कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राइन किनारमा ‘शेर्पा दाइ’

जुन ‘शेर्पा’ को नामले यो देश चिनिन्छ, तिनै शेर्पाको हैसियत यो देशमा के छ ? मेरै अनुहारको हैसियत यो देशमा के छ ?
भूपाल राई

आयरल्यान्डबाट छोरा रिदुमको फोन आएको दिन यस्तो लाग्छ, घरमा अचानक कोभिड– १९ को खोप आइपुगेको छ । ऊ सकुशल रहेको जानकारीले पनि हामीलाई त्यस्तै महसुस दिलाउँछ कि मानौँ त्यो खोप उसकै मुस्कानमा छ । छोराले देश छाडेको लगभग सात वर्षको लामो अन्तरालमा यत्तिको चिन्तित हामी सायदै थियौँ । हामी मात्र होइन देश–विदेशमा रहने आफ्ना सन्तानप्रति हरेक अभिभावक यतिखेर समान मनोदशामा छन् ।

राइन किनारमा ‘शेर्पा दाइ’

भनिरहनु पर्दैन, कोभिड–१९ ले यतिखेर दस दिशामा भागिरहेको संसारलाई त्रासकै नाममा सही, एउटै चिन्ता र चिन्तनको गुफामा फर्काएको छ । एउटै संवेदनाको आदिवासी हावाको झापडले हानेको छ । अनुभूति एउटै आकाशझैं साझा बनेको छ । यतिखेर व्यक्तिगत तवरमा गर्न सक्ने भनेको बढीमा आफ्नो ढाडसको मनोवैज्ञानिक मल्हम आफैंले लेपन गर्नु शिवाय अर्को केही छैन ।

जसु सधैँ हतारहतार एकसूत्रीय प्रश्नबाट कुरा अगाडि बढाउँछिन्, ‘बाबु, कस्तो छस् नि... सन्चै छस् ?’

छोराको ‘सन्चै छु’ बाट उनले जुन राहत महसुस गर्छिन्, त्योभन्दा शीतल मल्हम यतिखेर दुनियाँमै बनेको छैन ।

म छेउमा बसेर आमा–छोराको संवाद यस्तरी सुन्छु, मानौं कुनै अत्यन्तै मीठो गीत मेरो हृदयलाई स्पर्श गरेर गुज्रिरहेको छ । हुन पनि बिरानो भूमिमा रहने आफ्नो सन्तान सन्चै रहेको खबर सुन्नुभन्दा सुन्दर यतिखेर कुन गीत हुन सक्छ !

आमा–छोराको यस्तै चिन्ताबाट सुरु भएर यस्तै राहतमा टुंगिने निरन्तरको कुरामध्ये भर्खरैको एउटा संवादले भने मेरो ध्यान अलि फरक विषयतिर मोडिन पुगेको छ । पलपलको कोभिड चिन्ताको बीचबाट मानौँ अचानक राहतको पुलिन्दा आइपुगेको छ । विश्वजनिन संक्रमणबारे त चिन्तित त्यसै पनि हुनै छ । लेख्नु पनि छँदै नै छ । तर, आज म केही दिनअगाडिको त्यो संवादको कारण जुन विषयान्तरमा छु, खास त्यतातिर बढी केन्द्रित छु ।

तिनी भनिरहेकी थिइन्, ‘बाबु, तँ बसेको छिमेकी देश यूकेमा त फेरि लकडाउन लागेको छ रे नि... !’

छोरा– ‘हो त... !’

‘विपद्मा यस्सो सहयोग गर्ने साथीहरू तेरो देशमा छन् त ?’

‘भैहाल्छ नि, चिन्ता नलिनू न... !’

‘अनि त्यहाँकाहरूले नेपाली भनेर चिन्छन् त ? त्यो देशमा नेपालीहरूलाई कस्तो मान्छन् ?’

छोरा भनिरहेको थियो, ‘युरोपमा बेलायत नजिकका केही देशकाहरूले नेपाली भनेर धेरथोर जान्दछन् । उनीहरूले हामीलाई मन पराउँछन् । बरु हाम्रो तुलनामा इन्डियन, पाकिस्तानिलाई त्यति मन पराउँदैनन् । म बसेको देशमा नि त्यै हो... हामीलाई राम्रै ठान्छन् ।’

‘कसरी नि ?’

