कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यशुको गाउँमा बडेमानको जाँतो

जोयलाई मैले अन्तिमपल्ट ओटावास्थित उनकै शान्त निवासमा भेटेकी थिएँ । उनी त्यतिखेर एउटा उपन्यासबारे चिन्तन गरिरहेकी थिइन्, जसमा त्यस्तो संसारको परिकल्पना गरिएको थियो, जहाँ कसैलाई पनि पैसा चाहिँदैनथ्यो । कास, त्यसो हुँदो हो !
ग्रेटा राणा

जेरुसेलममा आयोजित पहिलो महिला लेखकहरूको विश्व सम्मेलनमा भाग लिने अवसर प्राप्त भएपछि नै म लेखकको रूपमा परिचित हुन थालेकी हुँ । त्यस सम्मेलनमा भाग लिएपछि नै साहित्यको संसारमा विद्यमान असीम अवसरहरूबारे मैले जान्ने अवसर पाएँ, जसप्रति त्यसअघिसम्म म अञ्जान थिएँ । ‘द राइजिङ नेपाल’ को स्तम्भकार हुनुबाहेक अंग्रेजी भाषामा केही सार्थक/सिर्जनशील काम गर्न सकिन्छ र त्यसका पनि पाठक हुन्छन् भन्ने कुरा मैले मननै गरेकी थिइनँ ।

यशुको गाउँमा बडेमानको जाँतो

‘लाइफ इन एक्सन’ मैले लेख्ने चर्चित स्तम्भ थियो । र, मैले निकै छिटो अवधिभित्र तीनवटा उपन्यास पनि लेखेकी थिएँ– दिल्ली अन्तर्राष्ट्रिय पुस्तक मेलामा रहेको नेपाली स्टलका लागि, जसका नाम थिए ‘नथिङ ग्रिनर’, ‘डिस्ट्यान्ट हिल्स’ र ‘राइट एज इट इज’ । पहिलो किशोरवयका लागि, दोस्रो गृहस्थी महिलाका लागि भनेर मैले वर्गीकरण गरेकी थिएँ । तेस्रो उपन्यास लेखिसकेपछि भने त्यसले मभित्रको लेखकमा सायद म पनि उपन्यास लेख्न सक्छु भनेर सोच जगाएको थियो । दिल्ली मेलामा नेपालका तर्फबाट प्रदर्शित अन्य लेखकहरूको सूचीमा डा. हेमाङ्ग दीक्षितको नाउँ थियो, जो मणि दीक्षितको नाममा लेख्थे र थिए डा. ज्वालाराज पाण्डे । मणि दीक्षित प्रशस्त लेख्न सक्ने लेखक हुन्, जो वृद्धवयमा पनि लेखिरहेछन् र लेख्न सक्छन् । उनको पछिल्लो कृति ‘रिफ्लेक्सन्स’ त्यसैको दसी हो, जसमा अनेकन् पुराना रोचक यादहरू बुनिएका छन् ।

. . .

जेरुसेलममा आयोजित पहिलो महिला लेखकहरूको विश्व सम्मेलनमा भाग लिनका लागि निम्तो आएपछि आवश्यक प्रक्रिया र आर्थिक व्यवस्थापनका लागि मैले इजरायली दूतावासमा सम्पर्क गर्नुपर्ने थियो । तर, त्यो निम्तोले मेरो मनमा केही खुल्दुली जगायो । प्रथमतः कुनै नेपाली लेखकका लागि आउनुपर्ने निम्तोमा म किन छानिएँ भन्ने प्रश्न मेरो दिमागमा खेल्यो । भलै मेरो कर्मक्षेत्र नेपाल नै थियो, तर म नेपालमा जन्मेकी थिइनँ । त्यसैले अरू नै कोही नेपाली महिला छानिऊन् भनेर मैले निम्तो अस्वीकार गरेँ । तर, राजदूतकी श्रीमती लिडिया आरेनले मलाई सम्झाइन् । उनका अनुसार, मैले लेखेका कविता र गद्यहरू इजरायलमा पढिन्थ्यो । र, बेलायतमा पढेर हिन्दुस्तान बसाइँ सरेकी रुथ प्राभेर जाब्वालाले हिन्दुस्तानका बारेमा लेखेभन्दा नेपालका बारेमा मैले सूक्ष्म ढङ्गले लेख्ने र नेपाली पनि बोल्न सक्ने भन्ने इजरायलीहरूलाई लागेको रहेछ । रुथको किताब ‘हिट एन्ड डस्ट’ चर्चित थियो, तर त्यसमा हिन्दुस्तानको चित्रण नवाबहरूको जीवनमा मात्र सीमित रहेको उनीहरूको बुझाइ रहेछ । साथै त्यतिखेर नेपाली विषयवस्तुलाई लिएर अंग्रेजीमा लेख्नेहरू पनि निकै कम थिए ।

