पीडाको पहाड- कोसेली - कान्तिपुर समाचार

पीडाको पहाड

‘आज हरेक रात आमाको चीत्कार होइन न्यानो अँगालो पाउँछु । आमाका लागि बाँच्ने जिजीविषा सँगाल्दै छु ।’
सविता आचार्य

एक्कासि आमाको चीत्कार सुनें, ‘मार्‍यो नि बज्याले !’

यस्तो चीत्कार हरेक दिन सुन्छु, बिहान उठेदेखि साँझ ननिदाउन्जेल । हुन त कहिलेकाहीँ सपनामा पनि यस्तै चीत्कार सुन्छु । अनि झस्केर बिउँझिन्छु । डर लाग्छ, फेरि निदाउन सक्दिनँ । भोलि बिहान आमाको अनुहार देख्न पाउँछु कि पाउँदिनँजस्तो लाग्छ । बिहान डराई–डराई उठ्छु । कतै आमालाई केही भएको पो छ कि भन्दै । यसरी नै मेरा हरेक दिन र रात बित्छन् ।

आमाको त्यो चीत्कार सुन्दा मलाई असह्य हुन्छ । त्यसैले मलाई खाली मर्न मन लाग्छ । बाँचेर केही काम छैनजस्तो लाग्छ । साँच्चै हो, यो विचार मेरो हरेक दिन हरेक सेकेन्ड मेरो मनमा आइराख्छ ।

तपाईंलाई अचम्म लाग्यो होला है !

मलाई पनि तपाईंलाई जस्तै अचम्म लाग्छ । मेरो मनमा आउने विचार देखेर । दसौँपटक मर्छु भनेर कोसिस गरें । तर, हरेकपटक असफल भएँ । र, त तपाईंलाई आफ्नो कुरा सुनाउँदै छु अहिले ।

यति भनिसक्दा उनका आँखा आँसुले भरिइसकेका थिए । तर, उनी जबरजस्ती अनुहारमा हाँसो ल्याउने असफल प्रयत्न गर्दै थिइन्, जसरी उनी दसौंपटक आत्महत्याको असफल प्रयास गर्थिन् ।

सानो शारीरिक बनोट, चम्किला ठूला आँखा, सुलुत्त परेको नाक, धपक्क बलेको हँसिलो मुहार । तर, त्यही हँसिलो मुहारभित्र अनेकन् पीडाको पहाड । सबै पीडा बिर्सिन खोज्छिन् उनी । तर, पीडाले कहाँ पछ्याउन छोड्छ ? जहाँ जान्छिन् छाया बनेर सँगै आइदिन्छ ।

मनमा कुरा मेरो खेल्दै थियो । उनी त मसँग आफ्नो पीडा बिसाउँदै थिइन् आज ।

सामान्य परिवार छ मेरो, भएको थोरै जमिनमा आमा तरकारी रोप्नुहुन्थ्यो र त्यही तरकारी बेचेर दाल–चामल किन्नुहुन्थ्यो । अनि हामी तीन जनाको परिवार धानिन्थ्यो । धानिन्थ्यो त के भन्नु, अलि अलि खान पुग्थ्यो । कहिले पेटभर त कहिले आमाको आधा पेट भए पनि । हामी तीन जनाको पेट भर्नका लागि आमासँग कुनै जागिर थिएन, कुनै भरपर्दा पेसा–व्यवसाय थिएनन् । थियो त घरछेउमा थोरै जमिन । त्यही जमिनमा आमाले आफ्नो पसिना बगाउनुहुन्थ्यो । र, त हाम्रो पेट भरिन्थ्यो ।

सबैलाई जस्तै, बुबाबारे चासो लागेको होला तपाईंलाई ! मध्यरातमा ‘ऐया नि मार्‍यो !’ भनेर आमा चिच्याउने कारण बुबाले गर्ने कुटपिट हो !

बुबा ठेकदारसँग मिलेर घरनजिकैको इँटाभट्टामा काम गर्नु हुन्थ्यो । बुबाको काम सजिलो थियो, कमाइ पनि राम्रै थियो । इँटाभट्टाका साहु चिनेकै मान्छे थिए । त्यही भएर पनि होला बुबालाई सजिलो थियो काम गर्न । त्यहाँ दैनिक ज्याला लिएर काम गर्ने मान्छेहरूको लगत राख्ने काम हो उहाँको । त्योबाहेक अरू पनि काम छ उहाँको । नियमित रूपमा गर्ने काम । मन लगाएर गर्नुहुन्छ उहाँ । र, उहाँले त्यसरी मन लगाएर गर्ने काम भनेको, दिनभरि कमाएर ल्याएको पैसाले जाँड खाएर आमालाई कुट्ने पनि हो ।

आमालाई कुट्ने पनि बुबाको अर्को काम हो !

यति भनेर उनी धेरैबेर मौन रहिन् ।

म त्यतिबेला आठ कक्षामा पढ्थें, १३ वर्षकी थिएँ । पढ्थें त के भन्नु स्कुल जान्थें । रातदिनको किचलोले गर्दा म घरमा हुँदा एक शब्द पढ्न सक्दिनथें । सरले स्कुलमा दिने होमवर्क गर्न सक्दिनथें । अनि हरेक दिन स्कुलमा कुखुरा बन्थें । कतिपटक त कक्षा कोठाबाट निकालिएकी छु । साथीहरू सबै जना मेरो मजाक उडाउँथे । जँड्याहाको छोरी भन्थे सबैले मलाई । एक जना मिल्ने साथी थिई इशा । उसले मलाई बुझ्थी । तर, उसले मात्रै बुझेर के गर्नु कक्षामा भएका अरू ४३ जनाले एकमुख भएर मजाक उडाएपछि । साथीले मात्रै त्यस्तो भने त म कहिलेकाहीँ आफ्नो मन बुझाउँथें । तर, सर र म्याडमहरूले नै मलाई साथीको अगाडि तथानाम भन्नुहुन्थ्यो । हो त्यहीबेला मलाई मर्न मन लाग्थ्यो । मैले बाँचेर केही गर्न सक्दिनँ, मेरो जीवनको अर्थ छैन जस्तो लाग्थ्यो । अनि, मर्ने प्रयास गर्थें तर सक्दिनथें ।

