कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘महिला हिरो’ खोज्दै मझुवाबेंसी 

'नेपाललाई पछिल्लो ४० वर्षयता अध्ययनको केन्द्रमा राखिरहँदा र महिला साधकहरू योगमाया–दुर्गादेवीका बारेमा अरूको चासो रहिरहेको देख्दा मलाई इतिहासको यो पाटोमा अझै शोध गर्न सकिने विषय बाँकी रहेको जस्तो लाग्छ  ।'

उमेर हिसाबमा बारबरा निमरी अजिज ८० वर्ष लागिन् । तर, उनको निरन्तरको पत्रकारिता कर्म र मानवशास्त्रीय शोधखोज भने अझै तन्नेरीझैं छ । अमेरिकाको न्युयोर्कवासी अजिज ‘रेडियो ताहिर’ नामको वेबसाइट रेडियो पनि चलाउँछिन्, जहाँ बढीजसो अरबी जगत्‌का समस्या र सरोकारलाई उनी उठाउने गर्छिन् ।

‘महिला हिरो’ खोज्दै मझुवाबेंसी 

फुलब्राइट प्रोफेसरका रुपमा सन् २००७ देखि झन्डै २ वर्ष अल्जेरियामा प्राध्यापनमा खटिएकी उनी केही वर्ष त्रिभुवन विश्वविद्यालयको सिनाससम्बद्ध स्कलर पनि रहिन् ।

क्यानडाको ओन्टारियामा सन् १९४० मा जन्मेकी बारबराले युनिभसिर्टी अफ लन्डनबाट मानवशास्त्रमा पीएचडी गरेकी छन् । हालै काठमाडौंको मण्डला बुक्स प्वाइन्टबाट उनको ‘योगमाया एन्ड दुर्गादेवी : रेबेल वुमन अफ नेपाल’ शीर्षक पुस्तक प्रकाशित छ ।योगमाया र दुर्गादेवीजस्ता नेपाली महिला पात्रहरूको विद्रोही इतिहासमा उनको रुचिबारे देवेन्द्र भट्टराईले गरेको कुराकानी :

तपाईंले योगमाया र दुर्गादेवीजस्ता नेपाली महिला पात्रहरूको विद्रोही इतिहासमा किन रुचि राख्नुभएको हो ? यसमा मुख्य के कारण थियो ?

यसमा आफ्नै कारण र पृष्ठभूमि लुकेको छ । मेरो बाल्यकाल, प्राथमिक शिक्षाको चरण क्यानडा र बेलायतमा बितेको हो । म सानैदेखि आफ्ना पुस्तकमा समाजका हिरो (नायक) का बारेमा खोजी गरिरहेको हुन्थेँ, अचेतन मनमै त्यस्ता ‘हिरो’ पुरुष मात्रै भएकोमा अचम्मित पनि हुन्थेँ । स्कुलका पुस्तकदेखि बाहिरी मिडियासम्म पनि ‘पुरुष नायक’ हरू मात्रै भेटिन्थे । यो पुरुष–प्रधानताको स्थिति एसियन, अफ्रिकन र अरब समाज तथा त्यहाँको इतिहासमा अझ बढी पाइन्थ्यो, पाइन्छ । ठीक यही बेला, एसियन, अफ्रिकन र अरब जगत्‌मा महिला भनेको सधैं परनिर्भर र सीमान्तकृत झैं देखाइएको हुन्थ्यो । समाज निर्माणको इतिहासमा जोडिएका थुप्रै महिलाको योगदान र बलिदानी सधैं ओझेलमा हुन्थ्यो ।

निकै पछि सन् १९७० मा युरोपमा सुरु भएको नारीवादी अभियानले ‘महिला नायक’ (वुमन हिरो) लाई समेत बाहिरतिर ल्यायो, समाजका महिला नायक चिनाउन थाल्यो । अझै पनि युरोप बाहिरको जगत्मा महिलाहरू पीडित र प्रताडित रूपमै चिनिदै थिए । सन् १९९० को दशकमा संसारभर लैंगिकमैत्री गैरसरकारी संघ–संगठनहरूको उदय यही कारण भएको थियो, जसका कारण समाजमा पुरुषसरह महिलाको भूमिका रहेको छ भन्ने खोजीनिती सुरु भयो ।

