१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

राजा, रानी र कहानी

‘यार’ बजारमा आइसकेपछि सोचेको थिएँ, अब संस्मरण लेख्दिनँ । केहीयता संस्मरणको बजार देखेर दिक्दार पनि छु । जो आउँछ, दुई–चार थान संस्मरण छ्यालब्याल पारेर जान्छ । मलाई लाग्थ्यो, संस्मरणमा लागेपछि लेखकको कल्पनाशीलता भुत्ते हुँदै जान्छ । दिमागमा अलरेडी तयार घटनाक्रमहरूलाई अलिक मिठो भाकामा पस्क्यो र वाहवाह पायो ।
नयनराज पाण्डे

एक थिए राजा, एक थिइन् रानी !
दुवै मरे, खतम कहानी !!
हो, सानोमा यसरी नै धेरैपटक कथा सुरु भएको छ र यसरी नै खतम पनि भएको छ ।

राजा, रानी र कहानी

यो कहानीमा भने राजा रानी होइन, दिदीबहिनी छन् । नाताले दिदीबहिनी होइन । एउटीले दिज्यू भन्ने, अर्कीले बैनी भन्ने । लोकले दिएको नाताचाहिँ ‘सौता सौता’ हो ।

०००

‘यार’ बजारमा आइसकेपछि सोचेको थिएँ, अब संस्मरण लेख्दिनँ । केहीयता संस्मरणको बजार देखेर दिक्दार पनि छु । जो आउँछ, दुई–चार थान संस्मरण छ्यालब्याल पारेर जान्छ । मलाई लाग्थ्यो, संस्मरणमा लागेपछि लेखकको कल्पनाशीलता भुत्ते हुँदै जान्छ । दिमागमा अलरेडी तयार घटनाक्रमहरूलाई अलिक मिठो भाकामा पस्क्यो र वाहवाह पायो । अनलाइनका लाइक र सेयर गनेर बस्यो र फेरि अर्को संस्मरणको तयारीमा लाग्यो । कहिलेकाहीँ त लाग्छ, हामी कथा सोच्न छाड्दै छौँ र औंलामा थुक लगाईलगाई पल्टाउँदै छौं अतीतका पाण्डुलिपिका ओसिएका पानाहरू । अझ हामीलाई त्यस्ता पानाहरूप्रति बढ्ता आसक्ति छ, जसले पढ्नेको मुटुमै दखल पार्छ र उसलाई आँसुको आहालमा डुबाउँछ । सायद हामी परपीडक बन्दै छौँ र अरूलाई रुवाएर मजा लिन थाल्ने भएका छौं ।

‘यार’ पछि आफ्नै स्मृतिसित दिगमिग लाग्न थालेको थियो । तीन वर्ष त भएछ नलेखेको पनि । यो पनि लेख्न खोजेको होइन । करले लेखेको हुँ । अरू कसैको होइन, यही संस्मरणका पात्रहरूको करले । उनीहरूले छाडेनन् । स्मृतिमा हस्तक्षेप गर्न बरोबर आइरहे । आजचाहिँ अक्षरहरूको अनुष्ठान सुरु गरेँ र बोलाएँ उनीहरूलाई, ‘आउनुस् यो अक्षर–यज्ञमा ! मेरो संस्मरणको पात्र बन्नुस् !! स्वाहा !!’

तर, यो सब यो पङ्क्तिकारको बहानाबाजी पनि त हुन सक्छ । यस्तो आडम्बरी म कहिलेबाट बनेँ ? यतिका गोलगोल घुमाएर क्षमाप्रार्थी हुनुको ‘ढकोसला’ गर्नुभन्दा सीधै यस विषयमा लेख्न मन लाग्यो, लेखेँ भन्दिएको भए बातै खतम हुन्थ्यो । उफ् ! म पनि सायद शब्दको चटकमा फस्दै छु ।

जसले जे भने पनि आजचाहिँ संस्मरण लेख्नकै लागि कस्सिएँ र बोलाएँ तिनीहरूलाई यहाँ, यो अक्षर–यज्ञमा, यो शब्द–अनुष्ठानमा ।

यसरी बोलाउन सजिलो पनि हुन्छ । घरमा स्वागत गर्नु पर्दैन । चिया–कफी पनि सोध्नु पर्दैन । खाजा नास्ताको लफडामा फस्नु पर्दैन । अतिथिहरू फर्किएपछि तिनका जुठा बर्तनहरू सफा गर्नु पर्दैन । खर्चपर्चको हिसाबले पनि सस्तोमै छुट्कारा मिल्छ ।

