२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उडुवा सर्पसँग साक्षात्कार

‘श्रमाटन’ विधागत रूपमा संस्मरणात्मक निबन्ध भए पनि यसमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ ।

बाह्रै मास–चौबीसै घन्टा नित्य चलिरहने लस्कर छ, वैदेशिक रोजगारीमा । सरकार भट्याइरहन्छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ । तैपनि वैदेशिक रोजगार विभागका झ्यालढोका खुलै छन् । श्रममन्त्रीको योग्यता मापन हुन्छ, सस्तामस्ता श्रम बजार खोजेर युवाशक्ति निर्यात गर्नुमा । रेमिट्यान्सबिना देश–दुनियाँ नै नचल्ने छाँट छ ।

उडुवा सर्पसँग साक्षात्कार

परदेशबाट फिरेका जेठाबाठाको शान, मान र रवाफ देखेर लोभिएका तनहुँको म्याग्दे गाउँपालिका छाङ, मनहरीका बीएन जोशी एसएलसीलगत्तै मुगलान (भारत) को एक फन्को लगाउँछन् । पोखरामा अनाहक कुनै घटनामा एक साता हिरासत बसेपछि कलेजको पढाइ टुट्छ । अनि राहदानी बनाएर पहिलो गन्तव्य बनाउँछन्, कतारलाई । अन्तिमतिरको बसाइमा त ‘आउट जेल’ नै बस्नुपर्ने हुन्छ । कतारबाट छुटकारा पाएर नेपाल फर्किएपछि पढाइमा जोडिन खोज्छन् । तर, फेरि पनि उनको मन स्थिर हुन्न । बैंकक हुँदै मलेसिया छिर्नतिर लाग्छन् । अवैध मार्गबाट समूहगत रूपमा छिर्न खोज्दा १२ दिन लामो हिरासत बस्छन् ।

प्रहरी कति भ्रष्ट भने थुनुवा जोशीले डिक्सनेरीभित्र लुकाएर राखेको चार सय डलर समेत चोर्छन् । छुटेपछि पासपोर्ट फिर्ता माग्दा उल्टै पैसा माग्छन् । कुरा मिलेपछि प्रहरीले नै सिमानाको पर्खालबाट हामफाल्न पठाउँछन् । जोशी लेख्छन्, ‘उतापट्टि रेल स्टेसनको झाडी मलेसिया त यतापट्टि हामफालेर पाइला टेकेको ठाउँ थाइल्यान्डको एउटा भव्य होटलको कम्पाउन्ड पो हुन्छ ।’

घर फर्कने चाहना भए पनि जसरी पनि विदेश छिर्ने साथीभाइका कुरा काट्न सक्दैनन् र जंगलको बाटो झाडी पन्छाउँदै घन्टौँ हिँडेर थुप्रै दिन ठाँटीमा बास बस्न पुग्छन् । त्यो अनकन्टार जंगलमा उडुवा सर्पको बिगबिगी छ । वनसाँढेहरू छट्टाइरहेका छन् । लामखुट्टेको फौजसँग जोगिन रातभरि धुवाँ नलगाई धरै छैन ।

त्यस्तो ठाउँमा बोकेर लगेको खानाले कति दिन पुग्नु ? पैसा भए पनि किन्न कहाँ पाउनु ? पानी कहाँ छ, थाहा छैन । उनले आँपको भात, भातको अचार खानुपर्ने हुन्छ । भोकसँग बहादुरीपूर्वक लड्न नसकेपछि मध्यसागरमा जीवनको भिख माग्नुपर्ने क्षण पनि आउँछ । उनका साथीहरू दीपक, पदम दाजु, गुरुङ दाइ, लिम्बू भाइहरूका टिठलाग्दा अनुहार झलझली नाच्छन् ।

