२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मायानगरीका मायावी कथा

राज्य भन्छ– कलाकार देशका गहना हुन्  । तर, राज्यले कलाकारलाई डुब्लिकेट गहना सोचिरहेको छ  । जस्तो भनिन्छ नि– सुनभन्दा कम छैन, हराएमा डर छैन ।
निखिल उप्रेती

एकदम डरपोक मान्छे हुँ । मेरोबारे अरूले के भन्थे सम्झना छैन । तर, आफूलाई डरछेरुवा नै मान्छु । तराईका फाँट हेरेर हुर्केको बाल्यकालले यौवनसम्म डोर्‍यायो । त्यसपछि मेरो यात्रा स्वप्न नगरी मुम्बईतर्फ पलायन भइगयो । हरेक नेपालीको नियति मोफसलबाट काठमाडौंतर्फ हुन्छ, मेरो महाकाठमाडौंतिर भयो । सायद ठूलो समुद्रमा माछा परिहाल्छ र भोकै मर्नु पर्दैन भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ । चलचित्रको नगरीमा हिँड्न सिकें, दौडन जानेँ र उड्ने प्रयास गरेँ ।

मायानगरीका मायावी कथा

मुम्बई मायानगरीका कथा मायावी नै थिए । प्रतिस्पर्धी धेरै थिए । काम सीमित थियो । त्यहाँ मन्दिर, चर्चदेखि मस्जिदसम्म थिए तर श्रद्धालुका सपना विपनामा अनूदित हुन चुक्थे । मलाई लाग्थ्यो, भगवान् पनि माग्ने मान्छेहरूको ट्राफिक समस्यामा फसेको हुनुपर्छ, अन्यथा सबैका हात खाली किन थिए ? एकाधका सपना पूरा हुन हजारका सपना निमोठिनुपर्थ्यो । एउटा परिवार खुसी हुँदा धेरै परिवारमा सपना टुटेको पीडा बर्बराउँथ्यो ।

तर, मुम्बई नगरीको कोलाहलमा पीडाका आवाज सुन्ने कसले ? एउटै घरभित्र रहेका अर्को कोठाका मान्छेको दिनचर्याबाट अपरिचित अर्को एक कोठामा चियाउँदा लाग्थ्यो, त्यो अर्कै टापुमा बसोबास गरिरहेको आदिवासी हो । हामी उसको भाषा बुझ्दैनौँ वा उसको दुःख–पीडासँग हाम्रो कुनै साइनो छैनजस्तो व्यवहार हुन्थ्यो । मेरो अनुभवले भन्छ— संसारका सबै सहरको नियति यही हो कि ! जहाँजहाँ म गएँ, सहरहरू त्यस्तै देखेको छु ।

मेरो कलाकारिता–यात्रा निर्देशनबाट सुरु भयो । सहायक निर्देशकका रूपमा थुप्रै सिनेमामा काम गर्ने अवसर पाएँ । मेरो आम्दानीको अचुक बाटो भने स्टन्ट पेसा नै थियो । रिस्क पनि धेरै हुने, पैसा पनि धेरै हात लाग्ने ! मेरो संघर्ष भनेकै खतरासँग जुध्नुभयो । पहिलेपहिलेको डरपोक केटो म ! पछिपछि त स्टन्ट एउटा आदत बन्न थालिसकेको थियो । स्टन्टको गतिलो सिन गर्न नपाएपछि खालीपना महसुस हुन थाल्थ्यो । भनौं एकखाले नसा बसिसकेको थियो— खतरासँग खेल्ने, मृत्युसँग पौंठेजोरी खेल्ने ! मान्छेहरू कुस्ती वा बक्सिङमा हुटिङ गर्छन् । तर, खतराको सम्भावनालाई हेर्ने हो भने स्टन्टभन्दा अर्को कुनै पेसा छैन । उनान्सय प्रतिशत रिस्कमा रहेर खतरा मोल्नु भनेको चानचुने कुरो होइन, तर म त्यो गर्दै आएँ र अभ्यस्त रहँदै आएँ । अध्ययन गरेको विषय निर्देशन तर काम पर्‍यो स्टन्टको ! ब्रुस ली, ज्याकी च्यानदेखि कैयौं एक्सनका प्रतिमूर्ति मेरा मानक थिए । ती सबैको शैली मभित्र जीवित थियो । र, त म खतरा मोल्न पछि पर्दैनथेँ ।

