डबल फासिस्ट- कोसेली - कान्तिपुर समाचार

डबल फासिस्ट

विमल निभा

मेरो टोलमा बस्छ
एउटा फासिस्ट

कसैसित बोल्दैन

र, बोल्नुपरेमा आफ्नो

मोबाइलमा झुण्डेर

हाँसिरहन्छ लामो समयसम्म

(ह ह ह ह ह ह...)


बेलुकीपख घुम्न निस्कन्छ

र, बुढो भइसकेकोले

एउटा ऐतिहासिक टाइपको

लठ्ठी समातेको हुन्छ

त्यसैले फासिस्टहरु

बूढो हुँदैनन् भन्ने

भ्रम समाप्त भएको छ


मुखभरि सुकुमेलजस्तो

केही चपाइरहन्छ फासिस्ट

र, यसको तीब्र सुगन्ध

उसका भयंकर पछुवाहरुका

नामसम्म पुगिरहेको हुन्छ

र, के पनि भनिन्छ भने

असलमा फासिस्टको

मुखमा केही अमृतजस्तो

कुनै अद्भुत चिज छ


यो फासिस्ट कुनै समय

ठूलै राजकीय ठाउँमा

रहेको थियो रे

र, अहिले पनि हो

भन्नेतिर उसको अधिकांश

एक्टिभिटी लक्षित रहन्छ

(केही त हो नै)

र, उसको एक्लो छोरो

अहिले सरकारको कुनै

माथिल्लो दर्जामा रहेको छ

फासिस्टको छोरो


फासिस्टको सरकारी छोरो

सरकार बनाउन र ढाल्नमा

लागेको छ भन्ने सुनिएको हो

र, यस कुरमा

फासिस्टलाई गौरब छ

भन्ने टोलको एक

उसको पछुवाबाट

टोलभरिलाई थाहा भयो

हिजोको कुरो हो

मेरो फासिस्टको छोरोसँग

कुनै बातचित् छैन

र, बाटोमा भेटेमा

मुसुक्क पनि गर्दैन

(नगरोस्)


आज बेलुकी फासिस्टसँग

उसको स्वेत कलरको

विदेशी कुकुर पनि छ

जो सडकछेउमा बसेर

तरकारी बेच्नेतिर हेरी

जोड–जोडले भुकिरहेछ

फासिस्टको कुकुर

साले डबल फासिस्ट

प्रकाशित : माघ ३, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

एकादेशमा एउटा साथी थियो

आहुति

संसारमा सबै मानिसहरू खराब छन् तर खराब मानिसहरूभित्र धेरै वा थोरै असल चीज छन् । तिनै असल चीजहरूलाई जोड्नु, अगाडि ल्याउनु र त्यसमार्फत सारा खराबीका विरुद्ध लड्नु नै क्रान्तिकारीहरूको काम हो ।–स्वनाम साथी

