२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नयाँ उपन्यासकारको बकपत्र

हरेक मान्छेमा विषय छन्, हरेक ठाउँमा नलेखिएका सयौं उपन्यास छन्, हामीले फेर्ने हरेक श्वाससँगै कथाहरू जन्मँदै–मर्दै गरिरहेका छन् ।
पदम गौतम

मैले अलिअलि थाहा पाउँदाको मेरो गाउँको परिवेश निकै फरक थियो । त्यसबेला सामान्य लागे पनि अहिले सम्झँदा त्यो अवस्था अनौठो लाग्छ । मैले मेरो पहिलो आख्यानमा गाउँको त्यही पुरानो अवस्थाबाट बिषय उठान गर्ने निर्णय केही वर्षपहिले नै गरेको थिएँ ।

नयाँ उपन्यासकारको बकपत्र

गीताको एउटा श्लोक र त्यसको सार धेरै वर्षअघिदेखि कण्ठ थियो–

अमन्त्रं अक्षरं नास्ति, नास्ति मूलमनौषधम् ।

अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।

अर्थात् मन्त्र सुरु नहुने अक्षर हुँदैन, औषधि नबन्ने जरो हुँदैन, योग्यता नभएको कुनै मान्छे हुँदैन, यो संसारमा केवल ती क्षमताको प्रयोग गर्ने व्यक्तिको मात्र कमी छ । लागिरहन्थ्यो— हरेक मान्छेमा उपन्यासका विषय छन्, हरेक ठाउँमा नलेखिएका सयौं उपन्यास छन्, हामीले फेर्ने हरेक श्वाससँगै कथाहरू जन्मदै–मर्दै गरिरहेका छन् । र, मैले पनि मेरो गाउँको परिवेश र त्यस समय गाउँवासीलाई देखाइएका सपनाको चित्र उपन्यासमा ल्याउनुथियो । हालै प्रकाशित मेरो उपन्यास ‘विश्रामपुर’ को रचना सन्दर्भ सम्झँदा मेरो तत्कालीन मानसिकता मैले स्मरण गरेको हुँ ।

‘विश्रामपुर’ लेखनको समय मेरा लागि सजिलो थिएन । अहिले सम्झँदा लाग्छ, जीवनमा हिँडेका अप्ठ्यारा बाटा र भोगेका जटिल विषयले अत्याससँगै ऊर्जा पनि दिइरहने रहेछन् । कोरोना सुरु भएको बेला हामी दम्पती स्पेननजिकै रहेको पोर्चुगलको आल्बुफेरा सहरमा थियौं । चीनबाट सुरु भएको कोरोना इटाली, फ्रान्स हुँदै नजिकै स्पेन आइपुग्यो । के गर्ने र कसरी सुरक्षित रहने भन्दाभन्दै हाम्रै शहरमा कोरोना छिर्‍यो । टुरिस्ट अपार्टमेन्टमा बस्ने हुनाले सहरमा थुनिएका विदेशी र तिनको सम्पर्कमा आउने मान्छेको सम्पर्कबाट बँच्न हामीलाई गाह्रो हुन थाल्यो । जति गाह्रो थियो, त्योभन्दा बढी हामी मानसिक रूपमा त्रसित थियौं । त्यससँगै पर्यटनमा आश्रित यो सहर केही महिनासम्म सुनसान हुने निश्चित थियो । यो अवस्थामा हामी त्यहाँ महँगो भाडा तिरिरहन सक्ने अवस्थामा पनि थिएनौं । कोरोनाले बाँच्न सकिएला तर त्यसको असरबाट बाँच्न सकिँदैन भन्नेमा हामी पक्का थियौं । त्यसैले हामी हतार हतारमै छिमेकी जिल्ला बेजाको एउटा दुर्गम गाउँमा, सुरक्षित र सस्तो ठाउँमा सर्‍यौं ।