एक दिन बुबा अलि सबेरै घर आउनुभयो, म आँगनमा बसेर पढ्दै थिएँ । मलाई बुबा चाँडै घर आएको अनि ठीकठाकै देखेर आमाले पिटाइ खानुनपर्ने भयो, सबै जना सँगै बसेर खाना खान पाइयो, यतिका दिन बुबालाई भन्न साँचेका कुरा भन्न पाउने भएँ भनेर एकदमै खुसी लाग्यो ।

‘बुबा, पानी खानुहुन्छ ?’ मैले सोध्न नपाउँदै, ‘तेरी आमा कुनचैँ नाठोसँग छे हँ ?’ भन्दै कराउन थाल्नुभयो । मलाई थाहा थियो, आमा साग बेच्न हाम्रो गाउँभन्दा अलि माथिको बजार जानुभएको थियो । तर, यो कुरा बुबाले पत्याउने सम्भावना शून्य थियो ।

सोचेकी थिएँ, आज त सबै ठीकठाक हुनेछ । मैले त्यति सोच्न नपाउँदै बुबा जङ्गिन सुरु गरिसक्नुभएको थियो । आमाको बारेमा तथानाम बोल्नथाल्नुभएको थियो । आमालाई सम्झेर मन अमिलो भयो । थाकेर आएकी मेरी आमाले कति कुटाइ खानुपर्ने हो ? ओहो ! म सोचेरै इत्रिएँ ! मलाई भाउन्न छुट्लाजस्तो भयो । रिंगटा लाग्लाजस्तो हुन थाल्यो । रुँदै कोठामा गएँ । जब आमा साँझ आउनुभयो तब बुबाले आमालाई तथानाम कुट्न थाल्नुभयो । आमाले आफूलाई किन कुटिँदै छु भन्ने पनि थाहा पाउनुभएको थिएन । बुबा भएभरको शक्ति निकालेर आमालाई घरी लात्ताले घरी हातले त घरी जुत्ताले पिट्दै हुनुहुन्थ्यो । मैले आमालाई छुटाउन जति प्रयास गरे पनि सकिनँ । उल्टै बुबाले, ‘तँ पनि तेरी आमाभन्दा कम छैनस् !” भनेर मलाई हुत्याउनुभयो । म पछारिएँ । मलाई एकदमै निरीह, असहायजस्तो महसुस भइरहेको थियो । बुबाले आमालाई पिट्न छोड्नुभएको थिएन । आमाको दायाँ आँखामाथि रगत बगेको थियो । एकै छिनमा आमा ढल्नुभयो अनि मात्रै बुबाका हात रोकिए । हुन त हरेकपटक यस्तै नै हुन्छ । आमा बेहोस भएर नढल्दासम्म बुबाको हात रोकिँदैनथ्यो । आज पनि त्यस्तै भयो ।

मलाई आफ्नो जीवन देखेर एकदमै धिक्कार लाग्यो । मैले त आमाका लागि केही गर्न सकिनँ । बुबाले त्यसरी बेहोस हुने गरी पिट्दासमेत रमिते बनेर बस्नुबाहेक मैले केही गर्न सकिनँ । अनि फेरि, मलाई लाग्यो आमाको लागि केही गर्न नसक्ने म बाँचेर केही काम छैन । म मरेको राम्रो हुन्छ । मैले आत्महत्याको प्रयास गरें । आमाको पुरानो सल पङ्खामा अड्काएँ अनि आफ्नो घाँटीमा बेरेर झुन्डिएँ । तर, मलाई मर्न लेखेकै रैनछ क्यारे सल चुँडियो र म भुइँमा खसें ।

मलाई मेरो जीवन देखेर दिक्क लाग्थ्यो । न त केही गर्न सक्थें न त मर्न सक्थें । न त मेरो पढाइ नै राम्रो भएको थियो । न त आमाका लागि केही गर्न सक्थें । सिवाय, बुबाले पिट्दा रमिते बन्ने !

साथीहरूको कुरा सुन्दा, उनीहरूका आमाबुबा मिलेको देख्दा मलाई भित्रभित्रै जलन हुन्थ्यो । उनीहरूको जस्तै मेरो परिवार पनि भइदिए भन्ने सोच्थें । तर, सोचेर त कहाँ हुँदो रैछ ?

इशाबाहेक मेरो कुरा सुन्ने, मलाई थोरै भए पनि ढाडस दिने अरू साथी कोही थिएनन् । थिए त केवल मेरो मजाक बनाउने मात्रै । म आफूलाई संसारकै नराम्रो, अभागी छोरी ठान्थें । ममा नकारात्मक सोचबाहेक केही पनि थिएन । सायद, त्यही कारणले पनि होला म आफूलाई आफैँले कसरी मार्न सक्छु ? भन्ने धाउन्नमा लागिरहन्थें । घरी आमाले तरकारीमा हाल्ने औषधिहरू लुकाउँथें, घरी मुसाले सतायो भनेर आमासँग झूट बोलेर मुसा मार्ने दबाई किन्थें । तर, खै आमालाई कसरी थाहा हुन्थ्यो आमाले यसो उसो गरेर मेरा ती सबै प्रयासहरू असफल बनाइदिनुहुन्थ्यो ।

एकरात म मस्त निद्रामा थिएँ, कसैले मलाई साउती गरेर बोलाउँदै थियो । म बेस्सरी तर्सें । अँध्यारोमा बोलाउने महिलाको आवाज आयो । उनले मेरो मुख च्याप्प समातेर सुस्तरी भनिन्, ‘नीलम उठ् !’

त्यो आवाज अरू कसैको थिएन, मेरी प्यारी आमाको थियो । जो हरेक समय मरेर बाँचिरहेकी हुन्थिन् । आमाको बोली सुनेर सुरुमा त मलाई एकदमै डर लाग्यो । बुबाले थाहा पाए के गर्ने भन्ने सोचेरै मेरो मुटु थरर काँपेको थियो । त्यहीबेला आमाले फेरि साउती गर्नुभयो, ‘उठ् न नीलम, अहिले तेरो बाले थाहा पाउँछन् !’ यसपटक आमाको बोलीमा डरभन्दा धेरै हतारो सुनिएको थियो ।

मैले बिरालोको चालमा किताब–कापी झोलामा राखेँ । आमाले लुगा राखिदिनुभयो । अनि बिरालाकै चालमा हामी आमाछोरी बाहिर निस्कियौँ ।

त्यो रात बुबालाई एक्लै छोडी आमा र म भागेर बजार गयौँ । त्यसपछि हरेक रात आमाको चीत्कार होइन न्यानो अँगालो पाउँछु मैले । मर्नका लागि हरेक दिनअगाडि बढ्ने म, आमाका लागि बाँच्ने जिजीविषा सँगाल्दै छु । अहिले आमा मामाको सहयोगमा सानो चिया पसल चलाउनुहुन्छ । म बजारकै स्कुलमा नौ कक्षामा पढ्दै छु । हामी एकअर्कालाई हेरेर मुस्कुराउँछौं । आमा मुस्कुराउँदा मैले पुराना दिन सबै बिर्सिन्छु । आत्महत्याका प्रयास धन्न असफल भएछन् भनेर खुसी हुन्छु । सायद अब हाम्रो सुखको दिन आए कि !

