२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ध्रुवचन्द्र गौतमको साइकल हरायो

ती को थिए ध्रुवचन्द्र गौतम, जसको यो सहरमा आजभन्दा ५० वर्षअघि एउटा साइकल हराएको थियो र, जो आज कोरोनाबाटग्रसित भएको छ ? एउटा रहस्यमयी कथाको सुरूआत र अन्त्य यस्तो छ ।

आख्यानकार ध्रुवचन्द्र गौतमको पछिल्लो उपन्यास ‘चकमन्नमा एकान्त’ मा एउटा अज्ञातझैं पात्र छ, जो मध्यरातको चकमन्नमा एकान्त चिर्दै मोटरबाइकमा एउटा निश्चित घरमा आउँछ र, हराउँछ । त्यो पात्र उही समयमा आउँछ, उही हुँकार लिएर आउँछ र, उसैगरी चकमन्नमा अलप हुन्छ । यस्तै अनेक अज्ञेय कुरा छन्- ध्रुवचन्द्रको हराएको साइकलमा । 

ध्रुवचन्द्र गौतमको साइकल हरायो

कुराको थालनी हुन्छ यसरी । एक दिन मध्याह्नमै यो सहरमा हल्ला फैलियो— ध्रुवचन्द्र गौतमको साइकल हरायो ।

क्याम्पसको आँगनमा पार्क गरेर राखिएको साइकल हरायो एकाएक । त्यो साइकल ध्रुवचन्द्र गौतमको थियो । पार्किङमा राखिएको लहरमा साइकल त निकै थिए, तर उनैको साइकल भने एकाएक हरायो । हिरो ब्रान्डको एउटा मझौला चाइनिज साइकल थियो, त्यति नयाँ होइन, पुरानो भनेर जडाउरी भैगएको थिएन । गौतम सरको ब्रान्डमा लुगा, कोट, रुमाल, मोजा र यहाँसम्म कि भित्री वस्त्रमा समेत एउटा सनातनी रङको मिल्ती थियो— ‘ब्ल्यु इज द वार्मेस्ट कलर’ टाइपमा । यसकारण भन्नै परेन, ध्रुवचन्द्रको हराएको साइकल पनि त्यही मार्का थियो— ब्ल्यु इज द कलर ।

त्रि–चन्द्रमा नेपाली साहित्य प्राध्यापन गर्ने ध्रुवचन्द्र पनि मझौला आकारकै थिए । चाबहिलको कुनोदेखि घण्टाघरसम्म दिनहुँ उनी त्यही साइकलमा आजतजावत गर्थे । न्युरोड पीपलबोट वा रश्मीको टेबल, भूपीको कालीमाटी–कर्नर होस् वा चिनारीमा सधैंसधैं भूमिगत रहेकी ‘श’ सँग टेकु दोभानमा उसै बहलिँदा होस्— त्यही साइकल साथी थियो, पूरापूर सहयात्रु ।

कतिसम्म भने त्रि–चन्द्रको कक्षा भ्याएर महाराजगन्जसम्मको ट्युसन पढाउन जाने लामो दूरी पनि यही साइकलले पूरा गर्थ्यो । यसको आगत–विगत जे–जति लुलो–कमजोर भए पनि इतिहास भनेको इतिहासै हो । जस्तो यो ‘सेकेन्ड हेन्ड’ साइकल २ सय रुपैयाँमा किनिएको थियो र, यसले ५–७ वर्षै काठमाडौं उपत्यकाको सडक नापेको थियो भन्दा पनि आश्चर्य लाग्न सक्ला । तर, हो यही नै— साइकल एक अपरिमित यात्रा ।

रमझमका नाममा यदाकदा रञ्जना सिनेमासम्म जानुपर्दा नयाँ सडक पर्तिरको भीडमा साइकल हराइजाला कि भन्ने भय पनि छँदै थियो । त्यही भएर त्रि–चन्द्रमै एउटा रूखमा साइकल बाँधेर राख्दै र हिँडेरै रञ्जना गल्ली पुग्नुपर्ने त्यो निकै फारु समय थियो । अथवा, कहिलेकाहीं लेखक–भेला वा कवि जमघटसम्म जाँदा पनि साइकल त्रि–चन्द्रमै छाडिने गरेको थियो ।

