कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ई वीरगन्ज ह !

वीरगन्जमाथि धच गोतामेले लेखेका छन्, ‘जब–जब रेल आउँछ यस सहरको तन्द्रा भंग हुन्छ । ...केहीबेर कोलाहलमा डुबेको स्टेसन रेल जानासाथ आत्मा नभएको शरीरजस्तै शून्य, शान्त र निश्चेष्ट हुन्छ ।’
वीरगन्जबारे भनिन्छ– यो सहर सुत्दैन । महानगरको यो अद्भुत माया हो कि प्रत्येक मान्छे आफ्नै दुनियाँमा व्यस्त रहन्छ । दिन– रातको भागदौडका बाबजुद यहाँ प्रत्येकको आँखामा सपना टल्किरहेको हुन्छ ।
चन्द्रकिशोर

ई वीरगन्ज ह ! क्रान्तिको नगरी ! आर्थिक राजधानी ! राष्ट्रिय अर्थतन्त्रको ब्यारोमिटर ! पुसको चिसो बिहान, वीरगन्जलाई कुहिरोले ढपक्कै छोपेको छ । मिर्मिरेमा जीवन खोज्दै सडकमा उत्रिएकाहरूले घण्टाघरलाई घुम्टोमा बेरिएको देखे । कोरोना कहरले गति हराएको यो सहरको चेहरा एकताका यसैगरी संकटको कुहिरोमा छोपिएको थियो । सहरवासीको मृत्यु फगत एक आँकडा भएको थियो । सहर कतै गहिरो र भयानक भुमरीमा फस्ने त होइन भन्ने चिन्ता व्याप्त थियो ।

ई वीरगन्ज ह !

‘ल हेर ! घण्टाघरमा घाम लाग्यो’, सखारै सडकमा पगध्वनि गुन्जिन थालेको छ । घण्टाघरको शिर नियालिरेका वीरगन्जवासीका अनुहार चम्किन थालेका छन् । कोही पढ्न जाँदै छन्, कोही प्रातः भ्रमण सकेर चिया–गफमा जुटेका छन्, सडकमा कतै तरकारी र दूध बेच्नेको पदचाप छ । कोरोनाले आहत भएको वीरगन्ज आफ्नो आर्थिक–सामाजिक लय फर्काउने कोसिस गर्दै छ । सुखद खबर छ– सहरभित्रको जीजिविषाले यति छोटो समयमा मिठो सुर समात्न थालेको छ ।

...

विगतमा वीरगन्जले नेपालको प्रवेशद्वार सहरको पगडी पायो । त्यसैले आज पनि यस सहरको मुहार चम्किलो छ । भोजपुरीको हृदय–प्रदेश, एउटा सिंगो समासिक सहर । काठमान्डूबाहिर कैयौँ उपलब्धिमा नाम आर्जेको सहर । इतिहासका कैयौँ धड्कन सुरक्षित छन् यहाँ । वीरगन्ज– एक गुलजार सीमावर्ती सहर ।

वीरगन्जबारे भनिन्छ– यो सहर सुत्दैन । महानगरको यो अद्भुत माया हो कि प्रत्येक मान्छे आफ्नै दुनियाँमा व्यस्त रहन्छ । दिन– रातको भागदौडका बाबजुद यहाँ प्रत्येकको आँखामा सपना टल्किरहेको हुन्छ । यहाँ उम्मिद र सपनाको दुनियाँ छरपस्टिएको हुन्छ । वीरगन्जको विशेषता यो हो कि जति नजरले यसलाई नियाल्छन्, त्यतिकै छवि उसको मानसमा तर्न थाल्छ ।

‘वीरगन्ज’ नामले हाम्रो आँखासामुन्ने एउटा सपना जुर्मॅराउँछ, जहाँ जोकोही पनि आफ्नो जीवनलाई अझ राम्रो बनाउने आशा लिएर आउँछ र तबसम्म लागिपर्छ, जबसम्म उसले त्यसलाई पाइहाल्दैन । साँचो त के हो भने वीरगन्जले कहिल्यै पनि कसैलाई निराश पारेको छैन । जो जेका लागि लायक हुन्छन्, उसले त्यो पाउँछ । कहिलेकाहीं ढिलो हन सक्छ तर पाउँछन् सबैले । सस्तोमा गुजारा हुने सहर हो यो । अरू छाड्नुस्, ह्विलचेयर गुडाउँदै सीमा वारि–पारिको कारोबार गरेर गुजारा चलाउँछ वीरगन्ज ।