त्यो दुर्गम गाउँमा वाईफाई थिएन, लकडाउन पूरै खुलेपछि मात्र जोडिने जवाफ सेवाप्रदायक कम्पनीले दियो । अब त्यहाँ बसुन्जेल अल्छी मान्दै चल्ने नेट सिमले निकै गाह्रो गरेर काम चलाउनुपर्ने भयो । साथमा भएका करिब एक दर्जन किताब दोहोर्‍याएर पढ्नु, केही फिल्म हेर्नु, नेपाली किताबको अडियो सुन्नु र कोरोनाबारे दिनमा करिब दर्जनपटक अपडेट हुनु हाम्रो दिनचर्या बन्यो । जैतुनका जंगलले ढाकेको त्यो सानो पहाडी बस्तीमा काम गर्ने त परको कुरा घुम्न निस्कनका लागि पनि प्रशस्त ठाउँ थिएन । हामीजस्ता आप्रवासी त नदेखिने नै, स्थानीय बासिन्दा पनि घरबाहिर ननिस्कने । त्यो अनकण्टार गाउँमा हामी दम्पती समय कटाउन कहिले नाच्थ्यौं, कहिले गाउँथ्यौं र रमाउँदै बिताउँथ्यौं । त्यस ठाउँमा सरेको केही दिनमा नेपालमा साहिँला बुबा बित्नुभयो । पीडामाथि पीडा थप भनेजस्तो मन रोइरह्यो । तैपनि कोरोनाकालमा योभन्दा सुरक्षित अर्को ठाउँ भेट्न पनि गाह्रो हुन्थ्यो ।

‘हामी डिप्रेसनमा त जाँदैनौं होला नि, बूढी ?’

‘कहाँ त्यसो भनेर हुन्छ बूढा ? सुख पछि फेरि खोजौंला, अहिले जीवनसँग खुसी हुन सिक्नुपर्छ,’ रेनुकाले भनिन् ।

हामी त्यही अवस्थामा खुसी खोज्न बाध्य थियौं । नेपाली, हिन्दी, स्पेनी र पुर्तगाली भाषाका मन परेका गीत सुन्दै नाच्नका लागि पनि समय छुट्यायौं । शरीर र दिमाग दुवैलाई यसले फाइदा नै गर्‍यो ।

म तीसको दशकको सुरुमा भोजपुरमा जन्मिएँ । त्यसको केही महिनामै मेरो परिवार मधेस बसाइँ सर्‍यो । म पनि थुन्से या डोकामा बोकेर धानको भात खाँदै सुख पाउने लालसामा मधेस झारिएँ । मधेसको पनि निकै दख्खिनतिर पर्ने हुलाकी राजमार्ग नजिकैको अनकन्टार जंगलको एउटा छेउमा पुगेर मेरा बाबु–बाजेले भारी बिसाएका थिए । त्यहाँ पाका उमेरका सयौं मान्छेले सखुवाको झोडा फाँडेर धमाधम बस्ती बनाउँदा गरेको संघर्ष अहिले म सपनाजस्तै धमीलो सम्झन्छु । त्यो दुर्गम र निर्जन गाउँको स्मृति मनमा गजबसँग गढेर बसेको थियो । त्यहाँको पुरानो परिवेशमा लेख्नलायक कथा आफैंमा धेरै थिए र छन् । भिन्न जाति र संस्कृति बोकेका पहाडका धेरै जातका मान्छे आ–आफ्नो विरासत बोकेर मधेस झरेका थिए । मधेसमा लगभग अमेजन जंगलका अनौठा मान्छेको सभ्यताजस्तै सरकारलाई वास्ता नै नभएका अनेक जाति, भाषा र धर्मको अस्तित्व विद्यमान थियो । हो, त्यही संगममा बनेको मिश्रित संस्कृति र संस्कार भएको ठाउँमा म हुर्किएँ । यस अर्थमा आफूलाई भाग्यमानी सम्झन्छु, मबिना मिहिनेत फरकफरक धर्म, भाषा, संस्कृति र परिवेश नियाल्दै हुर्किरहेको थिएँ ।

आजभन्दा करिब चार दशकअघिका त्यहाँका मान्छेका पीडा, सपना र त्यहाँको प्राकृतिक सम्पदाजस्ता धेरै कुराको अहिले स्मरण हुन्छ । कोरोनाका कारण भएको लकडाउन सुरु हुँदा मन बहलाउन मैले पुराना गीत सम्झँदै गुन्गुनाउन थालेको थिएँ । त्यही क्रममा मैथिली, भोजपुरी र सन्थाल भाषाका गीत र बाल्यकालमै मेरो मुखमा झुन्डिएका जनवादी गीत सम्झिएँ । जनवादी गीतको सम्झनासँगै वामपन्थीहरूले उहिले गरेको संघर्ष र तल्लो तहका जनताको बर्तमान अवस्था पनि सम्झिएँ । रेनुकाले भनिन्, ‘यति सम्झिएपछि अब पहिला लेख्न खोजेको उपन्यास अघि बढाउन सहयोग गर्छ नि !’ र, यसरी अफ्ठ्यारो वातावरणमा नै लेख्न थालेँ, देहातको करिब चार दशक यताको परिवेश समेट्ने उपन्यास विश्रामपुर ।

