रूपान्तरित भूमिकामा प्रणव मुखर्जी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपान्तरित भूमिकामा प्रणव मुखर्जी

राजनीतिक महत्त्वाकांक्षा राखी राष्ट्रप्रमुखको पदमा पुग्दा दुर्घटना हुने सम्भावना रहन्छ तर संविधानको अक्षर र भावनामा भूमिका सीमित राखी प्रधानमन्त्रीलाई उचित सल्लाह दिँदा मात्रै समन्वय कायम भई शासन–प्रणाली राम्ररी चल्न सक्छ भन्ने मुखर्जी–अनुभवले बताउँंछ ।
लोकराज बराल

राष्ट्रपतीय र संसदीय प्रणालीअन्तर्गतका राष्ट्राध्यक्षको भूमिका फरक पर्छ । राष्ट्रपतीय प्रणालीमा राज्यका कतिपय संवैधानिक र धेरै कार्यकारिणी भूमिका रहे पनि मुख्यतः राष्ट्रपति कार्यकारी नै हुन्छ । नयाँ संसदीय प्रणालीमा संविधानमा उल्लेख भएअनुसारका काममा राष्ट्राध्यक्ष सन्तुष्ट नहुँंदा सरकार प्रमुख र उनीबीच खटपट भई व्यवस्था धरापमा पर्ने सम्भावना पनि हुन्छ ।

२०४७ को संविधानले राजाको भूमिका सीमित पारेपछि तत्कालीन राजा वीरेन्द्र सन्तुष्ट थिएनन् । वीरेन्द्रको असन्तुष्टिको प्रभाव राज्य सञ्चालनमा परेको तर बाहिर देखिने गरी शक्ति प्रयोग गर्न समय पर्खिरहेको जानकारी धेरैलाई थियो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रले त संविधानविपरीत आफू सक्रिय रहेको देखाए । संसदीय व्यवस्थामा राष्ट्रप्रमुखको भूमिका के हुन्छ ? राष्ट्रपति हुने व्यक्तिले कसरी त्यो भूमिका निर्वाह गर्नुपर्छ ? आफ्नै परम्परामा चल्दै आएको बेलायत र करिब ७० वर्षको अनुभव संँगालेको भारतलाई हेर्ने हो भने हामीलाई व्यवस्था सञ्चालनमा सहयोग पुग्ने रहेछ ।

यसै सन्दर्भमा भारतका भूतपूर्व राष्ट्रपति प्रणव मुखर्जीको किताब ‘राष्ट्रपतीय वर्षहरू २०१२—२०१७’ (द प्रेसिडेन्सियल इयर्स–२०२१) मा संवैधानिक राष्ट्रप्रमुखको दायित्व, अन्य पक्षको विवरण र मन्तव्य पढ्न पाइन्छ । सरकारमा जाने दल र सबैका लागि किताब उपयोगी छ । राजनीतिक महत्त्वाकांक्षा राखी राष्ट्रप्रमुखको पदमा पुग्दा दुर्घटना हुने सम्भावना रहन्छ । तर, संविधानको अक्षर र भावनामा भूमिका सीमित राखी प्रधानमन्त्रीलाई उचित सल्लाह दिँदा मात्रै समन्वय कायम भई शासन–प्रणाली राम्ररी चल्न सक्छ भन्ने मुखर्जी–अनुभवले बताउँंछ ।

संविधानले भारत धर्मनिरपेक्ष राज्य भने पनि राष्ट्रपति या अरूले ईश्वरका नाममा शपथग्रहण गर्छन् । अमेरिकाका राष्ट्रपति पनि एउटा हात बाइबलमा राखी अर्को हात माथि उठाई ईश्वरको नाममा शपथ लिन्छन् । ८० प्रतिशतभन्दा बढी अमेरिकी जनता ईश्वरमा विश्वास गर्छन् । र, उनीहरूको नोट (डलर) मा लेखिएको हुन्छ– इन गड, वी ट्रस्ट (ईश्वरमा हामी विश्वास गर्छौं) । यसको अर्थ अमेरिका र भारत राज्य व्यवस्थाका आधारमा कुनै एक धर्म अँगालेका मुलुक होइनन् । राष्ट्रपति चर्चमा जाँदा होस् या भारत या अन्य देशका राष्ट्रपति, प्रधानमन्त्रीले मन्दिरमा पूजा गर्दा होस् त्यो देशको राज्य–सिद्धान्तमा परिवर्तन आउने होइन । अमेरिकामा धर्म, जातका आधारमा भेदभाव हुँदैन । सामाजिक स्तरमा जातीय (रेसियल) विभेद भने हुन्छ ।