‘यताकाहरूले नेपाली भनेपछि दुईथरीका मान्छेलाई चिन्दछन्– एउटा लाहुरे, अर्को शेर्पा । लाहुरे भनेको अत्यन्तै अनुशासित, आज्ञाकारी र बहादुर मान्छे भनेर जान्दछन् । र, शेर्पाचैं एकदम इमानदार र कडा परिश्रमी हुन्छन् भन्ने ठान्दछन् । उनीहरूकै देशका मान्छे भनेर हामीलाई यहाँ मन पराउँछन् ।’

विश्व महामारीको सन्दर्भले तानेको सानो लहरोजस्तो छोराको यही उत्तरले आज मलाई विषयान्तर गराएको हो । उसको सरल उत्तरले मलाई अचानकै ख्याल हुन गयो, ऊ यतिखेर त्यस्तो देशमा छ, जसले नेपाल भनेपछि दुईखाले मान्छेहरूको देश भनेर चिन्दछ– लाहुरे र शेर्पा । छोराले सजिलोका लागि ‘लाहुरे’ शब्द प्रयोग गरे पनि तिनीहरूका लागि ती ब्रिटिस गोर्खा सेनाका बहादुरहरू हुन्, जसबारे धेरै कथ्य–कहानी बुनिसकिएको छ । अनेक किंवदन्तीहरू उनीहरूले सुनिसकेका छन् । तिनीहरूका बारेमा हाम्रा आफ्नै पनि फरक–फरक धारणा अवश्य छन् । तर शेर्पा ? जसको बारेमा हाम्रो आफ्नै समेत स्थूल धारणा बनिसकेको छैन । तर, जसको नामले विश्वका केही देशहरूले एउटा सुदूरको अनजान देशलाई चिन्दछ, वास्तवमा यो कुरा भने निकै घतलाग्दो छ । र, यही घतलाग्दो कुराले म यतिखेर ध्यानस्थ छु । अथवा भनूँ ध्यान विकेन्द्रित छु ।

छोराको मुखबाट व्यक्त हुन गएको त्यही ‘शेर्पा’ भन्ने शब्दले आज मलाई एक्कासि एघार वर्ष पुरानो आफ्नै एउटा यात्रा–कथा सम्झाइरहेको छ ।

र, खास मेरो विषयान्तरको यात्रा–कथा अब यही बिन्दुबाट सुरु हुन्छ ।

सन् २००९ डिसेम्बर–६ तारिखको दिन, हामी जर्मनिको ऐतिहासिक सहर कोलोन छाड्दैथ्यौँ । कोलोनबाट दक्षिण पूर्वमा अवस्थित जर्मनीकै अर्को प्रसिद्ध सहर हाइडलबर्गतर्फ प्रस्थान गर्दैथ्यौँ ।

‘हामी’ भन्नाले मेरो साथमा अन्य तीन कविहरू छन्– बेन्जु शर्मा, कृष्ण धरावासी र विप्लव प्रतीक । साथमा हाम्रो जर्मनी यात्राभरि पथ–प्रदर्शकको रूपमा खटिएका एक वृद्ध दम्पती– उल्फ बार्निके र यहन्ना बार्निके । यी दुई बूढा–बूढी जिटिजेड नामक नेपालस्थित एक जर्मन प्रोजेक्टमा कार्यरत हुँदा निकै समय नेपाल बसेका । त्यसैले पनि सम्भवतः उनीहरू हाम्रो पथप्रदर्शकको रूपमा चयन भएका हुन् । नोभेम्बर–३० तारिखबाट जोडिएर निरन्तर यात्रारत यो दस्तामा हामी जम्मा ६ जना छौं ।