किताब लेख्न थालेपछि मलाई बढी घोच्न थालेका विषय थिए— सुतेका मान्छेलाई जगाएर राजनीतिमार्फत देखाइएका सपना । उपन्यासमा एक हिसाबले मैले मेरो गाउँलाई नै नायक बनाउने प्रयास गरेँ । बिगतमा नायकका रूपमा स्थापित कतिपय मान्छेहरू अहिले खलनायक बनिसकेका थिए भने केही निरीह अवस्थामा थिए । जनतालाई सपना देखाएर त्यही सपनाको हत्या गर्नेहरूको विषयमा म केन्द्रित भइरहेँ । बर्मा, असम वा पहाडबाट झरेकाहरूको जीवनले संघर्षपछि थोरै गति लिँदै थियो । पुराना स्थानीयवासीहरू किनारातिर धकेलिँदै थिए । तिनीहरू शिक्षा र राज्य प्रशासनको सेवाको नेटवर्कभन्दा बाहिर थिए । आधुनिकता र विकासको मोडलले तिनीहरूलाई झन् बाहिर पार्दै गयो । उनीहरूको जीवनचक्रसँग जोडिएको जंगल र सिमसार थलो छोटो समयमा नै मासिए । अनेकतामा एकताको सूत्रमा लुकेको नदेखिँदो षड्यन्त्रले तिनीहरूलाई पर धकेलिरह्यो । हेर्दाहेर्दै तिनका हातबाट सबै गुमेको थियो, आफ्नै थातथलोमा कतै हराएजस्तो अवस्थामा पर्दै थिए तिनीहरू ।

यी सबै बिषय चित्रण गर्दै गाउँमा भएका शोषणका कथाको मूल जड पनि लेख्नैपर्ने भयो । त्यसरी लेख्दा केन्द्रमा राजनीति नै आउँथ्यो, आयो । देहातको सामाजिक चित्रण मुख्य उद्देश्य बनाएर सुरु भएको उपन्यास राजनीतिक परिवेशलाई पनि चित्रण गर्दै अघि बढाउनुपर्ने भयो । आखिर जनताको ढाडका करङ टेकेर माथि पुगेपछि जमिन बिर्सनेहरूको भण्डाफोर हरेक सचेत लेखकले गर्नैपर्ने हुन्छ । मुलुकको राजनीतिका विषयमा थोरै मात्र पनि सचेत मान्छेले यसमा विमति जनाउनुपर्ने कारण म देख्दिनँ पनि ।

गाउँ सरेको दुई महिनापछि लेखनले बल्ल गति लिएको थियो । ट्वीटरमा फेला परेका साथीभाइले बिर्सिंदै गएका पुराना स्थानीय भाषाका गीत सम्झन थप सहयोग गरे । ती गीतले जनमतसंग्रहको समयमा झोडा फाँडिएपछिको देहातको तत्कालीन आर्थिक, सामाजिक परिवेश सम्झन मद्दत गर्‍यो । मस्तिस्कको भित्री तहमा बसेका सन्दर्भ फेरि चित्र बनेर आउन थाले, म लेख्दै गएँ । म किशोरावस्थासम्म गाउँ बस्दा कामचलाउ हिसाबले त्यहाँका विभिन्न स्थानीय भाषा बोल्ने गर्थें । गाउँ छाडेको तीन दशकभन्दा बढी भएका कारण मैले ती भाषा बिर्संदै गएको थिएँ । सञ्जालमा फेला परेका साथीहरूबाट उपन्यासमा प्रयोग गरिएका ती विभिन्न भाषाका केही शब्द ‘भेरिफाई’ गर्न सजिलो भयो । केही भोगेका, केही देखेका, केही सुनेका र थोरै कल्पनाको मिश्रणले किताबले आकार लिँदै गयो । कतिपय पात्र र परिवेश ल्याउन विम्ब–प्रतीकको सहारा लिनुपरे पनि भएकै र हुने गरेकै घटनाले गाउँको चित्रणलाई जीवन्त बनाए ।

