आन्दोलनका आँधीबेहरीहरूमा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनका आँधीबेहरीहरूमा

मेरा चारैतिरका भित्ता लडेका थिए, न त अडेसिने ठाउँ थियो । बरु, उभिएको भुइँ नै कम्पित भइरहेको थियो । त्यस्तो बेला आन्दोलनका आँधीबेहरीहरूमा कुद्नु सजिलो थिएन ।
कुन्ता शर्मा

विसं २०२१ सालमा मैले कलेज प्रवेश गरेँ । त्यतिबेला भर्खरभर्खर धरानमा महेन्द्र कलेज स्थापना भएको थियो । त्यो समयमा केटीहरू कलेज पुग्नु असम्भवप्रायः थियो । त्यो पनि तल्लो फुस्रेमा बस्ने ब्राह्मण परिवारका छोरीहरू ∕ हामी बस्ने अमरपथ धरानको मुख्य बजारबाट धेरै टाढा नभए पनि निकै पिछडिएको थियो । माध्यमिक कक्षा टेक्दा–नटेक्दै केटीहरूको झ्याइँकुटी भइसक्थ्यो । एकाध वर्षमै बच्चा च्यापेर माइत आउँथे । गाउँका महिलाहरू मलाई खिस्याउँदै भन्थे, ‘कुन्ता, तिमी त बूढीकन्या हुन लाग्यौ ।’

त्यसबेला कलेजमा ठूलाठूला जुलुससहितका उत्तेजक नाराहरू गगनभेदी स्वरमा लगाइन्थे । पिस्करकाण्ड, सुस्ता अतिक्रमण, भारतीय थिचोमिचो, असमान सन्धिसम्झौता, १९५० को सन्धि अनि सुगौली सन्धिमा गुमेका भूमि फिर्ता लिनेलगायतका जल्दाबल्दा मुद्दाहरू उठाइन्थे । युवावस्थाले जोसमा रगत उम्लिएझैं हुन्थ्यो । धेरैपटक त प्रशासन र जुलुसको मुठभेडको स्थिति आउँथ्यो । एकपटक विद्यार्थीको कार्यक्रम रोक्न आएका डीएसपीलगायत प्रहरीहरूको जत्थालाई खेदाउँदा उनीहरू खहरेखहरे भाग्न बाध्य भएका थिए । त्यही कार्यक्रमबाटै प्रहरी प्रशासनले फुस्रे ब्यारेकबाट सेनासमेत परिचालन गर्नुपरेको थियो । त्यही समयदेखि नै म राजनीतिमा तानिएको हुँ ।

२०२१ सालको स्ववियुको निर्वाचनमा परिवारको दबाबमा दर्ता गरिसकेको उम्मेदवारी फिर्ता लिन बाध्य भएँ म । अर्का उम्मेदवार केही महिनाले मात्र जेठा थिए । फरक यति थियो, उनी भालेजातिका थिए । यसैबाट पनि मनभित्र आन्दोलनमा संलग्न हुने इच्छा झ्यांगिँदै गयो ।

त्यो समयमा खुला आन्दोलनमा लाग्ने महिलाहरूको संख्या न्यून हुन्थ्यो । साहित्यिक कार्यक्रममा कवितावाचन गर्ने महिला म मात्रै हुँदा निकै असहज लाग्थ्यो । तत्कालीन सरकारले मुठभेडको नाममा मालेका ऋषिराज देवकोटा आजाद, रत्नकुमार बान्तवा, हरि नेपाल र नेकाका कप्तान यज्ञबहादुर थापा, रामलक्ष्मण आदि कतिपय मानिसहरूको हत्या भएको खबर थाहा पाइन्थ्यो । यस्तो त्रासयुक्त वातावरणमा महिला त के, सामान्य साहसी पुरुषसमेत राजनीतिमा लाग्न सक्ने समय थिएन ।

म माले पार्टीको सञ्चालनमा भएका सबैखाले खुला आन्दोलनको केन्द्रीय स्तरमा थिएँ । शिक्षक संगठन, मानव अधिकार संरक्षण मञ्च, अखिल नेपाल महिला संघ आदिले आह्वान गरेका आन्दोलनका सम्पूर्ण मोर्चामा अग्रभागमा बसेर काम गरेँ । प्रशासनको चरम दमनको त्रासले महिलाहरू मञ्चमा चढ्नसमेत डराउँथे । मञ्चमा चढ्ने त परै जाओस्, महिलाहरू कार्यक्रममा संलग्न हुनसमेत तयार हुन्नथे । त्यस्तो बेला मै अगाडि सर्नुपर्थ्यो ।

