कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जीवन निस्सार छ मेरी मुवाँ !

मुवाँ हुन्जेल त तैबिसेक सुखी, खुसी लाग्थें आफूलाई र एक किसिमको ढुक्क अनुभव गर्थें । किनकिन आमाको काखजस्तो भर र आँट संसारको अर्थोक केहीमा महसुस गर्न नसकिनेरैछ, चाहे त्यो जतिसुकै महँगो र भव्य सुविधा किन नहोस् ! 
कल्पना बान्तवा

काठमाडौँ — मैले यसअघि केहीपटक छापाहरूमा लेख लेखें– मुवाँ जानुभो ! आमा जानुभो ! तिनीहरू लेखिएका सन्दर्भ थिए– अस्थायी रूपमा केही समय काठमाडौं बसेर मुवाँ पुनः सप्तरी घर फर्कनु ! ती बेलामा पनि मलाई मुवाँको विछट्ट न्यास्रो लाग्थ्यो, तर बिस्तारै मुवाँबिना काठमाडौंमा बस्न र बाँच्न बानी पार्दै जान्थें ।

जीवन निस्सार छ मेरी मुवाँ !

‘मुवाँ त्यहीँ पर सप्तरीको गाउँमा त हुनुहुन्छ’ भन्ने सत्य मुवाँसँगको विछोडमा चित्त बुझाउने मेलो थियो मेरो !

तर, यसपालिको जाडोमा मलाई सधैं सधैंका निम्ति छाडेर, एक्ली बनाएर यो धराबाट जानुभयो मेरी मुवाँ, कहिल्यै नफर्कने बाटो लाग्नुभो ! महाकविको हरफ सापट लिएँ– म कहाँ पाऊ मेरी मुवाँलाई छातीमा लगाऊँ ...उफ ! ‍‍‍‍‍‍‍‍‍‍‍

थाहा पाएदेखि आमालाई ‘मुवाँ’ भन्दै आएँ, त्यसैले उहाँमाथिको यो लेखमा पनि म मुवाँ भन्दै छु ! ‘मुवाँ’ मेरा निम्ति बहुतै प्यारो सम्बोधन् ! र, यो मुवाँ–बुबा सम्बोधन पनि मलाई मुवाँले नै दिनुभएको सत्य बुद्घि पलाएदेखि जान्दछु । राजविराजको सुवर्ण टोल (तत्कालीन लंका टोल, स्वर्ण टोल) मा जन्मेकी मलाई, छरछिमेकका ठकुरी – राणाजीहरूको सुललित बोलीवचनबाट प्रभावित मेरी मुवाँले यस्तो भन्न सिकाउनुभएको हुन सक्छ । नत्र त धेरै किराँतीहरू आमाबाबुलाई ‘आमा–आपा’ भनेर बोलाउँछन् । त्यसमाथि, सप्तरीको हाम्रो गाउँमा राईहरूको घर एकदुई मात्र थिए— वृद्ध भट्टी मान्ने बाजे–बजू दम्पतीको र राई बाजेको ! उहाँहरूलाई ‘आमा आपा’ भन्ने कोही नहुनाले पनि, मैले राई संस्कृति र बोली व्यवहार आत्मसात् गर्न पाइनँ ।

‘जीवन क्षणभंगुर छ, सबैले जाने बाटो त्यही हो, जन्मेपछि एक दिन मर्नैपर्छ र यही नै जीवन–मरणको शाश्वत सत्य हो !’ भनेर मन बुझाउन र हाँस्न फिटिक्कै सकिरहेकी छैन म ! आमासँगको विछोडलाई असामान्य तवरले झेलिरहेकी मलाई देखेर चकित बन्दै कतिले सोच्दा हुन्– कसैका नगएर यसका मात्र आमाबाबु गएजस्तो !