किताबमा प्रणव मुखर्जीले नेताको भूमिकालाई निकै महत्त्व दिएका छन् । यदि नेता (प्रधानमन्त्री) संसद्मा सक्रिय उपस्थित भइदिए संसदीय कारबाहीमा ठूलो अन्तर हुने उल्लेख गरेका छन् । जवाहरलाल नेहरूको व्यक्तित्व र संसद्मा उनको उपस्थितिले भारतको लोकतान्त्रिक विकासमा धेरै सघाएको सबै जना विश्वास गर्छन् । मुखर्जी अहिलेको भारतको संसदीय कारबाहीलाई अवरोधक पद्धति (अ सिस्टम अफ इन्स्टिच्युसनलाइज्ड डिस्रपसन) मान्छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय भूमिकाप्रति मुखर्जी सन्तुष्ट थिएनन् । किताबमा उनी मोदीलाई अति शक्तिशाली (अटोक्य्राटिक) नेताका रूपमा चित्रण गर्छन् । मोदीले संसद्‌मा सबै पक्षसित सम्बन्ध राखेको र कतिपय मुद्दा सुल्झाउन यसले मद्दत गरेको मुखर्जी लेख्छन् । सोनिया गान्धीको नेतृत्वले राम्रो भूमिका खेलेको भए बंगालकी ममता बनर्जी अलग हुने थिइनन् र महाराष्ट्रको राजनीति पनि अर्कै हुने थियो । मुखर्जीको विचारमा संसदीय अभ्यासमा गयल भइरहने नेताको स्थान छैन । भारतको राजनीतिमा बहुमत आए पनि, नआए पनि मिलीजुली सत्ता सञ्चालन गर्ने प्रणाली चलिरहनेछ । आज भारतीय जनता पार्टीको बहुमतको सरकार भए पनि नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) भित्रका दलको उपस्थिति छँदै छ । मनमोहन सिंह सोनियाको निगाह (अफर) ले नेता भएको र नरेन्द्र मोदीले भने आफैंले आफ्नो स्थान आर्जन गरेको मुखर्जी बताउँंछन् ।

त्यतिबेलाका राजा त्रिभुवनले नेपाललाई भारतकै एउटा प्रान्त बनाउन गरेको अनुरोधलाई पण्डित जवाहरलाल नेहरूले अस्वीकार गरेको मुखर्जीले लेखेका छन् (पृष्ठ १६८) । मुखर्जीको विचारमा यदि नेहरूको ठाउँंमा इन्दिरा गान्धी भएकी भए नेपाललाई सिक्किमजस्तै राज्य बनाउने सुनौलो मौका उनी चुकाउने थिइनन् । नेताले समयसापेक्ष निर्णय गर्न सक्नुपर्छ भन्दै मुखर्जीले नेपालको जनआन्दोलनको अन्तिम अवस्थामा नेपाली जनताको साथमा भारत रहेको भन्ने उद्घोष गर्न आफ्नो भूमिका भएको खुलाएका छन् ।

मुखर्जीले भारतको संघीय प्रणालीको वास्तविक स्वरूप र त्यसको विकास क्रमबारे राम्रो वर्णन गरेका छन् । भारतीय संविधानको अन्तिम मस्यौदा तयार पार्दासम्म र पछि पनि ‘संघीय’ भन्ने शब्द परेको थिएन । बेलायती शासकले भने सन् १९३५ को एक्टअनुसार नै संघीयतामा जोड दिएका थिए । तर, यसको पुष्टि नभएको किताबमा उल्लेख छ । गभर्नर जनरल लर्ड डलहौजीले सन् १८४८ मा आफ्नो डक्ट्रिन अफ ल्याप्स (अन्त्य हुने सिद्धान्त) अन्तर्गत शासकहरू अयोग्य भए वा उनका कोही पुरुष उत्तराधिकारी नभए साना राज्य (प्रिन्स्लिी स्टेट) हरू बिस्तारै ब्रिटिस राज्यमा मिल्दै जाने सम्भावना रहने र धेरै राज्य यसरी मिल्दै गएको बताएका छन् ।

तर, झाँसीकी रानी लक्ष्मीवाईले कुनै एक पुरुष उत्तराधिकारी राखेको र उसलाई ब्रिटिस शासकले नमान्दा रानीले विद्रोह गरेको उल्लेख छ । मुखर्जीका अनुसार, सन् १९५३ मा राज्यको पुनर्गठन आयोग बनेपछि मात्रै संघीयताको कुरा आएको हो । संविधानको धारा १ (१) ले भारत राज्यहरूको एक युनियन हुने उल्लेख गरेपछि अभ्यासको क्रममा सहयोगात्मक संघीयताको विकास भएको हो ।

