मृत्युको कथा

आमाले भनिन्– मृत्युको कथा लेख्न त आँसुको मसी पो चाहिन्छ छोरा । कहाँबाट ल्याउँछस् आँसुको मसी ? दुर्भाग्य, मसँग आँसुको मसी थिएन ।
केशव दाहाल

झन्डै ३८ वर्षअगाडिको कुरा हो । त्यो दिन पश्चिम आकाशमा तामा रङको बादल लागेको थियो । थामडाँडामुनि भित्तामा सिमसिम पानी पर्दै थियो । घरनजिकै पयौंको रूख चिसो सिरेटोसँग नाच्दै थियो । र, पश्चिम क्षितिजको डिलमा उभिएर सूर्यदेव सुस्केरा हाल्दै थियो । त्यही साँझ गाउँमा एक जना युवक मर्‍यो, जो मलाई कान्छा भनेर बोलाउँथ्यो ।

मृत्युको कथा

उसको अनुहार तारेभीरजस्तो सपाट थियो । दाँत निकै ठूला र पहेँला थिए । आँखा थिए सुक्खा इनारजस्ता उदास । उसको मृत्युले म निकै दुःखी भएँ । भावुकतावश मैले आमालाई भनेँ– ‘आमा म मृत्युको कथा लेख्छु ।’ मेरो कुरा सुनेर अचम्म मान्दै आमाले भनिन्– मृत्युको कथा लेख्न त आँसुको मसी पो चाहिन्छ छोरा । कहाँबाट ल्याउँछस् आँसुको मसी ?

दुर्भाग्य, मसँग आँसुको मसी थिएन ।

त्यसको केही वर्षपछि मेरो दाइ बेपत्ता भयो । मान्छेहरू भन्थे, ‘ऊ मभन्दा सुन्दर थियो ।’ आकाशमा उड्ने सिमलको भुवा हराएजस्तै ऊ हरायो । उसलाई हामीले आकाश–पाताल खोज्यौं– वाना, धुपु, खाँदबारी, दिंला, चैनपुर, आँखीभुई, चानुवा । तर, कतै भेटिएन । खासमा म दाइको छायाजस्तै थिएँ । मलाई उसका अनेक रहस्य थाहा थियो । मलाई उसकी प्रेमिकाबारे थाहा थियो । मलाई उसको चोरऔंलांमा लुकेर बसेको फुस्रो कोठीबारे थाहा थियो । ऊ कहिलेकाहीँ सयपत्री चुरोटको सर्को लाउँथ्यो, जो मलाई मात्र थाहा थियो । ऊ बा–आमालाई छलेर प्रेमिकालाई चिठी लेख्थ्यो, त्यो पनि मलाई थाहा थियो । खासमा म उसका केही भूमिगत कमरेडहरू पनि चिन्थेँ । तर, दुर्भाग्य, उसले आफ्नै छायालाई समेत छल्यो र एक दिन सुटुक्क हरायो । ती उदास दिनहरूमा म सोच्ने गर्थेँ– हराएको दाइलाई सम्बोधन गरेर एउटा कथा लेखौं । आमाले भनिन्– ‘हराएका मान्छेहरू फेरि फर्किन्छन् छोरा । तेरो दाजु पनि पक्कै आउनेछ । उसलाई नबिर्सनू र उसको नाममा मृत्युको कथा कहिल्यै नलेख्नू ।’

