३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहाड नचढी पहाड बुझिँदैन

पहाड भन्नु एउटा चुनौती हो । सगरमाथा चढ्ने प्रयासमा बारम्बार लागेका पर्वतारोही जर्ज ली मेलोरीलाई ‘ किन पटक–पटक एभरेस्ट नै चढ्न जान्छौ ?’ भनी प्रश्न गर्दा उहाँको सटीक जवाफ थियो - ‘ किनभने, त्यो त्यहाँ छ ।’

पहाड, पर्वत वा हिमाल जेसुकै भनिए पनि तिनलाई नचढीकन तिनको पत्तो लाग्दैन । तिनलाई बुझ्न सकिँदैन । साधारणतः अंग्रेजीमा जसलाई ‘माउन्टेन’ भनिन्छ । हामी त्यसलाई पहाड भनेर बुझ्छौं । तर, पनि कुनै परिभाषाले पहाडलाई बाँध्न सकिँदो रहेनछ । करिब २० वर्षपहिले फ्रान्सको आल्पस पर्वतको अट्राँ र ग्रिनोबल सहरमा विश्वका प्रसिद्ध वैज्ञानिक एवं चिन्तकहरू पहाडको परिभाषा खोज्न जुटेका थिए ।

पहाड नचढी पहाड बुझिँदैन

तर, पहाड परिभाषित भएन । डा. हर्कबहादुर गुरुङले (एकीकृत पर्वतीय विकासका लागि) अन्तर्राष्ट्रिय केन्द्र ‘इसिमोड’ का लागि एसियाका पर्वतहरूबारे पुस्तक लेख्दा उहाँ भन्नुहुन्छ, ‘विश्वभरले मान्यता प्रदान गर्ने परिभाषा पहाडलाई छैन... । तसर्थ जनमानसको कल्पनामा पहाडले खेल्ने भूमिका नै पहाड हो ।’

फ्रान्सको गोष्ठीमा मेरो तर्क थियो— पहाडलाई नचढी पहाड चिनिंदैन, बुझिँदैन । पहाड भन्नु एउटा चुनौती हो । त्यसै भएकाले सगरमाथा (एभरेष्ट) चढ्ने प्रयासमा बारम्बार लागेका पर्वतारोही जर्ज ली मेलोरीलाई ‘किन पटक–पटक एभरेस्ट नै चढ्न जान्छौ ?’ भनी प्रश्न गर्दा उहाँको सटीक जवाफ थियो— ‘किनभने, त्यो त्यहाँ छ ।’ आरोहणकै क्रममा सन् १९२४ मा सहयात्री एन्ड्रयु इर्भिनका साथ मेलोरी एभरेस्टबाटै लापत्ता भए । समाधीस्थ भए ।

चुनौतीको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारी सन् १९५३ को मे महिना २९ तारिखका दिन पुगेका थिए । त्यसलाई ‘सगरमाथामाथिको मानवविजय’ भनेर विश्वभर प्रचार–प्रसार गरिएको थियो । आजभोलि प्रत्येक वर्ष सयौं मानिस सगरमाथा शिखरमा पुग्छन् । ती सबै आरोहीलाई सगरमाथा विजयी भनेर धुमधाम प्रसार गरिन्छ । त्यो देख्दा लाग्छ, मानौं त्यो कौरवमाथि पाण्डवहरूले विजयजस्तैको घटना हो । सगरमाथा चढ्नका अनगिन्ती चुनौतीहरू अझै कायम छन् । र, त्यो त्यहीं छ ।

मानिस पर्वत शिखरमा पुग्न सफल हुन्छन्, तर त्यसमाथि कहिल्यै विजय हुँदैनन् । पर्वत शिखरमा मानिसहरू देवात्मा भेट्छन् । त्यहाँ केही अनुपम र अद्भुत रहस्यहरू उजागर हुन्छ । मानिसहरू शिखरमा पुगेर त्यसको चरणमा आफूलाई समर्पण गर्छन् । त्यही धर्म हो पर्वतारोहणको । पहाड भन्नु वा पर्वत भन्नु अथाहको पनि पहाड वा पर्वत हुन् । विश्वको सर्वोच्च शिखर भएर पनि त्यसको यकिन उचाइ भर्खरै मात्र स्थापित भयो— ८८४८.८६ मिटर ।

