गाउँको युगान्त-युगारम्भ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँको युगान्त-युगारम्भ

विदेश प्रवासपछि गाउँ र मबीच सात समुद्रसँगै समयको खाडल पनि बढ्यो । र, त्यहाँ भएका घटनाहरूबाट पनि म टाढिएँ ।
प्रमोद मिश्र

केहीअघि एउटा पार्थिव शरीरको फोटो मेरो फेसबुक वालमा देखा पर्‍यो । ‘फलानोको बुबाको स्वर्गे भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दछु’ भनेर पोस्टमा लेखिएको थियो । पोस्टिङ तल देशविदेशमा छरिएर बसेका मेरो मोरङस्थित गाउँका मानिसको अंग्रेजीमा ‘आरआईपी,’ नेपालीमा ‘वैकुण्ठ बास होस्’ आदि शोक व्यक्त भएको थियो । यो कोभिड महामारीमा त श्रद्धाञ्जली र ‘आरआईपी’ को दैनिकी नै हुन थालेको छ फेसबुकमा ।

सामाजिक सञ्जाल, भिडियोकल वा भनूँ इन्टरनेटको आगमनअघि मोरङको मेरो र वरपरका गाउँहरूमा कोही मर्दापर्दा प्रवासमा वर्षौं थाहा हुँदैनथ्यो । एक–दुई वर्षपछि गाउँ जाँदा वा कसैसँग भेट हुँदा प्रशंगवश ‘ए, फलानो त बित्यो, थाहा भएन ?’ भनेर प्रश्न तेर्सिएपछि मात्र दिमागमा झड्का लाग्थ्यो र गाउँमा बिताएका वर्षहरूको स्मृतिपथमा मन दौडिन्थ्यो र मृतकको पात्रता, आफूले देखे–भोगेको ग्रामीण कथानकमा मृतकको भूमिका मनका आँखाअगाडि झलझली सिनेपटको दृश्यसरी दगुर्थ्यो । मरणको समय र आफूले थाहा पाउँदाको समयमा अन्तरालले शोक मनाउँदा वा ‘ओहो, यस्तो भएछ हगि !’ भनेर विस्मित र दुःखित पनि एक्लै भइन्थ्यो ।

बाह्र वर्षको उमेरसम्म म गाउँमै थिएँ— हिउँद, बर्खा, गर्मी, बाह्रै मास, सातै दिन । जन्म, विवाह, मरनहरूमा नछुटाईकन बालकै भए पनि साक्षी र सहभागी भएको थिएँ । बालसखाकी आमाले प्रसवपीडामा देहत्याग गर्दा हतप्रभ हुने, सदोसरी नानी (हजुरआमा) को मृत्यु संस्कारमा धेमाली गर्ने (दही र बेसारको झोलले हिलो पारेको आँगनमा सेतो कपडा कम्मरमा बेरेर आफन्तद्वारा लडीबडी गर्दै शोक मनाउने राजवंशी अनुष्ठान), एउटै आँगनमा बस्ने राजवंशीहरूमै नामी गामी ओझा पिसाब अड्केर बित्दा अचम्मित हुने, आफ्ना राजवंशी (धर्म) मावलीका मामा, दाजु, दिदी आदिको विवाहमा पूर्व, पश्चिम र दक्षिणतर्फ कोसौं परका गाउँमा जन्ती जाँदा वा ‘कइना’ (बेहुली) फर्काउन जाँदा हर्षित र पुलकित हुने गरेको थिएँ । पछि अध्ययनको सिलसिलामा भारत प्रवासका दौरान जाडो, गर्मी, दसैँ–तिहार र फागूमा मात्र गाउँ फर्कंदा आफू नभएका बेलाका गाउँका घटनाहरू थाहा हुन्थे र केही महिनाको अन्तराल भए पनि हर्ष र विस्मात्का अनुभूतिहरू–घटनाहरू सँगसँगैजस्तो हुन्थे ।