तर, यी सब भन्ने कुरा न हुन् । संस्मरणमा पात्रहरूलाई भित्र्याउँदा मन र मुटु यसरी निचोरिन्छन् कि योभन्दा ठीक त घरमै बोलाउनु हुन्थ्योजस्तो लाग्छ । तर, यो अब सम्भव छैन । बीस–बाइस वर्षअघि हो, उनीहरूलाई भेटेको । अहिले उनीहरू कहाँ छन् मलाई थाहा छैन । दुवै सुगर, प्रेसर र बाथका रोगी थिए । उतिबेलै पचास कटिसकेका थिए । अब त यो जगत्बाटै गैसके कि जस्तो पनि लाग्छ । एक जनाले त भनेकी पनि थिइन्, ‘म त अचेल भुलक्कड भएकी छु । भर्खरको कुरा भर्खरै बिर्सन्छु ।’

कतै त्यो अल्जाइमरको लक्षण त थिएन ? कतै बैनीचाहिँले सारा स्मृति गुमाएर राजविराजको आफ्नो घरमा मृत्यु कुरिरहेकी त छैनन् ? कतै दिदीचाहिँले बैनी गुमाएर फेरि माइतीकै शरणमा हाँडीगाउँतिरको कुनै घरको अँध्यारो कोठामा जीवनका अन्तिम दिनहरू बिताइरहेकी त छैनन् ? हुन सक्छ । जे पनि हुन सक्छ ।

साथीको घरमा भेटेको हुँ उनीहरूलाई । साथीलाई खोजेर उनीहरूको हालचाल सोधेको भए पनि हुन्थ्यो । यो अधुरो संस्मरणलाई टुङ्गोमा पुर्‍याउने सबैभन्दा असल उपाय त्यही थियो । तर, मलाई त्यसो गर्नु छैन । मलाई त्यति धेरै भावुक बन्नु पनि छैन । मैले उनीहरूका बारेमा जे–जति कुराहरू स्मृतिमा राखेको छु, त्यही जोडजाड पारेर यो संस्मरण लेख्न खोजेको छु । यो लेखलाई मैले अधुरै छाड्नु छ । यसलाई पूरा गर्नु छैन । मैले आफूलाई इमानदार लेखक देखाउन पनि यो लेखेको होइन । त्यसैले यो संस्मरणमा मैले काल्पनिक ट्विस्ट दिन सक्छु । म इतिहास होइन, साहित्य लेख्दै छु । त्यसैले लेखकीय स्वतन्त्रताको नाममा अलिकति बेइमानी गर्न म स्वतन्त्र पनि छु । बस्, मेरो एउटै आग्रह हो– यो संस्मरणका पात्रहरू मरिसकेका छन् भने पनि फेरि जन्मियून् र केही दिन, केही हप्ता या केही महिना तपाईंहरूको मथिङ्गलमा बाँचिरहून् । त्योभन्दा बढ्ता आशा मैले राखेको पनि छैन । संस्मरणको भेलमा, हप्तैपिच्छे राष्ट्रिय दैनिक या चल्तीका अनलाइनमा आउने स्मृति–लेखहरूको नयाँ–नयाँ एपिसोड र त्यसका नयाँ–नयाँ पात्रहरूको ठेलाठेलमा ढिलोचाँडो यी पात्रहरू फेरि गुमानाम हुने नै छन् । विचराहरू ! ‘गुमनाम हुए तो क्या, नाम तो है’ भन्न पनि सक्दैनन् । किनभने मैले तिनीहरूलाई काल्पनिक नाम दिएको छु– जेठी रानीसाहेब र कान्छी रानीसाहेब † उनीहरूको ठौरठेगाना, बासस्थान सबै काल्पनिक । हाँडीगाउँ, डिल्लीबजार, राजविराज । सबै काल्पनिक ।

०००

थरले जेठी रानीसाहेब काठमाडौंकी राणा परिवारकी छोरी । कान्छीचाहिँ धरानतिरकी कुनै श्रेष्ठ परिवारकी प्यारी सुपुत्री । दुवैको प्रेम विवाह । फरकफरक समयमा तर एउटै पुरुषसित । पुरुषको थर पनि श्रेष्ठ नै । पूर्वी नेपालमा सडकका ठेक्कापट्टा लिने ‘क’ श्रेणीका ठेकेदार । यसरी भूगोलको दुई ठाउँका यी दुई कन्याहरूलाई समयको चकफेरीले सौता बनायो । कुनै बेलाका शालीन र शान्त यी स्त्रीहरू समयको एउटा मोडमा झगडालु, रिसाहा र दुष्ट भएर निस्किए ।

