कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बिलाएको भोटेताल्चा

भोटेताल्चा नामकरणबारे विमर्श हुँदै जाला । विवाद पनि होला । तर, नेपाली लोकजीवन र लोकमनमा भोटेताल्चा बसेको सत्य हो । स्थानीय कामी समुदायले रैथाने फलामबाट बनाएको भोटेताल्चा हामीमाझ नरहनु रैथाने उत्पादन लोप हुनु हो ।
नवीन विभास

भोटेताल्चा मारेर छातीमा,
राखेँ तिम्लाई कलेजी माझैमा
(गीत– सरुभक्त, स्वर– तिलक बम मल्ल, परिवेश ब्यान्ड)

बिलाएको भोटेताल्चा

ठूला घरको ठूलै छानो, ठूलै भोटेताला (ताल्चा),

केइ बुझ्या मै मरीजाम्, बाली साइँका चाला 

(लोकगीत, शशिराम ओली)


चौबाटोमा एक्लो घर, केई लाग्दैन डर,

मूल देला (ढोका) मा भोटेताला, त्यसकै लाग्छ भर ।

(लोकगीत, मनलाल ओली)


उद्धृत गीति थुंगा नेपाली घरका ढोकामा भोटेताल्चा तुर्लुंग झुन्डिन थालेपछि फुलेका हुन् । सायद ‘जानभान’ ले यसै कसरी भन्दा हुन्, ‘उत्पादनको प्रभाव संस्कृतिमा र संस्कृतिको प्रभाव उत्पादनमा पर्छ ।’

माथिका गीति झझल्का नै भोटेताल्चा नेपाली लोकजीवन, लोकमन र संस्कृतिमा कति गहिरो गरी बसेको छ भन्ने दसी प्रमाण हुन् । भलै दुर्गम बूढा–घर र गोठका ढोका रुँघेर जिन्दगीको अन्तिम सास फेरिरहेका भोटेताल्चा अचेल भने ‘सिला’ समेत नभेटिने गरी बिलाएका छन् । तर, जनमनमा तिनका सम्झना साँचेर ।

दिल–दिमागमा भोटेताल्चा

लोकमन र संस्कृतिमा देखापर्ने क्रमसँगै घरको ढोकाबाट भोटेताल्चा नेपाली दिल, दिमाग, मन, मुटु र मुखको ढोकामा पनि सर्छ । मन–दिलको ढोकामा भोटेताल्चा ! सरुभक्तको गीत लहराले ‘दिलबाट दिल चोरी नहोस् भनेर छातीमा भोटेताल्चा लगाउने’ त भन्छ । गीत मात्र होइन, ताल पर्नेबित्तिकै भोटेताल्चा त नेपाली जनबोलीमा पनि झुलुक्क झुल्कन्छ । जस्तो :

– मैले के एक शब्द बोलेको थिएँ, खुबै फुर्ती लाउने फलानाको मुखमा त भोटेताल लाइ’गो !

– दिमागमा लागेको भोटेताल मरिकाटे खुले पो !

– फलानोको मनको भोटेताल कहिले खुल्ने हो, को जानी ?

– फलानोको पर्‍याल त टाढै गए कि क्या हो, घरमा यमानको भोटेताल्चा पो झुन्डिएको छ !

ताल्चा र भोटेताल्चाका नाम अनेक छन् । जस्तो कि, रोल्पा, रुकुमका कुनै भेगमा ताल्चालाई ताल भन्छन् त कुनै भेगमा ताला । यसैगरी, भोटेताल्चालाई रोल्पाकै कुनै भेगमा तालकुची भन्छन्, कतै साँचा, कतै पुरानो ताल त कतै लान्ताल । कर्णालीको जडान क्षेत्रको हुम्लातिर भोटेताल्चालाई गोल्ज्याक त जडानकै मुगुतिर गोल्छ्याक । हुम्लाकै कुनै भेगमा भोटेताल्चालाई खारिम भन्छन् ।

नाम किन भोटेताल्चा ?