मेरो राजनीति र साहित्यिक पत्रिका प्रकाशनको काम समानान्तर रूपमा भइरहेको थियो । २०३० सालमा प्रकाशन सुरु गरेको ‘संकल्प’ पत्रिका कोअर्डिनेसन केन्द्रको मुखपत्रजस्तो थियो । ‘संकल्प’ नेताहरूको खोकिलामा लुकेर नेपालभरि पुग्थ्यो । यो पार्टी–संगठन विस्तार र जनचेतना निर्माणको एउटा भरपर्दो माध्यम बनेको थियो । म त्यस पत्रिकाको प्रधान–सम्पादक एवं प्रकाशक भएकाले पनि सरकारको आँखी हुँदै गएँ । पत्रिका प्रकाशन गरेकै कारण बारम्बार सीडीओ कार्यालयमा गएर सफाइ दिइरहनुपर्थ्यो ।

२०३४ सालमा धरान सरुवा भएर आएपछि परिस्थिति झनै जटिल भयो । जायज मागसहित शिक्षक संगठनले आन्दोलन आह्वान गर्‍यो । प्रारम्भमा आन्दोलनरत शिक्षकहरू प्रशासन आक्रामक भएपछि भने निष्क्रिय हुन थाले । अरू पछि हटे पनि म अग्रिम मोर्चामा बस्न बाध्य थिएँ । म पूर्वाञ्चलका विरोध कार्यक्रममा मात्र होइन, काठमाडौँमा समेत भाग लिन पुग्थेँ । मैले सयौँ ठाउँमा भाषण पनि गरेँ त्यतिबेला । आन्दोलनमा अत्यन्तै सक्रिय भएकाले स्थानीय प्रशासन मप्रति झनै कठोर भयो । अमरपथको घरभन्दा छाताचोकको माइतीघर मेरानिम्ति बढी सजिलो र सुरक्षित थियो । त्यहाँ पनि प्रशासनले चौबीसै घण्टा मेरो खुफियागिरी छोडेन । घरसामुन्नेको सुनसरी होटलको माथिल्लो तलामा सादा पोसाकको एउटा प्रहरी सधैं तैनाथ हुन्थ्यो ।

निजामती कर्मचारीसरहको सुविधा माग राखेर शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए । तर, सरकार मौन थियो । सरकारले शिक्षकको मागलाई सम्बोधन गरेन बरु फुटको रणनीति अख्तियार गर्‍यो । केही गद्दार शिक्षकलाई साथमा लिएर सरकारी शिक्षक संघको स्थापना गर्‍यो । यसबाट आत्मरक्षाको भावना भएका केही शिक्षक निष्क्रिय भए भने केही शिक्षक संघ नामधारी कठपुतली संघतिर लागे ।

शिक्षक आन्दोलन सुस्ताउँदै थियो एकातिर । अर्कोतिर म मानसिक र आर्थिक रूपमा निकै रुग्ण थिएँ । चरित्रहीनको आरोप खेप्दै कलिला छोराहरूको लालनपालनमा थिएँ । वर्षदिनको कान्छो छोरालाई ‘मेरो छोरा होइन’ भनेर मेरा पतिदेवले गरेको राष्ट्रव्यापी अर्नगल प्रचारलाई असत्य साबित गर्नु थियो । कलिलो बालकको अधिकार स्थापित गराउनु थियो । आठवर्षे जेठो छोरा सृजन मबाट खोसिएको थियो । मैले उसलाई भेट्न त के अनुहारसमेत हेर्न पाउँदिन थिएँ । भेट्न नदिएर यन्त्रणा दिने मात्र होइन, छोरालाई मेराबारेमा तथानाम अश्लील गालीगलौज गराएको थाहा पाउँदा रगतको आँसु पिउँथेँ । आमरूपमा एउटी आन्दोलनकारी महिलाले भोग्ने समस्याभन्दा पनि मेरा समस्या र भोगाइहरू अझ कष्टकर थिए । मेरा चारैतिरका भित्ता लडेका थिए, न त अडेसिने ठाउँ थियो । बरु, उभिएको भुइँ नै कम्पित भइरहेको थियो । त्यस्तो बेला आन्दोलनका आँधीबेहरीहरूमा कुद्नु सजिलो थिएन ।

