छोपिँदै–खोलिँदै मान्छेको सभ्यता- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोपिँदै–खोलिँदै मान्छेको सभ्यता

त्यो आदिम रुखको बोक्राले ब्लु जिन्सको ठाँटमा आफूलाई कसरी बदल्यो होला ? भारी गहना र पोसाकमा ठाँटिने राजा, महाराजाको सन्तान र एकसरो कपडामा काँप्ने रैतीहरु उस्तै कपडामा देखिने जमाना आउन सभ्यताले कति पाइला हिँड्यो होला ? संसारका अन्य मुलुकको तुलनामा ‘कुलीन’ र ‘कुल्लीहरु’ उस्तै लुगामा देखिन नेपाललाई कति समय लाग्यो ?
सरला गौतम

मान्छेले कहिलेबाट आफूलाई ढाक्न सुरु गर्‍यो होला ? प्रायः हामी सबैले सुन्दै आएको कथा हो– ‘रूखको बोक्रा बेरेर हिँड्थे रे हाम्रा पुर्खाहरू !’

त्यो आदिम रूखको बोक्राले ब्लु जिन्सको ठाँटमा आफूलाई कसरी बदल्यो होला ? भारी गहना र पोसाकमा ठाँटिने राजा, महाराजाको सन्तान र एकसरो कपडामा काँप्ने रैतीहरू उस्तै कपडामा देखिने जमाना आउन सभ्यताले कति पाइला हिँड्यो होला ? संसारका अन्य मुलुकको तुलनामा ‘कुलीन’ र ‘कुल्लीहरू’ उस्तै लुगामा देखिन नेपाललाई कति समय लाग्यो ? सस्ता र न्याना चाइनिज कपडाको कारण आज धनीमानीकै दाँजोमा गरिबहरू पनि न्यानो लुगामा देखिन्छन् । सञ्चारको दुनियाँ शक्तिशाली छ । आज लन्डनको कुनै सहरमा देखिएको पोसाकको नमुना नेपालकै कुनै गाउँमा देखियो भने अचम्म मान्ने दिन गयो । ब्लु जिन्समा हल्लिएका तन्नेरी जुनसुकै गाउँमा भेटिन्छन् । तीन दशकअघि नै अक्सर ब्रिटिस र हङकङका लाहुरे परिवारका महिलाले लगाउने थाइल्यान्डको लामो मिडी र युकेको स्वेटरको रवाफ नेपालका साना सहरमा भित्रिसकेको थियो । हरहिउँदमा एउटा युकेको स्वेटर किन्ने त्यो बेलाका महिलाहरूको पहिरनी प्रतिज्ञा हुन्थ्यो ।

कपडासँग जोडिएका यस्तै परिदृश्यबीच माइनिके स्किपरको पुस्तक ‘न्याकेट अर कभर्ड– अ हिस्ट्री अफ ड्रेसिङ एन्ड अनड्रेसिङ अराउन्ड द वर्ल्ड’ हात पर्‍यो । यही पुस्तकमा आधारित रही पोसाकको इतिहास, राजनीति र समाजशास्त्रको उत्खनन गर्ने कोसिस गरेको छु ।

शरीरमा बेरिएको एकसरो लंगौटीको चलन फैलिएर संसारभरि पुग्यो । ह्वांग परेको खुला छातीमा निर्धक्क डुल्ने महिलाहरू, छोपिने र खुल्नेको असाधारण यात्रा पार गर्दै बिकिनी लगाएर समुद्री तटमा कावा खान थाले । मानिसको संसार नांगैबुंगै थियो, समयक्रममा मानिसको दुनियाँमा सरमले सानदार एन्ट्री मार्‍यो । मानिस छोपियो ।

समय फेरिँदै गयो, सरमको पर्दा फेरि पातलो हुँदै जान थाल्यो, मानिस फेरि खुल्न थाले । खुल्दै, छोपिँदै, खुल्दै, मानव सभ्यताको यात्रा कहाँसम्म जान्छ होला ? कोही हलाल बाथ (इस्लाम धर्म मान्नेहरूले पूरै शरीर छोपेर नुहाउने चलन) सम्म पुगेका छन्, कोही टपलेस–बाथमा मस्त छन् । एउटै धर्तीबासीले एकले अर्कोलाई हेर्दा बिजुलीको झड्का लाग्ने अवस्था छ ! पुरातन सत्ताले भन्छ, ‘पूरै शरीर छोपेर हिँड ।’ बजारको सत्ताले भन्छ, ‘देखाइदेऊ मेरो सामान बेचिदेऊ ।’ मानिसको विवेकले यो दुई ध्रुवबाट आफ्नो बाटो पहिल्याउँदै जाँदै छ ।

पोसाकले मानिसको देश, भूगोल, समाज बोलिरहको हुन्छ । अहिलेको संसारमा कपडा परिचय–मापन अस्त्र बनेको छ, सिंगो शरीर एक बिजनेस कार्ड !

आदिम समाजमा पुरुषको यौनांग र छातीको चौडाइको मूल्यांकन गरी महिलाहरू आफ्नो साथी रोज्थे । भावी सन्तानको रूपरेखा नाप्थे । पुरुषहरू महिलाको छातीको पुष्टता र नितम्ब हेरेर आफ्नो भावी सन्तानको गुणस्तर आकलन गर्थे । सामाजिक, आर्थिक हैसियत पुरुषको भन्दा कमजोर हुँदै जाँदा पनि शरीर मापन गरी यौनसाथी छान्ने कुरामा महिलाहरूको हैकम बढी चल्थ्यो । पुरुषको लागि बिस्तारै यो कुरा काँडा बन्यो । आफ्नो गोप्य अंग मापनसँग पुरुषहरू त्रसित हुन थाले । समयक्रममा अफ्रिकाका पुरुषहरूले यौनअंग छोप्ने सानो वस्त्र लगाउन थाले । पछि यो फैलिएर संसारभर पुग्यो । हाम्रै जिजु, हजुरबाहरूले पनि लंगौटी लगाएर पूजाआजा गरेको हामीले देख्यौं । पुरुषहरूले अंग लुगाउन थाले पनि महिलाहरूको छाती र नितम्बको भव्य प्रदर्शन भने आजसम्म सहरका बिलबोर्डहरूमा भइरहेछ ।

शरीर जति देखिन्छ उत्तेजना उति तीव्र हुन्छ भन्नु फगत भ्रम हो । जति छोपिएको हुन्छ उति कल्पना तीव्र हुन्छ भन्ने ठम्याइ छ मानवशास्त्रीहरूको । पुरातन समाजमा महिलाले खुला छाती लिएर हिँड्नु पनि सामान्य थियो । अहिले महिलाको क्ल्भिेज चियाउन पाउँदा पनि करेन्ट लागेर फत्रक्क हुन्छन् मानिसहरू । अध्येताहरू भन्छन्– महिलाको ओठ र हाँसो हेरेर योनिको रूपरंग अन्दाज गर्दै बस्छन् पुरुषहरू ! यहुदी उखान नै छ, ‘खुला ओठले खुला योनि र बन्द ओठले बन्द योनिको संकेत गर्छ ।’ कपडासँग जोडिएको आचरण र नैतिकता परापूर्व समाजमा थिएन । समाजका कट्टरहरूले बिस्तारै भित्र्याएका हुन् । कपडालाई लिएर नैतिकताको मापदण्ड संसारभरकै समाजमा विविध छ । एउटै समाजको एकै टोलमा पनि नजर फरक–फरक छ । एउटा घरमा ‘अहा सेक्सी’ लाग्ने कपडा अर्को घरको मानिसलाई ‘छ्या उत्ताउलो’ लाग्न सक्छ । पहिरनलाई लिएर हुने आलोचना र प्रशंसा विश्वव्यापी प्रक्रिया हो । यसैले भनिन्छ, ‘जजमेन्ट’ हेर्ने मानिसको आँखामा हुन्छ । देखाउने र छोप्नेको तनाव र सम्झौताको अविरल यात्रामा मानिस हिँडिरहेको छ ।

