि एउटा गोलो थपेर दसको कल्पना गरे होलान् । दुइटा गोलो थपेर सय, तिनटा गोलो थपेर हजारको कल्पना गरे होलान् । एकपछाडि दुई थपिदिए बाह्र, एकपछाडि तीन थपिदिए तेह्र गर्दै सय अंकसम्मको चित्र बनाए होलान् ।

छिमेकी देश चीनमा चिङ हो कि चाङको श्रीमतीले छोरो जन्माइछन् र त्यो छोरोको नाम कागजबहादुर राखेछन् । त्यो कागजबहादुर ठूलो भएपछि मठ–मन्दिर र ऐतिहासिक स्थलहरूको भ्रमणमा जाँदा दर्सनढुंगामा फलामको चुच्चोले खोपेर शिलालेखहरू लेखेको देखेछ । त्यसपछि गाउँघरमा छेस्कोले भुइँमा कोरेर अक्षर लेखेको देखेर कागजबहादुरलाई एक वर्ष र बाह्र महिना निद्रा लागेनछ ।

कागजबहादुरले दाउरा बाल्दा निस्केको अंगारलाई पिँधेर त्यो अंगारको धूलोमा अलिकति पानी हालेर लेदो बनाए होलान् र बाँसको बोक्रामा श्री लेखे होलान् । बाँसको बोक्रामा लेखेको श्री दंग परेर हेर्दा बाँसको बोक्रापछाडि भएको झुस हातमा बिझेर हात–दिमागै झन्कने गरेर चिलायो होला । दिमाग झन्कदाखेरि कागजबहादुरको झन्केको दिमागमा कागज बनाउने तरिका फुर्‍यो होला ।

कागजबहादुरले रूखको बोक्रा ताछेर टुक्राटुक्रा पारेर त्यो टुक्रालाई एउटा ठूलो भाँडोमा राखेर दाउरा बालेर तथा भाँडोमा पानी हालेर आगोमाथि बसाले होलान् । रूखको बोक्रालाई पानी थप्दै पकाउँदै, पानी थप्दै पकाउँदै गरी बिरामीले खाने जाउलोजस्तै लेदो बनाएर त्यही बाँसको बोक्रामा लिपेर तीन दिनसम्म घाममा सुकाएपछि कराईबाट ढिडोको पाप्रा उप्काएको जस्तो गरी उप्काए होलान् । अनि बाँसको भाइ निगालोको हाँगा तिखारेर चुच्चो बनाई त्यो चुच्चोले अंगारको धूलोको लेदोमा चोपेर आफ्नो नाम ‘कागजबहादुर’ लेखे होलान् । कागजबहादुरले दिमाग खियाएर आविष्कार गरेको हुनाले त्यसको नाम कागज भनेर नामकरण गरे होलान् । निगालेको हाँगाको चुच्चोको नाम होल्डर र रूखको बोक्रा पकाएर बनाएको लेदोको नाम लोकता अनि अंगारलाई पिँधी धूलो बनाएको लेदोको नाम मसी भनेर राखे होलान् ।

पछि चीनका कागजबहादुरले बनाएको कागजको नक्कल गर्दै धेरै देशका कागजबहादुरहरूले आ–आफ्नो देशमा पनि कागज बनाउन सुरु गरे होलान् । हाम्रो देश नेपालमा पनि कागजबहादुरहरू जन्मेछन् र त्यसरी नै कागज बनाउन थालेछन् । नेपालमा बनाएको हुनाले त्यस्तो कागजको नाम नै नेपाली कागज राखेछन् ।

