१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कानेखुसी यन्त्र

मन्त्रीले शपथ लियो, ‘देशको हितमा काम गर्नेछु ।’ यन्त्रमा आवाज आइरहेको थियो, ‘माफिया र डनको हितमा काम गर्नेछु ।’
शरच्चन्द्र वस्ती

अमेरिकाबाट फर्कंदा देबुका खुट्टा भुइँमा थिएनन् । कारण थियो— काकाले दिएको कानेखुसी यन्त्र । झ्वाट्ट हेर्दा मोबाइलबाट गीत सुन्ने फुच्चे इयरफोनको एउटा डल्लो जस्तो लाग्ने त्यो यन्त्र अचम्मको थियो । चट्ट एउटा कानमा घुसारेपछि चमत्कार शुरू गरिहाल्थ्यो ।

कानेखुसी यन्त्र

कानेखुसी यन्त्रको विशेषता थियो— अर्काको मनको कुरा बताइदिनु । अर्थात्, कसैले मनमा एउटा कुरा राखेर मुखले अर्कै कुरा गरिरहेको छ भने यसले उसको मनको कुरा कानमा भनिदिन्थ्यो, त्यो पनि उसकै स्वरमा । मानौं, कसैले तपाईंसँग दश हजार रुपैयाँ सापटी माग्दैछ र विश्वास दिलाउन खोज्दैछ, ‘अर्को हप्ता फिर्ता गरिहाल्छु’ भनेर । तर उसको मनमा बेग्लै खिचडी पाक्तैछ । यस्तो वेला, तपाईंले कानमा यो यन्त्र लगाउनुभएको छ भने उसको बोली सुन्नुहुनेछ, ‘पैसा त हात परोस् न । फिर्ता त अर्को वर्षसम्ममा पाइस् भने पनि धन्य ठान्नू ।’

झूटो बोलेको पत्ता लगाउने उपकरण त पहिले पनि थियो, तर त्यसबाट मानिसको मनमा रहेको असली कुरा पत्ता लाग्दैनथ्यो । ठाउँको ठाउँ मनको कुरा बताइदिने यो नयाँ यन्त्र थियो । यसको आविष्कार त्यही कम्पनीले गरेको थियो, जसमा देबु अर्थात् देवराजका काका ‘वैज्ञानिक’ पदमा काम गर्थे । व्यापारिक उत्पादन शुरू भइसकेको थिएन । आन्तरिक प्रयोगका लागि सय थान नमूना मात्र तयार भएका थिए, जसमध्ये एउटा यन्त्र ‘दुरुपयोग नगर्ने’ शर्तमा काकाले उसलाई उपहार दिएका थिए ।

राजनीतिक समाचार र खोजमूलक रिपोर्टिङमा रुचि राख्ने जोशिलो पत्रकार थियो देबु । कानेखुसी यन्त्र आफ्ना लागि वरदान साबित हुने कुरामा उसलाई शंका थिएन । हवाईजहाज काठमाडौंमा अवतरण गर्दा ऊ सोच्तैथियो, ‘कुरा लुकाउने नेता र सूचना लुकाउने कर्मचारीले अब मलाई ढाँट्न सक्तैनन् ।’

पाँच वर्षअघि किनेको सेकेन्ड ह्यान्ड ल्यापटप बोकेर अमेरिका गएको देबुले नयाँ ल्यापटप किनेर ल्याएको थियो । विमानस्थलको कर्मचारीले उसको ब्याग खोल्न लगायो र भन्यो ‘दुइटा कम्प्युटर ल्याउन पाउनुहुन्न । एउटाको भन्सार लाग्छ ।’

उसको दाउ देबुबाट पाँच हजार रुपैयाँ उछिट्याउने थियो, जुन कुरा कानेखुसी यन्त्रले बताइसकेको थियो । उसलाई कुनामा लगेर देबुले भन्यो, ‘पाँच हजार त बढी भयो नि भाइ, दुई हजार लिनोस् न !’ आफ्नो मनमा रहेको कुरा उसको मुखबाट सुनेर कर्मचारी झस्कियो र केही नलिई छोडिदियो ।

भोलिपल्ट बिहान देबु तर्कारी किन्न निस्केको थियो । तर्कारी पसलमा उसकै टोलका दुई जना अधबैंसे भेट भए । नमस्कार गर्दै एउटाले सोध्यो, ‘सन्चै हुनुहुन्छ ?’ नमस्कार फर्काउँदै अर्काले जवाफ दियो, ‘सन्चै छु ।’