सामाजिक नैतिकता र कपडा

कपडासँग टाँस्सिएको नैतिकताको सम्बन्धमा चिनियाँ उखान छ– भोकले मर्नु ठुलो कुरा होइन, नैतिकता धरापमा पर्नु महाप्रकोप हो ।’ सभ्यताको सुरुआतको निकै पछिसम्म पनि नांगोपनसंँग भद्रता र नैतिकताको सम्बन्ध धेरै समुदायमा थिएन । सातौं शताब्दीको नजिकसम्म पनि मध्यएसियामा महिलाले आफ्नो शरीरको माथिल्लो भाग खुला राख्नु सामान्य मानिन्थ्यो । क्रिस्चियनिटी र इस्लामिक सम्प्रदायको प्रभाव बढेसँगै शरीर प्रदर्शन अस्वाभाविक भयो । नांगोपन, पाप, धर्म र नैतिकतासँग जोडिन पुग्यो । सुरुआतमा कुनै पनि धार्मिक सम्प्रदाय कट्टर थिएनन् । कट्टरता समाज विकाससँगै विकसित भएको हो ।

मानिसले प्रकृतिसँगको सुरक्षाका लागि पहिरन आविस्कार गरेको हो । हाम्रा पुर्खा जब दुई खुट्टाले हिँड्न थाले, तब उनीहरूले आफ्नो यौनांगको गतिशीलतामा ध्यान पुर्‍याउन थाले । ठिंग उभिन सक्ने भएपछि पुरुषले आफ्नो सम्भावित यौनसाथीको ध्यान आफूतिर अझै सानसँग खिच्न थाले । अस्वाभाविक यौन उत्तेजनालाई अरूको नजरबाट जोगाउन पनि यौनांग ढाक्ने चलन सुरु भएको मानिन्छ । हिजोदेखि आजसम्मै पुरुष जनेन्द्रियको अप्रत्याशित व्यवहारले स्वयं पुरुषहरू नै मर्कामा परिरहेका हुन्छन् । पुरानो समाजमा पुरुषहरू आफ्नो उत्तेजनाको जवाफदेहिता आफैं लिन्थे । यही कारण पनि उनीहरूले महिलाको नजरबाट आफ्नो गोप्य अंग लुकाउन थाले ।

सन् १४९८ मा कोलम्बस ट्रिनिड्याड टापुमा पुग्दा महिलाहरू नांगै घुमेका भेटेका थिए, पुरुषहरूको कम्मरमा पेटी बाँधिएको थियो । समाज अध्येता विनउड डब्लु रिडले आफ्नो अध्यनमा उल्लेख गरेका छन्, ‘अमेरिकाको ओरिनोको एरियामा आदिवासीहरूलाई त्यहाँ पुगेका पादरीहरूले सम्मानपूर्वक कपडा दिए । आदिवासीहरूले कपडा समुद्रमा मिल्काइदिए । दिने मानिसहरू चकित परे, लिनेहरूको तर्क थियो– कपडा लगाउने चलन उनीहरूको भद्रतामा प्रहार हो ।’ अफ्रिकाको हिम्बा समुदाय र स्वाजिल्यान्डको स्वाजी समुदायमा महिलाहरूले वक्षस्थल देखाउनुलाई अझै पनि सामान्य मानिन्छ । विशेष अवसरहरूमा छाती देखाएर नाच्नुलाई फेमिनिटी सेलेब्रेसनको रूपमा लिइन्छ । नेपालकै सन्दर्भमा हेर्दा पनि राउटे जाति प्रकृतिसँग समीप भएर आधुनिकतालाई बेवास्ता गर्दै जीवनयापन गर्ने जाति हुन् । उनीहरू अन्य समुदायजस्तो गरी पहिरनको आधुनिक संसारमा अझै प्रवेश गरेका छैनन् ।

नैतिक मूल्यमान्यता जोगाउन होइन, विपरीतलिंगीलाई आकर्षित गर्नका लागि पहिरनमा ध्यान दिन थालेका हुन् मानवले । सिंहले प्रेमिका फकाउन मुखवरिपरिको लामो–लामो भुत्ला नचाउने गर्छ । मयूर पंख फिजाएर नाच्छ । मानव भाले–पोथी भने अहिले कपडामा पुगेका छन् । आजको संसारमा भने सुन्दर भएर अर्को लिंगलाई आकर्षण गर्ने जिम्मेवारीको भारी महिलाको काँधमा बढी छ । अक्सर पुरुषहरू भने अर्को पुरुषभन्दा आफू कम बौद्धिक नदेखियोस् भनेर हरदम सचेत रहन्छन् । सतहमा नदेखिए पनि एकअर्काप्रति तीव्र प्रतिस्पर्धामा रहिरहन्छन् । अरबी उखान छ, ‘पुरुषको सौन्दर्य उसको बौद्धिकतामा हुन्छ, महिलाको बौद्धिकता उसको शृंगारमा हुन्छ ।’ यस्ता उखान विभिन्न समाजमा पाइन्छन् । अहिले भने बौद्धिक र भद्र पुरुषहरूले बौद्धिक महिलाहरूमा आकर्षण पाउन थालेका छन् । तर, यो निकै कम, मुठ्ठीभरका मानिसहरूमा मात्रै । पुरुषहरूको अंग जाँचेर साथी छान्ने महिलाको पुरानो सहुलियत गायब भयो । पुरुषको गुण जाँच्ने मानक भने बौद्धिकता र आर्थिक हैसियत भयो । यसैले संसारभरि नै पुरुष महिलाका शरीरकै पछि भागिरहेको देखिन्छन् ।

निजी सम्पत्तिको सुरुआतभन्दा पहिला महिलाहरू सामाजिक र आर्थिक रूपमा सबल थिए । दोस्रो शताब्दीसम्म पनि एन्सियन्ट मेसोपेटामिया (अहिलेको इराक) मा महिलाहरूको बलियो सामाजिक–आर्थिक हैसियत थियो । दोस्रो शताब्दीको अन्त्यतिर यहाँका महिलाहरूले बिहेमा टरब्यान नामको पोसाक लाउने परम्पराको सुरुआत भयो । दाजुभाइले यो पहिरन दिने, श्रीमान्ले लगाइदिने चलन सुरु भयो । यसको समाजशास्त्रीय मनोविज्ञान हो– ‘पहिरन त्यो मानिसले लगाइदिन्छ जसले फुकाल्ने हक राख्छ ।’ बिस्तारै संसारभरका समाजमा महिलाको शरीर र पहिरन पुरुष हैकमको भ्यालखानामा कैद भयो । जसले कमाउँछ–खुवाउँछ, उसको शरीर र पोसाक उसैको नियन्त्रणमा रहन्छ । यसैले आफूमाथि जबरजस्ती थोपरिएका पोसाकविरुद्धमा महिलाहरूको संघर्ष जारी छ । दिल्लीको जेएनयू विश्वविद्यालयका विद्यार्थीले ‘सारी र सिन्दूर जबरजस्ती किन ?’ भन्दै २०१९ मा प्रदर्शन गरेका थिए । हाफ प्यान्टमाथि सारी बेरेर खिचिएको युवतीको तस्बिर छाप्दै ‘इन्डिया टुडे’ ले केही दिनअघि यही विषयमा रिपोर्ट छापेको छ ।

कपडासँग जोडिएको मानिसको नीति र कानुन संसारभरका समाजमा विविध र जटिल छ । पर्दाभित्र, घुम्टो र बुर्काभित्र बस्न बाध्य पारिएका महिलाहरू सामाजिक हैसियतमा कमजोर हुन् कि जस्तो लाग्छ । तर, यसो होइन पुरानो इराकमा खानदानी महिलाहरू पर्दाभित्र बस्ने, घुम्टो ओढ्ने चलन थियो । दासि र बेश्याहरूले घुम्टो ओढे भने ज्यान नै लिनेसम्मको सजाय दिइन्थ्यो । घुम्टो ओढ्ने कुरा समाज हेरिकन कुलीनताको प्रतीक हो, पछ्यौटेपनको प्रतीक पनि !

