कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साहित्यकार, आन्दोलन र बहस

साहित्यकारबाट नागरिक आन्दोलन आरम्भ हुनुको अन्तर्यमा यसको सिर्जनशील पक्ष छ । यसपालिको नागरिक आन्दोलनको प्रकृति स्वतःस्फूर्त किसिमले दिनदिनै परिभाषित हुँदै गएको छ ।
अभि सुवेदी

यो लेख तयार पारेको बेलासम्मको नागरिक आन्दोलनले क्रमशः उठाउँदै गएको प्रसङ्ग छ यहाँ । इतिहासले भुलेका विषयलाई उठाउनुपर्छ भनेको छ, यो आन्दोलनले । उठ्तै जानेछन् । हिजोका बृहत् आन्दोलनको बहसको केन्द्रमा राजनीतिक दलहरू थिए । तिनको पुनरुत्थान गर्नु, तिनलाई दलको आकार दिनु र एउटा संविधानभित्र राखेर तिनलाई देश र जनताको सेवा गर्ने जिम्मा दिनु ती आन्दोलनहरूको मुख्य लक्ष्य थियो ।

साहित्यकार, आन्दोलन र बहस

त्यो स्वाभाविक दायित्व थियो जुन दिए जनताले, दियो संविधानले । संघर्ष र बलिदान भए । त्रासद क्षणहरू आए अनि केही वर्ष बिते । ती दलहरूले त्यो बृहत् आन्दोलनले दिएको अभिभारा पूरा गरे कि गरेनन् खासै बहस भएन । तर, आन्दोलन आफैंमा उपलब्धि थियो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको विरोधमा आन्दोलनहरू सुरु भए । संविधान निर्माणमा पनि भूमिका भएका र जारी गर्ने केही मित्रहरूले त्यसको समर्थन गरेको वाचाल थियो । नेपालको इतिहासमा स्मृति अत्यन्त छोटो हुन्छ । हिजोको ‘ट््याजेडी’ बिर्सिने क्रम सुरु भयो । उपहासपूर्ण मोडमा त्यो प्रवेश भयो । बिर्सिने र बिर्साउने मिले । त्यो ‘एम्नेसिया’ वा विस्मृति नामले छलफल गरिन्छ । त्यो एम्नेसियाको चरित्र लगभग सबै राजनीतिक दलहरूका क्रियाकलापमा देखिन थालेको छ । उनीहरूको नीति र कार्यक्रममा देखिएको अनिश्चयको कारण त्यही विस्मृतिको प्रभाव हो । तर मानिस आन्दोलित भए । पहिलो आन्दोलन त्यही नेकपाभित्रकै नेताहरूबाट भयो । नेतागणका एउटै धारणा नभए पनि नेपाली कांग्रेसबाट पनि विरोधका जुलुस र भाषणहरू आए । तर, अर्को नागरिक आन्दोलनको आरम्भ भयो । नागरिक समाजले पहिलो पार्टी नेतृत्वको आन्दोलनमा ठूलो भूमिका खेलेको थियो । तर त्यसको मूल चरित्र उभार सिर्जना गर्नु र मार्गदर्शन गर्नुमा थियो जुन त्यही रूपमा रह्यो र लगभग इतिहास भयो ।

भर्खरै सुरु भएको नागरिक आन्दोलनले त्यो विगतको जरो समायो । त्यो बिर्सेको कालखण्ड, ती दल र सरकारले भुलेका प्रतिज्ञा, ती जानीजानी अवज्ञा गरेका जनतासँगका मौन र वाचाल सम्झौता अहिले फटाफट बाहिर आउन थालेका छन् । यो नागरिक आन्दोलनको आरम्भ सरल, दृढ र सिर्जनशील देखियो । एक जना युवा पुस्ताका लेखक युग पाठकले सानै स्केलमा यो आरम्भ गरे । यी युग पाठकले लेखेको उपन्यास ‘उर्गेनको घोडा’ को कलेवर जनताको जीवन, मिथक, यथार्थ र संघर्षले बनिएको छ ।

त्यो नागरिक आन्दोलनमा साहित्यकारहरू र नाट्यकर्मी आए । शुभ्र केश लिएर दुब्लो ज्यान तर तेज निस्सृत गर्ने खगेन्द्र संग्रौला आए । खगेन्द्र भाइलाई देख्ता फ्रान्सेली लेखक जँ पोल सार्त्रको सम्झना हुन्छ, मलाई । सार्त्रले फ्रान्समा उठेका कुनै पनि नागरिक आन्दोलनलाई नैतिक र दैहिक समर्थन दिन छोडेनन् । सन् १९६८ को फ्रेन्च क्रान्ति, त्यसको अघि र त्यसपछिका सबै आन्दोलनमा तिनको सहभागिता थियो । पछि उमेर र स्वास्थ्यको कारणले अलिक गलेपछि उनकी आजीवन मित्राणी सिमो द बुभ्वाले उनको सक्रियतालाई लिएर, पुग्यो नि, आराम गर्ने होइन अब ? भनेको संस्मरणलाई चिन्ताको रूपमा राखेकी छन् । खगेन्द्र भाइको कथा त्यस्तै हो ।

