‘धोतिनी’ को पकौडा

‘५० रूपैयाँको पकौडा देऊ न,’ होची केटीले जमुना भाउजूलाई ‘तिमी’ सम्बोधन गर्दै भनिन् । ‘तिमी’ सम्बोधनमाथि भाउजू न केही बोलिन्,न त उनको आपत्ति नै थियो । तर, अनुहार भने उदास–उदास थियो ।
मुना चौधरी

२०७६ वैशाख १ । घाम चर्को थियो । सुक्खा खडेरीले खेतका मसिना दरार फाटेका थिए । लहानभन्दा तीन किलोमिटर पश्चिम भोटियाटोल चोकछेउ सलहेश फूलबारी छ, जहाँ प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने गर्छ । फूलबारीमा हारम फूलका बोट छन् । हारममा चैतको अन्तिम दिन कोपिला टुँसाउँछ, वैशाख १ गते फुल्छ । त्यही एकै रातमा ढकमक्क हारम हेर्न नेपाल र भारतका हजारौँ मानिस आइपुग्छन् ।

‘धोतिनी’ को पकौडा

त्यस दिन मेलामा घुइँचो थियो । सुक्खा खेतहरूबाट धूलो उडिरहेको थियो ।

खाली खेतमा व्यापारीहरूले टेन्ट टाँगेर मिठाई, लुगा, खेलौनाहरूको दोकान थापेका थिए । गाउँकी अधबैँसे जमुना भाउजूको पनि टेन्ट टाँगिएको दोकान थियो । पकौडा, आलुचप र चिया थिए । हातभरि चुरा, सिउँदोभरि सिन्दूर, निधारमा गोलो रातो बिन्दिया, घाँटीमा पहेँलो पोते– यी सबै सबैले श्याम वर्णकी उनी ढकमक्क फुलेको हारमजस्ती देखिएकी थिइन् । मसिना पहेँला बुट्टावाला हरियो सीधा (आँचलअगाडि राख्ने गरी) सारी लगाएकी थिइन् ।

म दिदीहरूसँग मेला हेर्न गएकी थिएँ । टेन्टअगाडि लहरै बेन्चहरू थिए । ग्राहक बसून् भनेर राखिएका थिए । हामी थियौँ जमुना भाउजूको दोकानअगाडि । भाउजूले हामीलाई बेन्चमा बस्न इसारा गरिन् । उनी हपहपी गर्मीमा पनि निधार छोपिने गरी घुम्टोमा थिइन् । पकौडा तार्न व्यस्त थिइन् । टेन्ट छेडेर भित्र पसेको सूर्यको ताप र चुलोबाट निस्केको रापले उनको अनुहार पसिनाले चिपचिप भिजेको थियो । बायाँ हत्केला र सारीको आँचलले निधारको पसिना पुछिरहेकी थिइन् । सिउँदोको सिन्दूर पग्लेर निधार ओरालै ओरालो झरिरहेको थियो । तैपनि उनले घुम्टो हटाउने चेष्टा गरेकी थिइनन् ।

खासमा ससुरा, जेठाजूजस्ता आफूभन्दा ठूलाअघि सम्मान दर्साउन घुम्टो ओढिन्छ । मेला हो, मेलामा गाउँका मान्छे पनि आउँछन् । ती मान्छेको हूलमा आफूभन्दा ठूला मान्छे पनि हुन्छन् । त्यही ठूला मान्छेको सम्मान खातिर उनको टाउकोबाट घुम्टो हटेको थिएन ।

हामी बेन्चमा बसिरहेकै थियौँ । एउटी अग्ली र एउटी होची गहुँगोरो वर्णका पहाडे केटीहरू आए । पकौडा किन्न आएका रहेछन् । उनीहरूले जिन्स, भेस्ट र कालो चस्मा लगाएका थिए ।

‘५० रुपैयाँको पकौडा देऊ न,’ होची केटीले जमुना भाउजूलाई ‘तिमी’ सम्बोधन गर्दै भनिन् ।

