फुर्का पौभाको : हिमालयबाट पेरिससम्म

चीनको सिनकियाङमा पाइएको र यति बेला बेलायतको बोडलियन पुस्तकालयमा रहेका नौवटामध्ये चारवटा दस्तावेज नेपाली कागजका हुन् भन्ने पुष्टि भएको छ , जसलाई इस्वीको पाँचौं शताब्दीको समय दिइएको छ । तर, रामायणको हस्तलिखित प्रति देखेर मात्र व्यासले महाभारत लेखेको पुष्टि हुन्छ । यसर्थ कागज उतिबेलै थियो भन्ने देखिन्छ । भलै ताडपत्र र नीलपत्रको विवाद यहाँ पनि उछिट्टिएर आओस् ।
सौरभ

सोझै प्रारम्भ
डोटीको फलेडीबाट नेपाली कागज बनाउन थालिएको हो (११ असोज २०३२ को गोरखापत्रमा सूर्यप्रसाद जोशी) ।

फुर्का पौभाको : हिमालयबाट पेरिससम्म

यो वाक्य पढेपछि पंक्तिकारलाई अचम्म लागेको थियो, कस्तो गजबको सूचना ? यस्तो पुरानो कुरा कसरी थाहा पाएको होला ? के होला स्रोत ? कौतूहल भयो । जसको स्रोत यस्तो रहेछ—

नेपालमा सर्वप्रथम कागजी स्रेस्ता प्रयोग गर्ने प्रथम पुरुष राजा पहाडी शाहीका वास्तुकला प्रेमको एउटा नमुना हेरिसकेर सिलगढीतर्फ फिर्ता लागियो (पेज ४००, सेतीको नालिबेली –पूर्णप्रकाश नेपाल यात्री, २०३४) ।

कागजी स्रेस्ता, पहाडी शाही, शाके १५६६ (पेज २१९, सेती अञ्चल दिग्दर्शन –पूर्णप्रकाश नेपाल यात्री) ।

रहस्यको नजिकै पुगियो । नेपाली कागजलाई पहाडी कागज पनि भन्छन् । र, फलेडी भन्ने ठाउँमा १८ औं शताब्दी (विक्रम संवत् १७०५) तिर पहाडी शाही रजवार (राजकुमार/राजप्रतिनिधि) भएका रहेछन् । दुवै पहाडीको यस्तो फ्युजन भएको रहेछ । पूर्वप्रधानमन्त्री केआई सिंहका सम्भवतः पूर्वज हुन् पहाडी शाही ।

हेर्दै जाऊँ–१

‘पटना स्कुल अफ आर्ट’ संस्था होइन, एउटा धार हो १८औं/१९औं शताब्दीको बिहारी कलाको । यसको माध्यम हो– पहाडी नेपाली कागज । कागजमा कोरिन्थ्यो त्यो कला । अहिले ठ्याक्कै सम्झना छैन तर २०३३–२०३५ सालबीचको साप्ताहिक हिन्दुस्तान हो या धर्मयुगमा यही विवरण लेखिएको थियो । विक्रम संवत्को १८औं शताब्दीमा जन्मनेबित्तिकै इस्वीको १८औं शताब्दीले पहाडी कागज स्विकारिहाल्ने कुरा भएन, केही शताब्दी पुरानो नभई ।

‘काँगडी मिनिएचर’ पनि इस्वीको १७औं शताब्दीमा पहाडी कागजमाथिकै रेखांकनबाट सुरु भएको हो— अन्य स्रोतहरू भन्छन् ।

नभन्दै पी. रायले दसौं शताब्दीमा कागज बनाउने प्रविधि नेपालबाट भारतमा गएको लेखेका छन् (पेज ३८, प्राचीन नेपाली संस्कृति –जगदीशचन्द्र रेग्मी) ।

