त्यो यादगार 'निर्जल भोज'

'विमर्श' यस्तोसम्म भयो कि एकपटक यसका सम्पादक पदम ठकुराठीलाई गोली लाग्दा दिनको तीन संस्करण पनि निस्क्यो, यद्यपि त्यो 'साप्ताहिक' थियो ।
ध्रुवचन्द्र गौतम

नमस्कार जनार्दनजी ।’
‘नमस्कार डाक्टर साहेब ।’

भेटेको बेला, उनीसित अभिवादन यस्तै हुन्थ्यो ।

जनार्दन आचार्यसित, अरू कति साथीभन्दा परिचय पछि भयो । उनी पहिले विद्यार्थी राजनीतिमा थिए । त्रिविमै पढेका रहेछन् । तर, मैले त्यहाँ उनलाई कहिल्यै देखिनँ वा भेटिनँ । पछि थाहा भयो— पढ्न त लगभग उस्तै समयमा रहेछ ।

शिक्षक भएर त्रिविमा पढाउन थालेपछि, एक दिन ‘साप्ताहिक मञ्च’ जसका सम्पादक पदम ठकुराठी थिए, बाट मलाई साहित्यिक स्तम्भ लेख्नका लागि अनुरोध आयो । त्यो एउटा प्रकाशन संस्था, एउटा समूह सप्तकोसी प्रकाशनद्वारा सञ्चालित थियो । त्यसबाट ‘साप्ताहिक मञ्च’ नामक साप्ताहिक प्रकाशित भयो । त्यो पत्रिका त्यो समयमा अति लोकप्रिय भयो, त्यो उदाहरणीय छ । तिनताक हरेकको हातमा एउटा ‘साप्ताहिक मञ्च’ देखिन्थ्यो । शुक्रबार प्रकाशित हुन्थ्यो । त्यसमा जनार्दन आचार्य र हरिहर विरही पनि प्रमुख रूपमा थिए । पञ्चायतकाल थियो— पत्रिका अत्यन्त निष्पक्ष र ‘बेबाक’ थियो ।

त्यसबखतका सारा राजनीतिक र बौद्धिकका बीच त्यो अत्यन्त अनिवार्य र नियमित पठन–सामग्री थियो । खबर–विश्लेषण स्पष्ट व्यवस्थाका त्रुटि देखाउने हुन्थ्यो । स्तम्भहरू निकै लोकप्रिय थिए । अखबारको बीबीचमा ‘सुलसुले’ भन्ने एकदम ससाना, व्यंग्यात्मक टिप्पणी ‘बक्स’ मा दिइएको हुन्थ्यो । त्यो यति रमाइलो थियो कि कति जना भन्थे—‘म सबभन्दा पहिले ‘सुलसुले’ पढ्छु ।’

यो पत्रिका कतिपटक प्रतिबन्धित भयो, खारेज भयो, त्यसको ठेगान छैन । तर, एउटा चमत्कारै थियो त्यो, जतिपटक प्रतिबन्धित भयो, कुनै अर्को चलिरहेको साप्ताहिक नामको समूहले पत्रिका निकाल्थ्यो र त्यो त्यत्तिकै ‘हिट’ हुन्थ्यो । ‘साप्ताहिक मञ्च’ हिट हुन्थ्यो मात्र होइन, सफलताको र लोकप्रियताको नयाँ उचाइ चढ्दै गयो । जनार्दनजी पत्रिकाका व्यवस्थापक थिए, अत्यन्त कुशल र भलाद्मी व्यक्ति थिए । अन्त्यमा ‘साप्ताहिक विमर्श’ नाउँको पहिलेदेखि केशवराज पिँडालीको सम्पादनमा निक्लिने साप्ताहिकमा उनको बास बस्यो । म ‘विमर्श’ भनेरै यस लेखमा सम्बोधन गर्न चाहन्छु । त्यसको कारण पनि छ ।