राजनीतिक समन्वयकारी भूमिका, आर्थिक मामिला ज्ञान–अनुभव, व्यापार प्रणालीको ज्ञान, विदेश र रक्षा मन्त्रालयको अनुभवले प्रणव मुखर्जीलाई सबै विषयका जानकार मानिन्थ्यो । परराष्ट्र, नेताको भूमिका र राष्ट्र प्रमुखको सीमाका विषयमा मुखर्जीको विचार किताबमा पाइन्छ । उनको विचारमा प्रधानमन्त्रीको धेरै व्यक्तिगत उठबस या हमदर्दीले परराष्ट्र–नीतिको सफलता या असफलता जाँंचिँदैन । यदि त्यस्तो चिनजान आदिको प्रभाव पर्ने भए चीन र भारतबीच असमझदारी या द्वन्द्वको स्थिति आउने थिएन ।

पण्डित नेहरू र चीनका नेताहरूको सम्बन्ध राम्रो भए पनि तिनै नेताको समयमा भारत–चीनबीच तनाव बढेको हो । नरेन्द्र मोदीको परराष्ट्रसम्बन्धी ज्ञान थोरै थियो र उनी प्रधानमन्त्री भएपछि व्यक्तिगत सम्पर्कमा धेरै नेतासित आए । बढी उत्साहित भई सम्पर्क बढाउने मोदीको अभियानले काम नगरेको धेरै उदाहरण छन् । मुखर्जी लेख्छन्– मोदीको लाहोरको आकस्मिक भ्रमण अनावश्यक र अवाञ्छित थियो । चीनका राष्ट्रपति सी चीनफिङसितको मोदीको हिमचिमले पहिलेको चीन–भारत सम्बन्धमा कुनै तात्त्विक परिवर्तन ल्याउन सकेन । उल्टै चीन–भारतबीच डोक्लाम र पूर्वी लडाकमा द्वन्द्वको स्थिति बढ्दै गयो । र, चीन–भारत सम्बन्ध बिग्रिँदै गयो ।

आज मोदीको विदेश–नीति फाटेको टायरजस्तो भएकाले यसलाई टाल्न अब कति मिहिनेत गर्नुपर्ने हो भन्ने स्थितिमा कोही छैन । मुखर्जीको विचारमा राज्य–राज्यबीचको सम्बन्धमा व्यक्तिगत सम्बन्धले फरक पार्दैन । वास्तवमा मुखर्जीको विश्लेषण यसकारण पनि सही मान्नुपर्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा या डोनाल्ड ट्रम्पसितको मोदीको दोस्ती भारतका पक्षमा कति भयो भन्न सकिँदैन । ट्रम्पको चीनविरोधी नीतिले भारतलाई केही राहत मिले पनि यो अमेरिकी सरकारको कुनै नयाँ नीति होइन । आज राष्ट्रपति जो बाइडेन पनि चीनप्रति कडा रूपमा प्रस्तुत भएका हुन् । शैलीमा भने केही नयाँपनको अपेक्षा गरिएको मात्रै हो ।

मोदीले अमेरिकाको भ्रमण क्रममा ‘अबकी बार ट्रम्प सरकार’ भन्दा भारतलाई कति फाइदा भयो ? वा कति असजिलो भयो ? यस्ता विषय कूटनीतिमा आउन नमिल्ने भएकाले मुखर्जी भन्छन्, ‘म यसको पूरै विरोध गर्छु ।’ उनी लेख्छन्, ‘व्यक्तिगत रूपमा म ठान्छु, प्रधानमन्त्री मोदी व्यक्तिगत सम्बन्धमा धेरै खेल्छन् । यस्तो सम्बन्धलाई साँचो मान्नु अलिकति बेतुक (एब्सर्ड) लाग्छ ।’

तर, गजबको कुरा के भने प्रणव मुखर्जीको वस्तुगत मूल्यांकन, विचारले उनीे र प्रधानमन्त्री मोदीबीच कुनै नकारात्मक प्रभाव पारेन । राष्ट्रपति पदबाट अवकाश लिएको दुई वर्षपछि मोदीले नै प्रणव मुखर्जीलाई भारतरत्नको उपाधि सिफारिस गरे । र, मोदीले मुखर्जीलाई एक अभिभावक–मार्गदर्शक माने । मुखर्जी सबैका प्रिय थिए किनकि उनी समन्वयकारी भूमिकामा विश्वास गर्थे । पाकिस्तानसितको हालको तिक्ततापूर्ण सम्बन्धबारेसमेत मुखर्जीले संलग्नताको नीति (पोलिसी अफ इन्गेजमेन्ट) का आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राखेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

