उडुवा सर्पसँग साक्षात्कार- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उडुवा सर्पसँग साक्षात्कार

‘श्रमाटन’ विधागत रूपमा संस्मरणात्मक निबन्ध भए पनि यसमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ ।
राजकुमार बानियाँ

बाह्रै मास–चौबीसै घन्टा नित्य चलिरहने लस्कर छ, वैदेशिक रोजगारीमा । सरकार भट्याइरहन्छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ । तैपनि वैदेशिक रोजगार विभागका झ्यालढोका खुलै छन् । श्रममन्त्रीको योग्यता मापन हुन्छ, सस्तामस्ता श्रम बजार खोजेर युवाशक्ति निर्यात गर्नुमा । रेमिट्यान्सबिना देश–दुनियाँ नै नचल्ने छाँट छ ।

परदेशबाट फिरेका जेठाबाठाको शान, मान र रवाफ देखेर लोभिएका तनहुँको म्याग्दे गाउँपालिका छाङ, मनहरीका बीएन जोशी एसएलसीलगत्तै मुगलान (भारत) को एक फन्को लगाउँछन् । पोखरामा अनाहक कुनै घटनामा एक साता हिरासत बसेपछि कलेजको पढाइ टुट्छ । अनि राहदानी बनाएर पहिलो गन्तव्य बनाउँछन्, कतारलाई । अन्तिमतिरको बसाइमा त ‘आउट जेल’ नै बस्नुपर्ने हुन्छ । कतारबाट छुटकारा पाएर नेपाल फर्किएपछि पढाइमा जोडिन खोज्छन् । तर, फेरि पनि उनको मन स्थिर हुन्न । बैंकक हुँदै मलेसिया छिर्नतिर लाग्छन् । अवैध मार्गबाट समूहगत रूपमा छिर्न खोज्दा १२ दिन लामो हिरासत बस्छन् ।

प्रहरी कति भ्रष्ट भने थुनुवा जोशीले डिक्सनेरीभित्र लुकाएर राखेको चार सय डलर समेत चोर्छन् । छुटेपछि पासपोर्ट फिर्ता माग्दा उल्टै पैसा माग्छन् । कुरा मिलेपछि प्रहरीले नै सिमानाको पर्खालबाट हामफाल्न पठाउँछन् । जोशी लेख्छन्, ‘उतापट्टि रेल स्टेसनको झाडी मलेसिया त यतापट्टि हामफालेर पाइला टेकेको ठाउँ थाइल्यान्डको एउटा भव्य होटलको कम्पाउन्ड पो हुन्छ ।’

घर फर्कने चाहना भए पनि जसरी पनि विदेश छिर्ने साथीभाइका कुरा काट्न सक्दैनन् र जंगलको बाटो झाडी पन्छाउँदै घन्टौँ हिँडेर थुप्रै दिन ठाँटीमा बास बस्न पुग्छन् । त्यो अनकन्टार जंगलमा उडुवा सर्पको बिगबिगी छ । वनसाँढेहरू छट्टाइरहेका छन् । लामखुट्टेको फौजसँग जोगिन रातभरि धुवाँ नलगाई धरै छैन ।

त्यस्तो ठाउँमा बोकेर लगेको खानाले कति दिन पुग्नु ? पैसा भए पनि किन्न कहाँ पाउनु ? पानी कहाँ छ, थाहा छैन । उनले आँपको भात, भातको अचार खानुपर्ने हुन्छ । भोकसँग बहादुरीपूर्वक लड्न नसकेपछि मध्यसागरमा जीवनको भिख माग्नुपर्ने क्षण पनि आउँछ । उनका साथीहरू दीपक, पदम दाजु, गुरुङ दाइ, लिम्बू भाइहरूका टिठलाग्दा अनुहार झलझली नाच्छन् ।