एकातिर महिनौं तलब रोक्का हुन्थ्यो भने माहिलो छोराको जटिल स्वास्थ्यले गर्दा घरीघरी सिलिगुडी कुदाइरहनुपर्थ्यो । त्यसमाथि मौनाबुधुकको अपायक सरुवाले झनै समस्याग्रस्त भएँ । जिल्ला धनकुटा नै भए तापनि त्यतिखेर मौनाबुधुक एकादेश थियो । आमा र शुभेच्छुकहरूले मलाई जागिर छाड्ने सल्लाह दिन्थे । लोग्ने शत्रु, सरकार शत्रु, घरमा ससाना छोराहरू, ज्यान माया मारेर जागिर नखानू भन्ने उनीहरूको भनाइ थियो ।

तर, मैले सरुवाको चुनौती स्विकारेँ । मैले जागिर छाड्नु भनेको संगठनले आन्दोलनको प्रतिबद्ध सहभागी शिक्षक गुमाउनु थियो । २०४२ सालको शिक्षक आन्दोलनको असफलतापश्चात् संगठन निकै कमजोर बनेको थियो । हामी एघार जना शिक्षक मात्र सदस्यता थामेर बसेका थियौँ ।

२०४२ मा सालमा प्रशासनको चरित्र अत्यन्तै दमनकारी हुँदै गएको थियो । एक दिन पब्लिक हाइस्कुलको गल्लीमा बन्दुक ताकेको प्रहरी पोजिसनमा उभिएको थियो । त्यताबाट उम्किएर विष्णु खनाल र म बेतोड छाताचोकतिर कुद्यौं । पछाडिबाट प्रहरीले ताकेर हानेको गोली मेरो दाहिने कानको छेवैबाट सनसनाएर गयो । त्यसबेलाको शिक्षक आन्दोलनको जोसमा मलाई यसबारे थाहा भएन । त्यो गोलीले टेलिफोनको तार चुडाएको थाहा पाएपछि भने अलिकतिले मरिएन छ भनेर म झसंग भएँ । त्यसबेला छाताचोकमा भएको गोली र गुलेलीको भयानक युद्ध अहिले पनि मेरो स्मृतिमा ताजै छ ।

राजनीति गर्ने महिलालाई पारिवारिक सहयोग पटक्कै नहुने कुराको भुक्तभोगी हुँ म । त्यहाँ लाभभन्दा बढी चुनौती थियो– बलिदान र साहसको । त्यहाँ सुख होइन, दुःखैदुःख थियो । घरधन्दा भ्याएर बाबुसाहेबहरूलाई खुसी पारेर, पुलिसको डन्डा खान जानुपर्ने समय थियो । कलिला बालकहरू च्याप्दै पुलिसको खेदाइमा पर्नुपर्ने बेला थियो । गर्भावस्थामा ज्यानको माया मारेर काँडेतार नाघ्दै भागेको हिजैझैं लाग्छ । अहिलेजस्तो झन्डा फहराउँदै, फूलको बुके बोकेर शानपूर्वक तुल समाएर हिँड्ने समय थिएन ।

एकातिर प्रशासन त अर्कोतिर घरमा पतिको त्रासको सामना ∕ आदेश शिरोपर नगरे घुस्सा–लात खाइने डर ∕ पतिदेवको (सायद सबैका पतिहरूको) आज्ञा हुन्थ्यो– ‘...पार्टीलाई बढी समय देऊ । तिम्रो सक्रियता पुगेन भन्ने गुनासो आइरहेको छ मलाई ।’

अनि, पतिदेवका लागि राजनीतिक सक्रियताको मोटर अझ तीव्र्रतापूर्वक गुडाउनुपर्थ्यो । महिलाको शरीर त साँच्चै यन्त्रजस्तो हुँदोरहेछ– एक छिन नसुस्ताईकन चल्ने । सेलाउन पनि नपर्ने । सायद एकादुई प्रतिशतलाई छाडेर सबै महिला नथाक्ने यन्त्र हुन् । केही दिनपछि पतिदेवको आदेश अर्कै हुन्थ्यो, ‘...अलि होस गरेर काम गर । प्रशासन आक्रामक हुँदै गएको छ । तिमी पक्राउ पर्‍यौ भने अरू त त्यस्तै हो, म बच्चाहरू स्याहार्न सक्तिनँ ।’

