१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनसान नुनमार्ग

भोटे नुन सम्झँदा बढी त कर्णालीकै चर्चा हुन्छ । त्यसमा पनि मुख्यतः हुम्ला, डोल्पा र मुगुको । हुन पनि कर्णालीलगायत हिमाली भेगका अर्थराजनीतिमा प्रभाव पार्ने मुख्य तत्त्व नै भोटे नुन हो । 
नवीन विभास

काठमाडौँ — नेपाली भान्साबाट भोटे नुन बिलाएकै जुग बिते पनि जनजिब्रोबाट बिलाउन बाँकी छ । भोटे नुनसँगै भोटे ताल्चा र भोटे कुकुर लोक ‘सम्झना सल्लाघारी’ मा भुर्रभुर्र उड्छन् । ती कहिले ‘आहानमेन’ भएर उड्छन् त कहिले ‘गीत’ भएर । कहिले ‘आसिक’ त कहिले ‘मन्त्र’ भएर ।

सुनसान नुनमार्ग

जस्तो–

उदु बग्ने कर्नालीए, भोट जाने नुन्या (भोटे नुन लिन जाने हटारु) ।

साई बिरानो भएपछि मन लाग्छ रुन्या ।।

(ठारी भाका)

भोटको नुन एइ घर हवइ,

झारी.... ए जुमलै ।

(रोपाइँ घरमा रोपार्नीले झारी गीतमार्फत दिने आसिक । वीरेन्द्र शाही)

चौरी ल भौरी त परिन्य सापिउ,

धापा याङ वर्स्यु रइरा, निन्या रु याङ फोअरा

बा य बाचिप निज्यान्य, बाचीप ये बा निज्यान्य

जै य जा निज्यान्य, जा ये यै निज्यान्य ।

(दुहुना वस्तुभाउले दूध नदिँदा भोटे नुन खुवाउने (मगर खाम/पाङ भाषा) मन्त्र । मन्त्रले चौरी गाईले बोकेको सापी (नुन) भन्छ । बमकुमारी बुढामगर) ।

भोटको नुन, सुन, तामा ताउलो इनै द्याउन हुन

(फाग गीतमार्फत दिने आसिक, प्रताप शाही (९५)

नेपाली लोकमन र नेपाल (मूलतः हिमाली जन) को अर्थराजनीतिमा भोटे नुन कसरी गाँसिएको होला ? तपाईंको मन पनि कहिलेकसो खसखसाउँछ होला, होइन ?

...

कुरो ७१ वर्ष बूढो असारको हो । रुकुम तुसेराबाट छक्कालै १५ वर्षको एकजोर कलिला गोडा आफूजस्तै ‘सङ’ सँग नाना, दाजु, काकु र पागुका गोडा पछ्याउँदै भोटे नुन लिन उकालिन्छ ।

भाषाविद् डेभिड वाटरले तुसेरामै बसी लामो समय मगर खाम/पाङ भाषा अध्ययन गरेका हुन् ।

हो, उही तुसेराका दुई दर्जन जतिको हटारु त्यो हूलले ठूलोखर्क काट्छ । धुरी चढ्छ । उनाम ओर्लन्छ । त्यसपछि ? पिल्मा तर्छ । हूल उकाएर मैमा बास बस्छ ।

जंगलैजंगल उकालो बाटो रिजा, डुले पुग्न पश्चिमोत्तर लाग्छ । नैताले हुँदै झन्डै दुई घण्टा उकालिन्छ । बल्ल हटारु हूल सिङखोला पुग्छ ।

हटारु हूल सिङखोला ओडारमा बास बस्छ । गाउँछन्– घरी ‘नानी लै’ त घरी ‘स्यानिमाय’ । बाटोमा वा बासमा भेटिने अन्य गाउँका हटारुसित पनि यिनै लोकभाका गाउँछन् । मेलापातमा मात्र होइन, नुन हाटका अप्ठेरा बाटो पनि ‘गीत गोडा’ ले छिचोल्छन् ।