तर, यो पाला अचम्मै भयो । त्यस दिनयता सहरमा पूरै होहल्ला छाइसकेको रहेछ— ध्रुवचन्द्रको साइकल हरायो भनेर । फेरि शुक्रबार साइकल हराएको थियो, शनिबार क्याम्पस छुट्टी भैहाल्यो । आइतबारसम्म एक कान दुई कान गर्दै ध्रुवचन्द्रको हराएको साइकलको किस्सा भुसको आगोझैं सहरभरि धूवाँ बनेर पुत्पुताइरहेको थियो । अहिलेजस्तो मेसेन्जर, भाइबर वा कहीँकतै केही उपाय रहे–भएको भए नि तारन्तार खबर बुझ्नुहुन्थ्यो । अहँ, कुरा के हो, के–कता–कसरी साइकल हरायो भन्ने सोधपुछबिनै आगो फैलिसकेको थियो । नफैलियोस् पनि कसरी ? जहाँ नाम ध्रुवचन्द्रको गाँसिएको छ ।

आफ्नो पछिल्लो उपन्यास 'चकमन्‍नमा एकान्त' हेर्दै ध्रुवचन्द्र गौतम

सम्झेर ल्याउँदा साइकलसँग जोडिएका अनन्त किस्साहरू छन् । कुनै जुगमा वीरगन्जको जेलरोडमा कैंची स्टाइलले साइकल सिकेका थिए ध्रुवचन्द्रले । पछि रक्सौल, रामगढवासम्म पनि साइकलमै उनी पुग्थे । कहिलेकाहीं फिल्मी स्टाइलमा दुवै हात ‘फ्री’ छाडेर चलाइएको साइकल रेसमा पनि उनी पुगेका हुन्थे । ‘मेड इन वीरगन्ज’ ध्रुवचन्द्रका सहरमा आफ्नै खालका किस्साहरू थिए । जस्तो— उनी नायक दिलीप कुमारका डाइहार्ट फ्यान थिए । यदाकदा कुनै बान्की सम्झाउन दिलीप कुमार, राजकुमारका डाइलगहरू पनि कक्षाकोठामा र विद्यार्थीहरूका सामुमै उनी भनिरहेका हुन्थे । यो अनौपचारिक शैली यसकारण विद्यार्थी तान्ने (र, अरू कक्षाकोठाका समेत) एउटा ‘तरतिव’ थियो, मुहुनी कला भनौं न ।

सहरमा नायक दिलीप कुमार क्रेज छाएकै थियो । यो ‘फुटपाथ’ वा ‘जुगनू’ जस्ता फिल्मको जगजगी छाएका बेलाको कुरा हो । फ्यान–फलोवरमाझ दिलीपको ‘अदा’ मात्रै होइन, यदाकदा दिलीप–केशराशि वा उनको बोली, हिँडाइको सिको उतार्ने भूत पनि सवार हुन्थ्यो नै । एकपटक माड्सापले कालिकास्थानमा खोलेको आफ्नो फोटो स्टुडियोमा ‘स्टाइलिस्ट’ फोटो खिचाउने हक्की कस्टमर उनै ध्रुवचन्द्र थिए, जसलाई माड्सापले कपाल लरक्क तल फर्काएको र साइडमा सिउँदो कोरिएको छनकमा श्यामश्वेत तस्बिर खिचिदिएका थिए— मानौं, यो सहरमा नयाँ दिलीप कुमारको भर्खरै प्रवेश भएको छ । अनि त्यो जुल्फी र अदामा खुसी हुँदै फेरि साइकलमा सहरमा निस्कन्थे ध्रुवचन्द्र ।

यसरी साइकल–प्रतिष्ठामा यो सहरमा रमेर–रमाएर हिँड्ने अर्को कवि मनको पात्र कोही थियो भने एक जना रोचक घिमिरे मात्रै थिए, जो उझिन्डे झोलामा नयाँ वा पुरानो ‘रचना’ पत्रिका लिएर सहरमा पाइडल मारिरहेका हुन्थे । मझौला साइकलको पाइडल मार्ने कुरामा एक प्रकारले ‘गौतम भर्सेज घिमिरे’ झैं थियो, ऊबेलाको समय । तर रोचकको भने ब्रिटिस रेले कम्पनीको गियरयुक्त मझौला साइकल थियो, विशेष सानपट्टि झल्किने खालको । कहिलेकाहीँ अरुलाई सान देखाउने हेतुमा ध्रुवचन्द्र रोचकको साइकल सापटीमा मागेर पनि कुदाइहाल्थे ।

‘एब्स्ट्रयाक्ट चिन्तन : साइकल’