मलाई तीव्र बोध भयो– लोग्ने भन्ने पदले स्वास्नी आफूभन्दा हरेक हिसाबले सक्षम भए तापनि बाँदरझैँ नचाउन सक्दो रहेछ । त्यो समय म पगाहा लगाएको गाईजस्तो भएको थिएँ । घरको पीडादायक माहोलमा बच्चाले गर्दा मात्र मन अडिएको थियो । बाहिरबाट देख्दा जति सहनेजस्ती भए पनि मभित्र जल्दीबल्दी र विद्रोही महिला थिई । र, शारीरिक र मानसिक यन्त्रणा नसहनका लागि हुँकार गरिरहन्थी । म पतिदेवलाई बारम्बार भन्थेँ, ‘मेरो सबै सम्पत्ति लैजाऊ वा अर्को बिहे गर तर मलाई मुक्त गर ।’ मजस्तै हालतका हुन्थेँ त्यति बेलाका प्रायः महिला ।

अधिकांश पुरुषलाई श्रीमती आफूभन्दा अगाडि जाली भन्ने डर हुँदोरहेछ । राजनीति होस् वा अन्य क्षेत्रमा उनीहरू पत्नीलाई देहको छाया मात्र बनाउन खोज्दा रहेछन् । एकपल्ट शिक्षकको कार्यक्रममा पत्नीको भाषण राम्रो भएछ । मान्छेहरू झुम्मिएर उनलाई बधाई दिन लागे । पति अलि परतिर अँध्यारो अनुहार बनाएर उभिएका थिए । त्यो देखेर पत्नीले छक्क परेर सोधिन्, ‘के भयो ? सन्चो भएन ?’

‘तिमीले मलाई बेवास्ता गरेको ठीक लागेन । मैले बधाई दिन खोज्दा तिमी भने अरूहरूसँग नै व्यस्त भयौ । मेरो अवज्ञा गरेजस्तो लागेन तिमीलाई ?’

पत्नी अवाक रहिन् । अहिले प्रशासनको दमन त छैन, अवसरमा भने दह्रै विभेद देखिन्छ । लिंगको आधारमा जिम्मेवारी दिएका उदाहरण हामीसँग छन् । वर्तमानमा पनि महिलाले गतिलो जिम्मेबारी पाउन बाबु, प्रेमी वा पति गतिलो ठाउँमा हुनुपर्छ वा पतिको मृत्युपछि नगन्य महिलाले गतिलो भूमिका पाउने सम्भावना हुन्छ । नेपालमा मात्र होइन, दक्षिण एसियाकै राजनीतिमा यस्तो चिन्तन देखिएको छ ।

महिला नेतृत्वमा पुगेको आज पनि धेरै ठालूहरूलाई निको लाग्दैन । पितृसत्तात्मक सामन्तवादी समाज सदैव महिलाको खिलाफ हुन्छ । म त झन् डरलाग्दो खेदाइमा परेको मान्छे ∕ प्रजातन्त्र बहालीको लडाइँमा ज्यानको माया मारेर अग्रमोर्चामा बसेर लडेँ । मैले हात समातेर राजनीतिमा ल्याएकाहरूले यो वा बहानामा पछाडि पारे । मैले प्रतिनिधिसभा सदस्यको टिकट पाउन दस वर्ष पर्खनुपर्‍यो । बल्लतल्ल पाएको टिकट फिर्ता गराउनसमेत केही फटाहाहरू लागिपरे । केही त चुनाव हराउने प्रपञ्चमा पनि लागे । कार्यकर्ता पंक्तिबाट भएको अथक परिश्रम र जनताको अगाध स्नेहको कारण पार्टी विभाजन भएको बेला पनि म राम्रो मतान्तरले चुनाव जित्न सफल भएँ ।