अन्ततः म इजरायल रवाना भएँ । इस्टरको समय थियो । लामो यात्राको मेरो पहिलो बिसौनी कोपनहेगन बन्न पुग्यो । त्यहाँ मैले ह्यान्स एन्डरसनको मत्स्यकन्या ‘डेन लियो हाफ्फ्रू’, को प्रस्तरकला देख्न पाएँ । बाल्टिक सागरको किनारमा रहेको चट्टानमा थपक्क बसेको त्यो मूर्ति त्यस्ती महिलाका निम्ति महत्त्वपूर्ण बिम्ब हो, जो माइतीघर छाडेर श्रीमान्को परिवारसँग बस्न गएकी छे । त्यो देख्दा पहिलोपल्ट नेपालका महिलाहरूको महत्त्व मलाई महसुस भयो ।

कोपनहेगनबाट म एल ल एयरलाइन्स लिएर इजरायल पुगेँ । विमानस्थलको अध्यागमन र भन्सारमा इजरायली जासुसी संस्थाका मोसाड तैनाथ थिए । आफूसँग भएको लगेजको सुरक्षा जाँचपछि बल्ल इजरायल छिर्न राहदानीमा छाप लाग्यो । त्यतिखेरको अवस्था उति सहज भने थिएन, मेरो लगेजको निकै नै खानतलासी गरिएको थियो । मोसाडका अधिकारीहरूले मलाई निरन्तर सुनाइरहेका थिए, ‘हामीले यसो गर्नुको कारण तपाईंलाई थाहै होला । म्युनिखमा भएको बमबारीको खबर त सुन्नुभएकै होला ? छैन र ?’

निःसन्देह मलाई थाहा थियो । सन् १९७२ मा इजरायली ओलम्पिक टिमसवार विमान बम विस्फोटमा परेको थियो, जुन खबरले सारा दुनियाँ स्तब्ध भएको थियो । भाग्यवश मैले पुस्टकारीबाहेक केही ‘घातक’ कुरा बोकेकी पनि थिइनँ ।

म मध्यरातमा तेल अभिभ विमानस्थलमा पुगेकी थिएँ । त्यहाँबाट जेरुसेलम करिब ६५ किलोमिटर टाढा थियो र दूरी तय गर्ने साधन थियो गाडी । झिस्मिसे बिहान हुँदै थियो म जेरुसेलम पुग्दा । मलाई सीधै इजरायली महिला संगठनको मुख्यालयमा पुर्‍याइयो । दुर्भाग्यवश ‘वुमन्स रुम’ की लेखिका म्यारिलिन फ्रेन्च र मलाई बस्नका लागि एउटै कोठा दिइएको रहेछ । दुर्भाग्यवश भन्नुको कारण छ, कुरा के थियो भने फ्रेन्चले कोठामा एक्लै बस्ने अड्डी लिएकी थिइन्, र त्यही कुरामा उनको मुख ठुस्स परेको थियो । तिनताका उनी चर्चित थिइन्, र त्यसैकारण आफूलाई मै हुँ भन्ने ठानेकी होलिन् भन्ने मलाई लाग्यो । उनकै कारण चाहिएका बेला अर्थात् लामो यात्रापछि सुस्ताउनुपर्ने बेला ढल्किनका लागि मैले ठाउँ पाइनँ । म्यारिलिन फ्रेन्चप्रतिको मेरो जेजति श्रद्धा थियो, त्यहीँनेर त्यसै समय समाप्त भयो ।