समयसँगसँगै धेरै किसिमका कागज बनिसकेका छन् । लेख्ने कागज, छाप्ने कागज, खाना खाने कागज, खाना फाल्ने कागज, मुख पुछ्ने कागज, हात पुछ्ने कागज, नाक पुछ्ने कागज, के–के पुछ्ने कागज ! यी सबै कागजको पनि कागज नेता कागज । यो नेता कागजलाई नेपालमा रुपैयाँ, भारतमा रुपैये, चीनमा युआन, अमेरिकामा डलर, थाइल्यान्डमा भाट, बंगलादेशमा टाका भन्छन् । जापानमा यान, बेलायतमा पाउन्ड अनि युरोपमा युरो । यी संसारभरिका नेता कागजको अगाडि नेपाली नेता कागज रुपैयाँको शिर निहुरिएको छ । एक डलर कागजसँग कुस्ती खेल्न सयभन्दा बढी नोट कागजले पनि सक्दैन । तर, यो कागजको भीडमा नेपाली कागजबहादुरहरूले रूखको बोक्रा पकाएर बनाएको नेपाली कागजको चाहिँ आजसम्म पनि ठूलो इज्जत छ । सजिलै नच्यातिने, नउप्किने, खुम्चे पनि फेरि सीधा हुने भएकाले नेपालको अड्डा–अदालतमा लिखित, तमसुक, लालपुर्जाका लागि त्यो अनिवार्य छ । शुभकार्य दिगो र बलियो होस् । श्रीमान्–श्रीमतीको सम्बन्ध नच्यातियोस् भनेर शुभसमारोहहरूको निमन्त्रणा नेपाली कागजमै छाप्ने चलन अझै बाँकी छ । उपहारका सामानहरूमा पनि नच्यातिओस्, नमास्सियोस् भनेर नेपाली कागज प्रयोग गरेर बनाउने चलन छ ।

उहिले उहिले हाम्रो बाजेको बाजे, उनका पनि बाजे, उनका पनि हजुरबाजेको समयमा पैसा भन्ने वस्तुको आवश्यकता थिएन । अन्न आ–आफ्नो खेतबारीमा टन्न भइहाल्थ्यो । घर आफूआफू मिलेर बनाउँथे । टाउको दुखे जडीबुटी चपाउँथे । बिस्तारै बिस्तारै गोराहरूको देशमा अड्डा अदालत खुल्न थाले । अड्डामा काम गर्ने अड्डाकारीहरूलाई, अदालतमा काम गर्ने मुद्दा स्यारीहरूलाई ज्याला दिनुपर्‍यो । तिनीहरूलाई बोरामा चामल, झोलामा दाल, टपरीमा घ्यू, ढुंग्रोमा तेल, पोको पारेको मसला, कोट पाइन्टको कपडाको टुक्रा, खुट्टामा हुल्ने जुत्ता, तुनक्याउने रक्सी र वाइनको ढ्वाङ महिनै पिच्छे बाँडेर साध्धे भएनछ । त्यसपछि जनावरको छालामा धातुले बुट्टा डामेर पैसालाई जन्म दिइएछ । त्यसरी जनावरको छालामा डामेर पैसा बनाउन सरकारले मात्र पाउने अरूले त्यसरी पैसा बनाए बाँच्न नपाउने झ्याली पिटिएछ । पृथ्वीको उमेर बढेसँगै माटोको पैसा तथा धातुका पैसा बन्न थाले ।

नेपालमा पनि विक्रम संवत् ५२१ मा राजा मानदेवले मनांग मुद्रा नाम राखी सरकारको चाकरीमा आउनेहरूका लागि ज्यालाको रूपमा पैसा बनाउन सुरु गरेका हुन् । चार फुकी बराबर एक पैसा, दुई पैसा, चार पैसा, पाँच पैसा, दस पैसा, बीस पैसा बराबर एक आना, पच्चीस पैसा बराबर एक सुका, पचास पैसा बराबर एक मोहोर, सय पैसा बराबर एक रुपैयाँ भनेर टक्सारमा छापिन थाल्यो ।

नेपालको एकीकरण भएपछि महँगी यति बढ्न थाल्यो कि काठमाडौं खाल्टोको हनुमानढोका वरिपरि एक रोपनी जमिनको सय मोहोर रुपैयाँ भन्न थाले । अलिकति सामान किन्नलाई पनि बगलीभरि धातुको पैसा लिएर जानुपर्ने भयो । बडाहाकिमले महिनाको एक रुपैयाँ, सुब्बा साहेबलाई एक मोहोर, खरदारले एक सुका, मुखियाले चार आना, बैदारलाई पन्ध्र्र पैसा ज्याला दिने चलन सुरु भएछ । महँगी बढेर किनमेल गर्दा धातुको पैसा बोकेर हिँड्दा इस्टकोटको र कोटको बगली च्यातिन थालेछ । अहिले हामी गीतै गाउँछौं नि, ‘उइलेत बाजेको पालामा मोहोर गन्थे डालामा’ भनेर । बिचरा उइलेका बाजेहरूलाई कति गाह्रो हुन्थ्यो होला डालोमा पैसा बोकेर घर–जग्गा किन्नलाई । धातुको पैसाबाट घुसलिन्या र दिन्या गर्दा छानन्याङ्ग छुन्दुङ्ग गरेर कराउने भएकोले घुस लिन्या र दिन्या गर्न गाह्रो हुन थाल्यो ।