चुनाव विजयपछिको यात्रा मेरा लागि सुखद र अनुकूल भएन । अत्याचार पटक्कै नसहने र प्रतिक्रिया दिइहाल्ने मेरो स्वभावले कतिपय दुईजोइले महामहिमहरू र तिनका दलालहरू मसँग आगो भएका थिए । म नाम मात्रको सांसद भएँ । मैले कार्यकर्ता र नेतृत्व दुवैतिरबाट उचित सहयोग पाइनँ । अवसरको कुरा त ‘आकाशको फल आँखा तरी मर्’ जस्तै भयो । नचाहिँदो अत्तो थापेर दुःख दिने काम गरियो । मेरो इतिहास, संघर्ष र इमानदारीलाई पूर्ण रूपमा अवमूल्यन गरियो । नातागोता, चाकडी–चाप्लुसी र गुटको दबदबा डरलाग्दो थियो । यसै पनि महिलाको स्थिति कमजोर पारिएको हुन्छ । त्यसमा राजनीति झनै जटिल विषय भयो । महिलाहरूलाई सत्तामा पुग्न आफ्नो क्षमता र प्रतिभा होइन पिता, पति वा पैसाको विद्युतीय भर्‍याङ प्राप्त भएको हुनुपर्छ । शिर निहुर्‍याउने, हात जोडिरहने र ओठमा खरो शब्द होइन, मन्दमन्द मुस्कानजडित महिलाहरूलाई नै रुचाउँछन् पितृसत्ताका ठेकेदारहरू । पुरुष नेताहरूको कृपापात्र हुन सके मात्र महिलाको उद्धार हुन्छ । अहिले पनि समयलाई चाबुक लगाउन सक्ने क्षमतावान् महिलाभन्दा कम्मर हल्लाएर छमछमाउने ‘कठपुतली’हरू नै रोजाइमा पर्छन् ।

पार्टी फुटेको निकै संवेदनशील र कठिन अवस्थामा २०५६ मा म प्रतिनिधिसभामा विजयी भएकी थिएँ । सुनसरी जिल्लाबाट एमालेका तर्फबाट चुनाव लड्ने भीम आचार्यलगायतका उम्मेदवारहरूमध्ये जित्ने म मात्रै थिएँ । म मात्रै भए पनि स्याबासी पाउनुको साटो आँखाको कसिंगर पो बन्न पुगेँ ∕ एकाध महिला नेतृत्व तहबाट काखी च्यापिन्थे र उनीहरू नै बारम्बारका अवसरको हकदार हुन्थे । मलाई पाखा लगाउने उद्देश्यले २०५६ पछिको संसदीय निर्वाचनमा मैले टिकट पाइनँ । त्यसपछि धरानको इतिहासमै नेकपा (एमाले) पहिलोचोटि पराजित हुन पुग्यो । सामान्यतया अघिल्लो चुनाव जितेको उम्मेदवारलाई पुनः टिकट दिने पार्टीको नीति हुन्छ । तर, मलाई टिकट त परै जाओस्, महामहिमहरूको मिठो बोलीसहितको बिदाइसम्म पाइनँ । यस्तो खाले उपेक्षा मलाई मात्र होइन, बोल्ने, विचार राख्ने, गलत काम–कुराको विरोध गर्ने, फटाहाविरुद्ध जेहाद छोड्न बाँकी नराख्ने सबै महिलालाई गरिन्छ ।

समय निकै बित्यो तर सोच उही छ । हालसम्म महिलाहरू खटाएकै भाग खान बाध्य छन् । उनीहरूको आत्मसम्मान कुण्ठित गरिन्छ । अहिले पनि धेरैजसो महिलाको योग्यता र क्षमताको सही मानेमा प्रयोग भएको छैन । तर म अझै पनि उमेरको यो उत्तरार्द्धमा हारेको, थाकेको, गलेको छैन । छिटोभन्दा छिटो घरको मात्र होइन, सत्ताको डाडुपन्यु महिलाहरूले लिने कुरामा विश्वस्त छु । म र मजस्ता प्रतिरोधी चेतना भएका महिलाहरू हारेका छैनौं । सबैले के थाहा पाउनु जरुरी छ भने चरम उत्कण्ठा र तीव्र प्रवाह बोकेको नदीले आफ्नो गन्तव्य प्राप्त गरेरै छाड्छ । नदी कस्तै चट्टानहरूबाट पनि रोकिँदैन, छेकिँदैन ।

प्रकाशित : पुस १८, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

चंखमानको डायरी

हेर्नुस् बाजे ! साहित्यमा मचैं सिर्जनशील अराजकतावादी । राजनीतिमा म सांस्कृतिक पहिचानवादी । दर्शनमा म पारस्परिक शून्यवादी । अर्थशास्त्रमा म कात्रोवादी । इतिहासमा म विकल्पवादी । तापनि म योभन्दा अरु केही हुँ, कोही हुँजस्तो लागिरहन्छ ।
हाङयुग अज्ञात