हुन सक्छ— गम्भीर तथा लामो बिमारीका कारण खाट समाएर थलिएको टिठलाग्दो मेरो वर्तमान अवस्था नहुँदो र म स्वस्थ–तन्दुरुस्त भएर पहिलेझैं घरबाहिर जाने, लेखपढका कार्यक्रम र अन्य सभा–समारोहमा हिस्सा लिने, साथीभाइसँग भेटघाट गरेर मनका बह पोख्ने र अँध्यारो गुफामा निसाएको गुम्फन बाँड्न पाउँथे भने सायद आमा जानुको पीडा थेग्न मलाई अलि सहज हुन्थ्यो ! तर, ‘जहाँ गारो त्यहीं सारो’ भनेजस्तो चोटमाथि चोट थपिएको दयनीय हालतको भारले किचिएर–थिचिएर थिलथिलो भएँ म !

आमा हुनुहुँदै, मेरो खोकी सुरु भएको हो र मलाई खाना पटक्कै नरुच्ने हुन थालेको हो । लकडाउनको सुरुआती दिनमा ३/४ महिना मैले खाना खानै सकिनँ, खान खोज्दा बान्ता आउँथ्यो । मेरो लेखनीका प्रशंसक, मेरा शुभचिन्तक र फेसबुक मित्र, मेरा प्यारा माइतीराजा खगेन्द्र खड्का, साथीभाइको बाइकपछाडि बसेर अभेगको मेरो डेरा कपन आकाशेधारामा मलाई भेट्न आउँथे, फोन गरेर सम्झाउँथे, ‘दिदी ! जबर्जस्ती पानीले निलेर भए पनि खाना खाऊ, खाना नखाई तिम्रो कमजोरी हट्दैन !’ उनले मलाई मन पर्ने फलफूल, सातु, डेराकै करेसाबारीमा फलाएका तरकारी, भुटेका मकै–भटमास आदि खानेकुरा उचाल्नै नसकिने बडेमानका झोलामा बारम्बार पठाइदिन्थे । मुवाँ उदेक मानेर सोध्नुहुन्थ्यो– ‘हन, सब मतलबका यार हुने यो मतलबी जमानामा पनि तिमीलाई माया गर्ने, तिम्रो हित चिताउने यस्ता मनकारी मान्छे हुँदारैछन्, हगि मैयाँ ?’

म अभिभूत बनेर मुवाँलाई हाँसेर हेर्दै आँखामा छिपछिपे बाढी पसाउँथे र मनमनै बोल्थे— सायद मैले अञ्जानमा गरेको कुनै सत्कर्म वा पुण्यको फल हुन् यी मेरा भाइ, मुवाँ !

आमाले दिनगन्ती गर्दै भनिरहनुहुन्थ्यो, ‘चैतदेखि खोकी लागेको मेरो छोरीलाई ! आज यति महिना भैसक्यो ! स्वरै भासिइसक्यो, अझै खोकी जाती हुँदैन । हत्तेरिका ! कस्तो ज्याद्रो रोग लागेको मेरो मैयाँलाई ! सारा सकस र दुःख यसैले किन सहनुपर्ने होला !’

३/४ महिनासम्म ठोस खानेकुरा नखाएकाले सुकेर हाडछाला मात्र भएकी थिएँ । अति भएपछि, अस्पतालका साथीहरू भाग्यवती, प्रेमा, अनि भाइ प्रतीक र भाइ खगेन्द्रको सहयोगमा अस्पतालमा जाँच गरियो मेरो ! घरी ह्विलचेयरमा बसेर, घरी भाइले पिठ्युँमा बोकेर मेरो प्रारम्भिक जाँच भ्याइयो । सुरुमा मेरो भोकल कर्डको स्क्यानिङ भयो, स्वर भासिएका कारण । भोकल कर्डको इन्डोस्कोपी–स्क्यानिङमा पत्ता लाग्यो, त्यहाँ सानो ट्युबरकुलर ट्युमर पलाएको रैछ, जसकारण २ महिनादेखि मेरो स्वर भासिएको रहेछ । डाक्टरलाई शंका लागेर लगत्तै मेरो छातीको एक्स–रे पनि गरियो । बाफ रे ! मेरो छाती त कडाखाले क्षयरोगले ध्वस्तै बनाएको रैछ ! झल्याँस्स सम्झिएँ— म धेरै सानी छँदा नै बुबालाई पनि छातीको टीबी भएको थियो, ऊबेला टीबी भएपछि मान्छे हतपती बाँच्दैन भन्थे ।