बिदामा नेपाल आएको थिएँ, बिदा लम्बिँदै गयो । नेपालै प्यारो पनि किन भयो भने भाषा र आफ्नो संस्कार अगाडि आयो । एकाध अपवादबाहेक संसारका कुनै पनि स्थानमा बसेका नेपालीलाई आत्मा साक्षी राखेर सोध्ने हो भने सबैले नेपालै प्यारो भन्नेछन् । हरेकको नियति र जीवनको शैली फरक छ र नेपालमै रोकिने अनेक कारण छन् । यसैगरी प्याजको पत्रैपत्रले जीवन आयु खर्लप्प खाइसक्छ र फर्कने दिन नआउन पनि सक्छ । म अकारण नेपालमै रमाएँ । त्यो बाहना सिनेमा थियो ।

मायानगरी मुम्बईमा सँगै काम गर्दा देखेको प्रसिद्धिको चुलीमा चलिरहेका कलाकारलाई नजिकैबाट हेर्दा मैले देखेँ– चम्किलो चर्चाभित्र यिनीहरूको अनुहारमा एकान्तिकता लुकेको छ । पीडाका छिर्काहरू अचल भइबसेका छन् । त्यसैले पनि मलाई प्रसिद्धिको भोक लागेन बरु आम्दानी र जीवनयन्त्र चलाउनु मेरो ध्येय भइरह्यो । अचानक नेपालबाट पवन मैनालीको फोन आयो, ‘पिँजडा’ सिनेमाका निम्ति । सिकेको निर्देशन, मैले तर गर्नुपर्‍यो– नायकको भूमिका । मैले आफैंलाई अन्याय गरेर भए पनि निर्देशक, साथीभाइ र दर्शकको वाहवाहीलाई न्याय गर्दै खेलेका सिनेमाको दौडले दुई सयको संख्या पार गर्‍यो । अझै मलाई लाग्यो, म सुरुकै अवस्थामा छु । म अभिनयवारी नै छु ।

मैले आफ्ना सबै समकालीनलाई भन्दै आएको छु– यार मलाई एक्टिङ आउँदैन । तर, न उनीहरू मान्नेवाला छन् न दर्शकले सिटी बजाउन छोडेका छन् । म एकपछि अर्को सिनेमामा आबद्ध हुँदै गएँ, समयले दुई दशकको नेटो काट्यो । मभित्र अभिनयको आगो अझै बल्न नपुगेझैं भइरह्यो । त्यो अझै जीवितै छ । र, चाहेको सिनेमा निर्माण तथा अभिनय मेरो प्रतीक्षाको घडी बनेर भित्रभित्रै बसिरहेको छ ।

सबै कुराको समय आउँछ भन्छन् । म अज्ञात छाडेर सिनेमाको फरक प्रस्तुतिलाई भविष्यमा कुनै गज्जबको कामद्वारा उदाहरण पेस गरौंला भन्नेमा छु । त्यसको गृहकार्य पनि गरीरहेको छु । भारतीय सिनेमा वा अन्य भाषाका सिनेमाको विरोधमा म कहिल्यै भइनँ तर नेपाली सिनेमा मारेर विदेशी सिनेमा लादिनुहुन्न भन्ने मेरो अडान ज्युँकात्युँ छ । यदि नेपाली सिनेमाको समूल रूपमा विकास हुन सकेन भनियो भने त्यो सरोकारवालाहरूले गरेको कुकर्म हो वा नेपाली सिनेमालाई मुखले माया गर्ने र काखमा अन्य भाषीका सिनेमा राख्नेहरूले गर्दा हो ।

