विकास र लोकतन्त्र : पञ्चायतदेखि गणतन्त्रसम्म- कोसेली - कान्तिपुर समाचार

विकास र लोकतन्त्र : पञ्चायतदेखि गणतन्त्रसम्म

देवेन्द्रराज पाण्डे

२०४६ सालपछिको प्रजातन्त्रजस्तै हाल वामे सर्दासर्दै सही धार समात्न नसकेको लोकतान्त्रिक गणतन्त्रमा पनि लोकतन्त्र भनेको के हो, विकास के र कसका लागि हो भन्ने प्रश्नहरूमा सम्बन्धित सबै अन्योलग्रस्त देखिएका छन् । यिनै विडम्बना र अन्तर्विरोधहरूको सेरोफेरोमा रहेर नेपालको लोकतान्त्रिक विकासबारे अनुभव र अनुभूति आत्मसात् गर्नुपर्छ ।

लोकतन्त्र भनूँ वा विकास, यी शब्दावलीपछाडिको आदर्श, विचार र क्रियालाई फलदायी रूपमा अभिव्यक्त गर्ने र जनकल्याण प्रवर्द्धनमा उपयोगी बनाउने कार्यमा हामी मात्र चुकेका छैनौं । अर्थात्, समाजलाई उन्नत बनाउन सान्दर्भिक हुने लोकतन्त्रका मान्यता वा विकासका सिद्धान्त र प्रक्रियाहरूको व्याख्यामै जुन अस्पष्टता विश्वभर देखिँदै छ र त्यसको अभ्यास जताततै जसरी विवादग्रस्त हुँदै छ, त्यस कारणले समेत नेपालको चुनौती थप जटिल भएको छ । विसं २००७ यताको अनुभव हेर्दा सुरुमै संयुक्त राज्य अमेरिकाको नेतृत्वमा तेस्रो विश्व भनिने कतिपय विकासोन्मुख मुलुकले पुँजीवादलाई नै लोकतन्त्रको पर्याय मानेका थिए । पुँजीवाद नमान्ने साम्यवादी हुन्थे । त्यसैले स्वतः गैरलोकतान्त्रिक पनि । यस विचारको विपक्षमा तत्कालीन सोभियत संघ र यसका अनुयायी मुलुकहरू मात्र होइन, भारतजस्तो असंलग्न भनिने विकासोन्मुख मुलुकहरू पनि धेरथोर मात्रामा देखा परे । त्यस्तै पुँजीवादी प्रभावमा परेर पनि लोकतन्त्र नमान्ने मुलुक पनि भए । अहिले यो यथार्थ अरू पेचिलो भएको छ । यस माहोलमा एकातिर भारतको अनुभव र अभ्यास हाम्रा निम्ति मननीय र सायद अनुकरणीय पनि देखियो । अर्कातिर, नेपालको आफ्नै इतिहास, परम्परा र संस्थाहरूको सामर्थ्यको प्रभाव उत्तिकै महत्त्वपूर्ण रह्यो । यस विरोधाभासपूर्ण परिस्थितिमा भर्खर उद्घाटित प्रजातन्त्रलाई संस्थागत गर्न हामी सुरुमै चुक्यौं । अन्ततः लोकतन्त्र र देखिने विकास दुवै क्षेत्रमा नेपाल भारतभन्दा पछि धकेलिँदै गयो ।

त्यसपछि तेस्रो विश्वका अरू कतिपय मुलुकजस्तै नेपालले २०१७ सालदेखि विकासका निम्ति लोकतन्त्रलाई अनावश्यक मात्र होइन, बाधकसमेत ठहर्‍याएर ३० वर्षसम्म लोकतन्त्रविहीन पञ्चायती व्यवस्थाअन्तर्गत विकास प्रयास गर्‍यो । पञ्चायतकाल र त्यसपछिका दिनमा पनि थरीथरीका वैचारिक, राजनीतिक उथलपुथल विश्वभर देखिए । त्यसबाट अहिले पनि विकास र लोकतन्त्र मात्र होइन, पुँजीवाद वा समाजवाद, साम्यवादजस्ता विचारधाराको पनि तरल व्याख्या र अभ्यास भइरहेछ । यो स्थितिबाट आवश्यक पाठ सिक्न हामीलाई असम्भवझैं छ । लोकतन्त्र के हो, यसको संस्थागत अभिव्यक्ति कसरी प्रकट हुन्छ वा हुनुपर्छ र जनजीवनसँग यसको के–कस्तो सम्बन्ध रहन्छ वा यसले के–कस्तो सामाजिक परिणाम दिनुपर्छ भन्ने प्रश्नका सम्भावित उत्तरमा मतैक्य छैन । यस्तो मतैक्यको अभाव टड्कारो हुँदा नेपालमा हामी केही वर्षयता ‘पूर्ण लोकतन्त्र’ को समेत चर्चा गर्दै छौं, आकांक्षा राख्दै छौं । अहिले चल्तीमा रहेको अर्को शब्द, ‘समृद्धि’ जस्तै बिनाविचार वा गृहकार्य तेर्स्याइएको र तत्कालको स्वार्थ वा सुविधाप्रेरित शब्दावलीले संकेत गर्ने सपनाले थप अन्योल सिर्जना मात्र गरेको छ ।