वर्षको एकपालि अर्थात् बर्खातिर हटारु हिँड्ने नुने बाटो हो यो । त्यसैले बाटोको नाउँ मात्र छ । नियमित नहिँड्ने बाटोको हाल कस्तो हुँदो हो ? हो, हटारु हिँड्दा बनेको दुब्लो बाटो हो, जसको यो पनि बाटो हो भन्ने ‘बाटोको अङ्ङे’ मात्र छ ।

तिनै नाम मात्रको बाटोमा उकालिँदै हटारु हूल ३९५० मिटर अग्लो पुपाल पुग्छ । डोको बिसाउँछ । पसिना ओभाउँछ ।

पाका हटारु भन्छन्, ‘अब उछट्टे नाच । सबभन्दा पहिले फिरी नाच् ।’

फिरीसहित छ जना पहिलोपालि नुन हाट हिँडेका हटारु हुन् । पहिलोपालि जानेलाई उछट्टे भन्छन् भने तिनलाई नचाउनुलाई उछट्टे नचाउने ।

पाका हटारु नानाभाँती गीत गाउँछन् । गाउन लगाउँछन् । छचनिन्छन् । र, उछट्टेलाई नाच्न लगाउँछन् ।

उछट्टे नाचेको तालमा हटारु हूलबाट खित्का छुट्छ ।

उछट्टे नचाएपछि हटारु तन र मन भुर्र उड्लाजसरी चंगा हुन्छ ।

नाचगानपछि हिँडेको हटारु हूलले अर्बिजा काट्छ । पुर्बाङखोला पुग्छ । उकालिएर ठाङ्ङेको जङ्ला पुगेर वारिपारि आँखा डुलाउँछ । रुकुम–डोल्पाको त्यो सीमामा हूलले पसिना पनि ओभाउँछ ।

जङ्लाबाट ओरालिएको हटारु हूलले बल्ल रिम्नामा सानीभेरी भेट्न हतारिएको ठूलीभेरी वल्लोपट्टिको गाउँ भेट्छ, जुनबेला सूर्यले त्यस दिनका लागि बिदा मागिसकेको हुन्छ ।

हटारु भन्छन्, ‘आइपुगिम्, तारभोट !’

आफ्नो ‘र्‍याङ’ को घरमा हटारु हूलले नुन बोक्ने भारेडोका (सानो प्वालवाल चोयाको डोको) बिसाउँछ । मडुस (काठको बाकस) भरि नुनै नुन देखेर उछट्टे आँखा झन् ‘हलाक्’ हुन्छन् ।

भोलिपल्ट नुन बोकेर हटारु हूल चुइचुइ घरतिर लाग्छ ।

जाँदा या फर्कंदा, रोल्पाको थबाङसहित रुकुमका कारी, कोल, रासी, मई, लुगुम, उनाम, मैका हटारुसँग भेट हुन्छ । कुनैसँगै बासमा त, कुनै गाउँका हटारुसँग बाटोमा ।

तपाईंलाई लाग्यो होला, यो के हटारु किस्सा हो ?

यो त वाग्मती भेट्न हतार गोदावरीखोलासँगै बगेको फिरी बुढामगर (८५) को स्मृतिखोला हो । गोदावरी किनारको टिनछाने टहराभित्र बग्दै ७१ वर्ष पुरानो उही ताराभोट पुग्छिन् । अचेल त सपनामा समेत जान छाडेको ताराभोटको पानीफोटो सम्झेर फिरीले लामो सास फाल्छिन्, ‘फेरि ताराभोट जान यो जुनीमा त कहाँ लेखेको होला र !’