यात्राको प्रसंग आइसकेपछि त्यसको संयोग र तारतम्यबारे पनि छोटोमा खुलाउनैपर्ने हुन्छ, छोटोमा । किनभने त्यसको वृत्तान्त बयान आजको विषयभित्र पर्दैन । मात्र यत्ति कोट्याइराख्दा काफी हुन्छ । हामी चार नेपाली कविहरू अनपेक्षित रूपले त्यो समय जर्मनीको कविता यात्रामा थियौँ । जर्मनीका पाँच ठूला र ऐतिहासिक सहरहरू बर्लिन, लेइप्जिग, कोलोन, हाइडलबर्ग र फ्र्यांकफर्टमा हामीले कविता सुनाउनु थियो । चारै जना कविहरूले एउटै ‘सहर’ शीर्षकको कविता सुनाउँदै हिड्नुँपर्थ्यो, जुन शीर्षक हामीलाई नेपाल छँदै त्यही जीटीजेड नामक जर्मन प्रोजेक्टले प्रदान गरेको थियो । त्यसले त्यो शीर्षकमा झन्डै सयभन्दा बढी नेपाली कविलाई काठमाडौंमा ककटेल पार्टीसहित भेला गराएर कविता लेख्न अनुरोध गरेको थियो । तिनै कविमध्ये हामी चार जना छानिएर त्यो यात्रामा निस्किएका थियौं (यसको छुट्टै कथा छ, जसबारे आवश्यकता पर्‍यो भने पछि कतै चर्चा गारिनेछ) ।

यसरी बर्लिनबाट सुरु भएको हाम्रो कविता–यात्राको चौथो लक्षित सहरतिर अब हामी उन्मुख छौँ । योभन्दा अगाडि बर्लिन र लेइप्जिगको कार्यक्रम पूरा गरेर हामी कोलोन आइपुगेका हौँ । हाम्रो अन्तिम या पाँचौं डेस्टिनेसन सहर भनेको फ्र्यांकफर्ट हो, जो हाइडलबर्ग पुगेपछि जोडिन्थ्यो ।

हामीले दिउँसो २–३ बजेतिर कोलोनलाई बिदा गर्‍यौं । सम्पूर्ण युरोपभरि जाडोको ग्राफ उच्च बिन्दुमा थियो । कोलोनबाट रेल चढ्नासाथ रेलले राइन नदीको दाहिने किनार समात्यो । हामी राइन नदीको किनारै–किनार विपरीत धार बनाएर रेलसँगै दौडिन थाल्यौँ । मानौँ, त्यो भव्य र सुविधासम्पन्न लम्बाकार रेल पनि अर्को राइन थियो, जसभित्र हामी माछाझैं उँधैउँधो बगिरहेका थियौँ । मानव सभ्यताको कुनै कालातीत क्षणभन्दा अगाडिदेखि कुँदिएको त्यसको नागबेली बान्की र मौन आमन्त्रणबाट हामीलाई बिस्तारै लोभ्याइरहेको थियो । स्वच्छ, सफा र नीलो नदी देखेर मलाई यस्तो लाग्यो, मानौँ धेरैपहिले नै म यससित परिचित छु । पहिले नै कुनै दिन मैले टेकिसकेको छु यसको नागबेली किनार । छोइसकेको छु, यसको नीलो कञ्चन पानी । वास्तवमा राइनबारे उहिले नै कतै आख्यानहरूमा पढिसकेको धूमिल स्मृतिको प्रतिच्छाया थियो त्यो ।

मिस्टर उल्फ बार्निके भन्छ, ‘राइन नदी जर्मनीको प्रमुख नदीमध्येको एक हो । जर्मनी मात्र होइन, युरोपभरिकै विशेष नदी । युरोपेली सहरी सभ्यताको मेरुदण्ड पनि हो राइन । स्विट्जरल्यान्डदेखि उद्भव भएर उत्तरी सागरसम्मको लगभग १२३३ किलोमिटरको यात्रामा यसले अनगिन्ती मानव बस्ती बसालेको छ । झन्डै सोह्र सय वर्षअगाडि यही नदी भएर उँधै–उँधो लागेका थिए रोमनहरू । जहाँ जहाँ उनीहरू पुगे त्यहाँ त्यहाँ आफ्नो कोलोनी बसाल्दै गए । तिनै रोमनहरूले बसालेको कोलोनी हुनाले ‘कोलोन’ नाम रहन गएको हो ।’

भर्खरै मात्र छाडी आएको ऐतिहासिक सहर ‘कोलोन’ को न्वारान–कथा सुनेर हामी अवाक् बनेका थियौँ । हुन पनि युरोपका जेजति प्रसिद्ध र ऐतिहासिक सहरहरू छन्, ती सब कुनै न कुनै नदीको किनारमा बसेका छन् । लाग्छ, मानव सभ्यता भनेको नदीका अक्षुण गाथा हुन् ।