हेर्दै जाऊँ–२

आफ्नो क्यालेन्डरको नवौं महिनाको नवौं दिन चिनियाँहरू आफन्तका चिहानबाट चंगा उडाउँछन् स्वर्गसम्म पूर्वज/पितृलाई सन्देश पुर्‍याउन । नवौं अंक बोन मत/थिङ्ग्री मतमा शुभ अंक हो । यसैले यो कन्फ्युसियस मतभन्दा पुरानो अवधारणा हो । यही कारण हो विष्णुलोकमा पितृसम्म सन्देश पुर्‍याउन नारायणस्थानमा कार्तिक कृष्ण द्वादशीका दिन अर्थात् कुकुर तिहारका दिन चंगा उडाउने चलन बन्यो काठमाडौं उपत्यकामा । कुकुर जिउँदै स्वर्ग जाने पशु हो मान्यताले । संयोगले बूढानीलकण्ठ पनि नवौं शताब्दीमा निर्मित हो । कागजको चंगा भने इस्वीको छैटौं शताब्दीमा चीनमा सुरु भएको हो । सिल्क कपडाको अझ पाँचौं शताब्दी इसापूर्वमा सुरु भएको मानिन्छ (नेट) । यसैले नवौं शताब्दीमै कागज आइसकेको देखिन्छ नेपालमा ।

यद्यपि चंगा तिब्बती शब्द हो । चाङसार भनिन्छ पनि पुतलीलाई शेर्पा भाषामा । चंगा बनाइने ठूलो केन्द्र भारतको लखनउबाट बुटवल, पाल्पा हुँदै आयात भएको देखिन्छ । पतंग हिन्दी हो, संस्कृतको पंखबाट रूपान्तरित अर्को केन्द्र पटनाबाट पूर्वी तराई हुँदै आएको देखिन्छ । तर, त्योभन्दा पुरानो नेवारीको भुटिमाली शब्दले यो तिब्बतबाट पहिलोपल्ट नेपाल आइपुगेको स्पष्ट पार्छ ।

लोक्ताबाट कागज बनाउने पेसाले गर्दा तामाङहरूलाई कागते भनिन्छ (पेज २६५, भिनेट्स अफ नेपाल–हर्क गुरुङ) । र, तामाङहरू मध्यतिब्बतीय क्षेत्र माङबाट छैटौं र सातौं शताब्दीमा नेपाल आए । (पृष्ठ १०, तामाङ संस्कार र संस्कृति– तामाङ) ले नेपाली कागजलाई कम्तीमा सातौं शताब्दीमा पुर्‍याउँछ, १८औं शताब्दीको फलेडीबाट । तामाङहरू स्रङचङगम्पोका घोडचढी सिपाहीका रूपमा सातौं शताब्दीमा नेपाल आए भन्ने प्रचलित मान्यता नै हो ।

हेर्दै जाऊँ–३

र भुलुस्वाँ, भों पार्वती स्वाँ (डाफ्ने भोलुवा) र महाध्यो स्वाँ (डाफ्ने पापेरिसिया) भनिन्छ नेवारीमा कागज बनाउने कच्चा पदार्थलाई । भों पार्वती स्वाँ (पेज ११५, मेरो नेपाल भ्रमण–धर्मराज थापा, २०३२) मा परेको भों कागजबोधक हो नेवारीमा । तर, त्योसँग जोडिएको पार्वतीले पोथी लोक्ता र महाध्यो स्वाँले भाले लोक्ता बुझाउँछ— वैज्ञानिक आधार नभए पनि । ‘फूलको गुच्छाभित्र भएको होचो लाम्चो भाग महादेवको लिंग सदृश भएकाले सो महादेवलाई चढाउने परम्परा छ (पेज १६०, पत्रम् पुष्पम्– पुष्कलप्रसाद रेग्मी) ।

यद्यपि आजभोलि पुष्पपत्र (कोरोला) हेरेर बगनबेली (बगनभिलिया गलाब्रा) विशेषलाई पनि भोंस्वाँ भन्ने चलन छ । यसको आगमन भने राणाकालीन (जितजंग राणा सन् १८७४) हो । बनेपालाई भनिने भोन्त (भोटाँत, भोटान्त ?) सँग नजिकै भोंलाई राखियो भने कागज भोटबाटै आएको देखिन्छ ।