भोटेनुन, भोटेऊन, भोटेसुन, भोटेकुकुर, भोटेमकै, भोटेलसुन, भोटेसेलो, भोटेनाम्लो, जार (भोटे खम्बा), जार (भोटे) टाकु, जार (भोटे) लम्बीसँगै भोटेताल्चा पनि नेपाली लोकमनमा बास बस्छ । भोटेनुन र लसुन नेपाली भान्सामा पस्छ । भोटेसुन नाक–कानमा बस्छ त भोटेऊन जीउमा । भोटेताल्चा भने घर/गोठका ढोका, बाकसमा । भलै ‘ठूलो’ ‘बलियो’ ‘पक्का’ ‘ओरिजिनल’ भनेर जनमनमा बसेको भोटेताल्चाको चर्चा कम छ, जति भोटेनुनको ‘अर्थ–राजनीतिक चर्चा’ चल्छ ।

फलामको लाम्चो आकारे ठूलो ताल्चाको नाउँ कसरी भोटेताल्चा रह्यो होला ? सवाल उठ्छ । जसको जवाफ विविध हुन सक्छन्/होलान् ।

जस्तो कि–

अ. भोटेनुन, भोटेऊन र भोटेसुनजस्तै भोटको भएकाले भोटेताल्चा भनिएको हो ।

आ. भोटेताल्चा त सामान्य ताल्चाभन्दा ठूलो भएकाले ।

इ. भोटे समुदायले प्रयोग गरेकाले ।

ई. नेपालमै बने पनि भोटेताल्चा बनाउने कला भोटबाट ल्याएकाले ।

भोटेताल्चा स्थानीय खानीबाट निकालिएको फलामबाट स्थानीय कामी समुदायले बनाएका हुन् । त्यसैले भोटेताल्चा रैथाने ताल्चा हो । ‘भोटे तालको प्रचलन मगर जातिमा बढी छ’ भन्ने तर्क सार्दै मगरविद् बमकुमारी बुढामगर भोटेताल्चा स्मरण गर्छिन्, ‘कामीले भोटेताल्चा बनाएबापत आमाले दुई माना मकै दिएको सम्झना छ ।’ त्यसबेला मगरले खानीबाट निकालेका फलामबाट कामी समुदायले भोटेताल्चा बनाएका हुन् । अठार मगरातका मगर खानीमा काम गर्न माहिर मानिन्छन् भने बाह्र मगरातका मगर कपास खेतीका लागि ।

रोल्पाको दक्षिणी भेग मैचन्ने माइत भएकी लक्ष्मी शाह (७१) लाई भेडी ग्वालाबाट किनेका भोटेताल्चा अहिले पनि सम्झना छ । भन्छिन्, ‘भेडा ग्वालाले भोटेताल्चा ल्याइदिन्थे । भोटबाट ल्याएको भन्थे ।’

जाडो याममा दाङसम्म ओर्लने भेडी गोठाला कि रोल्पा थबाङ भेगका हुन् त कि रुकुम मैकोट भेगका । ती भेगबाट भोटे नुन लिन कहिले ताराभोट त कहिले डोल्पाको तिब्बतसँग सीमा जोडिएको छार्काभोट जाने चलन हो । कुनै बेला तारभोट भनेर चिनिने डोल्पास्थित तराली मगरबस्तीका स्थानीय एवं अनुसन्धाता जगबहादुर बुढामगरले ‘भोटेताल्चा भोटबाट ल्याएको नभई स्थानीय कामी समुदायले बनाएको’ बताउँदै भेडी गोठालाले डोल्पा वा रुकुम वा रोल्पाका माथिल्लो भेगका कामी समुदायले बनाएका भोटेताल्चा बेचेको हुन सक्ने तर्क गर्छन् ।

