पीडाको पहाड

‘आज हरेक रात आमाको चीत्कार होइन न्यानो अँगालो पाउँछु । आमाका लागि बाँच्ने जिजीविषा सँगाल्दै छु ।’
सविता आचार्य

एक्कासि आमाको चीत्कार सुनें, ‘मार्‍यो नि बज्याले !’

पीडाको पहाड

यस्तो चीत्कार हरेक दिन सुन्छु, बिहान उठेदेखि साँझ ननिदाउन्जेल । हुन त कहिलेकाहीँ सपनामा पनि यस्तै चीत्कार सुन्छु । अनि झस्केर बिउँझिन्छु । डर लाग्छ, फेरि निदाउन सक्दिनँ । भोलि बिहान आमाको अनुहार देख्न पाउँछु कि पाउँदिनँजस्तो लाग्छ । बिहान डराई–डराई उठ्छु । कतै आमालाई केही भएको पो छ कि भन्दै । यसरी नै मेरा हरेक दिन र रात बित्छन् ।

आमाको त्यो चीत्कार सुन्दा मलाई असह्य हुन्छ । त्यसैले मलाई खाली मर्न मन लाग्छ । बाँचेर केही काम छैनजस्तो लाग्छ । साँच्चै हो, यो विचार मेरो हरेक दिन हरेक सेकेन्ड मेरो मनमा आइराख्छ ।

तपाईंलाई अचम्म लाग्यो होला है !

मलाई पनि तपाईंलाई जस्तै अचम्म लाग्छ । मेरो मनमा आउने विचार देखेर । दसौँपटक मर्छु भनेर कोसिस गरें । तर, हरेकपटक असफल भएँ । र, त तपाईंलाई आफ्नो कुरा सुनाउँदै छु अहिले ।

यति भनिसक्दा उनका आँखा आँसुले भरिइसकेका थिए । तर, उनी जबरजस्ती अनुहारमा हाँसो ल्याउने असफल प्रयत्न गर्दै थिइन्, जसरी उनी दसौंपटक आत्महत्याको असफल प्रयास गर्थिन् ।

सानो शारीरिक बनोट, चम्किला ठूला आँखा, सुलुत्त परेको नाक, धपक्क बलेको हँसिलो मुहार । तर, त्यही हँसिलो मुहारभित्र अनेकन् पीडाको पहाड । सबै पीडा बिर्सिन खोज्छिन् उनी । तर, पीडाले कहाँ पछ्याउन छोड्छ ? जहाँ जान्छिन् छाया बनेर सँगै आइदिन्छ ।

मनमा कुरा मेरो खेल्दै थियो । उनी त मसँग आफ्नो पीडा बिसाउँदै थिइन् आज ।

सामान्य परिवार छ मेरो, भएको थोरै जमिनमा आमा तरकारी रोप्नुहुन्थ्यो र त्यही तरकारी बेचेर दाल–चामल किन्नुहुन्थ्यो । अनि हामी तीन जनाको परिवार धानिन्थ्यो । धानिन्थ्यो त के भन्नु, अलि अलि खान पुग्थ्यो । कहिले पेटभर त कहिले आमाको आधा पेट भए पनि । हामी तीन जनाको पेट भर्नका लागि आमासँग कुनै जागिर थिएन, कुनै भरपर्दा पेसा–व्यवसाय थिएनन् । थियो त घरछेउमा थोरै जमिन । त्यही जमिनमा आमाले आफ्नो पसिना बगाउनुहुन्थ्यो । र, त हाम्रो पेट भरिन्थ्यो ।

सबैलाई जस्तै, बुबाबारे चासो लागेको होला तपाईंलाई ! मध्यरातमा ‘ऐया नि मार्‍यो !’ भनेर आमा चिच्याउने कारण बुबाले गर्ने कुटपिट हो !

बुबा ठेकदारसँग मिलेर घरनजिकैको इँटाभट्टामा काम गर्नु हुन्थ्यो । बुबाको काम सजिलो थियो, कमाइ पनि राम्रै थियो । इँटाभट्टाका साहु चिनेकै मान्छे थिए । त्यही भएर पनि होला बुबालाई सजिलो थियो काम गर्न । त्यहाँ दैनिक ज्याला लिएर काम गर्ने मान्छेहरूको लगत राख्ने काम हो उहाँको । त्योबाहेक अरू पनि काम छ उहाँको । नियमित रूपमा गर्ने काम । मन लगाएर गर्नुहुन्छ उहाँ । र, उहाँले त्यसरी मन लगाएर गर्ने काम भनेको, दिनभरि कमाएर ल्याएको पैसाले जाँड खाएर आमालाई कुट्ने पनि हो ।

आमालाई कुट्ने पनि बुबाको अर्को काम हो !