पहाडे बस्ती सुरु हुँदाको समयका स्थानीय मान्छेको अवस्था हेर्दा लाग्थ्यो, यी पुराना मान्छेहरू केवल जनगणनामा सामेल हुन जन्मेका हुन् । अझ, त्यस गाउँका सबै सम्प्रदायका दलित, महिला र गरिबहरू मान्छे नै होइनन्जस्तो अवस्था थियो । मैले यिनै परिवेश र त्यसबाट थोरै माथि उठ्ने चेतनाका प्रयासलाई उपन्यासमा उतार्ने चेष्टा गरेँ । अहिले देश र जनतामाथि जति गद्दारी गरे पनि त्यो प्रयासमा वाम आन्दोलनको ठूलो भूमिका थियो । त्यसका धेरै पाटा आख्यानमार्फत ल्याउनु नै थियो ।

आफूले देखेको र भोगेका विषयमा लेख्नका लागि खासै अनुसन्धान गर्नु नपर्ने भएका कारण लेखन सजिलो भयो । धेरैपटक उपन्यास लेख्ने भनेर थोरै लेख्दै थन्क्याउँदै गरेको थिएँ । अर्को कोणबाट हेर्दा म कविता लेख्ने कवि मान्छे, बिगतमा लामो समय अखबारमा फिचर लेख्ने र सम्पादन गर्ने काम गर्थेँ । यो कारणले उपन्यासका लागि उपयुक्त भाषा प्रयोग गर्दै अघि बढ्न मेरा लागि केही अप्ठ्यारो पनि थियो । खासमा म आफैं कुन स्तरको भाषामा यो किताब लेखिरहेको छु, विश्वस्त थिइनँ । केही साथीभाइको सुझाव लिएँ ।

किताबको अन्तिम एक च्याप्टर लेख्न बाँकी नै थियो, जहाँ वर्तमान राजनीतिको कुरूप र पीडक चरित्र नांगो पार्नका लागि म कल्पना गरिरहेको थिएँ, विम्बलाई मस्तिष्कमा खेलाइरहेको थिएँ । ०४७ पछिको तीन दशकको राजनीतिको ‘खलनायकी’ चरित्रका विषयलाई कसरी प्रस्तुत गर्ने भन्नेमा केन्द्रित थिएँ । यो अवधिको राजनीतिमा निर्णायक तत्त्व, चरित्र र तल्लो तहका जनताको स्तरबारे घोरिइरहेको थिएँ ।

‘विश्रामपुर’ उपन्यासको काम सकिने समयसम्म मैले धेरै विषयमा साथीहरूको प्रतिक्रिया या सुझाव पाएँ । यसले आगामी दिनमा पनि मेरो लेखनमा सहयोग गर्नेछ । तर, प्रगतिवादी साहित्य र ८० को दशकका हिन्दी फिल्मको हरेकपटक सत्य या न्यायकै जित देखाउनैपर्ने सार जबर्जस्ती निकाल्नचाहिँ मलाई मन लागेन । देहातका गाउँलेहरू अहिले पनि राज्य र त्यसका शासकीय षड्यन्त्र बुझेका मान्छेबाट पीडित नै छन् । हरेक ठाउँमा जनताको जितभन्दा पनि पीडा र संघर्षको लगातारको यथार्थ ल्याएर नै उपन्यास जीवन्त बन्छ भन्ने मलाई लाग्यो । राजनीति र विकासका नाममा भएका शोषण र दमनका उत्तरआधुनिक तरिका अबका हाम्रा लेखनमा ल्याउनुचाहिँ जरुरी देखिन्छ ।

यस्तै चेतना र अवस्थामा तयार भएको एउटा कवि र पूर्वपत्रकारको पहिलो आख्यान विश्रामपुरलाई पाठकले कसरी लिन्छन्, थाहा छैन । तर, आगामी दिनमा पनि निरन्तर यथार्थको नजिक रहेर लेखिरहनका लागि मलाई अहिलेसम्मका प्रतिक्रियाले ठूलो ऊर्जा दिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?