ताराभोटमा अचेल न हटारु लर्को छ न छार्काभोट जाने चौंरीको । न जडानबाट खसान र खसानभन्दा पनि झन औल ओर्लने जाक्ना, घोडा र खच्चरको लर्को लाग्छ ।

फिरीहरू पनि कहिले भोटे नुन लिन ताराभोट पुग्छन् त कहिले छार्काभोट । सायद रोल्पा, रुकुमतिरका हटारुले छार्काभोटजस्तै भोट सम्झेर ताराकोटलाई नाम दिए होलान्, ताराभोट ।

बमकुमारी बुढामगरका अनुसार खस राज्य विस्तारअघि १८ मगरातको एक राज्य हो, ताराकोई । र, खस–नेपालीकरण तथा हिन्दूकरणपछि ताराकोई हुन्छ, ताराकोट ।

ताराभोट भनिने हिमाली उपत्यका हो, जसलाई मानवशास्त्री जेम्स एफ फिसरले नाम दिएका छन्, तिचुरोङ । त्यहाँ ताराकोटसहित गुम्बातारा, तुम्तारा र सहरतारा गरी १९ गाउँ छन् । अहिले डोल्पा जिल्लाको काइके गाउँपालिका हो । तिचुरोङवासीलाई तराली मगर (जनसंख्या ३७१८ जसमा काइके भाषी १२२६ र पोइके (तिचुरोङके) भाषी २४९२) भन्छन् ।

झिलिमिली ताराभोटहरू

सुजित मैनाली (१३ भदौ, २०७७, कान्तिपुर कोसेली) लेख्छन्, ‘नरेन्द्रदेवको पालामा भोटसँगका हिमाली नाकाहरू सहज भएपछि उकालिएको व्यापार मल्लकालसम्म चरमचुलीमा पुगेको थियो ।’

त्यसताका नेपालले किन्ने मुख्य सामान नुन हो । त्यसपछि ऊन अनि सुन ।

सन् १९६० अघिसम्म तिब्बत सीमाका विभिन्न नाका हुँदै नेपाली भान्सा–भान्सामा भोटे नुन पुग्छ ।

तरालीसहित हिमाली भेगका भोट–बर्मेली भाषा परिवारका विभिन्न भाषा बोल्ने समुदायले चौरी, झोपा, च्याङ्ग्रा, चेल, घोडा र खच्चरमा अन्न लदाएर तिब्बत लान्छन् । अन्नसँग भोटे नुन साटेर फर्कन्छन् । कर्णाली र भेरीतिरको कुरा गर्ने हो भने, तिनै नुन लिएर कर्णाली र भेरी नदी किनारैकिनार ओर्लन्छन् । भोटे नुन लिएर अन्न साट्न सुर्खेत, नेपालगन्ज पुग्छन् । जाक्ना (भेडा/बाख्रा) भग्रीहरू भोटे नुन बोकेर राजापुर पुग्छन् । टनकपुर पुग्छन् ।

हुम्ली अनुसन्धाता दीपेन्द्र रोकायाअनुसार, भारतमा अंग्रेज उपनिवेश नहुँदासम्म भोटे नुन लखनउसम्म पुग्छ ।

नुने बाटा नै विश्वका धेरै देशमा मोटर तथा रेलमार्ग बनेका छन् । उपल्लो डोल्पा, हुम्लाका अन्न तथा नुन ओसारपसार गर्ने नुन बाटो त अन्तर्राष्ट्रिय नुने बाटो हुन् भनिन्छ ।

तरालीसहित भोटवर्मेली परिवारको भाषा बोल्ने समुदायको पकडमा रहन्छ, भोटे नुनको व्यापार । यसको मूल कारण हो, तिनका लागि भाषा र भूगोल अनुकूल हुनु । तिनले खसानतिरको खस नेपाली पनि जान्दछन् भने भोटको तिब्बती पनि ।

अनुसन्धाता एवं हुम्ली सांसद छक्कबहादुर लामाका अनुसार उत्तर र दक्षिणमा नुन, ऊन र अन्न विनिमयको गज्जबको व्यापार चलेको हुन्छ, कर्णालीमा ।