सामान्य शिष्टाचार थियो त्यो । तर कानमा यन्त्र लगाएको देबु उनीहरूको मनको कुरा सुनेर तर्स्यो । पहिलोले भनेको थियो, ‘एकाबिहानै यो अलच्छिनाको मुख देख्नुपर्‍यो । पूरै दिन खराब हुनेभयो ।’ दोस्रो भन्दैथियो, ‘म सन्चो हूँ कि नहूँ, तँ गँजडीलाई के मतलब ?’ सधैं एकअर्कालाई मुस्कुराएर अभिवादन गर्ने तिनीहरूको मनमा एकअर्काप्रति यस्तो घृणा भरिएको होला भन्ने देबुले सपनामा पनि सोचेको थिएन ।

त्यही बिहान श्रीमतीले ‘घरखर्च सकियो’ भनेर ग्याँस किन्न पैसा माग्दा देबुको दिमाग पूरै रन्थनियो । किनभने, कानेखुसी यन्त्रबाट उनको आवाज आइरहेको थियो, ‘पाँच हजार रुपैयाँ लुकाएर राखेकी छु ।’ उसले श्रीमतीलाई नराम्ररी गाली गर्‍यो । उनले त्यो रकम केटाकेटीको स्कूल फी तिर्न जोगाएर राखेको बताएपछि पछुताउँदै माफी माग्यो, तर मन भारी भइरह्यो ।

खाना खाएर अफिस जान बस चढेको देबु त्यही रनाहामा टोलाइरहेको थियो । पछाडिको सीटमा स्कूल ड्रेस लगाएका एक जोडी टाउको जोडेर चूपचाप बसेका थिए । अचानक केटीले भनी, ‘म तिमी विना बाँच्न सक्तिनँ ।’ कानेखुसी यन्त्रमा उसको आवाज सुनियो, ‘मलाई आजै नयाँ बूट किनिदेऊ । नत्र तिमीलाई ब्रेकअप दिन्छु । अर्को ब्वाइफ्रेन्डले हत्ते गरिराख्या छ ।’

देबुको दिमाग रन्कियो । उसले पछाडि फर्केर केटालाई भन्यो, ‘यस्ती केटीको पछि नलाग भाइ, तिमी बर्बाद हुन्छौ ।’ केटी राता आँखाले उसलाई हेर्दै केटासँग लपक्क टाँसिई । केटाले ‘के भनिस् अरे ?’ भनेर देबुलाई एक मुक्का दियो । ‘नचाहिने कुरा गरेको’ भन्दै यात्रुहरू उसलाई गाली गर्न थाले । ऊ केही नबोली बसबाट ओर्लियो र पैदलै सडक नाप्न थाल्यो ।

बाटोमा वडा अध्यक्षसँग जम्काभेट भयो । ‘के छ नेताजी, हालखबर ?’ भनेर सोध्दा ङिच्च गर्दै उसले भन्यो, ‘रातदिन तपाईंहरूकै सेवामा लागेको छु । न खाने फुर्सद छ, न सुत्ने ।’ त्यही वेला कानमा उसको बोली सुनियो, ‘यो वर्षको बजेट कागजपत्र मिलाएर सिध्याइहालें । विकास–सिकास अब अर्को वर्ष !’

देबुले झन्डै उसलाई कुटेको । बडो मुश्किलले मन थाम्यो र अघि बढ्यो । उसलाई लाग्यो, समाजमा अरूको सत्य जानेर दुःख मात्र पाइने रहेछ । जो पनि फटाहा जस्तो लाग्ने र रीस उठ्ने । सत्य त पत्रकारितामा मात्र काम लाग्छ क्यार !

अफिस पुग्दा सम्पादकले भने, ‘मल काण्डको समाचार पहिले पनि तिमीले नै लेखेको हो । अब एक हप्ता समय लिएर त्यसैबारे घच्चीको खोज–रिपोर्टिङ तयार पार ।’

ऊ आँखा चिम्लेर काममा भिड्यो । यसपालि उसलाई धेरै सजिलो भयो । सम्बन्धित हाकिमकहाँ पुग्दा उसले पहिलेझैं ‘यसमा कुनै भ्रष्टाचार भएको छैन’ भनेर अनेक बिंगा लगाउँदै गयो । तर, त्यही वेला कानेखुसी यन्त्रमा उसको स्वर सुनिदैथियो, ‘फलानो दिन फलानोबाट यति पैसा लिएँ । त्यसबाट फलानो फलानोलाई यति पैसा बुझाएँ । मैले मात्र खाएको हो र ?’

सारा तथ्य समावेश गरेर उसले तीन दिनभित्रै सम्पादकलाई रिपोर्ट बुझायो । उनले भने, ‘स्टोरी त आयो, मलाई पनि कुरो यही हो जस्तो लाग्छ, तर प्रमाण खोइ ? न कुनै कागजात छ, न कसैले साबिती बयान नै दिएको छ । विना प्रमाण कसरी छाप्ने ?’