एसिया महाद्वीपभन्दा बाहिर ७,००० मिटरभन्दा अग्ला शिखर भेटिँदैन । नेपालभित्र भने अझै पनि त्यो उचाइ भएका ७८ वटा हिमशिखरको नामकरणसम्म पनि हुन सकेको छैन । तसर्थ पहाड रहस्यको पनि पहाड हो । त्यसको परिभाषा छैन । त्यसमा यी विजय पनि हुँदैन । मेरो बाल्यावस्थामा मेरो पहाड भन्नु स्वयम्भूको डाँडा मात्रै थियो । त्योभन्दा अग्लो ठाउँ पुगेको थिइनँ । काठमाडौं वरिपरिका शिवपुरी, नागर्जुन, फुल्चोकी एवं चन्द्रगिरि सधैं नजरमा पर्थ्यो, तर त्यहाँ पुग्ने रहर पनि जागेन र मौका पनि मिलेन । तिनताका थानकोट पुग्नु पनि परदेश पुगेझैं हुन्थ्यो । पहाडबाट डोको बोकेका मानिसहरू असन बजार आउँदा तिनीहरू किन खर्पन बोक्दैनन् भनी जिल्ल पर्थ्यौं ।

पछिबाट ज्ञान भयो पहाडमा उकाली–ओराली गर्न डोको नै बोक्नुपर्दो रहेछ । पर्वतीय जीवनको अभिन्न अंग डोको रहेछ भनेर बुझ्न धेरै समय लागेन । तसर्थ, पहाडको परिभाषामा जमिनको भिरालो भूस्वरूपलाई अर्थात् भिरालोपनलाई बिर्सनै नमिल्ने कुरा बोध हुन थाल्यो । संखुवासभा जिल्लाको भ्रमणमा याफू गाउँमा एक महिलाले आफ्नो एक मात्र विकास चाहना भनेको ‘थाप्लोबाट नाम्लो हटाइदेऊ’ भनेको सुन्दा हामी जिल्ल परेका थियौं । ज्यादै सोच विचारमा पनि डुब्यौं । पानी–पँधेरो, वन–जंगल, खेतीपाती, कुलो–घट्ट, हाट–बजार जहाँ गए पनि थाप्लोमा नाम्लो बाँधिएको जीवन नै पहाडी जीवन हुँदोरहेछ । के इलाम, के दार्चुला ।

वनस्पति विभागमा जागिरे भएपछि २०१७ सालदेखि नै जडीबुटी खोजतलासमा पहाडतिर लाग्नुपर्ने भयो । काठमाडौंको बालाजुबाट हिँड्दै ककनी पुग्यौं । उकालोले सताउने नै भयो । ककनीबाट काठमाडौंतिर नियाल्दा एक विशाल खाल्डो थियो यो उपत्यका । दुई–तीन दिनपछि त्रिशूली बजार र नुवाकोटको सदरमुकामसम्म पुग्दा पहाडी भूगोलको विविध भू–स्वरूपले चकित बनाइदियो । अगाडिको यात्रामा धुन्चे पुग्यौं । त्रिशूली नदीले पहाडै चिरेर बग्दोरहेछ । ठाउँ–ठाउँमा ठूला–साना पहिरोहरू । खोल्सा–खोल्सी र भीरपाखामा पनि खेत–बारी र अन्नबालीका

कान्लाहरू । मानिसकै पाखुरी–बलले खनजोत गरी लाखौंलाख कान्लाहरू कसरी सम्याए होला ! त्रिशूलीमा कति पानी बग्यो वा यी कान्लामा कति पसिना पोखियो त्यसको हिसाब हुने भएन । तर, पहाडी जीवन कति कठिन हुँदो हो भन्ने बुझ्न भने गाह्रो भएन ।

जडीबुटी भेट्न लेक जानुपर्छ भन्ने थाहा थियो । हामीलाई गात्लाङ, सेरतुङ, तिपलिङतिर जाने सुझाव दिइयो । गाउँबेंसी छोडेर लेकतिर हानिनु सजिलो थिएन । रासन, पानी, भरिया तथा गाँसबासको भेउ नपाई अघि बढ्न मिल्दैन । तर, लेक कसरी पुग्ने ? लेक कस्तो हुन्छ भन्ने केही हेक्का थिएन । पहाडका विशाल छातीहरू छिचोल्दै माथिमाथि चढ्न थाल्यौं । स्थानीय भरिया दाजुभाइले बाटो देखाउने र पहाड चिनाउने काम गर्न थाले ।