राइनको मनमोहक दृश्य र रोमाञ्चक वर्णनमा हराउँदै गइरहेका बेला लगभग २४–२५ किलोमिटरको दूरीमा हाम्रो रेल बोन स्टेसनमा रोकिन्छ । सन् १९९० मा बर्लिनको पर्खाल भत्किनुअघि अर्थात् जर्मनी एकीकरण हुनुअघि पश्चिम जर्मनीको राजधानी हो– बोन । त्यहाँबाट ८–१० जनाको एक हूल तरुनी केटीहरू एकाएक हल्ला गर्दै रेल चढ्छन् र हाम्रै बगलमा बस्छन् । एकै दाँवले, उस्तै बान्कीका, अग्ला, कसिला र हट्टाकट्टा एक से एक तरुनी केटीहरू बडो निस्फिक्री भावमा हल्ला गरिरहेको देखेर हामी हाम्रो बूढा गाइडतर्फ आँखा तेर्स्याउँछौँ । उल्फले हाम्रो आशय बुझेर भन्छ, ‘स्कुल गर्लहरू, क्रिसमस बिदामा घर फर्किरहेका... ।’

बूढाको कुराबाट पो थाहा हुन गयो, हाम्रा आँखामा पूर्ण वयस्कझैं लागिरहेका ती केटीहरू त भर्खरका किशोरी रहेछन्– भर्खर स्कुल पढ्दै गरेका, स्कुल गर्ल । आफूले आफैंसँग संवाद गरेँ । शारीरिक संरचनाको भेद र स्वास्थ्य अनुकूलताले पनि कत्ति फरक पार्दो रहेछ, मान्छेको उमेरजन्य अनुमानलाई !

हाम्रो रेल यति भव्य र फराकिलो छ, जसको दायाँ–बायाँ दुइटा ठुल्ठूला खुला क्याबिनहरू एकसाथ अटाएका छन् । एउटै क्याबिनमा ८–१० जना मान्छेहरू आरामले सुत्न र बस्न मिल्ने चतुष्कोणीय काउचहरू मिलाइएका छन् । बीचमा फराकिलो प्यासेजले मात्र छुट्याएको छ दुई कोठरीलाई, बाँकी सब खुला । दायाँ–बायाँ आँखाको भलाकुसारी बेरोकटोक गर्न मिल्ने । त्यही खुला र आरामदायी दाहिनेपट्टिको लेनमा छिल्लिँदै बसिरहेका छन्, ती किशोरीहरू । कोही कसैको काखमा सुतिरहेका, कसैले कसैमाथि खुट्टा चढाइरहेका । कसैले कसैलाई प्याट्ट हिर्काउँदै चञ्चलता छरिरहेका ।

रेल आफ्नै गतिमा दौडिरहेको छ । हामी आ–आफ्ना लेनका यात्रीहरू आ–आफ्नै धुनमा छौँ । निकै पर पुगेपछि पो कसोकसो मेरा आँखा दाहिने लेनमा ठोक्किन पुग्छन् । एक्कासि लाग्छ, ती केटीहरूले बडो उत्सुकतावश हामीलाई हेरिरहेका छन् । कतै संयोगले आँखा जुधेको मात्रै पो हो कि ! या मेरो भ्रम मात्रै पनि हुन सक्छ । यस्तो सोचेर एक छिन घोरिन्छु । फेरि आँखा कर्काएर हेर्छॅ । तर, होइन तिनीहरू साँच्चि नै प्रत्येकले टाउको उठाई–उठाई यतै हेरिरहेका हुन्छन् । एकै छिनअगाडिसम्म हल्ला गरिरहेका केटीहरू खै के–के खासखुस गर्दै यतै चियाउनमा व्यस्त छन् । अझ एक छिनपछि त यस्तो पनि लाग्छ, तिनीहरूले खास मलाई नै हेरिरहेका छन्, मलाई नै । यो सोचाइले अचानक मभित्र अनौठो तरंग पैदा गराउँछ । आफूलाई छाम्छु । कलेजी रङको कटराइज पाइन्ट लगाएको छु । तीन खाप हाइनेक र स्वेटरमाथि बाक्लो हरियो ज्याकेट भिरेको छु । जाडोको कारण ऊनीको हिमाली काने टोपी ओढेको छु । कसोकसो मभित्र छुट्टै सौन्दर्यबोधको टुसा पलाउँछ । लाग्छ, तिनीहरू अब कोही किशोरी छैनन् । एकाएक वयस्क तरुनी भएका छन् । सोच्छु, मेरो जर्मनी यात्रा बल्ल रोमाञ्चक हुन पुगेको छ ।