पारिजातसँग बारबारा

यो पृष्ठभूमिभन्दा पर्तिर म आफ्नै कुरो गर्दा मैले आफू ४० वर्ष जति उमेरमा पुगेपछि मात्रै यो ‘बायसनेस’ का बारेमा गहिरिएर थाहा पाएँ । मानवशास्त्रको अध्ययन रुचिको क्रम बढ्दै गएपछि मैले पनि इतिहासको पर्दामा छोपिएर बसेका वीर, साहसी र अग्रगामी महिलाबारे शोधखोज थालेकी हुँ । संयोगले त्यही क्रममा मैले आफ्नो शोधमा तिबेतियन, नेपाली र अरबी समाजको पृष्ठभूमिमा त्यहाँको साहित्य र सभ्यताका खुराकहरू पर्गेल्न थालेकी थिएँ । यही रुचि र स्वअध्ययनले मलाई नेपालका पारिजात, योगमाया र दुर्गादेवीसम्म ल्याइपुर्‍याएको हो ।

लेखक नीलम कार्की ‘निहारिका’ ले ‘योगमाया’ पात्रको केन्द्रमा रहेर लेखेको उपन्यासले मदन पुरस्कार पाइसकेको छ । धेरैपछि थाहा भयो, नीलमलाई यो लेखन चेतनामा बल दिने तपाईं हुनुहुँदोरहेछ । आफू भने शोध–अनुसन्धानको कुरामा किन ‘साइडलाइन’ हुनुभयो ?

लेखक नीलम कार्की स्वयं योगमायाको जीवन र इतिहासबाट अत्यधिक प्रभावित हुनुभएको हो । नीलमको शोधखोजप्रति मेरो गहिरो सम्मान छ, आदर छ । नेपालको ऐतिहासिक र लुप्त विषयमाथि नीलमको रुचि तथा भोजपुरसम्मको स्थलगत अध्ययनले इतिहासमा कहीँकतै हराइरहेकी योगमाया न्यौपाने नामकी एक जना साधक महिलाको नामकाम बाहिर आउन सकेको छ । एउटा ऐतिहासिक रूखो विषयमा साहित्यिक सुगन्ध र केही स्वैरकल्पना भरेर उनले ल्याएको ‘योगमाया’ उपन्यास आफैंमा अनुपम छ ।

योभन्दा महत्त्वपूर्ण पक्ष भनेको १ सय वर्षअघिको त्यो इतिहासलाई नेपाली प्राज्ञिक र अनुसन्धानदाताको वृत्तमा यसरी चिनाउन सक्नु आफैंमा अनुकरणको कुरा हो । मलाई मेरो जीवनका अघिल्ला वर्षहरूमा पारिजात र पछिल्लो समयमा नीलम कार्की ‘निहारिका’ ले अन्तस्करणदेखि प्रभावित गरेका छन् । यति भनेर, साधक योगमायामाथिका मेरा अघिल्ला रिपोर्टहरू ‘साइडलाइन’ मा पर्नुका कारण पनि म बताउन चाहन्छु ।

मूलतः सरकारी नीतिमै योगमायाको योगदान र इतिहासलाई दमन गर्न चाहने नियत लुकेको थियो । अझ राणाकालमा त योगमाया भन्नासाथ विद्रोही र सत्ताका विरुद्ध धावा बोल्ने पात्रका रूपमा उभ्याइएको थियो । अर्कातिर, योगमायाकै बारेमा त्रिभुवन विश्वविद्यालय, सिनासले सन् २००१ मा निकालेको मेरो पुस्तक नै सार्वजनिक बिक्री–वितरणमा गयो, न यसबारे चर्चा गरियो । त्यसअघि, सन् १९८१ यता म आफूले गरेको अनुसन्धान र दुर्गम पहाडका अशिक्षित तथा गरिब भक्तिनीहरूले जगाएको चेतनाको दियोका बारे मैले विभिन्न माध्यमबाट बाहिर ल्याउन थालेकी थिएँ । तैपनि त्यो सूचना मात्रै सबैका निम्ति काफी थिएन, रहेन ।

तपाईंले आफ्ना कतिपय जर्नल, साहित्यिक लेखमा पारिजात, सुकन्याको नाम धेरैपटक लिनुभएको छ । यी नेपाली समाजका अभियन्ता पात्रबाट तपाईंले के प्रेरणा पाउनुभएको थियो ?