बितेको महिनाको एक साँझ करिब सत्तरी वर्षको उमेरमा खसेको एउटा साथीको तत्कालमा परिचयको नाम थियो– स्वनाम साथी । श्रमिक वर्ग, उत्पीडितहरू र सारा मानवताको मुक्तिका पक्षमा आफ्नो अध्ययन, भोगाइ र सिकाइबाट सँगालिएका असाधारण महत्त्वका निष्कर्षहरू लगातार साथीहरूलाई बोलीचालीमा उसले बाँडिरहन्थ्यो । विद्रोही र दार्शनिक रूपचन्द्र विष्टले आफ्नो अन्त्येष्टिमा अन्तिम आफन्त तोकेको यो साथी रूपचन्द्र जति पनि आफ्ना कुराहरू लेख्दैनथ्यो । अल्छी ठान्न नमिल्ने, बाटो छेकिएपछि भौंतारिएको कमिलाझैँ सधैँ सक्रिय । भाषा र ज्ञानको समस्या मान्न नमिल्ने, कम्तीमा आधा दर्जन भाषा बोल्ने र विज्ञानका धेरै शाखाका सूचनाहरूको भण्डारण गर्ने । तैपनि नलेख्ने प्रवृत्ति किन थियो ? साथीको यो प्रवृत्तिबारे कुनै साथीसँग सम्भवतः यसको सही जवाफ छैन । नेपालको कम्युनिस्ट तथा धेरैखाले उत्पीडितहरूका विभिन्न ससाना जमातभित्र सीमित रहन उसले चाहेकाले सायद लोकतान्त्रिक ट्रेडमार्कअन्तर्गतका व्यापक मानिसहरूबीच उसको ठोस परिचय गुमनाम थियो । तर, साथीको चिन्तन र व्यवहारको आयाम भने कुनै पनि वैचारिकीअन्तर्गतको किन नहोस्, त्यसभित्र झिंगाको पित्त बराबरको मात्र पनि सत्य र उज्यालो लुकेको छ भने, त्यसलाई आम जीवनमा जोड्न लागिपर्ने खालको थियो । रूपचन्द्र विष्टजस्तै स्वनाम साथी आज धेरै वास्ता नगरिएको नाम हो । यो बेवास्ता गलत राजनीति र रैथाने चिन्तन प्रक्रियालाई डस्ने आयातित चिन्तनका कारण होइन, बरु आयातकर्ता बन्नुमा मात्र मख्ख पर्ने प्रवृत्तिका कारण संस्थागत भइरहेको हो । रैथाने वा आयातित सही वैचारकीलाई जीवनकरण गर्ने प्रक्रिया जब तीव्र हुनेछ, तब कम्युनिस्ट वा लोकतान्त्रिक धाराको प्रत्येक सच्चा मानवताको मुक्तिको पक्षधरले रूपचन्द्र विष्ट र स्वनाम साथीलाई खोज्ने र बुझ्ने सिलसिला पनि अवश्य अगाडि आउनेछ ।

मानिसलाई थाहा छ— मृत्यु स्वाभाविक वैज्ञानिक प्रक्रिया हो तर मानिसले कहिल्यै पनि मृत्युलाई सामयिक मान्न सकेन । जीवनको आनन्द र जीवितको सत्कर्मले नै मृत्युलाई सामयिक स्वीकार गर्न समाजलाई सधैँ गाह्रो हुँदै आयो । आजसम्म मारिएकाहरू वा मरेकाहरू सबै नै कसै न कसैका साथी थिए, स्वनाम साथी भने सबैभित्रको असल चीजको साथी थियो । उसको समीपमा एकाध पल बिताएका प्रत्येक मानिसले उसका निम्ति कम्तीमा एक कुरुवा आँसु बगाइदिन सक्छ तर ऊ भावुकताको व्यापारी थिएन । उसको सम्झनामा भावनात्मक उच्छवास भरिएका सयौँ पानाहरू पनि भरिँदै छन् आजभोलि तर ऊ भावनामाथि खेलबाड गरेर विजय रोज्ने खेलाडी थिएन । उसका निम्ति ‘महानता’ ठट्टाको विषय थियो, ‘त्याग’ निजी स्वार्थकै कालभैरवको भयानक अवतार अनि ‘योगदान’ चाहिँ ब्याजखोरको लालसा । साथीका निम्ति जीवन केवल एक सच्चा सरल साथी थियो । आफ्नो भागमा परेको दायित्व सधैँ पूरा गर्न तम्सिनु र प्राप्त चीजहरू सम्पूर्ण रूपमा भोग गर्नु नै जीवनको परिभाषा थियो । के त्यस्तो मानिसको सम्झना भावनामा बगेर आँसुमय बनाउनु सही होला ? मरेका मानिसका निम्ति उसको चर्चा शतप्रतिशत व्यर्थको कुरा हो । स्वनाम साथीकै तरिकामा मलाई पनि भन्न मन लाग्छ— मरेपछि मेरो लासलाई दुनियाँभरिको मानिसले थुके पनि वा लात्तीले गुल्ट्याए पनि केही फरक पर्दैन किनकि मेरो लास त म होइन । साथीको थोरै संगतले त यसरी सोच्न सिकाएको थियो भने उसकै बारेमा केवल भावनामा बगेर मात्र किन बोल्नु हामी साथीहरूले ? चिसोका विरुद्ध ऊ सधैँ न्यानो त थियो तर आगोमय अनिष्टका विरुद्ध नाइनलझैं पग्लिने होइन, कपासजस्तै अटेरी दृढ थियो किनभने ऊ मूलतः सैद्धान्तिक मान्छे थियो । त्यसैले जरुरी छ— अपरिचित र नयाँ पुस्ताका निम्ति उसको सम्झना उसैले नै अँगालेको सिद्धन्तकै कसीमा घोटेर उसलाई बुझ्ने र बुझाउने कोसिस गर्नु । हो, उसको बारेमा यही सिलसिलाको सुरुआत नै सही हुनेछ । श्रमजीवी र मानवताको सच्चा साथी बन्न असाधारण रूपमा कठोर थियो स्वनाम साथी, तब त्यही उद्देश्यका निम्ति उसमाथि पनि कठोर हुनु नै साथी बन्ने सच्चा प्रयत्न ठहरिनेछ ।