वीरगन्ज केवल एक सहर होइन, हजारौं वर्षदेखिको संस्कृतिको नाम हो । नयाँ जमानाले पुराना सम्झना, पुराना तौर–तरिकालाई भलै बिर्सिसकेको होस्, तर केही चीज जो विरासतले छाडेको हुन्छ । त्यो कुनै कुनामा, कुनै सन्दुकमा जोगिएको हुन्छ । भिसवा डाँडाँ, गहवा मन्दिर, अलखिया मठ, पिपरा मठलगायत पुरातात्त्विक–ऐतिहासिक सम्पदाले यस क्षेत्रका बसोबासको प्राचीनतालाई स्थापित गर्छ । हो कतिपय इतिहासकारले राणा प्रधानमन्त्री वीरशमशेरको कालमा सम्वत् १९५३ सालपूर्व नै यस सहरले ‘वीरगन्ज’ नाम पाइसकेको जनाएका छन् । तर, यो नाम पाउनुभन्दा पहिले पनि यस क्षेत्रमा पुराना बस्ती थिए, जो अहिले महानगरपालिकाको भूगोलभित्र छ । ‘अलौ’ गाउँ नै साविकको प्रशासनिक केन्द्र थियो । राणा प्रधानमन्त्री एवं अन्य रोलवाला राणाहरूको यसतर्फ भ्रमण हुँदा ‘गहवा’ गाउँमै मुकाम रहेको पाइनुले ‘गहवा’ त्यसबेला तराई क्षेत्रमा अरूभन्दा निकै विकसित बस्ती बनिसकेको पत्तो लाग्छ । खासमा वीरगन्ज यस ऐतिहासिक क्षेत्रको आधुनिक पहिचान हो ।

यस सहरको आफ्नो इतिहास र भूगोल मात्रै छैन । यसको आफ्नै संस्मरण र यात्रा छ । यो सहर आफ्नो स्थानीयता र पहिचान बचाइराख्न आफैंसँग जुध्दै छ । सहरमा हुँदै गरेको बाहिरी बदलाव त झल्किन्छ, तर आन्तरिक बदलाव त्यसैगरी कहाँ छचल्किन्छ, त्यसलाई अनुभव पो गर्ने हो । समय बदलिँदै गएको छ । हो त्यसैले यो पुरानो सहरमा अबका ‘लभ स्टोरी’ फेरिँदै गए । सहरको परिवर्तित हुँदै गरेको तस्बिरले मान्छेको नियति मात्र फेरिएको छैन, प्यारको तरिका पनि फेरिएको छ ।

पुरानो वीरगन्जसँग कुनै ऐतिहासिक धरोहर वा उपयोगी सामानको नाम जातिवाचक संज्ञाको जस्तै अनिवार्य रूपमा जोडिएको हुन्थ्यो, तर आजको तरुण हुँदै गरेको वीरगन्जले आफ्ना लागि नयाँ किसिमको विशेषण निर्माण गर्दै गएको छ । यो बजारहरूको सहर हो, जहाँ पुराना बजार (मीनाबजार, बिर्ता, छपकैया, मुर्ली) का हाटहरूको निरन्तरतासँगै नयाँ–नयाँ चल्तीका बजारहरूले सहरको आधुनिकतालाई जीवन्त बनाएको छ । सम्मेलनको सहर, परिणय–संगम (वैवाहिक कार्यक्रम आयोजन), प्रतियोगिताको नगर (खुला र बन्द खेलका पूर्वाधार) अनेक पहिचान छन् वीरगन्जका । कुनै बखत प्रमुख औद्योगिक–व्यापारिक यो सहर ‘जुलुसको सहर’ नामले समेत चिनियो । सुक्खा बन्दरगाह पहिला यहीँ बने । यहीँ प्रमुख दक्षिणी नाकाको भन्सार सेवामा एकीकृत प्रबन्धलाई मूर्तरूप दिइयो ।

समयको पाङ्ग्रो

‘सब दुःख आब भागत, कटि गईल धान हो बाबा

आब बेचेम धान, राखेम मान

छुटि जाई बंधक मे राखल गहना हो रामा !’

कुनै जमाना थियो, वरिपरिका गाउँहरूबाट यस्तै भाकाका गीत गाउँदै बयलगाडाहरूमा लाम लगाएर वीरगन्जतिर धान लैजान्थे मानिसहरू । सहरका बाहिरी भागमा रहेका संकलन केन्द्रहरूमा धानका पहाड नै लागेका हुन्थे । इतिहासलाई संयोगहरूको गाथा पनि भनिन्छ । राणाकालमा सीमाक्षेत्रमा बजारहरू स्थापना गर्नुका आफ्नै आर्थिक–राजनीतिक कारण थिए, तर यसको फाइदा वीरगन्जले प्रशस्तै पायो । प्रशासनिक अड्डाखाना यतै हुन पुग्नुले यसको रवाफ थपियो । त्योभन्दा पनि काठमान्डूसँगको छोटो दूरी र सीमावर्ती भारतीय क्षेत्रमा रेलवे सञ्जाल थपिँदै जाँदा वीरगन्जले बहुआयामिकता भेट्टायो ।

समयक्रममा वीरगन्जले एउटा क्षेत्रकै रूपमा चिनारी पाउँदै गयो । उत्तरमा पूर्व–पश्चिम राजमार्ग जोड्ने विन्दु पथलैयासम्म औद्योगिक कोरिडोरले आकार लियो । यस पृष्ठभूमिमा सहरको उर्लिंदो सम्भावनालाई नियमित गर्न करिब दूई दशकपूर्व ‘बृहत्तर वीरगन्ज’ को परिकल्पना आयो, केही प्रयास भए । तर, राजनीतिक संक्रमणले त्यो त्यसै तुहियो । अहिले त महानगरपालिकाले त्योभन्दा कम क्षेत्रफल भएको साँध पाएको छ ।