तर, विदेश प्रवासपछि गाउँ र मबीच सात समुद्रसँगै समयको खाडल पनि बढ्यो । र, त्यहाँ भएका घटनाहरूबाट पनि म टाढिएँ । घटना भएको वर्षौंपछि थाहा हुने भएपछि हर्ष हुने कुरा पनि त्यति नहुने र शोक पनि बासीजस्तो लाग्ने । तर, सामाजिक सञ्जालको आगमनले विगत दस वर्षमा यो सब फेरियो । फेसबुक म्यासेन्जरले प्रत्यक्ष प्रसारण पनि सम्भव बनायो गाउँगाउँबाट । त्यसैले फेसबुकमा मृतकको पहिचान हुन बेर लाग्दैन । मृतकले जीवनमा राम्रो काम गरेको छ भने अपूरणीय क्षति भएछ भनेर मनमनै दुःखित भइन्थ्यो । कुकृत्य गरेको छ भने ‘ओहो, यस्तो भएछ हगि । मानिसचाहिँ हरिप रहेछन्’ भनिन्थ्यो र चित्त बुझाइन्थ्यो । तर, यस पार्थिव शरीरको पहिचानसँगै स्मृतिमा मेरो बाल्यकाल बिउँझेर आयो र मनको बौद्धिक तराजुमा एउटा युगको अवसान भएको आभास गरायो ।

सुँघाका सूर्यनारायण राजवंशी मरेका रहेछन् । राजवंशी समुदायमा हामी तिनलाई ‘सुँघार जिम्दार’ भन्थ्यौं । उनको मृत्युको खबरले सर्वप्रथम उनको पोखरी सम्झेँ । नौ–दस वर्षको उमेरमा गाईभैंसी चराउँदा त्यो पोखरीमा डुबेर झन्डै मेरो ज्यान गएन । भयो के भने बिदाबिदामा मेरो काम वस्तुभाउ चराउने हुन्थ्यो । त्यो शनिबार गाउँका किशोर गोठालाहरू तुलसी साइँला, वाग्ले भाञ्जा, हेदुवा आदिले गाईवस्तु उत्तरतिर जंगलमा नलगी बजार पूर्वको ठूलो बाध (फाँट) मा लगेका थिए । त्यहाँका कृषकले काटेको धानका ठुटामाझ उम्रेको कलकलाउँदो खेसरीमा गाईभैंसी चराउन दिन्थे कृषकहरूले । बुबालाई कुनै कन्जुस जजमानले बाँझो भैँसी जिम्मा लगाएको थियो । अरू बेला गाई चराए पनि त्यस दिन मेरो पालो तरबारजस्तै सिङ भएको त्यो भैँसी हेर्ने काम थियो । दिउँसो घाम चर्केपछि गोठालाहरूले आफ्ना भैँसी सूर्यनारायण जिम्दारको पोखरीमा लगेर छाडे र ‘ढेऊ ढेऊ’ भन्ने डुबाउने पानीमा एक अर्कालाई लखेट्दै छुने खेल्ने खेल खेल्न थाले ।

म सानै भएकाले र भर्खर भर्खर छेउको बक्राहा खोलामा पौडीमा बामे सर्दै गरेकाले पौडीमा सिपालु पाका केटाहरूसँग मैले ढेऊ खेल्ने कुरै भएन । न मेरो आँट आउँथ्यो न उनीहरूले मलाई खेलमा सामेल गर्थे । छ्यापाछ्याप गर्दै, ‘ढेऊ ढेऊ’ भन्दै सबैले पानी खेलमा होहल्ला गर्दै थिए । एक छिनको मन कुत्कुत्याउने दृश्यावलोकनपछि मलाई पनि पानीमा पसौं पसौं लाग्यो । पानी छेउछाउमा त पौडी खेलेको थिए, त्यसैले जानेकै थिएँ । पानीमा पसेँ र हात चलाउन थालेँ । कम गहिरो भनेर खुट्टा के रोपेको थिएँ चुर्लॅम्म डुबी त गएँ । पानीमाथि उक्लिन हातखुट्टा चलाउन थालेँ । तलमाथि गर्दै पानी खान थालेँ र छिनमै होस गुमाएँ । त्यत्तिकैमा तुलसी साइँलाले देखिहालेछन् म पानीमा डुब्दै उक्लिँदै गरेको र हल्ला गरेछन् । वाग्ले भाञ्जा फुत्त पानीमा पसे र गोठाला गोठाला हाते साङ्लो बनाए र निर्जीव हुनै लागेको मलाई तानेर डिलमा पुर्‍याए र थिचीथिची मुखबाट पानी ह्वालह्वाली निकाले । साँझ आमाले मलाई बेस्मारी कराउनुभयो ।