हाइट मात्र होचो होइन, उमेर पनि सानै थियो उनको । तर, जमुना भाउजूमाथिको सम्बोधन भने ‘तिमी’ थियो । ‘तिमी’ सम्बोधनमाथि भाउजू न केही बोलिन्, न त उनको आपत्ति नै थियो । तर, अनुहार भने उदास–उदास थियो । बरु उनले नम्रता पस्किइन् । ‘हस्’ को इसारा गरिन् । चुलोबाट उठिन्, आरीको पकौडा प्याक गरिन् । ती केटीलाई दिइन् ।

केटीहरू बेन्चमा बसे । कपाकप पकौडा खान थाले । खुसी हुँदै होचीले अग्लीलाई खुसुक्क भनिन्, ‘धोतिनीले पकौडा साह्रै मिठो पकाउने रहिछे !’

केटीहरूको खुसखुस कुराकानी भाउजूको कानमा पनि पर्‍यो । भाउजूले त्यो केटीको अनुहारमा पुलुक्क हेरिन् । तर, केही बोलिनन् । उनको अनुहार शान्त थियो । दुईवटा गिलासमा पानी ल्याइन् र केटीहरूलाई दिइन् ।

जमुना भाउजू नेपाली भाषा बुझ्थिन्, तर बोल्न जान्दिन थिइन् । तर, केटीहरूलाई लाग्यो– उनी नेपाली बुझ्दिनन्, जे बोले पनि भयो ! भाउजू उमेरले साना ती केटीहरूलाई सम्मान गरेरै बोलिरहेकी थिइन् । केटीहरूले नेपालीमा बोले पनि उनी आफ्नै भाषामा जवाफ फर्काइरहेकी थिइन् । साथमा उनको अनुहारमा मुस्कान पनि थियो ।

जमुना भाउजूको पहिरन (खासमा घुम्टो) देखेर केटीहरूले ‘तिमी’ सम्बोधन गरे, ‘धोतिनी’ भने । भाउजूको अनुहारमा एक प्रकारको सङ्कोच, असजिलोपना जरुर देखिन्थ्यो । सायद उनलाई नरमाइलो लागिरहेको हुनुपर्छ । सामान्य काम गरी गुजारा चलाउने मान्छेलाई पढे–लेखेका केटीहरूले किन होच्याएर बोलिरहेका थिए ? स्कुल नपढेकी भाउजू बेलाबेला केटीहरूतिर हेर्थिन् । बेलाबेला मेरो अनुहारतिर । सायद उनको अनुहारले प्रश्न गरिरहेथ्यो, संस्कार भनेको यस्तै हुन्छ ?

घुम्टो ओढ्दैमा, सिन्दूर हाल्दैमा कोही ‘धोतिनी’ र ‘गँवार’ कसरी हुन्छ ? मनमा प्रश्न उठिरह्यो । चर्को घाममा घुम्टोले घाम छेक्छ । तरतरी पसिना घुम्टोले पुच्छ । झरी परेको बेला घुम्टो छाता बन्छ ।

मानिस टिप्पणी गर्छन्, ‘अहिलेको समयमा पनि घुम्टो ओढेर बस्ने ? कति पिछडिएको मान्छे !’ खासमा पिछडिएको घुम्टो ओढ्ने मान्छे हो वा सोचाइ हो ? घुम्टो एक संस्कृति हो । तर, घुम्टो ओढ्नैपर्ने बाध्यता पनि छैन । घुम्टोसँग अरूलाई चाहिँ किन समस्या ?

केटीहरू त्यहाँबाट निस्के । तर, केटीको मुखबाट निस्किएको ‘धोतिनी’ शब्दले उनको छाती चहर्‍याएकाले होला, भाउजूका आँखा उनीहरूतिर तेर्सिरहेका थिए । उदास ती आँखा उनीहरू ओझेल परेपछि मात्र दोकानभित्र छिर्‍यो ।

प्रकाशित : पुस २५, २०७७ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?