ठाँटीबासका क्रममा बेचल्तीको बाटोमा पहिलो पटक नेपाली पाइला परेको भान हुन्छ जोशीलाई । उनको नजर ठाँटीको टाँडमुनि ढुंगाको तीनमुखे चुलो, सिलावरको डेक्ची, मुख काटिएका जर्किनमा मात्र पर्दैनन्, दलिनमा घुसारिएको ब्राइटर टुथपेस्ट नामक नेपाली मन्जनको खोलमा पुग्छन् । अनि थाहा हुन्छ, यो चोरबाटो भएर विदेशी भूमिमा श्रम बेच्न जाने अभागी युवाहरूको लावालस्करै छ । विभिन्न मोडबाट गुज्रिएपछि बल्लतल्ल थाइल्यान्डको राजधानी बैंककको एयरपोर्टमा मनाङे साहुको सामान पास गरिदिएर उनी स्वदेश फर्किन्छन् । बीएन जोशीले वैदेशिक रोजगारीका क्रममा भोगेको त्रासद संस्मरणलाई सिंगो पुस्तककार रूपमा पस्किएका छन्, ‘श्रमाटन’ । ‘पुनर्जीवन’ र ‘सफर’ गरी दुई किस्तामा कहरैकहरको फेहरिस्त छ । पहिलो किस्तामा एउटै गन्तव्यका शृंखलाबद्ध १० वटा संस्मरण छन् भने दोस्रोमा अलग–अलग आधा दर्जन संस्मरण । १६ वटा संस्मरण छुट्टाछुट्टै पढ्दा पनि त्यसको मिठासमा कुनै व्यवधान आउँदैन ।

लेखक जोशी सन् १९९५ देखि २००४ सम्म चार–पाँच देशमा भौँतारिएका देखिन्छन् । दलालमार्फत अवैध मार्ग भएर जाँदा सास्ती खेप्छन्, पटकपटक जेल बस्छन्, मृत्युसँग साक्षात्कार गर्छन्, तर खासै कमाउन सक्दैनन् । यस्तो लाग्छ, दुःख पाउनु, पछुताउनु अनि विदेशतिरै धाउनु नेपाली युवाहरूको साझे कथाव्यथा हो । नयाँ नयाँ भूगोलमा रहँदा उनीहरूले भिसादेखि भाषासम्मको धर्मदेखि संस्कृतिसम्मको समस्या झेलेका हुन्छन् ।

उदाहरणका लागि जोशी नै आफ्ना बोससँग निडरताका साथ बोलेको निहुँमा कतारी जेलमा पाहुना लागेका छन् । त्यहाँ उनले चिनेजानेका साथीभाइ समेत फेला पार्छन् । वास्तवमा वर्षौं बेखबर भनिएका नेपाली युवा कि जेलमा छन् कि त सुकुटी भइसकेका छन् । महिनौँ लगाएर लुकीछिपी मरुभूमिमा हिँड्दा कति भोकले पिल्सिएर मरेका छन्, कति देह जंगली जनावरको आहारा भएका छन् । कतिका शरीर समुद्रमै समाहित भएका छन् ।

जोशीले नै मरुभूमिको यात्रामा मृगका बथान र खरायोका टोलीसँगै मानिसकै सुकुटी (लास) पनि भेटेका छन् । बेपत्ता भएका भनिएका कति भुइँतहका नेपाली दाजुभाइ त्यसरी सुकुटी भएका होलान् ? निम्नकोटि श्रम गर्न बाध्य कतिपयले असामयिक मृत्युवरण गर्नुपरेकै छ । पुस्तकमा लेखक जोशीकै भाइ गोविन्द समेत बन्द बाकसमा पार्सल भएर आइपुगेको दृष्टान्त छ ।

‘श्रमाटन’ लेखककै जीवनको ‘फ्ल्यासब्याक’ हो । देशमा जोर बन्दुकको नग्ननृत्य चलिरहँदा उनले स्वदेशमै इलम गर्ने अठोट नगरेका पनि होइनन् । केही लाख जोरजाम पारेर राजधानीको चक्रपथबाहिर स्वव्यवसाय गर्न खोज्छन् । तर, फेरि पनि ‘भगौडा’ डीएसपीको पछि लागेर विदेशकै बाटो तताउँछन् । तर, एयरपोर्टबाट फर्काइँदा जहाजमा उड्दाउड्दै डेढ लाख ओम स्वाहा भएको छ ।

संस्मरण विधा घटना, दृश्य, क्षण र अनुभवको स्मृतिसागर हो । यसमा अविस्मरणीय घटना अनि संवेदात्मक अनुभूतिको प्रबलता हुन्छ । लेखकहरू पुराना घटनालाई तरोताजा बनाएर प्रस्तुत गर्छन् । लेखकहरू केमा विश्वास गर्छन् भने संस्मरण लेख्नु भनेको आफैँसँग इमानदार हुनु हो । मनका स्वीकारोक्तिहरूको साक्षी बस्नु हो ।