‘एउटा पुस्ता अहिले पनि छन्, जो चिनी मिलको साइरनसँगको साइनो सम्झिरहेका छन्’, बहुअरीका रामनारायण कुर्मी सुनाउँछन् । तत्कालीन सोभियत सरकारको सहयोगमा विसं २०२१ मा स्थापना भई ०५९ मा बन्द हुन पुगेको चिनी कारखानाले गर्दा केही समयका लागि यस क्षेत्रको गति नै रोकिन पुगेको कतिपयले ठाने ।

अहिले विकास र निवेशको सम्भावनालाई हेरेर नै रियल स्टेटका दिग्गजहरू यता आकर्षित भएका छन् । भन्सारसँग गाँसिएका कारोबारले यहाँ अहिले पनि वजन कायम राखेको छ । तर, महानगर भन्नेबित्तिकै जुन सानदार मल, मल्टीप्लेक्स, ब्रान्ड–सप वा कहलिएका फुड–चेन सम्झिने गरिन्छ, त्यो वीरगन्जसम्म आइपुगेको छैन । आधुनिक र फराकिलो बन्ने चरणको प्रशव वेदना छ यहाँ । आर्थिक क्रियाशीलताको परम्परागत धुलौटे बाटोलाई त्यागेर नयाँ राजमार्ग निर्माण गर्न तम्सिएको छ वीरगन्ज ।

पहिले वीरगन्ज भन्नाले माईस्थानदेखि बिर्तासम्मको क्षेत्र बुझिन्थ्यो । सहरको बढ्दो आयामिक विकासको गतिलाई टेवा दिन नगर विकास समितिले २०५२ मा बृहत्तर वीरगन्जको अवधारणा ल्यायो । त्यसअघि नगर विकास समितिले अधिग्रहण गरी मुआब्जासमेत दिए नगर विकासका लागि २०३२ मा तत्कालीन नारायणी अञ्चलाधीश नन्दबहादुर मल्लले छुट्याएको जमिनमाथिको खेलबाड न पञ्चायतमा रोकियो न प्रजातन्त्र आएपछि नै । ०५६ मा वीरगन्जबाटै सांसद भई प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईले ‘नमुना सहर’ को अवधारणा ल्याएका थिए । एकपटक त ‘साइबर सिटी’ को सपना पनि बेचियो । वीरगन्ज सहरको आवश्यकता र बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गर्दै नगरको घना बस्ती क्षेत्रमा रहेको कारागार र ब्यारेकलाई बिस्तारै सहरबाहिर लैजानु अब आवश्यक छ । रेलवेको जग्गामा प्रस्तावित उद्यान राजनीतिको चेपुवामा छ । सहरमा महँगा गाडीहरू गुड्दै छन् । तर, यहाँ आइपुग्दा टाँगा सवारीको मजा खोज्ने र आदर्शनगरको सडक–खाजा खाने रहर गर्ने प्रशस्तै छन् ।

रेल–नोस्टाल्जिया

इतिहासको कुनै मोडमा रेलसेवाले कसरी यहाँको दैनिकी प्रभावित पारेको थियो ? त्यो यहीँका साहित्यकार धच गोतामेले ‘घामका पाइलाहरू’ उपन्यासमा गरेको वर्णनबाट अनुमान गर्न सकिन्छ । धच लेख्छन्, ‘रेलवे स्टेसन यस सहरको प्राण हो, जहाँ विभिन्न दिशामा रेलहरू दौडिन्छन् । संसारका अरू भूभागसित सम्बन्ध स्थापित गर्ने एक मात्र साधन पनि यही हो । जब–जब रेल आउँछ यस सहरको तन्द्रा भंग हुन्छ । ...केहीबेर कोलाहलमा डुबेको स्टेसन रेल जानासाथ आत्मा नभएको शरीरजस्तै शून्य, शान्त र निश्चेष्ट हुन्छ ।’

सन् २४ अक्टुबर १९५० मा वंशगत प्रधानमन्त्रीको पाहुना भएर टोनी हागन पहिलोपटक नेपाल आउँदै थिए । संयुक्त राष्ट्रसंघबाट नेपालमा काम गर्न खटिएका स्विट्जरल्यान्डका यी भूगर्भविद्ले आफ्नो पुस्तक ‘नेपाल : द किङडम इन द हिमालय’ मा लेखेका छन्, ‘रेलको त्यो डिब्बा महोगनी काठले बनेको थियो र त्यसमा गाढा मखमली रातो पर्दा लागेको थियो ।’ उनलाई अमलेखगन्जसम्म रेलको सफर पूरा गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो । विसं १९८४ मा रक्सौलदेखि वीरगन्ज हँॅदै अमलेखगन्जसम्म पुग्ने रेलवे लाइनको जडान भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरकै पालामा यसले ‘नेपाल गभर्नमेन्ट रेलवे’ नाम राखी सेवा सुरु गर्‍यो । यो नेपालको पहिलो रेलसेवा थियो । उद्घाटनका बेला तत्कालीन राजा त्रिभुवनसँगै चन्द्रशमशेर पनि वीरगन्जसम्म रेल चढेर आएका थिए । रेलवेको स्थापना र सञ्चालनले वीरगन्ज र यसवरिपरिका क्षेत्रहरूको आर्थिक जीवनमा पनि परिवर्तन देखापर्न थाले । रेलसेवाको प्रारम्भले यस क्षेत्रमा कोइला, फलामका साथै पुँजी र श्रमको माग पनि बढ्न थाल्यो ।

