स्मृतिपत्रमा माया–विभेद

जातकै कारण आफैंले लत्याएको कसैको प्रेमको प्रस्ताव बेलाबेला काँडा भएर उम्रन्छ मेरो मस्तिष्कमा र निर्भीक भएर भन्छ– समाज परिवर्तनका लागि तैंले मलाई स्विकार्नुपर्थ्यो । समाज परिवर्तनलाई मात्र होइन, ममा पलाएको ऊप्रतिको मायाका लागि पनि मैले त्यो प्रस्ताव स्विकार्नुपर्थ्यो ।
मनीषा गौचन

'खानानी खा, भोक लाग्यो होला !’, उनी मेरो सामुन्ने कोदोको फाँडोसँग आगोमा पोलेको सुकुटी–मासु राखिदिँदै भन्थिन् । भोको पेट भर्न मलाई उनको मायाको बानी लागिसकेको थियो । उनलाई म ‘ठूलीआमा’ भन्थें ।

स्मृतिपत्रमा माया–विभेद

जब म दङ्ग पर्दै कचौरामा ठूलीआमाले माया मिसाएर दिएको कोदोको तातो फाँडो र सुकुटी–मासु खाँदै हुन्थेँ, मोटो शरीर भएकी मेरी एक आफन्त रिसाउँदै त्यहाँ आइपुग्थिन् । नाताले उनी मेरी भाउजू पर्थिन् ।

एक मात्र छोराकी आमा थिइन्– भाउजू । उनी सायद मलाई साथै राखेर छोरीको तृष्णा मेट्न चाहन्थिन् । आमा गुमाएकी म पनि किन र कसरी उनीसँग बस्न पुगेँ, त्यसको व्याख्या यहाँ आवश्यक नपर्न सक्छ ।

कुरा यत्ति हो, केही महिनाअघि पश्चिम रुकुममा जातीय विभेदका कारण ६ जना युवाले ज्यान गुमाउनुपर्‍यो, जसको असरले मेरो मस्तिष्क अहिलेसम्म पनि खलबलिएको छ । ती ज्यान गुमाउने युवा धेरैजसो दलित समुदायका थिए । त्यसमा पनि सम्पूर्ण घटनाको मुख्य पात्र थिए, एक दलित प्रेमी जसले मलाई पुनः मेरो बाल्यकालीन स्मृतिमा डुबाइदिएको छ ।

उमेरले पाँच–छ वर्षकी हुँदी हुँ, ती ठूलीआमाको घुँडामा टाँस्सिँदै अँगेनोअघि बसेर भोको पेट भरेको म कहिल्यै बिर्सन्नँ । उसरी नै बिर्सन सक्दिनँ, ती भाउजूको रिसालु अनुहार ! खासमा उनी रिसाउनुको कारण थियो, मैले पानी नचल्ने जातको घरमा गएर खाना खानु ।

भाउजूसँग बोल्दा ठूलो आवाजमा चिच्याउनुपर्थ्यो । खासमा उनमा अलि गम्भीर खालको सुस्त श्रवणको समस्या थियो । त्यसैले पनि पेटमा मुसा कराउँदा मैले ‘भोक लाग्यो’ भनेर कहिल्यै चिच्याएर भन्न सकिनँ । न भाउजूले नै भोक मलाई लाग्यो कि भनेर बुझ्न खाजिन् । तर, ती ठूलीआमा मेरो पेटको भोकको आवाज उसै चाल पाउँथिन् । सायद उनी खप्पिस थिइन, भोको अनुहार पढ्न १ जब म भोकाउँथे ठूलीआमाको दैलोमा टुप्लुक्क पुग्थें । उनी ‘भित्र आइज नानी’, भन्दै बोलाउँथिन् । झलझली आँखामा बल्छन्, उनले फु–फु गर्दै ढुंग्रोबाट फुकेर बालेको कोइलाको रातो रङ १ त्यही रातो रङको कोइलामा सुकुटी–मासु पोल्दा आएको परर्र आवाज अझै कानमा गुन्जिएझैं लाग्छ ।