(छाया महामारीकै विकराल रूप लिँदै गएको महिला हिंसाबारे दाङको फूलबारी गाउँकी एक किशोरीको प्रतिनिधि अनुभव यस लेखमा मिसिएको छ ।)

प्रकाशित : फाल्गुन ८, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

भू–संवाद : झोलेको टार, गण्डकीको किनार

आज मानिसले पृथ्वीको इन्च–इन्च नापेको छ । पृथ्वी नाप्ने काम हजारौं वर्षअघिदेखि हुँदै आएको हो । तर, आजजस्तो मोबाइल वा कम्युटर हेरेर सानो पृथ्वी घुमाउने दिन आउनुअघि विश्व–नक्सा इतिहासमा अनेकन् घटना भएका थिए । कुनै युग थियो, जतिबेला मानिससँग आफ्ना पाइला मात्रै थिए । पाइला हिँडेर पूरै पृथ्वी नाप्न सम्भव थिएन । त्यसैले अनेकन् अनुमान गरिन्थे र धेरै गलत नक्सा लेखिन्थे । 
रमेश भुसाल

पारि गोर्खे दर्बुंङको फाँट, वारि धादिङे माझीटार । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट हुँदै त्रिशूली तरेर सिउरेनीटारबाट बूढीगण्डकीको किनारैकिनार दस किलोमिटरजति उत्तर हानिएपछि दाहिने फर्केर गण्डकी पारि हेर्दा ४८ हेक्टरको कुलो लाग्ने लोभलाग्दो माझीटारको फाँट देखिन्छ ।

यसैको उत्तरी कुनोबाट उचालिएको पहाडको फेदतिर गाडिएको मेरो टेन्टमा तप्–तप्–तप् शीत झरिरहेछ । शीत झर्छ थाहा थियो, तर शीत बर्सिन्छ, त्यो हेक्का राखेको रहेनछु । पुसको महिना गण्डकीको किनार र बर्सिएको शीत । जमिनको ओछ्यान, कपडाको छानो । चकमन्न रातमा म प्रत्येक शीतको थोपा गनिरहेछु र शीतले सायद मेरो धड्कन । कहिलेकाहीँ शीतसँग संवाद गर्न खुब मजा हुन्छ !

दिउँसो टीकाराम कुमालले गण्डकीको दाहिने किनारमा उभिएको बडेमानको ढुंगो देखाउँदै भनेका थिए— हाम्रा बाउबाजेले गण्डकी तार्दा डुंगा बाँध्ने दुलो बनाएका रे ! त्यो दुलोबाट हेर्दा माझीटारका दुःखी माझी कुमालहरूको कथा देखिन्छ, हेर्न–बुझ्न सक्ने मन भए । जसले सबैभन्दा बढी गुण लगाए, तिनै अहिले सबैभन्दा तिरस्कृत छन् । हँसिया, फाली बनाउने कामी हुन् वा चिटिक्क पार्ने र लाज छोप्ने लुगा सिउने दमाई, छालाका नारा बनाउने सार्की हुन् वा घाट तार्ने माझी सबै अहिले तिरस्कृत । त्यही हलोले जोताउनेहरू जमिनदार भए, धनी भए, शासक भए । त्यही कपडा लगाउनेहरूले देश–दुनियाँ हाँके, तर जसले जिन्दगी सजिलो पारिदियो तिनै सबैभन्दा बढी तिरस्कृत अनि बहिष्कृत, सबैभन्दा गरिब । त्यसैको ‘पाप’ लागेको पो हो कि यो देशलाई ! गण्डकी तीरमा मनमा अनेक तर्कना आउँछ ।

मेरो शरीर मडारिइरहेको यो जमिनबाट सय मिटरजति पर झोले अर्थात् राजु माझीको झुप्रो छ । झोले आजै भेट भएको साथी हो । उनैले मारेका दुइटा गर्दी माछाले शीतको आवाज सुन्न सक्ने बनाएका छन्, चिसो थेग्ने आँट दिएका छन् । सुत्नुअघिको झोल–गफमा झोलेले माझीको कथा हाले । यो गण्डकीमा माझीहरूले घाट चलाउँथे । एक दिन माझीहरूले धेरै दुःख पाए भन्ने लागेर भगवान्ले केहीबेर नदीमा सुन बगाइदिएछन्, तर माझीहरूले त हतार–हतारमा जाल पो थापेछन्, कताको सुन अड्किनु ! तर, कुमालहरू भने अलि बाठा रै’छन् । उनीहरूले टाउकोबाट टोपी झिकेर थापेछन् । अलिअलि भए पनि सुन पाएछन् । ‘त्यसैले माझी सधैँ गरिब भएका रे । माझीभन्दा कुमाल बाठो अनि अलि धनी भएको रे भन्थे हाम्रा बाउबाजेले । होजस्तो लाग्छ मलाई त ! नपत्याए भोलि बिहान हेर्नुहोला माझीले सुन लगाएको तपाईंले देख्नुहुन्न यहाँ, कुमालले भने अलिअलि लगाउँछन्,’ झोलेले सुनाए ।

एक बोतल कोदोको झोल रित्याएपछि झोलेले साहस बटुले र भने, ‘त्यो गण्डकीले बगाएर ल्याएको मुढो बेच्न दिस्यो । त्यही पैसाले म इन्डिया जान्छु । केट्केटी पाल्न पर्‍यो नि ! यहाँ केही पाइने होइन । अब त कोरोना पनि घट्यो ।’ सुरेशजंग शाह पनि आजै भेटिएका साथी हुन् । उनी यहाँका ‘बाउसाब’ रहेछन् । खुकुरी रम चुस्की लगाइरहेका उनले भने, ‘नकरा अहिले । पछि कुरो गरौंला । यसलाई लाग्यो अब ।’