लामा थप्छन्, ‘नेपालमा सुनजस्तै मूल्यवान भोटे नुन व्यापारबाट सिंगो कर्णालीले सास फेर्थ्यो ।’

भोटे नुन पांग्राले कर्णालीसहित हिमाली लोकजीवनको आर्थिक, सामाजिक, सांस्कृतिक गाडी गुडेको हुन्छ ।

पश्चिममा भोटे नुनको मूलथलो पुराङबास (ताक्लाकोट) हो भने तिनका मूल नुन हाट यलबाङ (हुम्ला) र सिंजा (जुम्ला) ।

फिरीहरू ताराभोट नुन हाट जाँदा तराईका विभिन्न भागमा भारतीय नुन केन्द्र बनिसकेका हुन्छन् । जसमा मुख्य नुनथलो सुदूरपश्चिममा महेन्द्रनगर, मध्यपश्चिममा नेपालगन्ज, अझ मध्यभागमा बटौली (बुटवल) र पूर्वमा धरान हुन् ।

फिरीहरू भारतीय नुन लिन कोइलाबास जाने क्रम जुन गतिमा बढ्छ, त्योभन्दा पनि तीव्र गतिमा घट्छ, भोटे नुन लिन ताराभोट जाने सिलसिला ।

हटारुले आफ्ना भान्सामा नुन लिन ठूलो जोखिम मोल्छन् ।

चलचित्र कथा खोज्दै म्याग्दी गुर्जा हिमालमुन्तिर पुगेका फिल्म निर्देशक अनिल बुढामगर सुनाउँछन्, ‘भोटे नुन लिन जाँदा कोदालो, बेल्चा र कात्रो लिएर जान्थे रे ।’

हिउँले पुरिएर या लडेर मर्ने हटारुलाई बिदा गर्न कात्रो सामा गरी नुन हाट गएका हुन् ।

रुकुम गोतामकोटका कमारा विष्ट (८८) ले (पोहोर वैशाख…) भोटे नुन लिन जाँदाको सम्झना सकस सुनाएका छन्, ‘पैतला अडिने ठाउँ कोदालोले खन्दै जान्थ्यौं । तल हेर्‍यो, आँखा मन्कने भेरी, माथि पहरा । सातोपुत्लो उतै छाडेर आउँथ्यौँ ।’

(क)

भोटे नुन आउट, भारतीय नुन इन

भारतीय नुनले नेपाली भान्साबाट भोटे नुन विस्थापित गर्छ । कसरी ?

१. चीनले तिब्बत निल्नु

उत्तर च्याङ (हिमालदेखि उत्तर तिब्बती चिसो पठार) को भोटे नुन र दक्षिण रोङ (हिमालदेखि दक्षिणका खोंच) को अन्न साटफेरबाट परापूर्वकालदेखि हिमाली जनजीवन जिएको हो ।

सन् १९५९ मा चीनले तिब्बत लिन्छ । तिब्बती शरणार्थीले विद्रोह गर्छन् । सुरक्षा बहानामा चीनले सीमानाका कडा बनाउँदै आउजाउ रोक्छ । मानिस आउजाउसहित नेपाली वस्तुभाउलाई चरन उपभोग गर्न पनि रोक लगाउँछ । भोटे नुनको भाउ बढाउँछ । अन्न र नुन सीमाहाट बन्द गर्छ ।

माथि तिब्बतमा नेपाली वस्तुभाउ चराउन रोक्छ भने तल सामुदायिक वनले । फलस्वरूप हिमालीजनको ‘उधौली–उभौली जीवनपद्धति’ नै नराम्ररी खलबलिन्छ ।

राणाकालमा हिमाली भेगका भेडा/बाख्रा चराउन ‘सनद’ अन्तर्गत चरन अधिकार दिएको हुन्छ । त्यो अधिकार सामुदायिक वनले खोस्छ ।