तर, नेपाली दर्शक चाहे त्यो नेपाली भूमिमा बसेका हुन् वा संसारको कुनै कुनामा बसेर युट्युब वा अन्य माध्यमबाट नेपाली सिनेमा हेरिरहेका हुन्, तिनै दर्शकको मायाका कारण नेपाली सिनेमाले त्यहाँदेखि यहाँसम्मको यात्रा तय गर्न सफल भयो । तिनै तमाम दर्शकले हृदयमा राखिदिएका कारण नेपाली सिनेमा, संगीत र कलाका विभिन्न बाटाहरू चम्कन पाएका छन् । यसमा जिम्मेवारी लिएका व्यक्ति वा संस्थाहरूको भूमिका शून्यप्रायः छ भन्दिए हुन्छ ।

मेरो नेपाली सिनेमाको सुरुआत ‘पिँजडा’ बाट भएको थियो, त्यो पनि सांकेतिक अर्थमा लिएँ मैले । हरेक अर्थमा कलाकार पवन मैनालीको शक्तिशाली प्रस्तुति थियो उक्त सिनेमामा । मेरो डेब्यु त्यहीँबाट भयो र ‘कान्तिपुर दैनिक’ को तीनकुनेस्थित साततले भवनबाट हामफाल्दा सबैको ताली खाइयो । नसक्नेहरूले गाली पनि गरे होलान् । ५१ दिन मनाउने चलचित्रको सूचीमा लगातार तीस, पैंतीसवटा पर्दामा आए र मेरो अभिनयलाई घरघरमा पुर्‍याए । बलिउडका चर्चित कलाकारसँग काम गर्दा मैले थाहा पाएको कुरा— कामवासनाको भोक, उर्लंदो उमेर, दुर्व्यसनीमा जम्नु पनि सफल कलाकारको अधिकारजस्तो । रात्रिलाई दिन बनाएका छन् र पिएका छन् आफैंलाई बिर्सनेगरी । निश्चित उमेरमा हुँदा ती सबैले मलाई निःसन्देह आकर्षण गरेका हुन् तर त्यसभित्रको एक्लोपनाको अनुभव पनि मैले उतिबेलै गर्न सिकेको थिएँ ।

चलिचित्र बन्दै गए र चल्दै गए, कला देखाउन नसक्नेहरू पनि कलाकार कहलिए । उम्दा कलाकारहरूको तुलनामा मैले आफ्नो अभिनयलाई सामान्य रूपमा लिएँ, त्यो मेरो स्वीकृति थियो अहिले पनि जीवितै छ । मेरा हातमा धेरै सिनेमा हुँदाको समय भनेको एक्सनको क्रेज भएको बेला थियो । त्यो अहिले पनि हावी छ । जबसम्म मान्छेभित्र कमजोरी लुकेर बसिरहन्छ त्यसले बलियो हुने निहुँ खोजिरहन्छ र नेपालमा मात्र होइन, भारत र हलिउडमा पनि त्यसखाले सिनेमाको क्रेज व्यापक छ ।

वास्तवमा स्टन्ट गर्ने कलाकारको संख्या नेपालमा छ्रैन भन्दा पनि हुन्छ । त्यो खाली समयमा म आएँ, त्यसको पूर्ति गरें र सकेको मनोरञ्जन दर्शकलाई दिने कामबाहेक मेरो अर्को उपलब्धि भनेको नेपाली भाषामा सिनेमा खेल्न पाउनु थियो । सिनेमालाई लिएर बनेका मेरा अवधारणाहरू मभित्र शान्त स्वरूपमा बसिरहे किनकि मैले निर्देशकको मागअनुसार अभिनय गर्दै गएँ । दर्शकको रुचिलाई ती निर्देशकहरूले सम्बोधन गर्न सफल भएको भन्थे तर मलाई कामप्रतिको पूर्णता वा सन्तुष्टिको अवस्था आजसम्म आएन । खासमा ती सबै प्रयास थिए । सानो स्केलमा गरिएका मसला सिनेमा थिए । नेपालको सिनेमा सबैखाले दर्शकका लागि बन्न बाँकी नै छन्, उद्योगका रूपमा विकास हुन धेरै ठाउँ खाली भएको मेरो ठम्याइ छ ।