‘के–को लाग्ने ? साँच्चै भनेको,’ झोले अलि झोक्किए ।

‘ल ल पछि कुरा गरौंला’ भनेर बाउसाबले टारे ।

शाह छेउको पशुपति सामुदायिक वनका अध्यक्ष रहेछन्, त्यसैले उनको अनुमतिबिना नदीले बगाएर ल्याएको मुढो पनि बेच्न नपाउने भए झोलेले । ‘साँच्चै भनेको है मिलाइदिस्योस्,’ झोलेले फेरि दोहोर्‍याए ।

झोलेको यो फाँटमा अबका केही वर्षपछि माछाहरू पौडिरहेका हुनेछन् सायद । उनको भत्किएको घरको थुप्रामा ताल बन्ला, माछाले फुल पार्लान्, त्यो बेलासम्मै रहे भने । नदी किनारबाट दुई सय मिटर माथि आकाशैसम्म पानीको ताल हुनेछ । पन्ध्रवटा फेवातालजत्रो त एउटै ताल बन्नेछ, देशै झिलीमिली पारिनेछ । त्यो तालले जमाएको पानी पृथ्वी राजमार्गको दुई किलोमिटर उत्तरमा बनाइने २६३ मिटर अग्लो बाँधले रोकेर राख्नेछ र टर्वाइनमा बझार्नेछ, त्यसपछि बिजुली सररर । यस्तो कहिएको छ अहिले । तर, त्यो ‘केही वर्ष’ कहिले आउँछ थाहा छैन । यही बाहनामा झोलेको जग्गा भने सरकारले आफ्नो बनाइसकेको छ । झोलेले भनेको मूल्यमा होइन, सरकारले तोकेको मूल्यमा । झोले अहिले आफ्नै घरमा बेघर छन् । आफ्नै जग्गामा सुकुम्बासी छन् ।

हामी उकालो लाग्छौं, लगभग आधा घण्टा । मैले बोकेको एक पाउको जीपीएस नामको डल्लोले पृथ्वी फन्को मारिरहेका भू–उपग्रहहरूलाई सोध्छ र कहन्छ । ४४८ मिटर अर्थात् माझीटारबाट दुई सय मिटरमाथि सिमेन्टको मार्का हानिएको ठाउँ, जहाँसम्म जलविद्युत्को तालले डुबान गर्नेछ । यो जीपीएस अर्थात् ग्लोबल पोसिजसनिङ सिस्टम त पृथ्वी मापन यात्राको पछिल्लो पुस्ता हो । जीपीएसले निरन्तर मेरो पाइला–पाइला गनिरहेछ, बाटो नापिरहेछ, उचाइ भनिरहेछ ।

आज मानिसले पृथ्वीको इन्च–इन्च नापेको छ । यो पृथ्वी नाप्ने काम हजारौं वर्षअघिदेखि हुँदै आएको हो । तर, आजजस्तो फ्याट्ट मोबाइल वा कम्युटर हेरेर सानो पृथ्वी घुमाउने दिन आउनुअघि विश्व–नक्सा इतिहासमा अनेकन कुरा भएका थिए । कुनै युग थियो, जतिबेला मानिससँग आफ्ना पाइला मात्रै थिए । पाइला हिँडेर पृथ्वी पूरै नाप्न सम्भव थिएन । सुरु–सुरुमा जति सक्यो नाप्यो नसकेको कल्पना गरेर कोर्‍यो । त्यसैले अनेकन् अनुमानहरू गरिन्थे र धेरै गलत नक्साहरू पनि बनाइए । पृथ्वी गोलो छ कि चेप्टो भन्ने बहस हजारौं वर्ष चल्यो । केही सय वर्षअघिसम्म पनि व्यापक थियो । मत–मतान्तर थिए । पूरै पृथ्वी कस्तो छ भन्ने मानिसलाई थाहा थिएन नै, कत्रो छ भन्ने त थाहा हुने कुरै भएन । न त उसले पूरै पृथ्वी घुमेको थियो न त माथि उडेर यसको आकार खुट्याउन सक्ने भएको थियो ।

यसपटक म जेरी ब्रोटनले लेखेको ‘अ हिस्ट्री अफ द वर्ल्ड इन टुएल्भ म्याप्स’ अर्थात् १२ नक्सामा पृथ्वीको इतिहास नामक किताब बोकेर गण्डकीको किनारै–किनार हानिएको छु । ब्रटन भन्छन्, ‘विगतका दुई हजार वर्षमा बनेका १२ वटा नक्साले पृथ्वी मापनका कथा बताउँछन् ।’ अब जेरीको इतिहासतिर लागौं । मानिसले इसापूर्व ३५ देखि २५ हजार वर्षअघिदेखि बनाएका केही संकेत ढुंगा–माटोमा कुँदिएका भेटिन्छन्, तर पूरै पृथ्वीलाई नक्साको रूपमा ढालेको कथा भने २५०० वर्ष पुरानो हो । मानिस मात्रै होइन अन्य जनावरले पनि आफ्नो क्षेत्र निर्धारण गर्छन् वा दूरी नाप्छन् । जस्तो कि बाघले मुतेर आफ्नो क्षेत्र निर्धारण गर्छ भने माहुरीहरूले मह बनाउन चाहिने फूलको रस पाइने ठाउँको दूरी र दिशा नाचेर निर्धारण गर्छन् । तर, मान्छेले भने नक्सालाई उतारेर पछि त्यसैलाई हेर्दै कतै युद्ध गर्छ त कतै जमिन कब्जा गर्छ । कहिले भने त्यसैलाई प्रयोग गरेर घुम्छ, जहाज उडाउँछ, रेल–गाडी गुडाउँछ । आज त नक्सा यस्तो विषय हो, जो सबैभन्दा बढी संवेदनशील छ । हाम्रैमा हेर्नुस् कालापानी विवादमा चुच्चे र बुच्चे नक्साले कस्तो तहल्का मच्चाइरहेको छ । एक–एक इन्चको हिसाब हुन्छ अहिले ।