‘विमर्श’ यस्तोसम्म भयो कि एकपटक यसका सम्पादक पदम ठकुराठीलाई गोली लाग्दा दिनको तीन संस्करण पनि निस्क्यो, यद्यपि त्यो ‘साप्ताहिक’ थियो । शुक्रबार निस्किने पत्रिकामा, प्रत्येक बिहीबार काम सकिएपछि नियमित पार्टी हुन्थ्यो । अहिलेका कति वरिष्ठ पत्रकार पनि ‘विमर्श’ सित जोडिएका थिए । बिहीबारको भोजमा कहिलेकाहीँ कुनै विशिष्ट व्यक्ति पनि आमन्त्रित हुन्थ्यो । एकपटक रूपचन्द्र विष्ट ‘थाहा’ पनि सामेल भएको मलाई याद छ ।

त्यसमा जनार्दन आचार्यको ‘समय–समय’ भन्ने एउटा स्तम्भ नियमित प्रकाशित हुन्थ्यो । त्यो स्तम्भ लोकप्रिय त थियो नै, गम्भीर पनि थियो । म पनि त्यसको नियमित पाठक थिएँ । जनार्दन आचार्यको शैली अलग थियो र मलाई मन पर्थ्यो ।

‘विमर्श’ को सुरुको अंकदेखि म त्यसमा संलग्न थिएँ, साहित्यिक स्तम्भकारका रूपमा र पछिसम्म पनि रहें । जनार्दन त त्यसका संस्थापकमध्ये नै थिए । तिनै कुनै दिनमा मेरो जनार्दन आचार्यसँग भेट भएको थियो । त्यही बेलादेखि, अभिवादनको हाम्रो शैली त्यही रह्यो । फोनमा पनि :

‘नमस्कार जनार्दनजी ।’

‘नमस्कार डाक्टर साहेब ।’

क्रमशः हाम्रो घनिष्ठता बढ्दै गयो । त्यो अखबारी वा व्यक्तिगत मात्र होइन, पारिवारिक पनि भयो । ‘बैठकी’ हाम्रो साप्ताहिक त हुन्थ्यो नै । बेलाबेलामा अलग पनि हुन्थ्यो ।

एकपटक बानेश्वरको कुनै रेस्टुरेन्टमा अन्य कति व्यक्तिसहित म पनि थिएँ । ‘पेय’ धेरै भयो । लगेको पनि सकियो । अझै तृष्णा बाँकी रहेछ । जनार्दनले भने, ‘के गर्ने ?’ हरिहर विरही केही नभनी फुत्त बाहिरतिर निस्के । केही समयपछि उनी हातमा एउटा ‘रेड लेबल’ बोकेर आइपुगे ।

जनार्दनजीले भने, ‘कहाँबाट ल्याउनुभयो ?’

विरहीले भने, ‘किनेर ।’

‘किन त ?’

‘दाइले इच्छा गर्नुभयो, त्यसैले ।’

त्यसबखत उहाँहरूमा राम्रो

मिलजुल थियो ।

तर, त्यत्रो लामो ‘बोतलीय यात्रा’ गर्न कसरी सकिएला भन्दाभन्दै, ‘रेड लेबल’ खुल्यो । सेवन भयो । त्यसको अन्त्य कसरी भयो भने फेरि एउटा ‘लोकल’ भए पनि ल्याए, खोलेर, सकियो पनि ।

त्यसबखत मसँग स्कुटर वा बाइक के थियो, सम्झिरहेको छैन । त्यही साधनमा जनार्दनजीलाई उनको घर पुर्‍याएर फर्किन्थें ।

त्यसबाहेक एक समय यस्तो आयो, जब म र जनार्दन आचार्य मात्र कुनै परिचित रेस्टुरेन्टमा बस्थ्यौं । लगभग रातको बाह्र बजेसम्म । त्यसपछि उनी र म पुतलीसडकबाट मखनको एक गल्लीमा पान खान जान्थ्यौं । पानवाला मधेसका दुई दाइभाइ थिए । उनीहरू नियमित हुनाले पछिपछि त हाम्रै लागि पनि पसल खुला राखेर बस्थे । हामी धेरै दिनसम्म उनका अन्तिम ग्राहक भइरह्यौं । त्यसपछि ती पसल बन्द गरेर जान्थे ।

जनार्दनजस्तो गम्भीर, लागेको नदेखिने ‘मधुपायी’ मैले कमै देखेको छु । बरु मलाई कहिलेकाहीँ लागेको भान हुन्थ्यो, नियन्त्रित नै भए पनि । एक दिन मलाई लाग्यो— अब खाएँ भने मलाई बाइक चलाउन गाह्रो हुन सक्छ । मैले जनार्दनलाई नराम्रो नलागोस् भनेर, लुकाएर टेबुलमुन्तिर ग्लासको पेय आधा झारिदिएँ । उनले देखिहालेछन् । त्यसैबखत हो, एकपटक उनले अलिकति ‘नाराजगी’ प्रकट गरेको । भने, ‘किन त्यसो गर्नुभएको ?’