खुबै नाउँ चलेको धरानको ब्रिटिस गोराहरूको तत्कालीन घोपा क्याम्प (हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) सामान्य नागरिक पहुँचभन्दा बाहिरको सुविधासपन्न अस्पताल थियो । मेरो बुबा प्रहरी हुनुभएकाले भनसुन गरेर बल्लतल्ल त्यहाँ भर्ना हुनुभयो र केही महिना सोही अस्पतालमा बस्नुभो । १८ महिना दबाई खाएर बुबाको टीबी जाती भएको भन्नुहुन्थ्यो मुवाँले ! बुबाको टीबीबारे मैले तीव्र रूपमा सम्झने यादहरू केवल दुइटा छन् । एक, बुबाले सधैं दबाईका धेरै चक्कीसँग उसिनेको एउटा अण्डा र ठूलो ग्लासमा दूध खानुहुन्थ्यो, अनि पाइखानाबाट फिर्दा जहिल्यै पातलो पखाला गयो भन्नुहुन्थ्यो । फुच्ची म वरपर छु भने उसिनेको अण्डा आधा पारेर मलाई बुबाले खान दिनुहुन्थ्यो । बडो मुस्किलले बाँच्नुभएको बुबालाई भएको टीबी सम्झेर मलाई टीबी रोगसँग हदैसम्मको घृणा थियो, विडम्बना ! मलाई पनि त्यही भयो, म आफैंसँग दिक्क भएँ । मान्छेले भित्री मनदेखि नचाहेको नै सधैं हुन्छ भनेर चिढिएँ । भाइ खगेन्द्रले सायद मेरो मन भुलाउन भने, ‘दिदी ! यो त राजा रोग हो, माछामासु र मन लागेका खानेकुरा मजाले खान मिल्ने ! मेरो बुबालाई पनि भएको थियो ।’

म फिस्स हाँसें किनकि म केही खानै नसक्ने अवस्थाबाट गुज्रिरहेकी थिएँ, जुन कुरा उनको जानकारीमा पनि थियो ।

अस्पताल भर्ना गरेर मलाई टीबीको दबाई चलाइयो । यामानका नौवटा चक्कीहरू दिनैपिच्छे खान पर्दा हुनसम्मको दिक्दार लाग्थ्यो । दुई हप्ताको अस्पताल बसाइमै म हिँड्न नसक्ने भैसकेकी थिएँ । खाना अझै रुच्दैनथ्यो । म बसेकै वार्डमा कार्यरत साथी नीताले घरबाट ल्याएको खाना मलाई हकार्पकार् गर्दै खुवाउँथिन् । भाइले ह्विलचेयरमा राखेर वासरुम लैजान्थ्यो र मलाई उचालेर कमोडमा बसाउने–उठाउने गर्थ्यो । वैशाखमा जन्मेकी भदैनी र दीर्घरोगी मुवाँसँग बुहारी घरमा एक्लै थिइन् । भाइ प्रतीक, बहिनी मदिना र म डिस्चार्ज भएर घर आउन चाहन्थ्यौं, तर मेरो कोभिड परीक्षणको रिपोर्ट चार दिनसम्म पाइएन । भाइले दौडधुप गरिरह्यो, प्राविधिक कारणले रिपोर्ट दिन सकिएको छैन भन्ने जवाफ ल्याबबाट पाइन्थ्यो । केही दिनपछि मेरो कोभिड जाँचको नतिजा निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएँ । आउने बेला डाक्टरले दाहिने हातको बुढीऔंला ठड्याउँदै हौस्याएका थिए, ‘दुई हप्तापछि तपाईं एकदम फिट एन फाइन !’ तर, अस्पतालबाट आएको महिनौं बितिसक्दा पनि ठमठमी हिँड्नसमेत सकिरहेकी छैन म ! दबाई खान थालेको दुई महिना हुन्जेल आफ्नै कोठामा कैदी बनेँ । तीन महिना दबाई खाएर गरिएका दुइटा खकार परीक्षणको निगेटिभ रिपोर्टले अब कसैलाई मेरो टीबी सर्दैन भन्ने पक्कापक्की भयो, अनि म कोठाबाट निस्केर बैठक कोठामा मुवाँको छेउको काउचमा थलिएँ । मैले दबाई खान आनाकानी गर्दा, ‘ज्यान सुकेर छाला र हड्डी भैसक्यो केही खान सकेको छैन, यसरी कति बाँच्नु ? म खान्नँ दबाई–सबाई’ भनेर झर्कोफर्को गर्दा, मुवाँले सधैँ बडो प्रेमले मलाई सम्झाउनुहुन्थ्यो–फकाउनुहुन्थ्यो, ‘त्यसो भन्न हुँदैन मैयाँ ! ज्यानको के छ र ! रोग निको भएर खाना रुच्न थालेपछि मासु त जीउमा लागिहाल्छ नि ! बिस्तारै बिस्तारै हिँड्न पनि सकिहाल्छौ । नआत्तिऊ मेरो ज्ञानी छोरी !’ अनि म, मुवाँको मुख हेरेर उहाँको आत्मविश्वाससँग कायल बन्दै एक गाँस केरासँग एक चक्की दबाई निल्दै नौवटा ठूल्ठुला ट्याबलेट खाइसक्न बाध्य हुन्थें ।

