कमिनिस्टमा इतिहास लेखन समस्या

के नेपालमा शक्तिमा आउने कमिनिस्टको मानवीय र लोकतान्त्रिक चरित्र हुँदैन ? समाजले सम्मान र माया गरेका साहित्यकार, कलाकार र चिन्तकहरूलाई पानीका फोहोराले उफारेर, त्यसपछि लाठी प्रहार गरेर घाइते बनाएको घटनाले हामी मर्माहत र आक्रोशित भएका छौं ।
अभि सुवेदी

काठमाडौँ — अहिले नेपालमा धेरैजसो समस्या राजनीतिसँग गाँसिएका छन् । पछिल्लो समयमा आएको समस्या भनेको नेपाली दलहरूले इतिहासलाई कसरी व्याख्या गर्छन् र कसरी त्यसलाई हेर्छन् भन्ने नै हो । यस लेखमा नेपाली कमिनिस्ट पार्टीका समस्याको प्रसङ्ग छ ।

कमिनिस्टमा इतिहास लेखन समस्या

खासगरी साहित्य र कलासँग जोडिएका इतिहास आफ्नो चाखका विषय भए पनि यहाँ अहिले पछिल्ला राजनीतिक घटनाले उठाएका विषयहरूलाई छलफलको आधार राखिएको छ ।

राजनीतिक दलहरू र तिनका कामले इतिहास बनिने गर्छन् । तिनले ल्याएका भ्रम, तिनले हासिल गरेका उपलब्धि र तिनले सिर्जना गरेका समस्या सबैले इतिहास बनाउने कामलाई प्रभावित गर्छन् । राज्य सञ्चालन गर्ने, शक्तिको सदुपयोग वा दुरुपयोग गर्ने अनि तिनका कामले जनता र राज्यका आकारप्रकारमा नै प्रभाव पार्ने हुनाले तिनीहरू पनि इतिहास निर्माणसँग जोडिन्छन् । तर, नेपालका राजनीतिक दलहरूका नीति र आन्तरिक शक्ति युद्धले त्यो चेतनालाई गौण बनाइदिएका छन् ।

खासगरी नेपालको दुईतिहाइ मत पाएर सरकार र सत्तामा आसीन नेकपाभित्र आएका हलचल अनि तिनले पहिलो गणतन्त्रात्मक संविधानले ल्याएको प्रतिनिधिसभा विघटन गरेर ल्याएका चक्रवातहरूले नेपाली इतिहास लेखन र बुझाइमा निकै समस्या ल्याएका छन् । नेपालको अर्को ठूलो दल नेपाली कांग्रेसको इतिहास बुझ्ने व्याख्या गर्ने समस्याको पाटो पनि त्यस्तै किसिमको देखिएको छ । तर, यहाँ कमिनिस्ट दलहरूको वरिपरि केन्द्रित भएर केही बुझाइ, प्रसङ्ग र अध्ययनहरूलाई राखेर छलफल गरिएको छ ।

इतिहासको व्याख्या गर्नेहरूका केही आफ्ना शैली हुन्छन् । तिनलाई बुझ्न मैले आफूलाई मन पर्ने र विश्वास लाग्ने, स्वतन्त्र चिन्तन भएका एक इतिहासकारलाई सम्झें । ती हुन् परिचित इतिहासकार डा. महेशराज पन्त । उनका बृहत् विषयका आलेखहरूको अध्ययन र प्रयोग गर्ने अनेकौं ठाउँ छन् । तर, यहाँ मैले पहिले नै सङ्कलन गरेर राखेको अनि ब्रिटिस इतिहासकार मित्रलाई पनि सेयर गरेको कान्तिपुर (१२ फागुन २०७४) मा प्रकाशित ‘साम्यवादी नजरमा नेपालको इतिहास’ शीर्षक लेख फेरि पढें । पन्तले त्यस महत्त्वपूर्ण लेखमा दुई कुराको बोध गराएका छन् ।

इतिहास, त्यसमा पनि राजनीतिक इतिहास लेख्दा समय, प्रसङ्ग र सन्दर्भमा राखिएका ग्रन्थहरूको आधिकारिकतामाथि जोड दिनुपर्ने कुरा पहिलो छ । दोस्रो, इतिहासका घटना र परिस्थितिको व्याख्या गर्दा त्यसलाई आफ्नो सिद्धान्तअनुसार मोडेर राख्नु हुँदैन, त्यसको सत्यतालाई राख्नुपर्छ । आखिर मार्क्सले पनि त्यही भनेका हुन् । दृष्टिकोणअनुसार व्याख्या गरिनुपर्छ, तर सत्यलाई तोडमोड गर्नु हुँदैन ।

नेपाली कमिनिस्ट इतिहासका केही ग्रन्थहरूलाई लिएर पन्तले अत्यन्त आवश्यक समालोचना गरेका छन् । अहिले नेपाली कमिनिस्टहरू इतिहासको व्याख्या गर्ने होडमा लागेको बेला यो महत्त्वपूर्ण सल्लाह हो ।