ठूलीआमाको घरअघि सरकारी धारा थियो । पानी भर्न जाँदा म प्रायःजसो सीधै उनको अगेनोमा पुग्थेँ । तर, ती ठूलीआमा भने म बस्ने घर आउँदा ढोकैमा बस्थिन् । समयको बहावसँगै सुस्त सुस्त मैले समाजका केही कुरा बुझ्न थालेँ । हामी कथित विष्ट अर्थात् पानी चल्ने जात र ठूलीआमा सार्की अर्थात् पानी नचल्ने जात भनेर समाजले मलाई पढाउन थाल्यो ।

ठ्याक्कै कति समय ती भाउजूसँग बसेँ, सम्झन सक्दिनँ । त्यो अवधिमा मैले सम्झने पक्ष यति हो– तातो कोदोको फाँडो, गोरुको सुकुटी–मासु, मेरो भोको पेट, भाउजूको रिसालु अनुहार, चिसो धारा अनि ती ठूलीआमाको असाध्यै न्यानो माया ! यो संसारमा मायाभन्दा महान चीज के हुन सक्छ र ? ठूलीआमाको माया त्यस्तै महान् लाग्छ, सम्झिँदा । जब उनको अँगेनो, मायालु आवाज सम्झन्छु र स्पर्श सम्झन्छु, आहा १ म त्यसै पुलकित हुन्छु ।

माया पाउँदा मान्छे मात्रै होइन, चराचुरुंगी, जनावर, किरा–फट्यांग्रा सबै पुलकित हुन्छन् । माया गर्दा माया गर्नेको मनमा पनि चरम सुख र शान्तिको अनुभूति हुन्छ । म बस्ने घरको बार्दलीपट्टिको आँपको रूखमा एक जोडी कागले गुँड लगायो । केही दिनपछि हल्का हरियो रङका पाँचओटा अण्डा देखेँ । बीचमा निकै हुरी चल्यो, पानी दर्क्यो तर पोथी कागले गुँड छोडिनँ । ती हरिया अण्डाबाट बचेरा निस्के । आमा बनिसकेकी कागको सन्तानप्रतिको माया देखेर म दङ्ग हुन्थेँ । त्यसैगरी विस्मित हुन्थेँ उसलाई माया गर्ने भाले काग देखेर, जो हरदम आमा–काग र बचेराका लागि पहरेदारको भूमिका निर्वाह गरिरहेको हुन्थ्यो, वरिपरि बसेर । जब उसले आफ्नो चुच्चोबाट खाना ओकल्दै आफ्नी सुत्केरी पोथीलाई खुवाएको देख्थेँ, म निकै रोमाञ्चिन हुन्थेँ । माया नै मायाले भरिएको सुन्दर संसार बाँचेझैं लाग्थ्यो यी जोडी कागले ।

सायद त्यस्तै संसारको कल्पनामा थिए, जाजरकोटका युवक नवराज विक पनि ! कल्पनाको आकाशमा उड्दै पश्चिम रुकुमकै भेरी नदीपारिकी प्रेमिकालाई लिन पुगेका उनी कथित उपल्लो जात भनिएका समुदायबाट मारिए । उनलाई साथ दिन आएकाहरूको शव पनि कोही बाँधिएको, कोही टाउको फुटाइएको अवस्थामा भेरी नदीकै किनारामा भेटियो । कथित उपल्लो जातकी किशोरीलाई माया गर्दा ज्यान गुमाउनुपरेको त्यो घटना सिंगो चेतनशील मानव समुदायका लागि भयंकर कलंक बनेको छ । त्यस घटनाले शक्ति र स्रोतमा पहुँच हुनेहरूले कोरिदिएको विभेदकारी नियमको घेराबाट बाहिर निस्किन नसकेको एक्काइसौँ शताब्दीको हाम्रो समाजलाई उदांगो पारिदिएको छ । नेपालको संविधानले छुवाछुत प्रथाको अन्त्य गरे पनि समाजमा जातीय अहंकारको जराले जात व्यवस्थाको तह छोड्न सकेको छैन बरु झन्झन् बलियो भएको हो कि झैं लाग्छ । कहिले पानी छोएको निहुँमा, कहिले प्रेम र बिहेको निहुँमा, कहिले मन्दिर पसेको निहुँमा दलितहरू कुटिएका, मारिएका छन् ! अपमानको त कुरै नगरौँ !