महिलाको कपडालाई पुरुष उत्तेजनाको आधार मान्न थालेदेखि नै नियन्त्रण पनि सुरु भएको हो । कट्टर समाजहरूले कपडामाथि नियन्त्रण गर्न थाले । आर्थिक रूपमा गतिशील हुने महिलाहरूले पनि चुस्त कपडा लगाउन समाजको नीतिले दिएन । नेपालका सहरहरूमा महिलाहरू साइकल कुदाएर दूध, तरकारी, फलफूल बेच्ने आर्थिक क्रियाकलापमा लागेका देखिन्छन् । तर, उनीहरूले सजिला पोसाक होइन सारी वा कुर्तामा साइकल हाँकिरहेका दृश्य आजसम्मै देखिन्छ । तर, पोसाकप्रतिको कट्टरता बिस्तारै भत्किँदो पनि छ । यसमा सामाजिक सञ्जालले घर–घरमा भित्र्याएको संसारभरिको दृश्यले पनि काम गरिरहेको होला । दुनियाँ देख्न दुनियाँ धाउनै पर्दैन । सहर बजारमा मात्र होइन गाउँघरमै पनि आधुनिक वस्त्रधारीहरू विचरण गरिरहेका देखिन्छन् ।

पुरातनी माध्यताहरूमा प्रहारसँगै महिलाको पोसाक र पुरुष उत्तेजनालाई लिएर गरिने तुलनाको विरोध संसारभरै हुन थाल्यो । अहिले यो तीव्र गतिमा छ । रोमन क्याथोलिक चर्चमा सन् १९६५ मा प्रार्थनाको समयमा महिलाले शिर ढाक्नैपर्ने चलन हटाइयो । यसको मतलब हो, तिम्रो कर्तुतको जिम्मा तिमी आफैं लिनु । महिलाको छोटो लुगाले बलात्कारको घटना हुने गर्छ भन्ने असभ्य सोच राख्नेहरू अहिलेको समाजमा पनि जीवन्त छन् । यसको विरोध पनि चर्को छ । समाज पुरातनी ह्याङओभर र आधुनिक स्वच्छ हावाको बीच बीचबाट तैरिरहेको देखिन्छ ।

नांगोपनको अभियान

समाज विशाल वृक्षजस्तो हो । मानिस र समुदाय यसैका हाँगा–बिँगा र जराहरू हुन् । सामाजिक नीति र व्यवहारभन्दा उल्टो बाटो हिँड्दा मानिसलाई सहज हुँदैन । ऊ आफ्नो समाजमा स्वीकृत र प्रशंसित भइरहन चाहन्छ । कहिले–कहिले मानिसको व्यक्तिगत नीति र समाजको नीतिमा मेल खाँदैन । धेरै मानिसलाई समाजविपरीत चल्ने आँट पनि हुँदैन । केही यस्ता मानिस हुन्छन्, जसको आफ्नै साम्राज्य, आफ्नै नीति हुन्छ । रूढता, अतिवादसँग लड्न होस् वा नितान्त व्यक्तिगत सोख पूरा गर्न, यस्ता मानिस समाजको पर्वाह गर्दैनन्, जोखिम उठाउने असाधारण हिम्मत बोकेका हुन्छन् । कपडाबाटै सौन्दर्य र हैसियतको मापन गर्नेहरूको दुनियाँमा, नांगाहरूको आफ्नै संसार पनि छ । यी बागी उम्मेदवारहरूको कथाले इतिहासमा रङ भरेको छ ।

सन् २००८ देखि नै बेलायतमा स्टिफन गोह नांगै म्याराथन गरिरहेका छन् । उनको लडाइँको मर्म ‘मानिस आफ्नो प्राकृतिक स्वरूपमा रहन पाउनुपर्छ’ भन्ने हो । यो आधारभूत मानवअधिकारका लागि लडाइँ हो भन्छन् उनी । आजसम्म पनि उनलाई नांगै पक्रने र छोड्ने क्रम जारी छ । उनी सर्वांग झ्यालखाना पस्छन्, सर्वांग निस्कन्छन् । यो चक्रजस्तै गरी घुमिरहेको छ । सन् २०१२ मा ‘गार्डियन’ पत्रिकाले उनको अन्तर्वार्ता छापेको थियो । अन्तर्वार्ता लिने पत्रकार सरमले हायलकायल थिए, स्टेफन आफ्नो नांगोपनमा मस्त थिए ।

कट्टर मुस्लिम सम्प्रदायका महिलाहरूसमेत बेलाबेला कठोर सामाजिक नीतिविपरीत उस्तै कडा भएर जवाफी व्यवहारमा उत्रन्छन् । सन् २०१३ मा टुनिसियामा यस्तै जरा हड्के समाचारले सामाजिक सञ्जाल र पत्रपत्रिका भरिए । १९ वर्षे अमिना सबोईले आफ्नो शरीरको माथिल्लो भाग खुला राखेर फोटो खिचाइन् । सामाजिक सञ्जालमा पोस्ट गरिन् । सामाजिक सञ्जाल र मिडियाको रियाक्सन ज्वालामुखी विस्फोट भए बराबरको थियो । उनले आफ्नो शरीरमा लेखेकी थिइन्, ‘मेरो शरीर मेरो हो, यसमा कसैको इज्जत टाँसिएको छैन ।’ कट्टरपन्थीहरूले यो घटनालाई महाप्रकोप, दैवीप्रकोप बराबर हो भने । अमिनाले ज्यान मार्ने धम्की पाउनु त सामान्य भइहाल्यो । परम्पराले कपडाभित्र मानिसलाई पूरै कैद गरेर राख्छ, बजारले कपडा खोलाएर प्रयोग गर्छ । यी दुई अतिविरुद्धको राजनीतिक जेहाद भनेकी छन् अमिनाले आफ्नो कदमलाई ।

तीन किसिमका मानिसहरू नांगोपनका पछाडि लागेका देखिन्छन् । एकथरी स्वाभाविक प्राकृतिक स्वरूपमा रहन चाहन्छन् । अर्को सामाजिक कुरीतिको विरुद्धमा नांगोपनको प्रयोग गर्छन् । अर्को एटेन्सनसिकर हुन्छ, जो अरूको नजरमा परेर चर्चा कमाउन चाहन्छन् । चार शताब्दीमा नर्थ अफ्रिकामा क्रिस्चियन धर्मावलम्बीहरूको एउटा समूह बन्यो । उनीहरू अदाम र इभको संसारमा फर्कन चाहन्थे । अडामाइट्सहरूको यो समूहले ‘भगवान्को राज्यमा मानिस जुन स्वरूपमा छ त्यही रूपमा हुन पाउनुपर्छ’ भनी वकालत गर्थे । संसारमा फैलिएको अन्याय र अत्याचार हटेर भगवान्को राज्य बन्नुपर्छ भन्ने उनीहरूको मान्यता थियो ।