सम्मेलनकी सहायक यमिमा हुर्भित्ज थिइन् । मलाई उनैले लिएर गइन् । अन्ततः रूखहरूले घेरिएको उनको सुविधाजनक घरमा छुट्टै कोठा मलाई मिल्यो । बिहानको नास्ता पनि स्वादिलो थियो । यमिना धर्ममा कट्टर थिइनन् । त्यसैले हामीले नास्तामा बेकन र अण्डा खान पाएका थियौँ । मैले यसकारण हामी भनेकी हुँ– यमिमाले आफ्नो घरमा अस्ट्रेलिया र अन्य मुलुकबाट आएका केही महिला समलिंगी साहित्यकारको समूहलाई पनि आश्रय दिएकी थिइन् । सुरुमा म त्यहाँ एक्लो परेको भान भयो । तर, उनीहरूको न्यानो व्यवहारले मलाई उनीहरूसँग घुलमिल हुन समय लागेन । म उनीहरूको वर्गमा नपरे पनि त्यसले हाम्रो सम्बन्धमा कुनै असर पुर्‍याएन ।

सम्मेलन सुरु भयो र अनुभवको सिलसिला पनि । समान अधिकार संशोधनको अभियानबाट ख्याति कमाएकी इलिनोर ब्रोन्नरले सम्मेलनमा हामी सबैलाई एकअर्काको चुल्ठो जोडेर पोस्टर बनाउनका लागि आग्रह गरिन् । त्यसले हामीबीच बन्धुत्व दर्साउँछ भन्ने उनको तर्क थियो । हामी सबैलाई चित्त बुझ्यो र उनले भनेको मान्यौं ।

सम्मेलनका सत्रहरूमा हामीले आफ्ना रचनाहरू पढेर सुनायौं । त्यसबेला मलाई महसुस भयो कि हामीहरूको देश र संस्कृति फरक भए तापनि हाम्रा अभिव्यक्ति, अनुभव र मर्म भने एकै हुँदा रहेछन् । महिला लेखकहरूले उठाएका सवाल वा धारणाहरू एकैखाले थिए । वास्तवमै संसारको शब्द बजारमा निश्चित रूपमा स्वाभिमानका साथ नेपाली साहित्य उभिन सक्छ भन्ने अनुभूति मलाई त्यहाँ भयो ।

इजरायलको महिला संगठनको कार्यक्रमअन्तर्गत हामीले अन्य अनेकौँ रोचक गतिविधिहरूमा सामेल हुन पायौँ । तर, त्यसपछि पनि बचेको समयमा भने पुरानो जेरुसेलमको बजार घुम्न गएर सदुपयोग गर्‍यौँ । त्यहाँ जाँदा मलाई पुरानो दिल्ली र मेरो जन्मदेशस्थित योर्कको भीडभाड सम्झना आएको थियो । मेरा लागि यादगारचाहिँ भिया देलारोसाको घुमघाम थियो, जहाँबाट क्याल्भारीको थुम्कोमा पुगिन्थ्यो, र जहाँ इसा मसिहलाई क्रुसमा टाँगिएको मानिन्छ । त्यो समय तीर्थ घुम्ने अवसर बन्न पुग्यो मेरा लागि । बाटोमा तीर्थालुहरूको भीड हुने नै भयो । हिँड्दाहिँड्दै म गेथ्सेमन उद्यान पनि पुगेँ, जहाँ यशुलाई विश्वासघात गरिएको थियो । बाइबलमा पढेका कुरालाई सम्झाउने त्यतिखेरका अवशेषहरू प्रत्यक्ष देख्न पाउनु मेरा लागि स्मरणीय र स्पर्शी क्षण बनेको छ ।