विसं २०४६ को परिवर्तनपछि, पाटनढोकाको गोप्य कोठामा पहिलोपटक भेट हुँदा पञ्चायतकालमा पार्टीमा सुमन नामले चर्चित व्यक्ति त्यही मानिस थियो जसले, नागरिकता मैत्रेयी बुद्ध लामाको नाममा बनाएको थियो । इन्जिनियरिङको पढाइ छाडेर पूर्णकालीन राजनीतिक जीवनमा छिटो हाम्फाल्नु नै शंकाको विषय बनाएर अनावश्यक पार्टीबाट सताइएको मसँग हात मिलाउँदै उसले भनेको थियो, ‘तपाईंमाथि हामीले अन्याय गरेका छौं साथी, गल्ती भाछ ।’ जिल्लास्तरीय साधारण कार्यकर्ता म तर ऊ त्यति बेलाको तिलस्मी केन्द्रीय नेता तर उसलाई विनम्रतापूर्वक गल्तीमा माफी माग्न आउँथ्यो । जब हामीसँगै सुतेथ्यौँ, म रातभरि सुत्न सकिनँ किनभने ऊ निदाउँदा यसरी घुर्ने र श्वास फेर्ने गर्थ्यो कि डर लाग्थ्यो । अरू साथीबाट थाहा भयो कि साथी त मेरुदण्ड सुक्दै जाने अनि दमको रोगबाट ग्रस्त हो, डाक्टरहरूले अब बढीमा दस वर्षको आयु बाँकी छ भनेको पनि सात वर्ष भयो । त्यो बेला पाँच कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा (एकता केन्द्र) बनाउने माहोलमा ऊ गज्जबले प्रफुल्ल भएर सक्रिय थियो । उसबारेको उत्सुकतासँगै थाहा भयो— त्यो मान्छेको वास्तविक नागरिकताको नाम शशी शेरचन हो । उसको प्रेमिकासँग विछोड हुँदा कलंकीका राजथला साथीको घरमा रगतको टीका लगाइदिएर प्रेमिकालाई उसले बिदा गरेको थियो । धेरैलाई आज पनि राजनीतिक वृत्तमा मतलब छैन कि उसले पहिलोपटक इतिहासमा आफूभन्दा जात र औपचारिक डिग्रीमा धेरै पछि रहेका रूपलाल विश्वकर्मालाई कामको आधारमा २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन, नेपाल बनाउँदा नेता स्वीकार गरेको थियो । आज पनि पार्टीमा दलित कार्यकर्ताको नेतृत्व असम्भव लाग्ने अवस्था छ भने, चालीस वर्षअघि दलित नेतृत्वलाई स्वीकार गर्नु साथी सुमनको अकल्पनीय सामाजिक दिशाबोध थियो । आफ्नो ठोस सोचसहितको दिशाबोधबारे आफैँले कहिले जिकिर नगर्ने साथीको स्वभाव बुझ्न अझै कति समय लाग्ने हो भन्न गाह्रो छ ।