तिब्बत अर्थात् नेपालमा भोट भनेर चिनिने ठाउँमा फलाम खानी नभएको प्रसंगसाथ लेखक तीर्थबहादुर श्रेष्ठले भोटेताल्चा वा ताल्चा बनाउने प्रविधि भोटबाट ल्याइएको हो कि भन्ने तर्कप्रति ‘शंका’ गर्छन्, ‘फलाम खानी नै नभएको भोटमा कसरी भोटेताल्चा बन्यो होला र बनाउने प्रविधि नेपाल पस्यो होला र !’ लेखक श्रेष्ठको तर्कप्रति विमति जनाउने एउटा कुरामा भने दम छ । त्यो हो, चीनबाट आयात गरिएको फलामबाट भोटले भोटेताल्चा बनाएको र बनाउने कला भोटबाट नेपाल पसेको पनि हुन सक्छ । त्यसैले फलाम स्थानीय र ताल्चा बनाउने स्थानीय कामी समुदाय भए पनि ‘टेक्निक’ भोटको हुन सक्छ । यसो भन्नुको धेरै कारणमध्ये एक हो, चिनियाँ सभ्यता र प्रविधि धेरै पुरानो मानिन्छ । जितबहादुर साशंकर ‘हाम्रा पुर्खाले भोटमा ताल्चा देखेर त्यसको देखासिकी गर्दै भोटेताल्चा बनाउन थाले कि’ भन्ने लख काट्छन् । हरिसिद्धिस्थित झुप्रे आरनमा छड तिखार्दै उनले भोटेताल्चा बनाउन माहिर आफ्ना हजुरबालाई सम्झन्छन् ।

साशंकरको तर्कप्रति सहमति जनाउन अनुसन्धाता दीपेन्द्र रोकाया हुम्ली जयविर्‍या कामीलाई उद्धृत गर्छन्, ‘हाम्रा पुर्खाले भोटबाट सीप सिकेर भोटेताल्चा बनाउन थालेको बाबाले सुनाउनुहुन्थ्यो, जो बाजेले बाबालाई र बाजेलाई जिजुले सुनाएका रे ।’ मुगुका गुरु लामा स्थानीय घारा (कामी समुदाय) बनाएको भोटेताल्चा घरका ढोका, बाकसमा लगाए पनि गुम्बामा लगाउने ठूलठूला भोटेताल्चा लामाले भोटबाट ल्याएको सम्झना गर्छन् । गुरु भन्छन्, ‘भोटबाट आएकाले हाम्रोतिर भोटेताल्चा बेच्थे ।’

भोटेताल्चाको नामकरणबारे त्यति पर तिब्बतको भोट किन पुग्ने ? नेपालमै भनिने भोट र भोटे नामले चिनिने भेग मात्र पुगे के हुन्छ ? भोटे समुदायका राजनीतिकर्मीले पश्चिमको अपी, सैपाल हिमालदेखि पूर्व गणेश हिमाल पनि काटेर पूर्व शेर्पाको भेग भनेर चिनिने हिमाली क्षेत्रका आदिवासी भोटे समुदाय ठान्छन् । हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाको प्रकाशन भोट दर्पणमा छिरिङ डम्डुल लामाको ‘जातीय मुक्तिको सवाल’ मा होस् या कपिल लामाको पुस्तक ‘संघीय नेपालमा भोट स्वायत्त प्रदेश’ मा होस्, ती क्षेत्रलाई भोट र बसोबास गर्नेलाई भोटे उल्लेख छ । तिनले अहिले भने भोटे समुदाय नै तामाङ, शेर्पा, गुरुङ, लामा, विष्ट र ठकुरीमा विभक्त भएको तर्क पेस गरेका छन् ।

भोटे भनेर चिनिने समुदायबारे कपिल लामा लेख्छन्, ‘१९५० को दशकपछि दक्षिणका टाठाबाठा गुरुङ, थकाली, खस, ठकुरीलाई तालुकदार तोकी तिरो संकलन गर्न लगाए । तिरो तिर्नेका नामको पछाडि जात नलेखेको देखेर भोटे लेख्न लगाएको देखिन्छ ।