समय : अलग आयामको भाष्य

समयबारे हाम्रो ज्ञान र यसमाथिको पकड विज्ञानको कसीमा शून्यबराबर छ । सबै कुराको समाधान भन्ने गरिएको यो बलवान्‌को पनि बलवान् मानिएको समय आखिरमा होचाहिँ के त ?
स्थान भनेको त्यो ठाउँ हो, जसमाथि घटनाहरू हुन्छन् । अनि समय भनेको त्यो तत्त्व हो, जहाँ घटना हुन्छन् । यी दुवै एकै सिक्काका दुई पाटा हुन् किनभने हरेक घटनाको समय छ र हरेक समयका घटनाहरू छन् ।
घनश्याम खड्का

एउटा गीत छ दीपक खरेलको– प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ...!

गीतले भनेझैं हर युगका मानिसको आमविश्वास रहिआएको छ– समय बलवान् छ, यसले ‘कहिले हसाउँछ, कहिले रुवाउँछ ।’ अनि कहिले त, ‘आँसु र हाँसोको संगम पनि गराउँछ ।’

खरेलको झैं समयबारे अनेकन् गीत छन्, हरेक भाषामा केही कहावत बनेका छन् र हरेक पुस्ताको विचारशील मानिसले यसबारे केही न केही लेखे/बोलेका छन् । तर पनि, समयबारे हाम्रो ज्ञान र यसमाथिको पकड विज्ञानको कसीमा शून्यबराबर छ । सबै कुराको समाधान भन्ने गरिएको यो बलवानको पनि बलवान मानिएको समय आखिरमा होचाहिँ के त ?

आइन्सटाइन भन्छन्, ‘यो एक जबरजस्त भ्रम हो, जो छैन तर छजस्तो लाग्छ ।’ आइन्सटाइनले समयलाई भ्रम भन्नाको कारण के भने जेलाई हामी समय भन्छौं, त्यो खासमा त्यस्तै छैन । त्यसकारण यो भ्रमपूर्ण हिसाबले व्याख्या गरिएको र बुझिएको एक तत्त्व हो । पच्चीस सय वर्षअगाडि नै सुकरातले भनेका थिए, ‘मान्छेले फिटिक्कै बुझ्न नसकेको कुरा नै समय हो ।’ यस अवधिमा यावत् वैज्ञानिक प्रगति र मानवीय ज्ञानको बढोत्तरी भइसक्दा पनि समयप्रतिको सुझबुझ सुकरातकालीन नै छ । हो, आइन्सटाइनले सापेक्षको सिद्धान्त प्रतिपादन गर्दा एक तथ्य अघि सारे– प्रकाशको गतिबाहेक यो संसारमा सबै कुरा सापेक्ष छन्, समय पनि ।

उत्ति नै समय कहिले थोरै र कहिले कम अनुभव हुनु यसको सापेक्षिकताको एक प्रकार भएको बुझाउन उनी एक रमाइलो उदाहरण दिने गर्थे । प्रेमि–प्रेमिकाको साथ दुई घण्टा दुई मिनेटजस्तो गरी बित्नु तर तातो चुलोमाथि दुई मिनेट पनि दुई घण्टाजस्तो भारी लाग्नु समयसापेक्ष छ भने प्रमाण हो भनेर उनले बुझाए । आइन्सटाइनले यो भावनात्मक रूपमा बुझाउन दिएको रमाइलो उदाहरण मात्रै हो । वस्तुगत रूपले पनि उही समय कहीँ ढिलो कहीँ चाँडो हुन जान्छ ।

आइन्सटाइनभन्दा अघि वैज्ञानिकहरू समय र स्थानलाई दुई स्वतन्त्र अस्तित्व भएका अलगअलग तत्त्व मान्थे । उनीहरू कुनै स्थानमा भएको घटनाले समयलाई प्रभाव पार्दैन भन्ने ठान्थे । न्युटन सयमलाई निरपेक्ष रूपले एकनासको मान्थे । उनको विचारमा सबका लागि सबैतिर समय उही थियो । कसैले पृथ्वीमा एक मिनेट बिताउँछ भने त्यो एक मिनेट बृहस्पति वा अरू कुनै ग्रहमा बस्नेका लागि पनि उही लम्बाइको हुन्छ भन्ने उनको मान्यता थियो । अहिले पनि आम रूपमा समयबारे मानिसको धारणा यही हो ।