विदेशतिर त कागजको पैसा छाप्न सुरु भएको धेरै भइसकेको थियो । सरकारसँग चाहिँ कागजको नोट छाप्ने सामर्थ्य नभएपछि नेपालको धातुको मुद्रासँग हिन्दुस्थानको कागजको नोट पनि नेपालमा चल्न सुरु भएछ । २००७ सालमा प्रजातन्त्र भन्ने आएछ । प्रजातन्त्रले कागजको नोटतन्त्र पनि नेपालमा ल्याएछ । राजा त्रिभुवनले आफूले श्रीपेच लगाएर बसेको फोटो भएको नेपाली नोटहरू विदेशमा छपाएर ल्याएछन् ।

पृथ्वीनारायणले नेपाल एकीकरण गर्नुअगावै हाम्रो नेपाल देशमा घुस प्रथा सुरु भैसकेको रहेछ । त्यसैले पृथ्वीनारायणले ‘घूस खान्या र दिन्या दुबै देशका शत्रु हुन्’ भन्ने उपदेश नै दिनुपर्ने भएछ । पछि उनकै सन्तानले घुस खान्या र खान छुट दिन्या सुरु गरे । जब पृथ्वीनारायणको एघारौं पुस्ताले गद्दी त्याग गर्दासम्म घुस नदिन्या र घुस नलिन्या दुवै देशका शत्रु हुन् भन्ने भइसकेको थियो भने गणतन्त्रमा त घूस नदिन्या नलिन्या गणतन्त्रका महान् सत्रु हुन भन्ने सिद्ध भैसकेको छ । यो कागजको नोटले घूस लिन्या र दिन्यालाई खुब सजिलो पारिदिएको छ ।

आजकाल त्यो कागजको धेरै उपनामहरू पनि आएका छन्– सुल्क, घूस, भेटी, कमिसन, कर, तलब, दहेज, तिलक आदि ।

हेर्दा जाबो कागज यसको कत्रो तागत ? यो पैसा नाम गरेको कागजको कत्रो ठूलो तागत ! आज संसारै त्यही कागजको पछि दौडिरहेको छ । चीन दौडिरहेको छ । अमेरिका दौडिरहेको छ । रुस, बेलायत, युरोप, जापान, भारत सब देश दौडिरहेका छन् । हाम्रो देश नेपालचाहिँ यो कागजको पछि दौडन सकेको छैन तर नेपालीहरू दौडिरहेका छन्, पौडिरहेका छन् । सबैभन्दा धेरै कागजको पछाडि दौडिनेमा नेताज्यूहरू हुन् भने दौडन सिकाउने कर्मचारीज्यूहरू हुन् । र, पैसामा नेता नचाउनेचाहिँ माफियाज्यूहरू हुन् । माफियाहरूले जत्ति नोट लिए पनि, दिए पनि माफ हुने भएकाले माफिया भनेको ।

आज सडकमा जति मानिस दौडिरहेका छन्, जति हवाइजहाजमा उडिरहेका छन्, जति यातायातमा हुइँकिरहेका छन् ती प्रायः सबैको एउटै उद्देश्य हो— कागज बटुल्ने । मन्दिर, मस्जिद, चर्च, गुरुद्वाराहरूमा जति भक्तजन पुग्छन्, सबैको भित्री चाहना आफ्नो सन्तानका लागि नोट नाम गरेको कागज पाऊँ भनेर आर्शीवाद माग्ने हो ।

जो जीवनसँग भागेर खरानी धसेर जोगी भएर हिँडेका छन्, त्यही जोगीलाई सय–पचासको कागज दिएर करोडौं करोडको कागज पाइयोस् भनेर आशीर्वाद माग्छन् भक्तजन । देवी देवताको मूर्तिको टाउकैमा लाग्ने गरी धातुको पैसाले हिर्काएर, देवतालाई चढाउने भनेर सबैभन्दा सस्तो लड्डु–पेडा किनेर देवी देवतासँग अर्बौं कागजको बरदान माग्छन् भक्तजन ।