सबैभन्दा अविस्मरणीय क्षण भने जुदिया मरुभूमिको पूर्वी भागमा रहेको प्राचीन मसादा किल्लाको भग्नावशेषहरू घुम्दा भयो । यो त्यो ठाउँ थियो, जहाँ सिक्यारी भनिने यहुदी उग्रपन्थीहरूले आफूलाई जिउँदै जलाएका थिए । रोमनहरूसँग युद्धमा पराजय भोग्नुपरेको थियो तिनले । तर, दुश्मनको बन्दी भएर बाँच्नुभन्दा ज्युँदै जलेर मर्नु उनीहरूले श्रेयस्कर ठाने । त्यस इतिहासको साक्षी रहेको चट्टानसम्म पुग्न केबुलकार पनि थियो, जसलाई केही कर्मचारीहरूले घिर्नी घुमाएर चलाउँथे । म भने हिँडेरै उक्लिएँ । केबुलकार चढेपछि आफू पाउरहित भएको महसुस हुन्छ, जुन मलाई मन पर्दैन ।

मसँगै टुप्पामा जान लागेकी अर्की महिलालाई मेरो निर्णय लहडझैँ लागेछ । म आफ्नै एघार नम्बरको ट्याक्सीलाई ज्यादा महत्त्व दिन्छु भन्ने जवाफ दिएर फटाफट ठाडो उकालो चढ्न थालेँ । रमाइलो त के भयो भने केबुलकारभन्दा चट्टानको शिखर पुग्नेमा मै पहिलो भएँ । कुरा के भयो भने केबुलकार केहीबेर हावामै अड्किरह्यो । किनभने घिर्नी चलाउने कर्मचारीमध्ये एक जना चक्का चलाउँदा चलाउँदा थाकेर लोथ भएको थियो । सायद, सन् १९९८ देखि मात्रै मान्छेको सट्टा बिजुलीको सहारामा नयाँ केबुलकार त्यहाँ चल्न थाल्यो ।

माथि पुगेपछि मैले जुदियाको मरुभूमिलाई नियालेँ । यो त्यही मरुभूमि थियो, जहाँबाट विश्वका तीनवटा ठूला धर्मको प्रादुर्भाव भएको थियो– यहुदी, इसाई र इस्लाम । म बाँकी महिला सहभागीहरूलाई पर्खिरहेकी थिएँ, र तेज गतिमा हुनहुन गर्दै चलिरहेको बतासले मलाई बेरिरहेको थियो । आठौँ शताब्दीमा ईश्वरका दूतले बाइबलको एउटा खण्डमा उल्लेख गरेझैँ ‘निर्जन थलोमा ईश्वर रोइरहेको आवाज’ म साँच्चिकै सुनिरहेकी थिएँ । यति अनुभवपछि बाइबलमा लेखेको कुरा कसरी नपत्याउनु ?

अर्को छोटो घुमघामका लागि हामी नजरेथ गाउँ गयौँ । भनिन्छ– त्यहाँ ईशु बस्थे । गाउँको मध्यभागमा एउटा बडेमानको जाँतो थियो । ‘टुर गाइड’ ले यशुको समयमा महिलाहरूले कसरी जीवनयापन र काम गर्थे भन्ने कुरा सुनाउन थालिन् । म भने ग्यालिली सागरलाई निहार्न हिँडेँ । उनले पछाडिबाट मलाई भनिन्, ‘हे राणा, यी चीजहरू हेर्दिनौ ?’ मैले जवाफ दिएँ, ‘मैले देखिसकेको कुरा हो । म जहाँबाट आएकी हुँ त्यहाँ अहिले पनि अधिकांश महिलाहरू यसरी नै काम गर्छन् ।’