तर, आइन्सटाइनले यो धारणाभन्दा अलग सिद्धान्त प्रतिपादन गरे जसअनुसार, समय र स्थान दुई अलग कुरा होइनन्, बरु एकआपसमा जोडिएका तत्त्व हुन् । सोपक्षिकताको सन्दर्भमा हेर्दा खासमा समय कुनै वस्तुको गति र उसको गुरुत्वाकर्षण क्षेत्रमा निर्भर रहन्छ ।

यसको अर्थ हो– एउटा व्यक्तिको गति र गुरुत्वाकर्षणको क्षेत्र अर्को व्यक्तिको गति र गुरुत्वाकर्षण क्षेत्रभन्दा फरक छ भने ती दुईबीचको समयको गति पनि फरक हुन जान्छ । गुरुत्व र गति बढ्दै जाँदा समय ढिलो गुज्रन्छ । यो कम भयो भनेचाहिँ उही सयम छिटो गुज्रन्छ । शनिग्रहको गुरुत्वाकर्षण र गति पृथ्वीको भन्दा बढी छ । यसको अर्थ, पृथ्वीमा बस्ने कोही मानिस शनि ग्रहमा पुग्यो भने उसको उमेर ढिलो बित्छ । भन्नाले, पृथ्वीको तुलनामा उसको आयु त्यहाँ स्वतः बढी हुन जान्छ । वस्तुको गति जति बढी भयो ऊ समयबाट उति कम प्रभावित हुँदै जान्छ भन्ने सिद्धान्त आज पनि अनौठोजस्तो सुनिन्छ ।

आइन्सटाइनका अनुसार, प्रकाश नै संसारको यस्तो वस्तु हो जसको गति निरपेक्ष रूपले सबतिर समान छ, जसमा समयको असर पर्दैन । यसको अर्थ हो प्रकाशको गति सबै क्षेत्रमा समान रूपले एकैनास रहन्छ । सिद्धान्ततः कुनै मानिस प्रकाशको गतिमा यात्रा गर्न सक्यो भने उसको उमेर टक्क रोकिन्छ । यसरी ठाउँ अनुसार, समय ढिलो र चाँडो हुन्छ मात्रै होइन, आइन्सटाइनले समय बाङ्गो हुन्छ भन्ने सिद्धान्तसमेत अघि सारे । समयबारे यो तथ्यगत जानकारीका कारण आइन्सटाइनपछि समय पनि एक अलग्गै आयाम मान्न थालिएको छ ।

वस्तुको हामीले देख्ने तीन आयाम हुन्– उचाइ, लम्बाइ र चौडाइ । ब्रह्माण्डमा यी तीनै अनन्त छन् । जस्तो कि, तपाईं कुनै एउटा रेखालाई पूर्व–पश्चिम दिशातिर जति तान्नुस्, तान्ने ठाउँको अन्त्य हुँदैन । यसैगरी यसलाई उत्तर–दक्षिण तान्नुस्, यसको पनि सकिने सीमा

ब्रह्माण्डमा भेटिन्न । तल–माथि तान्नुस्, त्यसलाई पनि अनन्तसम्म तानिरहनै सकिन्छ ।

तीन आयामलाई मानिसले कहिल्यै बलवान् भनेन किनभने यो जति अनन्त भए पनि भेटिन्छ, देखिन्छ र सम्हालेर राख्न सकिन्छ । तर, चौथो आयाम एक–एक पलका लागि अनुपम छ, जो फर्केर आउँदैन । भोग्दाभोग्दै यो बित्छ, जसलाई समातेर राख्न सकिन्न । बालापनको अनुभव नहुँदै जीवनमा यौवनले चियाउँछ, यसको मज्जा नलिँदै बुढ्यौली भाँजो हाल्न आइपुग्छ र जीवन कतै शून्यमा बिलाएर जान्छ ।

समयलाई हामीले भूत, वर्तमान र भविष्य गरी तीन खण्डमा बाँडेका छौं । भूत त्यो हो जो बित्यो, वर्तमान बित्दै गरेको क्षण हो र बित्न बाँकी क्षण भविष्य भइहाल्यो । सामान्यतया हामीले बुझ्ने समय यही हो । आइन्सटाइन भन्छन्, ‘यहाँ तीनैथरी समय सदा विद्यमान छ, न विगत बितेको छ, न भविष्य बन्न बाँकी छ ।’ भूत, भविष्य र वर्तमान सदा मौजुद छन्, जसलाई पूर्ण रूपमा हेर्न सक्ने सामर्थ्य मनुष्यसँग नभएकाले समयको वर्गीकरण ठीकजस्तो लागेको हो ।