तत्कालीन समयमा सडक यातायातको राम्रो विकास नभइसकेको अवस्थामा रेलसेवाको स्थापनाले वीरगन्जको मात्रै नभएर मुलुककै आर्थिक विकासमा पनि गति प्रदान गर्‍यो । यो सेवा सम्वत् २०२१ मा रक्सौलदेखि वीरगन्जसम्म मात्रै चल्न थाल्यो, त्यो पनि मालगाडी मात्रै । ०४१ सालमा त त्यो पनि बन्द भयो । इतिहासले फेरि कोल्टे फेर्दै थियो, २०६१ साउन १ देखि वीरगन्ज (सिर्सिया) सुक्खा बन्दरगाह सञ्चालनले नेपालको अर्थतन्त्रलाई भारतको ‘ब्रोडगेज’ अर्थतन्त्रमा लगेर जोड्यो । वीरगन्जमा त्यसैताका नेपालका लागि भारतको महावाणिज्य दूतावास खोलिनु र रेलवे जोडिएको सुक्खा बन्दरगाह सञ्चालन हुनुबाट वीरगन्जको कूटनीतिक र आर्थिक महत्त्व फेरि उक्लियो ।

पहिलो मुक्त क्षेत्र

नयपाल स्वतन्त्र गराउनको

रणभेरी सुनेर जुरुक्क उठ्यो

परतन्त्र हरे ! निज देश बुझ्यो

अनि भाव र आग्रह पूर्ण भयो

गणतन्त्र गराउन गर्जी उठ्यो

छरितो र छिटो नयपाली ठिटो

थिर बम मल्ल रती नडरी

घरबार तजी तरबार भिरी

रणरंग गरी वीरगन्ज पस्यो

खलबल्ल भयो दरबारभरि

बिनु रक्त परासी पसेर बस्यो

छरितो र छिटो नयपाली ठिटो

वीरगन्जको कीर्तिगानमा यी पंक्तिहरू भारतको दार्जिलिङमा बसेर धरणीधर कोइराला कोर्दै थिए । उता पटनामा हिन्दी साहित्यकार फणीश्वरनाथ रेणुले ‘नेपाली क्रान्ति कथा’ रच्दै लेखे, ‘सबै भाषाका दैनिक समाचार पत्रहरूमा मख्यपृष्ठमा मोटा अक्षरमा वीरगन्ज विजयको समाचार छापिएको छ ...वीरगन्जमाथि मुक्ति सेनाको विजय... वीरगन्ज लिबरेटेड, वीरगन्ज क्याप्चर्ड... वीरगन्ज...वीरगन्ज... ।’

वीरगन्जकाे प्रसिद्ध घण्टाघर, जहाँ सहरकाे सुनाैलाे बिहानी लाेकजीवनमा प्रकट भइरहेकाे छ । पेन्टिङ : अजमत अली

भयो के भने विसं २००७ मा राणाशाहीविरुद्धको सशस्त्र यहीँबाट सुरु भयो र कात्तिक २६ गते भाइटीकाका दिन वीरगन्जमा कांग्रेसी मुक्तिसेनाले सफलता पायो, जसको अनुगुञ्ज टाढा टाढासम्म सुनिएको थियो । यसैमा एक नेतृत्वकर्ता थिरबम मल्ल मारिए । तर, पनि नेपालको इतिहासमा पहिलो ‘जनसरकार’ तेजबहादुर अमात्यको नेतृत्वमा गठन भयो ।

तत्कालीन समयमा सीमावर्ती भारतीय क्षेत्रमा स्वतन्त्रता आन्दोलन चलिरहेको थियो । वीरगन्ज क्षेत्रका विद्यार्थीहरू पारिपट्टिका सहरहरूमा पढ्दै गर्दा प्रेरणा लिँदै र स्वयं त्यहाँको आन्दोलनमा सहभागी हुँदै आएका थिए । वीरगन्जमा विसं १९९५ तिर ‘हिमालय सार्वजनिक पुस्तकालय’ खुल्यो । केही युवा प्रजा परिषद्मा संलग्न भए । यस पृष्ठभूमिले कांग्रेसलाई ऊर्वर भूमि प्राप्त हुन गयो । लोकतन्त्रका लागि हुने गरेका प्रत्येक संघर्षमा वीरगन्जले रणनीतिक भूमिका खेल्दै आयो । दोस्रो जनआन्दोलन उत्कर्षमा पुग्नै लाग्दा ‘सडक राष्ट्रपति’ घोषणा गर्‍यो । अनि पो भनिन्छ– ई वीरगन्ज ह !