त्रिशूली बजार आसपासका टार–बेंसीका साल, सिसौ, सिमलका वन उछिनेर पहाडी सल्ला, चिलौने, कटुस, गुराँसका वनभन्दा माथि पुगेपछि ठिग्रे सल्लाका घना वनभित्र पुग्यौं । माथिमाथि उकालो लागेर सबै वन र बुट्यानका सीमा नाघेर लगभग ४,००० मिटरको खुला बुकी पाटन चहुरमा चौरी गोठालाहरू भेटेपछि लेक पुगेको भन्ने बुझिँदो रहेछ । त्यहाँ पुग्दा–नपुग्दै फोक्सोले सास फेर्न निकै कठिन हुन थाल्यो । पाइलैपिच्छे विश्राम नगरी अगाडि बढ्न नसकिने र कपाल पनि दुख्न थाल्यो । वाकवाकी लाग्ने । खाना नरुच्ने । रातमा निद्रा नपर्ने । पिसाब अधिक लाग्ने । यस्ता शारीरिक कठिनाइलाई लेक लाग्यो भन्दा रहेछन् ।

एक–दुई दिनभित्रै त्यो सहन सकिएन भने तत्काल ओर्लने व्यवस्था नभएमा ज्यानलाई नै खतरा पुग्ने अवस्था हुँदोरहेछ । यिनै लेकाली पाटन, चहुर, पाखा र पखेरूबाट जडीबुटी संकलन गरेर स्थानीय मानिसहरू त्रिशूली बजार पुग्दा रहेछन् । यसप्रकार ४,००० मिटर र १,००० मिटरको पहाडी ओहोर–दोहोर गरेर तिनले जडीबुटीको मूल्य कति पाउँदा रहेछन् भनेर विचार गर्दा हाम्रो भरिया ज्याला पनि नउठ्ने रहेछ । पसिनाको त्यही मूल्य कसरी दिने वा दिलाउने भन्ने उद्देश्य बोकेर नेपालको लेक–बेंसी घुम्ने सौभाग्य पाएको थिएँ । माना खर्च सरकारकै थियो । त्यसका लागि दिनको रु. १० रुपैयाँ भत्ता पाउँथेँ । एक कोस हिँड्दा रु.४ को भ्रमण भत्ता पनि बटुल्थेँ ।

कञ्चनजंघादेखि कञ्चनपुरसम्म, दमकदेखि दार्चुलासम्म विभिन्न समयमा पैदल भ्रमण गर्दा पर्वतीय बासिन्दाका रोग, भोग, गरिबी र अशिक्षा सबैभन्दा टड्कारो वास्तविकता लाग्थ्यो । शासन, प्रशासन, नीति–निर्माण र विकासका मूलधारबाट धेरै पर किनारा लगाइएको अवस्था पनि पर्वतीय विशेषता बनेर अगाडि आउँथ्यो । यो तथ्य संसारभरिका पहाड पर्वतहरूको पनि वास्तविकता थियो । तसर्थ, संयुक्त राष्ट्रसंघको विश्व शिखर सम्मेलन ‘पृथ्वी सम्मेलन सन् १९९२’ ले दिगो पर्वतीय विकास र दुर्बल पारस्थितिकीय प्रणालीलाई सम्बोधन गर्ने एजेन्डा—२१ नामक दस्ताबेजलाई स्वीकृत गर्‍यो । किनभने पहाड– पर्वतबिनाको फृथ्वी जीवन्त रहन सत्तैन ।

यस पृथ्वीको २२ प्रतिशत भू–सतहमा पहाड–पर्वतहरू उठेका छन् । विश्वको १३ प्रतिशत जनसंख्याको बसोबास पहाडमा विद्यमान छ । विश्वको ५० प्रतिशत जनसंख्या स्वच्छ पिउने पानीको निम्ति पहाडी जलस्रोतमा निर्भर छन् । जैविक विविधता संरक्षणका लागि अति महत्त्वपूर्ण संवेदनशील क्षेत्रहरूको लगभग ५० प्रतिशत भूभाग पहाड–पर्वतभित्र पर्छ । संसारका मानिसलाई आवश्यक खाद्यपदार्थको ८० प्रतिशत ओगट्ने २० प्रजातिका वनस्पतिमध्ये मकै, आलु, जौ, बाजरा र गोलभेंडाजस्ता खाद्य वनस्पतिको रैथान पहाडभित्रै पर्न आउँछ । तिनका अतिरिक्त पर्वतीय जडीबुटीको महत्त्व मान–कल्याणका लागि सबैले ध्यान दिनुपर्ने अवस्था छ ।