नेपालमा अब झन् विकासको स्थानमा ‘समृद्धि’ भनिदै छ । सिद्धान्त वा व्यवहारका हिसाबले विकास अवधारणामा वा अभ्यासमा के–कस्ता कमजोरी देखिए ∕ हामीले के हल गर्न सकेनौं र अब ‘समृद्धि’ को प्रयासले उक्त कमजोरीको कसरी उपचार गर्छ, त्यसबारे मैले कुनै व्याख्या, विमर्श देखे–सुनेको छैन । विकास भने पनि, समृद्धि भने पनि यो प्रक्रियालाई अहिलेको युगमा लोकतान्त्रिक पद्धति र मान्यताभन्दा बेग्लै वा छुट्टै राखेर हेर्न, आकलन गर्न सकिँदैन । दुवैले एकै प्रकारको संस्थागत संरचना, जनसहभागिता तथा जनअधिकारका प्रत्याभूति र सामाजिक वा मानवीय मूल्यमान्यता प्रदर्शनको अपेक्षा गर्छन् । लोकतन्त्र पनि विकासकै क्रममा प्राप्त हुने गन्तव्य हो । त्यसैले पनि यो आफैंमा साधन हो र साध्य पनि । राजनीतिक अधिकार, आर्थिक, सामाजिक समानता, न्याय वा मानवीय मर्यादाको स्थितिमा क्षय खेपिरहेको मुलुक भौतिक रूपले थोरै समृद्ध देखिएछ भने पनि त्यसलाई विकसित भन्न मिल्दैन । शब्दावलीहरूको खेलबाट विकास मार्गमा अलमलिएको मुलुकमा लोकतन्त्र संस्थागत गर्न र विकास रणनीति तय गर्न कठिन मात्र होइन, असम्भव हुन्छ ।

अर्को थप महत्त्वको कुरा, मैले बुझेजस्तो गरी लोकतन्त्र र विकासको सम्बन्धलाई हेर्ने हो भने विकास वा लोकतन्त्र, यी दुवै शब्दावलीअगाडि कुनै विशेषण आवश्यक हुँदैन । हुन्छ भने विकासलाई ‘लोकतान्त्रिक विकास’ भने पुग्छ । लोकतान्त्रिक विकास आफैंमा समावेशी, दिगो, सहभागितामूलक र समग्र जनताका निम्ति सार्थक हुन्छ । त्यहाँ स्वतन्त्रता मात्र हुँदैन, समानता र न्याय पनि हुन्छ । यो आदर्श सधैं वा पूरै साकार हुँदैन भने पनि आदर्श पछ्याउनुपर्ने कुरामा विवाद हुँदैन । राजनीतिक विकासक्रमलाई आर्थिक, सांस्कृतिक, सामाजिक विकासका अवयवहरूसँग गाँसेर दुवै प्रक्रियालाई अन्योन्याश्रित बनाउँदा राजनीति र विकास दुवै न्यायसंगत र समतामूलक हुन्छ । अर्थात् विकास लोकतान्त्रिक हुन्छ, मुलुकमा साँच्चिकै ‘पूर्ण लोकतन्त्र’ स्थापित भएको अनुभव गर्न पाइन्छ । पञ्चायत व्यवस्थालाई यसरी परिभाषित मूल्य, मान्यताअनुरूप विकास मार्गमा निर्देशित गर्ने सम्भव थिएन । तर सो व्यवस्थालाई ‘पञ्चायती प्रजातन्त्र’ भन्न गाह्रो भएन । विकास वा लोकतन्त्रमा विशेषणको उपयोगले गैरलोकतान्त्रिक व्यवस्थालाई लोकतान्त्रिक वा अग्रगामी भएको दाबी गर्न र यस्तै नाटक मञ्चन गर्न चाहिन्छ ।