‘बढी होला कि भनेर ।’

‘देखाएरै छाडिदिए हुन्थ्यो नि ? लुकाएर किन गर्नुपर्‍यो ?’

यसो भन्दा उनको स्वर किञ्चित गम्भीर थियो । त्यसभन्दा बढी केही होइन ।

हामी त्यसरी बस्दा साहित्यिक कुरा नै बढी हुन्थ्यो । कुरैकुरामा एक दिन थाहा भयो— उनले केही कथा पनि लेखेका छन् । मैले उनको कुनै कथा पढेको थिइनँ । भनें, ‘जनार्दनजी, एउटा संग्रह निकाल्नुपर्‍यो ।’

यो विषय हाम्रो हरेक भेटमा लगभग एक अनिवार्य विषय हुन थाल्यो । पछि जनार्दनले केही कथा थपथाप गरेर एउटा कथा–संग्रह निकाले । त्यसैगरी उनको ‘समय–समय’ को एक सँगालो पनि प्रकाशित भयो । जनार्दनले कथा–लेखनमा पछि ध्यान दिएनन् नत्र उनका कथाहरू पनि राम्रा थिए ।

उनको डेरामा पनि म जान्थें । त्यहाँ ‘लन्च’ लाई जान्थें । ‘एपेटाइजर’ भनेर अलिअलि लिन्थ्यौं, खान बस्थ्यौं । भाउजू (श्रीमती जनार्दन) कुराकानीमा सभ्य, विनम्र र मिलनसार थिइन् । बौद्धिक पनि थिइन् । उनले हाम्रो कुराकानीमा राम्रै रुचि लिन्थिन् । सहभागिता पनि हुन्थ्यो उनको ।

एकपटक हामी चार जना ‘मनकामना’ पनि गयौं । तर त्यहाँ, म गइसकेको हुनाले तलै बसें— जनार्दन र भाउजू पुगेर आए । म कुनै विदेश–यात्रामा थिएँ । दसैं आउने समय थियो । फर्केर आउँदा, भन्सारमा एक पदाधिकारीले जाँच त गरेनन्, तर एउटा यस्तो खबर सुनाए, मनचित्तमै नभएको, म त छाँगाबाट झरेजस्तो भएँ । उनले भने, ‘थाहा पाउनुभयो सर, ‘विमर्श’ त बन्द भयो नि ?’

‘कसरी एकाएक ?’,मैले भनें ।

‘खोइ के–के खटपट भयो रे ।’

त्यही थियो, ‘विमर्श’ सँगको अन्तिम सम्बन्ध पनि । यसबारेमा म ‘डिटेल’ मा अझै जान्दिनँ । तर, त्यो खबर एक अपरिचित नेपालीका लागि पनि ‘खबर’ थियो, तब त मैले नेपाल टेक्नासाथ पहिलो खबर नै त्यसबखत त्यही थियो—मेरा लागि र सुनाउनेका लागि पनि । यसले ‘विमर्श’ को त्यसबखतको उचाइ पनि नाप्न सकिन्छ र अब त्यसको ‘अवसान’ को स्थिति पनि ।

तर, जनार्दनसँग मेरो सम्बन्ध भने यथावत् रह्यो । भेट्नु कम, फोनमा धेरै । कहिलेकाहीँ उनको घरमा ‘लन्च’ मा जान्थें । यदाकदा रेस्टुराँमा पनि भेटिन्थ्यो । एकपटक पदम ठकुराठीले मैतीदेवीको एक रेस्टुरेन्ट ‘बुइगल’ मा पार्टी राखेका थिए । त्यसमा ‘विमर्श’ र जनार्दन–पदमका मित्रहरू पनि थिए । त्यही अन्तिमपटक हो, जनार्दन र मैले ‘छकेर जिमेको’ (भव्य ज्युनार) गरेको । त्यसपछि त्यस्तो अवसर र त्यत्तिको अवसर आएन ।