पानीको खानी पहाड–पर्वतमा हुन्छ । समुद्रको पानी पिउन मिल्दैन । सिँचाइ पनि हुँदैन । तसर्थ हिमालयलाई एसियाको ‘जल मिनार’ भन्ने संज्ञाले अलंकार गरिन्छ । सिन्धु, गंगा, ब्रह्मपुत्रलगायत अरू सात विशाल नदीहरू हिन्दुकुश–हिमालबाट उद्गम हुन्छ । त्यसबाट यस क्षेत्रका २ अर्ब ४० करोड जनसंख्याका अतिरिक्त अरू समथर निवासी १ अर्ब ७० करोड जनसंख्या लाभान्वित हुन्छन् । यस जलभण्डारलाई विश्वव्यापी उष्णीकरणबाट विशेष खतराका संकेतहरू उजागर हुन थालेका छन् ।

इसिमोडले सन् २०१९ मा केही तथ्यांकहरू अघि सारेका छन् । सन् २०२१ देखि सन् २०७१ सम्ममा गंगा नदीको जलाधारभित्र पर्ने नेपाललगायतका भूभागमा ५० देखि ६० प्रतिशतसम्म बर्सेनि हुने हिमपातमा कमी आउने आकलन गरेको छ । हिमनदीहरूमा हिउँदको मात्रा ९० प्रतिशतले घट्ने प्रक्षेपण छ । यस्तो भयावह आकलन हुनाका पछाडि बितेका ५०/६० वर्षभित्र अत्याधिक गर्मी हुने दिनहरू बारम्बार दोहरिनु, अत्यधिक जाडो हुने दिन घट्दै जानु र प्राकृतिक प्रकोपका घटनाहरू बढ्दै जानु प्रमुख छन् । जलवायु परिवर्तनसँग आत्मसात् हुने क्षमता पहाडी जनजीवनसँग निहित हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । किनभने हिमालय पर्वतको काखमा हुर्कंदा हामी पहाड, मान्छे र मनसुनको त्रिकोणात्मक सन्तुलनमा बाँचेका हुन्छौं ।

बढी वर्षा हुने क्षेत्रका मानिसका रहन–सहन, खेतीपाती, भू–उपयोग थोरै वर्षा हुने क्षेत्रमा भन्दा विल्कुल भिन्दै खालको हुन्छ । कर्णाली प्रदेश, डोल्पा वा मुस्ताङ जिल्लामा पुग्दा त्यहाँ समथर छत भएका मुण्डन घर देख्छौं । कास्की, पोखरा, इलाम वा ताप्लेजुङतिरको घरका छाना हेर्दैमा ज्ञात हुन्छ कि त्यहाँ घनघोर वर्षा हुन्छ । त्यस्तै खेत–बारीका कान्लाहरूको बनोट पनि आ–आफ्नै प्रकारको हुन्छ । कुनै कान्लामा पानी अडिँदैन । सबै बगेर जान्छ । कुनैमा पानी जमेर बस्छ । वर्षाअनुसारको कान्लो र कान्लोअनुसारको खेती नेपाली किसानका विशेषता हुन् । मनसुन व्यवस्थापनमा विचार पुर्‍याउन सकिएन भने पहाड भत्किनलाई जलवायु परिवर्तन कुर्नु पर्दैन । वर्तमान नेपालको सडक सञ्जालले निम्ताएका पहिरो र भूक्षयका प्रकोप वातावरणीय प्रभावलाई आकलन नगर्नुको परिणाम हो । स्थानीय परम्परागत ज्ञानलाई उपेक्षा गर्नु पनि अर्को कारण हो । विकास निर्माणको सिलसिलामा स्थानीय परम्परागत ज्ञान र सीपको आधारमा पहाडलाई चिन्ने र मनसुनलाई बुझ्ने प्रविधिको विकास हुनुपर्छ ।