मलाई अचम्म लाग्थ्यो र अझै लाग्छ, ८६ वर्षको उमेरमा पनि मुवाँमा अतीव मात्रामा धैर्य र आत्मबल थियो र थियो सितिमिति नडग्ने–नहार्ने दृढ इच्छाशक्ति ! सायद लामो जिन्दगीको यात्रामा उहाँले झेल्नुभएका अनेक ओल्टोकोल्टोहरूले मुवाँलाई चट्टान बनाएका हुनन्, मलाई त्यस्तै लाग्छ । तर, छुँदैखेरि फुटिजाउँलाजस्ती, काँचको होकि सुलीबाट बनेकी पिलन्धरे मचाहिँ मुवाँजस्तो आँटिली हुन कहिल्यै सकिनँ ! मुवाँ हुन्जेल त तैबिसेक सुखी, खुसी लाग्थें आफूलाई र एक किसिमको ढुक्क अनुभव गर्थें । किनकिन आमाको काखजस्तो भर र आँट संसारको अर्थोक केहीमा महसुस गर्न नसकिनेरैछ, चाहे त्यो जतिसुकै महँगो र भव्य सुविधा किन नहोस् ! त्यसैले त म, खकारको रिपोर्ट ‘टीबी–निगेटिभ’ आउनासाथ आफू मास्क लगाएर मुवाँलाई पनि मास्क लगाइदिएर मुवाँको न्यानोमा घुस्रिन पुगिहाल्थें र उहाँको जीउलाई अँगालेर, उहाँलाई खुट्टा बोकाएर सुखको सास फेर्दै झकाउँथें, घुर्न थाल्थें । आह ती सन्तोकका दिनहरू !

