तानाशाहको हुलिया
स्कुल जाने बाटोमा जुलुस पोखिएपछि
केटाकेटीलाई लाग्दो रहेछ–
नौवटा मस्तिष्क, तीनवटा मुटु,
नीलो रगत, उल्टा फर्किएका पाखुरा,
टाउका, पाइतला...
बडेमान अक्टोपसजस्तो हुन्छ तानाशाह...
तर, त्यस्तो हुँदैन तानाशाह
चुनावी घोषणापत्रमा कोरिएको
पूर्व–पश्चिम रेलमार्गजस्तै ‘स्ट्रेट’ हुन्छ
तानाशाही व्यवस्थामा
गुडुल्किएर धर्तीलाई ठुँगिरहने
कुनै पहाडी मार्गमा जस्तै प्रतिसेकेन्ड
‘थ्रेट’ हुन्छ ।
आमाका जिन्दगी गिट्टीमै कुटिएपछि
बुबाका उमेर म्यारिज, लुँडो र क्यारमबोर्डका
एक गिलास रक्सीबाजीमै लुटिएपछि
ठान्दा रहेछन् भोकले रन्थनिएका केटाकेटी–
मोटुपत्लु कार्टुनमा आलुसमोसा खाने मोटु
हो तानाशाह...
तर, अहा तानाशाहले आलु खाँदैन
पहाडमुनि सुरूङ खन्दै माटो र ढुंगाखानी खान्छ
इतिहासका इनार र
संविधानमा नभएका धाराका पानी खान्छ
रनभुल्ल पर्छन् केटाकेटी–
गड्यौला... धमिरा... छिचिमिरा, छेपाराजस्ता...
कस्ता हुन्छन् तानाशाह ?
जब आफ्नै सखीको बलात्कार र हत्या हुन्छ
अदालतमा चश्मदिद साक्षी बक्छन् केटाकेटी
तर, त्यही अदालतबाट
जब बलात्कारी फूलमाला लगाएर
संसद्घर जान्छ
डराउँदा रहेछन् केटाकेटी
सोच्दा रहेछन्–
टाउको मानिसको, तिघ्रा सिंहको
अनि पखेटा बाजको भएको स्फिङ्स
हो तानाशाह...
तर, त्यस्तो विचित्र रुप पनि हुँदैन तानाशाहको
चट्ट दौरा–सुरूवाल पहिरेको हुन सक्छ
आफ्ना भारदारी सभामा दिल्लगी गरिरहेको
हुन सक्छ
जन्मदिनमा सडक–बालबालिकालाई
चक्लेट र खेलौना बाँडिरहेको हुन सक्छ ।
चोकचोकमा जब सशस्त्र फौज
दौडिरहेका हुन्छन्
रमाइलो लाग्दो रहेछ केटाकेटीलाई–
ठोकुवा गर्दा रहेछन्–
पब्जी ब्याटलमा जित्ने नै तानाशाह हुन्छ !
तर, त्यस्तो जहिल्यै कहाँ हुन्छ ?
आजकल ब्यालेटबाटै पनि तानाशाहको
जन्म हुन्छ
तानाशाहको पनि हाम्राजस्तै
निःशस्त्र हातखुट्टा, आँखा, नाक, कान हुन्छ
तर, ऊ हामीभन्दा बढ्तै हाँस्छ, बढ्तै रून्छ
हामीजस्तै सडकमा ठाडो ठमठमती हिँड्छ
यत्ति हो रात परेपछि भने
दरबारमा सर्पझैं घिस्रिन्छ, गुडुल्किन्छ र जिब्रो लपलपाउँछ ।
प्रकाशित : फाल्गुन १, २०७७ ११:३५