कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सन्चै ?

यो समाज छ र जिन्दगी आनन्दले चलेको छ । यो समाज छ र जिन्दगी जटिल छ । गाह्रो छ यहाँ मात्रा मिलाएर बाँच्न । हेर्दा भीड छ, तर सबै एक्ला छन् ।
स्वीकृति बराल

यो बाटोमा एकाबिहानैदेखि चहलपहल सुरु हुन्छ । सबै हतारोमा देखिन्छन् । यस्तो लाग्छ, बिहानको पर्खाइमा सारा मानिसले नसुतेरै रात बिताए । सायद सबैलाई कतै पुग्नु छ । बेलाबेला सोच्छु, यी सबैलाई जिन्दगीले आफ्नो गन्तव्यसम्म पुर्‍याउला कि बीचमै अलपत्र पारेर छोड्ला !

सन्चै ?

म पनि अरूझैं यही भीडको एक यात्री हुँ, जो हरबखत केही न केहीका लागि कुदी नै रहन्छ । गजब लाग्ने के भने यहाँ सबै हतारमै छन्, तर एकअर्कालाई देख्नासाथ मुसुक्क हाँसेर सन्चो/बिसन्चो सोधिहाल्छन् । सबैलाई एकअर्काको माया भएजस्तो ! सायद त्यसैले मान्छेलाई सामाजिक प्राणी भनिन्छ । यस्तो लाग्छ, हामी एकै ठूलो परिवारको सदस्य हौँ, जहाँ हमेसा एकले अर्कोको चियो गरिरहन्छ ।

सुन्दर छ यो समाज, जहाँ बिहानदेखि बेलुकीसम्मै पाइलापाइलामा हालचाल सोध्नेहरू भेटिन्छन्, त्यो पनि ओठमा मुस्कानसाथ । मनमा यस्तै कुरा सोच्दै हिँडिरहेको थिएँ अचानक आएको प्रश्नले झस्किएँ– ‘आरामै हुनुहुन्छ ?’ मैले फ्याट्ट जवाफ फर्काएँ, ‘हजुर सन्चै छु ।’ जवाफ फर्काइसकेपछि पो झसंग भएँ, सन्चो त कहाँ थियो र !

हिसाबै गर्ने हो भने पनि सन्चो भएको भन्दा नभएको दिन धेरै निस्किन्छ मेरो । सायद यत्तिको प्रदूषणमा बस्ने प्रायः कोही पनि स्वस्थ हुँदैन । वास्तवमा मलाई न सन्चो थियो न म खुसी थिएँ । खासमा जिन्दगी नै तालमेल नमिलेजस्तो भएको छ । समस्या सुल्झाउँदा सुल्झाउँदै खुसी हुने समय नै भेट्दिनँ । एउटा समस्या बल्लबल्ल सुल्झायो अर्को आइलाग्छ । कहिलेकाहीँ त जन्मनुको उद्देश्य नै समस्यासँग खेल्नु र पालैपालो समाधान गर्दै जानु हो कि झैं लाग्छ । यथार्थमा भन्ने हो भने ‘सन्चो’ शब्द मेरा लागि बनेकै होइनजस्तो पनि लाग्छ । मनमा यत्तिको पिर हुँदा पनि सोच्दै नसोची ‘सन्चै छु’ भन्ने जवाफ कहाँबाट आयो ? आफैंले बोलेका कुरामा आफैँलाई अचम्म लाग्छ । यस्ता जवाफ म धेरै दिइरहेकी हुन्छु, जुन सत्यभन्दा धेरै पर हुन्छन् ।

यस्तो बेला मलाई विज्ञान नै फेल खाएझैं लाग्छ । विज्ञानअनुसार, दिमागको आदेशमा दिमागले सोचेपछि बोलिन्छ तर मलाई लाग्छ, कहिलेकाहीँ बोलेपछि दिमागले थाहा पाउँछ, नत्र सोचेरै बोलेको भए गलत नबोलिनुपर्ने हो । सानैदेखि झूट बोल्नु नराम्रो बानी हो भनेर घरमा बुबाआमाले जतिसुकै सिकाए पनि मेरो झूट बोल्ने बानी कहिले गएन । झूट नबोल्ने भएको भए म न अहिले मुसुक्क मुस्कुराउँथें, न आफूलाई ठीक छ नै भन्थें । कसैले यतिविधि आफ्नोपन देखाएर सन्चो/बिसन्चो सोध्दा झ्याप्पै झूट बोलिहाल्नु हुँदैनथ्यो ।

ठीक नहुँदा ‘ठीक छ’ भनेर मलाई के फाइदा हुन्छ र ? सत्य बोल्नु र नबोल्नुको खासै अन्तर रहेनछ । हालखबर सोध्ने मात्रै कहाँ हो र ? कत्ति त माग्दै नमागी सल्लाह दिन आइपुग्छन्, चाहे समस्या जस्तोसुकै किन नहोस् । प्रायः मान्छे अरूलाई खुब स्वाद लिएर सल्लाह दिइरहेका हुन्छन् । सल्लाह दिनेको जिन्दगीमा समस्या हुँदो हो कि नहुँदो हो, यो कुरा जान्ने इच्छा मेरो मनमा सधैँ हुन्छ । यहाँ रोगबारे सल्लाह दिन डाक्टर नै हुनुपर्छ भन्ने छैन, बरु डाक्टर रोगबारेमा थोरै बोल्लान्, सल्लाह दिनेको कुरै सकिँदैन । हरक्षेत्रमा उत्तिकै छन् सल्लाहकारहरू । लाग्छ, यो सल्लाहकार नै सल्लाहकारको समाज हो ।