यति भनेर उनी धेरैबेर मौन रहिन् ।

म त्यतिबेला आठ कक्षामा पढ्थें, १३ वर्षकी थिएँ । पढ्थें त के भन्नु स्कुल जान्थें । रातदिनको किचलोले गर्दा म घरमा हुँदा एक शब्द पढ्न सक्दिनथें । सरले स्कुलमा दिने होमवर्क गर्न सक्दिनथें । अनि हरेक दिन स्कुलमा कुखुरा बन्थें । कतिपटक त कक्षा कोठाबाट निकालिएकी छु । साथीहरू सबै जना मेरो मजाक उडाउँथे । जँड्याहाको छोरी भन्थे सबैले मलाई । एक जना मिल्ने साथी थिई इशा । उसले मलाई बुझ्थी । तर, उसले मात्रै बुझेर के गर्नु कक्षामा भएका अरू ४३ जनाले एकमुख भएर मजाक उडाएपछि । साथीले मात्रै त्यस्तो भने त म कहिलेकाहीँ आफ्नो मन बुझाउँथें । तर, सर र म्याडमहरूले नै मलाई साथीको अगाडि तथानाम भन्नुहुन्थ्यो । हो त्यहीबेला मलाई मर्न मन लाग्थ्यो । मैले बाँचेर केही गर्न सक्दिनँ, मेरो जीवनको अर्थ छैन जस्तो लाग्थ्यो । अनि, मर्ने प्रयास गर्थें तर सक्दिनथें ।

एक दिन बुबा अलि सबेरै घर आउनुभयो, म आँगनमा बसेर पढ्दै थिएँ । मलाई बुबा चाँडै घर आएको अनि ठीकठाकै देखेर आमाले पिटाइ खानुनपर्ने भयो, सबै जना सँगै बसेर खाना खान पाइयो, यतिका दिन बुबालाई भन्न साँचेका कुरा भन्न पाउने भएँ भनेर एकदमै खुसी लाग्यो ।

‘बुबा, पानी खानुहुन्छ ?’ मैले सोध्न नपाउँदै, ‘तेरी आमा कुनचैँ नाठोसँग छे हँ ?’ भन्दै कराउन थाल्नुभयो । मलाई थाहा थियो, आमा साग बेच्न हाम्रो गाउँभन्दा अलि माथिको बजार जानुभएको थियो । तर, यो कुरा बुबाले पत्याउने सम्भावना शून्य थियो ।

सोचेकी थिएँ, आज त सबै ठीकठाक हुनेछ । मैले त्यति सोच्न नपाउँदै बुबा जङ्गिन सुरु गरिसक्नुभएको थियो । आमाको बारेमा तथानाम बोल्नथाल्नुभएको थियो । आमालाई सम्झेर मन अमिलो भयो । थाकेर आएकी मेरी आमाले कति कुटाइ खानुपर्ने हो ? ओहो ! म सोचेरै इत्रिएँ ! मलाई भाउन्न छुट्लाजस्तो भयो । रिंगटा लाग्लाजस्तो हुन थाल्यो । रुँदै कोठामा गएँ । जब आमा साँझ आउनुभयो तब बुबाले आमालाई तथानाम कुट्न थाल्नुभयो । आमाले आफूलाई किन कुटिँदै छु भन्ने पनि थाहा पाउनुभएको थिएन । बुबा भएभरको शक्ति निकालेर आमालाई घरी लात्ताले घरी हातले त घरी जुत्ताले पिट्दै हुनुहुन्थ्यो । मैले आमालाई छुटाउन जति प्रयास गरे पनि सकिनँ । उल्टै बुबाले, ‘तँ पनि तेरी आमाभन्दा कम छैनस् !” भनेर मलाई हुत्याउनुभयो । म पछारिएँ । मलाई एकदमै निरीह, असहायजस्तो महसुस भइरहेको थियो । बुबाले आमालाई पिट्न छोड्नुभएको थिएन । आमाको दायाँ आँखामाथि रगत बगेको थियो । एकै छिनमा आमा ढल्नुभयो अनि मात्रै बुबाका हात रोकिए । हुन त हरेकपटक यस्तै नै हुन्छ । आमा बेहोस भएर नढल्दासम्म बुबाको हात रोकिँदैनथ्यो । आज पनि त्यस्तै भयो ।