सन् १५३० मा अडामाइट्सको समूह युरोपमा प्रसिद्ध हुन थाल्यो । संसारमा भगवान्को राज्य हुनुपर्छ, अन्यायमुक्त हुनुपर्छ भनेर उनीहरू आम्सट्रडमको सडकमा नांगै दौडिए । उनीहरूले सन् १५३५ मा आम्सट्रडमको सिटी हल कब्जा गरे । यो समूहलाई तत्कालीन कट्टर धार्मिक समूह र सरकारले रुचाएको थिएन । सिटी हल नै कब्जा गरेपछि प्रशासन उनीहरूविरुद्ध जाइलाग्यो, क्रूर सामूहिक हत्या गर्‍यो । उनीहरूको मुटु जिउँदै निकालेर उनीहरूकै मुखमा फालियो ।

समाजको नीति र समाजमा बस्ने मानिसहरूको क्रियाकलाप समय समयमा बाझिरहन्छ । नांगोपनलाई सामाजिक अन्यायको विरुद्धमा उपयोग गर्नेहरू पनि संसारभरि नै फैलिएका छन् । भारतको मणिपुरमा २००४ मा बाह्र जना महिला ब्यारेकबाहिर नांगै उभिए । आर्मीका सिपाहीद्वारा मनोरमा नामकी किशोरीको बलात्कारपछि हत्याको विरोध थियो उनीहरूको । स्लोगन थियो, ‘हामी सबै मनोरमाका आमा हौं ।’ मणिपुरको यो आन्दोलनले संसारको ध्यान खिचेको थियो । नेपालमै पनि १२ वर्ष पहिला बादी समुदायका महिलाहरूले आत्मसम्मान र पुनःस्थापनाको माग गर्दै २०६४ साल भदौ ५ मा सिंहदरबारअगाडि अर्धनग्न प्रदर्शन गरेका थिए । अविरल झरीजस्तो गरी आन्दोलन ४८ दिन चल्यो । सरकारसँग दुईबुँदे सम्झौतापछि आन्दोलन थामिएको थियो ।

प्रकृतिसँगको सामीप्यमै रहन नांगै हिँड्नेहरू त आदिम समाजदेखि आजसम्मै भेटिन्छन् । कति घटना रेकर्डमा आउँछन्, कति यत्तिकै हराउँछन् । संसारभर पनि आजकै दिनमा कति मानिसहरू नांगै हिँडिरहेका होलान्, यसको हिसाब राखिएको छैन । शिवरात्रिका बेला पशुपतिनाथको वरिपरि देखिने नागा बाबाहरूको चटक अर्को प्रसिद्ध हर्कत हो । हरेक वर्ष यसको विरोध र समर्थनमा मानिसहरू तात्ने गर्छन् ।

दार्शनिक पिक टार्कले आफ्नो अध्ययनमा बताएअनुसार, अलेक्जेन्डर सिन्धु नदीको किनारमा बाह्र जना नागा बाबाहरूसँग आमनेसामने भएका थिए । त्यतिबेला युरोपमा कपडा लगाउनु सामान्य थियो, नग्नता असामान्य । नागा बाबाहरूको मस्त अन्दाजसँग अलेक्जेन्डर जिल खाएका थिए । समयको चक्र पश्मिेलीहरूको नग्नता देखेर पूर्वी ध्रुवका मानिसले जिब्रो टोक्ने दिन पनि आयो ।

अमेरिकाको भर्जिनिया स्टेटको एउटा चर्चमा नांगै प्रार्थना गर्ने चलन छ । पादरी एलन पार्करको यसमा तर्क छ, ‘मानिसहरू आफ्नो दागसहित नांगै उभिन्छन् । हर मानिसमा खोट छ भन्ने देखिन्छ । कपडामा टाँसिएको फरक मूल्यले मानिसहरूबीचको असमानता यहाँ हुँदैन ।’ सीएनएनसँगको अन्तर्वार्तामा पार्करले ‘न्युडिटी समानतातर्फको यात्रा हो’ भन्ने जवाफ दिएको थिए ।

मानिस आफ्नो स्वरूपमा रमाउने प्राणी हो । नांगोपन पनि त्यही हो । यही कारण मानिसहरू आफ्नो घरको निजी स्पेसमा नांगो शरीरसँग रमाइरहेका हुन्छन् । कुनै यौनिक आनन्दका लागि मात्र होइन, आफैंसँगको आनन्दका लागि पनि मानिसलाई न्युडिटी मन पर्छ । यहीकिारण संसारभर स्पा, साउना, स्विमिङ पुलहरू र समुद्री तटमा रमाइरहेका मानिस भेटिन्छन् ।

परम्परागत समाजमा सार्वजनिक धारा र खोलाहरूमा नांगै नुहाउनुलाई सामान्य मानिन्थ्यो । पछि यसमा सामाजिक नीतिको अंकुश लाग्दै गयो । सार्वजनिक ठाउँमा शरीर देखाएर नुहाउने चलन हराउँदै गयो । सन् १९४६ मा मात्र युरोपमा बिकिनी अस्तित्वमा आयो । त्यतिबेला भर्खरै आणविक परीक्षण गरिएको बिकिनी टापुको नाम यो पहिरनलाई दिइएको हो । तर, यो पहिरन शरीरमा पहिरिएर धेरै मानिसको उत्तेजना विस्फोट गराउन भने त्यतिबेलाका मोडलहरू नै हिच्किचाए ।

नांगोपनमा सबैभन्दा मनोरञ्जकहरू हुन्– खेल मैदानमा नांगै कुद्ने स्ट्रिकरहरू । यिनीहरू केवल अटेन्सन सिकरहरू हुन् । सन् १९७४ मा इङ्ल्यान्ड र फ्रान्सबीच रग्बी वर्ल्ड कप हुँदै थियो । मैदानमा माइकल ओब्रायन नामका व्यक्ति नांगै दौडिए । हल्लीखल्ली भयो, प्रहरीहरू उनको पछि लागे । एक प्रहरीले आफ्नो हेलमेट फुकालेर उनको गुप्तांग छोपिदिए । अर्को प्रहरी कपडा लिएर उनीतिर आउँदै गरेको एक पुस्तकमा समावेश तस्बिरमा देखिन्छ । उनको गुप्तांग छोपिएको हेलमेट पछि चौबीस सय डलरमा वर्ल्ड रग्बी म्युजियममा लिलाम बिक्रीमा राखियो । त्यसपछि क्रिकेट, फुटबल वा रग्बी जुनै खेल हुँदा होस्, संसारभरका खेल मैदानमा यस्तो हर्कत सामान्य हुन थाल्यो । आजकाल टीभी हेर्दाहेर्दै खेल मैदानको होहल्ला मात्र आयो र क्यामेरा अन्तै घुम्यो भने दर्शकले बुझे हुन्छ फोकटको मनोरञ्जन छुट्यो ।

मान्छे शरीर प्रदर्शनको नियतले नांगिनु र प्रकृतिसँग एकाकार जीवन बाँच्न नांगोपनलाई आत्मसात् गर्नु फरक कुरा हो । यो मान्यता नांगोपनको वकालत गर्नेहरूको छ ।

शरीरलाई ढाक्नैपर्ने अतिवादी नियमहरूलाई सन् १९६० को दशकमा उदाएको हिप्पी कल्चरले सक दियो । पश्चिमेली युवाहरूले पुरातन र विभेदमाथि आफ्नो जीवनशैलीबाटै प्रहार गर्न थाले । हरसमूहका महिलाहरू समुद्री तटमा टपलेस स्नान गर्न थाले । फ्रान्सबाट सुरु भएको यो अभियान पूरै युरोपमा फैलियो । बिकिनी नै फ्लप खाएको जमानादेखि, समुद्री तटमा रंगीबिरंगी बिकिनीहरू थरीथरीका शरीरमा मुस्कुराइरहेका दृश्यहरूको साक्षी बसेको छ पहिरनको इतिहास । पूरै कपडामा बेरिएर हलाल बाथ गर्ने इस्लामिक युवती र शरीरलाई छोपेजस्तो मात्र गरेर बालुवामा पल्टने युवती एकअर्कालाई हेर्दै जिल खाइरहेको संसारमा हामी छौं ।