मानिसले पृथ्वीको पहिलो नक्सा कहिले बनायो ? अहिले ब्रिटिस म्युजियममा एउटा नक्सा छ– द बेबीलोनियन् म्याप् अफ द वर्ल्ड अर्थात् पृथ्वीको पहिलो नक्सा । त्यो नक्सा कागजमा होइन माटोमा कोरिएको छ । सन् १८८१ मा इराकमा जन्मिएका पुरातत्त्वविद् हर्मुद रासमले इराकको अहिलेको बग्दादमा पर्ने तेल अबु हबाह भन्ने ठाउँमा उत्खनन गर्दा माटोको चक्कीमा एउटा गोलाकारमाथि अलि ठूलो अर्को गोलाकार अनि त्यसको वरिपरि उत्रै ८ वटा त्रिभुज आकार बनाइएको भेटे । त्यसमा युफ्रेट्स् नदी देखाइएको छ भने बीचमा बेबिलोन सहर अंकित गरिएको छ । त्यसैको वरिपरि चार सहर छन् । बाहिरी गोलाकार, जो सागर हो त्यसको बाहिर केही जनावरहरू र लामो दूरी इंगित गरिएको छ । ‘१२ बाई ८ सेन्टिमिटरको त्यो माटोको चक्कीले मानिसले २५०० सय वर्षअघि कल्पेको पृथ्वी मात्रै होइन ब्रह्माण्ड पनि उतारेको नक्सा नै अहिलेसम्म थाहा लागेको पृथ्वीको सबैभन्दा पुरानो नक्सा हो,’ जेरी भन्छन् ।

अरू थप इतिहासका कुरा गर्दै–गरौंला, तर अहिले अगाडि बढौं । हामी माझीटारबाट उत्तर मजुवाटार, बुङकोटघाट, चैनपुर हुँदै धादिङको आँखुबेंसी झर्छौं गण्डकीलाई पछ्याउँदै । अलिकति उकालो लागेपछि बडेमानको लमतन्न परेर फिँजारिएको सल्यानटारमा पुग्दा रात झमक्कै पर्‍यो । सल्यानटारको फाँटमा मोबाइलको लाइट बालेर लाइन लागेर मानिसहरू पानीको भाँडा भर्दै छन् । यता मान्छे काकाकुल छन् उता फेरि संसारकै अग्लोमध्येको बाँध बाँधेर बिजुली निकाल्ने योजना छ । सानो कुरो गोर्खेले गर्दैन, ठूलो कुरा गर्न सक्दैन । संसारकै अग्लो हिमाल आफैंसँग छ तर गोर्खे घरी संसारकै अग्लो मूर्ति बनाउँछौं भन्छ त कहिले संसारकै ठूलो विमानस्थल । गड्गडाउँदा नदी, तिर्खाएका मान्छे ! हामी हिमालमा मात्रै होइन, गफमा पनि अग्ला छौं ।

अँ ! जेरीको इतिहासलाई पनि यात्रासँगै अगाडि बढाऔँ है !

दोस्रो शताब्दीमा पृथ्वीको बलियो नक्सा ग्रीक खगोलशास्त्री टोलेमी अर्थात् क्लाउडियस टोलेमियसले लेखेका थिए । उनले पेपिरस नामको वनस्पतिबाट बनेको पेपिरस कागजमा लेखेको ‘जोग्राफिक हाइफेजेसिस्’ किताबमा युरोप, अफ्रिका र एसियाका ८००० विन्दुहरूको देशान्तर र अक्षांश अभिलेखीकरण गरिएको छ । उनको नक्सामा भूमध्यसागर, युरोप, उत्तर अफ्रिका, मध्यपूर्व र एसियाका केही भाग छन् । तर, अमेरिका, अस्ट्रेलिया, पूर्वी एसिया, दक्षिणी अफ्रिका भने छैनन्, जुन टोलेमीले कतै भेटेका थिएनन् किनभने उनले नक्सा देखेर वा घुमेर बनाएका थिएनन् । कतिपय पुराना सूचना र केही अनुमान मिसाएर उनले नक्सा बनाए । उनले हिन्द महासागरलाइ ठूलो तालको रूपमा चित्रित गरेका छन्, जसको तलपट्टिबाट अफ्रिकाको भूभाग मलेसिया प्रायद्वीप भेट्न पूर्वी एसिया पुगेको छ । देशान्तर र अक्षांश प्रयोग गरिएको यो सम्भवतः पृथ्वीको पहिलो नक्सा हो ।

दोस्रो दिन हामी सल्यानटार झरेर पुलबाट गण्डकी तरेर गोर्खाको आरुघाट बजारलाई एक झलक हेरेर उत्तर हानिन्छौं आर्खेततिर । यो बूढीगण्डकी जलविद्युत्का कारण बन्ने तालको पानी जम्ने अन्तिम बजार हो । अझै अगाडि बढ्दै गए लार्केपास पुगिन्छ, हिमाल कट्न सके तिब्बत । उत्तर दिशा आधुनिक नक्सामा वर्चस्व कामय गर्न सफल कसरी र किन भयो ? किन दक्षिणलाई केन्द्रमा राखेर नक्सा बनाइएन वा पूर्व पश्चिमलाई ? जेरी भन्छन्, ‘इसाईहरूले उत्तरलाई प्रधान मानेर नक्सा बनाउन थाले । मुसलमानहरूले दक्षिणलाई प्रधान मानेर नक्सा नबनाएका होइनन् तर पनि कालान्तरमा नक्सामा दिशाहरूको राजाचाहिँ उत्तर नै हुन पुग्यो । किनभने कुराको कुनै स्पष्ट व्याख्या भने छैन ।’

पश्चिमाहरूले मात्रै होइन चीनमा पनि सयौं वर्षअघि बनाइएका नक्सामा उत्तरलाई आधार मानिएको छ । जेरी थप्छन्, ‘चीनका शासकहरूले आफ्ना कामदार र जनतालाई उत्तरतिर पछाड पारेर आदेशहरू दिने गर्थे किनभने दक्षिणतिरबाट तातो हावा आउँथ्यो र घामको ताप । राजालाई देख्ने मानिसहरूले उनको पछाड उत्तरतर्फ देख्थे । चिनियाँ भाषामा यो पछाड भन्ने शब्द नै उत्तर भन्ने शब्दसँग मिल्दोजुल्दो छ ।’ खासमा उत्तर कुनै पनि धर्ममा शुभदिशा मानिँदैन । शुभको मामलामा पूर्वले जितेको छ । घाम उदाउने दिशा भएकाले त्यसो हुन गएको होला । तर, जब युरोप र मध्यपूर्व व्यापारको केन्द्र बन्दै गयो, पश्चिमाहरूले संसार चहार्न थाले । उत्तरलाई आधार मानेर बनाइएका नक्साहरूले थप वैधानिकता पायो । अहिले सामान्यतया नक्सा भन्नेबित्तिकै उत्तरलाई आधार बनाइन्छ ।

आर्खेत पुग्नुअघि शान्तिबजारको एउटा झुप्रोमा पुर्णबहादुर आलेमगर बस्छन् । भुइँचालोले ७२ सालमा घर ढलाएपछि उनले टिनले बारेर झुप्रो बनाएका छन् । ‘तीन आना जग्गा चार लाखमा किनेर यता सडकछेउतिर झरेको अहिले सरकारले दुई लाख पनि मुआब्जा दिएन । लालपुर्जा सरकारलाई बुझाइयो, अब कहिले आएर लखेट्ने हो,’ आलेले टाउको समाउँदै भने । गोरखाको धर्चे र धादिङको बसेरी नामका यमान पहाड आकाशै छोउँला जसरी उरालिएका छन्, त्यसैलाई काटेको छ बूढीगण्डकीले ।

कुनचाहिँ अग्लो होला त दाइ ?

