कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमूर्त सहर : एक वृत्तान्त

नारायण ढकाल

धेरै रहस्यमय र कठिन रहेछ
शब्दार्थ पहिल्याउन

अमूर्त सहर : एक वृत्तान्त

जब म सहरको मध्यभागबाट गुज्रन्छु

तब उसको अनुहार देखेर

आँखा पोल्छन्

हृदय काम्छ

र, मस्तिष्कले काम गर्दैन

जब म देख्छु– शाही उद्यानको अगाडि

शरीर बेच्न ग्राहक पर्खिरहेका

रोगी नगरवधू

आत्मा बेच्न हात पसारिरहेका

दीन—हीन भिखारी

ज्यालामा ठगिएर टोलाइरहेका

थकित श्रमिक

काम नपाएका

क्षुब्ध युवायुवती

त्यसपछि झन् कठिन बन्छ सहरको अर्थ

त्यसपछि झन् गोलमाल हुन्छ उसको परिभाषा

फुटपाथमा उत्तानो बसेका

धुलाम्य किताब

खासा बजारको बाटो भएर आएका

खजमजिएका लुगाफाटा

आफ्नै भाग्य नबुझी

अरुको भाग्य बताउन पल्टिएको

हस्तरेखाको थोत्रो पुस्तक

जीवनको बाटो देखाउन असमर्थ

खाल्टाखुल्टी सडक

घर फर्किने यात्रु कुरिरहेका

थोत्रा बस र टेम्पो

कसैले पनि ठीकसँग बताउन सक्दैन

सहर हुनुको अर्थ र हिसाबकिताब

खर्पनमा साग बेच्न आउने किसान

गाग्री बोकेर दूध बेच्न आउने युवती

सपना खोज्न आएको दुब्लो कवि

सबै–सबै रनभुल्ल छन्

मेसो नबुझेर

धौबजी, चतामरी, काल्चाको पिरो आलु

वास, ग्वारमरी, हाकु छोय्ला, हाकु पटासी

कसैले पनि ठीकसँग बताउन सक्दैन

सहर हुनुको अर्थ र उसको जन्मपत्रिका

कहिलेकाहीँ

मूलसडकको छेउबाट हिँड्दा

देख्छु—नयाँ सम्राट्को सवारी

कालो ऐनाजडित भव्य गाडीभित्र

च्यातिएको कुरुप संविधानजस्तै

अनुहार फेरिएको छ उसको

ऊ कुनै समय थियो मेरो लंगौटिया यार

सायद उसलाई थाहा थियो हरितन्नम मान्छेको भोक

सायद उसलाई ज्ञान थियो

फुटपाथमा बसेको जुत्ता मर्मत गर्ने सृजनशील सार्कीको कथा

सायद उसले बुझेको थियो

सस्तो संस्करणको किताब खोजिरहेको

गरिब विद्यार्थीको तनाव

सायद उसले बुझेको थियो

सुकेनासग्रस्त बालकलाई पिठ्युँमा बोकेर

अस्पताल होइन झाँक्रीकोमा गइरहेकी जवान आमाको सकस

सायद उसले बुझेको थियो

गोनोरियाग्रस्त नगरवधूहरुको दुःख

सायद उसले बुझेको थियो

सायद उसले बुझेको थियो ।

पहिले ऊ मेरो स्वप्निल आदर्श थियो

पहिले ऊ मेरो झरझराउँदो आशा थियो

तर, यो उसको नाटक मात्र रहेछ

तर, उसको अन्तस्करण अर्कै रहेछ

एउटा विप्लवपछि

ऊ सम्राट्को सिंहासनमा पुग्यो

जब ऊ सिंहासनमा चढ्यो

त्यसपछि यता ऊ आफ्ना पुराना यारहरु कसैलाई चिन्दैन

उसले आफ्नो जीवनी बिर्सेको छ

उसले स्वतन्त्रता र प्रेमको गीत बिर्सेको छ

उसले हिरासत र गोलघरको यातना बिर्सेको छ

उसले भोकको कहालीलाग्दो आफ्नै कथा बिर्सेको छ ।

नयाँ सम्राट् अहिले आफ्ना आफन्त कसैलाई चिन्दैन

एक समय साहूको घरमा भााडा माझेर गुजारा गर्थी उसकी आमा

बाबु जमिनदारको घरमा हली बसेको थियो

अब ऊ आफ्नी आमालाई चिन्दैन

अब ऊ आफ्नै बाबुलाई पनि चिन्दैन

अब ऊ आफैं नबुझिने सहर भएको छ ।

ओ शब्दकोशका सर्जक !

धेरै रहस्यमय र कठिन पो रहेछ

सहरको शब्दार्थ पहिल्याउन ।

प्रकाशित : पुस २५, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?