हाम्रो परिवारमा मृत्युको लीला चल्दै गयो । मानौं बूढा रूखहरू ढल्दै गए । मलाई लाग्थ्यो– मान्छे स्वयं असिनाको डल्लो हो, जो हुनहुनाउँदै आँधीसँगै आउँछ र निमेषभरमै पग्लिएर जान्छ । प्रियजनहरूको मृत्युमा म निकै दुःखी हुन्थेँ । वैराग्य आउँथ्यो । जीवनका अनेकौं रहस्यहरू सम्झेर छाती भारी हुन्थ्यो । बुबा जब मलामीबाट फर्किन्थे, लाग्थ्यो– उनी स्वयं मेरो चिता जलाएर फर्किएका हुन् । मेरो मनोभाव बुझेर आमा सम्झाउँथिन्– ‘मृत्यु सत्य हो छोरा । सत्यसँग केको डर ।’ नभन्दै आफ्ना मान्छेहरू मरेको सुन्दा पनि आमा स्थिर देखिन्थिन्– ढुंगाजस्तो । उनको विश्वास थियो– ‘मान्छेको शरीर मर्छ, आत्मा कहिल्यै मर्दैन ।’ उनी भन्थिन्– मृत्यु सत्य हो छोरा । सत्यको कथा हुँदैन ।

समय संधैं एकनास रहँदैन । न जीवन एकनास रहन्छ, न मृत्यु । र, एक दिन बैगुनी मृत्युले मेरा बालाई लग्यो । जब बाले अनन्तकालका लागि आँखा चिम्लिए, आमाको ढुंगाजस्तो मन पग्लियो । उनी खुबै रोइन्, डाँको छोडेर । काजकिरिया सकेपछि पनि आमाका आँसु थामिएनन् । बा बितेको त्यस्तै ६ महिना भएको हुनुपर्छ, एक दिन मैले सोधेँ, ‘किन रुन्छ्यौ आमा ?’ आमाले भनिन्– ‘म तिम्रा बालाई असाध्यै माया गर्छु छोरा । मलाई थाहा छ उनको आत्मा यतैकतै हुनुपर्छ । त्यसैले त उनीसँग प्रार्थना गर्दै छु कि बूढा अर्को जुनीमा पनि म तिम्रै अर्धांगिनी बनौं । यो आँसु मेरो प्रार्थना हो पुत्र । दुःखी नबन ।’ त्यो दिन मलाई लाग्यो आमाको आँसु अञ्जुलीमा थापेर मनको क्यानभासमा रङ भरौं । त्यो रङसँग बाको मृत्युको कथा घोलौँ र भनौँ आमा तिम्रा पति यिनै रङहरूमा जीवित छन् । त्यो दिन आमाले पुरानै लयमा भनिन्– ‘प्रिय छोरा, जबसम्म मान्छेको आशीर्वाद तेरो साथमा रहन्छ, ठान्नू त्यो मान्छे मरेको छैन ।’

बा बितेको आठ वर्षपछि आमा गइन्– गत सालको मंसिर २८ गते । उनको परलोकगमन अकस्मात भयो । यति अकस्मात कि सबै कुरा पुच्छ्र्रे तारा खसेजस्तो झिलिक्क भयो र सकियो । आमा बितेपछि मैले आफ्नो स्वाभाविक चेतना गुमाएँ । म मात्र समाजको आदेशपालक भएँ । आदेश दिनेहरू भन्थे– आमालाई ढोग, ढोगिदिन्थेँ । पीताम्बर ओढाऊ, ओडाइदिन्थेँ । पूजा गर, गरिदिन्थेँ । चितामा फेरा लगाऊ, लगाइदिन्थेँ । दागबत्ती देऊ, दिइदिन्थेँ । त्यसपछि हाहाकार नामक राक्षसादिलाई पिण्ड दिँदै पशुपति परिसरमा १२ दिन बिते । जब काजकिरिया सकेर घर फर्किएँ, तब पो एक्कासि होस आयो– झिलिक्क । हेर्छु त घर सुनसान छ । आमाको कोठा, पूजास्थल, भर्‍याङ र बरन्डा सर्वत्र चकमन्न छ । न कतै श्लोकको गुनमुन सुनिन्छ, न विरहको राग । लाग्यो– अब आमासँग कहिल्यै भेट हुनेछैन । बस, आँखाबाट आँसु बग्न थाले । मनमनै भनेँ– आमा अहिले मसँग छ आँसुको मसी, छ मनको क्यानभास र छन् मनभित्र कुँदिएका तिम्रा अनन्त सम्झनाहरू । कुनै दिन ती सम्झनाहरू अवश्य कथा बन्नेछन् र ती सबैलाई जोडेर म तिम्रा दरसन्तानहरूलाई तिम्रो मायाको कथा सुनाउनेछु ।