इतिहासको विस्मृतिमा

राजनीतिकर्मी तथा लेखक जयप्रकाश गुप्ताले ‘नेपाल के राजनीतिक आन्दोलन में मधेसी समुदाय का योगदान’ मा उल्लेख गरेअनुसार, विसं २००३ सालतिर वीरगन्जमा सचेन्द्रनारायण चौधरी र हंसराज ठाकुरको सक्रियता थियो ।

क्रान्ति किल्लाको नामले ख्यातिप्राप्त वीरगन्ज नेपालको इतिहासमै सबैभन्दा लामो समयदेखि संघर्षशील र क्रियाशील नगर हो । वास्तवमा कुनै पनि नगरलाई राम्रोसँग बुझ्न र अगाडि बढाउन त्यसको इतिहासलाई गहिराइमा गएर बुझ्नैपर्छ । अनि मात्रै त्यस नगरबारे स्पष्ट विश्लेषण र मूल्यांकन गर्न सकिन्छ । निश्चय नै इतिहासलाई सिरानी हालेर मात्रै कुनै नगर बाँच्न सक्दैन, तर इतिहासको अध्ययनबिना भविष्यको खाका कोर्न मात्रै होइन, वर्तमानलाई व्यवस्थित रूपले सञ्चालन पनि गर्न सकिँदैन । हुन त कतिपयले वीरगन्जलाई यतिखेर इतिहास बोकेर बाँचेको र इतिहासमै रमाएको सहर पनि भन्ने गर्छन् ।

वीरगन्जका लोकतान्त्रिक योद्धाहरूमध्ये थिरबम मल्ल र तेजबहादुर अमात्यबारे अलि बढी लेखिएको पढ्न पाइन्छ । वीरगन्ज महानगरपालिका चोकमा पशुपति घोसको प्रतिमा स्थापना गरिएको छ, तर तिनका समग्र योगदानबारे थोरैलाई मात्रै थाहा छ । प्रजातान्त्रिक, वाम तथा मधेसी अधिकारको धार गरी वीरगन्जमा तीन प्रकारका आन्दोलनको निरन्तरता भेटिन्छ । समय–समयमा भाषिक अधिकारको आन्दोलनले वीरगन्जेली संघर्षमा इन्द्रेणी थपेको छ । वीरगन्जबाट निर्वासनमा बस्ने को–को थिए ? को–को जेल परे ? निश्चित पनि कुनै घटना हुनुपछाडि कुनै नेतृत्वको भूमिका हुन्छ र नेतृत्वको पृष्ठभूमिमा प्रतिबद्ध कार्यकर्ताको जमात हुन्छ । आजको आवश्यकता तिनको खोजी गर्नु, अभिलेखीकरण गर्नु र इतिहास लेखनको मार्गलाई सहज बनाउनु हो । वीरगन्जमा एकपटक उर्लिएको आवेगको आँधीमा थिरबम मल्लको प्रतिमा भञ्जन हुनपुग्यो, तर खै कसैले स्थापित गरी कृतज्ञभाव देखाउन सकेका छैन । बरु ०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंहको प्रतिमा भर्खरै पुनःस्थापित भएको छ । एकताका प्रतिमाहरूको सहर भनेर चिनिएको वीरगन्जलाई खै के भो ?

उज्यालोको डेग

वीरगन्जको शैक्षिक इतिहास पनि आफ्नै किसिमको छ । सहरको आर्थिक छविले अर्को पक्षलाई ओझेलमा पारेको अनुभूति स्थानीयहरूमा छ । त्रि–जुद्ध माध्यमिक विद्यालय धेरै पुरानो हुनाका साथै काठमान्डूबाहिरको म्याट्रिक परीक्षाको पहिलो परीक्षा केन्द्र बन्ने सौभाग्य पनि यही विद्यालयले पाएको देखिन्छ । पहिलो महाविद्यालय ठाकुरराम कलेज पनि यहीँ खुलेको छ । नेपालको पहिलो विश्वविद्यालय ‘नेपाल राष्ट्रिय विद्यापीठ’ को गर्भाधान यहीँ भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले २०१४, जेठ–३ मा प्रथम विश्वविद्यालय ‘नेपाल राष्ट्रिय विद्यापीठ’ को उपकुलपतिको हैसियतमा निरीक्षण बहीमा उद्घृत गरेका अमर पंक्तिले वीरगन्जमा शिक्षाप्रतिको सामाजिक चेतना र सहयोगको आकांक्षालाई प्रतिबिम्बित गर्छ, ‘यहाँ सहृदय सज्जनको कमी छैन भनेर इँट–पत्थर बोलिरहेका थिए । उज्यालोको उपासनाको यहाँ अभाव हुन सक्दैन भनी जनताको उत्साह र सक्रियता बोलिरहेको थियो । जनता र शिक्षित वर्गबीच सहयोग यसरी हुन गई, सामाजिक सेवाका कार्यहरू सम्पादन हुन गएमा प्रजातन्त्र नेपाल सफल तवरले बन्ने थियो ।’