परम्परागत भोटे नुन र ऊनमा आधारित र पशुपालनमा आधारित व्यवसाय धराशायी हुन्छ ।

‘हिमालयन टेडर्स’ मा क्रिस्टोफ भान फुरेर हइमेन्डर्फले पुराङबास (ताक्लाकोट) लाई मात्र चीनले व्यापार अनुमति दिएको उल्लेख गरेका छन् ।

चीनले कब्जा गरेपछि सडक र रेलमार्गले जोड्दै तिब्बतमा खेतीपाती पनि थाल्छ ।

सोमत घिमिरेले ‘जुर्मुराएको बखत’ मा से–फोक्सुण्डोका छिरिङ लामालाई उद्धृत गर्छन्, ‘पहिलेपहिले हामी जौ, फापर, उवा भेडालाई बोकाएर तिब्बत जान्थ्यौँ । नुन लिएर तलतिरका जिल्लामा बेच्थ्यौँ । हाम्रो इज्जत ठूलो थियो । तिब्बतमा अन्न हुँदैनथ्यो । अहिले ठीक उल्टो । कस्तो ठाउँमा के फल्छ, तिब्बत सरकारले बुझ्यो । तर, हाम्रो सरकारले बुझेन । आजकाल त जौ, फापर र उवा पनि तिब्बतबाट ल्याउन थालेका छौँ । हिजोका बेच्ने त हामी किन्ने भयौँ । हेर्नुस् त, कहाँको इज्जत कहाँ पुग्यो (११७–१८) ।’

अनुसन्धाता एवं हुम्ली सांसद छक्कबहादुर लामा कथन छ, ‘हिजो ‘दक्षिणबाट खाद्यान्न र उत्तरबाट नुन’ बन्ने परम्परागत उक्ति आज ‘उत्तरबाट खाद्यान्न र दक्षिणबाट नुन’ भन्नुपर्ने अवस्था छ ।’

२. भारतीय नुन राजनीति

नेपाली भान्सा अहिले भारतीय नुनको कब्जामा छ ।

कल्याण रोका लेख्छन्, ‘नेपालमा साल्ट रोडहरू भत्काउन र भारतीय नुनले नेपालको बजार कब्जा गर्न सन् १९६० को देशकमा एक रणनीति बनायो (१५ फागुन, २०७३, अनलाइनखबर) ।’

रणनीति हो– नेपालीका गलगाँड समस्या समाधान आयोडिनयुक्त नुन हो भन्ने प्रोपोगान्डा । रोकाका अनुसार, सन् १९७३ सम्म त नेपालमा नुन बेच्ने साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत भारतले नेपालको नुन बजार कब्जा गरिसक्छ ।

विसं २०३० पछि पहाडी जिल्लामा भारतीय नुन सुपथ मूल्यमै पुग्न थाल्छ । पहाडी जिल्लामा पुगेको तीन वर्षपछि ‘हिमाली क्षेत्रमा बढी गलगाँड लागेको’ भन्दै अनुदानमा भारतीय नुन हिमाली जिल्लामा पनि पुग्छ ।

सांसद लामा भन्छन्, ‘भोटे नुनले गलगाँड हुँदो हो त सबभन्दा बढी गलगाँडे तिव्बतमा हुनुपर्ने । तर छैनन् त !’

३. महेन्द्र राजमार्ग

अंग्रेजले भारत उपनिवेश बनाएपछि भोटे नुन व्यापार खुम्चिन्छ । कारण, अंग्रेजले भारतमा रेलमार्ग बनाउनु अनि नेपाल र भारत बाटोले जोड्नु ।

रेलमार्गले समुद्री नुन सस्तोमै विभिन्न भागमा पुग्छ ।

यता, नेपालमा राजा महेन्द्रले बाटो खनाउँछन् । बन्छ, महेन्द्र राजमार्ग । चुरेमुन्तिर खनेको बाटो मेची–महाकाली पुग्छ ।