मलाई आफ्नो जीवन देखेर एकदमै धिक्कार लाग्यो । मैले त आमाका लागि केही गर्न सकिनँ । बुबाले त्यसरी बेहोस हुने गरी पिट्दासमेत रमिते बनेर बस्नुबाहेक मैले केही गर्न सकिनँ । अनि फेरि, मलाई लाग्यो आमाको लागि केही गर्न नसक्ने म बाँचेर केही काम छैन । म मरेको राम्रो हुन्छ । मैले आत्महत्याको प्रयास गरें । आमाको पुरानो सल पङ्खामा अड्काएँ अनि आफ्नो घाँटीमा बेरेर झुन्डिएँ । तर, मलाई मर्न लेखेकै रैनछ क्यारे सल चुँडियो र म भुइँमा खसें ।

मलाई मेरो जीवन देखेर दिक्क लाग्थ्यो । न त केही गर्न सक्थें न त मर्न सक्थें । न त मेरो पढाइ नै राम्रो भएको थियो । न त आमाका लागि केही गर्न सक्थें । सिवाय, बुबाले पिट्दा रमिते बन्ने !

साथीहरूको कुरा सुन्दा, उनीहरूका आमाबुबा मिलेको देख्दा मलाई भित्रभित्रै जलन हुन्थ्यो । उनीहरूको जस्तै मेरो परिवार पनि भइदिए भन्ने सोच्थें । तर, सोचेर त कहाँ हुँदो रैछ ?

इशाबाहेक मेरो कुरा सुन्ने, मलाई थोरै भए पनि ढाडस दिने अरू साथी कोही थिएनन् । थिए त केवल मेरो मजाक बनाउने मात्रै । म आफूलाई संसारकै नराम्रो, अभागी छोरी ठान्थें । ममा नकारात्मक सोचबाहेक केही पनि थिएन । सायद, त्यही कारणले पनि होला म आफूलाई आफैँले कसरी मार्न सक्छु ? भन्ने धाउन्नमा लागिरहन्थें । घरी आमाले तरकारीमा हाल्ने औषधिहरू लुकाउँथें, घरी मुसाले सतायो भनेर आमासँग झूट बोलेर मुसा मार्ने दबाई किन्थें । तर, खै आमालाई कसरी थाहा हुन्थ्यो आमाले यसो उसो गरेर मेरा ती सबै प्रयासहरू असफल बनाइदिनुहुन्थ्यो ।

एकरात म मस्त निद्रामा थिएँ, कसैले मलाई साउती गरेर बोलाउँदै थियो । म बेस्सरी तर्सें । अँध्यारोमा बोलाउने महिलाको आवाज आयो । उनले मेरो मुख च्याप्प समातेर सुस्तरी भनिन्, ‘नीलम उठ् !’

त्यो आवाज अरू कसैको थिएन, मेरी प्यारी आमाको थियो । जो हरेक समय मरेर बाँचिरहेकी हुन्थिन् । आमाको बोली सुनेर सुरुमा त मलाई एकदमै डर लाग्यो । बुबाले थाहा पाए के गर्ने भन्ने सोचेरै मेरो मुटु थरर काँपेको थियो । त्यहीबेला आमाले फेरि साउती गर्नुभयो, ‘उठ् न नीलम, अहिले तेरो बाले थाहा पाउँछन् !’ यसपटक आमाको बोलीमा डरभन्दा धेरै हतारो सुनिएको थियो ।

मैले बिरालोको चालमा किताब–कापी झोलामा राखेँ । आमाले लुगा राखिदिनुभयो । अनि बिरालाकै चालमा हामी आमाछोरी बाहिर निस्कियौँ ।

त्यो रात बुबालाई एक्लै छोडी आमा र म भागेर बजार गयौँ । त्यसपछि हरेक रात आमाको चीत्कार होइन न्यानो अँगालो पाउँछु मैले । मर्नका लागि हरेक दिनअगाडि बढ्ने म, आमाका लागि बाँच्ने जिजीविषा सँगाल्दै छु । अहिले आमा मामाको सहयोगमा सानो चिया पसल चलाउनुहुन्छ । म बजारकै स्कुलमा नौ कक्षामा पढ्दै छु । हामी एकअर्कालाई हेरेर मुस्कुराउँछौं । आमा मुस्कुराउँदा मैले पुराना दिन सबै बिर्सिन्छु । आत्महत्याका प्रयास धन्न असफल भएछन् भनेर खुसी हुन्छु । सायद अब हाम्रो सुखको दिन आए कि !

(छाया महामारीकै विकराल रूप लिँदै गएको महिला हिंसाबारे दाङको फूलबारी गाउँकी एक किशोरीको प्रतिनिधि अनुभव यस लेखमा मिसिएको छ ।)

प्रकाशित : फाल्गुन ८, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?