डाफ्ने भोलुवा दक्षिण चीन र नेपालमा पाइन्छ । यसले स्पष्टै भन्छ– त्यहाँ डाफ्ने भोलुवाबाट कागज बनाइरहेका तामाङहरूले यहाँ आउनेबित्तिकै सोझै चिनिएकै कच्चा पदार्थ पाउनासाथै सोही पेसालाई प्रमुख बनाउने नै भए । र, चीनदेखि पाकिस्तानसम्म पाइने डाफ्ने पापेरिसिया, जसको प्रजाति नाम पेपर अर्थात् कागजबाट रहन गएको छ, त्यसलाई चीनले कच्चा पदार्थ बनाउनु पनि अनौठो भएन । लोक्ताको खास अर्थ भने बोक्रा हो र बिरुवाको खास नेपाली नाम बेरुवा हो ।

अर्को चरण

मिठाईको पर्यायवाची नेपालेच्छु अर्थात् नेपाली उखु शब्द परेको छ सुश्रुतसंहितामा, जसलाई ३००० वर्षपूर्वको मानिन्छ । साखः र साखवाल थर श्रीवास्तव, गुप्ता भनेजस्तो साखः (क्रेडिबिलिटी) बोधक हो र सक्खर अर्थात् प्राचीनकालको मिठाईबोधक हो पनि । भक्तपुर राजदरबारमा राजकर्णिकारहरूले कागजमा मिठाई पोको पारेर परम्परा थालनी गरेको हुनुपर्छ तर मासु र तमाखुचाहिँ

सालको पातमा बेरेर दिइन्थ्यो । त्यसर्थ नेपाली कागज पोको पार्ने वस्तुका रूपमा अनेकौं शताब्दीअघि नै आइसकेको बुझिन्छ ।

लाखेले नाच्दा लगाउने मुखुन्डो बनाउँदा नेपाली कागजलाई मिहिन माटोमा मिसाएर मुछिन्छ । अझ काठको मुङ्ग्रोले ठटाएर कडा हलुवामा परिणत गरिन्छ । खासगरी थोत्रा पुराना, धुल्याइएका नेपाली कागज यसको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

लंकाबाटै लाखे (रावण) शब्द बन्न गएजस्तो लाग्छ । (पेज ११९, नेपाली निर्वचन–बालकृष्ण पोखरेल) ले लाखे संस्कृतिको प्राचीनतालाई यसरी संकेत गर्छ । नेपालमै एक प्रसिद्ध लाखे नाच भनेको मजिपाट टोलबाट निस्कने लाखे हो । यस टोलको प्राचीनता कम्तीमा ६ हजार वर्ष पुरानो हो भन्ने संकेत पाइन्छ (त्यो रातो थोप्ला–असहमति) ।

२५ सय वर्षअघि मञ्जुश्रीले चोभारको गल्छी काटेर उपत्यकाको ताल बगायो भन्ने दन्त्यकथा पढेकाहरूले पनि यो मान्ने छैनन् । तर, भूगर्भविद्हरूको विश्लेषण भन्छ– ३५ हजार वर्षअघि उपत्यकाको ताल सुक्न सुरु भयो । गोकर्ण, पशुपति र किटिनी (गोदावरी इलाका) मा नसुकेका तीन ताल पछिसम्म थिए । यसैले ६ हजार वर्षअघिको मजिपाटको प्रसंग सामान्य कुरा हो— मञ्जुश्रीको दन्त्यकथा जन्माउने मजिपाटको ।

यसर्थ हामीसँग प्रमाणकै रूपमा हजारौं वर्ष पुरानो नेपाली कागजका नमुना नभए पनि कागज उत्पादन नेपालमा तामाङहरू आएर मात्रै सुरु भयो भन्ने जस्तो कुरा एक असत्य हो । जस्तो कि पी. रायले सातौं शताब्दीमा कागज नेपालमा आएको कुरा गरेका छन् । (पेज ३९– ऐ., रेग्मी) यद्यपि प्रचलन चीनबाट आएको मानियोस् ।

यो किन पनि भने चीनको सिनकियाङमा पाइएको र यति बेला बेलायतको बोडलियन पुस्तकालयमा रहेका नौवटामध्ये चारवटा दस्तावेज नेपाली कागजका हुन् भन्ने पुष्टि भएको छ । जसलाई इस्वीको पाँचौं शताब्दीको समय दिइएको छ ।