सम्मेलनको अन्तिम सप्ताहान्तमा हामीलाई किबुत्स लगियो, जहाँ सबैलाई समूहमा राखिएको थियो । मेरो समूहमा डेनिसियाली लेखिका डिया त्रिया मर्क पनि थिइन् । उनी विलक्षण महिला थिइन्, तर ‘डिस्लेक्सिया’ बाट पीडित । उनका अभिव्यक्तिका प्रारम्भिक दिनहरूमा उनले चित्रमार्फत आफूलाई अभिव्यक्त गरेकी थिइन् । पछि जब लेख्न पनि सिकिन्, उनका रचनाहरू यतिबिघ्न मन पराइए कि उनलाई ‘डेनमार्कको निधि’ घोषित गरियो । त्यस घोषणाका साथै उनले जीविकाका लागि अरू कुनै काम गर्नु नपरोस् भनेर सरकारले उनलाई वृत्ति प्रदान गर्‍यो । यो अद्भुत जानकारी थियो मेरा लागि । त्यस सप्ताहान्तमा मैले बनाएकी अर्की साथी थिइन्– आइसल्यान्डकी कवि भबोर्ग ड्याग्जर्ट्स्डोटिर । उनका अनुसार, आइसल्यान्डमा जति मानिस बस्छन् त्योभन्दा ज्यादा नाटकघरमा टिकट बिक्री हुन्छ । भबोर्ग छिट्टै नै ९० वर्ष लाग्दै छिन् र लेखनमा अझै सक्रिय छिन् । डिया भने बितिसकिन् । मेरो त्यो सप्ताहान्त उनीहरूका कारण अत्यधिक सुखद रह्यो ।

बेलायती लेखिका मार्गरेट ड्रयाबलसँग बसमा सँगै बस्न पाउँदा म रोमाञ्चित भएकी थिएँ । हाम्रो समूहमा चार जना क्यानेडियाली लेखकहरू थिए । उनीहरू थिए– कवि डोरोथी लाइभ्से, क्यारोल बोल्ट, नाट्यकार मरियम वाडिङ्टन तथा जापानी–क्यानेडियाली लेखक जोय कोगावा । जोयको उपन्यास ‘ओबासान’ ले थुप्रै पुरस्कार हासिल गरेको थियो । डोरोथीलाई मैले सन् १९९० मा दोस्रोपल्ट टोरन्टोमा भेटेकी थिएँ । त्यतिन्जेल उनी निकै वृद्ध भइसकेकी भए पनि फुर्तिली थिइन् । मरियम भने टोरन्टो विश्वविद्यालयमा पढाउँथिन् र जोयलाई मैले अन्तिमपल्ट ओटावास्थित उनकै शान्त निवासमा भेटेकी थिएँ । उनी त्यतिखेर एउटा उपन्यासबारे चिन्तन गरिरहेकी थिइन्, जसमा त्यस्तो संसारको परिकल्पना गरिएको थियो, जहाँ कसैलाई पनि पैसा चाहिँदैनथ्यो । कास, त्यसो हुँदो हो ! सिङ्गापुरे लेखक क्याथरिन लिमको पनि मलाई सम्झना आउँछ, जसले मेरा रचना पढेर अर्थपूर्ण सुझावहरू दिएकी थिइन् ।

अन्ततः सम्मेलन सिद्धियो, जुन छिट्टै सिद्धिएको महसुस भयो । हामी सबै जना घर फर्किनका लागि छुट्टियौँ । त्यस सम्मेलनले लेखकका रूपमा मलाई धेरै कुरा सिकायो । मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कुनै पनि देशका साहित्यकारहरूले सोच्ने विषयमा समानता हुन्छ । यस कुराले मलाई आज पनि विस्मित तुल्याइरहन्छ । लेखकहरू जहाँ रहे पनि तिनले समान प्रकृतिका विचार–विषय झेल्दा रहेछन् ।

नेपाल पनि साहित्य वृत्तमा निश्चित रूपले पछाडि छैन भन्ने मैले त्यस सम्मेलनपश्चात् महसुस गरेँ । हाम्रो देशमा कविता अझै जीवित छ, जसलाई यहाँका महिला कविहरूले प्रमाणित गरेका छन् । वानीरा गिरी र मञ्जु काँचुली उक्त विन्दुमा छन् । मञ्जु र उनकी दिदी बेञ्जु भीमनिधि तिवारीका छोरीहरू हुन् । उनीहरूको अंग्रेजीमा ‘दि टु सिस्टर्स’ भन्ने किताब प्रकाशित छ । अनुप्रास र लयात्मकताजडित कविताहरूलाई मञ्जुलले प्रतिनिधित्व गर्छन् । विप्लव प्रतीक अर्का त्यस्ता कवि हुन्, जो अङ्ग्रेजी भाषामा संसारलाई नेपाली कविताको परिचय दिन सक्षम छन् । छोटा कथा लेखनमा माया ठकुरीसँग साधारणलाई असाधारण देखाउन सक्ने उत्कृष्ट कला छ । गृहस्थी महिलाका चिन्ताहरूबारे कुशल ढङ्गले लेख्छिन् भुवन ढुंगाना ।