तर ,यो सम्झनासँगै मलाई यो पनि मनमा आयो कि आखिरी सूर्यनारायण जिम्दारले ठुल्ठूला डिल र बीचमा सखुवाको किल्ला भएको त्यत्रो पोखरी खनाए किन ? उनी त वैष्णव थिए । पोखरीमा माछा पालेर बेच्ने कुरा पनि भएन । मानिस नुहाउने, लत्ताकपडा धुने र वस्तुभाउले टन्टलापुर घाममा पानी खाने र भैँसी नुहाउनेबाहेक अरू के नै पोखरीको उपयोग हुन सक्थ्यो र ? मधेसका जिम्दारहरूको पोखरी खनाउने सोख पनि हुन सक्थ्यो । हात्ती पनि पालेका हुन सक्छन् पहिले तर पछि थिएन । यिनको पोखरी खनाउने उद्देश्य सार्वजनिक हित नै भएको हुनुपर्छ ।

पोखरीसँगै यी जिम्दार समुदायका वैष्णव अगुवा पनि थिए । गाउँ समाजका अरूहरूलाई पनि ‘दास’ बनाउन सफल भएका थिए । गाउँमै सत्संग कुटी बनाउन लगाएका थिए । कुटी त के भन्नु हाम्रो क्षेत्रमै पहिलो ढलान गरेको पक्की भवन त्यही नै थियो । नत्र त्यस्तो घर तीन घण्टा परको रंगेली बजारमा पनि मन्दिर र स्कुलको मात्र थियो, अरू प्रायः घर चदराका छाना भएका, पर्खाल इँट वा काठका भए पनि । मेरी ‘भाया आई’ (आमाको ‘भाया’ याने मितिनी) को माइत पनि सुँघामा भएकाले र एक मात्र बहिनी भाया आई बितिसकेकाले सम्पत मामाले आमालाई नै बहिनी मान्नुहुन्थ्यो । बर्सेनि सत्संग लाग्थ्यो त्यो पक्की भवनमा र गंगा किनारको कुप्पा घाटबाट सन्तमत पथका गेरुवा वस्त्रधारी साधुहरू एक सातासम्म बर्सेनि त्यहाँ आएर प्रवचन दिन्थे । सम्पत मामा पनि ‘दास’ भएकाले आमा र म चार पाँच दिन त्यहाँ बस्थ्यौं र सत्संग सुन्न जान्थ्यौं । सूर्यनारायण जिम्दार यस वार्षिक समारोहका कर्ताधर्ता थिए । पछि त्यस कुटीमा दलबहादुर महाराज नाम गरेका नेपालीभाषी सन्त पनि आए । भनिन्थ्यो उनी दलित समुदायका थिए तर तिनी सन्तसेवीजी, लक्षमणजी र शाहीजी महाराजजस्तै सबैका लागि पूज्य थिए । ‘झूट, चोरी, हिंसा, नशा, व्यभिचार तजना चाहिए’ भन्ने लय पूर्ण नैतिक पाठ मैले सर्वप्रथम त्यहीँ सुनेको हुँ । तर, सुँघा जाने मेरो अर्को जोडदार रहर पनि हुन्थ्यो चाडबाडका बेला ।

दसैं–तिहार र नयाँ वर्ष (चैत मसान्त) मा सूर्यनारायणले ‘महाभारत नाच’ ल्याउँथे । कहिलेकाहीँ रामायण नत्र सधैंजसो महाभारत मण्डली बोर्डरपारि मसुन्डा वा बोर्डरवारि टकुवाबाट आउँथ्यो र तीन–चार रात नाच देखाउँथ्यो, रात रातभरि । म त्यो नाच हेर्न मरिहत्ते गर्थें तर आमा मरिगए जान दिन नमान्ने । छोरो आँखाबाट ओझेल हुनेबित्तिकै सानोमा हराएजस्तै फेरि हाराइहाल्छ कि भन्ने हुन्थ्यो होला । निकै रोईकराई गरेपछि बल्ल मान्नुहुन्थ्यो । साक्षरता र पुस्तकको अभाव भएको त्यस बेलाको ग्रामीण समाजमा सूर्यनारायणजस्ता राजवंशी जिम्दारहरूले सत्संग, रामायण र महाभारतको नाच मञ्चनद्वारा गाउँ देहातमा नैतिक, अनैतिक, ठीक, बेठीकबारे ज्ञान फैलाउन स्रोत भेला पारेका थिए । मजस्ता बालकहरूको देव–दानवबीचको संघर्षको नाट्य मञ्चनले बाल कल्पनाको संसारलाई पनि फराकिलो पार्न मद्दत पुर्‍याएका थिए ।