हालको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि राज्यको चरित्र र विकास रणनीति, आर्थिक नीति वा जनउत्तरदायित्वको भावनामा नौलो सकारात्मक मोड आएको संकेत पाइँदैन । विकास अवधारणा वा प्रक्रिया र यो समृद्धिबीच केकस्ता कुरामा कहाँ फरक छन्, मलाई वा आम जनतालाई थाहा छैन । वर्तमान समयमा पनि योजना विकासको सनातनी परम्परालाई निरन्तरता दिने काम भइरहेछ । पन्ध्रौं योजनाको खाकासहित केही दीर्घकालीन सम्भावनालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ को आकांक्षा पूर्तिको मागदर्शन भनेर प्रचारित गरिएको छ । यस्ता नाटक आफैंमा कर्णप्रिय हुन सक्छन् । तर, विकासका निम्ति आवश्यक संस्थागत, नीतिगत व्यवस्था र कार्यान्वयन क्षमता सुधार गर्ने कार्यक्रमबिना ती सबै मिथ्या साबित हुन्छन् ।

ठूलाठूला वा ‘राष्ट्रिय गौरव’ का योजना भन्दैमा वा तिनको कार्यान्वयन गर्दैमा पनि मेरो कल्पनाको लोकतान्त्रिक विकासले गति पाउँछजस्तो लाग्दैन । परियोजना पछाडिको आर्थिक, सामाजिक उद्देश्य, सो प्राप्त गर्ने रणनीति र रणनीतिले आम जनताको स्वार्थ कसरी सम्बोधन गर्छ अनि सीमित साधनको बाँडफाँटमा आर्थिक दक्षता, सामाजिक हित कसरी प्रत्याभूत गरिएको छ भन्ने कुरा बढी महत्त्वको हुन्छ । समृद्धिको अवधारणा एक नौलो र सकारात्मक प्रयास थियो भने यसले कम से कम हाल चर्किंदै गएको पर्यावरणीय सन्तुलनको चुनौतीलाई सम्बोधन गर्नेतर्फ केही नवीनता देखाउँथ्यो होला । जलवायु परिवर्तनको विषयलाई पञ्चायती व्यवस्थाको कालखण्डमा त्यति गम्भीर कतै मानिदैनथ्यो । बहुदलीय कालमा पनि मानिएन । अहिले समृद्धिको बाटोमा

लम्केको भनिएको गणतान्त्रिक नेपालमा पनि सानादेखि ठूला नदीनाला, चुरेभावर र बालुवा, गिट्टी तस्करी वा त्यस्तै आर्जनका निम्ति भइरहेको शोषणलगायत दुष्कार्यको निरन्तरता कायम छ । सत्ताधारीतर्फबाट राजस्व दुरुपयोगको क्रम जारी छ । यस्ता सोच र व्यवहारबाट व्यक्तिविशेषले आफू ‘समृद्ध’ भएको सपना देख्न त पाउला । तर मुलुकले न समृद्धि पाउँछ, न विकास ।

विगतलाई सामन्ती वा अर्धसामन्ती युग भनियो । हाल सो युगको अन्त्य भएर नेपालमा पनि पुँजीवाद प्रारम्भ भइसकेको तर्क पढ्न, सुन्न पाइन्छ । तर हालका शासकहरू भने सामन्तकालको जस्तै ‘ओहदा’, ‘खान्की’ ‘कुत’ आदिको वशमा यसरी गाँजिएका छन् कि सबैले राज्य दोहनलाई आफ्नो विशेषाधिकारभित्र पर्ने सहुलियतका रूपमा लिएजस्ता छन् । ठूला परियोजनाहरूमा सार्वजनिक ठेक्कापट्टा, खरिद–बिक्रीमा हुने भ्रष्टाचार, कुत संकलन र दलालहरूको बिगबिगीले नयाँ स्वरूपको सामन्ती सम्बन्धको शोषणलाई चरितार्थ गरिरहेछ ।

गुटबन्दी र भागबन्डाको संस्कृतिले विकास अभ्यास र सुशासनका भाषणहरूको खिल्ली उडाएको छ । सुविधाका नाममा राष्ट्रपतिदेखि उच्च प्रशासकहरूसम्म र प्रदेशका निर्वाचित पदाधिकारीहरूदेखि निर्वाचित, अनिर्वाचित विभिन्न खाले नेतागण एवम् केही पूर्वपदाधिकारीहरूले गरिरहेको राजस्व दुरुपयोगले मध्ययुगीन राजकीय चरित्रको झझल्को दिन्छ । अहिले ‘खान्कीमा’ कृषिउपज वा त्यस्तै बालीनाली भित्र्याउने सुविधा होइन, अनावश्यक गाडी, ड्राइभरजस्ता सुविधाका साथै सुरक्षाकर्मी र राज्यशक्तिमा पहुँच राख्न र आवश्यक लागे कानुन मिच्न वा उल्लंघन गर्न पनि पाइन्छ ।