ठाँटीबासका क्रममा बेचल्तीको बाटोमा पहिलो पटक नेपाली पाइला परेको भान हुन्छ जोशीलाई । उनको नजर ठाँटीको टाँडमुनि ढुंगाको तीनमुखे चुलो, सिलावरको डेक्ची, मुख काटिएका जर्किनमा मात्र पर्दैनन्, दलिनमा घुसारिएको ब्राइटर टुथपेस्ट नामक नेपाली मन्जनको खोलमा पुग्छन् । अनि थाहा हुन्छ, यो चोरबाटो भएर विदेशी भूमिमा श्रम बेच्न जाने अभागी युवाहरूको लावालस्करै छ । विभिन्न मोडबाट गुज्रिएपछि बल्लतल्ल थाइल्यान्डको राजधानी बैंककको एयरपोर्टमा मनाङे साहुको सामान पास गरिदिएर उनी स्वदेश फर्किन्छन् । बीएन जोशीले वैदेशिक रोजगारीका क्रममा भोगेको त्रासद संस्मरणलाई सिंगो पुस्तककार रूपमा पस्किएका छन्, ‘श्रमाटन’ । ‘पुनर्जीवन’ र ‘सफर’ गरी दुई किस्तामा कहरैकहरको फेहरिस्त छ । पहिलो किस्तामा एउटै गन्तव्यका शृंखलाबद्ध १० वटा संस्मरण छन् भने दोस्रोमा अलग–अलग आधा दर्जन संस्मरण । १६ वटा संस्मरण छुट्टाछुट्टै पढ्दा पनि त्यसको मिठासमा कुनै व्यवधान आउँदैन ।

लेखक जोशी सन् १९९५ देखि २००४ सम्म चार–पाँच देशमा भौँतारिएका देखिन्छन् । दलालमार्फत अवैध मार्ग भएर जाँदा सास्ती खेप्छन्, पटकपटक जेल बस्छन्, मृत्युसँग साक्षात्कार गर्छन्, तर खासै कमाउन सक्दैनन् । यस्तो लाग्छ, दुःख पाउनु, पछुताउनु अनि विदेशतिरै धाउनु नेपाली युवाहरूको साझे कथाव्यथा हो । नयाँ नयाँ भूगोलमा रहँदा उनीहरूले भिसादेखि भाषासम्मको धर्मदेखि संस्कृतिसम्मको समस्या झेलेका हुन्छन् ।

उदाहरणका लागि जोशी नै आफ्ना बोससँग निडरताका साथ बोलेको निहुँमा कतारी जेलमा पाहुना लागेका छन् । त्यहाँ उनले चिनेजानेका साथीभाइ समेत फेला पार्छन् । वास्तवमा वर्षौं बेखबर भनिएका नेपाली युवा कि जेलमा छन् कि त सुकुटी भइसकेका छन् । महिनौँ लगाएर लुकीछिपी मरुभूमिमा हिँड्दा कति भोकले पिल्सिएर मरेका छन्, कति देह जंगली जनावरको आहारा भएका छन् । कतिका शरीर समुद्रमै समाहित भएका छन् ।

जोशीले नै मरुभूमिको यात्रामा मृगका बथान र खरायोका टोलीसँगै मानिसकै सुकुटी (लास) पनि भेटेका छन् । बेपत्ता भएका भनिएका कति भुइँतहका नेपाली दाजुभाइ त्यसरी सुकुटी भएका होलान् ? निम्नकोटि श्रम गर्न बाध्य कतिपयले असामयिक मृत्युवरण गर्नुपरेकै छ । पुस्तकमा लेखक जोशीकै भाइ गोविन्द समेत बन्द बाकसमा पार्सल भएर आइपुगेको दृष्टान्त छ ।

‘श्रमाटन’ लेखककै जीवनको ‘फ्ल्यासब्याक’ हो । देशमा जोर बन्दुकको नग्ननृत्य चलिरहँदा उनले स्वदेशमै इलम गर्ने अठोट नगरेका पनि होइनन् । केही लाख जोरजाम पारेर राजधानीको चक्रपथबाहिर स्वव्यवसाय गर्न खोज्छन् । तर, फेरि पनि ‘भगौडा’ डीएसपीको पछि लागेर विदेशकै बाटो तताउँछन् । तर, एयरपोर्टबाट फर्काइँदा जहाजमा उड्दाउड्दै डेढ लाख ओम स्वाहा भएको छ ।