‘खै कुन्नि । धर्चेबाट उडेको डाँफे सीधै बसेरी पुगेर बिसाउँछ, त्यसैले दुवै उत्रै हुन् भन्थे बाउबाजेले । आफूले नापेको छैन के जान्नु,’ उनले भने ।

यो नाप्ने विषय बडा जटिल थियो । पहिलो कुरा त गोलो पृथ्वीलाई च्याप्टो पारेर कागजमा उतार्नुपर्‍यो । अब नदेखेको पूरै पृथ्वीलाई कसरी उतार्ने ? उत्रिइहाल्यो भने समथर भूभाग त ठीकै छ तर उठेका पहाड/ हिमाललाई कसरी नाप्ने ? यसरी उचाइ पनि नाप्ने कुरा त १५ शताब्दीमा आइपुग्दासमेत मानिसले जानिसकेको थिएन ।

अहिले अंग्रेजी म्याप अर्थात् ल्याटिन भाषामा ‘मापा’ को अर्थ टेबलपोस वा न्यापकिन हो । फ्रेन्च भाषामा भनिने ‘कार्टा’ पनि रुसी र इटालियन भाषाको ‘कार्ता’ सँग मेल खान्छ । हाम्रोमा भनिने नक्साचाहिँ अरबीबाट आयो, जसको अर्थ चित्र भन्ने हुन्छ । चिनियाँहरूले ‘टु’ अर्थात् रेखाचित्र भन्छन् । म्याप शब्द त अंग्रेजीमा सोह्रौं शताब्दीमा मात्रै पसेको हो ।

टोलेमको दोस्रो शताब्दीपछि नक्सा–इतिहास खासै फस्टाएन । हजार वर्षजति पछि १२ औं शताब्दीमा अहिलेको इटालीको सिसिली सहरमा राजा रोजर द्वितीय सन् ११३० मा राजगद्दीमा बसे । सिसिली मध्ययुगीनकालको भर्भराउँदो राज्य थियो । रोजर ११५४ मा मरे । तर, उनको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्येका एक जना थिए अल सरिफ अल इद्रिसी । रोजरले दस वर्षअघिदेखि बनाउन लगाएको पृथ्वीको बृहत् नक्सा इद्रिसीले रोजरको मृत्युभन्दा दुई साता मात्रै अघि पूरा गरेका थिए । त्यो नक्सा–किताबको नाम ‘नुज्हात अल मुस्ताख’ अर्थात् ‘जो पृथ्वी घुम्न चाहन्छ उसका लागि मनोरञ्जन’ भन्ने थियो, जसलाई पछि ‘बुक अफ रोजर’ भन्न थालियो । यो दोस्रो शताब्दीमा टोलेमीले बनाएको नक्सापछिको सबैभन्दा विस्तृत विश्वव्यापी नक्सा थियो । त्यसपछि १३ शताब्दीमा बाइज्यान्टिनहरूले त्यहाँ शासन गरे । त्यसैबेला उनीहरूले पृथ्वीको बृहत् नक्सा बनाए ।

विश्व व्यापार बढ्दो थियो । नयाँ–नयाँ भूभाग खोज्ने र त्यसलाई कब्जा गर्ने अभियान युरोपेलीहरूले व्यापक बनाइरहेका थिए । १५ औं र १६ औं शताब्दीमा पृथ्वीको नक्सा बन्ने क्रम व्यापक भयो भने १७ औं अनि १८ औं शताब्दीमा थप वैज्ञानिक नक्सा बन्ने क्रम चल्यो र पृथ्वीको नक्सा खारिँदै गयो । पश्चिमा मात्रै होइन पूर्वीयहरू पनि नक्साको मामलामा अगाडि नै थिए । १५ औं शताब्दीको सुरुमा जोस्इयोन शासकहरूले कोरियामा सम्भवतः यो क्षेत्रको सबैभन्दा पुरानोमध्येको र विस्तृत नक्सा बनाए, जसलाई कांगनिडो वर्ल्ड म्याप भनिन्छ । कोरिया, चीन, जापान र दक्षिण एसियालाई त्यस नक्सामा देखाइएको छ । यो नक्सा बनाउने कोन कुनले लेखेका छन्, ‘पृथ्वी निकै फराकिलो छ । हामीलाई थाहा छैन यो कति लाखौं ली होला ! तर, हामीले हाम्रो देश र छिमेकी देशका नक्साहरू मिलाएर विस्तृत नक्सा बनाएका छौं ।’ (एक ली भनेको झन्डै चार मिटर हुन्छ ।)

मध्यपहाडी राजमार्गमा बूढीगण्डकीको फाँटबाट दरौंदीको फाँट कटेर फेरि उकालिएपछि हामी लिगलिगकोटको डाँडोमा पुग्छौं, आधुनिक नेपालको प्रारम्भविन्दु । यहीँबाट नेपाल देशको नक्सा बन्न सुरु भएको थियो ।

लिगलिगकोटको भत्किएको दरबारको पर्खालमा उभिँदा जीपीएस कहन्छ– १४४० मिटर ।

लिगलिगकोट दरबारको भग्नावशेषबाट पश्चिममा हेर्दा मर्स्याङ्दीको फराकिलो फाँट देखिन्छ, जुन छपक्कै छोपेर कुहिरोले अर्को नदी बनाएको छ । अलि दुब्लो अर्को कुहिरे नदी चेपेखोलाको आकार बनाएर दक्षिण–पश्चिम हान्निँदै छ । दुई कुहिरे नदीको भेट बेंसीसहरभन्दा केही दक्षिणमा चेपेघाटमा हुन्छ । यो चेपे सानो भईकन पनि नेपालको इतिहासमा ठूलो नाम भएको खोला हो । द्रव्य शाहले चेपे नदी तरेर गोर्खा पस्ने दाउ निकाले । जो चेपेघाटबाट दौडिएर लिगलिगकोट पुग्छ, उही राजा हुन पाउँछ भन्नेमा घलेहरूलाई सहमत गराएर जालझेल गरी आफैँले जिते ।