यो नागरिक आन्दोलनमा पल्पसा क्याफे उपन्यासका लेखक नारायण वाग्ले सुरुमै निस्के । प्रचण्ड–नेपालहरूको सभामा गएर हिंसाका कुरा नगर, शान्ति र नागरिक शक्तिका कुरा गर भनेर गर्जे यी लम्बू ज्यानका लेखक । कविताबाट विद्रोह बोल्ने भूपाल राई आए । अर्का उपन्यासकार सञ्जीव उप्रेती आए । तिनको पछिल्लो उपन्यास हंस एकाध महिनापछि हुने सार्क लेखक सम्मेलनमा प्रस्तुत गर्ने सिलसिलामा अहिले पढिरहेको छु । रङ्गमञ्चका अग्रगामी निर्देशक घिमिरे युवराज आए । अरू निकै साहित्यकार, अभियन्ता र पत्रकारहरू छन् । यहाँ केही नाम मात्र लिएको हुँ । साहित्यकारबाट नागरिक आन्दोलन आरम्भ हुनुको अन्तर्यमा यसको सिर्जनशील पक्ष छ । यसपालिको नागरिक आन्दोलनको प्रकृति स्वतःस्फूर्त किसिमले दिनदिनै परिभाषित हुँदै गइरहेको छ । नेपाली अहिंसात्मक आन्दोलनका एकल संवाहक डा. गोविन्द केसी आए । यिनको विषयमा यही पत्रिका र ‘काठमाडौं पोस्ट’ मा धेरै लेखिसकेको छु, दोहोर्‍याउन चाहन्नँ । तर, डा. केसीको सन्देश प्रस्ट छ । आन्दोलनले ल्याएका उपलब्धिहरूको पालना भएन । सबै राजनीतिक दलका सरकारहरूले जनताको चाहना र समर्पणको दुरुपयोग गरे, अब त्यसको विरुद्ध लड्नुपर्छ भन्ने उनको सन्देश हो । मोहना अन्सारीले मानवअधिकारको उद्घोष गरिन् ।

प्राध्यापक कृष्ण खनालले माघ २२ मा सरकारले बाटैमा रोकेको नागरिक आन्दोलनको जुलुसमा नागरिक हुनुको अर्थ, त्यसको शाश्वतता र शक्तिको व्याख्या गर्दै भने, हामी राज्यले प्रमाणित गर्नुपर्ने नागरिक होइनौं । उनले अर्को महत्त्वपूर्ण कुरा थपे, राजनीतिको धेरै फोहोर थुप्रिएको छ, संसद् पुनःस्थापनाले मात्रै त्यो फोहोर सफा हुँदैन ।

अब केही राजनीतिक दलहरूसँग जोडिएका विषयको छलफल गर्नु सान्दर्भिक ठान्दछु । भुक्तमान भोगिबसेका जनताको वास्ता नगरी आन्तरिक झगडाको मात्र चिन्ता गरी बसेका अनि इतिहासको महत्त्वपूर्ण कालखण्ड नष्ट गरी आएका ठूलो दल नेकपाका नेताहरूबाटै तथाकथित ओली समूह र प्रचण्ड–नेपाल समूह जन्मे ।

अहिले नारायणहिटीको आँगनदेखि चौर, गल्लीर घुम्तीहरूमा तिनीहरूकै सभाहरू हुँदै छन् । नाट्यकर्मी युवराज घिमिरेलाई यो नाटकीय लागेको छ । यी दुईलाई मिलाउन अर्को समूह बनाएर लाग्ने काममा अर्का कामरेड वामदेव गौतम निस्के । अब त्यो ठूलो नेकपा दल त्रिकोणात्मक हुने बाटोमा छ । यस्तो बेलामा मैले सम्झिने कविता नै हो । कवि कुन्दन शर्माले एउटा वाचाल कविता लेखेकी छन्, निकै पहिले । मेरा कविताहरू (२०४५) नामको संग्रहमा प्रकाशित ‘ठूलो त्रिकोण––ईश्वर मरेको संसारमा’ शीर्षक शर्माको त्यो कविता सिङ्गै मेरो स्मृतिमा बल्झियो । कुन्दन शर्माको कविता बोल्छ ट्ठ ‘त्रिकोणको यो नाटक/ दुःखान्त अथवा सुखान्त हो?/ कोतिर हेरेर भनूँ म/ यहाँ तीनैथरी छन्’ । (१६) । मार्क्सको दुःखान्त र सुखान्तको कुरा यहाँ पनि दोहोर्‍याउँछौं । यो ईश्वर मरेको संसार कस्तो छ त्यो त्रिकोणमा ? गहिरिएर हेर्नुपर्छ । उन्नाइसौं शताब्दीको सामाजिक क्रान्तिलाई लिएरअठारौं ब्रुमेरमा मार्क्सले भने, ‘कविता विगतबाट होइन भविष्यबाट उघाएर ल्याउनुपर्छ’ । नेपाली राजनीतिमा अहिले आएको अवस्थाको कारण शासकीय दल र सरकारले जनताले दिएको मतबाट पाएको संसद्लाई जनताको हित गर्ने ऊर्जावान कविताजस्तो रूपमा होइन, सोझो भौतिक फाइदाका निम्ति प्रयोग गरिने माध्यम ठाने । सबै ऊर्जा र सिर्जनाको स्रोत संसद्लाई बन्दी, शक्तिको माध्यम र पंगु बनाउने काममा कार्यकारीहरू लागे । अहिलेको समस्याको जरो त्यही हो । आन्दोलन कार्यकारीसँग गरिन्छ, तर तिनले दुरुपयोग गरेको सबभन्दा ठूलो ऊर्जा र शक्तिको स्रोत संसद्को मुक्ति त्यसमा नपर्न सक्छ ।