संस्मरण साहित्यमा लेखकको निजी इतिहास हुन्छ, तर कोरा इतिहास चाहिँ होइन । त्यस हिसाबमा ‘श्रमाटन’ मा लेखक जोशीले आफ्नै बढाइचढाइ गरे भन्न मिल्दैन । यो विधाको स्वभाव नै यस्तै हो । साथीसंगाती या अरु पात्र त साक्षी मात्र हुन्छन् । यो इतिहासको त्यस्तो किताब होइन, जसको पहिलो पृष्ठमा मात्रै लेखकको नाम होस् ।

कुनै कुनै अध्याय लामा पनि छन् तर पट्यारलाग्दा छैनन् । संस्मरणको सीमा के भने छोट्यायो छुट्छ, लम्यायो भने पाठकलाई ‘बोर’ हुन्छ । संस्मरणको कथामात्र नभएर वाचक र नायक लेखक नै हुन्छ । सबैजसो पाठमा लेखक जोशी मायालाग्दा नै भेटिन्छन् । उनका एकाध कमजोरीमा पाठक आँखा चिम्लन विवश हुन्छ ।

‘श्रमाटन’ को पीँधमा कम्तीमा पनि २०–२५ वर्ष पुराना घटनावलि छन् । विधागत रुपमा संस्मरणात्मक निबन्ध भए पनि यिनमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ । यस अर्थमा यो पुस्तक सहरको गमला होइन, गाउँको फूलबारीजस्तो छ ।

संस्मरण आफ्नो पनि हुन्छ, अरूको पनि । तर, यो पराख्यान होइन, स्वआख्यान हो । संवाद, परिवेश र चरित्रचित्रण औपन्यासिक लाग्छ । ठाउँठाउँमा आत्मालोचनाजस्ता घच्चीका सूक्तिमय पंक्ति भेटिन्छन्– ‘उमेर र उमंगको भर हुँदैन ।’ ‘पहिलो गल्तीको उपज पनि गल्ती नै हुँदोरहेछ ।’ ‘भाग्यमा विश्वास नगर्ने मान्ठा म तर उसैले ठग्यो ।’ लेखक ठाडै घटनाको चाङ लगाउँदैनन् । अलिकति पृष्ठभूमि बाँध्नु उनको लेखनको समस्या भन्दा पनि सबलता हो । संस्मरणहरू चप्पलका फितामा टिमिक्क बाँधिएका गोडाजस्तै छन् । निजी दुःखको कथाव्यथा समेत रौसे यायावरले जसरी लेख्नसक्नु बीएन जोशीको गद्यशिल्पको अभूतपूर्व सफलता हो । यसमा उनीभित्रको सम्पूर्ण लेखकीय प्रतिभा उद्घाटित छ । यावत् कुरालाई तपसिलमा राख्ने हो भने पनि बीएन जोशीले नेपाली साहित्य संग्रहमा कमसेकम एउटा शब्दोपहार दिएका छन्, ‘श्रमाटन’ ।

प्रकाशित : माघ २४, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास : विषयमा आकर्षण, विभागमा विकर्षण

पुस्तक बजार सेलायो या सुस्तायो भनेका बेला पनि इतिहासका पाठक देखापरिरहेकै छन् । इतिहासका किताबका सदावहार पाठक छन् । बिस्तारै बिस्तारै, अलिअलि बिक्री भइरहन्छ । लगानी गर्नासाथ मुनाफा नआए पनि किलोको भाउमा किताब बेच्नु पर्दैन ।
राजकुमार बानियाँ

कोरोना महामारीका बीचमा पनि इतिहासका पुस्तक बेरोकटोक छापिरह्यो, रत्न पुस्तक भण्डारले । कमलप्रकाश मल्लको ‘स्वयम्भू पुराण’, चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ र फादर गुइस्प्पेको ‘एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ आदि । त्यही माचोमा ‘भीमसेन थापा र तत्कालीन नेपाल,’ ‘श्री ५ रणबहादुर शाह’ (चित्तरञ्जन नेपाली) ‘मध्यकालीन भक्तपुर’ (बलराम कायस्थ), ‘नेपालको इतिहासमा जंगबहादुर’ (त्रिरत्न मानन्धर) आदि पनि पुनर्मुद्रण गरिछाड्यो ।

पुरानो प्रकाशन संस्था भएर पनि हुन सक्छ, इतिहासका पुस्तक प्रकाशनमा रत्न अग्रणी छ । इतिहासकै पुस्तक जहिल्यै उसको प्राथमिकतामा छन् । वार्षिक क्यालेन्डरमा इतिहासका न्यूनतम दुइटा पुस्तक त हुन्छन् नै ।