पछिल्लो समय सरदर अनुहार भएका र रंगमञ्चलाई आधार बनाएर आएका कलाकारको सक्रियता नेपाली सिनेमामा छ । नायक वा नायिका चक्लेटी अनुहार भएकै हुनुपर्छ भन्ने नेपाली सिनेमाको पहिलेको मान्यता भत्कँदै जानु आसलाग्दो कुरा हो ।

यद्यपि रंगमञ्चमा अभिनय गर्नेहरूले मात्रै राम्रो सिनेमा निर्माणलाई न्याय गर्न सक्छन् भन्ने होइन । सिनेमाको विशाल फाँटमा रंगमञ्चीय एक विद्या हो । जसरी बुद्ध धर्मलाई हिन्दु धर्मभित्रको कुनै एक बाटोको रूपमा लिइन्छ यो त्यस्तै विषयान्तर हो । अहिले पनि ‘बुद्ध धर्म’ र ‘हिन्दु धर्म’ भनेर विवाद गर्नेहरू छन् । तिनै प्रवृत्तिका मान्छेले ‘सिनेमाका मान्छे’ र ‘नाटकका मान्छे’ भनेर कलाकारलाई विभेद गरेका छन् । तिनीहरू मूर्ख हुन् । अभिनयका धेरै आयाममध्ये नाटक एक शक्तिशाली अस्त्र हो । त्यस्तै नृत्य, डायलग, एक्सन वा संगीतका अलावा क्यामेरा, ब्लक, ट्रली, पार्श्व संगीत आदि धेरै पक्षले एउटा राम्रो सिनेमा बन्छ । नेपाली सिनेमा बजार त्यसै पनि सानो अनि त्यहीमाथि राजनीतिको बादल छ ।

अहिले आएर नाटक र चलनचल्तीका कलाकारबारे मतभिन्नता छ । दुवैले सिनेमालाई फराकिलो बनाउने हो, कुनै पनि विवादको कुरै रहँदैन त्यहाँ । नयाँ कलाकारलाई हृदयदेखि स्वागत गर्न नसक्दा पुराना पुस्ताका कलाकारले उनीहरूबाट सम्मान पाउन सकेका छैनन् । पहिले तीन घण्टा फिल्म हेर्न हलमा जानैपर्ने बाध्यता थियो । अहिलेका दर्शक सेकेन्डभरको भिडियोलाई हातमा नचाइरहेका छन् र कलाकारलाई नम्बर दिइरहेका छन् । सिनेमाका समीक्षक विलयप्रायः भएको अवस्था छ । नेपाली संस्कृति बोकेका समयसापेक्ष सिनेमा बन्न सकेका छैनन् । राज्य पक्षबाट पनि उपेक्षित बन्न पुगेको छ सिनेमा, नेताहरूले दिने सस्तो आश्वासनजस्तो, जसको कुनै तुक छैन ।

राज्यले कलाकारलाई डुब्लिकेट गहना सोचिरहेको छ । सुन पसलका बोर्डहरूमा लेखिएको हुन्छ— सुनभन्दा कम छैन, हराएमा डर छैन । राज्य भन्छ— कलाकार देशका गहना हुन् । नाकमा लगाएको सानो फुली हराउँदा त हामीलाई कत्रो पीडा हुन्छ ! र, हामी खोज्छौं । तर, राष्ट्रका गहना यी कलाकार हराएर कहाँकहाँ पुगे, राष्ट्रले कहिल्यै खोज्यो ? यी कलाकार भनेका त्यस्तै ‘गहना’ हुन् राज्यका लागि । राज्यले कलाकारलाई ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भनेर बेचिएजस्तै डुब्लिकेट सुन सोचेको छ । तर, केही कलाकारले आफूलाई त्यस्तै ‘सुन’ मा परिणत गरे । ओरिजिनलभन्दा डुब्लिकेट सुन नै चम्किलो हुन्छ भन्ने बुझाइमा ती कलाकारले आफूलाई बेच्दै गए । यदि राज्यले कलाकारलाई साँच्चै सुन र गहना सोचेको छ भने सिनेमाबाट ओझल परेका तिनको खोजी किन भएन ?

प्रकाशित : फाल्गुन १, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?