अठारौं शताब्दीको मध्यमा पृथ्वीनारायण शाहले नेपालको नक्सा कोर्दै गर्दा उता फ्रान्समा भने शक्तिशाली राजतन्त्र ओरालो झर्दै थियो । सन् १७९३ मा गणतन्त्र घोषणा गरेर फ्रान्सेली नेताहरूले राजा लुई १६ औं र उनकी पत्नीलाई मार्ने निर्णय गर्दै गर्दा यता भने शाहवंशको मियो भर्खर गाडिएको थियो । गणतन्त्र फ्रान्सले त्यसै वर्ष पहिलो विस्तृत देशव्यापी नक्सा छाप्यो । सम्भवतः यो पृथ्वीमा देश बन्न सुरु भएपछिको पहिलो बृहत् वैज्ञानिक आधारहरूमा बनाइएको नक्सा थियो त्यो । तर, गणतन्त्र घोषणँ गरेका फ्रान्सेलीहरूलाइ एउटा कुराले पिरोल्यो । खासमा फ्रान्सको नक्सा राज्यसँग होइन, जिन डोमिनिक कासिनी नामका व्यक्तिको स्वामित्वमा थियो । राजाका प्रिय पात्र कासिनीका जिजुबुबादेखि नक्साको काम सुरु भएर चार पुस्तापछि जिन कासिनीसम्म आइपुग्दा प्रान्सले सबैभन्दा आधुनिक नक्सा तयार गरेको थियो । लुई सोह्रौंको घाँटी काटेपछि राज्यले कासिनीको नक्सा पनि जफत गर्‍या र गणतन्त्रको झन्डा फहरायो । उचाइसहितको नक्सा बनाउने काम १८ औं शताब्दीमा द्रुत गतिमा भइरहेको थियो र फ्रान्स सम्पूर्ण देशको आधुनिक र वैज्ञानिक नक्सा बनाउने पहिलो राज्य बन्यो ।

फ्रान्सको यो नक्सा उचाइसहितको थियो । उचाइ नाप्न ट्रिगोनोमेट्री सर्भे गरिन्छ, जस्तो कि नेपालको सगरमाथा नाप्न उन्नाइसौं शताब्दीमा भारतका विभिन्न स्थानबाट अवलोकन गरेर कोण नापी त्यसैको आधारमा उचाइ कायम गरिएको थियो । भर्खरै फेरि नापेर ८८४८.८६ कायम गरिएको छ ।

उता राजा ढलेर नयाँ आधुनिक नक्सा सरकारले लियो, यता पृथ्वीनारायणले नेपाल एकीकरण गरेर नयाँ नक्सा कोरे । नेपालको आधुनिक नक्सा पहिलोपटक विश्वसामु भने फ्रान्सिस बुचानान ह्यामिल्टनले पुर्‍याएका थिए । भारतमा शासन चलाइरहेको बेलायती इस्ट इन्डिया कम्पनीका सर्भेयर र डाक्टरसमेत रहेका फ्रान्सिस् बुचानान ह्यामिल्टन सन् १८०२ मा पटनाबाट उत्तर लागे र तीन महिनामा काठमाडौं पसे । उकालो लाग्दा उनले नक्सा मात्रै बनाएनन् ११०० वनस्पतिका नमुना पनि संकलन गरेर बेलायत पुर्‍याए । ह्यामिल्टनले ब्रिटिसराजका तत्कालीन सचिव जोन एडामलाई लामो पत्र लेखेर आफ्नो नक्साबारे बताएका थिए । एडामले उनलाई बहुत धन्यवाद दिँदै त्यो नक्सा नेपालमा चालिने मिलिटरी रणनीतिका लागि निकै उपयोगी हुने बताएका थिए । नक्सा हुनु त हतियार हुनु बराबर नै थियो ।

गोर्खाको लिगलिगकोटबाट लमजुङको बेंसीसहर झरेर मर्स्याङ्दी पछ्याउँदै डुम्रे झरेपछि ट्याक्सी चढेर पोखरा लाग्छु । लेकसाइडको होटल पुर्‍याउन अब भने म गुगललाई अह्राउँछु । गुगल यो नक्सा इतिहासको कान्छो पात्र हो । मानिसले वास्तवमा सग्लो पृथ्वी पहिलोपटक देखेको सन् १९७२ मा हो, जतिबेला एपोलो १७ यानले पृथ्वीको पूरै फोटो खिच्यो । आज हामीले गुगल–अर्थमा देख्ने नीलो गोलो पृथ्वीको फोटो त्यसैबेला खिचिएको थियो । त्यो खासमा फोटो थियो र त्यसैमा पछि नक्सा कोरियो । पोखराको पृथ्वीचोक पुगेपछि म गुगललाई आदेश दिन्छु— होटल आवास पुर्‍याइदेऊ कान्छी !

‘किप लेफ्ट फर १.३ किलोमिटर अन फेवामार्ग, टर्न लफ्टे टुवार्ड टिकेपाटन रोड, टर्न लेफ्ट अन टु टिकेपाटक रोड फर टु हन्ड्रेड मिटर्स, एट फोर्टी मिटर्स टर्न राइट, इन ट्वेन्टी मिटर्स टर्न लेफ्ट । योर डेस्टिनेसन इज अन द लेफ्ट’, कान्छीले भट्याउँदै गइन् हामीले दूरी घटाउँदै गयौं ।

सराङकोटमा नेपाल साहित्य महोत्सवमा व्यापक छलफल भइरहेको छ । गण्डकीको कथा खोजेर म साहित्य महोत्सवमा भाग लिन बूढीगण्डकीबाट पश्चिम हान्निएको हुँ । माछापुच्छ्रे बुंगै छ भने छेउको पूर्वपश्चिममा रहेका अन्नपूर्ण, धौलागिरीचाहिँ रहलपहल हिउँको सेतो फेटा कुँदेर उभिइरहेका छन् ।