पछि एक मित्रको छोराको बिहेमा जनार्दन र म दुवै भेटियौं ।

त्यो अन्तिमपटक थियो— हामीले ग्लास टकराएको, त्यो पनि फर्मल किसिमको ।

एक दिन भेट्ने, जम्ने भन्दाभन्दै त्यो दिन त आएन । तर, एक दिन जनार्दनले घरैमा बोलाए । म गएँ । उनी उस्तै देखिन्थे । जनार्दनले सोधे, ‘डाक्टर साहेब केही ल्याऊँ ?’

‘जनार्दनजी नि ?’

‘म त अहिले खान्नँ ।’

‘त्यसो भए आज नखाऊँ ।’

र, त्यो यादगार किन भयो भने, जनार्दनसँग खाँदा त्यो पहिलो ‘निर्जल’ भोजन थियो ।

अझै यादगार किन भयो भने, त्यो अन्तिम प्रत्यक्ष भेट पनि भयो । त्यसपछि फोनमा कुरा हुन्थ्यो । उनलाई पोस्ट्रेट वा अन्य ‘युरिनरी’ समस्या छ भन्थे । तैपनि ‘एक दिन भेट्नुपर्छ डाक्टर साहेब’ भनिरहन्थे । त्यसपछि दुई–चार दिन, दुई–चार दिनमा फोन गर्थे । कुरा पनि हुन्थ्यो । एक दिन गरें, फोन ‘अफ’ आयो । भोलि–पर्सिपल्ट फेरि गरें, ‘अफ’ ।

निकै समयपछि लाग्यो, उनी आफ्नो घर धरान गए कि, त्यहाँ बसेर इलाज गराउन । ‘बेलाबेलामा गर्थें, ‘अफ’ आउँथ्यो । धेरै दिनपछि एक दिन (माघ ४ गते) थाहा पाएँ, उनी अब छैनन् ।

सुनेर ‘सक’ भयो मलाई, हरेक मृत्युमा दुःख लाग्छ । तर, कमै मान्छे गुमाउँदा ‘वैराग्य’ को भावना आउँछ । जनार्दन आचार्यको निधनमा त्यस्तै भयो । पुराना सम्झना उनकै अनुपस्थितिले ल्याएको हो, उनैलाई श्रद्धाञ्जली स्वरूप समर्पित । उनको जवाफी अभिनन्दन आउँदैन, थाहा छ— तैपनि ‘नमस्कार जनार्दनजी’ । योचाहिँ अब अन्तिमपटक ।

प्रकाशित : फाल्गुन १, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

रूपान्तरित भूमिकामा प्रणव मुखर्जी

राजनीतिक महत्त्वाकांक्षा राखी राष्ट्रप्रमुखको पदमा पुग्दा दुर्घटना हुने सम्भावना रहन्छ तर संविधानको अक्षर र भावनामा भूमिका सीमित राखी प्रधानमन्त्रीलाई उचित सल्लाह दिँदा मात्रै समन्वय कायम भई शासन–प्रणाली राम्ररी चल्न सक्छ भन्ने मुखर्जी–अनुभवले बताउँंछ ।
लोकराज बराल

राष्ट्रपतीय र संसदीय प्रणालीअन्तर्गतका राष्ट्राध्यक्षको भूमिका फरक पर्छ । राष्ट्रपतीय प्रणालीमा राज्यका कतिपय संवैधानिक र धेरै कार्यकारिणी भूमिका रहे पनि मुख्यतः राष्ट्रपति कार्यकारी नै हुन्छ । नयाँ संसदीय प्रणालीमा संविधानमा उल्लेख भएअनुसारका काममा राष्ट्राध्यक्ष सन्तुष्ट नहुँंदा सरकार प्रमुख र उनीबीच खटपट भई व्यवस्था धरापमा पर्ने सम्भावना पनि हुन्छ ।