आदरणीय पारिजात र सुकन्याजस्ता वैचारिक रूपमा स्पष्ट तथा अनुभवी दुई महिलालाई नभेटिन्जेलसम्म म नेपालको राजनीतिक–सामाजिक धरातलबारेमा शून्य जानकार थिएँ, नेपाल आइरहने अरू धेरै विदेशी अनुसन्धानकर्मीजस्तै । धेरैजसो मानवशास्त्रीहरू अक्सर नेपाली राजनीति र त्यसमा पनि विवादास्पद लाग्ने राजनीतिक पात्रहरूबाट टाढै बस्न रुचाउँछन् ।

सुरुमा त पारिजातले मलाई नेपालको शाही शासनले उनी र उनीजस्ता कतिपय विचारक साथीभाइलाई सधैंसधैं दुःख दिइरहेको बताउने गर्थिन् । उनले नेपाली युवा जमातलाई अधिक प्रभावित गर्ने गरेको म आफैंले प्रत्यक्ष देखेकी थिएँ । उनका कवितामा पनि योगमायाका ‘हजूरवाणी’ समेटिएका हुन्थे । उनै पारजातले मलाई योगमायालाई ‘राजनीतिक विद्रोही’ (फेलो पोलिटिकल रेबेल) का रूपमा चिनाएकी थिइन् । पछि पारिजात र डा. हर्क गुरुङले मलाई मेरो अनुसन्धानमा अग्रसर हुने थप प्रेरणा दिएका थिए, यही कारण म मनकामना (संखुवासभा) र मझुवाबेंसी (भोजपुर) मा गएर भक्तिनी आमाहरूसँग बसेकी थिएँ ।

योगमाया बारेमा अध्ययन गर्न संखुवासभा, भोजपुर भ्रमणमा कत्तिको जानुभएको थियो ? योगमायाको जीवन र कर्मबारे के कुरा बाहिर आउन बाँकी छजस्तो लाग्छ ?

सन् १९८० पछि लगातार ५ वर्षजति वर्षमा एक–डेढ महिनाका हिसाबमा अथवा कहिलेकाहीं वर्षमा २ पटक म पूर्वी पहाडी जिल्लाहरू पुगिरहेकी हुन्थेँ । सोलुखुम्बुमा भने सन् १९६९–७० मा म बसेकी थिएँ, त्यसपछिका वर्षमा तेह्रथुममा पनि रहेँ । त्यसबेला नेपाली गाउँघरमा बस्न र निश्चल स्वभावका गाउँलेसँग उठबस गर्न निकै आनन्दको समय थियो, सुरक्षित पनि । सन् २००२ र २०१९ मा पनि संखुवासभा र भोजपुर भ्रमणमा निस्किएकी थिएँ । मैले मजुवाबेंसी र गौरेनी गुफामा निकै परिवर्तनहरू देख्न पाएँ, यी दुवै ठाउँ सन् ८० को दशकमा पूरै रित्तिएका थिए ।

नेपाललाई पछिल्लो ४० वर्षयता अध्ययनको केन्द्रमा राखिरहँदा र यी महिला साधकहरू (योगमाया–दुर्गादेवी) का बारेमा अरूको चासो रहिरहेको देख्दा मलाई इतिहासको यो पाटोमा अझै शोध गर्न सकिने विषय बाँकी रहेकोजस्तो लाग्छ । मेरो विचारमा योगमायालाई पक्राउ गरिँदाको अदालती अभिलेख, मृत्यु (आत्मदाह) बारेको शोध र नेपालमा राजनीतिक अभियान थाल्नुअघि युवा उमेरमा भारत प्रवासमा बस्दाको इतिहासमाथि पनि शोध हुन बाँकी छ । अर्कातिर, दुर्गादेवीकै पनि अदालती अभिलेख खोजी भएको छैन । दुर्गादेवीका श्रीमान्तर्फका आफन्तहरूले अझै पनि उनलाई सम्झिरहेका हुन्छन् । मैले तीमध्ये केहीलाई केही वर्षअघि खाँदबारी नजिकै मार्वा भन्ने ठाउँमा भेटेकी थिएँ ।

अहिले पनि राजनीतिक चेतना र विद्रोहका कुरा हुन्छन् । योगमायाले गरेको विद्रोह र पछिल्लो विद्रोह (महिला आन्दोलन) मा के तात्विक अन्तर भेट्नुभयो ?

योगमायाको समय, काम र दृष्टि निकै फरक थियो, अहिले हुने विद्रोहसाग अतुलनीय खालको । यो अन्तरका बारेमा मैले निकै समय दिमाग खियाएकी छु । योगमाया न्यौपाने मात्रै होइन, दुर्गादेवी कार्की घिमिरेका बारेमा पनि मैले त्यो समय र संघर्षको इतिहासलाई सामान्य मानेकी छैन जसबारे मैले आफ्नो यो पुस्तक (योगमाया एण्ड दुर्गादेवी : रेबेल वुमन अफ नेपाल)मा उल्लेख गरेकी छु । मैले यो पुस्तकमा यी दुई विद्रोही महिलाका बारेमा र उनीहरुले त्यसबेला उठाएको लोकतन्त्र र नागरिक अधिकारसँगको आजको सान्दर्भिकतालाई जोडेकी छु ।

प्रकाशित : पुस १८, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?