सडक नाटक पनि जीवन्त छ । अशेष मल्लको सर्वनामले साहित्यिक अभिव्यक्तिको दीपलाई पञ्चायतकालमा पनि जलाइराखेका थिए । उनको समूहको आफ्नै नाट्यशाला छ । र, अशेषका नाटकहरू पनि चर्चित मानिन्छन् । आख्यान र सिनेमाले पनि यहाँ गति लिएको छ । केसाङ छेतेनले ‘रातो मच्छिन्द्रनाथ’ र ‘हु वुड बी गोर्खा’ सिनेमाबाट ख्याति कमाएका छन् । इलम दीक्षित नयाँ पिँढीका प्रभावशाली फिल्ममेकरको पङ्क्तिमा एक उदाहरण हुन् । उनी पुरस्कृत त भएका छन् नै, उनले गर्व गर्नलायक सिनेमाहरू पनि बनाइसकेका छन् । कलाकारका रूपमा दीक्षित भए तापनि उनी आफ्ना सिनेमाहरूलाई दृश्यमुताबिक ढाल्न सिपालु छन् ।

पारिजात र डायमण्डशमशेरले सुरु गरेको उपन्यास लेखन उर्बर भइसकेको छ, जसमध्ये ध्रुवचन्द्र गौतमको ‘अलिखित’ विशेषगरी सम्झनायोग्य छ । अमेरिकी भाषाविद् एवं संस्कृतका विद्वान् फिलिप पियर्सले त्यसको अंग्रेजीमा अनुवाद गरेका छन् । यो किताब नोबल कमिटीमा नेपाली साहित्यको यथार्थपरक अनुहार देखाउनका लागि प्रस्तुत गर्न सकिन्छ ।

विदेशमा बसेर अङ्ग्रेजी भाषामा साहित्यकर्म गरिरहेका मञ्जुश्री थापा र सम्राट उपाध्यायजस्ता लेखक पनि छन्, जसले नेपाली साहित्यको ध्वजा क्यानाडा र अमेरिकामा फहराइरहेका छन् । र, उनीहरूले आफ्नो जन्मभूमि र जन्मथलोले दिने उत्प्रेरणालाई कहिल्यै पनि बिर्सेका छैनन् ।

ऐतिहासिक उपन्यासले पनि उडान भरेको छ । प्रकाश ए. राजले नेपालका रानीहरूबारे लेखेको तथ्यमा आधारित रोचक शृङ्खलाहरू छन् भने र शिवा शाहको हालसालै प्रकाशित ‘द अदर क्विन’ पनि रानीकै बारे लेखिएको छ । कोतपर्वलाई उक्साउने पात्रका रूपमा रहेकी रानीबारे लेखिएको यस किताबले निकै चर्चा पाएको चाहिँ बुकाहोलिक्सको सँस्थापक सगुना शाहले ‘कान्छा महारानी’ भनेर नेपालीमा अनुवाद गरेपछि हो । बुकाहोलिक्समार्फत नेपाली साहित्यमा सगुनाले पुर्‍याएको भूमिका तारिफयोग्य छ । आर्थिक रूपमा कसैको मुख नताकी निरन्तर साहित्यसम्बन्धी अर्थपूर्ण कार्यक्रम चलाउनु भनेको चानचुने कुरा होइन । उनी आफैँ पनि प्रतिभासम्पन्न लेखक हुन् ।