त्यस बेलाको चारकोसे झाडी दक्षिणका गाउँहरूमा राजवंशी धनीमानीले गर्ने काम यिनै थिए । कतै कतै यिनले स्कुल–बजारलाई जग्गा पनि दिएका थिए । हाटबजार लगाएका थिए । तर, भूमिसुधार लागेपछि यिनको जमिनदारी गयो । मालपोत उठाउने अधिकार गुमेसँगै आफ्नो समाज र क्षेत्रमा यिनको साख पनि घट्यो । पञ्चायती आधुनिक राज्यव्यवस्था र प्रशासन अनि एक भाषा, एक भेष राष्ट्रवादले मोरङ र झापाका राजवंशी, थारू, ताजपुरिया, धिमाल दौनियाँ र जमिनदारहरूको हातखुट्टै काटिदियो । पुनर्बास योजनाअन्तर्गत जंगल फँडानी र नयाँ बसोबाससँगै अर्कै समाजको उदय भयो । मालपोत तिर्न पनि मानिस गाउँ गाउँबाट विराटनगर जान बाध्य भए ।

नेपालीभाषी नयाँ टाठाबाठा भए किनभने अड्डा–अदालतमा तिनको आफ्नो सजातीय र सहभाषी कर्मचारीसँग पहुँच बन्यो । स्थानीय जातजातिको स्थानीय तहमै आफ्ना स्थानीयभाषी जिम्दारसँगको भूमिसम्बन्धी, न्यायसम्बन्धी व्यवस्था र सम्पर्क हरायो । यो एउटा नयाँ युगको आगमन थियो र पुरानो युगको अन्त्य । त्यही पुरानो युगका प्रतिनिधि थिए सूर्यनारायण राजवंशी । त्यसैले पनि ८५ वर्षमा तिनको देहावसानले एउटा युगको अवशेष पनि सिद्धिएको आभास भयो मलाई ।

लगत्तै त्यही साता फेसबुकको वालमा अर्को मृत शरीरको तस्बिर देखा पर्‍यो । पल्ला गाउँका तिनलाई त मैले बाल्यकालदेखि नै चिनेको थिएँ र तिनले हाम्रो ग्रामीण भेगमा नयाँ युग भित्र्याएका थिए । सुगनलाल पटवारीका छोरा थिए तर नयाँ पुस्ताका भएकाले त्यस क्षेत्रमा तिनी कलेज जाने पहिला व्यक्ति थिए । सडक छेउको बजारको घरमा काठको बोलिरहने बक्सा ल्याउँदा सबैतिर हल्लीखल्ली मच्चिएको थियो । भरे त्यस बक्सालाई रेडियो भन्छन् भनेर थाहा भयो । कुकुर भनेको गाउँघरका भुस्याहा कुकुर नै हुन्छन् भन्थ्यौं । चुठ्दा बचेखुचेको जे दियो, त्यो खाने । तर, तिनले एक दिन स्यानो झ्याप्ले यस्तो कुकुर ल्याए, जसलाई चलानी खाना दिनुपर्ने । छालाको टुप्पो भएको छडी हल्लाउँदै तिनले आदेश दिँदा झ्याप्ले नाच्थ्यो, नमस्कार गर्थ्यो र हात मिलाउँथ्यो । कस्तो अचम्म हाम्रा लागि ! तर, सबभन्दा काण्डै गर्ने कुराचाहिँ तिनको प्रेममा पर्नाले भयो । राजवंशी समाजमा विवाहमा केटीको निकै महत्त्व हुन्थ्यो । केटावालले केटीका घरपरिवारलाई ‘चुमान’ (नगद वा जिन्सी) टक्य्राउनु पर्थ्यो । तर, बैंसमा प्रेममा परेर केटाकेटी यदाकदा भागी बिहा पनि गर्थे । तर, सुगनलाल प्रेममा परे पनि नभाग्ने र नछाड्ने पनि । गैरराजवंशी केटी भएकीले तिनले विवाह त गर्न पाएनन् तर नयाँ पुस्ताका लागि तिनी प्रेरणाका स्रोत भइदिए ।