महेन्द्र राजमार्ग बनेपछि भारतीय नुन नेपालमा सस्तोमै भित्रिन थाल्छ ।

(ख)

भान्सामा भोटे नुन नहुँदा

नेपाली भान्साबाट भारतीय नुनले भोटे नुन विस्थापित गरेपछि हिमाली जनजीवन सबभन्दा बढ्ता प्रभावित हुन्छ । त्यसमा पनि भोटबर्मेली भाषा परिवारका भाषा बोल्ने समुदायका आर्थिक जीवन सबभन्दा बिथोलिन्छ ।

१. जडान–खसान सम्बन्ध

परापूर्वकालदेखि नै भोटे नुनले हिमालपारि र वारिका समुदायसहित र हिमालदेखि तल्लो भेगका समुदायलाई जोड्छ । धार्मिक रूपमा बौद्ध र हिन्दु धर्मावलम्बीलाई ।

‘हिमालयन टेडर्स’ मास्फे भान फुरेर हइमेन्डर्फ लेख्छन्, ‘खुम्बु, वालुङचुङ, थाकखोला, डोल्पो र ताराकोटको व्यापार तिब्बत बर्मन बोल्ने बुद्धिस्टको हातमा रहन्छ । जसले तिब्बत र तलका हिन्दुसँग जोड्छन् ।’

तरालीलगायत भोटबर्मेली भाषा परिवारका भाषा बोल्ने समुदायले तिब्बतीलाई चिनो, कागुनोजस्ता हिमाली अन्न दिएर भोटे नुन साट्छन् । त्यो नुनसित फेरि खस नेपाली भाषी खसानभन्दा अझ औल ओर्लेर अन्न साट्छन् ।

माथ्लो डोल्पालगायतका कर्णालीका हिमाली भेगका भोटबर्मेली भाषा परिवारको भाषा बोल्ने बौद्धमार्गीको क्षेत्र हो, जडान । जडानमुनि बस्ने खसभाषी हिन्दु धर्मावलम्बीको क्षेत्र हो, खसान ।

तिब्बती (भोट), जडान र खसानलगायतका समुदायलाई जोड्न ‘इष्ट/मित्र’ जनाउने एउटा साइनो गाँस्छन्, जसलाई तराली मगरलगायत स्थानीय भाषामा नेहचाङ भन्छन् । मगर खाम/पाङभाषी र्‍याङ भन्छन् । खसभाषीले मीत भन्छन् । इष्ट भन्छन् ।

हुम्ली सांसद लामाका अनुसार, वस्तु विनिमय बजार ग्यारेन्टी गर्ने काम त्यस क्षेत्रका पवित्र तीर्थस्थल (कैलाश मानसरोवर) लाई साक्षी राखी जाड (भोटे) र खसिया (खस) बीच मित्रको सम्बन्ध गाँस्ने प्रचलन थियो ।

‘विगतको डोल्पा’ मा सन्तराम हिराचन लेख्छन्, ‘आफ्ना इष्टबाहेक अन्यसँग व्यापार गर्न पाइन्न । त्यसले जसको बढी इष्ट छन् उनै अनाजको धनी । इष्ट नहुनेले व्यापार गर्न पाऊ भनी धेरै इष्ट हुनेसँग मागेर व्यापार गर्थे । केही पैसा लिई अर्कैलाई इष्ट बिक्री गरी अब उप्रान्त फलाना दरामध्ये फलाना गाउँका मेरा इष्टसँग तपाईंले व्यापार गर्न पाउने गरी मेरो हक छाडी बिक्री गरिदिएको छु भनेर कागतपत्र पनि हुन्थ्यो (१२४) ।’

स्मरणीय के भने, दाजुभाइबीच ‘इष्ट’ अंशबन्डा हुन्छ ।

भोटे नुनसँगै नेहच्याङ नामक साइनोले जोड्ने ‘सम्बन्ध’ पनि बिलाएको छ । ‘ट्रान्स हिमालयन ट्रेडर्स’ मा जेम्स एफ. फिसरले हुम्ला केर्मीका गेबु (गाउँको प्रमुख) लाई उद्धृत गर्छन्, ‘अछामको इष्टकहाँ गएपछि गेबु धेरै दुःखी हुन्छन् । पहिले त हिन्दु गाउँमा नुन लिएर पुग्दा राजालाई जस्तो सत्कार गर्ने इष्टले फोहोरी भोटे व्यवहार गरे (२६६) ।’


...