तर रामायणको हस्तलिखित प्रति देखेर मात्र व्यासले महाभारत लेखेको पुष्टि हुन्छ । यसर्थ कागज उतिबेलै थियो भन्ने देखिन्छ । भलै ताडपत्र र नीलपत्रको विवाद यहाँ पनि उछिट्टिएर आओस् । यसलाई तल आउने प्रसंगहरूले अरू टड्कारो पार्नेछन् । (शिशुपाल, अद्रिका, उपरिचरको कथाले कृष्ण द्वैपायन दमौलीका हुन् भन्ने पुष्टि हुँदैन । तमसा नदीबाट लगभग सय किलोमिटर दूरीको अर्को काव्य कसरी त्यहीँको हुन सक्छ भन्नलाई अरू नै वैज्ञानिक आधारहरू छन् ।)

बाटो मोडिन्छ

पुँ नेवारी भाषामा परम्परागत चित्रकारहरूलाई भनिने नाम हो । तर, चित्रकला बनाइने पौभा संस्कृतको पत्ताजस्तो हुने भएकाले त्यही पत्ताबाट पान्त्रा हुँदै पुँ बन्न पुगेको हो भनेर केही चित्रकारहरू स्वयंले नेटमा जानकारी हालेका छन्, त्यसै हो त ? हेरौं—

भीम पाँगा (क्याम्पबेल, सन् १८३३) भक्तपुरे नेवारहरूको लास बेर्ने परम्परागत खस्रो कपडा हो । भीमको अर्थ अति ठूलो, अति बाक्लो यस्तै बृहत् अर्थ दिने हुनुपर्ने हो तर होइन । भीमल (हिबिस्कस क्यानाबिनस) खस्रो रेसादार वनस्पति हो । भीमलिपट्टनम भन्ने चलन छ संस्कृतमा । यसैले पाटनबोधक वा देवपट्टनम भनेजस्तो होइन । उष्ण प्रदेशीय वनस्पति हो । अचेल पूर्वी तराईमा सीमित मात्रामा खेती हुन्छ । उतिबेला भक्तपुरमा पनि हुँदो हो । सम्भवतः भक्तपुरमा भनिने सूर्यफोसी यही हो ।

पाँगाको समानान्तर शब्द छ बान्तवा भाषामा फेङ्गा, अर्थ हो ऊनी लुगा । फेङ्गा अल्लोबाट बनेको अलखा पनि हो गुरुङ भाषामा । फेङ्गा भनेको दौरा हो जिरेल भाषामा । फी भनेको रूखको बोक्रा हो गुरुङ भाषामा, सुनाखरीको बोक्रा पनि हो । यसै सुनाखरीको बोक्रालाई मनाङेहरू फरे (वा नेपालीको फेरो) भन्छन् भनिसकियो अघिल्लो लेखमा । अर्थात् मोटो अर्थमा पाँगाको अर्थ हो गैरकपासको खस्रो रेसाबाट बुनेको कपडा । ‘हामीले च्याँगा पाँगा लगाएर आर्ज्या थियौं’ पृथ्वीनारायण शाहले भनेकै छन् । हाकु पटासी शब्दबाटै थाहा हुन्छ, त्यसको रेसा मोटो पाटबाट बन्थ्यो । यसर्थ च्याँगाको अर्थ पुरुषले लगाउने कपडाविशेष र पाँगाको अर्थ महिलाले लगाउने कपडाविशेष भन्ने बालकृष्ण पोखरेलको अर्थ गराइ (५ सय वर्ष) सही छैन । बाह्रहाते च्याँगा कुनै बेला पहिरिएका पाको उमेरका महिलाहरू अझै पनि धादिङमा छन् ।

पौभा बनाउने खस्रो कपडालाई ढुंगाले घोटेर चिल्याएपछि त्यसमा राँगाको थलथले (जिलेटिन/सरेस) दलेर सुकाइन्छ । असला माछाको कत्ले लस्सा पनि दल्ने चलन छ । त्यसमाथि कमेरो (तुयुचा) लगाइन्छ । अब चित्रका लागि क्यानभास तयार हुन्छ । यसैले पत्ताबाट होइन, पाँगाबाट पुँ बनेको बुझिन्छ । अर्थात् मूल शुद्ध रैथाने शब्द हो, संस्कृत होइन ।

गाँजा/भाङबाट बनेको कपडा पौभाको परम्परागत माध्यम हो । यसलाई भाङ्ग्रा, गादो आदि भनिन्छ । अर्को शब्दमा पाँगा ।