मैले यी दुई रानीसाहेबहरूलाई भेट्दा निज दुवैले पति गुमाइसकेका थिए । दुवैले रातो साडी, रातो चुरा, रातो सिन्दूर र पोते लगाउन छाडिसकेका थिए । मैले मेरा आसपासमा पति गुमाएका जति पनि विधवा भनिने स्त्रीहरू देखेको छु, प्राय: सबैको अनुहारमा समाजले थोपरिदिएको एउटा उदासी पनि देखेको छु । तिनीहरूमा आफ्नो शरीर र अस्तित्वप्रति नै नमिठो संशय पनि देखेको छु । त्यो संशय र उदासीले भन्ने कथा एउटै हो– सतीप्रथा बन्द भए पनि पतिको मृत्युसँगै पत्नीका कामना, रहर, सपना र उल्लासहरू सति जाने चलन अझै हटेको छैन । समाजमा यो चलन ससम्मान कायम छ ।

तर, उनीहरूको हकमा भने यो कुरा फरक थियो । उनीहरूले कति दिन पति वियोगमा रुवावासी गरे, मलाई थाहा छैन । तर, मैले जतिबेला उनीहरूलाई देखें, दुवैका अनुहारमा उमङ्ग र उत्साह नै देखें । असीम चमक र उज्यालो नै देखें । दुवैलाई बिन्दास र हाँसोले भरिपूर्ण नै देखें । जेठी या कान्छी कसले भनेको थाहा छैन । तर, उनीहरूमध्ये नै कसैले भनेको हो, ‘जिब्रोको क्यान्सर भएको थियो राजासाहेबलाई । बोल्नुपर्दा घाँटीनिर यन्त्र टाँस्नुपथ्र्यो । खाना पनि पाइपबाटै दिनुपथ्र्यो । साह्रै दु:ख पाइबक्सिएको थियो ।’

राणा परिवारकी दिदीको सङ्गतले नै हुनुपर्छ बैनीले पनि श्रीमान्‌लाई राजासाहेब भन्ने गर्थिन् । बक्स्योस्, सवारी होस् र ज्युनार होस् भन्न पनि सिकिसकेकी थिइन् । एउटीले भनेकी थिइन्, ‘बीस वर्ष भयो बिहे भएको । पछिल्लो पाँच वर्षचाहिँ राजासाहेबसित बोलचाल बन्दजस्तै भएको थियो ।’

‘कसको ? दिदीको कि बैनीको ?’, मैले पक्कै सोधेको हुनुपर्छ ।

‘हामी दुवैको’, मैले यही जवाफ सुनेको हुनुपर्छ । किनभने आजका मितिसम्म ती दिदीबहिनीको श्रीमान्सँग लामो समयदेखि बोलचालै बन्द भएको थियो भन्ने मेरो छटाकभरिको दिमागी यन्त्रमा स्थायी रूपले बसिरहेको कुरा हो । संस्मरण भनेको दिमागमा गाढा भएर बसेका यस्तै केही प्रसङ्गहरूलाई जोडजाड पारेर तयार हुने जिनिस त रहेछ ।

मैले उनीहरूसित सोध्न नसकेको प्रश्नचाहिँ यो हो– ‘हजुरहरूको राजासाहेबसित बोलचालचाहिँ किन बन्द भएको ?’

ती रानीसाहेबहरूसित पटकपटकको मेरो भेट, सँगै पिउने क्रममा पटकपटक भएका अरूअरू प्रसङ्गका बातचित र उनीहरूको मुहारमा देखिने अपार उल्लासका भावहरूबाट के मैले मेरो यो प्रश्नको जवाफ पाउँछु ?

यो लेख, त्यही जवाफको खोजीका लागि गरिएको एउटा प्रयास हो । प्रयास मात्र हो । त्यसैले सफलताको ग्यारेन्टी छैन ।