सबैका आमाले छोराछोरीलाई सक्दो/पुग्दो माया र स्याहारसुसार गर्छन् । आमाहरूले यतिको स्नेह गर्नु सामान्य हो, खासै नौलो र कसैले नगरेको कुरो होइन भनिँदो हो । तर, म सानी छँदा मात्र नभएर परिपक्व उमेरमा आइसक्दा पनि धेरैजसो अराजक स्वभाव र पिण्डेरोगी ज्यानकी रहेँ । त्यसैले ऊबखतदेखि अहिलेसम्म मेरो लालनपालन र हेरचार अन्यसरह सहज थिएन, छैन । मुवाँको शब्दमा ‘गुल्कोस् बिस्कुट र गाईको दूध खुवाएर बँचाइएकी’ मेरो खानपिन र अप्ठेरो व्यवहार अझै पनि घरकाहरूको टाउको दुःखाइ र झन्झटको पर्याय बनेको छ । निकै ठूली भइसक्दासम्म यदाकदा म राति ओछ्यान भिजाउथेँ, त्यस्ता बिहान एक वचन नलाई लछप्रै भिजेको डसना घाममा सुकाइदिनुहुन्थ्यो मुवाँ ! मेरो लज्जा र अपराधबोध बुझेर ‘केही भएको छैन’ भन्ने भावले हेर्दै सकेसम्म छोरीलाई अप्ठेरोबाट मुक्त बनाउन खोज्नुहुन्थ्यो । मुवाँले मेरो बाल्यकालमा कस्ता–कस्ता संकटग्रस्त क्षणहरूमा मेरो साथ दिनुभयो र मलाई बोकी बोकी व्यवहार चलाउनुभो, मेरो शिक्षादीक्षा, मेरो वर्तमान र भविष्यलाई उजिल्याउन आफूले नाक–कान–गला बुच्याएर जोड्नुभएको बारी र खेत छिसिक्क नसोची परेका बखत एक–एक टुक्रा गर्दै बेचिदिनुभयो भन्ने स्नेह र ममताका असङ्ख्य अनमोल धरोहरहरू मेरो यादको कुइनेटामा धक्कमपेल गर्दै चियाउँछन् । एकपटक ‘मुवाँ...’ भन्दै चिच्याएर उहाँका गोडामा गम्लंग छाँद हाल्न पुगेकी म बालखलाई कम्मरमा बोक्दै मुवाँले छाती थापेर कसैलाई ललकार्नुभयो, ‘लु सक्छस् भने मेरो छोरीलाई जोगाएर मलाई गोली हान् !’

सानोमा न ठूलोमा, मैले मुवाँलाई जहिल्यै दुःख र सन्ताप दिएँ क्यार किनकि सुख र सन्तोष दिएको क्षण मानसपटलमा उतिसारो कैद छैनन् । उहाँको खुसी र सजिलोको जुगाड गर्न नसकेकोमा बडो सकस हुन्छ । लाग्छ, घर व्यवहार र मायाप्रेमको मामिलामा म जीवनपर्यन्त असफल साबित भइरहनेछु ! मुवाँ, मलाई छोरीको रूपमा पाएर आफैंमा दंग रहनुहुन्थ्यो, त्यो बेग्लै कुरो थियो । खासै मिहिनेत नगरी नियतिले मुवाँको सुख र सन्तोकको मेसो बन्न दिएकामा आफ्नो प्रारब्धलाई धाप मार्नैपर्छ मैले !

म दूधकटुवीलाई अनेक विषम अवस्थामा हुर्काईबढाई गरेर, यौवनले ताकेता गरिरहेका आफ्ना खाँचा, रहर र सपना, सारा मेरै लागि भुलेर/त्यागेर र मसँग बाँधिएर सिंगो जीवन खुसीखुसी बिताइदिनुभो मुवाँले ! तर, मैले उहाँका लागि उहाँको जीवन रहुन्जेल केही गर्न त सकिनँ सकिनँ, अहिले पनि आँसु झारेर बाटो छेकिरहेकी छु । मुवाँ सधैं भन्ने गर्नुहुन्थ्यो, जाने मान्छेको बाटो छेक्छ तिम्रो आँसुले ...!

मलाई मन–प्राणले माया गर्ने यस्ती मुवाँसँगको स्थायी वियोग सहन बडो गाह्रो भैरहेको छ ! जीवनमा हरपल यति निकट रहनुभएकी मुवाँको निःस्वार्थ स्नेह र सम्झनालाई मानसपटलबाट खुर्केर फाल्दै, उहाँसँगको वियोगलाई सामान्य ढंगमा लिएर बाँच्न–हाँस्न म सक्दिनँ र सक्नेछैन !

पारिजातले ‘शिरीषको फूल’ मा भनेजस्तै ‘जीवन निस्सार छ ...मेरी मुवाँ !’

चाहेर हुने भए, म शून्यमा शून्यसरि बिलाउने थिएँ !

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : माघ २३, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?