मान्छेले मायालाई सबैभन्दा माथि राखेर जिउन सक्थ्यो भने विभेदका कारण अपराधजन्य घटना सायदै हुने थिए । तर, माया सधैं लुकिरह्यो अहंकारको जालोमा– कतै वर्गीय अहंकार ! कतै जातीय अहंकार ! किशोरीका आफन्त, परिवारले संयमित भएर छोरीको भविष्य र खुसीबारे सोच्न सकेको भए यस्तो घटना हुने थिएन । तर, अहंकारको आँधीले मायाको बहाव छरपस्ट पारिदियो । यही आँधीले नवराजहरूको सास सधैंका लागि थुनिदियो । ती जीवित किशोरीले पनि अब कतिपटक मर्नुपर्ने हो, त्यसको अन्दाज गर्न यहाँ कसले सकोस् ! म ती किशोरीले बाँच्ने बाँकी दिनसँग त्रसित छु । कसरी सिउनेछन् ती अभिभावकले छोरीको क्षतविक्षत मन ? यहाँ क्षतविक्षत मन लिएर बाँच्न पो कठिन छ, शरीर त के हो र !

किशोरीका आफन्तले आफ्नै छोरीको आँखामा मसानघाट निर्माण गरिदिएका छन् । तर्सनका लागि भेरी नदीको किनारामा पुग्नुपर्ने छैन । गाउँलेले पनि कसरी बिर्सन सक्लान्, एउटा घृणित नियमको पालनामा पिएको एक पागल प्रेमीको रगत ? नवराज प्रेममा पागल थिए, त्यसैले बिर्सिदिए मान्छेले नै उठाएको मान्छेमान्छे बीचको जातीय पर्खाल ! थाहा छैन कहिलेसम्म ठिंग उभिने हो यो पर्खाल ? कहिलेसम्म पर्खाल नाघेकै कारण ती तमाम प्रेमीहरूले प्रेमको नाममा प्राणको आहुति दिइरहनुपर्ने हो ? र, कहिलेसम्म जन्मकर्ताहरूले आफ्नो परिवारको इज्जतका लागि सन्तानको खुसी बन्धकी राख्ने हुन् ? कहिलेसम्म ती सन्तानले आफ्नो जन्मकर्ताको इज्जत जोगाइदिन आफ्नै खुसी जातीय अहंकारको आगोमा जलाइदिने हो ?

म फेरि पुराना दिन सम्झन्छु । मैले नाघ्न नसकेको विभेदको पर्खाल सम्झेर कुनै बेला ग्लानिबोध हुन्छ । दलित समुदायकी ती ठूलीआमाको मायाले मेटिएको मेरो भोकले मलाई पर्खाल नाघ्न हिम्मत दिनुपर्ने हो, तर जातीय अहंकार कति भयानक हुँदोरहेछ भने त्यसले मलाई कमजोर साबित गरिदियो ।

जातकै कारण आफैंले लत्याएको कसैको प्रेमको प्रस्ताव बेलाबेला काँडा भएर उम्रन्छ मेरो मस्तिष्कमा र निर्भीक भएर भन्छ– समाज परिवर्तनका लागि तैंले मलाई स्विकार्नुपर्थ्यो । समाज परिवर्तनका लागि मात्र होइन, ममा पलाएको ऊप्रतिको मायाका लागि पनि मैले त्यो प्रस्ताव स्विकार्नुपर्थ्यो । तर, त्यहाँ पनि माया जातीय अहंकारको कारण छायामा परेकै हो । जब मलाई चेतनामय बतासको झोक्काले नमिठोसँग स्पर्श गर्‍यो, बल्ल महसुस गरेँ– म आफैं पनि जात व्यवस्थाको सिकार भएकी रहेछु ।

फेरि फर्कन मिल्ने भए मानिसहरू बिग्रेका ठाउँ सपार्दै हिँड्थे । ती कमजोरीकै कारण म आफ्नो हृदयमा मायाको संसार फैलाउन सकिरहेकी छु । मायाले अहंकार छायामा पर्दोरहेछ । मायाले खुसीबाहेक अरू केही नमाग्दोरैछ । यो पक्का हो, रुकुमको जघन्य हमलाले हमला गर्नेलार्ई एकै छिनका लागि मज्जा त दियो, तर मनमा खुसी र शान्ति कहिल्यै दिनेछैन । आज म ती ठूलीआमाको मायालाई शीरमा राखेर यो कामना गर्छु– यो संसारमा माया नै माया जागोस्, जसको सामुन्ने सारा विभेदहरूले हार खानुपरोस् !

प्रकाशित : माघ ३, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?