पहिरनको यात्रा

आदिकालदेखि नै शक्तिमा आसीन मानिसहरू आफ्नो हाउभाउ र पहिरनबाटै अरूभन्दा पृथक् देखिन चाहन्छन् । भनाइ नै छ, ‘चराको प्वाँखबाट उसको पहिचान थाहा हुन्छ ।’ यो बिनापोसाकको संसारबाट पोसाकको दुनियाँमा मारेको एक फट्को थियो । तर, पहिरनको दुनियाँको आफ्नै धेरै फट्का छन् । पहिरनसँग जोडिएको वर्गीय र कुलीनताका पत्रहरू हरेक समाजमा छन् ।

अहिलेको संसारका मानिसहरू थरीथरीका ब्रान्ड भ्यालु आफ्नो शरीरमा टाँसेर आफ्नो महत्त्व स्थापित गर्न लागिपरेका देखिन्छन् । मानिसको समाजमा राजनीतिक, सामाजिक सत्ताको हैकम राज्यसत्ता चलाउनेदेखि सामाजिक रूपमा आफूलाई ठालू ठान्नेसम्म फैलिएको छ । हिजोका राजा रजौटाजस्तै आजका कुलीन, हुने–खाने र सेलिब्रिटीहरूले विभिन्न ब्रान्डका कपडामा आफ्नो रवाफ पेस गरिरहेका देखिन्छन् ।

चाइनाको परम्परागत कुलीन पोसाकको सामन्ती रवाफलाई सिभिल वारले छिनोफानो गरिदियो । सन् १९४९ अक्टोबरमा बेइजिङको मुटुमा माओले लाखौं मानिसलाई सम्बोधन गरे । लाखौं मानिस नीलो, कालो र खैरो रङको लुगामा देखिए । सैनिकहरू एकै पोसाकमा तैनाथ रहे । पछि सन् यात्सेनले लेनिन कोट र माओ सुटको अवधारणा विकास गरे । सन् १९६० को आर्थिक मन्दीपछि भने चाइनामा केवल दुईथरी पोसाक देखापरे– सैनिक पोसाक र कामदारको पोसाक । बिहे भोजमा समेत लगाउन सैनिक पोसाकको ग्ल्यामर बढ्यो ।

कपडासंग शक्ति र सुन्दरताको इतिहास अंगअंगमा प्वाखहरू टाँसिएजस्तो टाँसिएर आएका छन् । आज जतिथरी पोसाक संसारभरि छन्, यी सबैसँग इतिहासका पत्ताहरू जेडिएका छन् । महिलाहरूले लगाउने टाइट सेक्सी स्कर्टकै कुरा गरौं न ! यो आजका हाम्रा प्रबल गुरुङ वा विश्वप्रसिद्ध अर्को कुनै डिजाइनरले एक झपटमै बनाएका होइनन् ! योसँग मानिसको सभ्यता, समाज, भूगोल र मौसम पनि जोडिएको हुन्छ ।

आफ्नो पुस्तक ‘फिमेल ड्रेस एन्ड न्याचुरल डिभलपमेन्टमा’ अनुसन्धानकर्ता कार्ल हेनरिकले ट्रपिकल र आर्कटिक पहिरनको बारेमा उल्लेख गरेका छन् । स्कर्ट, एप्रन र तिनको विविध रूप युरोपको दक्षिण साउथबाट सुरु भयो । ट्राउजरको विविध रूप युरोपको उत्तरी चिसो भूभागबाट सुरु भएर अन्त फैलियो । युरोपको चिसो उत्तरी भागमा लडाकु र सिकारीले मन खाएको पोसाक थियो ट्राउजर । मौसमसँग पंगा लिन उनीहरू यो लुगा लगाउँथे । पछि जर्मनहरूले यसको नक्कल गरे । ट्राउजर युरोपतिर बरालिन जानुभन्दा पहिले नै पर्सियनले पत्लुन लगाउँथे । ग्रीक र रोमनहरू ट्राउजरलाई असभ्य र पाखण्डी लुगा भन्थे । मानिसले लगाउने कपडाले शक्ति र सभ्यताको विम्ब पनि भिरेर हिँड्न थाल्यो । राजा–रजौटा र शक्तिशालीको पहिरन शैली, रैती भनिएकाहरूले नक्कल गर्न खोज्नु सामान्य थियो । कट्टर समाजमा त नक्कल पनि वर्जित नै थियो ।

फ्रेन्च रिभोलुसनले भने पहिरनको नक्कल ठालू मानिसबाट आम मानिसमा होइन, आम मानिसबाट ठालू मानिसतिर सारिदियो । सन् १७८९ को यो क्रान्तिले पहिरनमा पनि क्रान्ति ल्यायो । सम्भ्रान्त र सामन्तहरूको पहिरन–शैलीलाई परिवर्तकारीहरूले रिजेक्ट गरिदिए । उनीहरूले लामो पत्लुन र ट्राउजरलाई चल्तीमा ल्याए । बरु सम्भ्रान्तहरू नै यो फेसनतिर तानिए । पहिलोपटक पहिरनको दुनियाँले ‘बटम अप अप्रोजलाई’ मूर्तरूप दियो ।

तर, महिलाहरूलाई ट्राउजर र पत्लुन लगाउन वर्जित थियो । जो ट्राउजर र पत्लुन लगाएर सडकमा आउँथे उनीहरू पक्राउमा पर्थे । ७ नोभेम्बर १८०० मा पुरुषको कपडामा सडकमा देखिने महिलाहरूलाई पक्राउ आदेश जारी गरेको थियो फ्रान्स प्रशासनले । प्रशासन मात्र होइन पुरातन समाज पनि महिलाको पहिरनको पछि लागेको थियो । उखानटुक्का हानिन्थ्यो– ‘पेटीकोट लाएर घरमै बस । श्रीमान्को ट्राउजर छोडिदेऊ ।’ यतिले पुगेन, उनीहरू भतपिचासको नाम लिएर भए पनि महिलाहरूलाई तर्साउन लागिपर्थे– ‘ट्राउजर लगाएर हल्लिने आइमाई भएको घरमा पिचासको बास हुन्छ ।’ फ्रान्स क्रान्तिका मुख्य हिस्सेदार महिलाहरू न पक्राउ आदेशसँग डराए न त उखान–टुक्केहरूसँग । तर, ट्राउजर क्रान्ति रोकिएन ।

महिलाहरूले बाध्यकारी रूपमा थोपरिएको टाइट स्कर्टको उकुसमुकुसबाट आफूलाई मुक्त गरे । ट्राउजरमा ठाँटिएरै छोडे । ट्राउजर लगाउनु केवल पहिरन लगाउनु भएन अब त्यो आत्मनिर्भरता, सशक्तता र स्वतन्त्रताको विम्ब बनिदियो । ‘ब्लुमर क्लब सिगार’ भित्तामा यो वाक्यसहितको ब्यानर टाँसेर, टाउकोमा ह्याट, हातमा सिगार, टक्लेको बुट, स्कर्टभित्र ब्लुमर(भित्र लगाइने स्ल्याक्स) सहित दुई महिला रवाफिलो पारामा देखा परे । उखानटुक्के र प्रशासनले घुँडा टेके । कपडालाई लिएर गरिएको संसारभरको लैंगिक राजनीतिलाई यसले झट्का दिएर गयो । पहिरन अभियन्ता एमेलिया ब्लुमरले पूरै शरीर ढाकिने पौडी पहिरनको डिजाइन गरेकी थिइन् । उनी आफैंले यो पहिरन लगाएकी थिइन् सुरुमा । बिस्तारै यो ब्लुमर ट्रेन्डको रूपमा विकास भयो ।