२०४७ को संविधानले राजाको भूमिका सीमित पारेपछि तत्कालीन राजा वीरेन्द्र सन्तुष्ट थिएनन् । वीरेन्द्रको असन्तुष्टिको प्रभाव राज्य सञ्चालनमा परेको तर बाहिर देखिने गरी शक्ति प्रयोग गर्न समय पर्खिरहेको जानकारी धेरैलाई थियो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रले त संविधानविपरीत आफू सक्रिय रहेको देखाए । संसदीय व्यवस्थामा राष्ट्रप्रमुखको भूमिका के हुन्छ ? राष्ट्रपति हुने व्यक्तिले कसरी त्यो भूमिका निर्वाह गर्नुपर्छ ? आफ्नै परम्परामा चल्दै आएको बेलायत र करिब ७० वर्षको अनुभव संँगालेको भारतलाई हेर्ने हो भने हामीलाई व्यवस्था सञ्चालनमा सहयोग पुग्ने रहेछ ।

यसै सन्दर्भमा भारतका भूतपूर्व राष्ट्रपति प्रणव मुखर्जीको किताब ‘राष्ट्रपतीय वर्षहरू २०१२—२०१७’ (द प्रेसिडेन्सियल इयर्स–२०२१) मा संवैधानिक राष्ट्रप्रमुखको दायित्व, अन्य पक्षको विवरण र मन्तव्य पढ्न पाइन्छ । सरकारमा जाने दल र सबैका लागि किताब उपयोगी छ । राजनीतिक महत्त्वाकांक्षा राखी राष्ट्रप्रमुखको पदमा पुग्दा दुर्घटना हुने सम्भावना रहन्छ । तर, संविधानको अक्षर र भावनामा भूमिका सीमित राखी प्रधानमन्त्रीलाई उचित सल्लाह दिँदा मात्रै समन्वय कायम भई शासन–प्रणाली राम्ररी चल्न सक्छ भन्ने मुखर्जी–अनुभवले बताउँंछ ।

संविधानले भारत धर्मनिरपेक्ष राज्य भने पनि राष्ट्रपति या अरूले ईश्वरका नाममा शपथग्रहण गर्छन् । अमेरिकाका राष्ट्रपति पनि एउटा हात बाइबलमा राखी अर्को हात माथि उठाई ईश्वरको नाममा शपथ लिन्छन् । ८० प्रतिशतभन्दा बढी अमेरिकी जनता ईश्वरमा विश्वास गर्छन् । र, उनीहरूको नोट (डलर) मा लेखिएको हुन्छ– इन गड, वी ट्रस्ट (ईश्वरमा हामी विश्वास गर्छौं) । यसको अर्थ अमेरिका र भारत राज्य व्यवस्थाका आधारमा कुनै एक धर्म अँगालेका मुलुक होइनन् । राष्ट्रपति चर्चमा जाँदा होस् या भारत या अन्य देशका राष्ट्रपति, प्रधानमन्त्रीले मन्दिरमा पूजा गर्दा होस् त्यो देशको राज्य–सिद्धान्तमा परिवर्तन आउने होइन । अमेरिकामा धर्म, जातका आधारमा भेदभाव हुँदैन । सामाजिक स्तरमा जातीय (रेसियल) विभेद भने हुन्छ ।