अनि दोस्रो मोटो किताब ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–१’ (२०६९ माघ) फेरि पढें । यो किताब मलाई पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट मगर ‘अभ्यास’ ले त्यही साल हिमालयन जाभा कफी हाउसमा आएर समीक्षाका निम्ति भनेर दिएका थिए । मैले म यसका निम्ति उपयुक्त व्यक्ति होइन भन्दा उनले भनेका थिए, कुनै राजनीति गर्ने व्यक्ति वा राजनीतिका विद्वान्भन्दा एउटा साहित्यकारले यसलाई कसरी हेर्ने रहेछन् भनेर जान्न दिएको हुँ । मैले विष्टको दृष्टिको मनमनै प्रशंसा गरेको थिएँ ।

राजनीतिक इतिहासको व्याख्या साहित्यिक दृष्टिले गर्ने चलन बलियो छ । त्यसमा पनि नवऐतिहासिकतावाद अथवा ‘न्यु हिस्टोरिसिज्म’ ले राजनीतिजनिन इतिहास हेर्न अनेकौं दृष्टिहरूको प्रयोग गर्छ । मैले स्वतन्त्र किसिमले कान्तिपुर (५ जेठ २०७१) मा यसको समीक्षा गरें । यो ग्रन्थको सुरुको आलेख सन् १९४९, सेप्टेम्बर १५ मा नेपाल कमिनिस्ट पार्टी स्थापना भएपछि प्रकाशित पहिलो पर्चा हो ।

पार्टी स्थापित भएपछि घोषणापत्र जारी गरियो । त्यसमा नेपालको ऐतिहासिक विवेचना छ, जुन कोतपर्बदेखि समेटिएको छ । शक्तिको इतिहास छ । यस ग्रन्थमा अनेकौं आलेख छन् । त्यसमा महामन्त्री प्रचण्डद्वारा प्रस्तुत २०४५ सालमा नेपाल कमिनिस्ट पार्टी (मशाल) को केन्द्रीय समितिमा प्रस्तुत र पारित पाठ पनि छ । त्यसमा प्रचण्डको प्रतिवेदनमा भनिएको एउटा कुराको आज पूर्वएमाले र पूर्वमाओवादीका विचारका विगतहरूको मञ्चमा नाटक चलिरहेको बेला प्रसङ्ग ल्याउनु सान्दर्भिक छ । मैले त्यो ग्रन्थको समीक्षामा लेखें, ‘प्रचण्डको प्रतिवेदनमा भनिएको यो वाक्य सान्दर्भिक छ— यस अर्थमा झापाली गुट र विघटित अल्पमत पक्षले चुनावी बाटो

पक्डिसकेकाले उनीहरूद्वारा सशस्त्र संघर्षका कुरा गरिए तापनि तिनको कुनै अर्थ र औचित्य रहन्न ।’ संवत् २०१० माघमा प्रथम पार्टी महाधिवेशनमा पार्टी महासचिव मनमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिवेदनमा एउटा वाक्य चाखलाग्दो भेटिन्छ, ‘कमिनिस्ट पार्टी नेपालमा समाजवाद निर्माणको कुरा गर्दैन, किनभने यो अनुभव गर्दछ कि देशको अहिलेको परिस्थिति यस्तो कार्यक्रमको निम्ति उपयुक्त छैन ।’ त्यस्तै ०३१ सालमा मोहनविक्रमले ‘तुरुन्त जनवादी सरकारको स्थापनाका लागि नारा दिन परिस्थिति तयार भएको छैन’ भनेका छन् । बारम्बार दोहोरिने त्यो स्थगनको दर्शनलाई समयअनुसार बुझ्नुपर्छ । बीचका राजनीतिक उथलपुथललाई हेरेर हिजोका दस्तावेजहरूको ऐतिहासिकतालाई व्याख्या गर्नुपर्छ ।

तर, यो ग्रन्थमा संकलित प्रतिवेदन र आलेखहरूको व्याख्या गर्दा अहिलेको राजनीतिले उठाएको अर्को प्रश्न आउँछ । त्यो हो दस्तावेज एकातिर अनि पार्टी चलाउनेको नीति अर्कोतिर भन्ने ऐतिहासिक अनुभव । कान्तिपुरकी बिनु सुवेदीको ‘नेकपामा २०१४ सालको पुनरावृत्ति’ शीर्षकको समाचार विश्लेषण (माघ ९, २०७७) ले लोकेन्द्र विष्टको ऐतिहासिक दस्तावेजहरू हेर्ने एउटा अर्को दृष्टिकोणको इतिहास राखिदियो ।

अधिवेशनमा पारित भएको दस्तावेज एउटा अनि पार्टीको नीतिको त्यसमा प्रभाव नहुने न्यारेटिभले इतिहास लेखनकै पद्धतिको एउटा अर्कै चित्रण गरेको देखियो । बिनुको रिपोर्टिङको सार र निष्कर्ष छ, ‘जसरी २०१४ सालको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पारित भयो तर महासचिव रायमाझी बने, त्यसपछि नीति प्रकाशन गरिएन र केही वर्षमै नेकपा फुट्यो, २०७१ सालको नयाँ महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्ष चुनिए पनि पारित भएको माधव नेपालको प्रतिवेदनमाथि कहिल्यै छलफल गरिएन र अहिले नेकपा फुटेको छ ।’ बिनुको निष्कर्षले भनेजस्तो आधारमा यी दस्तावेजहरूको अध्ययन गर्ने हो भने अरू के–के देखिएला त्यो आफैंमा महत्त्वपूर्ण छ ।