यात्रामा कहिलेकाहीं यस्तो हुन्छ । यस्तो हुन सक्छ । तर, यो के भइरहेथ्यो यसबारे भने म बिल्कुल अञ्जान थिएँ । मेरा साथीहरू त झन् यसबारे पूरै अनभिज्ञ । ती चञ्चल केटीहरूले हामीतिर नियालिरहेको हेक्कासमेत उनीहरूलाई थिएन । मान्नोस्, त्यो दृष्टिसुखको आनन्द निकै बेरसम्म म एक्लैले भोगिरहेँ ।

...

कतिलाई लाग्न सक्छ, म यहाँ आफ्नो पुरानो यात्राको रोमाञ्चक कथा सुनाउन लागिरहेछु । अथवा आफूलाई त्यो कथाको एक अघोषित नायक करार गरिरहेछु । यात्रा लेखनको दौरान अक्सर यस्तो देखिन्छ । यात्रा–नायक पूरै कथ्यभरि वाचाल भएको र उसको महानायकत्वको बखान थुप्रैपटक पढेको छु । तर, यहाँ म फगत आफ्नो नायकत्व मात्र साबित गर्न गइरहेको छैन । यदि त्यसको क्षीण मोह हुन्थ्यो भने एघार वर्षअगाडि नै मैले त्यो लेखिसकेको हुन्थेँ । यो त त्यस्तो एउटा घटना–सूत्र थियो, जसले एउटा आकारका लागि यतिका वर्षसम्म पर्खिनुपरेको थियो । र, म अरू केही थिइनँ, बढीमा त्यही घटना सूत्रको एक सूत्रधार थिएँ ।

किशोरीहरूको लेनबाट सोझिएका जोरजोर नजरको निसाना अझै रोकिएको छैन । झन् त्यसको सामीप्य बढिरहेको छ । उनीहरूले जर्मन भाषामा कल्याङकुलुङ गर्दै यता ताकिरहेकै छन् । अब उनीहरूले मलाई हेरेको कुरा पुष्टि गरिरहनु कुनै जरुरी रहेन । मेरो अनुमान लगभग सत्य साबित भइसकेको छ । तिनीहरूको खलबलबाट केही आशय बुझेर हुन सक्छ, हाम्रो गाइड बूढा एकाएक तिनीहरूतिर बढ्छ र छेउमा गएर उभिन्छ । म देख्छु, तिनीहरूबीच जर्मन भाषामा केही वार्तालाप भइरहेको छ । एक छिनपछि त्यहाँ के कुरा हुन्छ कुन्नि, एक्कासि मिस्टर उल्फ मतिर फर्किंदै भन्छ, ‘भूपाल, के तपाईं एक छिन यहाँ आउन सक्नुहुन्छ ? यी किशोरीहरूले तपाईंलाई भेट्न चाहिरहेका छन् ।’

बूढा गाइडको बोलावटले एकछिन त म के गरूँ कसो गरूँको स्थितिमा गुज्रिन पुगेँ । तैपनि बोलाइसकेपछि नजाऊँ कसरी ! बिस्तारै प्यासेज नाघेर तिनीहरूको लेनमा प्रविष्ट भएँ । म तिनीहरूको छेउमा के पुगेको थिएँ, जम्मै किशोरीहरू बडो आतुरताका साथ मतिर फर्किए । बूढाले भन्यो, ‘ल बात मार, नेपाल भन्ने टाढाको देशका मित्रसँग... ।’ बूढाको अनुमति मात्र के पाउनु थियो, लगत्तै एउटी किशोरीले मलाई त्यस्तो प्रश्न गरी, जसको मैले कल्पनासम्म गरेको थिइनँ ।

सोधी, ‘आर यु शेर्पा ?’