झ्यालबाट हेर्दा सडकमा कोही हिँडिरहेको छ, यो वर्तमान भयो । केहीपछि ऊ ओझेल पर्छ, यो भूत भयो र कोही अर्कै मानिस त्यहाँ देखिन्छ जो एक क्षणअघिसम्म भविष्य थियो । तर, छतबाट हेर्दा झ्यालको आँखाका लागि भूत, भविष्य र वर्तमान भनिएको समय र घटना सर्वथा मौजुद थियो । यस्तै, यो विश्व ब्रह्माण्डका सबै परिघटना एक अनन्त चक्रमा संगृहीत छन् जसको विगत, वर्तमान र आगत भनेजस्तो कुनै कुरा छैन, मात्र रूपहरू बदलिएर यी एकअर्कामा समाहित भएजस्तो गरी प्रस्तुत हुन्छन् । अनन्तका आँखा हाम्रा नभएका हुनाले ती खण्ड–खण्ड रूपमा हामी बुझ्न पुग्छौं र दृष्टिविहीनले हात्तीको अनुभव गरेजस्तो अलग–अलग तरिकाबाट यसलाई व्याख्या गर्छौं ।

आइन्सटाइन भन्छन्, ‘हामीले ब्रह्माण्ड भन्ने गरेको एक पूर्ण (अस्तित्व) को एक अंश मात्रै हो मानिस जो समय र स्थानमा कैद छ । यो आफ्नै भ्रमित चेतनाले गर्दा आफूलाई अरूभन्दा अलग देख्छ ।’ हामीलाई आफ्ना लागेका केही थोरै मानिसप्रति मात्रै स्नेह अनुभव गर्न सक्ने बनाउने यो भ्रम नै हाम्रो कैद घर हो । यसबाट मुक्त हुन आफूजस्तै अरूप्रति पनि करुणाको प्रसार गर्नुको अर्को विकल्प छैन ।

उनको यो दृष्टिकोण योगीहरूका अनुभवसँग मिल्न आउँछ । योगीहरू समयको तीन खण्डबाट मुक्त हुनु र अनन्त बहावमा अक्षुण रहिरहनु नै मुक्ति मान्छन् । संसार भनेकै समयको चक्रमा परिरहनु, फेरि फेरि जन्मनु, बूढो हुनु र मर्नुको क्रमबाट उम्कन नसक्नु हो । मुक्ति भनेको समयले असर पार्न नसक्ने आनन्दको अनन्त उपलब्धि हो ध्यानीहरूको दृष्टिमा । जसरी घामले कुनै भेदभाव नराखी सबलाई ताप दिन्छ र पानीले असल–खराब नभनी सबको तिर्खा मेट्छ, यो अनन्तचेत उपलब्ध मानिसले आफ्नो पराइ नभनी सबका प्रति करुणाको प्रसार गर्छ भन्ने ऋषिहरूको मत छ ।

रमाइलो के भने, पदार्थबाट विरक्तहरूको यो अनुभवजन्य निचोडसँग पदार्थशास्त्री आइन्सटाइनको खोज मिल्दोजुल्दो छ । गहिरिएर हेर्दा समयको कुनै भूत, भविष्य र वर्तमान भन्ने विभाजन छैन, न यो स्थानबाट अलग नै छ भन्ने उनको सिद्धान्त योगीहरूले दाबी गर्ने अनुभवसँग मिल्न जान्छ ।

समय भन्नु नै स्थान हो र स्थान भन्नु नै समय हो । यो एकै तत्त्वको अलग–अलग तरिका हो बुझ्ने, अलग–अलग नाम हो बोलाउने । यो एकअर्काबाट अलग छैन, अलग हुन पनि सक्दैन । स्थान भनेको त्यो ठाउँ हो, जसमाथि घटनाहरू हुन्छन् । अनि समय भनेको त्यो तत्त्व हो, जहाँ घटना हुन्छन् । यी दुवै एकै सिक्काका दुई पाटा हुन् किनभने हरेक घटनाको समय छ र हरेक समयको घटनाहरू छन् । कुनै एक आयाममा मात्रै यो घटित हुन सम्भव छैन । जस्तो कि, तपाईंले कसैलाई कफी पिउन स्वप्न बगैंचामा बोलाउनुभयो तर समय भन्न बिर्सनुभयो । अब के त्यो मानिससँग भेट सम्भव छ ? त्यस्तै, बिहान ११ बजे भेट्ने भनेर कुनै भेट तय भयो तर स्थान खुलाउन नपाई टेलिफोन काटियो । तब के भेट सम्भव होला ? अवश्यै पनि हुँदैन । जब समय र स्थानको टुंगो लाग्छ तब नै हामी कसैलाई भेट्न सक्छौं भन्ने तथ्य यहाँ सिद्ध हुन आउँछ ।