योचैं आमाको कथा होइन, संझनाको सानो बगैंचा हो ।

एक दिन आमाले भनिन्– थाहा छ, तँ त भाग्यले बाँचेको मान्छे पो होस् ।

म सानै थिएँ । घरमा मजत्रै सानो कोक्रो थियो । कोक्राका आँखीझ्यालहरूबाट म मेरो सानो संसार चियाउँथेँ र एक्लै मुस्कुराउँथे । आमा मलाई कोक्रामा सुताएर मेलापात गर्थिन् । एक दिन, सायद असारको पहिलो हप्ता हुनुपर्छ । घरमा रोपाइँ थियो । त्यसैले त्यो दिन आमाले गर्नुपर्ने काम धेरै थिए । शुक्रतारा नझुल्कँदै उठेर बीउ काड्नुपर्ने, सूर्योदय नहुँदै खाजा बनाउनुपर्ने र रविकिरण पृथ्वीमा नपोखिँदै रोपाइँ थाल्नुपर्ने । त्यहीबीच दुई भारी घाँस काट्नुपर्ने र भकारो सोहोर्नुपर्ने । कामको चटारोमा आफ्नो बालगोपाललाई कसरी स्याहार्ने ? आमाले जुक्ति निकालिन्– मलाई मस्तले सुताउने । बस, उनले मेरो मुखमा थोरै कानी हालिदिइन्– भटमासको दानाजति । त्यसपछि जे भयो, त्यो मेरी आमाका लागि जीवनकै नर्बिसिने घटना भयो ।

‘हे कृष्ण ! त्यो दिन तँ मरेको भए सायद म पनि मर्थें होला,’ आमाले सुनाइन्– कानीको प्रभावले म तीन दिन निस्लोट भएँ । मृतप्रायः । यता आमाको होस उड्यो । उनलाई फड्को होलाजस्तो भयो । कुनै वेला दौडिन मन लाग्ने, कुनै बेला मर्न मन लाग्ने । चौथो दिन जब मैले आँखा खोलेँ, बस मेरी आमाको जीवन फर्कियो । उनले मलाई बोकिन् । र, म कोक्राबाट आमाको पिठ्युँमा सरेँ । त्यसपछि जीवनका थप पाँच वर्ष म आमासँंग अभिभाज्य रहेँ– गर्मीमा, शीतमा, हुरीमा, आँधीमा । जस्तो कि पानी झमझम परेको बेला होस् या कठांग्रिने चिसोमा म आमाको ढाडमा निदाउँदै हुन्थेँ । आमा गुनगुनाउँदै कोदो गोड्थिन् र म उनको स्वरलहरीमा लहराउँथे । आमा बुलबुल चरीको कथा सुनाउँथिन् र म उनको ढाडमा बसेर गुनगुनाउँथे । जीवनको सानो क्यानभासमा म उड्थेँ, गाउँथे, नाच्थेँ, प्वाखहरू फटफाटाउँथे र मगनमस्त हुन्थेँ ।