रत्नका गोविन्दप्रसाद श्रेष्ठको अनुभवमा पुस्तक बजार सेलायो या सुस्तायो भनेका बेला पनि इतिहासका पाठक देखापरिरहेकै छन् । ‘इतिहासका किताबको सदावहार पाठक छन् । बिस्तारै बिस्तारै, अलिअलि बिक्री भइरहन्छ,’ श्रेष्ठ भन्छन्, ‘इतिहासका नेपाली मात्र नभएर अंग्रेजी पुस्तक पनि थुप्रै छन् । लगानी गर्नासाथ मुनाफा नआए पनि किलोको भाउमा बेच्नु पर्दैन ।’

यत्ति हो, प्रचार संयन्त्रहरूमा साहित्यको समानान्तर इतिहासको चर्चा भने छैन । समाचार, समीक्षा, पुरस्कार आदिमा आख्यानकै हाई–हाई छ । कतिपय प्रचारबाजीका कारण किताब ह्वात्तै बिक्छन्, चाँडै ठप्प भइहाल्छन् । साहित्यजस्तो ह्वात्तै त होइन, सदैव आम्दानी दिइरहेका छन् इतिहासका पुस्तकले । र, दु:खद कुरा इतिहास अध्ययन, अनुसन्धानमुखी विधा भएकाले त्यसका लेखक भने हम्मेसि भेटिँदैनन् ।

पाठकको रुचि र खोजी बुझेर होला, अन्य प्रकाशकले पनि इतिहासमूलक पाण्डुलिपितिर नजर लगाइरहेका छन् । त्यसैले दुर्लभ हुँदै गएका इतिहासका पुराना पुस्तकहरू पुनप्र्रकाशनमा जाँगर देखाइरहेका छन् । त्यसको उदाहरण हो, प्रकाशक फाइनप्रिन्ट इतिहास शिरोमणि बाबुराम आचार्यका सम्पूर्ण पुस्तक र फिनिक्स बुक्स सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ प्रकाशनमा लागेका छन् ।

यति मात्र होइन, हेमराज शर्माले सय वर्षपहिले लेखेको ‘प्रथम विश्वयुद्धको वर्णन’ जस्तो लोमहर्षक पुस्तक पनि यही अवधिमा पाठकको हातमा पुग्यो । ‘प्रयोगशाला’, ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’, ‘शिलान्यास’ आदि इतिहासमूलक पुस्तक ‘बेस्ट सेलर’ भए ।

सोसल साइन्स बहा: को सम्पर्कबाट इतिहाससम्बन्धी थुप्रै किताब छापेको छ, हिमाल किताबले । तीमध्ये धेरैजसो अंग्रेजीमा छन् भने केही नेपालीमा अनुवाद भएका छन् । चन्द्रशमशेरको शासनकाल अर्थात् विसं १९४५ मा नेपाल आएका सिल्भाँ लेभीले लेखेको किताब ‘हिन्दू अधिराज्यको इतिहास’ उसैले छापेको हो । तीनपटक नेपाल आएका लेभीको पुस्तक विदेशीले लेखेकामध्ये सबैभन्दा आधिकारिक मानिएको छ ।

राणाकालमै फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद भयो तर त्यो पाण्डुलिपि पुगेछ, अमेरिकाको हवाई विश्वविद्यालयको इस्ट–वेस्ट सेन्टरमा । हृषीकेश शाहले त्यसको फोटोकपी नेपाल ल्याए । त्यसको जाँचपड्तालमा समय लाग्यो । त्यसमा काम गर्दागर्दै के पत्ता लाग्यो भने फ्रान्सका लागि राजदूतसमेत रहेका डिल्लीराज उप्रेतीले फ्रेन्चबाट सीधै नेपालीमा अनुवाद गरेका छन् । कम्तीमा फ्रेन्चबाट अंग्रेजी, अंग्रेजीबाट नेपालीमा आउने घुम्ती बाटो तय गर्नुपरेन ।

हिमाल किताबबाट नेपाल आउने पहिलो फ्रेन्च यात्रुबारे किताब आउँदै छ भने नेपाल आउने पहिलो रुसी यात्री इभान पाभ्लेभिच मिनाएभको पुस्तक ‘मिनाएभ र नेपाल’ पुनर्मुद्रण गर्दै छ । जंगबहादुरको शासनकाल (सन् १८७५) मा नेपाल आएका प्राच्यविद् मिनाएभ रुसमा नेपालविद्याका प्रवर्तक मानिन्छन् । ‘कथाकहानी आदि निखुर साहित्य छाप्ने थुप्रै प्रकाशन छन्,’ हिमालका वसन्त थापा थप्छन्, ‘इतिहासलगायत समाजोपयोगी किताबलाई हामी महत्त्व दिन्छौं । तर, अनुवादबाहेक नेपालीमै लेखिएका पाण्डुलिपिलाई स्वागत गर्न पाइएको छैन ।’