पुराना पुस्ताका स्तम्भ र धरोहर र नयाँ पुस्ताका थालनीकर्ता दुवैको झन्डै सँगसँगै देहावसानले एउटा युगको पूर्ण अवसान र नयाँ युगले परिपक्वता लिएको महसुस भयो मलाई । सहरमा भएको युग परिवर्तन र गाउँमा आएको युगान्त र युगारम्भ भिन्दाभिन्दै समयमा हुँदो रहेछ भन्ने प्रमाण पनि हो यो किनभने एक व्यक्ति, समय–काल र युगमा बाँचे, सँगै त्यसको प्रतिनिधि पनि गर्छ ।

नेपालका सहरमा आज विभिन्न युगका अवशेषहरू सँगै रहे पनि मोरङका गाउँहरूबाट बयलगाडा, हलोगोरु प्रायः हराइसकेका छन् । पक्की सडक, बिजुली, थ्रेसर, ट्याक्टर, मोबाइल र टेलिभिजनको चलन आएको छ । अब कोही जेरका जेर/गोठका गोठ गाईभैंसी लिएर चराउन जाँदैन किनभने न त जंगल रह्यो, न एक–बाली फाँट, न त्यत्रा वस्तुभाउ छन् कसैका । नाचमण्डलीहरू पनि घरघरमा टेलिभिजनले गर्दा र जमिनदारका खल्ती खलास भएकाले उहिल्यै हराइसके ।

पाण्डव, कौरव, द्रौपदी हुने युवाहरू आज मलेसियामा मोबाइल फोन बनाउँदै छन् त कृष्ण हुने कोही कतार वा साउदीमा तरकारी खेती । महाभारत कथानक लेख्ने खालका भने अमेरिकातिर डीभी परेर पेट्रोलपम्प व्यवसायी भएका होलान् । तिनीहरू पनि फेसबुकमा पुरानो युगलाई ‘आरआईपी’ र ‘वैकुण्ठ बास होस्’ भनिरहेका हुन्छन् हिजो–आज मजस्तै ।

प्रकाशित : पुस २५, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

संसद् पुनःस्थापनाबाटै संविधानको सम्मान

संविधान मिचेर संसद् विघटन गर्न क्षणमै लिइएको कदम नेपाली इतिहासका हादसापूर्ण कदमहरूभन्दा पनि गम्भीर छ ।
प्रमोद मिश्र

संसद् विघटनले नेपालीलाई पुनः एकपटक ‘ग्राउन्ड जिरो’ मा ल्याइपुर्‍याएको छ । काम गर्न दिएनन्, चारैतिरबाट घेरामा पारे, अविश्वासको प्रस्ताव ल्याउन खोजे, महाभियोग लगाउन थाले वा चुनावले फेरि मतदानद्वारा जनमत दिन्छ आदि कुरा भनेर प्रधानमन्त्री ओलीले नेपाली जनतालाई भुलाउन खोज्दै छन् ।

तर नेपाली इतिहासमा उनको यो कदम जंगबहादुरको कोतपर्व, महेन्द्रको सत्रसाले ‘कू,’ ज्ञानेन्द्रको संसद् भंगपश्चात् सन् २००५ मा सत्ताहरणभन्दा पनि जघन्य नै हुन जान्छ, यदि हामीले नेपाली समाज र राजनीतिले यतिन्जेल फड्को मारेको अवस्थालाई सम्झिने हो भने ।

आज नेपाली समाज र राजनीति कहाँ छ ? नेपाली समाज अग्रगतिमा छ । यसका एक थरी युवा देश–विदेशमा पढेका छन् । नेपालीहरू देश–विदेशमा छरिएर काम गर्दै छन्, अध्ययन–अध्यापन गर्दै छन् । कति प्रवासी भएर बसेका छन् । मुलुकभित्र पनि सहरसहरमा शिक्षित समाज छ । गाउँगाउँका युवा या त विदेशमा कार्यरत छन् या फर्केर आफ्नै गाउँठाउँ आफैं बनाउनुपर्छ भनेर लागिपरेका छन् । काठमाडौं, पोखरा, वीरगन्ज, विराटनगरजस्ता सहरमा सचेत बौद्धिक जमात छ, लेखक र अभियन्ताहरूको । भएन; महिला, दलित, जनजाति, मधेसी वा अरू नै सीमान्तकृत वर्गका अभियन्ताहरू लेखनी र करनी, वचन र कर्मले सक्रिय छन्, न्याय स्थापनाका लागि । यी सबैले विश्वपरिवेश नियालिराखेका छन् ।