नोट कागज नहुनेहरूको यो समाजमा इज्जत, मूल्य, मान्यता केही हुँदैन । जसले नोट नाम गरेको कागज धेरै खर्च गर्न सक्छ त्यो चोर, डाँका जे भए पनि त्यसको ठूलो इज्जत हुन्छ र उनीहरूका वरिपरि ठूला ठूला मानिसहरू पनि झिँगा भन्केको जस्तो भन्किरहेका हुन्छन् । नोट कागज खर्च गरेपछि जस्तोसुकैलाई पनि राजनीति, पार्टीमा स्वागत गरिन्छ । मन्त्री बनाएर तोप पड्काएर सलोट गरिन्छ ।

दलालज्यूहरूले पचास हजार भारु कागजका लागि आफ्नै दिदी–बहिनीलाई कोठीमा पुर्‍याउँछन् । त्यही कागज जम्मा गर्नका लागि तस्करेज्यूहरूले लागूपदार्थ ओसारेर अर्काको छोरा–छोरी लठ्याउँछन् । अशिक्षित कत्ति सासू–ससुराज्यूहरूले दहेज कम ल्याई भनेर बुहारीलाई जिउँदै आगो लगाउँछन् । त्यही कागज जम्मा गर्नका लागि मरिसकेको बिरामीको पनि अप्रेसन गर्नुपर्छ भनेर डाक्टरहरूले पैसा कुम्ल्याउँछन् । त्यही कागज जम्मा गर्न कालले मरेको मान्छे पनि अस्पतालको लापरबाहीले मर्‍यो भनेर तोडफोड समूहले वितण्डा मच्चाउँछन् । त्यही कागज जम्मा गर्न विषादी किङहरूले बनाएको केमिकल खाँदा आमाको पेटभित्र कुनै–कुनै बच्चाको एउटा कान बढ्छ र अर्को कान नबढेर सानो हुन्छ । हातको अथवा खुट्टाको चारवटा औंला बढेको र एउटा औंला नबढेको हुन सक्छ, त्यस्तो नबढेको अंगलाई बढाउन गर्भवती महिलालाई सात महिनामा लगाउने सुई, सानो लौकालाई लगाइदिएर फ्रिजभित्र हाल्यो भने लौका एकै रातमा भुसतिघ्रेको तिघ्रा जत्रो भएर फ्रिजमा नअटाएर फ्रिजको ढोका खोलेर गुड मर्निङ भन्छ । क्रिकेटको बलजत्रो फर्सीको कैंडोलाई त्यही सुई हालिदियो भने एकै रातमा घन्टाउकेको टाउको जत्रो बनाउँछ । अनि मानिसले त्यस्तो विषादी भरिएको तरकारी भात र रोटीसँग खान्छन् । आजकाल यस्तो सुई मासु–किङहरूले सानोसानो खसी–बोकालाई लगाएर खसी बोकाले केही दिनमै शरीरमा दस–पन्ध्र किलो मासु थप्छ । बोइलर–किङहरूले कुखुराको दानामा, माच्छा किङहरूले माच्छाको दानामा युरिया मल मिसाएर खान दिएर माच्छा, कुखुरोलाई ह्वातह्वात्तै बढाउँछन् अरे । अनि त्यही माच्छा, मासु मानिसले ज्युनार गर्दा मान्छेको छोराछोरीको शरीर पनि ह्वात्तै बढ्छ अरे । त्यसैले चौध–पन्ध्र वर्षका केटा मान्छेको पनि छाती ठूलठूलो हुन थालेको छ अरे कुनै कुनै देशमा ।

सबैभन्दा धेरै कागज त प्लटिङ किङहरूले जम्मा गरेका छन् । प्लटिङ किङहरूले डाँडा, पाखा भीर, खोला, नाला, राजकुलो, धान फल्ने खेत, मकै, कोदो खत्रे बारी सब प्लटिङ गरेर सक्काउन लागिसके ।

