२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रवास पर्यवेक्षण

रामदयाल राकेश

'प्रवास' सुमित शर्मा समीरको पहिलो उपन्यास हो । किताब ‘म’ शैलीमा लेखिएको छ । किताबको प्रारम्भमा उपन्यासकारलाई एउटा उद्बोधनले जीवनपर्यन्त लखेटिरहेको छ, ‘उठ अली, तिमी जीवनपर्यन्त निदाएका छौ । अब उठ ।’ उपन्यास पाँच अध्यायमा विभाजित छ ।

प्रवास पर्यवेक्षण

पहिलो अध्याय ‘खोज’ मा उपन्यासकारले आफूभित्र अलीलाई पूर्ण रूपमा आत्मसात् गरिसकेका छन् । अली बाल्यकालदेखि नै प्रताडित छन् । सानै उमेरमा आमा गुमाएका अली आफ्ना नातेदार र साथीहरूको पनि तिरस्कार झेल्छन् ।

अनाथजस्तो जीवन आरम्भ गरेको अली परिस्थितिको झापड खाँदाखाँदा बलियो बन्छ । अस्थिर पनि हुँदै गएकाले ऊ विभाजित मानसिकतामा बाँच्न बाध्य हुन्छ । यस्तै स्थितिमा उसले जारासँग विवाह पनि गरिसकेको हुन्छ । तर, उसको वैवाहिक जीवन पनि दुःखद सचित्रण गरिएको छ ।

दोस्रो अध्यायमा अलीकी छोरी पनि जन्मिसकेकी छन्– आयशा । तर, परिवारको आर्थिक स्थिति सन्तुष्टिजनक नभएकाले श्रीमान्–श्रीमतीबीच अहोरात्र किचकिच हुनु स्वाभाविकजस्तो भइसकेको छ । यही कारण ऊ बिदेसिन पुग्छ । तर, त्यहाँ पनि ऊ खुसी रहन सक्दैन । अली र उनका मित्र आहिलबीचको संवाद यो अध्यायको मूल केन्द्रमा अवस्थित छ, जहाँ उनीहरूले पाकिस्तानी र क्यानिडियन समाजबीचको तुलना गरेका छन् । यही अध्यायमा अलीका मित्र आहिल र उनका छोरा बावेरबीचको मतभिन्नता दर्साएर लेखकले प्रवासमा गएर बस्ने परिवारहरूमा अघिल्लो र पछिल्लो पुस्ताबीचको मतान्तरलाई सजीव चित्रण गरेका छन् ।

तेस्रो अध्यायमा उपन्यासको प्रमुख पात्र अली र भारतीय मूलकी रियाबीच भेट हुन्छ । र, उनीहरू प्रेममा पर्छन् । त्यसपछि सम्पूर्ण सामाजिक बन्धन तोडेर उनीहरूले एकअर्कालाई सम्पुन्छन् । यस समर्पणमा न कुनै जातपातको कुरा छ, न कुनै धर्मको, न कुनै श्लील–अश्लीलकै कुरा छ । बरु यो समर्पणमा दैहिक तृष्णा र शारीरिक आवश्यकता तथा जैविक प्रक्रियाको परिपूर्ति छ ।

रिया भारतमा आफ्ना श्रीमान् र छोरीलाई छोडेर क्यानडा आएकी हुन्छिन् । अलीसँगको सम्बन्धमा असमञ्जसमा परेकी रियाले अलीलाई सोध्छिन्, ‘दुईखाले जीवन कसरी बाँच्न सकिन्छ ?’ अली जारालाई भन्छन्, ‘यस धर्तीमा सबैले दुवैखाले जीवन बाँचेका छन् । एउटा जीवन शरीरबाट सञ्चालित छ । अर्को आत्माबाट । एउटा बुद्धिबाट सञ्चालित छ । अर्को विवेकबाट । एउटा मनबाट सञ्चालित छ । अर्को चतनाबाट ।’

चौथो अध्याय विछोडको हो । यस अध्यायमा अलीको व्यवहारमा आएको परिवर्तनलाई रियाले प्रतिलक्षित गरिसकेकी थिइन् । उसले दोस्रो भेटमा स्पष्ट भनिन्, ‘तिमी त्यो अली रहेनौ, जसलाई मैले प्रेम गरेकी थिएँ ।’ अलीलाई नरमाइलो लागेको थियो । तर, दुवैको विछोड भयो । अलीले पाकिस्तान फर्किने निधो गरिसकेको हुन्छ । अन्तिमपटक रियालाई भेट्दै ऊ भन्छ ः ‘तिमी मेरो जीवनको अत्यन्त सुन्दर पाटो रहनेछौ रिया । तिमी मात्रै हौ, जो मसँग मेरो मृत्युशय्यामा सँगै जानेछौ ।’

अली पाकिस्तान पुग्छन् । दुर्भाग्य, उनकी पत्नी जारा र छोरी उनीसँग केही समय बिताएपश्चात् अर्का पात्र सबिरसँग अमेरिका प्रस्थान गर्छन् । यही अध्यायमा अलीकी श्रीमती जाराको प्रेम पाटो उजागर हुन्छ । अन्तिम अध्यायमा छोरी आयशाको विवाह सम्पन्न गर्न जाराको निम्तोमा अली अमेरिका पुग्छ । यस अध्यायमा अलीले जारासँग क्यानाडामा रियासँगको सम्बन्ध खुलस्त पार्छन् भने जाराले अलीलाई छोडेर गम्भीर त्रुटि भएको स्विकार्छिन् ।

उपन्यासको कथावस्तु पाकिस्तानको लाहोर र क्यानाडाको टोरेन्टोमा सीमित भए पनि यसमा पाकिस्तानको राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिको स्पष्ट चित्रण गरिएको छ । त्यस्तै क्यानाडाको राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षको पनि सचित्र वर्णन छ ।

प्रकाशित : माघ ३, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?