शासकीय चिन्तनवाल शासक खलकका कतिपयले मंगोल अनुहारका नेपालका आदिवासीलाई हेय दृष्टिले ‘भोटे’ भन्छन् । तिनै समुदायले बढी प्रयोग गरेकाले पो नाम भोटेताल्चा रहेको हो कि !’ साहित्यकार गणेश रसिक र अनुसन्धाता भोगिराज चाम्लिङ चोरीचकारी नहुँदा साङ्लो (आग्लो) मात्र झुन्डिने किराती घरका ढोकामा भोटेताल्चा झुन्डिएको सम्झना गर्छन्, ‘घरका ढोका, सन्दुक, हुन्ना (तामाको गाग्राभन्दा ठूला आकारका भाँडा जसमा गरगहना र महत्त्वपूर्ण कागजात राख्छन्) मा भोटेताल्चा लगाउँथे ।’

स्मरणीय त के भने, कतिपय क्षेत्रका जनसमझमा त आफूभन्दा माथिल्लो भेगमा बस्नेलाई ‘भोटे’ भन्छन् । अनुसन्धाता जगबहादुर बुढामगरका अनुसार खसानकालेले डोल्पाको माथ्लो डोल्पाका तरालीमगरलाई समेत ‘जार भोटे’ भन्छन् ।

पहाड र हिमालका उच्च भेगमा बस्नेले प्रयोग गर्ने ताल्चा भएकाले भोटेताल्चा रहेको हुन सक्छ ।

भोटेताल्चा भनेर असली, ओरिजिनल, चोरले फुटाउन नसक्ने, पक्का, बलियो र ठूलो भन्ने जनबुझाइ छ । यसैले होला, भोटेताल्चाको भरोसामै घर र गोठ जिम्मा लगाउँछन् । रोल्पा, रुकुमतिर बर्खा लाग्यो कि, वस्तुभाउ लिएर लेकतिर उकालिने चलन हो । त्यसबेला सिंगो घर नै भोटेताल्चा भरोसे हुन्छ । चम्चा काँटाजस्तो फलामैफलामको गजबारवाल भरपर्दो भन्छ, माथि उद्धृत लोकगीतको टुक्काले पनि ।

ठूलो कुकुरलाई भोटे कुकुर वा जारे कुकुर भनेजस्तै ठूलो आकारको ताल्चा भएकाले नाउँ भोटेताल्चा रहेको भन्ने पनि छन् । कारण हो,

भोटेताल्चा सामान्य ताल्चाभन्दा ठूलो हुन्छ । लेखक सीताराम तामाङका अनुसार भोटे शब्दले ठूलो भन्ने जनाउँछ र तिब्बतमा निर्मित चीजलाई भोटे शब्दले जोड्ने चलन छ । भोटेताल्चा पनि अन्य ताल्चाभन्दा ठूलो भएकाले भोटेताल्चा भनिएको हो । काठमाडौंका रैथाने एवं लेखक तीर्थबहादुर श्रेष्ठले आफ्नो घरमा लगाएको एक धार्नी जति गह्रौं र अगुल्टो आकारको भोटेताल्चा सम्झन्छन् । २०३० सालसम्म त काठमाडौंका पसल, घरमा भोटेताल्चा लगाउने चलन रहेको सीताराम सम्झनामा छ ।

हुम्ली सांसद एवं अनुसन्धाता छक्कबहादुर लामाका अनुसार भोटे भनेर खसानतिर ठूलो हो । जसलाई जार पनि भन्छन् । लामा भन्छन्, ‘खसहरूले ठूलो खम्बालाई जार खम्बा, ठूलो कुकुरलाई जारे कुकुर, जार लम्बी, जार टाकु भन्छन् ।’ उनका अनुसार रैथाने भोटे जार हुन् । जो पौराणिक सीप, कला भएको, आर्थिक रूपले सम्पन्न, सीपवाल मानिन्छन् । भोटेलाई जनाउने जार शब्द कर्णालीतिरको खसान र जडानसँग सम्बन्धित छ । खासमा हिमालवारिकालाई जार भन्छन् भने हिमालपारिकालाई भोटे । हिमालवारि खेती पनि हुन्छ भने हिमालपारि पशुपालन मात्र । लामाका अनुसार हिमालपारि भनेको तिब्बत हो ।