हिटलरको ग्यास च्याम्बरबाट भागेर जब म सुन्दरीजल पुगेँ, यौटा ख्याउटे दारीजुँगा फुलेको अग्लो मान्छे जेलको कुनामा कालो फ्रेम र बाक्लो लेन्सले केही पढ्दै र टिपोट टिप्दै बसिरहेको देखेँ । मनको घुर्‍यानमा कालो सुँगुरको बुच्चाले निस्केर भन्यो, ‘यही हो सुम्निमा लेख्ने मान्छे । यही हो हरेकको घरमा एउटा–एउटा दुहुनो गाई होस् भनेर सपना देख्ने मान्छे । पूर्वीय मिथकलाई पश्चिमसँग जोड्ने यही हो ।’

म नजिक भएँ । उसका अगाडि ‘भागवतगीता’, फ्रायडको ‘इन्टर प्रिटेसन अफ ड्रिम्स’, राहुल सांस्कृत्यायनको ‘भोल्गा से गंगातक’ र ‘चंखमानको डायरी’ जस्ता किताब थिए ।

मैले हठात् उसको ध्यान भंग गर्दै भनेँ, ‘कुङ्बा सोमदत्त ! प्रणाम गरेँ ।’ तर, किताबको दहमा कुङ्बा यति डुबेका थिए कि मैले धेरैचोटि अनेक नामले पुकार्दा पनि सुनेनन् । अन्तमा मैले मेरो मुटु नै धुकधुक हल्लिने गरी भनेँ, ‘हे महामानव !’ तब मात्रै दोषी चस्माको माथिल्लो कान्लाबाट कुहिरो लागेका दुई नयनले चियायो । मलाई ठिंग उभिएको देखेर भुइँमा बस्ने इसारा दियो । उसले किताबको पृष्ठ पट्यायो, ‘असुर एक बहुत ही सुसभ्य जाति थे,’ जहाँ म ठोक्किएँ, पछारिएँ, अडिएँ । र, उसले सेल्फ स्टार्ट नभइरहेको बाइकको ख्याँसख्याँसे आवाजमा ‘तिमी को हौ युवक ?’ भन्दा मात्रै हत्तपत्त सम्हालिएँ म ।

थाहा पाएँ कि सम्हालिनु एउटा सुन्दर क्रीडा हो । भीरबाट खसेर छाँगो सम्हालिन्छ दहमा, नीलो दहमा सेतो हुँदै सम्हालिन्छ छाँगो । कहिले त पानीका थोपाहरू इन्द्रेणी भएर सम्हालिन्छ छाँगो ।

सोचको यस्तो सपनाबाट ब्युँझेर मैले भनेँ, ‘म हिटलरको ग्यास च्याम्बरबाट भागेर आएको चंखमान हुँ । यहुदी भनेर झुक्किएछन् । हिटलरका सैनिक दासहरूले समातेर च्याम्बरमा खाँदे मलाई । जब बुरुरु ग्यास निस्किन थाल्यो ‘सावरहेड’ बाट म त्यहीँबाट छिरेर सिलिन्डरभित्र पुगेँ अनि ग्यास सकिएपछि सिलिन्डर उठाउन एउटा हरियो ट्रक आयो । त्यही ट्रक चढेर जंगलैजंगल भागेँ, चिसो नदी आयो । त्यै नदीमा हातखुट्टा फालेर हाम्फालेँ । मेरो छातीमा पानीले ठेलेको दाग अझै छ । र, यसरी बग्दैबग्दै म सुन्दरीजल आइपुगेँ ।’

‘तपाईं सोमदत्त कि यहुदी ?’ मैले प्रश्न गरेँ । उसको हेराइमा यहुदीपनले अलिअलि चियाइरहेको थियो । नत्र ऊ सोमदत्त नै हो । एउटा सांस्कृतिक फ्युजनको मिथक नै हो ऊ । उडेर कहीँ जाऊँ भन्दा थुप्रै आकाशहरू हेरेर फर्केको एउटा यायावरजस्तो ऊ ।

‘सुरुमा म यहुदी थिएँ । जरा कोट्याउँदै जाँदा म इजरायल पुगेँ । तर, मलाई पछि ज्ञान भयो म सोमदत्त नै रहेछु कोसीको किनारमा डुलिहिँड्ने । राजनीतिमा म समाजवादी, साहित्यमा म अराजकतावादी । नरेन्द्र पनि हो मेरो नाम । बुझ्यौ युवक ?’