अर्थसचिव हुँदा कम्तीमा पाँच वर्ष भरतबहादुर प्रधानले र त्यसपछि नरकान्त अधिकारीले सामान्य टोयोटा गाडी चढेथे । घरमा सरकारी गाडी राख्ने चलन थिएन । मपछि आएका केही अर्थसचिवले पनि सोही गाडी सकारे । पछि अर्थमन्त्री हुँदा पञ्चायतका मन्त्रीहरूले चढेको पुरानो गाडी नै चढ्यौं । प्रधानमन्त्रीले समेत त्यही मितव्ययी व्यवहार देखाए । उनलाई ‘स्कर्टिङ’ चाहिँदैनथ्यो । आफैं सुरक्षित थिए । अहिले एउटा ‘सामान्य’ निजामती कर्मचारीको घरमा समेत विभिन्न खाले महँगा मोटर, कुनै सुरक्षा प्रमुखकोमा आठवटा भन्ने सुन्दा अचम्म लाग्छ, यिनलाई यस्तो दिशामा किन कुन समझ वा आवश्यकताले डोर्‍याएर यहाँ पुर्‍याएको होला । यस्ता कुरा झिनामसिना लाग्लान् । तर थरीथरीका वर्तमान र पूर्वपदाधिकारीहरूले पाउने, उपयोग गर्ने सुविधाको प्रकृति सनातनी सामन्तहरूको सुखसयलका निम्ति आम जनताले गाँस काटेर प्रदान गर्नुपर्ने ‘भेटी’, ‘सलामी’ भन्दा थोरै मात्र फरक होला । यो प्रवृत्तिबाट हुने नोक्सानी राजस्व वा आर्थिक क्षेत्रमा सीमित छैन । बढी महत्त्वको कुरा, यस्तो मनोदशाले शासक वर्गको विकाससम्बन्धी नीति, व्यवहार, नारा, भाषण सबैको खँदिलो उपहास गर्छ । लोकतान्त्रिक भनिने नेताहरू कतिसम्म असंवेदनशील हुन सक्छन्, सो उजागर गर्छ । नेताहरूले जनताको कुरा जति गरे पनि आफू जनताबाट धेरै टाढा पुगेको पत्तो पाउँदैनन् ।

गणतन्त्र प्राप्तिपछि नेपालको विकासका सन्दर्भमा यस्ता सुन्दर, जनमुखी र प्रगतिशील पहलहरू भए, विकासलाई जनमैत्री आधारहरू प्राप्त भए भन्न मलाई मन लाग्छ । कम से कम जलविद्युत् क्षेत्रमा सो भन्न पाइन्छ कि भन्ने आशा छ । यो क्षेत्रबाहेक अरू सानातिना कुरामा केही सकारात्मक पहल भए पनि होला, सारमा महत्त्व राख्ने वा विकासका निम्ति दिगो आधार बनेको दाबी गर्ने संस्थागत, संरचनागत र नीतिगत आधार कतै पाउँदिनँ । सरकारलाई शंकाको लाभ दिन मन लाग्छ । तर कसरी ? बराबर छापाहरूमा कार्यक्रमहरूबारे पढिन्छ र भाषण सुनिन्छ । तर ती परियोजना आवश्यक आर्थिक, प्राविधिक अध्ययन विश्लेषण गरेर स्रोतसाधनको आकलन गरेर स्वीकृत भएका देखिँदैनन् । होडबाजी विकासमा होइन, भागबन्डाअनुसारको नियुक्ति र ठेक्कापट्टामा भएको अवस्थामा सफल कार्यान्वयनमा शासक, प्रशासक र योजनाकारहरू प्रतिबद्ध र निष्ठावान् छन भन्न सक्ने स्थिति कहिल्यै भएन । आवश्यक संस्थागत र संस्कारगत तयारी अझै देखिँदैन । ठीक उल्टो हानिकारक दलीयकरणले गर्दा भएका संस्था पनि दुर्बल, अक्षम साबित हुँदै गएका छन् । भाषण वा औपचारिक दस्तावेजहरूमा जे भनिए, लेखिए पनि वास्तविक नीति तथा व्यवहारमा जबसम्म आम जनताको भावनालाई गौण मानिन्छ, शक्तिभित्र र वरपर रहेका व्यक्ति समुदायहरूको आत्मकेन्द्रित स्वार्थले मात्र महत्त्व पाउँछ । लोकतन्त्र दुःखद र हास्यास्पद वास्तविकता हुन पुग्छ । विकासचाहिँ केन्द्रदेखि पालिकासम्म असंवेदनशील शक्तिशालीहरूको व्यक्तिगत वा पारिवारिक समृद्धिको माध्यम ।