किताबमा प्रणव मुखर्जीले नेताको भूमिकालाई निकै महत्त्व दिएका छन् । यदि नेता (प्रधानमन्त्री) संसद्मा सक्रिय उपस्थित भइदिए संसदीय कारबाहीमा ठूलो अन्तर हुने उल्लेख गरेका छन् । जवाहरलाल नेहरूको व्यक्तित्व र संसद्मा उनको उपस्थितिले भारतको लोकतान्त्रिक विकासमा धेरै सघाएको सबै जना विश्वास गर्छन् । मुखर्जी अहिलेको भारतको संसदीय कारबाहीलाई अवरोधक पद्धति (अ सिस्टम अफ इन्स्टिच्युसनलाइज्ड डिस्रपसन) मान्छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय भूमिकाप्रति मुखर्जी सन्तुष्ट थिएनन् । किताबमा उनी मोदीलाई अति शक्तिशाली (अटोक्य्राटिक) नेताका रूपमा चित्रण गर्छन् । मोदीले संसद्‌मा सबै पक्षसित सम्बन्ध राखेको र कतिपय मुद्दा सुल्झाउन यसले मद्दत गरेको मुखर्जी लेख्छन् । सोनिया गान्धीको नेतृत्वले राम्रो भूमिका खेलेको भए बंगालकी ममता बनर्जी अलग हुने थिइनन् र महाराष्ट्रको राजनीति पनि अर्कै हुने थियो । मुखर्जीको विचारमा संसदीय अभ्यासमा गयल भइरहने नेताको स्थान छैन । भारतको राजनीतिमा बहुमत आए पनि, नआए पनि मिलीजुली सत्ता सञ्चालन गर्ने प्रणाली चलिरहनेछ । आज भारतीय जनता पार्टीको बहुमतको सरकार भए पनि नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) भित्रका दलको उपस्थिति छँदै छ । मनमोहन सिंह सोनियाको निगाह (अफर) ले नेता भएको र नरेन्द्र मोदीले भने आफैंले आफ्नो स्थान आर्जन गरेको मुखर्जी बताउँंछन् ।

त्यतिबेलाका राजा त्रिभुवनले नेपाललाई भारतकै एउटा प्रान्त बनाउन गरेको अनुरोधलाई पण्डित जवाहरलाल नेहरूले अस्वीकार गरेको मुखर्जीले लेखेका छन् (पृष्ठ १६८) । मुखर्जीको विचारमा यदि नेहरूको ठाउँंमा इन्दिरा गान्धी भएकी भए नेपाललाई सिक्किमजस्तै राज्य बनाउने सुनौलो मौका उनी चुकाउने थिइनन् । नेताले समयसापेक्ष निर्णय गर्न सक्नुपर्छ भन्दै मुखर्जीले नेपालको जनआन्दोलनको अन्तिम अवस्थामा नेपाली जनताको साथमा भारत रहेको भन्ने उद्घोष गर्न आफ्नो भूमिका भएको खुलाएका छन् ।

मुखर्जीले भारतको संघीय प्रणालीको वास्तविक स्वरूप र त्यसको विकास क्रमबारे राम्रो वर्णन गरेका छन् । भारतीय संविधानको अन्तिम मस्यौदा तयार पार्दासम्म र पछि पनि ‘संघीय’ भन्ने शब्द परेको थिएन । बेलायती शासकले भने सन् १९३५ को एक्टअनुसार नै संघीयतामा जोड दिएका थिए । तर, यसको पुष्टि नभएको किताबमा उल्लेख छ । गभर्नर जनरल लर्ड डलहौजीले सन् १८४८ मा आफ्नो डक्ट्रिन अफ ल्याप्स (अन्त्य हुने सिद्धान्त) अन्तर्गत शासकहरू अयोग्य भए वा उनका कोही पुरुष उत्तराधिकारी नभए साना राज्य (प्रिन्स्लिी स्टेट) हरू बिस्तारै ब्रिटिस राज्यमा मिल्दै जाने सम्भावना रहने र धेरै राज्य यसरी मिल्दै गएको बताएका छन् ।

तर, झाँसीकी रानी लक्ष्मीवाईले कुनै एक पुरुष उत्तराधिकारी राखेको र उसलाई ब्रिटिस शासकले नमान्दा रानीले विद्रोह गरेको उल्लेख छ । मुखर्जीका अनुसार, सन् १९५३ मा राज्यको पुनर्गठन आयोग बनेपछि मात्रै संघीयताको कुरा आएको हो । संविधानको धारा १ (१) ले भारत राज्यहरूको एक युनियन हुने उल्लेख गरेपछि अभ्यासको क्रममा सहयोगात्मक संघीयताको विकास भएको हो ।

राजनीतिक समन्वयकारी भूमिका, आर्थिक मामिला ज्ञान–अनुभव, व्यापार प्रणालीको ज्ञान, विदेश र रक्षा मन्त्रालयको अनुभवले प्रणव मुखर्जीलाई सबै विषयका जानकार मानिन्थ्यो । परराष्ट्र, नेताको भूमिका र राष्ट्र प्रमुखको सीमाका विषयमा मुखर्जीको विचार किताबमा पाइन्छ । उनको विचारमा प्रधानमन्त्रीको धेरै व्यक्तिगत उठबस या हमदर्दीले परराष्ट्र–नीतिको सफलता या असफलता जाँंचिँदैन । यदि त्यस्तो चिनजान आदिको प्रभाव पर्ने भए चीन र भारतबीच असमझदारी या द्वन्द्वको स्थिति आउने थिएन ।