थापाका अनुसार, जागरुक र सचेत समाजका लागि इतिहासको अध्ययन जरुरी हुन्छ । ‘इतिहास थाहा नपाउने चिनाटिपन (जन्मपत्रिका) बिनाको व्यक्तिजस्तो हुन्छन्’ उनी भन्छन्, ‘इतिहास भनेको जाति, समाज र राष्ट्रको जग हो । जगबिनाको घर कसरी उभिइरहला ?’

इतिहासमा उभार

खासगरी २०६२–०६३ को राजनीतिक परिवर्तनपछि सबैभन्दा आकर्षक विषय भएको छ, इतिहास । चर्चित पुस्तकको सूचीमा इतिहास नछुट्नु त्यसकै ज्वलन्त प्रमाण हो । व्यवस्था परिवर्तनलगत्तै पुरानो प्रणालीबारे जान्न चाहने आम पाठकको मनोविज्ञान हुँदो रहेछ । अहिले पञ्चायत, राणा, मल्ल र लिच्छविकालसम्म जान्ने उत्कण्ठा पाठकमाझ छ ।

गणतन्त्रको उदयपछि इतिहासको गरमागरम बहस चल्यो । कतिपयले अन्यायको आख्यानलाई नै इतिहास मान्नुपर्ने जिकिर गरिरहेका छन् । २ सय ५० वर्षको शाहवंशीय शासन व्यवस्था र त्यसका सूत्रधार पृथ्वीनारायण शाहमाथि अनेक कोणबाट गहन विमर्श भए । खासमा उनले नेपालको एकीकरण गरेका थिए कि गोरखा राज्यको विस्तार भन्ने विषय पनि तात्तातै छ । यसैगरी जंगबहादुरका सकारात्मक परिचर्चा भए भने पहिचान, जातीय विभेद, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता जल्दाबल्दा सामाजिक मुद्दामा बहस जारी छन् । माओवादी सशस्त्र विद्रोह, मधेस आन्दोलन, जनजातिका विमर्श पनि भइरहेकै छन् ।

अध्येताका अनुसार, राज्य पुन:संरचनाको बेला इतिहासका पुस्तक खोजी हुनु स्वाभाविकै हो । किनभने पुरानो संरचनाले किन काम गरेन भन्ने बुझेपछि नै नयाँ ढोका खुल्छ । हिजोका मान्यताको पुनव्र्याख्या, विनिर्माण, विपठनका लागि पनि सायद इतिहासको अध्ययन जरुरी हुँदो हो ।

‘इतिहास पढ्दा धेरैलाई नोस्टाल्जिक बनाउँछ । पुर्खाले हिँडेको कठिन र लामो बाटो, उनीहरूले भोगेको सुख दु:ख, पुर्खाहरूले गरेको प्रेम, यौन, युद्ध र आज्र्याको सभ्यता पढ्दा म पनि लठ्ठ पर्छु । उनीहरूले मानव गरिमा निर्माणका लागि गरेको संघर्ष पढ्दा, सम्झदा र महसुस गर्दा निकै रोमाञ्चित हुने गर्छु,’ राजनीतिकर्मी एवं लेखक केशव दाहाल भन्छन्, ‘इतिहास पढ्नु मेरा लागि पुर्खाहरूसँग साक्षात्कार गर्नु हो । बितेको समयलाई हेर्नु र आनन्द लिनु हो । इतिहास थियो, त्यसैले वर्तमान छ र भविष्य आउनेछ । यो अर्थमा वर्तमानलाई बुझ्न र भविष्यलाई हेर्न इतिहासले सघाउँछ । समयबोधका लागि पनि इतिहास पढ्नुपर्छ ।’