राजनीतिक क्षेत्रमा जतिसुकै पदलोलुपता र भ्रष्टाचार व्याप्त भए पनि नेता–नेता र कार्यकर्ता–कार्यकर्ताको स्मृतिमा यत्रो सत्तरी वर्ष निरंकुशता, बन्देज, जेलनेल, डन्डीलाठो अनि उथलपुथल झेलेको अनुभव कुँदिएको छ । र, त्यो थकानलाई बिर्साउने गरी पहिलोपटक, संविधानसभाबाट बनेको संविधानले स्थायित्व, विकास र न्यायका लागि निकास दिन्छ भन्ने आस दिएको छ । २००७ देखि २०६३ सम्म अनेक दुःखकष्ट सहेका थिए नेपाली जनता र नेता–कार्यकर्ताले, संविधानसभाबाट संविधान पाउन । २००७ पछि त्रिभुवनको ढुलमुल अनि महेन्द्रको चलखेल र सत्ताहरणदेखि तीसवर्षे निरंकुश पञ्चायती व्यवस्थासम्म झेल्दा पनि संविधानसभा सम्भव भएको थिएन । तीस वर्षको पञ्चायती निरंकुशता, संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय बेथिति, दसवर्षे जनयुद्धमा हजारौंको शहादत र ज्ञानेन्द्रको सत्ताहरणविरुद्धको जनआन्दोलनबाट मात्र आएको थियो संविधानसभा । र, अनेक संघर्ष अनि वादविवाद र बहस, मधेसीको बलिदानपछि दोस्रो संविधानसभाबाट आएको थियो प्रक्रिया, पद्धति, न्यायको स्थापना गर्न, स्थायित्व प्रदान गर्न संविधानसभाबाट यो संविधान । यसले नेपाली जनताका साथै संसद्लाई सार्वभौम बनाएको थियो ।

त्यसकारण ओलीले संविधानमा गरिएको व्यवस्था मिचेर संसद् विघटन गर्न क्षणमै लिएको यो कदम नेपाली इतिहासका हादसापूर्ण कदमहरूभन्दा पनि गम्भीर छ । किनभने यो स्वेच्छाचारी कदम नेपाली जनताको सार्वभौमिकताविरुद्धको कदम हो । किनभने नेपाली जनताको सार्वभौमिकतासम्पन्न संसद्लाई संविधानको अक्षर र मर्मविपरीत भंग गर्नु नेपाली जनताको सार्वभौमिकतालाई लत्त्याउनु हो । लोकतन्त्रमा एक व्यक्तिले, चाहे त्यो जतिसुकै प्रभुत्वशाली र प्रभावशाली किन नहोस्, जनताले छानेको संविधानसभाबाट निर्मित संविधानमा आधारित सार्वभौम संसद् संविधानलाई लात मारेर विघटन गर्न सक्दैन । जनताको मत जान्न जनतामा जाने बहाना तानाशाही लाद्ने प्रपञ्च हो । जनतालाई गुहारेर तानाशाही लाद्नु आधुनिक इतिहासमा तानाशाहहरूको एउटा थेगो नै बनेको छ । तर आश्चर्य, कतिपय नेपाली अनेक कारणले संसद् विघटनको पक्षमा छन् या जे भयो राम्रै भयो किनभने व्यवस्था नै फेर्नुपर्छ भन्छन् !