पर्वतीय पानीमा शक्ति हुन्छ । किनभने पहाड–पर्वतले पानीलाई बग्ने अवस्था सिर्जना गरिदिन्छ । बग्ने पानीको शक्तिले घट्ट चलाउने प्रविधि गाउँ–गाउँमा देख्न पाइन्थ्यो । घट्ट प्रविधिले कहीं ‘ॐ मणि पद्मे हुँ’ का प्रार्थना पाङ्ग्राले घुमाउँथे भने कहीँ धूपी काठमा ठूल्ठूला मुडालाई पाङग्राले घोटेर लेप बनाउँथे । गहुँ, मकै, जौ पिँध्ने कुरा आफ्नै ठाउँमा छ । यिनै जलशक्तिको जलविद्युत् क्षमता ८३,००० मेगावाट पुग्न आउँछ भनेर इन्जिनियर हरिमान श्रेष्ठको आँकडा सुन्दै आएको पनि ५० वर्ष नाघिसक्यो होला । वर्तमान तथ्यांकले पनि ४३,००० मेगावाटको क्षमता प्रक्षेपण गर्छ, तर हामीले ७५३ मेगावाट मात्र विकास गर्न सकेका छौं । मनसुन र पहाडको यो देशमा चुनौतीको अर्को पहाड जलशक्ति विकासको क्षेत्रमा खडा छ ।

हाम्रो देश नेपाल उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतजस्तै समथर पठारभूमि भएको भए वा दक्षिणी छिमेकी भारतको उत्तर प्रदेश र बिहारजस्तै समथर भइदिएको भए हामीसँग जैविक विविधताको अर्को अथाह पहाड हुँदैन थियो । फगत एक वनस्पति प्रजाति धान ‘ओराइजा साटिभा’ भित्र २००० भन्दा बढी विभिन्न स्थानीय स्वजातिका अन्न हुने थिएन । त्यसभित्र विश्वकै सर्वोच्च क्षेत्रमा फल्ने जुम्ली मार्सी धानदेखि तराईका प्रसिद्ध वास्मतीसम्म पर्न आउँछ । विश्व व्यापारीकरणको मारमा परेर कैयौं स्थानीय अन्नबाली, तरकारी र फलफूलहरू लोप पनि हुन थालेका छन् । साथै स्थानीय कृषि प्रविधिहरू पनि नयाँ पुस्तामा हस्तान्तरण हुने अवस्था क्षीण हुँदै छ ।

हाम्रो वन–वस्पति र वन्यजन्तुलगायतका प्राकृतिक संसाधानको विश्लेषण गर्दा नेपाल सानो देश होइन भन्ने प्रमाणित हुन्छ । चरा प्रजातिको हिसाब गर्दा विश्वको ९ प्रतिशत चरा प्रजाति नेपालमा पाइन्छ । विश्व भूभागको करिब ०.१ प्रतिशत ओगट्ने देशमा ८८६ भन्दा अधिक चरा प्रजाति हुनु र त्यस्तै फूल फुल्ने र बीउ लाग्ने वनस्पतिको संख्या झन्डै ३ प्रतिशतको नजिक पुग्नुमा पर्वतीय वातावरणको विशेषता उजागर हुन्छ । यिनै कारणले नेपालले आफ्नो भूभागको लगभग २५ प्रतिशत क्षेत्रफलमा संरक्षित क्षेत्रहरू स्थापना गरेको छ । त्यसो हुँदा विश्व पर्यटन प्रवर्दनमा नेपालको ख्याती उल्लेखनीय रहिआएको छ ।

संसारले हेर्दा पहाड दुर्गम हुन्छ र पहाडी जनजीवनबारे धेरै कुरा रहस्यमय देखिन्छ । रहस्यमय यसकारणले हुन्छ कि पहाड–पर्वतको हावापानी, भूस्वरूप र वातावरण तथा ती परिवेशभित्रका वन, वनस्पति, जीवजन्तु एवं सम्पूर्ण जैविक विविधतामा आ–आफ्नै पन र स्थानीय स्वरूप कायम भएको हुन्छ । एक ठाउँको विशेषता अन्यत्र भेटिन्न अर्थात् स्थानीयता प्रस्फुटन भएको हुन्छ । मानवीय समाज र संस्कृतिमा पनि स्थानीयपन कायम हुन्छ । नेपालजस्तो सानो क्षेत्रफल भएको देशमा लगभग १२५ विभिन्न भाषाभाषिका मानिस बस्नु र ६० भन्दा बढी जनजातिका मानिस पहिचान हुनु नेपाली हुनुको वास्तविकता हुन पुगेको छ ।