म एकै छिन घोरिएँ । कोसीको बाक्लो जंगल । सालका रूखहरू । हप्हप् गर्मी । दिनको अपराह्न । एक हूल काला सुँगुरहरू जलकुम्भीका जराहरू उधिन्दै चरिरहेका । कोसी नदीको पानी च्याब्रुङको तालमा बगिरहेको, ‘बाख्राको छाला के : दिङ् दिङ् ! सर्लाइ स : सर्लाइ स : !’ घाँस स्याउला काट्नेहरूको गीत । बेलाबेला लुइँचेको भाले बासेको आवाज– ‘किक्किरी काँ ।’

तब मैले भनेँ, ‘हेर्नुस् बाजे ! साहित्यमा मचैं सिर्जनशील अराजकतावादी । राजनीतिमा म सांस्कृतिक पहिचानवादी । दर्शनमा म पारस्परिक शून्यवादी । अर्थशास्त्रमा म कात्रोवादी । इतिहासमा म विकल्पवादी । तापनि म योभन्दा अरू केही हुँ, कोही हुँजस्तो लागिरहन्छ ।’

बूढो सोमदत्तको पातलो ओठमा पन्यालो मुस्कान दगुर्‍यो । आफ्ना चस्मा खोलेर किताबमाथि राख्यो र भन्यो, ‘उपनिषद्का महावाक्यहरू त्यसै रचिएका होइनन् । म त तिमीलाई जस्तो पहिचानको संकट पर्नेबित्तिकै ‘अहम् ब्रह्मास्मि’ को मन्त्र जप्छु । निको भैहाल्छु । तर, हिजोआज अलि बिरामी छु । अब म बाँच्न चाहन्नँ । म बाँचेँ भने मैले खप्रको सदस्यता लिनुपर्ने हुन्छ ।’

‘हाउबाजे ! म पनि ता–गे–रा–नि–ङ्–वा–भू–मा–ङ्–ए सेवारो ! सेवारो ! भन्दै सृष्टिकालदेखि नै बाँचिआएको हुँ नि । शक्ति र सत्ता नभएर पो त । नत्र त म पनि मुन्धुम विश्वविद्यालय खोल्ने थिएँ । मुन्धुमशास्त्रलाई विश्वव्यापी बनाउने थिएँ । भागवतगीताजस्तै किताब रच्ने थिएँ । तर, गीताको साइड इफेक्टले विश्वमा अशान्ति मात्रै मच्चाइरहेको छ है । विचार चोगे,’ मैले भनेँ ।

सोमदत्तले हीराजस्ता आँखा पुछ्दै भन्यो, ‘मैले देखेको हिटलर गीता पढ्थेँ । धर्म र कर्तव्यका नाममा कृष्णले जस्तै हिटलरले पनि मान्छे मारे । यहुदीहरूले नाजीहरूमाथि गरेको अन्याय–अत्याचारबारे कसले बोल्ने ? कसले लेख्ने ? हिटलरलाई जन्माएको त यहुदीहरूले नै हो जसरी कृष्णलाई कौरवहरूले युद्धमा प्रेरित गरेका थिए । तब तिमी आफैं सोच त युवक ! कृष्णलाई भगवान् मान्नुपर्ने अनि हिटलरलाई चैं राक्षस ! त्यसकारण तिमीले भनेजस्तै गीतालाई नयाँ ढंगले व्याख्या गर्नु जरुरी छ ।’

म ब्लाङ्क भएँ, पूरै ब्लाङ्क । बुर्जुवा लेखकजस्तो लागेको थियो यी बाजे मलाई । तर, यिनी त प्रगतिशीलहरूभन्दा पनि प्रगतिशील रहेछन् सोच र लेखनमा । मान्छेको जीवनमा कति धेरै प्याराडक्सहरू हुन्छन्, विरोधाभास र विमतिहरू हुन्छन् । अहम् र आडम्बरहरू हुन्छन् । मलाई सुरुमै अलिकति रिसचैँ उठेकै हो । ‘कुङ्बा सोमदत्त’ भन्दाचैं नबोल्ने, हाम्रै चेली सुम्निमासँग लभ गरेका हैनन् यिनले ? ‘महामानव’ भन्दा मात्रै कान सुन्ने ! ‘राजतन्त्र र मेरो घाँटी एउटै हो’ पनि भनेका होइनन् यिनले ?