०००

कान्छी रानीसाहेबचाहिँ जेठी रानीसाहेबको बिहेको पाँच वर्षपछि सौता लाग्न गएकी रहिछन् । बिहेअघि नै सौतामाथि जाँदै छु भन्ने थाहा थियो उनलाई । तर, उधुम र उत्ताउलो मायाले आँखा उघार्न दिएन । अर्धचेतमा पुर्‍याइदियो । अनि त ‘जे होला, देखा जाएगा’ भन्दै नजानुपर्ने सम्बन्धको खाडलमा निदमै हाम्फालिन् । उसो त जेठी रानीसाहेबको पारा पनि खासै ठीक त भएन । आफूभन्दा बीस वर्ष जेठोको मायाजालमा फसिन् र त्यसपछि सम्बन्धका अरू जञ्जालमा अल्झिइन् । यसरी मैले बुझेँ, उनीहरू दुवैको श्रीमान्सित उमेरको ठूलो ग्याप थियो । त्यसैले ‘राम साइँली, चालीस कटेसि रमाउँला’ भन्ने गीत उनीहरूको जीवनकालमा रिलिज नभएको ठीकै भयो । नभए गीतले नै उनीहरूलाई थप पीडा दिन सक्थ्यो होला । उमेरको भयङ्कर ग्याप हुनु, आफूसित उत्तेजना र उन्मादको स्टक कायमै हुनु र यसबीच श्रीमान्लाई क्यान्सर पनि हुनु, यी यावत् कुराहरू राजा रानीहरूबीचको सम्बन्धमा उदासीनता ल्याउने बलियो कारक तत्त्व हुन सक्छ । तर, यत्तिकै कारणले रोगी पतिको उपेक्षा नै गर्नुपर्ने गरी निजसित बोलचाल नै बन्द गर्नु त पर्ने थिएन होला । त्यो पनि जेठी–कान्छी दुवैले । मानवीयताको सामान्य नियमले पनि यसो नगरेकै जाती ठान्थ्यो होला । तर, सारा नियम र काइदा कानुनको बर्खिलाप जान यी दुई रानीसाहेबहरूलाई के कुराले प्रेरित गर्‍यो होला ? सोचमग्न छु ।

०००

अप्रत्याशित रूपमा सौता भनेर आएकी कान्छीलाई जेठी रानीसाहेबले देख्नै सकिनन् ।

‘कतिपल्ट बाझाबाझ भयो । कतिपल्ट भुत्लाभुत्ली भयो । ठेगानै छैन । राजविराजको घरको आँगनबाट सुरु भएको हाम्रो दङ्गल मूल सडक हुँदै चोकसम्मै पुग्थ्यो । मेला लाग्थ्यो । मेला हेर्न आउनेहरूबाटै न्यायाधीश निस्कन्थे र कचहरी पनि लाग्थ्यो । कतिपटक कचहरी लाग्यो, कतिपटक वार्ता भयो, कतिपटक सम्झौता भयो र फेरि कतिपटक वार्ता भङ्ग भयो र सम्झौता तोडियो भन्ने हिसाब नै छैन’, पिएकै सुरमा जेठीले भनेको हुनुपर्छ ।

अनि पिएकै बेला कान्छीले पनि यो प्रसङ्गलाई अझ विस्तार गर्दै भनेको हुनुपर्छ, ‘हाम्रो झगडाको सबैभन्दा चल्तीको कारण थियो, बेडरुम । ठेकेदार राजासाहेब बल्लबल्ल महिना–डेढ महिनामा घर फिरिबक्सिन्थ्यो । अनि उहाँको बेडरुममा को सुत्ने भन्ने विषयमा सुरु भएको हाम्रो ठाकठुक जहिले पनि हिंस्रक मोडमा समाप्त हुन्थ्यो ।’

‘झगडा भएपछि मिलापत्र कसरी हुन्थ्यो ?’, मैले पक्कै सोधेको थिएँ ।

‘जब झगडा सकेर चोकबाट फर्किन्थ्यौं, राजासाहेबको फिर्ती सवारी भैसक्थ्यो ।’

दुवै रानीसाहेब अनि खित्का छाडेर हाँस्थे । उनीहरू हाँस्दा उनीहरू पचास वर्षका रहँदैनथे । दुवै अल्हड युवतीमा रूपान्तरित हुन्थे र उनीहरूको गालामा रोमाञ्चको रातो चढ्थ्यो । आँखामा उमङ्गको नशा देखिन्थ्यो ।

राजासाहेबले दुवैलाई बराबरी माया दिए कि दिएनन्, उनै जानून् । तर, उनले आफ्ना दुवै रानीसाहेबहरूलाई समान रूपले दिएको उपहार थियो– चुरोट र रक्सी । जेठी त पहिले नै अम्मली भैसकेकी थिइन्, सौता लाग्न गएको केही महिनापछि कान्छी रानीसाहेब पनि उस्तै अम्मली बनेर निस्किइन् । त्यसपछि रक्सीको ब्रान्डलाई लिएर पनि उधुम झगडा हुन थाल्यो । दिदीलाई ह्विस्की स्वादिलो लाग्ने, बैनीलाई भोड्का स्वादिलो लाग्ने । राजासाहेबले ह्विस्की ल्याए पनि झगडा, भोड्का ल्याए पनि झगडा । चुरोटमा एउटीलाई याक चाहिने, अर्कीलाई गैंडा मन पर्ने ।