संस्मरण विधा घटना, दृश्य, क्षण र अनुभवको स्मृतिसागर हो । यसमा अविस्मरणीय घटना अनि संवेदात्मक अनुभूतिको प्रबलता हुन्छ । लेखकहरू पुराना घटनालाई तरोताजा बनाएर प्रस्तुत गर्छन् । लेखकहरू केमा विश्वास गर्छन् भने संस्मरण लेख्नु भनेको आफैँसँग इमानदार हुनु हो । मनका स्वीकारोक्तिहरूको साक्षी बस्नु हो ।

संस्मरण साहित्यमा लेखकको निजी इतिहास हुन्छ, तर कोरा इतिहास चाहिँ होइन । त्यस हिसाबमा ‘श्रमाटन’ मा लेखक जोशीले आफ्नै बढाइचढाइ गरे भन्न मिल्दैन । यो विधाको स्वभाव नै यस्तै हो । साथीसंगाती या अरु पात्र त साक्षी मात्र हुन्छन् । यो इतिहासको त्यस्तो किताब होइन, जसको पहिलो पृष्ठमा मात्रै लेखकको नाम होस् ।

कुनै कुनै अध्याय लामा पनि छन् तर पट्यारलाग्दा छैनन् । संस्मरणको सीमा के भने छोट्यायो छुट्छ, लम्यायो भने पाठकलाई ‘बोर’ हुन्छ । संस्मरणको कथामात्र नभएर वाचक र नायक लेखक नै हुन्छ । सबैजसो पाठमा लेखक जोशी मायालाग्दा नै भेटिन्छन् । उनका एकाध कमजोरीमा पाठक आँखा चिम्लन विवश हुन्छ ।

‘श्रमाटन’ को पीँधमा कम्तीमा पनि २०–२५ वर्ष पुराना घटनावलि छन् । विधागत रुपमा संस्मरणात्मक निबन्ध भए पनि यिनमा कथा, कविता, निबन्ध, नाटक आदिको मक्टेल–कक्टेल तीक्ष्ण छ । यस अर्थमा यो पुस्तक सहरको गमला होइन, गाउँको फूलबारीजस्तो छ ।

संस्मरण आफ्नो पनि हुन्छ, अरूको पनि । तर, यो पराख्यान होइन, स्वआख्यान हो । संवाद, परिवेश र चरित्रचित्रण औपन्यासिक लाग्छ । ठाउँठाउँमा आत्मालोचनाजस्ता घच्चीका सूक्तिमय पंक्ति भेटिन्छन्– ‘उमेर र उमंगको भर हुँदैन ।’ ‘पहिलो गल्तीको उपज पनि गल्ती नै हुँदोरहेछ ।’ ‘भाग्यमा विश्वास नगर्ने मान्ठा म तर उसैले ठग्यो ।’ लेखक ठाडै घटनाको चाङ लगाउँदैनन् । अलिकति पृष्ठभूमि बाँध्नु उनको लेखनको समस्या भन्दा पनि सबलता हो । संस्मरणहरू चप्पलका फितामा टिमिक्क बाँधिएका गोडाजस्तै छन् । निजी दुःखको कथाव्यथा समेत रौसे यायावरले जसरी लेख्नसक्नु बीएन जोशीको गद्यशिल्पको अभूतपूर्व सफलता हो । यसमा उनीभित्रको सम्पूर्ण लेखकीय प्रतिभा उद्घाटित छ । यावत् कुरालाई तपसिलमा राख्ने हो भने पनि बीएन जोशीले नेपाली साहित्य संग्रहमा कमसेकम एउटा शब्दोपहार दिएका छन्, ‘श्रमाटन’ ।

प्रकाशित : माघ २४, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?