कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न !

एकपटक सँगै गाउँ– कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न, कल्पनाको गगन मुस्कुराउने कम्युनिस्ट बन न !
भूपेन्द्र खड्का

उसको नाम सेते हो, उसकी आमाले बोलाउने । उसको नाम कान्छा हो, उसका बाले बोलाउने । उसको नाम गोरे हो, उसका काकाले बोलाउने । उसको नाम गोकर्ने हो, उसका सहपाठीले बोलाउने । उसको नाम राजेन्द्र हो, हाजिरी मास्टरले बोलाउने । उसको नाम गगन हो, उसका सहयोद्धाहरूले बोलाउने ।

कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न !

राजेन्द्र खड्का उर्फ कमरेड गगन । हाम्री बोईले एउटै कोखबाट जन्माएका तीन बाहरूमध्येका जेठाबाको कान्छो छोरो । मेरा जेठाबाको कान्छो छोरो । मेरो दाइ ।

म भर्खर उम्रँदै थिएँ । मेरा पात पलाएका थिएनन् । मेरा जरा पनि पलाएका थिएनन् । मैले मेरो धर्ती टेकेको मलाई थाहा थिएन । तर समयको नयाँ पात पलाउँदै थियो— प्रजातन्त्र नामको ।

त्यो पातको छिप्पिएको तलेत्रोमा आफ्नो नाम सुनौला अक्षरमा लेख्न चाहन्थ्यो मेरो दाइ । २०४७ सालको चैते हुरी आउनुअघिको अघिल्लो वर्ष नै ऊ अर्धभूमिगत भैसकेको थियो । सबैको प्यारो त्यो मानिसमा केही खास कलाहरू थिए । नम्र बोली, शिष्ट आचरण, मृदुल मुस्कान । आकर्षक शारीरिक बनोटमा अग्लो कद । मिठो लवजमा गीत गाउने कला ।

ऊ प्रायः गाउँथ्यो, ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र बन न । कहिले होला त्यो दिन, जब होला मिठो मिलन ।’

मलाई थाहा थिएन, यस्तो मिठो गीत गाउने चराको नाम के हो ? यस्तो गीत कहाँ रेकर्ड हुन्छ ? कहाँ बज्छ ? कहाँबाट कसरी सुनिन्छ ?

हाम्रा घर खरले छाएका स–साना थिए । मूलघरको दुईतिर स–साना कोठा हुन्थे, जसलाई गाउँले भाषामा कोठी भनिन्थ्यो । उमेर बढ्दै गएपछि स्कुल पढ्नेहरू ती कोठीलाई आफ्नो बनाउन पाउँथे । कान्छो दाइ पनि त्यस्तै कोठीमा बस्थ्यो ।

उसले कोठीका भित्ताको एकापट्टि भारतीय नायिकाहरूको पोस्टर, पोस्टकार्ड र फोटाहरू टाँसेको थियो । अर्कोपट्टि मार्क्स, लेनिन र स्टालिनका । खाटमा सुतेर सिरानीमा ढल्कँदै हिरोनीहरूतिर फर्कंदै गाउँथ्यो— कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न ।

खाटमा सुतेर सिरानीमा ढल्कँदै कम्युनिस्टहरूतिर फर्केर गाउँथ्यो— कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न ।

म सोध्थें, ‘दाइ यस्तो गीत कहाँ सुन्न पाइन्छ ?’

ऊ भन्थ्यो, ‘रेडियोमा ।’

त्यति बेला हाम्रो घरमा रेडियो आइसकेको थिएन । उसले साथीहरूको घरमा सुनेको हुनुपर्छ । एसएलसी परीक्षा दिनुअघि ऊ धेरैपटक भूमिगत र अर्धभूमिगत भएको थियो । ऊ सच्चा कम्युनिस्ट कार्यकर्ता थियो । आफ्नो कोठीका मार्क्स, लेनिन, स्टालिन, मीना कुमारीहरूलाई छाडेर पञ्चायत ढाल्न रातरातभर गायब हुन्थ्यो । सायद सभा, भेला, गोष्ठी र घरदैलो सचेतना कार्यक्रममा पुग्थ्यो ।