जब कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन्थे, उसको संगठित सक्रियता प्रफुल्ल देखिन्थ्यो । विसं २०४७ मा नेकपा (एकता केन्द्र) बन्दा या पछि नेकपा (एकता केन्द्र –मसाल) बन्दा होस् । तर, पार्टीहरूबीच फुट हुँदा उसको सक्रियता जरा उखेलेको फर्सीको लहराजस्तै बन्थ्यो । विचार र कार्यदिशामा क्रान्तिकारी कित्तामा समर्थन गरे पनि ऊ नियमित पार्टीको कार्ययोजनामा होइन, बरु आफ्नै सक्रियताको मनलाग्दी कार्यमा सक्रिय बन्न पुग्थ्यो । ऊ कहिले समलिंगी अधिकारको वकालतमा व्यस्त हुन्थ्यो, कहिले यौन व्यवसायी महिलाहरूको घाउमा मल्हम लगाइरहेको हुन्थ्यो । कम्युनिस्ट पार्टीका निम्ति कुनै सूचीमा नपरेका ती विषयमा काम गर्दै पार्टीको नियमित कार्ययोजनाबाट अलग भइरहँदा पनि पार्टीले उसको अलग कर्ममाथि कहिल्यै एउटा प्रश्नसम्म उठाउँन सक्तैनथ्यो । नेपाली समाजको सबैभन्दा पिँधको दलित र वनमान्छे ठानिने चेपाङका बीच कम्युनिस्ट कर्म एकाकार गराउने क्रममा कमरेड शब्दलाई ‘साथी’ मा ऊ हितका साथीहरूले रूपान्तरण गरेका थिए । पञ्चायतकालमा कमरेडको सट्टा पार्टीमा उनीहरूले सहयोद्धालाई साथी सम्बोधन गरेका थिए । कमरेडको सट्टा साथी शब्द गज्जब सुहाउँदो थियो नेपालीपनका लागि तर कसैले ध्यान दिएनन्, त्यसैले सायद आफ्नो नाम नै उसले स्वनाम साथी बनायो । उसका प्रयत्नहरू रैथाने जीवन व्यवहार र क्रान्तिका निम्ति थिए तर उसले बुझाउन सकेन, साथीहरूले बुझ्न पनि सकेनन् । यस क्रममा क्रमशः पार्टीको कार्ययोजना लागू नगर्ने नेता बन्दै गयो । अचम्मको कुरा त पार्टीको कार्ययोजना लागू नगरे पनि, पार्टीभित्र कुनै ठोस जिम्मेवारी नलिए पनि पार्टीमा सम्मानित नेता वा कमिटीमा समेत रहिरहने व्यक्तित्व बनिरह्यो । पार्टी योजनामा जिम्मेवारी वहन नगरे पनि बिनाप्रश्न सम्मानित नेता बनिरहने स्थिति यसकारण बनिरह्यो कि उसले उठाउने जायज प्रश्नहरूको उत्तर दिने ल्याकत पार्टीको कुनै नेतासँग थिएन । आन्दोलनको यसप्रकारको हविगतले गर्दा शशी शेरचन उर्फ सुमन उर्फ स्वनाम साथी तत्कालीन कार्यनीति र कार्यदिशाको नेता कम बरु सिद्धान्त एवं आदर्शको नेता मात्र साबित हुने वातावरण बन्दै गयो ।