यसरी हुँदाखाँदाको साइकल एकाएक हराएपछि साइकलमा जोडिएका अनेक किस्साहरू पनि यादमा उनिएर आउने नै भए । एकताका भारतीय प्रखर लेखक सर्वेश्वर दयाल सक्सेना काठमाडौं आएका थिए । ध्रुवचन्द्रको छिटपुट कवि चिनारी छाइसकेको थियो, भूपी शेरचनसहितको संगतले पनि यो चिनारी बढाउनमा मद्दत गरेको थियो । उही साइकल लिएर ध्रुवचन्द्र बागबजारको होटल कोरोनेसन पुगे, जहाँ कवि सक्सेना बसेका थिए । अनि, भर्खरै ‘रूपरेखा’ मा छापिएको आफ्नो कविता ‘रानीपोखरीको किनारमा’ सुनाए, तारन्तारको आफ्नै हिन्दी अनुवादसहित । ‘कवितामा यो सांस्कृतिक नगरीको इतिहास लुकेको छ, लेख्न नछाड्नुहोला’ भनेर कवि सक्सेनाले उक्साएपछि ध्रुवचन्द्रभित्रको कवि–चेत एकपटक हौसिएको थियो, बौरिएको थियो ।

यसअघि उनको ‘बालुवामाथि’ उपन्यास गर्भाधानमै थियो । ‘रूपरेखा’, ‘रचना’, ‘कलाकार’ जस्ता पत्रिकामा कथाहरू छापिने क्रममै थिए । यही रनाहामा कवि ध्रुवचन्द्रले आफ्ना भएभरका, झन्डै २ दर्जन कविताको हाते संग्रह बनाए । र, त्यो लिएर मदन पुरस्कार गुठीका प्रमुख कमल दीक्षितलाई भेट्न पाटनढोका पुगे । किनभने भर्खरै गुठीबाट कुमार नेपालको कवितासंग्रह (भत्केको पर्खाल) आएको थियो । त्यही थाहा पाएर कविता .संग्रह छपाइमाग्न उनी क.दी.सामु पुगेका थिए— उही साइकल लिएर । भर्खरको उम्दा कवि, अस्तित्ववाद/यथार्थवाद आदिबारे थोरबहुत कुरासमेत बुझेको कवि । क.दी.लाई यी ‘वाद’ हरू राम्ररी सम्झाएर ध्रुवचन्द्र फर्किए, त्यो पाण्डुलिपि त्यहीं छाडेर । यत्तिका वर्षपछि बल्लतल्ल थाहा भएको छ— ध्रुवचन्द्रको त्यो कविता पाण्डुलिपि ‘हेङ्गरमाथि झुन्डिएको आकाश’ मदन पुरस्कार पुस्तकालयमा दर्तामा देखिन्छ । तर, पाण्डुलिपि भने जीवितै छ/छैन— फेरि सोधपुछ गर्नैपर्ने हुन्छ ।

उसो त भन्नैपर्ने हुन्छ, यो साइकल कथानकका ‘प्रोटागोनिस्ट’ ध्रुवचन्द्र अलिक ‘होसप्रसाद’ टाइपका पनि छन् । लाउन–खानमा खासै सोख नराख्ने । कतिसम्म भने हातको घडी हराइजाला भन्ने भयले बरु घडी कहिल्यै बाँध्नै नचाहने । यसो बाटोमा हिँड्दा कसैलाई समय सोधेमा पुगिहाल्थ्यो । अथवा, साइकलमा पाइडल मारिरहेकै बेला आकाशको घाम हेरे भैहाल्छ, समय अड्कल मार्नु न हो ! किन गहनाजस्तो सोखमा बेरिएर हिँड्ने ? अचम्मको उत्तरआधुनिक सोच थियो त्यहीबेला । साहिर लुधियानवीले कुनै फिल्ममा लेखेको गीतजस्तै— ‘रहनेको घर नहीं है, सारा जहाँ हमारा’ टाइपको सोच ।