संसद् विघटनको पक्षधर तिनै छन्, जो ओलीका आसेपासे हुन् वा सत्ता र पदका लागि उनका पछि लागेका छन् । तीबाहेक अरूलाई तीन समूहमा राख्न सकिन्छ– प्रतिगामी, अतिगामी र सत्ताकामी शक्तिहरू, जो धमिलो पानीमा माछा मार्न आतुर छन् । राजतन्त्रवादी अनि संघीयता र धर्मनिरपेक्षताविरोधी शक्तिहरू एकजुट त भएकै छन्, प्रतिगमनका लागि ‘राजा आऊ, देश बचाऊ’ को नारा लिएर ।

अतिगामी विशुद्धतावादी वामपन्थीहरू पनि सामाजिक–आर्थिक न्यायका नाममा विप्लवसँग एक भएका छन् । यी प्रतिगामी र अतिगामी शक्तिहरू पृथ्वीमा ‘युटोपियन’ (स्वप्निल) संसार अवतरण गराउन चाहन्छन् । प्रतिगामीको अन्तिम गन्तव्य हिन्दु राजा र हिन्दु राज्य पुनःस्थापना गरेर नेपालीलाई रामराज्यको सपना देखाउनु हो, जसको झलक भारतमा हिन्दुत्ववादीहरूले देखाइराखेकै छन् ।

अर्कातिर, अतिगामी विशुद्धतावादी वामपन्थी पनि वैज्ञानिक समाजवाद वा कुनै अर्कै नाममा विशुद्ध राजनीतिक व्यवस्थाकै परिकल्पना गर्छन् । यस्तो व्यवस्था जहाँ सब थोक परिपूर्ण हुनेछ । तिनीहरू लेनिन र स्टालिनको सोभियत संघ वा माओको चीनभन्दा पनि अझ विशुद्ध रूप खोजिरहेका छन्, किनभने ती दुवै अग्रज उदाहरणहरू विशुद्ध थिएनन् । हुन त सपनाको परिकल्पित संसार बसाउने सैद्धान्तिक आधार प्लेटोको रिपब्लिकदेखि टोमसमोरको युटोपिया हुँदै मार्क्ससम्म आयो, जसको वास्तविक अवतरणले कतै दुःस्वप्नको रूप लियो भने कतै हत्या–हिंसासहितको प्रतिरोधका रूपमा अझै चलिराखेको छ ।

हिन्दु राजा र हिन्दुराज्यरूपी रामराज्यको कल्पना पनि त्यस्तैत्यस्तै युटोपियन संसार हो, जसको अन्तःकरणमा जातीय सोपानको कुरूपता र गैरहिन्दुप्रति घृणा लुकेर बसेको हुन्छ । तर विश्व र नेपालले यी दुवै थरीका युटोपियन दुःखान्त भोगिसकेका छन् । विश्वले स्टालिनको गुलाग हुँदै भ्लादिमिर पुटिन जन्मेको देखिसकेको छ । माओको ‘ग्रेट लिप फरवार्ड’ मा लाखौंको हताहत र सांस्कृतिक क्रान्तिको दसवर्षे अतिचार हुँदै नागरिक र राजनीतिक स्वतन्त्रताबिनाको सी चिनफिङको राज्य पुँजीवाद जन्मेको पनि देखिसकेको छ । त्यस्तै, हिन्दु राज्यका लागि भएको मुहिमले भारतलाई उसको ‘सफ्ट पावर’ सखाप गर्दै आर्थिक रूपमा पनि अधोगतितर्फ धकेल्दै छ । र, नेपाल त २५० वर्षको शाहवंशीय हिन्दु राजाको मारबाट उम्केको भर्खरै हो । अनि न्याय र गणतन्त्रका पक्षमा जतिसुकै उपलब्धि मानिए पनि दसवर्षे माओवादी जनयुद्धकालका हत्या–हिंसा पनि नेपाली मानसपटलमा आलै छन् ।

देउवा ब्रान्डका सत्ताकामीलाई पनि नेपालीले भोगिसकेका छन् । ज्ञानेन्द्रकालमा सत्तालोभमा परेर शेरबहादुर देउवाले ज्ञानेन्द्रका पाउमा प्रजातन्त्रको शिर चढाएको इतिहास नेपालीले नबिर्सेको हुनुपर्छ । त्यो निन्दनीय देउवा–प्रवृत्तिलाई ज्ञानेन्द्रद्वारा उनको मानमर्दनले पनि पखाल्न सकेको छैन, अहिलेसम्म । लोकतान्त्रिक मूल्यमान्यता र सिद्धान्तलाई पाखा लगाएर सत्ताका पछिपछि दगुर्ने देउवा–प्रवृत्ति फेरि चलमलाउन थाले जस्तो छ ।