इतिहासविद् योगेश राजका अनुसार, इतिहासमा आफ्नै तर्क र निष्कर्ष पद्धति हुन्छन्  । त्यसलाई एक छिन बिर्सने हो भने, पहिलो खेपमा बितिसकेको संसारलाई फेरि जोडजाड पार्ने हो  । एउटा तथ्य यता रेडियोमा भेटिन्छ । अर्को तथ्य अभिलेखालयमा फेला पर्छ  । तेस्रो तथ्य किंवदन्तीमा भेटिन्छ  । चौथो तथ्य कतै भेटिँदैन । तर, मनमा खेलिरहन्छ । यस्तै चार तथ्यलाई जोडेर त्यसमा रङ चढाउँछौं, स्वर थप्छौँ, बान्की कोर्छौं । उज्यालो–अँध्यारो बनाउँछौं । यसरी बितिसकेको र अहिले कतै खोज्दा नभेटिने संसारलाई हामी खडा गर्छौं ।

यिनकै शब्दमा असल इतिहासज्ञ आफ्नै प्रमाणप्रति अत्यन्त संशयवादी र आलोचनात्मक हुन्छन्  । तिनीहरू कुनै प्रमाणको पासोमा पर्न चाहँदैनन्  । प्रमाणको परीक्षा गरेका गर्‍यै हुन्छन् । इतिहासको खोजमा लागेकाहरू कल्पनाशील त हुन्छन् तर कल्पनामा सितिमिति रमाउन सक्दैनन् । किनभने तिनले उभ्याएको संसार एउटा नाम, एउटा अभिलेख, एउटा अंक, अथवा एउटा सूत्रको तादात्म्यमा अडेको हुन्छ  । पाठकले पढ्दा त्यो जतिसुकै रंगीन, सजीव र सम्भव किन नदेखिऊन्  ।

विद्यार्थीबिनाको विभाग

इतिहास विषयमा बढ्दो जनअभिरुचिका बाबजुद पनि त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग विद्यार्थीविहीन हुनुचाहिँ विडम्बना नै हो । खासगरी सेमेस्टर प्रणाली लागू गरेपछि मानविकी संकायका अधिकांश केन्द्रीय विभागको नियति यस्तै छ । लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएकाले पनि नक्कली विद्यार्थीसमेत छैनन् ।

कतिपयमा इतिहास नीरस, अनुत्पादक र बेरोजगार बनाउने विषय भन्ने भ्रम नभएको होइन । तर, इतिहासका जनशक्ति धेरथोर परराष्ट्र सेवा, पत्रकारिता, अध्यापन, संग्रहालय आदिमा खपत हुन्छन् नै । त्रिभुवन विश्वविद्यालयको स्थापना (२०१६) सँगै अस्तित्वमा आएको सबभन्दा पुरानो विभाग हो, इतिहास र संस्कृति । दोस्रो र तेस्रो उपकुलपति रुद्रराज पाण्डे र हितनारायण झा पनि इतिहासकै प्राध्यापक थिए ।

इतिहास विभाग न बन्द भएको छ, न त कतै गाभिएको छ । अन्तरविषयक अध्ययन पनि थालिएको छैन । त्यसको कहिले रिमोडलिङ हुने हो ? कसैलाई थाहा छैन । राज्यले पनि इतिहास अन्वेषण र अनुसन्धानको काम सघन बनाउने इच्छाशक्ति देखाएको छैन । प्रश्न उठ्छ, औपचारिक अध्यापनप्रति निराशा, विषयप्रति आकर्षणबारे विश्वविद्यालयले किन सोचिरहेको छैन ?

त्यसो त विद्यार्थी नहुनु मात्र समस्या होइन, विश्वविद्यालयबाट उच्चांकसहित डिग्री–विद्यावारिधि लिएकाले पनि अभिलेख राम्ररी पढ्न सक्दैनन् । त्यसको उल्था र व्याख्या गर्न सक्ने इपिग्राफिस्ट र आइकनोग्राफर पाइँदैनन् । राष्ट्रिय अभिलेखालयजस्ता अर्काइभ हुने ठाउँ पनि सुनसान देखिन्छन् ।

राज्य नियन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) जस्ता संस्था पनि निदाएजस्ता लाग्छन् । फ्रान्सको प्रख्यात द नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चकै अनुसरण गरी खोलिएको सिनास कहाँ छ, कसैलाई अत्तोपत्तो छैन । सिनासको राष्ट्रिय इतिहास लेखन परियोजना रोकिएको वर्षौं भयो । संशोधन मण्डल, मार्टिन चौतारीजस्ता संस्थालाई छाडेर रेग्मी अनुसन्धान केन्द्र, द सेन्टर फर सोसल रिसर्च एन्ड डेभलपमेन्ट आदि निजी क्षेत्रका संस्था पनि सुस्ताएकाले इतिहासको व्यवस्थित अध्ययनमा व्यवधान देखिएका छन् ।