त्यसैले जीवन, घटना र परिवेश स्थान र समय दुवैले तय गर्ने कुरा हुन् । तपाईंले जो–जसको संगत गर्न पाउनुभएको छ, त्यो सबै तपाईंको परिवेशले भेट्ने स्थान र समयको परिणाम हो । निःसन्देह, सय वर्षपछिका मानिसले आजको जनसंख्यालाई भेट्न पाउने छैन, आजका मानिसले सय वर्षअघिकालाई देख्न सुन्न पाएनन् । स्थान उही पृथ्वी भए पनि कालको अन्तरले यहाँ कर्ताहरू फेरिन्छन् तर प्रेम, घृणा, काम, बासना, मैथुन, आहार र निद्राजस्ता प्रवृत्तिहरू उही रहन्छन् । यो हो कर्मको निरन्तरता र कर्ताको लुप्तता ।

भनिहालियो, तीन आयामझैं समय पनि अनन्त छ । फरक के छ भने, अरू तीन आयाम देखिन्छ, अनि तिनलाई पटक–पटक भेट्न र खोज्न पनि सकिन्छ । जस्तो कि उही मानिसलाई हामी फेरि पनि भेट्न सक्छौं, कतै छुटेको सामान फर्केर लिन सक्छौं, छाडेर आएको ठाउँमा मन लागे फेरि जान सक्छौं । तर, समयको पकड यस्तो छैन । यो एकरेखीय गतिमा एकोहोरो अघि बढिरहन्छ । त्यसैले दोहोर्‍याएर यसलाई भोग्न र भेट्न सकिन्न । हामी जुन क्षणबाट गुज्रन्छौं फेरि त्यो क्षणमा कहिल्यै पुग्न सक्दैनौं ।

यस दृष्टिले हेर्दा उही स्थान र वस्तुलाई पनि हामी दोहोर्‍याएर पाउन सक्दैनौं किनभने अर्कोपटक जाँदा त्यसमाथि समयको धेरथोर प्रभाव परिसकेको हुन्छ । जस्तो कि, सानो बेलाको साथीलाई भेट्दा न भेट्ने मानिस उस्तै हुन्छ, न भेटिने मानिस नै उही हुन्छ किनभने यी दुवैमाथि समयले ल्याएको प्रशस्त प्रभाव परिसकेको हुन्छ । एक क्षणपछि अर्को क्षणमा कुनै वस्तु वा मानिसलाई भेट्दा पनि भेट्ने र भेटिनेमा केही भेद आइसकेको हुन्छ तर त्यो निकै सूक्ष्म रूपमा घटित हुने हुँदा हामी त्यसलाई पक्रन सक्दैनौं र संसार नित्यजस्तो लाग्छ, जबकि यो प्रत्येक क्षण बदलिइरहेको छ । यसैलाई इंगित गर्दै योगीहरूले आइन्सटाइनकै लवजमा (आइन्सटाइन जन्मनुभन्दा धेरै अघिदेखि नै) भन्दै आएका छन्, संसार एक भ्रमित वास्तविकता हो । अब यहाँ के बुझ्नुपर्छ भने संसार भन्नु स्थान मात्रै नभएर समय पनि हो ।

आमजीवनमा समयको अर्को खास पक्ष के भने यो तन्काउन, रोक्न वा छिटो कुदाउन सकिन्न । यो आफ्नै रफ्तारमा बहिरहन्छ । त्यसैले कुनै पनि कुरा एकैपटक हुन सक्दैन । एकैपटक तपाईं पूर्व र पश्चिम फर्किन सक्नुहुन्न । एकैपटक दैडिन र बस्न सक्नु हुन्न । सबै कुरा एक–एक गरेर गर्नुपर्छ । र, त्यसो गर्दा समयको जुन हिस्सा छुट्छ, त्यो फेरि कहिल्यै फर्केर आउँदैन । त्यसैले जीवनमा जे गर्दा पनि एक किमिको हैरानी, बेचैनी र कुनै केही ननिख्रिएजस्तो भावले मनलाई चिमोटिरहन्छ मान्छेलाई । किनभने, एउटा गर्दा अर्को छुटेको हुन्छ जीवनमा । पाएको भन्दा छुटेको कुराले लोभ्याउने सामर्थ्य ज्यादा राख्छ । तपाईं सबै पाउन सक्नु हुन्न, तर सबै एकैपटक छोड्न भने सक्नुहुन्छ । पाउन कुद्नेहरू सांसारिक हुन्, जो सदा असफल प्रतीत हुन्छन्, त्यसैले ती दुःखी छन् । छाड्नेहरू योगी हुन्, जो सदा सफल हुन्छन्, त्यसैले ती आनन्दित रहन्छन् ।