२००७ चैत २५ गते यही हाईस्कुलमा केदारमान व्यथितको सभापतित्वमा विद्यापीठले अस्तित्व लियो । यसको पहिलो कुलपति गणेशमान सिंह र उपकुलपति महाकवि लक्ष्मीप्रसाद देवकोटा भए । विद्यापीठको साहित्यिक प्रकाशन ‘नेरावि–२०२६ बर्खा’ को अंकमा हरिहरप्रसाद शर्माले लेखेका छन्, ‘यस संस्थाबाट सञ्चालित प्रवेशिका, विशारद, साहित्य रत्न र विद्यालंकार क्रमशः म्याट्रिक, आईए, बीए (अनर्स) र पीएचडी समकक्षका परीक्षा हुन् । विद्यापीठ नै विश्वविद्यालयीयस्तरका परीक्षाहरू सञ्चालन गर्न नेपालमा सर्वप्रथम उभिएको थियो । विसं २०१३ मा श्री ५ को सरकारबाट प्रवेशिकाले एसएलसी समकक्षको मान्यता पाएको हो । सोभन्दा माथिका लागि परीक्षा सञ्चालन गरिरहनू भन्ने आदेश पाएको थियो । ‘नेरावि’ आफ्नो समयको एउटा उत्कृष्ट साहित्यिक सँगालो मानिएको थियो । यसका प्रधान सम्पादक कृष्णप्रसाद पराजुली थिए ।

विसं २००८ मा श्यामप्रसाद शर्माको सम्पादनमा वीरगन्जबाट प्रकाशित ‘सेवा’ पत्रिका मोफसलकै पहिलो पत्रिका ठहरिएको छ । पञ्चायतकालको सुरुवातपछि गोविन्द वियोगीले २०२१ मा ‘मातृभूमि’ पत्रिका वीरगन्जमा दर्ता गराएर यहीँबाट अल्पअवधिका लागि प्रकाशन गरेको इतिहास भेटिन्छ । नेपाली फोटो पत्रकारिताको प्रारम्भविन्दु वीरगन्जकै प्रसंगसँग जोडिन पुग्छ । आफ्नो कपासको बगैंचामा श्रीचन्द्र कामधेनु चर्खाले धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठनीको तस्बिर गोरखापत्रमा पहिलोपटक छापियो । फोटो पत्रकारिताको इतिहास लेख्ने उक्त तस्बिरलाई नेपाली फोटो पत्रकारिताको प्रथम प्रयास मानिन्छ । वीरगन्जमा आएर भोजपुरी (भाषा) अत्यन्त सादगी, घनिष्ठता र संवेदनात्मक ढंगले विकसित भयो । त्यसैले यहाँका गैरभोजपुरीभाषी पनि यसलाई त्यत्तिकै आत्मीयता र मिठासले पोख्छन् । साहित्य र शिक्षाको क्षेत्रमा वीरगन्जको राष्ट्रिय रूपमै हस्तक्षेप रहँदै आएको आफ्नै परम्पराको काँवरलाई वर्तमानलाई थेग्न गाह्रो देखियो । उसो वीरगन्ज शैक्षिक केन्द्रको रूपमा आफ्नो चिनारी कायम राख्न भरमग्दुर कोसिसमा छ ।

शंकरलाल केडियाले ‘विश्व हिन्दु महासंघ जन्मकथा’ पुस्तकमा नेपालमा पहिलोपटक भनिएको विश्व हिन्दु सम्मेलन (२०३७ चैत २९) का लागि एक मुस्लिम व्यवसायी समसुद्दिनले ११ हजार रुपैयाँ दिएको उल्लेख गरेका छन् । यस सहरको समासिक चरित्र यहाँका सामाजिक–सांस्कृतिक व्याकरणमा झल्किन्छ, यो नै यस सहरको मूल मिजास हो । वीरगन्जमा पुस्तकालय स्थापनाको आठ दशकदेखिको परम्परा छ । आदर्श, अलखिया, देवकोटा अध्ययन मण्डलजस्ता आफ्नै भवन भएका पुस्तकालय अस्तित्व आए । तर, अहिले पुस्तक संस्कृति साँघुरियो । माईस्थान बुक स्टलका सुरेश जोशी भन्छन, ‘पुस्तक र पत्रिका पढ्नेहरू कम हुँदै गए ।’ नेपाल सुन्दरीको उपाधि पाएकी रुवि राणा र उषा खड्गीको नाता वीरगन्जसँग छ । वीरगन्जिया भनेपछि दुईथरीका छन् । यहीँ जन्मिएर यतै वा अन्यत्र सक्रिय हुने वा बाहिरबाट कर्मथलो बनाउन आइपुग्नेहरू । अचेल त नवनागरिकहरू पनि कम महत्त्वाकांक्षी छैनन् । राष्ट्रिय जीवनको प्रत्येक क्षेत्रमा वीरगन्जियाले दख्खल दिएको छ ।

महानगर कि महागाउँ !

