तपाईं के खरिद गर्न चाहनुहुन्छ ?



वस्तुको,
बजारको,
मानिसको
या त सिंगो भूगोलको ?

सोच्नुहोस् त
के–के कुराको मोलमोलाइ हुन सक्छ ?
के–के चीज बिक्री हुन सक्छ ?
यहाँ माया पनि मोलमोलाइमा बिक्छ
यो कुरा तपाईंलाई थाहा थियो ?
सुखको मोलमोलाइ छ यहाँ
दुःखका सहयात्री,
आँसु थापिदिने हत्केला
पीडामा मल्हम लगाइदिने सम्बन्ध
सबै–सबै मोलमोलाइमा बिक्छन्
बजारमा भागदौड हुन्छ
प्राइस ट्याग बोकेर सहरका
सडक, गल्ली, चोकहरुमा दगुरिहिँड्ने सपनाहरु
हाँस्न पनि मोल लागेको छ यहाँ
रून पनि मोल लागेको छ यहाँ
यहाँ सबै–सबै थोक नोटमा अल्झिल्छन्
नोटसँगै चोटमा बल्झिन्छन्
लाग्छ, नोटबिना पृथ्वी नै शून्य छ
यहाँ मान्छेहरु
रौं–रौंमा बिकेका छन्
पुजारीलाई देवता बेच्नु छ
मानिसलाई चेतना बेच्नु छ
मलामीलाई लास बेच्नु छ
वेश्यालाई शरीर बेच्नु छ
यो नोटको बजारमा सबथोकलाई सब बेच्नु छ
भन्नुस् महासय,
तपाईं के खरिद गर्न गर्न चाहनुहुन्छ ?
प्रकाशित : माघ ३, २०७७ १२:५६