माथि सराङकोटमा प्याराग्लाइडिङ गरिरहेकाहरूले कति ख्याल गरे कुन्नि ! यता होटलपछाडिको छलफलमा मेरो सेसनका वक्ताहरू भनिरहेछन् कि यो पृथ्वीको नक्सा गएको दुई सय वर्षमा व्यापक रूपमा फेरियो । अरनिको पाण्डे बोल्दाबोल्दै पछाडि फर्कन्छन् र कालो माछापुच्छ्रेपट्टि देखाउँदै भन्छन्, ‘त्यो माछापुच्छ्रेको एकभागका हिउँको नदी अर्थात् हिमनदी थियो तर अहिले हरायो । त्यसको नक्सा फेरियो ।’ त्यसलाई चाँडो चाँडो नक्सा फर्न बाध्य पार्ने काम मानिसले गरिरहेको छ । उसले चढेको गाडी, पकाएको खाना, उडेको जहाज सबैले कार्बनडाइअक्साइड ग्यास निकाले र त्यसकै कारण वायुमण्डलमा थुपारिएको ग्यासले सूर्यको तापलाई चाहिने मात्रामा यहाँबाट निस्कन दिएन । मानिस मात्रै त्यस्तो एउटा प्रजाति हो, जसले केही सय वर्षमा नै पृथ्वीको नक्सा व्यापक रूपमा फेर्‍यो । आजसम्म कुनै पनि प्रजातिले यस्तो गरेको थिएन । ‘माछापुच्छ्रेको कुमतिरै तीनवटा आगोको मुस्ला देख्नुभयो त्यो पनि यी हिमालको नक्सा फेर्ने कारक हुन्,’ वायुमण्डलीय विज्ञानका ज्ञाता पाण्डे भन्छन् ।

कसरी ?

धूवाँको मुस्लोमा कार्बनका काला कणहरू छन् । ती गएर सेतो हिउँमा टाँसिन्छन् र जब घामका किरण त्यसमा पर्छन्, ती कणले थप तातो सोसिदिएर हिउँलाई द्रुत गतिमा पगाल्छन् । त्यसैले पनि हिमालको नक्सा चाँडै फेरिइरहेका छन् ।

माछापुच्छ्रे–गफ सकेर म यसो बाहिर के निस्केको थिएँ, एक जना गेरुवस्त्रमा सजिएको भिक्षु मुसुक्क हाँस्छन् । मैले चिनेको कुनै पनि मानिस वा कम्तीमा मलाई नामले बोलाउने कुनै भिक्षु यो पृथ्वीमा मैले साथी बनाएको छैन । उनी भन्छन्, ‘म तपाईंकै आवाज सुनिरहेको थिएँ ।’ उनको घाँटीको कार्ड होल्डरमा लेखिएको छ— भिक्षु कस्यप । उनीसँग त कैयौं दिन लाङटाङका पहाडमा हिँडेको थिएँ । सिंहदरबारमा गफिएको थिएँ । उनी नेता थिए । उनी अभियन्ता थिए । तेस्रोलिंगीहरूको अधिकारको वकालत गर्ने सुनीलबाबु पन्त पो अहिले भिक्षु कस्यप भएका रहेछन् ।

माछापुच्छ्रेको फेरिएको नक्सा–गफपछि म सुनीलबाबुको फेरिएको जिन्दगीको नक्सा कसरी कोरियो भन्नेमा निकै उत्सुक हुन्छु ।

‘भिक्षु कसरी बन्ने ?’

उनी हाँस्छन् । ‘मैले नजानेरै सोधेको हुँ,’ म भन्छु ।

‘बैराग्य आउनुपर्छ । निराशा र बैराग्यमा धेरै फरक छ । निराशाले दिशाविहीन बनाउँछ तर बैराग्यले एउटा मात्रै दिशा खोज्न बाध्य बनाउँछ ।’

‘अझै बुझिन प्रट्याउनुस् न ।’

‘त्यो बैराग्य, जसले तपाईंले बाहिरी आवरणभन्दा भित्री मनलाई बुझ्नुपर्छ भन्ने सिकाउँछ । हो त्यही बैराग्य आउनु नै भिक्षु हुने बाटोको पहिलो विन्दु हो । त्यसपछि तपाईं आफैंले आफैंलाई आफैंभित्र खोज्न थाल्नुहुन्छ ।’

‘के गर्नुपर्छ भिक्षु भएपछि ?’

‘कुविचारलाइ सुविचारको बाणले हान्ने ।’

खुइलिएको तालु, फेरिएको कपडा र विचार ! फेरिएको जिन्दगीको नक्सा !

फेवातालमा छेउमा पिच गरेको बाटोमा बगेले हिँडिरहेछु । रातको १० बजे पनि फेवातालको छेउमा सेकुवा बन्दै छ । कोही गफिँदै छन् । मदिराका बोतल धमाधम खाली हुँदै छन् । जहाँ अहिले सेकुवा बनिरहको छ, मायाप्रीतिको गफ भइरहेको छ, त्यहाँ केही वर्षअघि माछाले फुल पार्थे । तर, अहिले फेवातालको नक्सा पूरै फेरिएको छ ।

घरबाट हिँडेको १० दिनमा गण्डकीलाई छिमलेर, चार–पांग्रेमा गुडेर, पखेटे जहाजमा उडेर म काठमाडौं दक्षिणको बस्ती भैंसेपाटी आइपुगेको छु । घरछेउको नक्सा पनि फेरिई पो सकेछ कति चाँडै । दुई मान्छे बराबरको बडेमानको ढुंगाको पर्खाल उभिइसकेको छ । पिलरहरू पनि गाड्ने तयारी भइरहेको छ । अबको केही महिनापछि नै यहाँ अर्को घर बन्नेछ । फेरि पृथ्वीको नक्सा फेरिनेछ ।

वास्तवमा गुगल अर्थको नक्सामा लेखिएको छ– द मोस्ट डिटेल्ड् म्याप् अफ अर्थ अर्थात् पृथ्वीको सबैभन्दा विस्तृत नक्सा । सही हो, उसले द कम्प्लिट म्याप् अफ अर्थ वा पृथ्वीको पूर्ण नक्सा किन लेखेन ? उसलाई पनि थाहा छ, यो पृथ्वीको पूर्ण नक्सा कहिल्यै कसैले बनाउन सक्ने छैन किनभने यहाँ सधैँ परिवर्तन भइरहनेछ । अझै मान्छेको युगमा त पृथ्वीको नक्सा यति द्रुत गतिमा परिवर्तन भइरहेछ कि भू–उपग्रह पनि आफैँ रनभुल्लमा छन् सायद ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : फाल्गुन ७, २०७७ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×