राजतन्त्रले सिल्टिम्बुर खाएपछि यिनीचैं किन बाँचिरहेका छन् ? यिनलाई बाँच्ने इच्छा छैन अरे, कारण बाँच्यो भने खप्रको पार्टीमा लाग्नुपर्छ अरे । बाँच्ने इच्छा कसलाई हुँदैन होला र ? तर, यिनको दुःखभन्दा उखु किसानहरूको दुःख कैयौं गुणा गह्रुंगो छ । भारतका किसानहरूले जस्तो नेपालका किसानहरूले आत्महत्या गर्न थाले भने ? यी बाजेले पनि आत्महत्या गर्दै ऐक्यबद्धता जनाउलान् ? सडकमा पलेटी कसेर ऐक्यबद्धता जनाउन त म पनि सक्छु । ठीक यतिबेला एउटा बूढो सुँगुरले सालको रूखमा ढाड दलेर लुतो कन्याइरहेको देखेँ । मनको घुर्‍यानमा अघिको कालो सुँगुरको बुच्चा फेरि उफ्रेर भाग्यो ।

मैले भने, ‘बाजे ! तपाईंको गिदीलाई छपनीमा छानौं कि सिलौटोमा पिनौं ? कस्तो एक्स्ट्रा अर्डिनरी गिदी छ तपाईंको ! पूरै हाडे ओखरको गिदीजस्तो । म तपाईंको यस्तो फ्यान हुन पुगेँ कि तपाईंको हरेक वाक्यमा मह चुहिएको पाउँछु । तपाईंको शब्द सुन्दा मेरो कानमा मह खन्याएजस्तो लाग्छ । आजसम्म तपाईंजस्तो ज्ञानले भरिएको महासागर देखेकै थिइनँ । तर, महामानव अलिकति बढ्ता भएन र ?’

‘डियर चंखमान ! म मानव हुँ । यही कुरो मैले भन्ने गर्थें यी जेलका भित्ताहरूलाई । मैले बाँचेको युगमा ईश्वरको मृत्युको डंका पिटिएको थियो । नित्सेले ईश्वरलाई मार्‍यो र ईश्वरको ठाउँमा सुपरम्यानहरूको जन्म हुन थाल्यो । नेपाली भर्सनमा मलाई सुपरम्यान बनाउन खोज्दा महामानवको प्रचार गरे । म मानव हुँ पृथ्वीका सात अर्ब मानवजस्तै । मन दुख्दा रुन्छु, खुसीमा हाँस्छु, फुरुंगै हुन्छ । खान्छु, हग्छु, सुत्छु, उठ्छु । म आममानव हुँ,’ सुकेको ओठलाई बेचैनीले भिजाउँदै सोमदत्त मेरै जगमा उभियो ।

मैले सोधेँ, ‘क्युबाको सिगार छ, तान्नुहुन्छ ?’

‘आगो उपलब्ध छैन यहाँ,’ उनले भने । मनको आगोले जलाए भैगो नि, मैले मनमनै भनेँ ।

कृष्णको पूजा गरेर विश्वमा शान्ति हुँदैन । पूजा अर्जुनको गर्नुपर्छ जसले युद्ध इंकार गरे, युद्धमा मर्ने शत्रु होइन, मान्छे हो भनेर वकालत गरे । कत्ति धेरै गर्लफ्रेन्ड थिए कृष्णका तर उनैको पूजापाठ भएपछि हाम्रो समाजले भगवान् हुनुका लागि धेरै गर्लफ्रेन्ड बनाउन जरुरी रहेछ भन्ने ट्याबु निर्माण गर्ने भो । सोह्र सय गोपिनीको वस्त्र हरण गर्ने कृष्णले एउटी द्रौपदीको वस्त्र हरण हुनुबाट किन जोगाए ? किनभने द्रौपदी त कृष्णकी बहिनी थिइन् नि त । एउटा अराजकतावादी लेखकको लिखितम यहीँ समाप्त हुन्छ ।

प्रकाशित : पुस १८, २०७७ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×