स्थान वा वस्तुमा आउने परिवर्तनलाई नापेर नै हामी समयको अन्दाज गर्न सक्छौं । हाम्रै उमेर यसको एक उदाहरण हो । बच्चाहरूलाई देख्नेबित्तिकै हामीलाई जीवनको प्रारम्भिक समय मात्र बिताएको मनुष्य हो यो भन्ने सहज ज्ञान हुन्छ । त्यस्तै वृद्धहरू समयको एक निश्चित खण्ड पार गरेका बच्चाहरू हुन् भनेर कसैले भनिरहनु नै पर्दैन । यो सहज ज्ञानको जग टेकेर वस्तुमा समयको छापलाई अध्ययन गर्ने शास्त्रकै विकास गरेको छ मनुष्यले । पालेन्टोलोजी अर्थात् जीवाश्म विज्ञान त्यही शास्त्रको नाम हो । भूगर्भ, रसायन, जीव र खगोल गरी चार शास्त्रको एकमुष्ठ अध्ययन नै जीवाश्म विज्ञान हो, जसले पदार्थको अध्ययन गरेर त्यसको संसार र जीवनको इतिहास तथा समयको उत्खनन गर्छ ।

जीवाश्मशास्त्रीहरूको विश्वास छ, एक महाविस्फोटका कारण यो ब्रह्माण्डको सुरुआत भयो । सानो तर सघन ऊर्जाको कणमा एक भयंकर विस्फोट भयो । त्यसै क्षणदेखि ब्रह्माण्ड र समयको जन्म भएको विज्ञानको विश्वास छ । अहिलेसम्म यही विश्वासलाई आधार मानेर भौतिक विज्ञानले काम चलाइरहेको छ ।

ब्रह्माण्डीय पिण्डहरू एकअपासबाट टाढा जाने क्रमलाई विचार गरेर वैज्ञानिकले महाविस्फोट अर्थात् ब्रह्माण्डको जन्मको अन्दाजी समयको आकलन गरेका छन् जो १३ अर्ब ८० करोड अगाडिको हुन आउँछ । यो सिद्धान्तले भन्छ, प्रत्येक क्षण आकाशीय पिण्डहरू एकआपसबाट टाढा गइरहेका छन्, अर्थात् ब्रह्माण्डको प्रसारण अनवरत रूपमा भइरहेको छ । वैज्ञानिकहरू भन्छन्, कुनै दिन यस्तो अवस्था आउनेछ जहाँ पिण्डहरूबीचको दूरी बढेर उनीहरू एकअर्काबाट टाढा जानेछन्, महादुरीको कारणले उनीहरूबीचको सम्बन्ध टुट्नेछ, ब्रह्माण्डीय सन्तुलनमा खलल आउनेछ र चराचर जगत्को अन्त हुनेछ, अर्थात् समय हराउनेछ ।

वैज्ञानिकहरूको अर्को तर्क पनि छ, ताराहरूको मृत्युले जन्म भएका भयंकर डरलाग्दो कृष्ण विवर (ब्ल्याक होल) को विस्तारले ब्रह्माण्डका सबै पिण्डहरूलाई आफूमा समाहित गर्न पनि सक्छ, यो विशाल ब्रह्माण्ड फेरि शून्यमा फर्किन सक्छ अनि समय निभ्छ अर्थात् संसार सकिन्छ । त्यो हुने बेलासम्म हामी यो जुनीबाट बिदाबादी भई या त अध्यात्मले भनेजस्तो अनेक जुनी लिइसकेका हुनेछौं या भौतिकवादीहरूले भनेजस्तो कुनै ढुंगा, माटो वा केही पदार्थमा परिणत भएर अर्बौं वर्षको एक फोसिलका रूपमा पाइनेछौं, जसको सालाखाला आयु जीवाश्मशास्त्रले पत्ता लगाउन सक्नेछ । अहिले नै भने यो समय र स्थानमा हामीलाई अनेकन कुराको चाप छ जसमा शान्तपूर्वक बाँच्नु हमेसा एक चुनौती हुन गएको छ ।

प्रकाशित : फाल्गुन १, २०७७ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×