प्रश्नले म एक छिन त साँच्चि नै तिलमिलाएँ । त्यही तिल्मिलाहटबीच मैले फेरि बिस्तारै आफूलाई छामेँ, मेरो गोलमंगोल अनुहार, मझौला किराती नाक, चिम्सो आँखा, मैले ओढेको त्यो हिमाली काने टोपी । अनुमान गरेँ, यिनै कुराले गर्दा सायद तिनीहरूले मलाई शेर्पा ठानेका थिए ।

मैले बिस्तारै उत्तर दिएँ, ‘हैन, म शेर्पा हैन... ।’

अर्कीले भनी, ‘तर, तपाईं शेर्पाजस्तै देखिनुहुन्छ त । ओ ! शेर्पा ब्रदर... !’

मैले उसको उत्तर दिनुको सट्टा उल्टो एउटा प्रतिप्रश्न तिनीहरूको बीचमा राखेँ, ‘के तिमीहरूलाई शेर्पाबारे थाहा छ ?’

लगत्तै त्यही पहिलो प्रश्न गर्नेले भनी, ‘शेर्पा अत्यन्तै साहसी र कडा परिश्रमी हुन्छन् । तिनीहरू गह्रुंगो गह्रुंगो भारी बोक्छन् । र, अग्ला अग्ला पहाड चढ्छन् ।’

टुटेफुटेको अंग्रेजीमा आएको (जर्मनहरू बाहिरका मान्छेसँगबाहेक अक्सर अंग्रेजी भाषा बोल्न रुचाउँदैनन्) यो उत्तर यस्तो थियो, जो मानौँ मेरो अपेक्षाभन्दा धेरै माथिको उचाइबाट खसेको कुनै गह्रुंगो वस्तु होस् । केहीअघि मात्र मभित्र टुसाएको सौन्दर्यबोधको टुसा जरैबाट उखेलिएको थियो । त्यसको ठाउँमा

आफ्नो अनुहारको बनावटले प्रदान गरेको थोरै गर्वबोध थपक्क आएर बसेको थियो । किशोरीहरूको हाँचलाई एकपल्ट सर्सर्ती नियालेँ । अचम्म ! यति कलिलो उमेरका स्कुले केटीहरूमा कसरी पलायो यत्तिका ज्ञान ? कुन अन्तरज्ञानले घच्घच्याएर उनीहरू कुरा गरिरहेछन् एक सुदूर र अञ्जान विषयबारे ?

एक छिनपछि उल्फ बार्निकेले तिनीहरूलाई भनिरहेको सुनेँ, ‘यिनीहरू शेर्पा होइनन् । कविहरू हुन् । हाम्रा ठूला ठूला सहरमा कविता सुनाउन आएका । यही सिलसिलामा आज हामी हाइडलबर्ग जाँदै छौँ । त्यहाँबाट फ्र्यांकफर्ट जानेछौँ । त्यसपछि यिनीहरू आफ्नो देश नेपाल फर्किनेछन् ।’

बूढा गाइड सम्झाइरहेको थिए । तर, तिनीहरू सम्झिए पो ! म आफ्नो क्याबिनतिर फर्किंदा–नफर्किंदै एक जनाले फुस्फुसाइहालिन्, ‘शेर्पा ब्रदर... !’

...

मिस्टर बार्निके आफ्नो सिटमा फर्किएपछि हामीलाई फेरि

दृश्यलोकतिर आमन्त्रण गर्छ ।

रेलको झ्यालबाट देखिन्छ, राइनको वारिपारि दुवैतिर चिल्लो र सफा सडकले नदीलाई समानान्तर पछ्याइरहेको छ । पारि सडकमा मसिना र सुकिला गाडीहरू बिजुलीको तारमा पानीका थोपाझैं एकतमास सलल गुडिरहेका छन् । नदीको किनारमाथि, सडकै सडक मसिना र सफा रङका घरहरू कनिकाझैं छरिएका छन् । तल नीलो पानीमा बग्रेल्ती डुंगा, स्टिमर र पानीजहाजहरू उँधो–उँभो तैरिरहेका छन् । पारि आँखाले नभ्याउने गरी फैलिएका गहुँका हरिया फाँट । जताततै समतल भूमि । स्वदेशमा हुँदा पहाडमा ठोक्किरहने हाम्रा अभ्यस्त आँखाहरू त्यो समतल मैदानमा कतिखेर कहाँ हराउँछन्, पत्तै हुँदैन । त्यही समतल धर्तीमा यसरी आवाजविहीन, चुपचाप चुपचाप बहिरहेछ राइन नदी, जसले मौन भाषामा बकिरहेछ शताब्दियौँदेखिको मानव सभ्यताको इतिहास ।