भोटे नुन सम्झँदा बढी त कर्णालीकै चर्चा हुन्छ । त्यसमा पनि मुख्यतः हुम्ला, डोल्पा र मुगुको । हुन पनि कर्णालीलगायत हिमाली भेगका अर्थराजनीतिमा प्रभाव पार्ने मुख्य तत्त्व नै भोटे नुन हो ।

१२ देखि १८ औं शताब्दी मध्यकालीन युग कर्णालीको गौरवमय छ, भन्छन् । ‘फुड क्राइसिस इन कर्णाली’ मा जगन्नाथ अधिकारीले रमेश खड्का (१९९९) लाई उद्धृत गर्छन्, ‘कर्णाली नवौंदेखि १८ औं शताब्दीसम्म धेरै सभ्य र सम्पन्न थियो ।’

अधिकारी विभिन्न अध्ययनहरूलाई हवाला दिँदै ‘बाइसे राज्य हुँदै गोर्खा विस्तारपछि कर्णाली साँच्चि ओरालिएको, राणा शासन (१९०३ देखि २००७) कर्णालीको सबभन्दा कालो अवधि’ भन्छन् ।

हुन पनि १८९० देखि राणाले राजापुर बसाएपछि, नेपालगन्ज, दाङमा बस्ती बसेपछि त भोटे नुन बजार टीबी लागेको मानिसजसरी चक्रक्क सुक्छ । भोटे नुनसँगै साल्ट रोडहरू बिलाउँछन् । र, अन्तमा नेपालको हिमाली क्षेत्रको अर्थप्रणाली नै ध्वस्त हुन्छ ।

‘राजा आँखा’ लागेर पनि हिमाली भेग सीमान्तकृत भएको हो भन्नलाई हुम्ली सांसद लामाले महेन्द्र–किस्सा सुनाउँछन्— एकपालि राजा महेन्द्र रारा ताल हेर्न मुगु गएछन् । चलाख राजा मन एक जना भोटेलाई देखेर खसखसाएछ ।

राजा महेन्द्र– तिम्रो राजा को हो ?

भोटे– दलाई लामा ।

राजा महेन्द्र– ट्वाँ ।

त्यसपछि ?

महेन्द्रले तिब्बती र नेपाली जनताको जनसम्बन्ध तोड्छन् । त्यसपछि सरकार र सरकारबीचको सम्बन्धमै सीमित हुन्छ ।

२. बहुपति प्रथा

भोटे नुन व्यापार सुकेपछि बहुपति प्रथा पनि खलबलिन्छ ।

हिमाली क्षेत्र अर्थात् कर्णालीको उत्तरी ‘जडान’ क्षेत्रमा तिब्बतीभाषीहरूबीच मातृसत्तात्मक व्यवस्थामा आधारित बहुपति (सबै भाइका एक पत्नी हुने वैवाहिक पद्धति) स्वीकार्य छ भने ‘खसान’ क्षेत्रमा खसहरूबीच पितृसत्तात्मक सामाजिक व्यवस्थामा आधारित बहुपत्नी (एक लोग्नेका एकभन्दा बढी पत्नी हुने वैवाहिक पद्धति) ।