त्यति बेला कम्युनिस्ट युवाहरू झाम्रे गाउन ४–५ घण्टा हिँडेर बागलुङ सिगाना गाविसको उपल्लो लेकसम्म पुग्थे । हिलेका कान्छीहरूका बेसरम गीत बनाएर गाउँथे— साइँली सलक्क, हिलेकी कान्छीले हगी भ्यालत्त । कस्तो प्यारो थियो— प्रेम र प्रेमिका, जसको गुहुको पनि उनीहरू प्रेमपूर्वक गीत बनाएर गाउँथे । प्रजातन्त्रको काफल पाक्यो । दाइहरूले राजा वीरेन्द्रको फोटोलाई पुजे । प्रजातन्त्र दिएकोमा धन्यवाद दिए । अबिर दलेर घर आए । बहुदल आयो । प्रजातान्त्रिक सरकार बन्यो । दाइ पढ्न सहर पस्यो ।

५२ साल आयो । ‘जनयुद्ध’ सुरु भयो ।

बागलुङको हाम्रो एरिया लालहरूको किल्ला लालकिल्ला’ थियो । प्रजातन्त्रका निम्ति लडेको दाइको घर, हाम्रो घर सेना र माओवादी दुवैको निगरानीमा थिए । बाँच्न पनि सास पुर्‍याई–पुर्‍याई फेर्नुपर्ने अवस्था थियो । हाँस्नु के हो, हामीले बिर्सिसकेका थियौं । रुनलाई आँखामा आँसु थिएन ।

जीवन पानीको मुख कहिल्यै नदेखेको मरुभूमिजस्तो बन्दै गइरहेको थियो । २०५४ साल आयो । कमरेड गगनले सहरबाट एउटी सुन्दरी भाउजू लिएर आयो । सर्टिफिकेट लेभल नसक्दै उसले जीवनको सर्टिफिकेट निकाल्न लागेको थियो । फेरि सहर पस्यो, उही चिरपरिचित गीत कल्पनाको गगन गाउँदै । मैले डाँडो नकटुन्जेल त्यही गीत गुनगुनाउँदै उसलाई र उसको छायालाई हेरिरहेँ ।

ऊ ५५ सालमा घर आउँदा मानव धर्मबाहेकको अर्को धर्म लिएर आको थियो । ऊ क्रिस्चियन भएर आको थियो । पादरी र प्रभुका सिलोकहरू कण्ठस्थ सुनाउने भएर आएको थ्यो । हातमा पढाइको प्रमाणपत्र नभए पनि काखमा जीवनको प्रमाणपत्र लिएर आएको थियो ।

उसले त्यही साल बागलुङको घरबाट नवलपरासी बसाइँ पनि सार्‍यो । कम्युनिस्ट हुने नाममा खाएको कसम पनि झूटो बनाइदियो । नवलपरासीको घरमा आफ्नो जीवनका बालापन र यौवनमा भएको कम्युनिस्टको अतीतलाई पादरीका मन्त्रहरूमा जपिरहेको होला उसले यतिबेला । सायद यो गीत अझै पनि गाउँदै होला— कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न ।

समयको हुरीबतासले अब हाम्रा घरधुरीहरूमा धक्का दिन थाल्यो । बन्दुकका नालका निसानामा हाम्रा आँखा तारो बन्न थाले । घर कब्जाजस्तै भए । हाम्रो उत्पादन जनमुक्तिसेनाले उपभोग गरे । हाम्रा बास उनीहरूका गुँड बने । बारीको अर्ग्यानिक अन्न खाएर उनीहरूले बन्दुक निकै पड्काए । ती बन्दुकका निसाना आफ्नै दाजुभाइ बने, जोसँग कुलोपैनीमा झगडा परेको थियो । जो अलिकति कमाएर सुखी परिवार बनाउने योजनामा थिए । जसले परदेशमा रातका तारा गनेर गाउँमा जग्गा–जमिन जोड्दै थिए । जनसरकार प्रमुख बनेको हाम्रै भाइखलकको कमरेड टंक सेनाको दुई राउन्ड गोलीले परमधाम भयो । आफ्नै अघि आफ्नै सन्तानको हत्याले मेरी आमाले तीन महिना कान सुनिनन् । उनी बोल्न नसक्ने भइन् ।