एक दिन हतारिँदै उही साइकलमा रफ्तारको पाइडल मार्दै उनी त्रि–चन्द्र आइपुगे । सरासर कक्षामा पुगे र, बिन्दास बनेर सधैंझैं पढाउन थाले । पढाइरहेकै थिए, सामुका सारा विद्यार्थी मुसुमुसु मुद्रामा उनले देखे । कुरा के रहेछ भने उनको सर्टको एकातर्फको काखीमुखी पूरै उध्रिएको रहेछ । भित्र सेन्डो गन्जी मात्रै थियो । त्यो रमिता देखेर विद्यार्थी मुस्काएको थाहा पाएर झन्डै सर्मालु मुद्रामा उनी कक्षाबाट निस्केका रहेछन् । रफटफ, बिन्दास, रम्ता–जोगी ? जे भन्नुस् । चल्ता है... । अनि उही मझौला साइकल लिएर थोरै लज्जित बनेर र धेरै हतारमै बाटा लागेछन् ।

फेरि ध्रुवचन्द्रबारेका किस्सा अनेक बन्थे, साइकलबाहेक पनि । सरकारी क्याम्पसमा पढाउने भएपछि कहिलेकाहीं सरकारी कार्यक्रम, दिवस आदिमा दौरा–सुरुवाल लाएरै जानुपर्थ्यो । त्रि–चन्द्रमै भएको हुनुपर्छ एउटा दिवस, जहाँ उनी राष्ट्रिय ड्रेस लगाएर गएका थिए । क्याम्पसको एकातर्फ रूखबिरुवा, झारलहरा प्रशस्तै थिए । त्यही साँगुरो कुनोबाट अघि बढिरहेकै बेला उनको ढाकाटोपी भने माथि कुनै होचो रूखको हाँगा वा लहरामा अड्किएछ, ७–१० पाइला अघि बढेर मात्रै उनले चाल पाएछन् । र, फर्केर फेरि टोपी तानेर लगाउँदै समारोहमा गएछन् ।

तर, किस्सा कस्तो फैलिदिन्छ भने त्यसबेला बादेपा (बालमुकुन्ददेव पाण्डे) सहित केहीले ध्रुवचन्द्रको ढाकाटोपी छिनभरलाई रूखको हाँगामा अड्केको थाहा पाएका रहेछन् । हल्ला कतिसम्म फैलिएछ भने ‘ध्रुवचन्द्रले टाउकोको टोपी कतै अड्किएको (छाडिएको) थाहै पाएनछ । पूरै कलेजको काम सकेर, कक्षा पढाइसकेर बेलुका घर फिर्ने बेलामा मात्रै हाँगामा झुन्डिएको टोपी देखेर लगाउँदै साइकलमा बत्तिएरै चाबहिल डेरा पुगेछ... ।’

संयोग कस्तो छ भने ध्रुवचन्द्रको पछिल्लो उपन्यास ‘चकमन्नमा एकान्त’ को सुरुआती लाइनमा लेखिएको छ— ‘निद्राबाट बिउँझनासाथ म अलमलमा पर्छु । यो अलमल आजको होइन, जीवनको थालनीदेखि नै हो ।’ यस्तै छन्— ध्रुवचन्द्रसँगका अनन्त किस्साहरू, जुन एकाएक आज टुँसाएका होइनन्, उनी ध्रुवचन्द्र गौतमको चोला लिएर यो धर्तीमा आएदेखिकै हुन् ।

क्राइसिस अफ आइडेन्टिटी’

आजको विज्ञानले पनि भेउ पाउन नसकेको कुरो हो— झुक्किँदो पहिचान ।

एक जुगमा ध्रुव्रचन्द्र वीरगन्ज छँदै रुप, उमेर र प्रतिभाले खुबै चिनिएकी थिइन्— प्रेमा शाह । ‘पहेंलो गुलाफ’ कथाको साहित्यिक स्वजनमाझ चर्चा चर्कै थियो । प्रेमाको रुपरंग र अदाको चर्को फ्यान बनेका थिए— क्याप्टेन जनकबहादुर राणा र ध्रुवचन्द्र गौतम । तर, दुर्भाग्य भनौं— वीरगन्ज क्याम्पस वरपर निकै तन्मयपूर्वक रमिता हेर्न जानेमध्येका गौतम भने वर्षौं वर्षसम्म अर्कै रुपवती ‘प्रेमकुमारी’ लाई हेरेर र पछ्याएर दंगिएका रहेछन् । यो कुरा त्यसबेला थाहा भयो जब काठमाडौं आएर मात्रै एकदिन एउटा कविता गोष्ठीमा ध्रुवचन्द्रले असली प्रेमा शाहलाई चिन्न पाएका थिए ।