सन् १९५० को दशकमा झुल्केको ब्लु जिन्सले लुगासँग टाँसिएको लैंगिक मूल्य–मान्यता र नैतिकतामा सानदार प्रहार गर्‍यो । महिला, पुरुष, कामदार, मालिक सबैका लागि यो कपडा प्रिय बन्यो । पोसाकको इतिहास र वर्तमानमा ब्लु जिन्स जति भाइरल अरू कोही छ्रैन । यसको ठाँट नै बेग्लै छ । संसारलाई समानताको दिशामा डोर्‍याउन देश र समाजले नीति र कानुनमा सुधार ल्याउँदै गएको पक्का हो ।

यस अलावा मानिसको दिनदिनैको जीवनमा समानताको स्वाद दिलाउने ट्राउजर र ब्लु जिन्सको जय होस् । पोसाकसँग जोडिएको इतिहास, भूगोल र समाजको रङहरूमा हरसमयले अर्को रङ भर्दै जाँदै छ– नांगोपनदेखि कपडासम्मको यात्रामा । कपडासँग जोडिएको कुलीन र कुल्लीको वर्गीय विभाजनदेखि पोसाकको बाहिरी आवरणमा देखिँदै गएको समानतातर्फको यात्रामा सभ्यता लम्केको छ । इतिहासको यो इन्द्रेणी प्रकाशमा मानव सभ्यता आफ्नै गतिमा मस्त छ ।

प्रकाशित : माघ १०, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

ज्यानमारा इज्जत

महिला वा पुरूष, जो भिक्टिम भए पनि यसको मुख्य ध्येय महिलाको यौनिकतामाथिको नियन्त्रण नै हो । महिलाको योनीमा संग्रह गरिएको परिवार र समाजको मर्यादाकै लागि उसले जीवनभर यसको मूल्य तिरिरहनुपर्छ ।
सरला गौतम

काठमाडौँ — जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक कैद हो ।

ऊबेला सम्पत्तिका लागि यौनिकता कैद भयो, समयक्रममा यो प्रतिष्ठासँग जोडियो । कथित प्रतिष्ठाका लागि महिलाको ज्यान नै लिन थालियो । परिवार र समाजको कथित इज्जत महिलाका लागि ज्यानमारा साबित भयो ।

यही मंसिर १४ गते एउटा डरलाग्दो अपराधको समाचारले अखबारहरू भरिए । रौतहट माधवनारायण नगरपालिका–७ की सत्र वर्षीया किशारी अमृताको आफ्नै बाबुको योजनामा गोली हानी हत्या गरियो । परिवारले तिरस्कार गरेको, उमेर दोब्बर जेठो र कथित तल्लो जातिको एक पुरुषसँग अमृताको प्रेम थियो । रामअयोध्याले छोरीको हत्या गर्नुको मूल कारण उनले कमाएको कथित सामाजिक मर्यादा नै हो । छोरीको निजी–साथी छनोटले उनको मर्यादामा पहिरो गयो र आफ्नै छोरीको ज्यान लिए । आफूसँगै सुतिरहेकी छोरीको हत्यालाई सजिलो पारिदिन शौचालय जाँदै गरेकी अमृताकी आमा सीतादेवीको हृदयको चित्र कस्तो थियो होला त्यसबखत ? सृष्टिकर्तालाई थाहा होला ।

२०६९ सालमा बाराको प्रस्तोता गाविसमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । १० कक्षा पढ्ने बिन्दु ठाकुरलाई परिवारका सदस्यले जलाएर मारिदिएका थिए । उनको दोष पनि उस्तै थियो– कथित दलित जातिको साथीसँगकै प्रेम ।

अमृताको हत्यापछि नेपाली अखबारले ‘नेपालमा अनर किलिङ भित्रियो’ भन्ने भावमा समाचार लेखे । सामाजिक सञ्जालका अभियन्ताले त्यस्तै प्रतिक्रिया जनाए– ‘के अब नेपालमा पनि अनर किलिङ भित्रिएको हो’ भन्ने व्यहोराको । प्रहरीमा अनर किलिङको अभिलेख नै छैन भनेर एक अनलाइन पत्रिकाले लेख्यो । अनर किलिङलाई केवल कट्टर मुस्लिम परिवारमा हुने अपराध हो भनेर ट्याग लगाइएको छ, तर यसो होइन । विश्वव्यापी रूपमा मूलधारका मिडियाको कभरेजको कारण यो अवधारणा विकास भएको हो ।

जातीय र साम्प्रदायिक मर्यादासँग जोडिएको यस अपराधसँग जोडिएको अर्को आयाम हो– महिलाको यौनिकतामाथिको नियन्त्रण । नेपालमा यो प्रकृतिको घटनालाई अनर किलिङको कुनै शाब्दिक उल्था दिइएको छैन । यसैले यो प्रकारको अपराधलाई ‘इज्जत हत्या’ भन्न सकिन्छ । पतिको मृत्युपछि विधवा महिलाले अर्को पुरुषसँग यौनसम्बन्ध राखिन् भने परिवारको मर्यादामा आगो लाग्छ भन्ने धारणा हिजोको समाजले राख्थ्यो । यही कारण एक जीवित महिलालाई काठको मुढाजस्तो गरी आगोमा झोस्थ्यो । मर्यादा जोगाउन गरिएको त्यस समयको अपराध ‘इज्जत हत्या’ नै हो । यसैले अनर किलिङ नेपाली समाजमा हिजोदेखि आजसम्मै जीवित छ । कथित इज्जत, इज्जत होइन समाजको कलकं हो ।

सर्वव्यापी इज्जत–हत्या

अनर किलिङ केवल मध्यपूर्व र दक्षिण एसियाका मुस्लिम सम्प्रदायप्रधान देशहरूको समस्या होइन । विश्वव्यापी रूपमा छरिएको हिन्दु–मुस्लिम परिवारभित्रको ‘इज्जत हत्या’को रङ, आयाम फरक देखिन्छ । तर, घटना भने कुनै एक समुदायको मात्र निधारको कालो टीका होइन । सन् २०१० मा मिडल इस्ट फोरममा छापिएको फिलिस चेस्लरको अनर किलिङ बारेको शोधपूर्ण लेखले यो समस्या विश्वव्यापी भएको देखाएको छ ।

सन् २०१३ मा ‘मिडल इस्ट’ पत्रिकाले नै यसका आयामहरूबारे चर्चा गरेको थियो । त्यस अध्ययनका अनुसार, पाकिस्तानमा हुने अनर किलिङको घटना भारतको हिन्दु र शिख सम्प्रदायको भन्दा फरक प्रकृतिका हुन्छन् । तर, कम त्रासदीपूर्ण हुँदैनन् । फिलिसकै लेख ‘हिन्दु भर्सेस मुस्लिम अनर’ हिन्दु बाहुल्य भएको भारत र मुस्लिम बाहुल्य भएको पाकिस्तानमा अनर किलिङको सम्पूर्ण अपराधको आधा अपराध हुने गरेको तथ्य सार्वजनिक छ । सन् २०१० मा हरियाणामा मात्र ९०० ‘इज्जत हत्या’को केस रिपोर्ट गरिएको थियो । बाँकी २०० केस सिंगो भारतको थियो । २०१० मै पाकिस्तानमा ८०० ‘इज्जत हत्या’को केस रिपोर्ट गरिएको थियो ।