‘राजासाहेब प्राय: घर नआउने । हामी भने हरेक दिन झगडा गर्ने अनेक अनेक विषय खोजिरहन्थ्यौं । हामीलाई एकअर्काले बोलेको पनि मन पर्दैनथ्यो, एक अर्काले खाएको पनि मन पर्दैनथ्यो । मैले उडाएको चुरोटको धूवाँ दिज्यूको कोठामा पुग्यो भने पनि लफडा सुरु भैहाल्थ्यो । दिज्यू हजुरलाई जेठी रानीसाहेब हुँ भन्ने गर्व, मलाई भने म राजाकी प्यारी कान्छी रानी हुँ भन्ने घमण्ड । हाम्रो सल्तनतमा कहिल्यै शान्ति भएन । हाम्रो रियासतमा सन्तोष कहिल्यै भएन’, निर्धक्क भन्थिन् कान्छीले र मज्जाले हाँस्थिन् दिज्यू हजुर ।

मैले उनीहरूलाई भेट्दा राजासाहेबले आफ्नो नश्वर चोला त्याग गरेको धेरै भएकै थिएन । तर, उनीहरू त्यो पीडाबाट पूरै उब्रिसकेका थिए । अझ उनीहरूबीचको कुराकानी सुन्दा, उनीहरूको जीवनमा कहिल्यै कुनै राजासाहेब भन्ने प्राणी थिए भन्ने पनि लाग्दैनथ्यो । लाग्थ्यो, राजासाहेब उनीहरूको जिन्दगीको बिर्सन चाहेको पाटा हुन् । उनीहरू दुवै आफ्नो जीवनमा राजासाहेबको उपस्थितिलाई मानौं बिर्सन खोजिरहेका छन् ।

कुनै बेला राजासाहेबको बेडरुमका लागि हानथाप गर्ने यी रानीसाहेबहरू उनको मृत्युपछि पूरै बदलिए । मैले भेट्दा उनीहरू काठमाडौंको कुनै बैङ्कमा धितोमा रहेका सम्पत्तिका केही कागजातहरू लिन आएका थिए । उनीहरू जहाँ–जहाँ गए, सँगै गए र सँगै ल्याप्चे लगाए । राजासाहेबले लाखौं तिर्नुरहेछ । अलिकति जेठीले माइतीसित सापटी लिइन्, अलिकति कान्छीले दाजुभाइसित जुटाइन् । सबै लेनादेना टुङ्गिएर जब सम्पत्ति नामसारी गर्नुपर्‍यो, उनीहरूबीचको सम्बन्धको अर्को गजबको पक्ष देखापर्‍यो । जेठी रानीसाहेबले भन्ने, ‘तिमी मभन्दा कान्छी छौ । अनेक रोग पालेर बसेकी छु । त्यसमाथि बिर्सने रोगले पनि समात्छ कि जस्तो लाग्न थालेको छ । राजविराजको एउटा घर मेरो नाममा छाडिदिएर बाँकी दुइटा घर, घडेरी र खेतहरू तिम्रो नाममा गराऊ ।’

दिदीको भनाइमा कान्छी रानीसाहेबले आपत्ति प्रकट गर्दै भन्ने, ‘त्यस्तो हुँदैन । हजुर होइबक्सन्छ भन्ने जान्दाजान्दै मै सौता लाग्न गएकी हुँ । म नभएको भए सबै सम्पत्ति हजुरको एकालौटी हुन्थ्यो । त्यसैले यो सम्पत्तिमा हजुरकै हक हुनुपर्छ । मलाई एउटा बस्ने बास भए हुन्छ ।’

यी रानीसाहेबका यस्ता तर्क–वितर्क सुनेर उनीहरूका माइतीका सदस्यहरू चकित हुन्थे । उनीहरूको एउटै मत थियो, ‘राजासाहेबको मृत्युपछि दुवै सठियाई गएका छन् ।’