तत्कालीन मन्त्री शैलेन्द्रकुमार उपाध्यायले आफ्नै मानभवन निवासमा २०२२ को कुनै ठण्डी महिनामा आयोजना गरेको कवि गोष्ठीमा मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठसहितका कविजन पुगेका थिए । ‘के सारो सर्माउनुभएको ध्रुवचन्द्रजी, अगाडि आउनुहोस् न’ भनेर उनै प्रेमाले बोलाएपछि मात्रै ध्रुवचन्द्रको सातो फिरेझैं भएको थियो, गुमेको पहिचान फर्किएजस्तै भएर ।

उसो त नाम–बदनाम अथवा ख्याती–कुख्याती एकअर्काका पूरकझैं हुन् । नाम र ख्याती कमाउन महिनौं वा वर्षौं लाग्न सक्छ । तर, बदनाम–कुख्याती छिनभरमै आइलाग्छ, यो फैलिहाल्छ पनि । त्रिचन्द्रमै पढाइरहेका बेला र उम्दा कविको पहिचान बन्दै गरेका बेला वेद विद्याश्रमको छात्रवृत्ति पाउनेको सूची गोरखापत्रमा निस्किएछ । त्यसको पहिलो नम्बरमा नाम उही थियो— ध्रुवचन्द्र गौतम । अनि के चाहियो र ? कहिले कवि जमघट त कहिले क्याम्पसका गुरुजनका माझ तिखो वचन सुनिन थालेको थियो— ‘ओहो, ध्रुवचन्द्रले त संस्कृत पनि छाडेनछ, कस्तो अपहत्ते होला...।’

१८ वर्षको उमेरमा ध्रुवचन्द्र गौतम

मनको बह कसैलाई नकह । अब यो ‘संस्कृत पण्डितधारी ध्रुवचन्द्र गौतम म होइन’ भनेर स्पष्टीकरण कहींकतै दिनै नपार्इं हल्लाको आगो चौतर्फी फैलिसकेको थियो, त्यो आगो आफैं कुनैदिन निभ्ला भनेर पर्खनेबाहेक अरु उपाय पनि थिएन । त्यो आगो त्यसरी नै निभ्यो पनि, लामो पर्खाइपछि ।

एक जमानामा ध्रुवचन्द्रसँग अनुहार उस्तै र उही देख्ने एउटा पात्र कसैले भेटाइदिएको थियो, ती पात्र पूरै कपी–क्याट थिए । तिनी आरएनएसीमा अधिकृत रहेछन् । एकअर्कालाई भेटेर र हेराहेर गरेर ती दुवै अचम्मित भएका थिए । ध्रुवचन्द्रलाई लालु यादवको चेहरामा तुलना गर्नेहरू त कति छन् कति । तर, अहिले गर्न लागेको कुराको ‘इसेन्स’ अलग्गै छ ।

कस्तो भने, २०२२ वैशाखमा ध्रुवचन्द्रको एउटा कथा छापिएको थियो, ‘रूपरेखा’ पत्रिकामा— ‘पहिलो प्रेमको संस्मरण’ शीर्षकमा । एउटी शोडषी–रूपवती केटी थिइन्, ललिता नामकी । दुईबीच दोहोरो र गहिरो प्रेम नरहे पनि अरूले सुनाएका, उडाएका र जिस्क्याएका किस्साहरूमाझ केटाको एकतर्फी प्रेम गढेको थियो । एकाएक एक दिन केटी अलप भई । सुनियो— ऊ राजविराजमा बसेकी छे । त्यो प्रेमी पात्रले शब्दकोशमा भएका मिठा र सुकोमल शब्द भरेर लम्बेतान प्रेमपत्र पनि पठायो । अनि, सुखद जवाफ आउने आस गरिबस्यो । तर, अन्त्यमा थाहा भयो— ललिता नाम गरेकी त्यस्ती केटी राजविराजमा कोही छैन, कतै छैन ।

यसरी प्रेम–काण्ड ‘ब्लफ’ मा परेजस्तै कथा यो साइकलसँग पनि छ । आखिर ध्रुवचन्द्रको साइकल हराएकै थिएन भने त्यो साइकल हराउने र एकतमासले हल्ला फिजिने त्यो ध्रुवचन्द्र को थियो ?