हाम्रो देशमा कागजप्रेमी कर्मचारी र कागजप्रेमी नेताहरूले प्लटिङ किङहरूलाई धेरै आशीर्वाद दिनुभएको छ र उहाँहरूसँग आशीर्वाद लिनुभएको छ । अब केही वर्षपछि नेपालको जमिन सबै घरैघरले छोपिदिन्छ, खेतबारी हेर्नलाई अब नेपालीले विदेशतिर जानुपर्ने हुन्छ । प्लटिङ किङहरूले देशको प्रधानमन्त्री बस्ने बालुवाटारको निवास, टुँडिखेल, भृकुटीमण्डप पनि प्लटिङ गर्न खोजे र गरे । प्रधानमन्त्री निवास नै प्लटिङ गरिदिएर गिनिज बुकमा नाम राख्ने काम पनि हाम्रो प्लटिङ किङहरूले गरे ।

नेताक्र्यासी र बिउरोक्र्यासीहरूको संरक्षणमा डोजर किङ, क्रसर किङ, बालुवा किङ, ट्रिपर किङहरूले डाँडा, खोला देख्यो कि कोपर्छन् । चुरे कोपरेर भारत पुर्‍याइरहेका छन् र तराईलाई मरुभूमि बनाइरहेको पनि यही कागजै जम्मा गर्नलाई हो । भगवान् देता हे तो छप्पर फाडके देता हे भनेको, घरको छानो उप्काएर भगवान्ले कागज खन्याइदिन्छन् भनेको हो । भगवान्ले पनि अनैतिक काम गर्नेलाई छप्पड फाडके देता हे, नैतिक काम गर्नेलाई गालामा थप्पड मार देता हे । जुन देशमा कागज मन पराउने नेता, अदालत, कर्मचारी, हुन्छन् त्यो देशमा काम गर्न सजिलो हुन्छ अरे । यहाँ हुँदै नहुने काम पनि कागज दिएपछि एकै छिनमा हुन्छ । हुने काम पनि कागज दिएन भने कहिल्यै हुँदैन । कागज दिएन भने मानिसलाई जनावरजस्तै बनाइदिन सक्छन् । कागज दियो भने बाँदरलाई पनि नागरिकता दिलाइदिन सक्छन् ।

हाम्रो देशमा नेता–कर्मचारीहरूलाई नेपालको कागज मात्र होइन रुपैये, युरो, पाउन्ड, डलर, यान नाम गरेका कागज पनि खुब मन पर्ने भएकाले केही राष्ट्रलाई नेपालमा उभिन सजिलो भएको छ । हाम्रो शान्ति सुरक्षा राजनीति, धर्म सबै ती राष्ट्रहरूले नै हामीलाई निर्देशित गर्छन् ।

विदेशी कागज दिएर नेपाललाई खेलमैदान बनाउने र त्यहाँ नेपाली नेपालीबीच फुटवल खेलाउने ठूलो कार्यक्रम छ रे । तर, फुटबलचाहिँ छालाको होइन नेपाली नेपालीको टाउकोको फुटबल म्याच खेलाएर त्यो म्याच हेर्न यहाँ आउन युरो, डलरवालाहरूको ठूलो इच्छा देखिन्छ । पैसाले उमेर किन्न पाइँदैन भन्छन् तर नेताहरूले राष्ट्र बैंकको ढुकुटीबाट कागज लगेर विदेशबाट उमेर किनेर आउँछन् । पैसाले देश किन्न पाइँदैन भन्छन् । तर, अलिकति कागज दिएपछि नागरिकता किन्न पाइन्छ, नागरिकता भएपछि देश पाइहालिन्छ नि ।

पैसाले आमा किन्न पाइँदैन भन्छन् तर आजकल कागज दिएपछि पाठेघर भाडामा दिने आमा पाइन्छ । ती भाडाका आमाहरूलाई आफ्नै छोराछोरी हुर्काउन कागज चाहिएर होला उनले आफ्नो पाठेघर अरूको छोराछोरी जन्माउन भाडामा दिनुपरेको । यो कागज भन्ने कस्तो चीज रहेछ । यो नभए पनि पोल्दो रहेछ । भए झन् पोल्दो रहेछ । नहुँदा थोरै पोल्दो रहेछ । जति भयो त्यति औडाहा पोल्दो रहेछ । कागज नहुने मान्छे बाटोमा कुनै डर–त्रास नबोकी हिँड्न सक्छ । कागज धेरै हुनेलाई सुरक्षाकर्मीले छोपिएर हिँड्नुपर्छ । कागज धेरै नहुनेलाई ढुंगाको सिरानी भए पनि निद्रा लाग्छ । कागज धेरै हुनेलाई सिमलको भुवामा पनि रातभरि निद्रा भाग्छ र निदाउन निद्राको गोली माग्छ ।