पहाड–पर्वतको चर्चा र चुनौतीका विषय उठाउँदा तिनको आध्यात्मिक आयाम तथा पवित्र स्वभावलाई बिर्सन मिल्दैन । जलस्रोत र जैविक विविधताको विश्व मिनार मात्र नभई आध्यात्मिक शक्ति र साधनाका अनुपम स्रोत पनि हो पहाड । पर्वतीय पवित्रताका बारेमा ‘स्याक्रेड माउन्टेन्स् अफ द वर्ल्ड’ या ‘द वर्ल्ड’ का लेखक एड्विन वर्नबाउनसँग पेरुको हुस्कारन पर्वतमा भेट भयो । सन् १९९५ को विश्व पर्वतीय गोष्ठीमा पर्वतीय पवित्रताबारे निकै गहन छलफल र प्रस्तुतिहरू भए ।

नेपालका पहाड–पर्वत घुम्दा मेरा मनमा अनायास उठ्ने अनुभूतिहरू विभिन्न पर्वतारोहीहरूका वाक्यमा पढ्न पाउँदा ज्यादै नौलो आत्मसन्तोष मिल्न गयो । देवात्माको चेतनालाई प्रस्फुटन गर्ने शक्ति भएका स्थलहरूमध्ये मेरा स्मृतिपटलमा बझाङको सुर्मासरोवर, डोटीको खप्तड लेक, गोर्खाको सेराँग गुम्बा र चुम उपत्यकाको छेकम्पार, डोल्पाको फोक्सुण्डो ताल र शेगुम्बा, रसुवाको गोसाइँकुण्ड, सोलुखुम्बुको त्याङ्बोचे गुम्बा, मुस्ताङको मुक्तिनाथ, संखुवासभाको खेम्पालुङ, ताप्लेजुङको तेम पोखरी आदि झल्कन थाल्छ । यस्ता सयौं मात्र होइन, हजारौ धार्मिक एक आध्यामिक स्थलको भण्डार पनि हो हिमालय पर्वत । र, त एसियाको पवित्र देवआत्मा यहीं छ ।

पर्वतीय परिवेशले पञ्चतत्वको प्राकृतिक संसारलाई बुझ्ने र मनन गर्ने शक्ति प्रदान गर्छ । प्रकृतिलाई सम्मान गर्ने र तिनप्रति समर्पित हुने अवसर पनि प्रदान गर्छ । जीवनको सार बुझ्ने ऋषि–मुनि, ध्यानी र तपस्वीहरूलाई मात्र होइन साधारण मानिसलाई पनि चेतनाको नयाँ गन्तव्यमा पुर्‍याउने क्षमता राख्छन् पहाड–पर्वतहरू । तर, त्यहाँ पुग्नु नै पर्छ । नपुगीकन चेतना खुल्दैन ।

अन्त्यमा

कुनै भाषा वा परिभाषाभित्र पहाड अटाऊन सत्तैन । पहाडलाई बुझ्न पहाडै चढ्नुपर्छ । पहाडी जीवनसँग अभ्यस्त हुनुपर्छ । पहाडी परिवेशको वातावरणले प्रदान गर्ने आध्यात्मिक चेतनाभित्र जीवनको रहस्य पनि खोज्न सकिन्छ । भेट्न सकिन्छ । संसारका विभिन्न पहाडहरूको आ–आफ्नै विशेष चरित्र हुन्छ । हिमालयको चरित्रभित्र मान्छे, मनसुन र पहाडको त्रिकोणात्मक सन्तुलन कायम भएको हुन्छ । प्रकृति र संस्कृतिभित्र आ–आफ्नै विशेषता स्थानीयता निर्माण हुन्छ । वर्तमान विश्वका तीनवटा विश्वव्यापी संक्रमणहरूबाट पर्वतीय स्थानीयतामा प्रहार हुन थालेको छ । प्रथमतः विश्व उष्णीकरण र जलवायु परिवर्तनको प्रभावले हिमाल पग्लिन थालेको छ ।

दोस्रोमा विश्व व्यापारीकरण तथा अत्याधिक मानिसहरूको विश्वव्यापी चलफिर तथा प्रगमनका प्रभावहरूले पहाडहरू रित्तिने र स्थानीयता हराउन थालेको छ । अब आएर विश्वव्यापी कोभिड–१९ को संक्रमणमा हामी होमिन पुगेका छौं । यस परिदृश्यमा मानिसलाई जति पहाड वा पर्वतको आवश्यकता छ, त्योभन्दा बढी पहाड–पर्वतलाई मानिसको आवश्यकता खड्कन थालेको छ । हाम्रो प्रकृति र हाम्रो संस्कृतिलाई समाल्दै यी विश्व व्याधिहरूसँग सामना गर्नु समयको माग हुन आउँछ ।

प्रकाशित : पुस २५, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?