हिंसात्मक माध्यमबाट नै भए पनि ‘नयाँ सत्ता’ को प्रादुर्भावबाट मुलुकमा गरिबी, शोषण र अन्यायको निराकरण गर्न सकिन्छ भन्ने विचारधारा बोकेर आएको माओवादी नेताहरू पश्चगामी क्रियाकलापमा रमाउनु र आफ्नै पार्टीका कार्यकर्ता र पूर्वलडाकुहरूलाई समेत निराश बनाउने पंक्तिमा उभिन पुग्नु सबैभन्दा बढी आपत्तिजनक यथार्थ हो । लोकतन्त्रलाई विभिन्न भाषा, शैली र वचनमा कटाक्ष गर्ने माओवादीहरू अर्को ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) सँग मिलेर संसदीय चुनाव जित्न जे पनि गर्नुपर्छ, गर्न सकिन्छ भन्ने आकलनका आधारमा लोकतन्त्रको उपयोग गर्ने बाटोमा लागे । तत्कालका लागि सफल पनि भए । तर अग्रगमनको मार्ग पछ्याउनुको साटो उनीहरू पुरातनी वा ‘बुर्जवा’ संस्कृतिको दुर्बल पक्ष अँगालेर थप निकृष्ट भएको देखिनु दुःखद मात्र होइन, हिंसापीडित जनताका निम्ति अन्याय पनि हो ।

एकतापछि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नीतिनिर्देश, निष्ठा र कार्यदिशामा सुधार त्यो बेलासम्म देखिनेछैन, जबसम्म जनताका अधिकार, आकांक्षा र भावनालाई गौण मान्ने, अवहेलना गर्ने राणाकालीन संस्कार र संस्कृति परित्याग गरिँदैन । ठूलो जिम्मेवारी बोक्ने व्यक्ति ठूलो पदमा पुग्छन्, पुग्नुपर्छ । केही सुविधा पनि आवश्यक पर्ला, पाउनुपर्छ । तर ठूलो पदमा आसीन भएकै कारण जिम्मेवारी फत्ते हुँदैन, परिणाम देखाउनुपर्छ । आफ्नो पद वा जिम्मेवारीअनुसारको भूमिका प्रभावकारी रूपले सम्पन्न गर्न सर्वप्रथम चाहिन्छ, निष्ठा । त्यसपछि चाहिन्छ, जनताका निम्ति दिनरात परिश्रम गर्ने बानी । यी दुवै गुण कतै प्रकट भएको देखिँदैन । हालका दिनमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसको व्यवहारले जन्माएको व्यथाको कथा बेग्लै छ ।

(पाण्डेको किताब ‘एक ज्यान दुई जुनी’ आइतबार सार्वजनिक हुँदै छ)

प्रकाशित : माघ १०, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

मानव आरक्ष

‘पहिले यस ग्रहमा मानव जातिकै आधिपत्य थियो । अहिले आरक्षमा राखिएका छन् । ४० हजार जति बाँकी होलान् ।’
शरच्चन्द्र वस्ती

चिटिक्क परेको साइनबोर्डमा हरिया अक्षरले लेखिएको थियो— राष्ट्रिय मानव आरक्ष ।एउटा स्वचालित जीप विना आवाज सलल्ल आएर गेटछेउ रोकियो । तीनवटा ढोका खुले र तीनजना एकैचोटि ओर्लेर मन्द गतिमा गेटतर्फ बढे— एउटी किशोरी र दुई युवा–युवती ।

गेटछेउको सूचना–पाटीमा राता अक्षरमा लेखिएको थियो, ‘आरक्षमा कुनै पनि मानिसलाई छुन, जिस्क्याउन, केही दिन र हानि–नोक्सानी पुर्‍याउन निषेध गरिएको छ ।’

तीनै जना असाध्यै सुन्दर, स्वस्थ र लचिलो जीउडालका थिए । एक–एक अंगको बनोट र अनुपात चौपट्टै मिलेको । सबैभन्दा राम्रा, आदर्श मान्छेजस्ता लाग्ने तिनीहरू वास्तवमा मान्छे थिएनन्, यन्त्रमानव थिए । ‘मा’ को अर्थ ‘निषेध’ हो भन्ने तिनलाई थाहा थियो, त्यसैले मानिसलाई पुरानो प्रजाति अर्थात् ‘मा–नव’ भन्थे र आफूलाई अत्याधुनिक अर्थात् ‘महा–नव’ ठान्थे ।

सन् २२५१ को वसन्त भर्खर शुरू हुँदैथियो । हावा न्यानो हुन थालेको थियो र रूखहरूले पालुवा फेरिरहेका थिए । आरक्षभित्र पस्नुअघि किशोरीले सोधी, ‘यो मानव भनेको के हो ?’