लेखक मोदनाथ मरहट्टा ‘लेख्ने विषयको खोजी’ पुस्तकमा सेतो अनुहारको ठूलो गेडावाल भोटेमकै ‘पश्चिमा वर्णसंकर मकै’ ले खाएको प्रसंग उप्काएका छन् । गोर्खातिर भोटेमकै नाम दिइएको भोटेमकै ‘ठूलो गेडा, सेतो रङ, घुनपुत्लो नलाग्ने, खडेरी सहन सक्ने र रोगप्रतिरोधी क्षमतावाल’ भनेर जनमानसमा परिचित हो । उनी भन्छन्, ‘भातजस्तै सेतो देखिने भएकाले त्यसबेलाका बाहुनले भात खान भोटेमकै खोजीखोजी खेती गर्थे ।’ त्यसैगरी, भोटेलसुन, भोटेनाम्लो र भोटे सेलो पनि छन् । मरहट्टाका अनुसार पञ्चैबाजाको तालमा दमाई समुदायले भोटेसेलो नामक एउटा चाली नै बजाउँछन् ।

भोटेताल्चा नाम जसरी रहेको भए पनि नेपाली संस्कृति र उत्पादनमा भोट संस्कृति र उत्पादन प्रभाव छ । यही संस्कृति र उत्पादन सम्बन्ध निफन्दै लेखक कुमार शाह भन्छन्, ‘नेपालमा दुई उत्पादन, दुई संस्कृति संघर्ष देखिन्छ । तराईमा दक्षिणकै संस्कृति हावी छ भने पहाड र हिमालमा उत्तर (भोट) को ।’ नेपालको अर्थराजनीति पूरै ‘दक्षिण’ ढल्केपछि भने बलियो, पक्का, भरपर्दो मानिने हाम्रो रैथाने भोटेताल्चालाई ‘देसी ताल’ ले निल्छ ।

भारतीय ताल्चालाई रोल्पा रुकुमतिर अहिले पनि देसी ताल भन्छन् । आरनमा फलामका भाँडा जप्दै जितबहादुर साशंकर आफ्ना बाजेले बनाएका भोटेताल्चा किन्न काभ्रे धुमखर्कमा टाढाटाढाबाट आएका मानिस र भोटेताल्चा सम्झन्छन्, ‘भारत र चाइनाको ताल्चा आएपछि हाम्रो भोटेताल्चा हेर्दाहेर्दै हरायो ।’

ताल्चाबिनाका ढोका

ढोकामा ताल्चा झुन्डिनैपर्ने अवस्था कसरी आएको होला, हाम्रो समाजमा ? लख काट्न सजिलो छ, निजी सम्पत्ति सुरुवातसँगै आफ्ना सरसामान सुरक्षित गर्न पूर्वजले खोज थाले होलान् । सामाजिक असुरक्षा बढेपछि खोज्नु अस्वाभाविक होइन । त्यसअघि त ताल्चा सरोकारको विषय नै हुन्न । खोजीनितीकै परिणामस्वरूप कुनै चीज जन्मन्छ । जो घरका ढोका, बाकस, सन्दुकमा जागाराम हुन्छ । जुन जिनिसलाई नाम दिइन्छ, ताल्चा । पहिलो ताल्चा सामान्य डोरीको हुन्छ । रोल्पा र रुकुमतिरका कतिपय बर्खेगोठमा त अचेल पनि डोरीले नै ताल्चाको जिम्मेवारी सम्हाल्छन् ।

डोरीको ठाउँ काठले लिन्छ । प्रविधि विकाससँगै काठको ठाउँ धातुले लिन्छ । इतिहासकारहरूका अनुसार छ हजार वर्षअघि इजिप्टमा पहिलो ताल्चा बन्छ, काठबाट बनेको जुन ताल्चाको अनुहार दाँत माझ्ने ब्रसजस्तो हुन्छ । ताल्चा र बनाउने प्रविधि चीन, ग्रिस, रोमजस्ता ठाउँतिर फैलन्छ ।

प्रविधि विकाससँगै इन्जिनियरहरूले अठारौं सदीपछि भने ताल्चाको आधुनिक प्रारूप दिन्छन् । ‘टेलिग्राफ डट सीओ डट यूके’ मा ब्रेन्डन क्विन लेख्छन् :

