कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मान्छे–नदी

हिमाल बग्छ उँधो–उँधो हिमनदी बनेर
पहाड बग्छ उसै उँधो छङ्छङ् छहरा भएर
मान्छे पनि बग्दो रहेछ
सुस्तरी–सुस्तरी नदी भएर
मान्छे नदी
गाउँ तन्कँदै सहरतिर बग्छ
अनि सहर पनि बग्छ
एक समय वल्लो किनार, पल्लो किनार
मिलन हुने अभिलाषाका साथ
आधा उतै, यतायतै भंगालोमा बाँडिएर निरन्तर

मान्छे–नदी

बग्नु त हिजो पनि बगेकै हो मान्छे

गौरवशाली इतिहास पनि कोरेकै हो,

बग्दै–बग्दै हिँडेका मान्छे

शिलापत्रमा पढिएकै हुन् गौरवगाथा

आज मात्र आफू बग्दै–बग्दै गएका छैनन्

स्वयं नदीमा नै अनुदित छ मान्छे

पोखरी जम्नुजस्तै,

मान्छे नदी बग्नुजस्तै बान्की मिलाई परिभाषित छ

नदीको धर्म बग्नु हो, बगिरहन्छ भनिरहँदा

मान्छेको धर्म बग्नु हो या जम्नु ?

सागर उठेर जाँदैन रहेछ नदीलाई भेट्न

ठोकिँदै, बजि्रँदै, पिल्सिँदै, भाचिँदै नदी नै पुग्नु रहेछ सागरमा

किनारका हरिया बोटवृक्ष छाड्दै

मात्र नागबेली नदी बग्नुजस्तो होइन रहेछ जीवन–नदी बग्नु

मान्छे नदी बग्दासाग साथ नछाडी

बगाई जाँदो रहेछ उसैसँग यावत् सम्भावनाहरु

एकपछि अर्को झरी मिसिँदा,

चर्किएको नदी गर्जनजस्तो पनि होइन

मान्छे नदी सुसेल्दा

आवाजविहीन सुसेली ऊभित्र दबिएर हराउनुपर्छ

मान्छे नदी बगिरहँदा

एकपछि अर्को गल्छेडा पार गर्दै

धारले काट्दै बग्नुपर्छ पहाडका जरा

नयाँ चोटले पुरानो दुःख बिर्संदै

निश्चय नै नदीले पनि जँघार तर्नुपर्दो रहेछ/तरिरहेछ

नदीछेउको ढुंगे बगर पानीको सिमाना बनी लमतन्न रहँदा

मान्छे नदी भने फैलावट सीमाहीन बग्दो रहेछ

बग्नुको तात्पर्यमा स्वतन्त्र हुनु मात्र पनि होइन

भन्दै–भन्दै,

मान्छे नदी रुपान्तरित छ

दौडिएकालाई हिँड्नेले कसरी भेट्नु भन्दै

भेट्नकै लागि दौड पनि होइन बग्नु

बग्नु असन्तोष,

बग्नु हृदयको तृष्णा

बग्नु महासम्पन्नताको चेष्टा पनि हुँदै होइन भने,

निष्ठासाथ मान्छे भेल बन्दै बग्नुको जवाफदेही को ?

तै, नदी बगिदिएको छ र

खडेरीले रापिएको जमिन सिँचिएको छ,

हराभरा छन् भोका खेतका गह्राहरू

नदी बगिदिएको छ र त,

पलेँटी कसेर

बात मार्दै बसेका छन् जाज्वल्यमा निष्पट्ट अँधेरी रातहरु

एक रारा जम्न चाहँदो हो शुभ्र, शान्त, सुन्दरतामा

एक हिमाल उभिन चाहँदो हो उच्च गर्भानुभूतिमा

तर, मान्छे बग्ने नदीमा अनुदित छ

नदीको धर्म बग्नुमा, जीवन सार्थकता खोज्दै विवश बगिरहेछ ।

नदी जति पानी बगी जाओस्,

मुहानसँगको नाता चटक्क त्याग्न सक्दैन

मूलसँग नाल काटिएको दिन

अस्तित्वविहीन बर्खे भेलको खहरे बनेर रहन्छ

नदी, नदी रहन्न

मान्छे, मान्छे रहन्न

सागरबाट नदी आफ्नो मुहानमा फर्किन नसकेजस्तो

कति–कति मान्छे नदीहरू विवशतः अल्मलिइरहेछन्

खोज्दै तरंगित छालका भीडहरूमा

आफ्नो पूर्ण पहिचानसहितको मुहार

हिजो पुर्खालाई बगाउँदै–बगाउँदै

फिजी, बर्मातिर पुर्‍याई छाडेजस्तो

आज फेरि

कसले कोरिरहेछ बगी जाने मान्छे नदीको बाटो ?

प्रकाशित : पुस १८, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?