कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भूगोलका फरक हिस्सा हिँड्नुअघि 

रामगोपाल आशुतोष

तिमी गए पनि
तिम्रो मायाको उपहार रहिरहनेछ । 
जस्तो 
–चन्द्रसूर्य आकाशमा
–धरतीमा हावापानी 

भूगोलका फरक हिस्सा हिँड्नुअघि 

जस्तो

–सासमा न्यानोपन

–रहिरहन्छ मुटुमा धड्कन

–हावामा चञ्चलता

–उस्तै रहनेछन् मेरा बदमासी


जस्तो

–फूलमा सुवास

–इन्द्रेणीमा रङ

–खोलाको छङछङ

–चराको चिर्बिर

सबै सबै रहिरहनेछन्

नासो बनेर

बाँचेसम्म –यो मुटुको गहिराइमा

रहेसम्म –यो ब्रह्माण्डको विशालतामा


लौ !

लाटी –किन रोएकी यसरी !?

सम्हाल आफूलाई

रोक –रोक, आँसु बगाउन रोक !

र, हाँस !


जून जसरी हाँस्न आउँदैन होला –ठीक छ !

फूलजस्तै मुस्काउन आउँदैन होला –केही छैन !!


तर हाँस !!

–जसरी हाँस्छ

अघोर अँध्यारोसँग लड्दै उषाको पहिलो किरण

–जसरी मुस्काउँछ

घनघोर वर्षात्मा बादलसँग युद्ध गर्दै

चट्याङ


जोडजोडले हाँस्न नआए पनि

बत्तीसी देखाएर,

छाती खोलेर हाँस्न नसके पनि

एकचोटि हाँस ......

वा मुसुक्क हाँस ........ !


हिजोसम्म हामी

प्रेमसम्बन्धमा थियौँ

आजपछि –श्रद्धामा हुनेछौँ !


भोलि त

तिमी र मलाई

भूगोलको आधाआधा गोलार्द्ध हिँड्नुछ !


लौ, अब त हाँस !

र, म पनि हाँस्छु

..............बिस्तारै ................. !!!

प्रकाशित : माघ १०, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?