दाइले भाइको ज्यान ताक्छ । भाइले दाइको प्राण माग्छ । मिल्ने साथी, तर कागजमा तँ माथि कि म माथि भनेर देशै बर्बाद गर्छन् । राष्ट्रसेवकहरू कागज खान पाउने विभागमा लाखौंलाख कागज खुवाएर सरुवा माग्छन् । मौका परे यहाँ यति कागज खान्छन् यति खान्छन् एउटा राष्ट्रसेवकले खाएको कागज त्यसका सात पुस्तापछि पनि ढ्याउ ढ्याउती डकार्छन् ।

कागज खान नपाउने कर्मचारीले कागज खान पाउन अख्तियारलाई कुरा लगाउँछ । अख्तियारले कागज खानेलाई अदालतमा चढाउँछ । अदालतले कागज खाएर कागज खानेको सम्पत्ति चोरेको सम्पत्ति होइन यो त वैध सम्पत्ति हो भनेर कागज खानेको इज्जतलाई अदालतको बासिङ मेसिनमा हालेर धोइदिन्छ र सफा बनाइदिन्छ ।

यो कागज सल्केरै एक दिन पृथ्वीका सबै प्राणी डढ्नेछन् ।

अमेरिकालाई चीनले हामीले भन्दा धेरै कागज बटुल्ला भन्ने डर छ । चीन अमेरिकाभन्दा मसँग धेरै कागज हुनुपर्छ भन्ने मान्यता राख्छ । यता रसियालाई चीन र अमेरिकासँग कागज धेरै भयो भने चिन्ता छ । जर्मनी, फ्रान्स, बेलायत हामी भनेको खानदानी हौं, हामीसँग हिङ नभए पनि हिङबाँध्ने टालो छ, त्यसैले हामीले जसरी भए पनि धेरै कागज जम्मा गर्नुपर्छ भन्छन् ।

हाम्रो देश नेपालको ज्यापूहरूले पहिला पहिला खेतबाट उखेलेर दुई हात लामो मुला बेच्थे । त्यही हाम्रो देशका ज्यापू दाइले उमार्ने मुलासँग अनुहार मिल्ने ठूलठूलो मिसाइल बनाएर देशहरूले संसारभर छ्यासछ्यास्ती बेचिरहेका छन् । हाम्रो ज्यापू दाइहरूले बचेको मुला खाएर पड्क्यो भने त वरिपरिको वातावरण मात्र एक छिन ठ्वास्स गनाउँछ । तर, त्यो मुला अनुहारको मिसाइलहरू पड्कियो भने त पृथ्वी नै दुर्गन्धित भएर गनाउँछ । सक्नेले रकेट चढेर पृथ्वीजस्तै ग्रह खोजेर भाग्लान् । कुइयाउने, सडाउने गलाउने, झिँगा, कीटाणुहरू पनि त्यो मुलाजस्तै अनुहार भएको मिसाइलबाट निस्कने ग्यासले डढेर सकिने भएकाले पृथ्वी छोडेर भाग्न नसक्नेहरूको लास पृथ्वीभरि वर्षौंसम्म छरिएर बस्लान् ।

हेर्दा जाबो कागज, यसको कत्रो तागत

आफैंले छापे समाउने, कसरी होला कमाउने ?

बैंक लुटे भुटिदिन्छन् घर फोरे कुटिदिन्छन् ।

कहीँ गए नि भेटिएन पैसा फल्ने बोट

...

कसले ल्यायो यो कागजको चलन

त्यसको नाम थाहा पाए भनन्

जिम्दै भेटे बेस्कन हपार्थें

मरेको भए फोटोमा कोपर्थें

त्यो कागजलाई चलाउनै हुन्नथ्यो

अत्याचार कतै नि हुन्नथ्यो

नोट–नोट–नोट

कहीं गए नि भेटिएन पैसा फल्ने बोट

...

इमानदारको हातमै नपर्ने

बेइमानीले अथाह थुपार्ने

यो कागजले संसारै बिगार्छ

कुन दिन पृथ्वी नै प्वाल पार्छ

खारेज गरौं कागजको चलन

खाल्टो खनी कागजलाई पुरौं न

नोट–नोट–नोट

कहीं गए नि भेटिएन पैसा फल्ने बोट !

प्रकाशित : फाल्गुन ८, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?