अस्ति भर्खरको कुरा हो एक जनाले मलाई सल्लाह दिए, ‘पढे–लेखेको मान्छे पनि के बच्चा हेरेर बसेको ? चाइल्ड केयरमा राखेर आफ्नो करिअर बनाउनु नि !’ दिनैभरि मेरो दिमागमा त्यही कुरा मात्रै घुमिरह्यो । झन्डै मलाई आफ्नो बच्चाभन्दा उनको सल्लाह प्यारो लाग्नै लागेको थियो । तर, पछि तिनैले मजस्तै अर्की आमालाई भनें, ‘के बच्चा छोडेर काममा गएको ? तिमीलाई नपुगेको केही छैन क्यारे ! अहिलेको समय बच्चालाई देऊ । आमा भनेको आमा नै हो । कहाँ हुन्छ र आफैंले हेरेजस्तो !’ एकै मान्छेको दुईथरी कुरा सुनेपछि म चकित खाएँ । सल्लाहकारका सल्लाह एउटै अवस्थामा पनि मान्छेअनुसार, फरक हुँदा रहेछन् ।

भनिन्छ, समाज एउटा ठूलो परिवार हो । ठूलो परिवारका अगाडि मलाई बेलाबेला आफ्नो सानो परिवार ओझेलमा परेझैं लाग्छ । घरका सदस्यलाई बरु अरूबारे चासो राख्ने फुर्सद नहोला तर, चौबीसै घण्टा अरूबारे चासो राख्न यो समाजलाई सधैं फुर्सद हुन्छ । जस्तो म घरबाट कस्तो लुगा लगाएर हिँड्छु, म कोसँग भेट्छु, कति बजे घर फर्कन्छु, कसरी बोल्छु ! यस्ता सबै विषयको ख्याल राख्छ यो समाज । यति मात्र कहाँ हो र ? मेरो उमेर कति, मैले कहिले विवाह गर्नुपर्छ, कहिले बच्चा जन्माउनुपर्छ, कति जना बच्चा जन्माउनुपर्छ भन्ने सल्लाह दिनेहरू भेटिन्छन् ।

यो समाजलाई मेरो यति पिर छ कि यसले न मलाई आरामले बाँच्न दिन्छ न मेरो परिवारलाई । एक दिन मेरी आमा अलि मलिनो अनुहार लगाउँदै घर आउनुभयो । टोलमा एक/दुई जनाले आमालाई भनेछन्, ‘अब छोरीको बिहे गर्ने होइन ? ढिला होला है, गतिलो केटा नपाउनुहोला नि !’ आमा अन्योलमा पर्नुभएछ– कतै छोरीको बिहे गर्न ढिलै त भएन ! जे होस् जानेको छ यो समाजले सबलाई अन्योलमा पार्न, प्याच्च एउटा कुरा बोल्यो, नमागेको सल्लाह दियो, अनि आफ्नो बाटो लाग्यो, यस्तै छ यहाँको चलन !

फलानीकी छोरी कत्री भइन्, फलानाको छोरो कोसँग हिँड्यो, कसको श्रीमान्ले श्रीमतीलाई धेरै माया गर्छ, कसकी श्रीमती खुसी छन्, कसकी छोरी राति ढिलो घर आउँछे ! यी सबै खबर मान्छेहरूलाई थाहा हुन्छ । कतिसम्म भने कत्ति श्रीमान्हरू यही समाजकै कुरो सुनेर श्रीमती मनपराउन छोड्छन् । तिनलाई रातदिन सँगै बस्ने श्रीमतीभन्दा छरछिमेकको कुरा ठीक लाग्छ । कति श्रीमती पनि समाजकै कुरो सुनेर आफ्नो वैवाहिक सम्बन्ध बिगार्न पछि पर्दैनन् ।

सोच्छु, यो समाज छ र जिन्दगी आनन्दले चलेको छ । फेरि कहिले सोच्छु, यो समाज छ र जिन्दगी जटिल छ । गाह्रो छ यहाँ मात्रा मिलाएर बाँच्न । के गर्दा ठीक र के गर्दा बेठीक भन्ने सोच्दासोच्दै जिन्दगीको आधाभन्दा बढी समय सकिन्छ । हेर्दा भीड छ, तर वास्तवमा यहाँ सबै एक्ला छन् ।

यो समाज छ, त्यसैले त भर छ । यो समाज छ, त्यसैले त डर छ । यहाँ सबैलाई अरूभन्दा भिन्न देखिन मन छ, अरूको अगाडि चिनिन मन छ । मान्छे–मान्छेबीच प्रतिस्पर्धा छ । मान्छे अरूलाई देखाउनकै लागि यथार्थ लुकाएर हिँड्छन् । देखावटी समाजमा सरल भएर बाँच्न धेरै गाह्रो छ । मै पनि आफ्नो ‘सत्य’ खोल्दिनँ र ‘सन्चै ?’ प्रश्नलाई मुसुक्क हाँसेर जवाफ दिन्छु, ‘सबै कुशलमंगल छ ।’

प्रकाशित : फाल्गुन १, २०७७ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?