आमाको काख र गुन्यूको गन्ध बोकेर अन्ततः २०५६ सालमा मैले पनि घर छाडें । समयको कथाले मलाई दस वर्ष घर जान दिएन ।

त्यो दस वर्षमा मैले मेरो दाइ गगनले गाउने गीतको भेउ पाएँ । बच्चुकैलाश भन्ने गायकले गाएको गीत रैछ । सुरेन्द्र शाहले लेखेका रैछन् । भोजपुरको सापतेलवासी बस्नेतका छोराले आफ्नै संगीतमा गाएको गीतले मेरो दाइको जीवन मात्रै होइन, नाम पनि परिवर्तन भएको थियो । उसले यही गीतको गगनलाई कमरेड गगन बनाउँदै आफ्नो नाम परिवर्तन गरेको थियो ।

कुनै समय राजा महेन्द्रनिकट र प्रिय बच्चुकैलाश अहिले मेरो दाइजस्तै गुमनाम छन् । काठमाडौंको एउटा गुँडमा आफ्नो जीवनका गीतहरू गुनगुनाइरहेका उनी सार्वनजिक सभासमारोहमा देखिन्नन् । अन्तरवार्तामा आउन्नन् । उनका थोरै समकालिकलाई बाहेक उनको जीवनका लयहरू कसैलाई थाहा छैन ।

प्रायः पशुपतिमा बाँदरलाई केरा खुवाउन गैरहने र घरमै क्याक्टस गोडमेल गरेर बस्ने उनी यो चौरासीवर्षे चोलामा घरभित्र के गरिरहेका होलान् ? मेरो दाइजस्ता युवाका निम्ति गीत गाइदिने, प्रेम गीतमा परिवर्तनको हुँकार भर्न सक्ने संगीतका यी महान् कैलाश पर्वतलाई कसले घरभित्र बस्ने बनायो ? बाहिर किन निस्किन चाहन्नन् ?

मैले धेरैलाई सोधेको प्रश्न हो यो । यसको उत्तर गणेश रसिक, हिरण्य भोजपुरे, यादव खरेल, किरण खरेल, प्रेमध्वज प्रधान, माणिकरत्न कसैसँग छैन । यसको उत्तर सायद बच्चुकैलाशसँग पनि छैन कि ? किनकि कतिपय प्रश्नका उत्तरहरू समयको परिवर्तनसँगै आफैँ विलय भएर जान्छन् ।

मेरो दाइ, तँ कहाँ छस् ? आइज, त्यो पादरीको घुम्टो फालेर आइज अथवा घुम्टोसहित आइज फेरि एकपटक सँगै गाउँ– कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न, कल्पनाको गगन मुस्कुराउने कम्युनिस्ट बन न !

नोट : यो लेख पढ्दा युट्युबको अनधीकृत अपलोडबाट गीत सुन्ने सुविधा हर पाठकलाई छ :

साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो,

लाग्छ शरद् हट्छ झरी किन्तु आँसु झरी भैरह्यो ।

आँसु कहिले थामिने, मनको घाउ कहिले पलाउने ।

कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न ।


पिर लिई दुब्लाएर छैन भोक निद्रा,

खोक्रोजस्तो शरीर भई छियाछिया मन भो होला ।

मनको पिर गाएर, रुँदी हौली एक्लै बसेर,

कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न ।


बन्धनको क्यानरीले गाउँछ मिठो गीत,

सुखी छ कि दुःखी छ त्यो थाहा कल्ले पाउन सक्छ र ।

देख्छन् सबले हाँसेको, देख्छ कल्ले मन जलेको ।

कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न ।

प्रकाशित : फाल्गुन १, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?