लगभग बीसवर्षे वैवाहिक जीवनमा लगभग दस वर्ष राजासाहेबको बेडरुममा कसको कति हक भन्ने झगडामै यी दुई रानीको समय बितेको थियो । बाँकी वर्ष रोगले जीर्ण भएका राजासाहेबको स्याहार–सुसारमा । समयको यस्तो खेलाले दुवैलाई सन्तान प्राप्तिको सुख दिएन । सुरुका केही वर्ष यस कुरामा दुवै रानीहरूलाई गुनासो थियो । दुवैलाई आफू हुँदाहुँदै राजासाहेबले अर्कीलाई भुँडी बोकाइदेलान् भन्ने पिरलो थियो । त्यसैले उनीहरूको एउटै ध्याउन्न हुन्थ्यो, राजासाहेब मसित सुतेनन् भने अर्कीसित पनि सुत्न पाउन्नन् । सुत्ने र सुत्न नदिने यो चक्करमा राजासाहेबको निद हराम भएको थियो र यसमा दुवै रानीसाहेबलाई खासै चिन्ता थिएन ।

दुई सौताबीचको यस्तो तितो सम्बन्ध सुमधुर कसरी भयो ? यो त समाजकै टाउको दुखाइको विषय भएको थियो । समाज जवाफ खोज्न प्रयत्नरत् थियो । समाज सोच्थ्यो, ‘जवाफ भेटे चोकको चिया दोकानमा चियाको चुस्की लिँदै चर्चा गर्नुहुन्थ्यो ।’ तर, समाज अहिलेसम्म त्यो सानदार अवसरबाट विमुख थियो । हल्का मातेको बेलामा जेठीले भनेकी थिइन्, ‘म पनि साह्रै अबुझ भइछु त्यतिबेला । आफ्नो जे–जस्तो भए पनि तिमीलाई भुँडी बोक्न दिनुपथ्र्यो ।’

कान्छीले कुरालाई हाँसोमा उडाइदिन्थिन्, ‘भो, मलाई पनि नचाहिने घाँडो बोक्नु थिएन । जे भयो, राम्रै भयो ।’

दुवै रानीलाई आफूहरू सन्तानहीन भएकोमा अब कुनै दुखेसो थिएन । विगतका कमी कमजोरीमा अल्झिएर उनीहरू आफ्नो वर्तमानलाई नमिठो बनाउनै चाहन्नथे । यो उनीहरूबीचको सम्बन्धको अर्को सुन्दर पाटो थियो । उनीहरू यो सुन्दरतालाई भविष्यसम्म कायम राख्न तल्लीन थिए । त्यसैले उनीहरूले आफ्नो विगतमा थुप्रिएका सबै खालका तिक्ततालाई विगतकै राजमार्गको कुनै मोड या गल्लीमा छाडेर आएका थिए । उनीहरूलाई त्यो तितोलाई फेरि सम्झिनु थिएन । फेरि आफ्नो सम्बन्धमा खटास ल्याउनु थिएन । फेरि सडकको कचहरीमा उभिएर रोड छाप न्यायाधीशको फैसला सुन्नु थिएन ।

०००

धेरै त होइन, केहीपटक उनीहरूले पिएको देखेको छु । ती क्षणहरूमा सँगै चियर्स भन्दै बसेको पनि छु । मैले उनीहरूमा कसले ह्विस्की र कसले भोड्का खाने प्रतिस्पर्धा भएको देखिनँ । रक्सीमा बरफ हाल्ने कि सोडा भनेर हानथाप भएको पनि देखिनँ । मासुमा खसी खाने कि कुखुरा भनेर बहस भएको पनि थाहा पाइनँ । साँझ रोटी खाने कि भात ज्युनार गर्ने समस्या भएको पनि थाहा पाइनँ । को ठूलो कोठामा सुकला हुने र को सानो पलङमा निदाउने भनेर चिन्ता भएको पनि थाहा पाइनँ ।

‘हामीलाई त अचेल राजासाहेबको बेडरुममा छिर्नै मन लाग्दैन,’ दुवैको समान धारणा यही थियो ।

जेठी रानीसाहेबको माइतीले कुनै डिनरमा कान्छी रानीसाहेबलाई बोलाएनन् भने कान्छीलाई हेलाँ भयो भनेर जेठीको रुवावासी चल्थ्यो । कान्छीको माइतीले दसैं–तिहारमा आफूलाई साडी उपहार दियो तर जेठीलाई दिएन भने कान्छी रिसले आगो हुन्थी । अब उनीहरू दुवैको एउटै भनाइ थियो, ‘मलाई जे दिन्छौ, त्यो अर्की रानीसाहेबलाई पनि दिनुपर्छ । मसित जस्तो आत्मीय व्यवहार गर्छौ, त्यस्तै व्यवहार अर्कीसित पनि गर्नुपर्छ । एक रत्ती तलमाथि गर्न पाइन्न । नत्र उनको मन दुखे, मेरो आत्मा रुन्छ । उनको आँखा रसाए, मेरो मुटुमा सूल उठ्छ ।’

यस्तो हुनु सम्भव छ ? यस्तो आदर्श सम्भव छ ? यस्तो भावुकता सम्भव छ ? सम्बन्धबीचको यस्तो हार्दिकता सम्भव छ ?