विभागबाहिरको जमात

इतिहास विभागलाई एक छिन बिर्सने हो भने सकारात्मक पक्ष हुँदै नभएका पनि होइनन् । इतिहासको आधिकारिक विद्यार्थी नभए पनि गहिरो रुचिका कारण त्यसको खोजी, संकलन र स्वअध्ययन गर्ने व्यक्तिको पंक्तिसमेत तयार भएको सुखद अवस्था छ । तिनैमध्ये एक उदाहरण हुन्, सन्तोष खडेरी । वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स अबुधाबीमा कार्यरत खडेरीले केही वर्षयता विभिन्न अर्काइभमा रहेका नेपालसँग सम्बन्धित महत्त्वपूर्ण अभिलेख खोजी गरेर विभिन्न सञ्चार माध्यममा इतिहासका सुरुचिकर सामग्री प्रस्तुत गरिरहेका छन् ।

इतिहासले मानिसलाई रोमाञ्चित बनाउँछ । त्यसैले आफ्नो मुलुक, व्यवस्था र मानवजातिबारे जान्ने हुटहुटी जाग्छ । वास्तविकता जे भए पनि कतिलाई त यसको वैभव गाथाले सम्मोहित पार्छ । विगतका सकारात्मक वा नकारात्मक जुनसुकै पाटो होस्, इतिहासको रोचकताले मानिसलाई आफूतिर खिचिछाड्छ । इतिहासको सदावहार आकर्षण नै यसमा अन्तर्निहित रोचकता पक्ष हो ।

विगतको इतिहासका आधारमा वर्तमान तय हुन्छ भने यसैको सम्मिश्रणका आधारमा आगामी भविष्यका लागि नयाँ मार्गप्रशस्त गर्छ । ‘इतिहास नपढी पुर्खाले तय गरेको यात्रा र बाँचेको कालखण्डलाई बुझ्न सकिँदैन । इतिहासबोध गरेपछि नै आफूले पाएको विरासत त्यत्तिकै आएको होइन है भन्ने थाहा हुन्छ । त्यसमा कत्तिको योगदान परेको छ भन्ने कुराले उसलाई जिम्मेवार बनाउँछ र आफूले भोलि आफूले के छोडेर जाने भन्नेले भविष्यप्रति जवाफदेही बनाउँछ,’ अध्येता खडेरी भन्छन्, ‘समाजको यथार्थसित असन्तुष्ट आम मानिसलाई विगतका सानातिना घटनाक्रम र उपलब्धिको तुलनात्मक अध्ययन गरेर सन्तुष्ट हुन मन लाग्छ । इतिहासले एकल व्यक्तिवादलाई छाडेर सामूहिकतालाई अँगाल्न व्यक्तिदेखि राज्यलाई जहिल्यै सन्देश दिएको हुन्छ ।’

आत्मकथाको खेती

इतिहास संसारभरि नै महत्त्वका साथ पढिने, सुनिने र व्याख्या–पुनव्र्याख्या भइरहने विषय हो । त्यसका विभिन्न आयामको खोजी र अध्ययन कहिल्यै रोकिँदैन । परम्परागत इतिहास शासकमुखी भए, तिनकै विरुदावलि मात्र गाए भन्ने स्वरहरू सुनिएसँगै जनस्तरमा पनि आफ्नै तवरमा इतिहासको महत्त्व बढ्दो छ । इतिहास बिर्सनु हुन्न, यो पुर्खाको नासो हो भन्ने चेतनाका कारण आत्मकथा या जीवनी लेखिन थालेका छन् । तिनले समकालीन इतिहासलाई धेरथोर लिपिबद्ध नगरेका पनि होइनन् ।

आत्मकथा इतिहास अध्ययनकै विधा हुँदै हो तर आफूलाई महान् देखाउन इतिहास तोरमरोड गर्ने प्रवृत्ति पनि अचाक्ली छ । ‘सत्यनिष्ट आत्मकथा इतिहासकै खजाना हो,’ हिमाल किताबका वसन्त थापा भन्छन्, ‘इतिहासको आख्यानीकरण या नाटकीकरणले चाहिँ त्यो मान्यता पाउँदैन ।’