‘समृद्ध कर्णालीको दुःख’ मा छक्कबहादुर लामा र दीपेन्द्र रोकाया लेख्छन्, ‘जब कर्नाली क्षेत्र आर्थिक रूपमा विस्तारै वस्तु विनिमयबाट बजारमुखी अर्थतन्त्रतर्फ र सामाजिक रूपमा पनि प्राग ऐतिहासिक अवस्थाबाट फेरिन थाल्यो तब दुई लैंगिक अतिवादमा आधारित वैवाहिक पद्धति हट्दै छ ।’

भोटे नुनसँगै हिमाली जनजीवन यति बिथोलिन्छ कि, ठूलो संख्यामा नेपालका विभिन्न भूभागमा तिनले बसाइ सर्छन् त कति भारतको पहाडी भूभागमा ।

स्थानीय तिचुरोङ एवं अनुसन्धाता जगबहादुर बुढामगरका अनुसार, तरालीमगरले भोटे नुन व्यापार बिलाएपछि पटुका व्यापार गर्छन् । त्यो पनि सेलाएपछि यार्चागुम्बु (यार्सागुम्बा) ।

(ग)

भोटे नुन पुनर्जीवन कि भारतीय नुन निरन्तरता ?

नेपालको उत्तरी भेग हटारुले छाडेको बास भएको छ । न भोटे नुन छ न हटारु । न जाक्ना लर्को न च्यांग्रा र घोडाका । अब भोटे नुन बचेको छ त, हटारुका सम्झना, लोकमनका गीत, आसिक र मन्त्रमा मात्र ।

भोटे नुनबिनाको अलिनो हिमाली भेगलाई नेपाल सरकार ‘भौगोलिक विकटता’ को बहाना बनाएर हाइसोके भई बसेको छ । सन्चो–बिसन्चो सुन्न न समाजवादतिर मुख फर्काएको समृद्धि नारावाल सरकारसित रुचि छ न त हुती नै ।

के भोटे नुनले पुनर्जीवन पाउला ?

पुनर्जीवन नै नपाए नि, भरथेग होला कि भन्ने छनक देखिन थालेको छ । छनक हो, बिलाएका साल्ट रोड हुँदै चीनले सिल्क रोड र सल्ट रुटबाट मोटर र रेल बाटो खन्न खोज्नु ।

हुम्ला र डोल्पाका साल्ट रोड अन्तर्राष्ट्रिय ‘नुन बाटो’ हुन् ।

यसैगरी, भारतीय नाकाबन्दीताका नेपालसँग थप सात सीमानाका खुलाउन चीनले सहमति जनाएको छ । ती हुन्— ओलाङचुङ्गोला, किमाथाङ्का, लामाबगर, लार्के, कोरोला, नग्चा र हिल्सा ।

‘रासायनिक परीक्षणले गुणस्तरीय नुन रहेको’ खानी विभागका प्रवक्ता डा.जनकबहादुर चन्दलाई उद्धृत गर्दै हिमालखबर (१८ असार, २०७७) ले लेखेको ‘मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका नर्सिङखोलाको नुन खानी उत्खनन’ समाचार समाचारमै सीमित छ । जोमसोमबाट ३० किमि टाढा छुसाङको तेताङ क्षेत्रको नुनखानी दुई दशकदेखि बन्द छ ।

सवाल हाम्रै नेपाली नुनको हो । नेपाली नुनले नपुगे बल्ल भोटे नुन किन्ने कि भारतीय नुन किन्ने सवाल उठ्ला । त्यसैले चासो न भारतीय नुनको निरन्तरता हो न त भोटे नुन पुनर्जीवन । सवाल हो, भोटे नुन बिलाएपछि झन् सीमान्त हिमालीजनलाई मूलधारमा ल्याउनु । महिला, दलित, आदिवासी, मधेस, विकलांगसँगै हिमाली भेगका आङमा लोकतन्त्र र गणतन्त्र घाम नलागी आउने समाजवाद र बन्ने समृद्ध नेपालको अनुहार कति सुन्दर होला ?

तपाईंले कल्पना गर्नुभएको छ ?

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : पुस १०, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?