गैरआख्यान तथा विकास एवं राजनीतिक मुद्दाबारे तथ्यपरक विश्लेषण गर्ने कामलाई अतुल के. ठाकुरले अहिलेका पुस्ताका निम्ति प्रतिनिधित्व गरेका छन् । उनी ‘काठमाडौं पोस्ट’ मा नियमित स्तम्भ लेख्छन् । त्योभन्दा अघिको पुस्ता भनेको बिहारीकृष्ण श्रेष्ठको हो । उनले नेपालको सामुदायिक वन प्रयोग गर्ने समूहको सफलताबारे बृहत् रूपमा लेखेका छन् । उनको प्रयास कति सफल रहेछ भन्ने कुरा उनले उठाएका विषयवस्तु बीबीसी विश्व सेवामा प्रसारण हुने गरेकाले नै दर्साउँछ । नेपाली साहित्यमा प्रस्तुत हुने नेपालका विषयवस्तुबारे अब बाहिरी विश्व अनभिज्ञ छैन । नेपालबारे लेखिएका नियात्राका किताबहरूमा रवि थापाको नाम अग्रपंक्तिमा आउँछ । ठमेलबारे लेखिएको उनको पुस्तक नेपालबारे पढ्नैपर्ने दसवटा उत्कृष्ट किताबको सूचीमा हाल सालै परेको थियो । यस परिदृश्यमा एक जना ‘एक्स्प्याट’ लिसा चोग्याल पनि देखिएकी छन्, जो कुनै समय ‘टाइगर टप्स’ मा काम गर्थिन् । लिसासँग उनले पर्यटन व्यवसायमा बटुलेका अनेकौं अनुभव छन्, जसलाई उनले बडो दक्षतापूर्वक लेख्दै आएकी पनि छन् ।

नेपाली लेखकहरूले अन्तर्राष्ट्रिय साहित्य पुरस्कारहरू पनि प्राप्त गरेका छन् । मैले गोदावरी मार्बल उत्खननबारे लेखेको किताब ‘द हिल’ ले जर्मनीको आर्न्सबर्गमा अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो, जसको पहिलो अंग्रेजी संस्करण एमएस म्यागजिनमा प्रकाशित भएको थियो । अर्चना सिंह कार्कीले त्यसलाई नेपालीमा पनि अनुवाद गरिन्, जुन पछि नेपाल प्रज्ञा प्रतिष्ठानको ‘समकालिन’ मा प्रकाशित भयो । उक्त लेखको पाठ आईटीएन टेलिभिजनले वातावरण क्षयीकरणको विषय उठानका लागि पनि प्रयोग गरिएको थियो । त्यसप्रकारको विषयलाई ‘द फ्रजाइल माउन्टेन’ नामक अभूतपूर्व फिल्मको लोकप्रियताले पनि बढाएको थियो ।

अंग्रेजीमा लेखिएका नेपाली कविताहरूले पनि उचित स्थान बनाउन थालेका छन् । देवीबहादुर गुरुङले ब्ल्याक पोयट्स अफ अमेरिका नामक पुरस्कार जितेका थिए । उनका अन्य कविताले पनि ‘आकुमेन’ र ‘पोएट्री नटिङ्घम’ जस्ता साहित्यिक पत्रिकाहरूमा आफ्नो पहिचान बनाएका छन् ।

पर्यटनका कारण बौद्ध धर्मप्रति विदेशीहरूको चाख बढ्दो छ र तिब्बतप्रति पनि आकर्षण बढ्दो छ, जसले नेपाली साहित्यप्रति विदेशीहरूमा खुल्दुली जगाउन सहयोग पुर्‍याएको छ । दीपक रानाका उपन्यासहरूमा रिम्पोछे र उड्ने डाकिनीहबारे प्रशस्त उल्लेख भएको पाइन्छ । उनी निकै कल्पनाशील लेखक लाग्छन्, जो आफ्ना उपन्यासका

कथ्यलाई आफ्नो संसारभन्दा परको दुनियाँमा पुर्‍याउन सफल छन् । विगतमा हामीले भोगेको बन्दाबन्दीमा जसले यो किताब पढेका थिए, निश्चय पनि मनोरञ्जनको अर्को तह महसुस गरेका होलान् ।