सम्भव रहेछ त ।

तर, यस्तो सम्भव भयो कसरी ? कसले गरायो एकअर्काको अनुहारै हेर्न नचाहने यी दुई सौताबीच शान्ति वार्ता ? कसले तयार गर्‍यो यी दुईबीचको सम्झौताको लिखत ? घृणाको पोखरीमा स्नेहको कमल कसरी फुल्यो ? के कुनै हिन्दी सिनेमाको प्राचीन दृश्यझैं आफूले मर्ने बेलामा राजासाहेबले यी दुई सौतालाई छेउछाउमा राखेर एकअर्काको हातमा हात राखिदिएर कुनै कसम ख्वाएका थिए ? कहिल्यै एकअर्कालाई दु:ख नदिने र कहिल्यै एकअर्काको साथ नछाड्ने वाचा बन्धन गराएका थिए ?

‘खाओ मेरो कसम कि तिमीहरू एकअर्कासित कहिल्यै रिसाउने छैनौ । मेरो शिरमा हात राखेर खाओ कसम कि ह्विस्की खाए पनि दुवैले एउटै ब्रान्ड र भोड्का खाए पनि एउटै ब्रान्ड खानेछौ । खाओ मेरो मेरो कसम कि एउटा ढलेमा अर्कोले उठाउनेछौ । कहिल्यै कुखुरा र खसीमा झगडा गर्नेछैनौ ।’

के यस्तै चालु खालका कसम ख्वाएर राजासाहेबले प्राण त्याग गरेका थिए ? के मृत्यु शय्यामा रहेका राजासाहबेसित गरेका कुनै वाचा–बन्धनका कारण यी दुई आपसमा यति हार्दिक र यति सहिष्णु भएका थिए ?

यस्तो पक्कै होइन । यति त मेरो मनले पनि भन्छ । यस विषयमा जसले जे तर्क दिए पनि उनीहरूको सुमधुर सम्बन्धका कारक राजासाहेब हुन् भन्ने म मान्न तयार छैन । किनभने मलाई थाहा छ, विगत लामो समयदेखि यी दुई रानीसाहेबहरूले राजासाहेबलाई वास्तै गरेनन् । राजासाहेबको स्याहार त गरे तर उनको दीर्घजीवनको कामना गरेनन् । राजासाहेबको घाउहरूमा ओखती त लगाइदिए तर उनको पीडामा दुवै जना आहत भएनन् । मृत्युशय्यामा परेका राजासाहेबको मुखमा गंगाजल त हालिदिए तर ‘हँ राजासाहेब ! हँ स्वामि ! हामीलाई छाडेर कुन लोकमा सवारी हुन लागिबक्सियो’ भनेर रुवावासी गरेनन् ।

यी दुई रानीसाहेबहरू निर्दयी थिएनन् । यी स्नेहविहीन थिएनन् । यी प्रेम खोज्ने र प्रेम दिने स्वभावकै प्राणि थिए । यी माया र ममताले भरिपूर्ण स्त्री नै थिए । तर, जीवनको राजमार्ग सोझोसोझो हुँदैन । यसमा कतै सजिला घुम्तीहरू हुन्छन्, कतै धारिला मोडहरू । जीवनको यस्तै कुनै मोड या घुम्तीमा केही त्यस्तो जरुर भएको थियो, जसले यी दुई रानीसाहबेको सोच, व्यवहार र बोलीमा पूरै फरक ल्याइदियो । त्यो मोड कहिले आएको थियो ?

यथार्थमा मैले उनीहरूबाट यो प्रश्नको जवाफ पाइनँ । मैले उनीहरूसित जवाफ मागेको पनि थिइनँ । त्यस साँझ पिउने पिलाउने क्रमपछि मलाई यो प्रश्न सोधूँसोधूँ भन्नेचाहिँ पक्कै लागेको थियो । तर, आँट आएन । सोचेँ, मेरो प्रश्नले रानीसाहेबहरूलाई असहज बनाउन सक्छ । उनीहरूको कुनै भावुक अतीतबाट पर्दा हटेर फेरि उनीहरूलाई रुवाउन सक्छ । उनीहरू हाँसिरहेकै राम्रो । उनीहरू यस्तै आत्मीय र स्नेहले भरिपूर्ण भएकै ठीक । उनीहरू एकअर्काप्रति यस्तै सहिष्णु भएकै बेस । त्यसैले ओठसम्म आएको प्रश्नलाई मैले झर्न दिइनँ । प्रश्न फेरि मेरो अन्तरमै फर्केर गयो र समयक्रमसँगै मेरो यादबाट पनि विस्मृत बन्यो ।