भारतमा बसेर नेपालमा राजनीति गर्ने विसं २०४० वरपरको समयमा क्रान्तिका निम्ति रूपलाल विश्वकर्मा र स्वनाम साथीहरूले गुल्मीको पुर्तीघाटको बैंक कब्जा गरेका थिए तर पूर्ण रूपमा सफल हुन सकेन । त्यसपछिको पञ्चायतको दमन अनि रोगी शरीर स्वनाम साथीका निम्ति डरलाग्दो समय साबित भयो । उसको नेता रूपलाल विश्वकर्मा त पिँधमै खेलेर हुर्केकाले पिँधमै घुलमिल भएर टिक्यो । स्वनाम साथी त माओले चीनबाट गरेको सर्वहारा सांस्कृतिक क्रान्तिको आह्वानबाट विश्वविद्यालय च्यातेर निस्केको थियो । ऊसँगै विश्वविद्यालय छाड्नेहरू कोही लेख्ने बहानामा काठमाडौंमा घडेरी खोज्न त कोही अन्य बहानामा क्रान्तिको कष्टकर मोर्चाबाट भागिसकेका थिए । जो बाँकी थिए, उनीहरू पनि पैतृक सम्पत्तिसहित थिए । एक्लो त केवल स्वनाम साथी थियो, जोसँग न निजी सम्पत्ति थियो, न स्वस्थ शरीर, न नै हार मान्न तयार क्रान्तिकारी जिन्दगी । भन्ने गरिन्छ— शरीर खास केही होइन, तर भौतिकवादी भएर भोग्दा शरीर छैन भने अरू केही पनि होइन । भौतिक शरीर जर्जर, परिवारसँग सम्बन्धविच्छेद, प्रिय साथीहरूको क्रान्तिकारी जीवनबाट पलायन, पार्टी संकटग्रस्त तर श्रमजीवी वर्ग र मानवताका निम्ति निरन्तर लड्ने चाहना । यही भयानक यथार्थका बीचबाट नै जन्मिन पुग्यो— असाधारण विनम्र स्वनाम साथी । उसको विनम्रता बाँचेर अगाडि बढ्न बेइमानी दुनियाँका अगाडि रचिएको विवश एक कलाबाट उत्पन्न थियो वा अरू नै केही थियो ? किटेर भन्न निकै गाह्रो छ ।

चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्शलाई पछ्याएर स्वनाम साथीहरूले निजी सम्पत्ति क्रान्तिका निम्ति अर्पेर सम्पूर्ण रूपमा सर्वहाराकरण हुने निर्णयलाई लागू गरेका थिए । तर, निर्णयमा सहीछाप गर्ने अरू सबैजसो निजी जोगाडतिरै अन्ततः फर्किए तर ऊ फर्केन । निजी जीवनलाई भत्काएपछि सामाजिक जीवनको ठोस ढाँचा के हुने भन्ने प्रश्नको उत्तरबिना नै गरिएको सर्वहाराकरण यो साथीका निम्ति सबैभन्दा महँगो साबित भएको थियो । निर्णय र निष्ठामा अडिक रहेको उसको व्यक्तित्वले सम्मान त आर्जन गरिरहेको हुन्थ्यो तर द्वैनन्दिनको भौतिक अभावको जाँतोले उसलाई हरेक पल रेटिरहन्थ्यो । बडा बडा नेता विद्वान्हरू दिनभरि ऊसँग गफिन्थे तर साँझ परेसँगै ऊ कहिले पार्टी अफिसकै एउटा कुनामा या कुनै व्यापारी साथीको कम्प्युटर कोठामा लम्पसार पर्न बाध्य हुन्थ्यो । यो एक महिना, एक वर्षको कुरा थिएन बरु लगातार दर्जनौं वर्षको कहर थियो । निजी सम्पत्ति र निजी पद प्राप्तिको घीनलाग्दो रछ्यानजस्तो बन्न पुगेको कम्युनिस्ट आन्दोलनमा सोनाम साथी भीषण अभावका बीचमा पनि एउटा निरीह पात्र बन्न पुगेन बरु सधैं अरूलाई केही न केही दिइरहन सक्ने अनौठो दृष्टान्त बन्न सफल भयो । यस अर्थमा स्वनाम एउटा साथी मात्र होइन सन्त थियो ।