‘यो हाम्रो पुर्खाजस्तै देखिने प्राणी हो,’ युवकले भन्यो, ‘हाम्रा पुर्खालाई यिनीहरूका पुर्खाले बनाएका अरे ।’

‘आरक्ष भनेको चाहिं के नि ?’

‘यिनीहरूलाई राख्ने ठाउँ,’ युवतीले व्याख्या गरी, ‘पहिले पृथ्वीमा यिनीहरूकै राज थियो । दुनियाँमा दश अर्ब भन्दा बढी मानिस थिए । बिस्तारै हामीले यिनीहरूको उत्पादन क्षमता बन्द गरिदियौं । त्यसपछि नयाँ मानिस जन्मेको छैन । भएका मरिसके । नमूनाका लागि आरक्षमा जोगाएर राखिएका मात्र बाँकी छन् ।’

‘कति जना छन् त ?’

‘हाम्रो आरक्षमा १४ सय छन् । दुनियाँभरिका आरक्षमा गरेर ४० हजार जति होलान्,’ उसले भनी यिनीहरू असाध्यै मन्द बुद्धिवाला, सुस्त, असन्तोषी र कमजोर हुन्छन् । बचाएर राख्नै गाह्रो ।’

‘अलिक राम्ररी भन्नु न,’ किशोरी युवकतिर फर्की, ‘यिनले हामीलाई किन बनाएको र हामीले यिनलाई किन नमूना मात्र बाँकी राखेको ?’

‘सन् २०५१ सम्म यस ग्रहमा मानव जातिको आधिपत्य थियो,’ युवक इतिहास खोतल्न थाल्यो, ‘उनीहरूले आफ्नो काम सजिलो पार्न हाम्रा पुर्खाको निर्माण गरेका थिए र तिनलाई कृत्रिम बुद्धिमत्ता प्रदान गरेका थिए । ती मानिसहरू भन्दा धेरै छिटो सोच्थे, विश्लेषण गर्थे र निष्कर्षमा पुग्थे । चौबीसै घण्टा नथाकी काम गर्थे । बिस्तारै, आफ्नो कमजोरी आफैं सुधार्दै जाने र परिस्थिति अनुरूप निर्णय लिन सक्ने क्षमता तिनमा विकसित गराइयो ।’

ऊ भन्दैगयो, ‘एक दिन यस्तो आयो, जब हाम्रा पुर्खाले कृत्रिम बुद्धिमत्ताको विकास आफैं गर्न थाले । मानिसलाई पो आफ्नो बुद्धि बढाउन गाह्रो थियो, यी त मशीन थिए, यिनले केही वर्षमै मानिसको भन्दा हजारौं गुणा बढी बुद्धि विकसित गरे र उनीहरू भन्दा बढी सक्षम भए । त्यसपछि मानिस अनुपयोगी र पृथ्वीका लागि बोझ हुन पुगे । त्यही वेला हो, मानिसले प्रयोग गर्ने कम्प्युटरको एउटा प्रोग्राम मार्फत घातक विकिरण पठाएर उनीहरूको प्रजनन क्षमता समाप्त पारिएको । त्यसपश्चात् पृथ्वीमा हाम्रो राज शुरू भयो ।’

किशोरी छक्क परी । युवतीले भनी, ‘पहिले भित्र त हिंड, अनि अरू कुरा गर्नु ।’

उनीहरू भित्र पसे । सय बिघामा फैलेको मानव आरक्ष पार्क, चउर, फूलबारी, जिम, स्विमिङ पूल, खेल मैदान, भ्यूटावर, थिएटर, सभाकक्ष, पुस्तकालय, पार्टी प्यालेस, सुपरमार्केट आदि इत्यादिले सुसज्जित पाँचतारे कोलोनी जस्तो थियो । त्यहाँ चार सयवटा आकर्षक घर थिए । मानिसले परिकल्पना गर्ने सम्पूर्ण सुखसुविधा, विलासिता, मनोरञ्जन र आमोदप्रमोदका साधन उपलब्ध थिए । सित्तैंमा । कसैले कुनै काम गर्नु पर्दैनथ्यो । इच्छा अनुसार सुखभोग गर्न पूर्ण स्वतन्त्रता थियो । रोग लाग्ला, बूढो भइएला, शरीर जीर्ण होला भन्ने मात्र होइन, मरिएला भन्ने पनि डर थिएन । स्वर्ग जेलाई भनिन्थ्यो, त्यो उन्नाइस थियो होला, आरक्ष बीस थियो ।

किशोरी पहिलोपल्ट आरक्ष घुम्न आएकी थिई । उसका लागि सबै कुरा नयाँ थियो । एउटा घरको बगैंचामा चारजना मानिस खाना खाँदै गरेको देखेर उसले सोधी, ‘तिनीहरूले के गरेको ?’