नेपाली कांग्रेस ठूलो विरोधी दल हो, अनि अर्को राजपा हो । नेपाली कांग्रेसको यो कमिनिस्टमय त्रिकोणात्मक संसारमा के भनाइ छ, के स्थान छ त अहिले ? नेपाली कांग्रेसकै नेता गुरुराज घिमिरेले पुस्तान्तरको चिन्तालाई लिएर यसरी लेखे, ‘कांग्रेसभित्रको युवापंक्ति एक प्रकारले बाल संन्यासीजस्तै किशोर वयमै राजनीतिमा लागेको उर्वर शक्ति हो । ...राज्य र पार्टीको भूमिकामा बस्नुलाई जागिर पाएझैं मात्र ठान्नु अराजनीतिक बुझाइ हो र कम्तीमा बीपी कोइरालाको पार्टीमा यो कसैलाई सुहाउँदैन’ । (नयाँ पत्रिका, २३ माघ, २०७७) । डा. बाबुराम भट्टराईले नागरिक समाजसहित सबैको संयुक्त आन्दोलनको आह्वान गरे । दलहरूको अहिले संयुक्त आन्दोलनमाथि विश्वास घटेर गएको देखियो । यो परिवर्तित मनस्थितिले धेरै कुरा भन्छ । अर्कोतिर जनताको राजनीतिक दलहरूसँगै मोह भंग हुने गति पनि तीव्र देखिएको छ । भोलि त्यसले ल्याउने समस्या झन् जटिल हुनेछ ।

यसपालिको नागरिक आन्दोलनमा स्वतन्त्र विचारक र विद्वान्हरूले छोटा भाषण, लामा अन्तर्वार्ता र लेखहरूद्वारा एउटा महत्त्वपूर्ण बहस अघि सारेका छन् । त्यो हो, नागरिक आन्दोलनको अलग र शाश्वत चरित्र बनाउने । ती भन्दै छन्, दलहरूका क्रियाकलाप र तिनले अपव्याख्या गरेको संविधानको मर्मले भन्छ, अबको नागरिक आन्दोलनले यी सबै कुरा सम्बोधन गर्नुपर्छ, तर सबभन्दा मुख्य कुरा यो एउटा जागरुक चेतनाको नाम हो जुन दलका नीति, तिनका आह्वानलाई लिएर मात्र चल्दैन । अनि यो नित्य चलिरहनुपर्छ ।

यस्ता सतत जागरुकता रहेनन् भने नागरिक अधिकार र लोकतान्त्रिक राज्यव्यवस्थामाथि प्रहार भइरहन्छन्, विचार विविध छन् तर मूल उद्देश्य एउटै छ भन्ने कुरा तिनका लेखमा आए । यस विषयमा मैले भाष्कर गौतम, आहुति, उज्ज्वल प्रसाईं, सञ्जीव उप्रेती, राजेन्द्र महर्जनका बहसहरू पढें । राष्ट्रिय सीमान्तकरणविरुद्ध अभियानका दुई युवा अभियन्ता सीएन थारू र आरके तामाङको नागरिक आन्दोलनले सीमान्तकरणको मुद्दालाई लिनुपर्छ भन्ने विचार पनि पढें । सबै पढ्दा र सुन्दा अग्रणी मार्क्सवादी साहित्य दार्शनिक फ्रेडरिक जेमिसनको इतिहासको ‘राजनीतिक अवचेतना’ सिद्धान्त सम्झें । नेपालमा विगतले पूरा नगरेका प्रतिज्ञा, सरकार र दलहरूले दिएका धोका भुक्तमान, सबै दमित विषय जुर्मुराएर यो नागरिक आन्दोलनका एजेन्डा हुन आउनेछन् । अहिलेको चुनौतीले विद्रोही तरंगहरू जन्माएका छन् । ती कति इतिहासबाट जन्मेका हुन्, कति समकालिक हुन् र शाश्वत हुन् यो नागरिक आन्दोलनले केलाउनेछ ।

प्रकाशित : फाल्गुन ८, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?