अक्टोबर २५, २०१० को ‘टाइम्स अफ इन्डिया’ ले नेपालकै काभ्रेको घटनालाई अनर किलिङ भनेको छ । ओखलढुंगाको डिकेबहादुर थापामगरले काभ्रेकी पार्वति दनुवारसँग प्रेम विवाह गरे । पार्वतीका बा निराराज यो विवाहसँग रुष्ट थिए । केही दिनमै डिके थापामगर आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परे । उनको शरीर र टाउकोको चोटले त्यो हत्या हो भन्ने प्रहरीले पुष्टि गर्‍यो । र, निराराजलाई हत्याको आरोपमा पक्राउ गर्‍यो । यस्ता प्रकृतिका घटनामा महिलाले यौनिक र जातीय शुद्धताको बिँडो थाम्नुपर्ने देखिन्छ भने पुरुषले जातीय शुद्धताको ।

मुस्लिम सम्प्रदायमा बेमेल साम्प्रदायिक विवाहको सवालमा अनर किलिङको घटना हुने गर्छन् । हिन्दु सम्प्रदायमा बेमेल जातिको केसमा यस्ता घटना हुने गरेका छन् । भारतमा जातीय शुद्धता रेगुलेसनका लागि बनेको खाप पञ्चायतले बेमेल विवाहमा कारबाहीको रूपमा यस्ता अपराध गरेको पाइन्छ । कतिपय केसमा प्रहरीले नै ‘इज्जत हत्याको’ लागि विवाहित जोडीलाई पञ्चायतमा बुझाएका घटना पनि छन् । संसारभर अनर किलिङ भनेर कुख्यात भएको ‘इज्जत हत्या’मा साम्प्रदायिकता, जातीयता, यौनिकताको मिश्रित अन्धविश्वास र पुरातन जेलिएको छ ।

२०१० अप्रिल–२९ मा दिल्लीकी पत्रकार निरूपमा पाठक आफ्नै घरको बाथरुममा मृत फेला परिन् । आफूभन्दा तल्लो भनिने जातका पत्रकारसँग उनको प्रेमसम्बन्ध थियो । र, उनी गर्भवती थिइन् । बिहेका लागि परिवारलाई राजी गराउन घर पुगेका बेला उनकै आमा काल बनेर आइन् । र, बाथरुममा थुनेर उनको हत्या गरिन् । यो केस हिन्दु सम्प्रदायमा हुने अनर किलिङको ज्वलन्त नमुना हो । भारतीय अधिकारकर्मी र मिडियाले यो केसलाई प्राथमिकताका साथ उठाए । सन् २०१० मा ‘टाइम म्यागजिन’ ले यसलाई हिन्दु अनर किलिङको केसको रूपमा रिपोर्ट गरेको थियो ।

सन् २०१८ सेप्टेम्बर–१४ का दिन हैदराबादमा प्रणय कुमार नामका चौबीस वर्षीय युवाको अस्पताल सामुन्ने हत्या भयो । आफ्नी गर्भवती श्रीमतीको चेकजाँचका लागि उनी अस्पताल पुगेका थिए । श्रीमतीकै अगाडि उनको ज्यान लिइयो । उनकी श्रीमती अमुर्ता बर्सिनी र प्रणयले प्रेम विवाह गरेका थिए । प्रणय दलित जातिका थिए, अमुर्ता वैश्य जातकी थिइन् । यही कारण अमुर्ताको परिवार यो विवाहको खिलाफमा थियो । आफ्ना पिता र काका हत्यामा संलग्न भएको भन्दै अमुर्ताले पितालाई मुत्युदण्ड दिनुपर्ने माग प्रशासनसमक्ष राखेकी थिइन् ।

प्रणयको केसलाई नेपालमा भइरहने जातीय अहंकार कारक भएका घटनाहरूसँग जोडेर हेर्न सकिन्छ । रुकुम चौरजहारीमा जेठ १० गते पूरै देशको सभ्यतामाथि कालो पोतिने गरी बर्बर अपराध भयो । आफ्नी प्रेमिका लिन अठार जना साथीसहित गएका नवराज विक र उनका छ जना साथीलाई पूरै गाउँलेले लखेटी लखेटी मारे । अनर किलिङको नाममा समाजका अगाडि कपडाले छोपेर ढुंगा हानी हानी मार्ने कुनै समुदायको बर्बरताभन्दा कम बर्बर घटना होइन यो । मुस्लिम सम्प्रदायमा महिला र हिन्दु सम्प्रदायमा पुरुष बढि पिडीत पाईएको छ ।

जातीयता हावी भएको समाजमा कथित उपल्लो जात र तल्लो जातको मानसिकताका कारण बेमेल विवाहको केसले द्वन्द्व निम्त्याएको हुन्छ । यसले धेरै युवाको ज्यान लिएको छ । हामीले अनर किलिङलाई मुस्लिम समाजमा परिवारले छोरीचेलीको ज्यान लिने घटना भनेर बुझेका छौं । नेपालमा पनि यो कुप्रथा केवल तराई–मधेसको हो भनेर ट्याग लगाएका छौं । तर, यो हिन्दु, मुस्लिम, तराई, पहाड सबैतिर भइरहेको अपराध हो । यो जातीय अहंकार र कृत्रिम प्रतिष्ठासँग जोडिएको विषय हो । यस्तो घटनालाई जातीय वा साम्पदायिक बेमेलको समस्या भनेर हेरिन्छ, जुन सत्य हो । तर, यसमा अन्तरनिहित महिलाको यौनिकता नियन्त्रणको सवालमा बहस भएको छैन ।

यो बहुआयामिक समस्यालाई हेर्ने नजर पनि बहुआयामिक नै हुनुपर्छ ।

परम्परा र आधुनिकताको टक्कर

परम्परागत रूपमा एक हिसाबले चल्दै गएको समाजमा आर्थिक–सामाजिक गतिशीलता र प्रविधिको प्रवेश द्रुत गतिमा भयो । संसारभरि नै भइरहेको परिवर्तनले दक्षिण एसियाका कठोर परम्परागत समाजमा आफ्नो प्रभाव जमाउन थाल्यो । नेपालमा विगत पन्ध्र वर्षमा सामाजिक–आर्थिक गतिशीलताका कर्ताहरू बनेर महिलाहरू निकै अघि आए । उनीहरूको रफ्तार र हातमा भएको आधुनिक प्रविधिको तुलनामा पुरातनमा जेलिएको सामाजिक परम्पराको गति मिल्दैन । युवा मस्तिष्कले चाहेको आधुनिक व्यवहारलाई समय समयमा परम्पराले रिजेक्ट गरिदिन्छ । यी दुईको जुन ठाउँमा भेट हुन्छ, त्यहाँ दुर्घटना हुन्छ । ज्यानै लिने सम्मका घटना हुन्छन् । ज्यानमारा–इज्जतका लागि महिलाहरूले ज्यानको बलि दिँदै आए, दिइरहेकै छन् ।

पाकिस्तानी सोसल मिडिया सेलेब्रिटी कान्दिल बलोच आफ्ना प्रखर र पुरातनविरोधी प्रस्तुतिको कारण युवाहरूमाझ छिटो चर्चामा आइन् । महिला अधिकारको सवाल, जीवनशैलीको विषयदेखि लिएर विभिन्न कन्ट्रोभर्सियल मुद्दामा उनी आफ्ना भिडियोमा मुखर हुन थालिन् । उनीसँग उनको पुरातन समाज रुष्ट हुन थाल्यो । आफ्नै भाइ र पिताको नजरमा उनी आँखी भइन् । २०१३ देखि उनी चर्चामा आउन थालेकी थिइन् । २०१६ पन्ध्र जुलाईमा आफ्नै घरमा सुतिरहेको बेला उनका भाइले उनको हत्या गरे । हत्याको कारण प्रशासनसमक्ष प्रस्तुत गर्ने क्रममा बालोचका भाइले भने, ‘उनले परिवारमा अमर्यादा भित्र्याइन् ।’ एक प्रभावी सेलेब्रिटीमाथि परिवारले गरेको यो अपराधले देशी–विदेशी सञ्चारमाध्यममा व्यापक स्थान लियो । पाकिस्तानकी बालोच र रौतहटकी अमृताले भोगेको नियति समान, आयाम फरक छ ।