एक कक्षामा मेरो नाम लेखाइयो, स्कुलको पहिलो दिन । सेतो सर्ट, हरियो हाफप्यान्ट, राता मोजा र रातै जुत्ता । बुबाले काँधमा बोकेर मलाई स्कुल लैजानुभयो । स्कुलको नाम थियो सिंहेश्वरी प्रावि । जसै स्कुल, त्यसको फराक खेलमैदान र मैदानको उत्तरपूर्वी कुनामा मेरा चिरपरिचित गुरु कृष्ण खनाल देखा परे, मन फुरुंग भयो । दौडिँदै गएर गुरुको खुट्टामा ढोगिदिए । त्यसरी सुरु भयो मेरो स्कुल । अनि बिस्तारै म आमासँग अलग हुन थालेँ । दिनभर स्कुलमा हुन्थेँ । यद्यपि दुई कक्षासम्म पनि स्कुल छुट्टी भएपछि म हतारहतार घर पुग्थेँ र आमाको साडीमा लुटपुटिँदै दूध चुस्न थाल्थेँ । तर, कक्षा तीनदेखि मैले आमाको काख छोडेँ । छोडेँ आमाको झुनाको साडी । चार कक्षामा पुगेपछि मेरो ओछ्यान अलग भयो ।

केटाकेटीमा म निकै चञ्चल थिएँ– भँगेराजस्तै । खत्राकखुत्रुक गरिरहनुपर्ने । आमा मलाई माया गरेर भन्थिन्– कृष्ण कन्हैया । तर, मेरो चकचक असह्य भएपछि हकार्थिन्– धुन्धुकारी । बेलामौका आमा मसँग बाजी राख्थिन्– ‘लौ तँ बिहानभर चुप लागिस् भने म एक मोहर दिन्छु ।’ कहिले म जित्थेँ, कहिले आमा । एक वर्षसम्म चुप लागेर मैले २० वटाजति ढ्याक जम्मा गरेँ, जसलाई म प्रायशः प्रत्येक साँझ गन्थेँ र लुकाउँथेँ । एउटा दसैंमा मैले आमालाई सोधेँ– आमा तिमीलाई के किनिदिऊँ ? उल्टै आमाले खुत्रुके किनिदिइन् र भनिन्– यसमा जम्मा गर् । अहिले पनि मसँग ती सिक्काहरू छन्, खुत्रुके छ र छन्, ती सबैमा आमाका औंलाका छापहरू ।

एक दिन हामी दाजुभाइ स्कुल जाँदै थियौं । दाइ स्कुलको हेडमास्टर थियो र म विद्यार्थी । बाटोमा जंगल पर्थ्यो । जंगलको बीचमा थियो चिंखुवा खोलो । हिउँदमा खोलो तर्न कुनै गाह्रो थिएन । तर, बर्खा भने कष्ट पर्थ्यो । त्यो दिन दाइले मलाई काँधमा बोक्यो र खोला तार्‍यो । खोला तारिसकेपछि सोध्यो– केटा मलाई खोलाले बगाएको भए के गर्थिस् ? त्यो मेरा लागि असह्य प्रश्न थियो । म रुन थालेँ । दाइले भन्यो– नरो मुला । जीवनको के भरोसा ? मान्छे जुनसुकै बेला मर्न सक्छ । म सुँक्कसुँक्क गर्दै थिएँ, उसले मेरो टाउको सुमसुम्याउँदै अर्को प्रश्न गर्‍यो, ‘म मरेँ भने तँ धेरै रुन्छस् कि आमा, लु भन् ?’ ‘म रुन्छु,’ मैले भनेँ । किनभने ऊ मेरो प्रिय नायक थियो । तर, उसले त मलाई नयाँ रहस्य पो बतायो । भन्यो– हैट, आमा रुनुहुन्छ नि ।

कुरैकुरामा त्यो दिन दाइले बडो अनौठो कुरा सुनायो । भन्यो, ‘आमाको माया समुद्र हो केटा । जति दिए पनि नसकिने । अपार ।’ त्यो रहस्य थाहा पाएपछि मैले आमालाई अझ धेरै माया गर्न थालेँ ।