यो सहर नगरपालिका, उपमहानगरपालिका हुँदै महानगरपालिका बन्यो । यहाँ विभिन्न बस्तीहरू छन्, जो कुनै बखत बारा जिल्लाबाट ल्याइए, कुनै पर्साकै बस्तीहरू गाभिए । वीरगन्जले अहिले जुन रूपमा आकार लिएको छ, त्यो एकैपटक भएको होइन, बिस्तारै बिस्तारै सहरको आवश्यकताअनुसार, नयाँ–नयाँ बस्तीहरू जोडिने क्रम सुरु हुँदै गएको हो । तर, वीरगन्जले अहिले पनि सम्पूर्ण रूपमा वीरगन्जको परिचय पाउन सकेको छैन । घण्टाघरबाट डेढ किलोमिटरको दूरीमा रहेको मूर्लीका पुराना बासिन्दाहरू अहिले पनि सहरतिर निस्कनुपरे भन्छन्, ‘वीरगन्ज जाऊँ’ । वीरगन्जकै बासिन्दा कुन ठाउँलाई ‘वीरगन्ज’ का रूपमा चिन्ने गर्छन्, छुट्याउन गाह्रो छ ।

स्थानीय बासिन्दाको लवजमा यसरी ‘वीरगन्ज जाऊँ’ भन्ने शब्द कसरी आयो ? पञ्चायतदेखि नै कतिपय गाउँहरूको छुट्टै प्रशासनिक संरचना थियो, जो बिस्तारै वीरगन्जमै गाभिँदै आयो । धेरै बस्तीहरू मुख्य सहरसँग बसोबासको विस्तारले जोडिँदै आए । अहिले त झन् सुदूर देहातका गाउँहरू महानगरपालिकाको परिधिभित्र आइपुगेका छन् । पुराना बस्ती त छँदै छन् यता, नयाँ–नयाँ बस्तीहरू पनि बस्दै गए । नयाँ बासिन्दाहरूले आफ्नो बस्तीको नाम पनि दिँदै गए । अब वीरगन्जमा बसोबास यति घना हुँदै गइराखेको छ कि एउटै नामले सिंगो बस्तीलाई चिनाउन गाह्रो भो । आफ्नो बसोबासको इलाकालाई चिनाउन स्थानीय बासिन्दाले आफ्नै तरिकाले उपपहिचानहरूको खोजी गर्न थाले र त्यसलाई प्रयोगमा ल्याए । कतिपय यस्ता नयाँ टोलहरूका चिनारी सरकारी अभिलेखमा छैनन्, तर जनजिब्रोमा छ ।

पछिल्ला वर्षहरूमा वीरगन्जमा बसोबासको क्रम कसरी बढ्यो ? को कहाँबाट आए ? नयाँ बसोबास गर्न आएकाहरूले के–कस्ता काम गर्न थाले ? पुरानो र नयाँ वीरगन्जको अन्तरघुलन कसरी हुँदै गयो ? वीरगन्जको रैथाने बासिन्दा को हुन् ? कसरी मान्ने ? वीरगन्जमा विकसित भएको नयाँ सामाजिकताको महत्त्व कति छ ? पुराना बस्तीका पर्व, जात्राहरू के हुन् ? अहिले पनि केही बाँचिरहेका छन् ? नयाँ बासिन्दाहरूले केही अभिनव थालनी गरेका छन् कि ? यसका उत्तरहरू खोजिनुपर्छ, यसले बलियो सामाजिकता प्रदान गर्छ, एकअर्काको बुझाइलाई फराकिलो बनाउँछ ।

अहिले वीरगन्जले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक पहिचान बनाएको छ । एउटा बासिन्दा आफू मात्रै आएर सहरमा बस्दैन, उसले आफूसँग आफ्नो पृष्ठभूमिजन्य परम्परा र संस्कृति पनि बोकेर आएको हुन्छ । यसरी एउटा व्यक्तिले आफूसँग सामीप्यको आधारमा साझापनको खोजी गर्नथाल्दा नयाँ सामूहिक परम्परा उजागर भएर आउँछ । कतिपय सन्दर्भमा विभिन्न पृष्ठभूमिकाहरू आफ्नो सामूहिकताका लागि आफ्नामाझ केही साझापनको खोजी गर्छन् र एउटा नयाँ परम्पराको सुरुआत हुनपुग्छ ।

यसरी वीरगन्जमा नयाँ–नयाँ सामूहिकताको अभ्यास भइरहेको छ । अहिले वीरगन्जले यी सबैबीच सामञ्जस्यको खोजी गर्नॅपर्ने र आफ्नो समासिक पहिचानलाई मुखरित गर्नॅपर्ने भएको छ । वीरगन्जका पारम्परिक पहिचानहरूको सम्मान गर्ने, नयाँ आयामहरूलाई स्वीकार्य गर्ने र प्रोत्साहित गर्ने कामको खाँचो छ । अनि मात्रै वीरगन्जभित्र बसोबास गर्नेले आफ्नोपनको अनुभूति गर्नेछन् । के वीरगन्ज यसका लागि तयारीमा छ ? जवाफ कसैसँग छैन ।

