२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एक बूढो हनुमानको कन्फेसन

नवीन

मिथकभन्दा पर रहेर
अब म बोल्न चाहन्छु
अब म बताउन चाहन्छु
कुचीको जादुमा रङमङिएर अनुहार बिर्सिएको क्यानभासझैं
आफैंलाई बिर्सिएको रूमानी सम्बन्धहरुको कथा
आफ्नै अस्तित्वलाई पर्दाभित्र राखिबसेर बाँचेको जिन्दगीको कथा

एक बूढो हनुमानको कन्फेसन

पहराबाट ढुंगा जसरी खसिबसेर

आफ्नाहरुको थाप्लोमा बर्सिरहने सहानुभूतिको फेहरिस्त


कि म बताउन चाहन्छु –

पिँजडाभित्र आकाश खोज्न अभिशप्त सुगाले जसरी

सदाका लागि थुकेर हिँड्न मन लाग्ने

कुनै समयको त्यो ज्याद्रो दुःखबारे

अथवा,

प्रार्थनाका खातिर बितेर गएका बिहान र साँझहरु

आफैंलाई मूर्ति बनाइराख्ने आस्थाको मसानघाट

र प्रसाद मात्र कुरिबस्ने तुच्छ ईश्वरबारे


मध्याह्नमा

आफ्नै छाया कुल्चिबसेर उभिरहने बूढो रुखले झैं

कति तुसारो र हुरीहरु सम्हालेर यहाँ आइपुगेँ ?


हो, अब म बताउन चाहन्छु –

मेरा प्रत्येक पदचापले क–कसको निधार कुल्चियो ?

क–कसको छातीमा टेकेर उभिएँ ?

धरती छाडेर बादलको ढाडमा किरण तेर्स्याइरहेको

साँझको घामझैं

उमेरको यो पश्चिम क्षितिजमा आइपुगेको म

बताउन सक्छु यत्तिखेर

चेपाङका आासुका प्रत्येक थोपाले

निभाउन खोजिरहेको आगो कसले लगाएको हो


आँसुसँग भात मुछेर

गाँस लगाइरहेको मानिसअघि कसरी म भव्य देखिएँ

वा क–कसको झुपडीमा डोजर लगाएपछि

म हिँड्ने बाटो पिच बन्यो

वा कति गाउँहरुको अनुहारमा

कथित विकास र बजारको हिलो छ्यापेपछि

मैले समृद्धिको रिबन काटेँ

अथवा, कति चिच्याहट र चीत्कार ग्यास च्याम्बरमा हुलेपछि

न्यायको फैसला भयो

कि म बताउन सक्छु–

कति हजारको घाँटी छिनालेपछि

कति हजारलाई बेपत्ताको सूचीमा राखेपछि

कति हजारको गोडा भाँचिदिएपछि

म शक्ति र सत्तामा आइपुगेँ !


उमेरको यो किनारामा आइपुग्दा

तातो तेलमा चोपलिएको हातलाई जसरी

विगतहरुले भतभती पोलिरहेको छ

कुनै पदच्युत शासकले

ऐनामा हेरिरहेको आफ्नै निरीह अनुहार जसरी

सबै सबै कुरा वाइहात लागिरहेछ

यतिबेला जिन्दगी वाइहात लागिरहेछ


निगुरोको मुन्टा निमोठे जसरी सत्यको घाँटी निमोठ्दै

समयको यो परिधिभित्र आइपुग्दा

लागिरहेछ–

दुनियाँबाट मानवताको गहिरो प्रतिध्वनि सकिनुअगावै

दुनियाँबाट शान्तिको पखेटाहरु भाँचिनुअगावै

दुनियाँमा प्रेमको खातिर चलिबस्ने मुटु चिरा–चिरा हुनुअगावै

मैले मेरो मुख खोल्नैपर्छ

मैले खास सत्य बोल्नैपर्छ

किनभने–

यो पृथ्वी जिउँदा लास टेकेर हिँड्नेका लागि होइन रहेछ

यो पृथ्वी मानिसलाई दास देख्नेका लागि होइन रहेछ ।

प्रकाशित : पुस ४, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?