माओवादी पार्टीको नेतृत्वमण्डलीमा सैद्धान्तिक र सांस्कृतिक रूपमा आएको तीव्र स्खलनको रापले त्यो सन्त साथीलाई पनि लपेट्न खोज्यो । कहिले कतैबाट आएको ठूलो धनराशिको सेयर उसको नाममा जम्मा गरिन्थ्यो । यस्तो समयमा धेरैजसो बैठकमा पछाडि बस्न रुचाउने उसलाई नेताहरू ‘अगाडि आउनुस्, अगाडि...’ भनेर बोलाइरहन्थे । साथीका निम्ति जति पैसाको मामला भए पनि कुनै वास्ताको विषय थिएन तर कतै हडप्ने पो हो कि ठानेर उसलाई अरू नै बहानामा देशबाहिर लगेर जबरजस्ती धम्क्याएर ऊबाट सेयर अर्को व्यक्तिको नाममा नामसारी गर्नेसम्मका काम भए । आन्दोलनमा आएको भयानक विसंगतिबाट के एउटा व्यक्ति सम्पूर्ण रूपमा बच्न सम्भव थियो ? कदापि थिएन । भन्न त ठट्टाकै भाषामा उसले भनेको थियो— विवाहको नाटक गरियो । तर, विवाह संस्थाकै विरोधमा रहेको सन्तको जीवनमा विवाह एउटा तिखो विसंगतिको प्रवेशबाहेक अरू केही थिएन । पुँजीवादमा लिप्त आफ्नो पार्टीका नेताहरूलाई उसले ‘साहु कम्युनिस्ट’ नामकरण गरी कित्ता प्रस्ट त पार्‍यो तर साहु कम्युनिस्टहरूसँग सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गर्न सकेन । सन्त जीवनको यो अर्को टिठलाग्दो विसंगति थियो । इन्जिनियर प्रेमिका किरण गौतमसँग सँगै बस्न थालेपछि र पुरानो परिवारको पनि आर्थिक हालत हल्का सुध्रिएपछि धेरैले आशा गरेका थिए— सन्त फेरि नयाँ युगको क्रान्तिको रणनीतिमा संगठित हुन सबैलाई आह्वान गर्दै अगाडि आउनेछ तर त्यसो हुन सकेन । उसलाई त्यसो गर्न केले अल्झायो, पत्तै भएन । माओवादी पार्टीको बैठक सकिएपछि सबै नेताहरू आ–आफ्ना गाडीहरू स्टार्ट गर्न थाल्थे तर सर्वहाराकृत स्वनाम साथी भने एउटा सानो झोला हातमा झुन्ड्याएर तर्सिएको साङ्लोजस्तै आज कता जाने भन्ने ध्याउन्नामा पार्टीको आँगनमा पैदल सल्बलाइरहेको हुन्थ्यो । स्वनाम साथी व्यक्तिको त मृत्यु भयो तर उसले भीषण आँधीको बीचमा पनि आफ्नो प्रवृत्ति जोगाएर क्रान्तिकारीहरूका हातमा थमाइदिन सफल भयो । निश्चय पनि व्यापक श्रमजीवी र मानवताको मुक्तिका निम्ति सम्पूर्ण रूपमा समर्पित रहने त्यो प्रवृत्ति व्यक्ति स्वनामजस्तै आज मधुरो साँझमा कम्युनिस्ट गन्तव्य खोजेर सल्बलाइरहेको छ ।

प्रकाशित : माघ ३, २०७७ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×