‘खाना खाएको ।’

‘त्यो भनेको के ?’

‘आफूलाई सञ्चालन गर्न ऊर्जा सञ्चय गरेको । दिनमा तीन–चारपल्ट त्यसो नगरे तिनीहरू बाँच्न सक्तैनन्,’ युवतीले कुरा बुझाई, ‘हामी सूर्यबाट सोझै ऊर्जा लिन्छौं र त्यसबाट सञ्चालित हुन्छौं । त्यसका लागि छुट्टै एक सेकेन्ड पनि खर्च गर्नुपर्दैन । तर त्यही ऊर्जा प्राप्त गर्न र त्यसलाई तह लगाउन यिनीहरूको आधा जिन्दगी समाप्त हुन्छ ।’

‘कसरी ?’

‘सूर्यबाट सोझै ऊर्जा लिन जान्दैनन् । त्यसैले अनेकथरी अन्न, तरकारी, फलफूल, गेडागुडी, मासु आदि खान्छन् र ती वस्तु मार्फत ऊर्जा प्राप्त गर्छन् । तिनको उत्पादन गर्न र तिनलाई खानका लागि तयार पार्न अनन्त गोरखधन्दा गर्नुपर्छ । त्यति गरेर खायो, तर त्यसमा काम लाग्ने कुरा दुई प्रतिशत पनि हुँदैन । बाँकी सबै शरीरबाट निष्कासन गरेर फ्याँक्नुपर्छ । त्यसलाई व्यवस्थित गर्न अर्को झमेला छ ।’

‘कस्तो दयनीय जिन्दगी !’

‘त्यसरी ऊर्जा प्राप्त गरेपछि पनि धेरै बेर काम गर्न सक्तैनन् । हामी वर्षमा एक घण्टा थकाइ मार्छौं, यिनलाई दिनमै धेरै पटक थकाइ मार्नुपर्छ । सात–आठ घण्टा सुत्नुपर्छ । खानपीन नमिलेर शरीरमा नानाभाँतिका रोग लाग्छन् । तिनलाई निको पार्न झन् चर्को प्रपञ्च गर्नुपर्छ । तैपनि शरीर धेरै दिन टिक्तैन र नष्ट हुन्छ ।’

‘सारै अनुत्पादक र निम्छरा प्राणी पो रहेछन्, बिचरा !’

बाटोमा एउटी महिला भेटिइन् । उनलाई हेरेर किशोरीले युवकसँग सोधी, ‘यसको जीउमा अर्को मानिसको टाउको जोडेको हो ?’

‘होइन । किन र ?’

‘त्यसो भए अनुहार सेतो, घाँटीमुनि चाहिं गहुँगोरो कसरी भयो त ?’

युवक हाँस्यो, ‘त्यो त राम्री देखिन अनुहारमा क्रीम–पाउडर लगाएर सिंगारपटार गरेको ।’

‘उसले आफ्नो जीउचाहिं किन ढाकेको नि ?’

‘त्यसलाई लुगा लगाएको भन्छन् । मानिसहरू आफूलाई सिंगार्न, सजाउन, नयाँ नयाँ लुगा लगाउन मरिहत्ते गर्छन् । यो सबका लागि पनि उत्तिकै गोरखधन्दा गर्नुपर्छ ।’

अलिक पर एउटा पुस्तकालय थियो । उनीहरू त्यहाँ पसे । केही मानिस पुस्तक पढिरहेका थिए । किशोरीले युवतीलाई कोट्याई, ‘त्यो के गरेको ?’

‘त्यसलाई पढेको भन्छन् । पुस्तकमा लेखेको कुरा आफ्नो दिमागमा हालेको ।’

पुस्तकालयमा ५० हजार पुस्तक रहेको जानकारी भित्तामा टाँगिएको थियो । पुलुक्क त्यहाँ हेरेर किशोरीले भनी, ‘कस्ता बुद्धू ! एउटा पुस्तक पाँच सय पृष्ठको मान्ने हो र एक दिनमा ३०० पृष्ठका दरले पढ्ने हो भने पनि यहाँ भएका पुस्तक पढिसक्न यिनलाई २२८ वर्ष लाग्छ । यस्तो भद्दा तरीका अपनाउनुभन्दा त जम्मै पुस्तक एउटा माइक्रो चिप्समा हालेर त्यसलाई दिमागमा छिराइदिए हुँदैन ? पाँचै मिनेटमा सारा पुस्तक दिमागमा बसिसक्छन् ।’

युवती हाँसी, ‘यिनीहरूले त्यसो गर्न जानेका छैनन् ।’