निकै पर पुगेपछि एक ठाउँ पारि किनारमा एउटा बडेमानको चट्टान पल्टिरहेको देखिन्छ । राइनको विपरीत बहावमा बगिरहेका हामी रेलका माछाहरूलाई त्यतातिर देखाउँदै उल्फ भन्छ, ‘त्यो चट्टानको एउटा मायावी कथा छ, सुन्ने हो ?’

हामी उत्सुकताकावश एकैसाथ कान थाप्छौँ ।

ऊ भन्छ, ‘उहिले कुनै एक समय, वारिबाट एउटा माझी डुंगा खियाउँदै पारि तरिरहेको हुन्छ । नदी उसैगरी शान्त बहिरहेको हुन्छ । बीचमा पुगेपछि उसले अचानक देख्छ, त्यो चट्टानमा एउटी अत्यन्तै सुन्दर युवती आफ्नो सुनौलो केश कोर्दै घाम तापिरहेकी हुन्छे । माझी हतार–हतार डुंगा खियाउँछ । जतिजति नजिक पुग्छ, सुन्दरीको कपाल झन् झन् लहरिँदै गएको देख्छ । उसको सुनौलो कपाल भुइँमा लत्रिएको पछाडिबाट प्रस्टै देखिन्छ । माझीलाई बडो हतार छ, कतिखेर त्यहाँ पुग्ने र उसलाई बोलाउने ! ऊसँग चिनापर्ची गर्ने ! तर, जब बडो रफ्तारका साथ माझी त्यो चट्टानको छेउमा पुग्छ, त्यो मायावी युवती अचानक त्यहीँ हराउँछे । डुंगा त्यो चट्टानमा एकाएक बज्रिन पुग्छ । र, माझी त्यहीँनिर नदीमा डुबेर मर्छ ।’

अन्तिममा उल्फ भन्छ, ‘आज पनि यदाकदा सुनिन्छ– त्यो चट्टानमा कैलेकाहीं त्यही मायावी युवती कपाल कोरिरहेकी देखिन्छे ।’

बडो विस्मित भएर हामी पारितिर आँखा तेस्याउँछौँ । राइनले निर्माण गरेको एउटा अद्भुत कथा भएर पल्टिरहेको चट्टानलाई हेर्छौँ । तर, रेलको रफ्तारले हामीलाई धेरै बेरसम्म त्यो सुविधा के दिन्थ्यो ? हाम्रा आँखाबाट त्यो मायावी चट्टान एकै छिनमा ओझेल पर्छ ।

उल्फ भनिरहेकै हुन्छ, ‘यस्ता कैयौँ परीकथा, किंवदन्ती छन् राइनसँग जोडिएका, जसलाई हामी जर्मनहरू आफ्नो अविच्छिन्न सम्पदा ठान्छौँ ।’

परीकथाको सन्दर्भ जोडिएपछि फेरि मेरो ध्यान दायाँ लेनका परीहरूतिर जान्छ । त्यतिका समयसम्म पनि उनीहरूको दृष्टितन्तु अझै टुटिसकेको छैन । एकाध टाउकाहरू घरी घरी मेसो मिलाएर यता फर्किरहेकै हुन्छन् ।

हाइडलबर्ग स्टेसन पुग्दा झमक्क साँझ परिसकेको थियो । बार्निके दम्पतीले उर्दी जारी गरे, ‘अब झरूँ, गन्तव्य आइपुगेको छ ।’ हामीले आ–आफ्ना पोकापुन्तुरा सम्हालेर आज्ञाकारी बालकझैँ उनीहरूलाई पछ्यायौँ । साँझका स्टेसन र सडकबत्तीहरू बलिसकेका थिए । स्टेसनमा झरेर आफू चढेको रेललाई अन्तिम बिदाइ गर्न फर्केका मात्रै के थियौँ, झ्यालमा अटी नअटी तिनै किशोरी परीहरू हात हल्लाइरहेका थिए । राइनको किनारमा अकस्मात् भेटिएको आफ्नो ‘शेर्पा ब्रदर’ लाई फेरि कहिल्यै नभेट्ने गरी बाई बाई गरिरहेका थिए ।

...