पण्डित नेहरू र चीनका नेताहरूको सम्बन्ध राम्रो भए पनि तिनै नेताको समयमा भारत–चीनबीच तनाव बढेको हो । नरेन्द्र मोदीको परराष्ट्रसम्बन्धी ज्ञान थोरै थियो र उनी प्रधानमन्त्री भएपछि व्यक्तिगत सम्पर्कमा धेरै नेतासित आए । बढी उत्साहित भई सम्पर्क बढाउने मोदीको अभियानले काम नगरेको धेरै उदाहरण छन् । मुखर्जी लेख्छन्– मोदीको लाहोरको आकस्मिक भ्रमण अनावश्यक र अवाञ्छित थियो । चीनका राष्ट्रपति सी चीनफिङसितको मोदीको हिमचिमले पहिलेको चीन–भारत सम्बन्धमा कुनै तात्त्विक परिवर्तन ल्याउन सकेन । उल्टै चीन–भारतबीच डोक्लाम र पूर्वी लडाकमा द्वन्द्वको स्थिति बढ्दै गयो । र, चीन–भारत सम्बन्ध बिग्रिँदै गयो ।

आज मोदीको विदेश–नीति फाटेको टायरजस्तो भएकाले यसलाई टाल्न अब कति मिहिनेत गर्नुपर्ने हो भन्ने स्थितिमा कोही छैन । मुखर्जीको विचारमा राज्य–राज्यबीचको सम्बन्धमा व्यक्तिगत सम्बन्धले फरक पार्दैन । वास्तवमा मुखर्जीको विश्लेषण यसकारण पनि सही मान्नुपर्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा या डोनाल्ड ट्रम्पसितको मोदीको दोस्ती भारतका पक्षमा कति भयो भन्न सकिँदैन । ट्रम्पको चीनविरोधी नीतिले भारतलाई केही राहत मिले पनि यो अमेरिकी सरकारको कुनै नयाँ नीति होइन । आज राष्ट्रपति जो बाइडेन पनि चीनप्रति कडा रूपमा प्रस्तुत भएका हुन् । शैलीमा भने केही नयाँपनको अपेक्षा गरिएको मात्रै हो ।

मोदीले अमेरिकाको भ्रमण क्रममा ‘अबकी बार ट्रम्प सरकार’ भन्दा भारतलाई कति फाइदा भयो ? वा कति असजिलो भयो ? यस्ता विषय कूटनीतिमा आउन नमिल्ने भएकाले मुखर्जी भन्छन्, ‘म यसको पूरै विरोध गर्छु ।’ उनी लेख्छन्, ‘व्यक्तिगत रूपमा म ठान्छु, प्रधानमन्त्री मोदी व्यक्तिगत सम्बन्धमा धेरै खेल्छन् । यस्तो सम्बन्धलाई साँचो मान्नु अलिकति बेतुक (एब्सर्ड) लाग्छ ।’

तर, गजबको कुरा के भने प्रणव मुखर्जीको वस्तुगत मूल्यांकन, विचारले उनीे र प्रधानमन्त्री मोदीबीच कुनै नकारात्मक प्रभाव पारेन । राष्ट्रपति पदबाट अवकाश लिएको दुई वर्षपछि मोदीले नै प्रणव मुखर्जीलाई भारतरत्नको उपाधि सिफारिस गरे । र, मोदीले मुखर्जीलाई एक अभिभावक–मार्गदर्शक माने । मुखर्जी सबैका प्रिय थिए किनकि उनी समन्वयकारी भूमिकामा विश्वास गर्थे । पाकिस्तानसितको हालको तिक्ततापूर्ण सम्बन्धबारेसमेत मुखर्जीले संलग्नताको नीति (पोलिसी अफ इन्गेजमेन्ट) का आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राखेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७७ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×