देबु मौन थियो । यन्त्रको गोपनीयता खोल्न उसलाई अनुमति थिएन । खोले पनि त्यसलाई कसैले प्रमाण मान्ने थिएन ।

अर्को दिन नवनियुक्त मन्त्रीको शपथग्रहण थियो । उसले शपथ लियो, ‘देश र जनताको हितका लागि इमान्दारीसाथ काम गर्नेछु । राष्ट्रको प्रगति नै मेरो लक्ष्य हुनेछ ।’ त्यही वेला यन्त्र मार्फत देबुका कानमा मन्त्रीको आवाज घन्कियो । ऊ भनिरहेको थियो, ‘तस्कर, माफिया र डनको हितका लागि नियमकानून मिचेर काम गर्नेछु । जसरी हुन्छ, पैसा कमाउनु नै मेरो लक्ष्य हुनेछ ।’

शपथग्रहण पश्चात् उसलाई बधाई दिंदै एउटा सांसदले भन्यो, ‘सफलताका लागि हार्दिक शुभकामना, मित्र !’ देबुका कानमा उसको आवाज आयो, ‘मलाई छिर्के हानेर मन्त्री भएको छस् । हेरिराख् न, छ महीनाभित्र तँलाई भ्रष्टाचारमा फसाउन सकिनँ भने म एउटा बाबुको छोरो होइन ।’ त्यस दिन देबुले समाचार लेखेन ।

तीन दिन पछि उसलाई दुई बडे नेताजीहरूको अन्तर्वार्ता लिन खटाइयो । एउटाका विरुद्ध अर्काले अदालतमा मुद्दा हालेका थिए । कसले जित्ने हो र कसले हार्ने हो, टुंगो थिएन । दुवै जना सडकबाट अदालतलाई धम्क्याइरहेका थिए । देबुले पालैपालो दुवैसँग कुरा गर्‍यो । दुवैले सल्लाह मिलाएर बोलेझैं एकैनासको जवाफ दिए, ‘सम्मानित अदालतमाथि मेरो अगाध आस्था छ । मलाई विश्वास छ, अदालतले अवश्य न्याय गर्नेछ ।’

कानेखुसी यन्त्र भने उनीहरूको मनको कुरा तिनकै आवाजमा सुनाइरहेको थियो, ‘अदालतले मेरै पक्षमा निर्णय गर्नुपर्छ । न्याय भनेकै त्यही हो । नत्र न्यायाधीश र अदालत दुवैको खैरियत छैन । मेरो सामु तिनको के हैसियत छ ?’

देबुले त्यसैको आधारमा अन्तर्वार्ता तयार गर्‍यो । तर सम्पादकलाई पत्यार लागेन । उनले दुवै बडे नेताजीलाई फोन गरे । दुवैको भनाइ एउटै थियो, ‘मैले त्यसो भनेकै छैन । भनेको भए रेकर्ड बजाएर सुनाऊ ।’

कानेखुसी यन्त्रको आवाज रेकर्ड हुन सक्तैनथ्यो । अन्तर्वार्ता छापिएन । देबु चुम्रुक्क पर्‍यो ।

सत्य पत्ता लगाउने अचूक उपकरण देबुका हातमा थियो । सत्य उसका सामु छर्लंग हुन्थ्यो । तर त्यसको प्रमाण ऊ जुटाउन सक्तैनथ्यो । बडो दुःख गरेर प्रमाण नजीक पुग्न लाग्दा ती अदृश्य भइसकेका हुन्थे । फलतः उसले लेखेका समाचार अखबारमा आउन छाडे । उसका रिपोर्ट चित्तबुझ्दा हुन्थे, तर छापिंदैनथे । ऊ आफैंदेखि निराश देखिन थाल्यो ।

एक दिन कानेखुसी यन्त्र हरायो । फुच्चे इयरफोनको एउटा डल्लो जत्रो त्यो जिनिस जति खोज्दा पनि भेटिएन । हप्ता दिन जति त देबु त्यसको शोकमा टोलाएरै बस्यो । त्यसपछि बिस्तारै काम गर्न थाल्यो । पहिले झैं उसका समाचार फटाफट छापिन थाले । प्रमाण जुटाउनु भन्दा दाबी, अनुमान र सम्भावनाको खेल पस्कनु सजिलो रहेछ भन्ने उसले राम्ररी बुझिसकेको थियो । ऊ भन्न थालेको थियो, ‘सत्य फेला पार्न जति सजिलो छ, प्रमाणित गर्न उति नै गाह्रो ।’

त्यत्रो उत्साहका साथ अमेरिकादेखि ल्याएको कानेखुसी यन्त्रबाट देबुलाई कुनै फाइदा भएन— न व्यक्तिगत जीवनमा, न त पेशागत जीवनमै । उसले कहिल्यै थाहा पनि पाएन, उसको बिजोक देखेर उसकै श्रीमतीले त्यो ठाँडो वाग्मतीमा बगाइदिएकी थिइन् । यन्त्र भए पो थाहा पाउनु !

प्रकाशित : फाल्गुन १, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?