‘नेपाली टाइम्स’ का कुन्द दीक्षित र ‘हिमाल’ खबरपत्रिकाका कनक दीक्षितले मदन तथा जगदम्बाश्री पुरस्कारको प्रवर्द्धन गरेको विदितै छ । अनमोल पुस्तकालयको संरक्षण र संवर्द्धन गर्ने विशुद्ध काम उनीहरूले गरेका छन्, जुन नेपाली तथा विदेशी विद्वान्हरूका निम्ति साहित्यिक मिलनविन्दु हो । भक्तप्रसाद नाम दिइएको नेपाली भ्यागुताबारे कनकको कल्पनाशील कथाहरू ‘टेल्स अफ अ नेपाली फ्रग’ को अङ्ग्रेजी मात्र नभई नेपालीलगायत अनेकौँ भाषामा उल्था हुनु र थुप्रै संस्करण प्रकाशित हुनु नेपाली साहित्यको पँखेटा फैलिँदै गएको कुरालाई पुष्टि गर्ने अर्को उदाहरण हो । बालबालिकाका लागि लेखिएको भनिए पनि उक्त किताबबाट वयस्कहरूले पनि पनि ज्ञान हासिल गर्न सक्छन् ।

लेखनमा धमाधम युवा पिँढीहरू पनि सामेल भइरहेका छन्, र तिनका कृतिहरू प्रकाशित पनि भइरहेका छन् । परीक्षामुखी अध्यापनमा मात्रै गैरसरकारी विद्यालयहरू सीमित नभइदिएकाले यो उपलब्धि सम्भव भएको हो । नेपाली युवाहरूको सिर्जनशीलताले गति लिएका थुप्रै उदाहरण हाम्रा अगाडि छन् । देवास राणाले ‘इन माई राइट’ नामक

कथासङ्ग्रह सात वर्षकै उमेरमा प्रकाशित गरेकी थिइन् । युरोप र अमेरिकामा झैँ आमाबाबुको करबलमा सन्तानहरूको अति उपलब्धि यो थिएन, यो त उनको आफ्नै इच्छाशक्ति र खुसीमा सम्भव भएको थियो । नेपाली केटाकेटीहरू आफ्नो बाटो आफैँ बनाउन सक्षम छन् । देवासकी दिदी पर्ने श्रेया राणाले पनि अमेरिकाको मिसिगनबाट ‘द म्याजिक लन्च पेल’ नामक किताब देवासको कृति छापिएको केही महिनापछि प्रकाशित गरेकी थिइन् । विदेशमा बसेर लेख्ने अर्को नेपाली साहित्यकारको उदय मान्न सकिन्छ यसलाई ।

नेपाली साहित्यको परिदृश्यमा उल्लेख नगरी नहुने अर्को नाम हो– अभि सुवेदी । अंग्रेजीका प्राध्यापक उनले निकै विदेशी विद्वान्हरूलाई नेपाली पढ्न सघाएका छन्, जसमा विशेषगरी इतिहासकार जोन ह्वेल्प्टनको नाउँ लिन सकिन्छ । नेपाली साहित्य र इतिहासमा अभिको प्रभावलाई लन्डन स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजले पहिचान गर्नु निकै ठूलो कुरा हो । उनका विद्वत् कार्य निश्चय नै श्रेष्ठ छन्, तर उनले रचेका गद्य र पद्य पनि स्मरणीय छन् ।

अन्त्यमा साहित्यकारहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरन्यासनलका नेपाल क्षेत्रका अध्यक्ष रामकुमार पाँडेको नाउँ उल्लेख गर्नु उचित हुनेछ । उनी भूगोलका प्राध्यापक मात्र होइनन्, नेपाली हास्य व्यङ्ग्यमा प्रतिष्ठित लेखक पनि हुन् । उनले मुरारीराज सिग्देलसँग मिलेर जापानी हाइकुलाई नेपालीमा नौलो परिचय दिलाएका छन् । अब बेला आएको छ, दुनियाँलाई नेपालका साहित्यिक प्रतिभाहरूको परिचय दिलाउने अभियानको । आशा छ, अब पेन नेपालले साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेतर्फ पनि आफ्नो ध्यान दिनेछ ।

प्रकाशित : माघ १७, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?