भनिरहनु नपर्ला, अहिलेको संविधान अनेक त्रुटिले भरिएको छ । जनजाति, मधेसी, दलित, महिला आदिले समुचित न्याय पाउन सकेका छैनन् । सत्ताधारीको छलकपट र पचासौं मधेसीको रगतले भिजेको छ यो संविधान । फेरि, संविधानका हर्ताकर्ताले झन्डै दुईतिहाइको बहुमत हुँदा पनि गत तीन वर्षमा केही खास गर्न सकेनन् । केही दोष संविधानलाई जान्छ भने धेरजसो दोष दुईतिहाइको सत्ता आफ्नो हातमा पाउनेलाई जान्छ, जो ओली नै हुन् ।

तर वास्तविक संसारमा हुने छलकपट, दलाली, सम्झौता र विरोधबाट जन्मने, सम्भव हुने दस्तावेज भनेको यही त्रुटिपूर्ण संविधान नै हो, जसलाई प्रणाली र पद्धतिमार्फत सच्याउँदै लाने हो । यसले नै जतिसुकै तीतो परिवर्तनलाई पनि स्वीकार्य र सहज बनाउँछ । छलफल, वादविवाद र जनताले दिएको संविधानप्रदत्त मतदान समस्या समाधानको माध्यम बन्छ । यसले माओवादी वा दरबार हत्याकाण्डजस्तो बाध्यकारी विस्फोटक परिवर्तन होइन, मतदानबाट क्रमशः परिवर्तन ल्याउँछ, जो सहज र बहुजनलाई स्वीकार्य र पाच्य हुन्छ । यसले नै मतदान र संशोधनमार्फत नेतृत्वको विकल्प दिन्छ, प्रणालीमा सुधार ल्याउँछ । किनभने यो सार्वभौम नेपाली जनताले छानेको संविधानसभाबाट बनेको संविधान हो, जसको सन्तान यो पहिलो संसद् थियो र छ, जसलाई ओलीले भंग गरे ।

त्यसैले संसद्लाई ओलीको संविधान कुल्चिने कदमबाट जोगाउनु अहिलेको माग हुनुपर्छ । नेकपाका दाहाल–नेपाल जतिसुकै दोषी भए पनि तब नै संसद्द्वारा यही संविधानको प्रणालीले विकल्प दिन्छ, जब यो संविधान मर्यादित रहन्छ, सुरक्षित रहन्छ । दाहाल, नेपाल, कोइराला, देउवा समयक्रममा फालिन्छन्; तिनको सट्टा यादव, केसी, परियार, चाम्लिङ यसै संविधानको मियो समातेर आउँछन्; तर, माननीय ओलीले त संविधानलाई नै ध्वस्त पार्ने राजमार्ग खोलिसकेका छन्, अवैधानिक रूपमा संसद् भंग गरेर ।

तसर्थ आमचुनावबाट अमुक दललाई लाभ हुन्छ कि हुँदैन भन्नु तपसिलको कुरा हो, तत्क्षण सन्तुष्टि र तुष्टि (इमिडिएट ग्य्राटिफिकेसन) को कुरा हो । कांग्रेसको एक खाले असफल, दूरदृष्टिविहीन नेतृत्वपंक्ति अल्पदृष्टिको जालमा हुन सक्छ । चरम दक्षिणपन्थी वा वामपन्थीका लागि मौकामा चौका हान्ने कुरा हुने नै भयो । फेरि, विकास र न्यायको युटोपियन संसार खोज्नेहरूमा त हामी पनि पर्छौं, जुन संसार यस संविधानले दिन सकेको छैन ।

तर के बिर्सनु हुँदैन भने, युटोपियाको खोजी जारी राख्दाराख्दै हामीले इतिहासमा घटित वास्तविकतालाई पनि हेर्नुपर्ने हुन्छ । युटोपियाको खोजी सपनाको संसारमा उडेर भए पनि यसको अवतरणचाहिँ जमिन टेकेरै हुन्छ । अवैधानिक रूपले संसद् भंग गरेर ओलीले नेपाली जनताको त्यस जमिनलाई नै लोप पारिदिने काम गरेका छन् । त्यसैले त्यस जमिनको, संसद्को पुनःस्थापना आजको आवश्यकता हो ।

प्रकाशित : पुस २०, २०७७ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×