परिवार, संस्कार, समाज सबैको मर्यादाको परिभाषा महिलाको योनीमा खोजिएको छ । यसले महिलाको जीवनको हर–पक्षमा प्रहार गरेको छ । बढ्दै गएको सामजिक–आर्थिक गतिशीलताका कारण निजी जीवनको छनोटमा महिलाहरू सचेत भएका छन् । आफ्नो प्रेम जीवन र यौन जीवनको अधिकारमा जागरुक भएका छन् । परिवार अझै पनि छोरीको यौवनको साँचो आफ्नै हातमा राख्न चाहन्छ । यही टकरावका कारण हिंसा हुन्छ ।

श्रीमान् मरेपछि जिउँदै चितामा पोल्ने परम्पराको कारक पनि यौनिक मर्यादा नै हो । यो खतरनाक ‘इज्जत हत्या’ हो । हिजो जुन रूपमा यैनिकता इज्जतको पर्याय थिया, आज त्यो प्रकृति फेरिएको छ । रूप मात्र फेरिएको छ तर अर्थ फेरिन बाँकी छ ।

इज्जत हत्याले कसको हुर्मत लिन्छ ?

रौतहटकी अमृताको चितासँगै उनका रहर, सपना, उनले बाँचेर साँच्न पाउने मिठा पलहरू सबै खरानी भए । नवराज र उनका साथीहरूको पनि उही हाल भयो, जे अमृताको भयो । नवराजकी प्रेमिका, जो यो सबै अपराधको साक्षी बसिन्, उनको जीवनको कुन कुना हान्न बाँकी होला यो घटनाले !

बर्बर घटनामा प्रेमीको हत्या भयो । १७ वर्षे किशोरी सुष्मा मल्ल अपराधीको रूपमा समातिइन् । उनीमाथि हेर्ने नसकिने स्तरको साइवर बुलिङ भयो । यो घटनामा नवराज जातीय अंहकारको सिकार भए । सुष्मा यौनिक र जातीय शुद्धता दुवै पुरातनको सिकार भइन् । नवराज र उनका साथीले भोगेको प्रत्यक्ष हिंसाको परोक्ष असर सुष्मामा जीवनभर पर्नेछ । यसले उनको करिअर र आर्थिक गतिशीलतालाई हान्नेछ । बेमेल विवाहको परिणाम के हुन्छ भनेर देखाउन जुन अपराध गरेर समाजले पौरख देखायो, त्यसले समाजमा गहिरो मानसिक त्रासको सृजना गरेको छ । शैक्षिक र आर्थिक उन्नतिको मार्गमा लाग्नका लागि अवरोधको काम गर्छ यो मानसिक त्रासले । सुष्मा प्रत्यक्ष प्रभावित भए पनि यो घटनाले धेरै युवतीको आत्मविश्वासमा हानेर गयो । घुमेर यसको क्षति समाजले नै भोग्ने हो, समग्रमा देशले भोग्ने हो ।

नवराजको केस जातीय अहंकारको त हो, सँगै यो ‘इज्जत हत्या’ को विषय पनि हो । छोरीको यौनिक अधिकारलाई परिवारको मर्यादाको पर्याय मानेको परिवारले नवराजलाई त्यही मर्यादामा हिलो छ्याप्न आएको अपराधी देख्यो । जातीय अहंकारको दलदलमा फसेको जनप्रतिनिधिकै सहयोगमा सामूहिक आक्रमण गर्‍यो । ‘इज्जत हत्या’ को केसमा हिन्दु सम्प्रदायका युवाहरूले जातीय र याौनिक खबरदारीको दोहोरो मार खप्नुपरिरहेको देखिन्छ ।

यस्ता युवामाथि गुज्रिएको भयाभह घटनाको असर उसले परिवार र समाजलाई दिने उत्पादकत्वमा पर्छ । यस्ता घटना केही बेरको समाचार बन्छन् र दृश्यबाट ओझेलमा जान्छन् । र, कसैको निजी जीवनको एक कहानी बनिदिन्छन् । तर, त्यसबाट लामो समयसम्म समाज र देशले बेहोर्ने सामाजिक–आर्थिक क्षतिको कमै हिसाबकिताब गरिएको छ । सामाजिक संरचना र शान्ति खल्बलाउने यस्ता घटना निजी जीवनको कालो पक्ष मात्र होइनन््, राज्यको सामाजिक, आर्थिक उन्नतिमा तेजाब छर्ने खतरनाक विषय हुन् ।

आफ्नो प्रमी रोजेकोमा महिलालाई आफ्नै परिवारले हत्या गर्नु वा परिवारले प्रेमिको हत्या गरिदिनु, यो दुवै अनर किलिङ हो । प्रत्यक्ष र परोक्ष रूपमा महिलाहरू ‘इज्जत हत्याको’ जाँतोमा पिसिन्छन् । ज्यान गए गइहाल्यो, आफूले रोजेको मानिसको ज्यान गयो भने पनि उसको जीवन आधा मृत समान भयो । यो मानसिक त्रासदीबाट बाहिर आउन कति समय लाग्ला ? या आउनै नसक्लान् ? प्रेमिकाको हत्या भएको पुरुषको मनोदशाको वस्तुपरक असर पनि समाजले बेहोर्नैपर्छ । हिंसा भोगेको मानिस हिंस्रक भएर निस्कने सम्भावना प्रचुर हुन्छ, समाजमा हिंसाको अन्तहीन चक्र बन्छ । हिंसाविरुद्धका अभियानमा समेत ‘इज्जत हत्या’ को परोक्ष सिकार भएका युवाको मनोभावना र उनीहरूका जीवनका दुष्चक्रको चर्चा भेटिँदैन ।

महिला वा पुरुष, जो भिक्टिम भएको केसमा पनि मुख्य ध्यय भनेको महिलाको यौनिकतामाथिको नियन्त्रण नै हो । महिलाको योनीमा संग्रह गरिएको परिवार र समाजको मर्यादाकै लागि उसले जीवनभर यसको मूल्य तिरिरहनुपर्छ । महिलाको काम र व्यवसायले माग्ने गतिशीलता यही कारण प्रभावित हुन्छन् । महिलाको यौनिकतामाथिको यो कर्के नजरले समग्र अर्थतन्त्रले बेहोर्ने क्षतिको हिसाब गरिएको छ त ?

अनर किलिङ वा अन्य हिंसाको सवाल केवल पारिवारिक र सामाजिक होइन, यो राजनीतिक र आर्थिक मुद्दा पनि हो । सन् २०१६ को यूएन वुमनको रिपोर्टमा अमेरिकामा हुने महिला हिंसाको केसले पुर्‍याएको वार्षिक आर्थिक क्षति ५ दशमलव ८ बिलियन डलर र अस्ट्रेलियामा ११ दशमलव ३८ बिलियन डलर देखाएको छ । यसरी आर्थिक आँकडा निकालेर हेर्ने हो भने ‘इज्जत हत्या’ लगायत अन्य हिंसाको आर्थिक हिसाब नेपालमा कस्तो देखिएला ?ज्यानमारा–इज्जतले कति युवाको बलि पर्खेर बसेको छ, यो डरलाग्दो कुरा हो ।

हाम्रो पारिवारिक–सामाजिक इज्जत र मर्यादाले अबको समयमा यस्तो परिभाषा मागेको छ– ज्यानमारा इज्जत जोगाउने होइन, ज्यानमारा इज्जतको आहारा बन्नबाट नागरिक जोगाउने हो । यसका लागि परिवार, समाज, राष्ट्रिय र स्थानीय सरकारको प्रतिज्ञा चाहिएको छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : पुस ३, २०७७ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×