त्यो अञ्जान ठाउँमा अञ्जान परीहरूसँग फेरि कहिल्यै नभेटिने गरी छुटेको आज ठ्याक्कै एघार वर्ष बितेछ । न उनीहरूको कुनै नाम छ । न अनुहारको झल्को । मात्र एउटा छोटो वाक्यांश मेरो मनमा अझै पनि जीवित छ, ‘आर यु शेर्पा ?’

आज सम्झिन्छु, त्यो छोटो वाक्यांशको हठात् प्रयोग जुन भएको थियो, त्यो शतप्रतिशत मेरो नृजातीय अनुहारको उपज थियो । मेरो आनुवंशिक संरचनाको परिणाम । यसले आज त्यसैत्यसै मेरो छाती गर्वबोधले ढक्क फुलेर आउँछ । किनभने मेरो अनुहारमा त्यतिखेर मेरो देशको सक्कल चित्र विम्बित थियो । भलै म ती परीहरूले सम्झेको शेर्पा थिइनँ । तर, मेरैजस्तो नृजातीय विम्बमा कुनै अञ्जान आँखाले मेरो देश चिनेको थियो । गर्वबोध यसकारण पनि कि तिनीहरूले मेरो देशलाई गरिबै गरिबको देश भनेर चिनेका थिएनन् । भूराजनैतिक छायाले थिचिएको अथवा भ्रष्टाचारले थिलथिलो भएको देश पनि भनेनन् । बहुराष्ट्रिय देशमा एकल नस्लीय दबदबाको तथ्य पनि खोलेनन् । न कुनै राष्ट्रपति, प्रधानमन्त्री या मन्त्रीको नामले देश चिने । चिने त केवल ‘शेर्पा’ को नामले, जो कठोरभन्दा कठोर परिश्रम गर्छ र अग्ला–अग्ला पहाड चढ्छ ।

सबभन्दा महत्त्वपूर्ण र अनौठो कुरा त यो थियो कि त्यति टाढाका ती अबोध किशोरीहरूबाट मैले आफ्नो देशको अदेखा समाजशास्त्र बुझ्ने मौका पाएको थिएँ । आफ्नै वंशाणु विज्ञानको सौन्दर्य मूल्य जान्ने मौका पाएको थिएँ, जो आफ्नै देशमा चैँ बिल्कुल मूल्यहीन थियो । जान्न पाएको थिएँ, देश भनेको त भूगोल मात्र होइन रहेछ । राजकीय ऐनामा सर्वदा दोहोरिइरहने शासकको अनुहार मात्र पनि होइन रहेछ । देश त सत्ताको ऐनामा कहिल्यै नदेखिने मान्छेहरूको चित्र रहेछ । ती मान्छेका धूमिल अनुहारहरू रहेछ । तर, श्रमलाई सदा सम्मान गर्ने देशका बिचरा ती कलिला नागरिकलाई के थाहा– ती गह्रुंगो गह्रुंगो भारी बोकेर अग्ला–अग्ला पहाड चढ्ने मान्छेहरूको श्रमको मूल्य यो देशमा कति छ ? जुन ‘शेर्पा’ को नामले यो देश चिनिन्छ तिनै शेर्पाको हैसियत यो देशमा के छ ? जुन अनुहारको कारणले मैले त्यो छोटो यात्रामा आफ्नो देश चिनाउने मौका पाएँ, मेरै अनुहारको हैसियत यो देशमा के छ ?

थाहा छैन, आज पनि आयरल्यान्डमा मेरो छोरा रिदुमको अनुहारमा कतिले उसको देश उत्खनन गरिरहेका होलान् । र, कतिले त्यसैगरी सोधिरहेका होलान्, ‘आर यु शेर्पा ?’ तर, यो प्रश्न भने अझै मेरो छोरालाई सोध्न बाँकी नै छ ।

प्रकाशित : माघ २४, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?