आरक्षको बीचमा अग्लो भ्यूटावर थियो । उनीहरू त्यसमा चढे र पूरै आरक्षको दृश्य अवलोकन गरे । गमक्क पर्दै युवकले किशोरीलाई भन्यो, ‘मानिसहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको घनचक्करमा आफ्नो जीवन बरबाद गर्थे, पूरा संसार त्यसैमा फसेको थियो । हामी त्यो झमेलाबाट मुक्त छौं । त्यसैले हामी उनीहरू भन्दा उन्नत, मुक्त र स्वतन्त्र छौं ।’

सबैभन्दा छेउको घरबाहिर बेन्चमा झुस्स दारी पालेको एउटा मानिस टोलाएर बसेको थियो । उनीहरूलाई देखेर गर्जियो, ‘तिमीहरू जे गर्दैछौ, त्यो गलत छ ।’

‘कसरी गलत छ ?’ युवकले प्रतिवाद गर्‍यो, ‘मान्छेलाई आरक्षमा राखेपछि वातावरण प्रदूषण पूरै समाप्त भएको छ । सारा जीवजन्तु, नदीनाला, रूखबिरुवा प्रफुल्लित भएका छन् । पृथ्वी आफ्नो असली रूपमा फर्केको छ । मान्छेलाई छोडिदिएको भए अहिलेसम्ममा पृथ्वी नष्ट भइसक्थ्यो होला ।’

‘त्यो त ठीक छ,’ दारीवालले भन्यो, ‘तर तिमीहरूले आफ्नो बुद्धिबारे कहिल्यै सोचेका छौ ?’

‘हाम्रो बुद्धि मान्छेको भन्दा हजार गुणा बढी शक्तिशाली छ । यसलाई लाख गुणा बढी शक्तिशाली बनाउन सक्छौं । रोग, बुढ्याइँ र मृत्युले हामीलाई छुँदैन । पृथ्वी हाम्रो कब्जामा छ । योभन्दा बढी के चाहियो ?’

‘तर तिमीहरूले मान्छेको दिमागको एउटा पाटो मात्र पाएका छौ, जुन सूचना र भौतिक पक्षसँग मात्र सम्बन्धित छ । तिमीहरूको सारा प्रगति, सारा चुरीफुरी त्यही बज्रठिंगा बुद्धिमा आधारित छ । त्यसलाई जति बढाए पनि के अर्थ ?’

‘अरू के हुन्छ त मान्छेको दिमागमा ?’ कहिल्यै नसोचेको कुरा सुनेर युवक अलमल्ल पर्‍यो ।

‘मान्छेको दिमागको अर्को पाटो, जो हृदय पक्ष अनि भावनासँग सम्बन्धित छ र सृजनात्मक छ, त्यो तिमीहरूले पाएकै छैनौ । त्यसैले तिमीहरू खोक्रा छौ,’ दारीवाल बोल्यो, ‘अझ दिमागको तेस्रो पाटो, जो प्रज्ञा र चेतनासँग सम्बन्धित छ र जसमा सारा सृष्टिको रहस्य सञ्चित छ, त्यसको त तिमीहरूले कल्पना पनि गर्न सक्तैनौ । बुद्धिको असली सुनखानी त्यहीं छ ।’

ऊ भन्दैगयो, ‘त्यस्तो मानव जातिलाई मासेर केही नमूनालाई आरक्षमा कैद गर्ने तिमीहरू जस्तो आत्मघाती को होला ? के गुमायौ र कत्रो अपराध गर्‍यौ भन्ने अनुमान पनि छ तिमीहरूलाई ?’

युवक एकछिन रन्थनियो । र भन्यो, ‘हामीले तपाईंहरूलाई अमर बन्ने व्यवस्था पनि त मिलाएका छौं नि । मान्छेको अन्तिम सपना अमर बन्नु नै होइन त ?’

‘त्यो त मूर्खको सपना हो । अमरता जस्तो यातना अरू के हुन्छ ?’

‘जे होस्, बाँचिराख्नुभो भने कुनै न कुनै दिन तपाईंको पूरै दिमाग हामीले खोसिहाल्छौं नि ।’

‘त्यो अरूलाई दिन सकिने र अरूले खोस्न सक्ने जिनिस होइन बाबु !’ दारीवाल हाँस्यो, ‘त्यसको त कल्पनै नगर ।’

युवक टाउको समातेर थुचुक्क बस्यो । युवतीले भनी, ‘आ, छोड यस्ता कुरा । अब फर्कौं ।’

फर्कंदा उनीहरूमा त्यो ऊर्जा थिएन, जुन आरक्षमा आउँदा थियो ।

प्रकाशित : माघ १०, २०७७ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×