चिंखुवाको जंघार सँगै तरेको चार वर्षपछि दाइ हरायो । दाइको बदलामा सरकारले आमालाई एउटा सानो कागज दियो, जसमा लेखिएको थियो दाइको नाम, बेपत्ता मिति र बेपत्ता पारिएको स्थान । कालान्तरमा उसलाई सरकारले सहिद घोषणा गर्‍यो । मेरी आमा सहिदकी आमा भइन् । मैले उनलाई सोधेँ– एउटा सहिदकी आमाको सपना के हुन्छ ? आमाले गम्भीर लयमा भनिन– ‘मेरा सपनाहरू सुनाउनलायक मान्छे यो संसारमा कोही पनि छैनन् छोरा । त्यसैले सपनाको कुरा छोड् । बरु म मरेपछि तैंले मेरो मृत्युको कथा लेख्नु र सरकारलाई सुनाउनु, एउटी सहिदकी आमाको सपना आर्यघाटमा ऊसँगै जल्यो । अब उसका सपनाहरूले यो सत्तालाई कहिल्यै तर्साउने छैनन् ।’

आमा बितेको १५ दिनपछि जब मैले आमाका सरसामान मिलाउन खोजेँ, सिरानीमा त्यही निस्सा भेटेँ । दाजु बेपत्ता भएको निस्सा, जसका अक्षरहरू केही मैला थिए र तिनमा आमाका आँसुका थोपाहरू लतपतिएका प्रस्ट देखिन्थे ।

जीवनकालका अन्तिम दिनहरूमा आमालाई डिमेन्सिया भयो । उनले धेरै कुरा बिर्सिइन् । नाता सम्बन्धको मोह बिर्सिईन् । मलाई बिर्सिइन् । तर, आफ्नी आमा र दिदीलाई कहिल्यै बिर्सिनन् । ऐनामा आफैँलाई हेर्दै आमा भन्थिन्, ‘ऊ हेर त, आमा बोलाउँदै छिन् । दिदी बोलाउँदै छे ।’ नभन्दै संजोग यस्तो पर्‍यो कि स्वयं आफ्नी दिदी बितेको चौबीस घण्टा नहुँदै आमाले हामीसँग बिदा लिइन् ।

मान्छेको शरीरको कथा कसरी सकिन्छ ? मैले आमाको अन्तिम क्षण सम्झिएँ, जसको साक्षी थिए आर्यघाटका काला ढुंगा, वाग्मतीको मैलो पानी र मलामीहरू । मैले आमाको चितामा निकै कष्टसाथ दागबत्ती दिएँ । हेर्दाहेर्दै आमाको देहमा आगोको लप्का उठ्यो– कपालमा, अनुहारमा, आँखामा, पेटमा त्यो फैलिँदै गयो । मैले चितातिर हेर्न सकिनँ र आकाशतिर हेरेँ । आकाशमा धूवाँको मुस्लो उठिरहेको थियो । बिस्तारै त्यो पनि बिलाउँदै गयो । एकै छिनमा मित्र तेजबहादुरले खाली चितातिर देखाउँदै भन्यो, ‘खोइ आमा ? आकाशमा हराइन् ।’ मैले तेजबहादुरलाई भनेँ, ‘आमा आकाशमा हराएकी छैनन् साथी, उनी स्वयं आकाश भइन् ।’

आमा बितेको एक वर्षपछि जब आमाको कथा लेख्न बसेँ, मलाई लाग्यो– आकाशको कथा लेखेर कहिल्यै सकिँदैन । बरु आँसुको मसी सकिन्छ, तर आकाशको कथा सकिँदैन । त्यही आकाशको कथा हो, आमाको कथा ।

एक सहिदकी आमाको कथा । त्यसैले आजलाई यति मात्र भन्छु– आमा मैले तिम्रो मृत्युको कथा लेख्न सकिनँ । यसका लागि तिमीले आफ्नो कान्छो पुत्रलाई क्षमा गरिदिनेछ्यौ ।

प्रकाशित : पुस ४, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?