पहिले सोखका लागि आत्मकथा लेखिन्थ्यो भने अहिले पैसाका लागि । आत्मकथाको भलबाढीमा सेलेब्रिटीले त लेख्ने र लेखाउने नै भए । गैरसेलेब्रिटीले पनि घोस्ट राइटिङ गरेरै सही, फालाफाल आत्मकथा लेखाएका छन् । त्यसको अनुपातमा इमानदार आत्मकथा भने दुर्लभ नै छन् । आत्मकथाको फेसनमा दिवंगत इतिहास निर्माताहरू भने छुटेका छन् ।

पुस्तक बजारमा ‘बेस्ट सेलर’ आत्मकथा दर्जनको हाराहारीमा पुग्छन् । आख्यानपछि आत्मकथाको विशाल बजार भएको प्रकाशकहरूको दाबी छ । आत्मकथाको महत्त्वपूर्ण कडी आत्मसमीक्षा भए पनि नेपाली आत्मकथाहरूमा त्यही कुराको सर्वथा अभाव छ । आफूलाई उठाउने, अरूलाई गिराउने खेल भएका छन् । आफ्ना गल्ती लुकाउने, अरूका नभएका गल्ती औँल्याउने प्रवृत्ति पनि छ । भावी पिँढीलाई इतिहास देखाउने माध्यम आत्मकथामा प्राणतत्व नै छुट्नु या भ्रामक प्रचार गर्नु भने सरासर ठगी नै हो ।

ऐतिहासिक आख्यानको ‘ह्याट्रिक’

ऐतिहासिक आख्यानको कीर्तिमानले पनि इतिहासको रन्को चढेको महसुस हुन्छ । २०७४, २०७५ र २०७६ मा लगालग तीन वर्ष मदन पुरस्कार ऐतिहासिक आख्यानले नै पाए । क्रमश: नीलम कार्की निहारिकाको ‘योगमाया’, योगेश राजको ‘रणहार’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ ले प्रशंसा पनि कमाए ।

नेपालमा ऐतिहासिक आख्यान लेखन परम्परा दशकौँ पुरानो छ । त्यस्ता आख्यान लेख्ने आधार इतिहास नै हो । ‘कतिपय आख्यान इतिहासबाट प्रभावित हुनेभन्दा पनि इतिहासलाई प्रभावित पार्ने किसिमका छन्,’ इतिहासविद् महेशराज पन्त भन्छन्, ‘ऐतिहासिक आख्यान सम्पूर्ण इतिहास होइन तर इतिहासमा पाठकको अभिरुचि बढाइदिन सक्छन् ।’

यसरी हेर्दा इतिहास असली संसार हो भने उपन्यास उपसंसार । आख्यान काल्पनिक रचना हो भने इतिहास वास्तविक रचना । साहित्यमा कल्पनातत्व प्रबल हुन्छ भने इतिहासमा तथ्यतत्त्व । इतिहास अतीत र वर्तमानबीच निरन्तर चल्ने संवाद हो भने साहित्य मानवीय सत्यको उद्घाटन गर्ने माध्यम ।

कतिपय विद्वान सत्य र कल्पनाको सुन्दर संयोजनबाट सिर्जना गरिएको आख्यानमा विश्वसनीय इतिहास बन्ने सामथ्र्य हुने धारणा राख्छन् । खासमा उपन्यास र इतिहासको दशगजामा उभिएका रचना हुन्, ऐतिहासिक उपन्यास । तिनमा ऐतिहासिक तथ्य पनि हुन्छन्, औपन्यासिक तत्त्व पनि ।

पछिल्लो समय ‘बेस्ट सेलर’ सूचीमा रहेको ऐतिहासिक आख्यान ‘मोक्षभूमि’ का लेखक केशव दाहाल भने ऐतिहासिक आख्यानको प्रचलित न्यारेटिभकै विपक्षमा छन् । उनको विचारमा इतिहास इतिहासै हो, कथा कथै । कथालाई इतिहासमा, इतिहासलाई कथामा मिसमास गर्दा आउने पुस्ता झुक्किने जोखिम छ । त्यसैले इतिहासलाई इतिहासमै र कथालाई कथामै छाडिदिनु जाती हो ।

‘आख्यान समयको कथा हो भने इतिहास समयको सत्य । यी दुवै फरक हुन्छन्,’ उनी भन्छन्, ‘आख्यानलाई ऐतिहासिक भन्ने र इतिहासलाई काल्पनिक भन्ने तरिकाले आख्यान र इतिहास दुवै विधाको भलो गर्दैन । पढ्नेहरूलाई द्विविधामा पारिदिन्छ भने लेख्नेहरूलाई खुला र स्वतन्त्र हुन दिँदैन ।’

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : मंसिर ५, २०७७ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×