यसरी ध्रुवचन्द्रले ५० वर्षअघिका यी सबै कुराहरू भुल्नै लागेका के थिए, पुस महिनाको एउटा चिसो बिहानीले फेरि धेरै कुरा ब्युँताउने काम गर्‍यो । त्यो दिनैभर ध्रुवचन्द्रका नाममा हत्तपत्त नआउने फोनहरू पनि आइरहे, ‘हाउन्टिङ मेमोरी’ लिएर । आश्चर्य, उनलाई एकाबिहानैबाट फोनको धुइरो लाग्यो— कोरोना कहरकै माझ । उहिले त्रि–चन्द्र छँदैका अंग्रेजीका प्रोफेसर केदारभक्त माथेमा सरदेखि थुप्रै कवि–लेखक–कलाकारका फोन तारन्तार पाइरहे । धेरैजसोले हालचाल सोधे, कतिपयले मनोबल उच्च राख्नेबारेका ‘सत्ज्ञान’ सुनाइरहे । ‘त्यसै फोन गरेको, हजुरसँग कुरा गर्न मन लागेर गरेको नि’ पनि भन्थे कतिपयले ।

त्यही फोनको लर्कोमा अर्का शुभेच्छुक पुरुषोत्तम बस्नेतको पालो थियो । बरु उनले पो सुनाए— ध्रुवचन्द्रलाई कोरोना भएकोबारे । ‘ए दाइ, ध्रुवचन्द्र गौतमलाई कोरोना भएको भनेर कहीँ–कतै अनलाइनमा समाचार आएको छ । तर, फोटो भने अर्कैको परेछ...’, पुरुषोत्तमले त्यो दिनैभर आएका फोनको रहस्य टुंग्याउँदै सुनाएका थिए । ओहो, यसकारण अहिले पनि पक्कै छ त्यो (अर्को) ध्रुवचन्द्र गौतम, ऊ यही सहरमा मौजुदा हुनैपर्छ ।

यसरी धेरैपछि थाहा भएको छ— यो सहरमा दुई जना ध्रुवचन्द्र गौतम रहेछन् । एक जना शंकरदेवतिर वाणिज्यका विद्यार्थी, अर्का त्रिचन्द्रमा नेपालीका गुरुजी । ऊ जमानामा दुवै ध्रुवचन्द्रको हिरो साइकल रहेछ, उही मझौला मार्काको । फेरि यो सत्य कथामा कत्रो दुःखान्त संयोग छ भने बरमजियाका ‘उही बाजेको उही पेडा’ भनेजस्तै भैदिएको छ यो नाम । आश्चर्य ! यी दुई ध्रुवचन्द्रको अहिलेसम्म एकअर्कासँग भेट हुन सकेको रहेनछ— धर्ती एउटै, आकाश उही भए पनि ।

र, यतिका वर्षपछि यो रहस्यमयी चोरी काण्डका बारे भन्नैपर्छ— त्यो चोरिएको साइकल आज हामीले चिनेका ‘अलिखित’ ध्रुवचन्द्रको थिएन । स्वभावतः रोमान्टिक शिक्षक, सुषुप्त–कवि, उम्दा–लेखक र तिखो ‘सुसेलीविद्’ भएकै आधारमा चोरिएको साइकलमा ‘निमित्त नायक’ ध्रुवचन्द्रको नाम हठात जोडिएको थियो । उसोभए शंकर लामिछानेलाई चोरीको बात लगाएर हराइजाने ‘कुमुदुनी’ जस्तै को हुन् त अर्का ध्रुवचन्द्र गौतम ?

यसरी यो साइकल चोरीको इतिहास कुनै ‘कथाकरण’ (फेबुलेसन) मात्रै पक्कै होइन । बरु एक (अज्ञात) ध्रुवचन्द्रले अर्को (ज्ञात) ध्रुवचन्द्रलाई वर्षौंवर्षदेखि सताइरहेको, झस्काइरहेको र बहकाइरहेको तिलस्मीझैं लाग्ने यथार्थ–कथा हो यो । यसकारण यसपालि भने आजितै भएर एउटा सार्वजनिक आह्वानसमेत गरिएको छ— ‘मेड इन वीरगन्ज’ ध्रुवचन्द्र गौतमसँगको सहमतिमै ।

‘ए, परं अज्ञात ध्रुवचन्द्र गौतमजी ! एकपटक साँच्चैका जानेमाने ध्रुवचन्द्र गौतमलाई भेट्न आइदिनोस् न है । हामी महाराजगन्ज, चक्रपथको चाइना भ्यालीमा आउने शनिबार अपराह्न पर्खिरहेका हुनेछौं । आउनुहोला है... ।’

सधन्यवाद ।

प्रकाशित : पुस २५, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?