तर, आज जब यो संस्मरण लेख्न बसेँ, कुनै बेला मेरो ओठसम्मै आइपुगेको त्यही प्रश्न मेरो मथिङ्गलमा फेरि चिप्लेकिराझैं सलक–सलक गर्न थाल्यो ।

त्यो रात अबेर भैसकेको थियो । साथी र म अलि बढी नै मात्तिइसकेका थियौं । उसले जेठी रानीसाहेबसित भन्यो, ‘अब हजुरहरू सुकला भइबक्सियोस् ।’

अनि बैठकको दायाँ–बायाँतिर रहेको दुइटा कोठातिर देखाउँदै दुवैसित भन्यो, ‘हजुरको कोठा यो, हजुरको त्यो ।’

दुवै रानीसाहेब मौन भए । दुवैको अनुहारमा गाढा अन्धकार छायो । मानौं साथीले उनीहरूसित कुनै अप्रिय कुरा गरेको थियो । उनीहरू भारी मनले उठे र साथीले देखाएको कोठातिर लागे । हामीबीचमा थियौं । बैठकमा भुइँमा ओछ्यान लगाएर सुत्यौं ।

मध्यरातमा अँध्यारैमा मैले देखेँ, कान्छी रानीसाहेबको छाया जेठी रानीसाहेबको कोठातिर जाँदै छ । कसैले थाहा नपाउने गरी । सुटुक्क ।

०००

रोगले सिकिस्त पार्दै लगेपछि सम्भवत: एक दिन राजासाहेबले भनेको हुन सक्छ, ‘अब मेरो जीवनको ठेगान छैन । जीवनको ज्योति झ्याप्प कुनै बेला पनि निभ्न सक्छ । बोल्दाबोल्दै म मौन हुन सक्छु । हेर्दाहेर्दै मेरा आँखाहरू पत्थरझैं स्थिर भैदिन सक्छन् । कुनै बेला पनि मेरो शरीर शीताङ्ग भैदिन सक्छ । त्यसैले मेरो जीवनका यी अन्तिम दिनहरूमा तिमीहरूले मेरो साथ नछाड । दिनमा पनि मेरै छेउछाउ बसिराख । राति पनि मेरै बेडरुममा आऊ । मेरै दायाँ–बायाँ सुत्ने गर ।’

राजासाहेबका ती अन्तिम दिनहरूमा केही दिन जेठी रानीसाहेब राजासाहेबको दायाँतिर र कान्छी बायाँतिर सुकला होइबक्सेको हुन सक्छ । बिस्तारै दायाँ–बायाँको बानी परेको हुन सक्छ । बिस्तारै बीचबाट राजासाहेबको देहको पर्खाल हटेको हुन सक्छ ।

त्यसपछि नै रानीसाहेबहरूका लागि राजासाहेब औचित्यहीन भएको हुन सक्छ । त्यसपछि नै रानीसाहेबहरूलाई एकअर्काको अथाह माया लाग्न थालेको हुनुपर्छ । त्यसपछि नै दुवै रानीसाहेब एकअर्काको लागि आत्मिक, दैहिक र भावनात्मक रूपले जरुरी बनेको हुन सक्छ ।

बस्, योभन्दा बढ्ता मैले यहाँ केही लेख्नु हुँदैन । यो संस्मरण हो भने मैले नदेखेका र नबुझेका कुरामा यही नै सत्य हो भनेर दावी गर्नु हुँदैन । यो कथा हो भने पनि मैले यही नै भएको हो भनेर निर्णय सुनाउनु हुँदैन । लेखकले न्यायाधीश बन्ने हतार गर्नु हुँदैन ।

तर, एउटा कुरामा म अझै अलमलमा छु । मैले जीवनमा केही दर्जन कथाहरू लेखें, किनभने ती कथा नै थिए । केही संस्मरणहरू लेखें, किनभने ती स्मृतिहरूसितै जोडिएका थिए । तर, योचाहिँ के हो ? संस्मरण या कथा ? संस्मरण हो भने ती दुई रानीसाहेबप्रति मेरो अथाह श्रद्धा छ । कथा हो भने यो प्रेमकथालाई मेरो सलाम छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : माघ ९, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?