१७७८ मा रोबर्ट बार्रोनले विकास गरेको ताल्चा जेरिमिह चुबले १८१८ मा र १८४८ मा लिनस यलले ‘थप’ परिष्कृत गर्छन् । त्यसपछि त कनेक्सिस लि स्मार्ट लक त स्मार्ट फोन वा कि ट्यागले चल्छ ।

अचेल ढोकाको छातीमा तुर्लुंग झुन्डिने ताल्चा सुरुमा ढोकाको गोडामा झुन्डिएको हो । त्यसपछि साङ्ला (आग्लो) सहाराले ढोकाको शिरमा पुग्छ । ढोकामा ताल्चाको बसाइ मात्र होइन, ताल्चाकै अनुहारसमेत फेरिएको छ ।

भोटेताल्चा नामकरणबारे विमर्श हुँदै जाला । विवाद पनि होला । तर, नेपाली लोकजीवन र लोकमनमा भोटेताल्चा बसेको त सत्य हो, जसबारे विवाद छैन । स्थानीय कामी समुदायले बनाउने र नेपालकै रैथाने फलामबाट बनेको भोटेताल्चा त रैथाने ताल्चा हो । त्यसैले भोटेताल्चा हामीमाझ नरहनु, रैथाने उत्पादन लोप हुनु हो । भोटेताल्चा बनाउने कामी समुदायका सीपले सास फेर्न नपाउनु हो । विदेशी ताल्चा किन्ने रकम बाहिरिनु मात्र होइन, रैथाने उत्पादन र सीप बिलाउनु हो ।

अहिले नेपालमा न भोटेताल्चा छ न त फलाम खानी नै सुचारु । नेपालले अहिले फलाम किन्छ । ताल्चा पनि किन्छ । रैथाने भोटेताल्चा बाँच्दो हो त, थोरै सही, नेपालबाट पुँजी बाहिरिन रोकिँदो हो । भन्सार विभागका अनुसार, नेपालले गएको पाँच महिनामा मात्रै २६ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको ताल्चा आयात गरेको छ । अर्को कुनै नाउँको रैथाने ताल्चा हुँदो हो त, बाहिरिने यति धेरै रकममा अलिकति भए पनि कमि आउँदो हो ।

तपाईंलाई लाग्ला, बिलाएको भोटेताल्चाको के गनगन गर्नु । गरे नयाँ ताल्चाको कुरा गर्नु नि । हो, गनगन गरेको रैथाने उत्पादनको हो । नाउँ भोटेताल्चा होस् कि अरू कुनै । भन्नुको कारण हो, भोटेताल्चा बिलाए पनि नेपालमा ताल्चा लाउने चलन चल्तीमै छ । र, विदेशी ताल्चाको राइँदाइँ छ ।

भोटेताल्चाजस्तो उहिलेको कुरा खुइले नै हो भने अब ताल्चाबिनाका ढोकावाल समाज र मानिसको जिन्दगी मन्थन पो गर्ने कि ! ताल्चा तर्कको बदला ताल्चाबिनाको समाज निर्माण विमर्श पो थाल्ने कि ? ताल्चाबिनाको समाजको परिकल्पना पो गर्ने कि !

कल्पनुस् त, ताल्चाबिनाको तपाईंको घरको ढोका, दिलको ढोका ! बस्, तपाईंको घरको, दिलको, दिमागको ढोकामा ताल्चा नहोस् । एकै सेकेन्ड भए पनि ठन्डा दिमागले सोच्नुस् त, त्यसबेला कति सुन्दर होला, तपाईंको घर ? तपाईंको दिल ? हाम्रो समाज ? हाम्रो जीवन ? कति उन्मुक्त होला, जगजगीबिनाको समाज र समय ? भलै कम्युनिस्ट (गैरसंसद्वादी कम्युनिस्ट) परिकल्पनाको ‘साम्यवाद’ जस्तो किन नहोस् ।

के त्यस्तो दिन आउला ?

आस गरौँ ।

किन आस मात्र ?

जिन्दगी आखिर भरोसामै चल्छ भने भर पनि परौँ ।

प्रकाशित : माघ २४, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?