यो घटनाका ऐतिहासिकी हेर्ने दृष्टिलाई अझ व्यापक बनाउने हो भने नेपालमा कमिनिस्ट पार्टीको इतिहासभित्र धन्द्याउन बाँकी रहेका अरू विषयहरूतिर जानुपर्ने हुन्छ, जुन इतिहास र राजनीतिलाई राम्ररी विश्लेषण गर्ने विद्वान्हरूले गर्लान् नै । तर, त्यतातिर खासै केन्द्रित भएर, भित्र पसेर गरिएका विश्लेषणहरूको अलिक कमी नै भएको देखिएको छ । विष्टले कुनै कवि साहित्यकारले यो इतिहास लेखून् भन्ने पक्कै चाहेका थिएनन् ।

उनको भनाइ थियो र उनको विश्वास थियो— यत्रो ठूलो पार्टीको यति लामो इतिहासमा केही सिर्जनशील कुराको खोजी हुनुपर्छ । यो दल नेपाली जनता, विपन्न र सीमान्तकृत नरनारीहरूको नाममा बनिएको हुनाले यसका घोषणा र नीतिहरूमा मानवीय, सिर्जनामूलक अनि कल्पनाजन्य विषय र दृष्टिहरूको आवश्यकता छ भन्ने तिनको विश्वास थियो भन्न सकिन्छ । कल्पनाजन्य सिर्जनशील विश्वास मार्क्सवादको ठूलो सामर्थ्य हो । युटोपियाली कल्पना, राज्य वैलाउँदै गएर मुक्त मानिसहरूको राज्य कायम हुने मार्क्सको सिद्धान्त इतिहासको त्यही सिर्जनशील काल्पनिकी हो । अहिले नेपाली कमिनिस्टहरूमा अभाव भएको कुरा त्यही संस्कृति र काल्पनिकीको मर्यादा हो भन्ने कुरा दिनदिनै उनीहरूले प्रयोग गर्ने भाष्य र मञ्चमा उद्घोष गर्ने बोलीहरूले देखाउँछन् ।

सिद्धान्तका घोषणाहरूले काम निर्देशित नहुने अनि शक्तिका लिलिपुट काल्पनिकीले सबैका विचार निर्देशित हुने संस्कृतिको विकास भएको अवस्था हो अहिलेको । त्यसको कारण एउटा अत्यन्त भौतिक संस्कृतिको प्रभाव हो । त्यो धन र उपभोग गर्ने मनोग्रन्थीको पुँजीवादी संस्कार बन्दै गएको अवस्था हो । पार्टी एउटै हो, हामी फुटेका छैनौं भन्ने मनस्थिति र अवस्था एकातिर छ भने हामी आ–आफ्ना सपना र आकांक्षाले निर्देशित छौं र त्यसको मात्रै रक्षा गर्छौं भन्ने भावना छ अर्कोतिर ।

के नेपालमा शक्तिमा आउने कमिनिस्टको मानवीय र लोकतान्त्रिक चरित्र हुँदैन ? समाजले सम्मान र माया गरेका साहित्यकार, कलाकार र चिन्तकहरूलाई पानीका फोहोराले उफारेर, त्यसपछि लाठी प्रहार गरेर घाइते बनाएको घटनाले हामी मर्माहत र आक्रोशित भएका छौं ।

बन्द कोठाहरूमा हिजोदेखि आपसमा झगडा गरिरहने, देश कोभिडको प्रहारले आक्रान्त भएको, किसान आफ्नो उखुको दाम नपाएर राजधानी धाउँदा जाडोले मरेको, अनि फोकलोर मात्र भएको देशको बोध गरेर जनताले महाभिनिष्क्रमण गरेका घटनाले नछुने अनि एक्कासि फुटेर निस्किने र वाचाल भएर अनेकौं भाष्य प्रयोग गरिबस्ने भीमकाय कमिनिस्ट दलहरूको व्याख्या इतिहासकार र राजनीतिशास्त्रीहरूले गर्लान् नै जुन मजस्तो साहित्य लेख्ने व्यक्तिको सामर्थ्यबाहिरको कुरा हो ।

तर, अहिलेको समस्या भनेको राजनीतिक र लोकतान्त्रिक संस्कार ह्रासोन्मुख हुँदै जानु र शान्ति र सिर्जनाको वातावरण पनि दिनदिनै बिग्रँदै जानु हो । इतिहास भत्काउँदा सिर्जनशील हुनुपर्दैन, तर बनाउँदा अत्यन्त सिर्जनशील, संवेदनशील र अध्ययनशील पनि हुनुपर्छ भन्ने यस कुराको मूल सन्देश हो ।

प्रकाशित : माघ १७, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?