कमजोर राजनीति

गहवामाईको नाउँमा प्रसिद्ध ‘गहवा’ गाउँलाई वीरशमशेरले (आफ्नो ख्याति राख्नका लागि) वीरगन्ज नाउँ दिएर राजधानी आवतजावत गर्न सकिने प्रवेशमार्गको सानो सहर बनाए । राजधानी प्रवेश–द्वारका रूपमा वीरगन्जको ख्याति बढ्दै गएकोमा वीरका भाइ चन्द्रशमशेरलाई भित्रभित्रै ईर्ष्या भइरहेको थियो । प्रधानमन्त्री भएपछि चन्द्रशमशेरले सन् १९२७ इ. मा एनजीआर नामकरण गरेर अमलेखगन्जदेखि रक्सौलसम्मको रेल चलाए । तर, आफ्नो कुटिल चालले रेललाई सिंगै वीरगन्ज बजारको मध्यमार्ग हुँदै लिक ओछ्याउन लगाएर स्टेसनसम्म पुग्ने ब्यवस्था मिलाए । रेल र गुड्ने लिकको दुई फ्याकमा बाँडिएको सहरले कसरी उन्नति गर्न सक्ला भन्ने नकारात्मक योजना उनले बनाए । तर, कालान्तरमा वीरगन्जका लागि यही वरदान हुन पुग्यो । लेखक धच गोतामेको यस अभिमतले दर्साउँछ, वीरगन्ज जन्मिँदै शासकहरूको वक्रदृष्टिमा पर्न थाल्यो । तर, भौगोलिक अवस्थितिले यसलाई साथ दियो र यो जोगिँदै आयो ।

यो सहरले प्रत्येक आन्दोलनमा सघाउ पुर्‍याए पनि बलियो राजनीतिक संरक्षणको अभावमा जति फक्रिनुपर्ने त्यति फक्रिन सकेको छैन । स्थानीय उद्योग वाणिज्य संघले २०७० भदौमा पाँच जना पूर्वप्रधानमन्त्रीहरूलाई एकै ठाँउ राखेर ऐतिहासिक समिट गर्‍यो । तर, आर्थिक मानचित्रबारे एक दशकका लागि लिइएको संकल्प समयसँगै छोपिँदै गयो । मधेस आन्दोलनको नाभि–केन्द्र वीरगन्जसँग राज्यले उपेक्षा गर्‍यो भन्ने गुनासो पनि छ ।

मैलो कहाँ भयो ?

कुनै बखत ‘बगैंचा र पोखरीको सहर’ नाम पाएको यिथो वीरगन्जले । ती सम्पदा अब स्मृतिमै शेष रहे । यो सहर बहुत भीडले भरिएको बहुखण्डी भवनहरूको जंगल बन्दै गएको छ । एउटा टिप्पणी सुनियो– प्रत्येक मान्छे मतलबी हुँदै गए, एकले अर्कालाई धक्का दिँदै अगाडि बढ्न हतारिएका छन् । वीरगन्जको आफ्नै संस्कृति थियो । तर, अहिले सबै कुरा मिसिएको जोगी तरकारीजस्तो भयो ।

वीरगन्जको कथा सिर्सिया नदीको चर्चाबिना अधुरो, अपुरो हुन्छ । समय जतिसुकै निष्ठुर वा सहृदयी किन नहोओस्, त्यसले वर्तमानलाई मुठ्ठीमा बाँधेर राख्न सक्दैन, त्यो चिप्लिएर अतीतको अञ्जुलीमा गाँसिन पुगिहाल्छ नै ।

२००७ साल कात्तिक २६ गते मारिएका थिरबम मल्ल हुन् वा २०२२ चैत २८ गते निर्वासनकै क्रममा रक्सौलमा मारिएका तेजबहादुर अमात्य, दुवैलाई अन्तिम शरण सिर्सिया नदी किनारले दिएको हो । यसै किनारमा तेस्रो मधेस आन्दोलनले दशगजास्थित चर्चित धर्नाको जुन आकार लिन पुग्यो, त्यो यसै नदीमाथिको मितेरी पुल हो । त्यही क्रममा स्थानीय पहाडी समुदायले ठूलो जुलुस लिएर ऐक्यबद्धता दिन पुगेको थियो । सहरसँग सांस्कृतिक र सामाजिक साइनो विकसित गर्दै आएको नदी सहरकै कारण बेहद प्रदूषित हुन पुगेको छ । सिर्सिया नदी एक्लो सहरको मध्य भएर बग्दैन, यससँगै सिंगो सहर बगिरहेको छ । सिर्सियाको अविरल लयका साथ बग्दै वीरगन्ज स्वयं नदीझैं भइसकेको छ । आदर्श नगरको चर्चित चियापसल ‘बब्लु टी स्टल’ मा सुनियो, ‘राम तेरी गंगा मैली हो गयी है... !’

प्रकाशित : पुस ११, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?