दुई शब्द

भीमलिपट्टनमको वैज्ञानिक प्रजाति क्यान्नाबिनस हो भनिए पनि यो गाँजा/भाङ (क्यान्नाबिनस स्याटिभा) जस्तो लागूपदार्थ दिने वनस्पति होइन । संकेत हो भाङ्ग्राजस्तै रेसा दिने हिविस्कस (जपापुष्प) को एक प्रजाति । बेत लौरो (केन) जस्तो बोट देखिने भएकाले आएको हो क्यानाबिनस ।

तर, अंग्रेजीको क्यानभास अर्थात् तेलचित्र बनाइने कपडा भने गाँजा (क्यान्नाबिनस) बाट बनेकैले, यस्तो नाम रहन गएको हो । माथि भनियो पौभाको परम्परागत माध्यम (क्यान्भास) भाङ्ग्रा वा गादो हो ।

पश्चिम

नेट भन्दछ— थाङ्काको उत्पत्ति तिब्बतबाट भएको हो । तर, नेपालबाटै गएका वा नेपाली मूलका कलाकारहरूले जन्म दिएका हुन् । यो ११औं शताब्दीको घटना हो । मंगोलिया, भारत, भूटान, चीन आदिमा पनि पुगेको छ । यस्तै चलन आठौं शताब्दीदेखि जापानको नारामा पनि पुगेको छ ।

नेट भन्दछ— पौभाको उत्पत्ति नेपालमा भएको हो । यो घटना ११औं शताब्दीको हो ।

उसले ११औं शताब्दी भन्नुमा वैज्ञानिकताचाहिँ छ— उसका सबैभन्दा पुराना नमुनाहरू त्यही शताब्दीका हुन् । यसबाट थाहा हुन्छ, सम्भवतः कपडाको टुक्रा अर्थात् थानबाट थाङ्का हुन पुगेको हो ।

फेरि पश्चिम

तर उसको शब्द भण्डारमा पेन्ट शब्द थपिएको इस्वीको १२ सयमा हो । यो फ्रेन्च भाषाको पेन्सबाट आएको भन्ने उसको भनाइ छ । फ्रेन्च भाषामा स्वर अक्षरपछाडि एन भन्ने व्यञ्जन अक्षर आएमा त्यसको उच्चारण नाके हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । अब स्पष्ट छ, पुँ शब्दलाई ११औं शताब्दीकै मान्ने हो भने पनि त्यो पुँ पश्चिम शब्द भण्डारमा फ्रेन्च ‘पेंत’ भएर सय वर्षपछि पुग्यो ।

उसको इतिहासमा इस्वीको १४ सयमा भाङ्ग्रा, गादोको कपडा भएर क्यानभास भित्रियो । भाङ्ग्रा, गादो हाम्रानिम्ति त्योभन्दा धेरै पुरानो कपडा हो । र, इस्वीको १७ सयमा पेन्ट/चित्रकारिता गरिने क्यानभासको रूपमा यसको प्रयोग सुरु भयो । किनभने पिटर ब्रुघेल सिनियर (पंक्तिकारलाई मन पर्ने मध्ययुगीन एक कलाकार) का चित्रहरू काठका फल्याकमा कोरिएका छन् ।

(एउटा व्यक्तिगत बेचैनी पाठकहरूसँग सेयर गरौं । सन् २०१८ मा न्युयोर्कको रेलवे स्टेसन ‘बर्ड विंग्स’ का बेन्चहरूमा बसेर रेल पर्खिरहेका यात्रुहरूलाई देख्नेबित्तिकै पंक्तिकारलाई उनै ब्रुघेल सिनियरको कृति ‘चिल्ड्रेन्स गेम्स’ को सम्झना भयो । मोबाइलमा खिचिएको सो तस्बिर र ब्रुघेलको कृति त्यही अमेरिकी र क्यानडियनहरूलाई देखाउँदा उनीहरू पनि छक्क परेका थिए । यता काठमाडौंमा केही कलाप्रेमी मित्रहरूलाई पनि देखाइएको थियो । सन् २०१९ मा फेरि त्यहीँ पुग्दा पुरानो दृश्य करिबकरिब हराइसकेको थियो, वरिपरि क्याबिनहरू बनेका थिए, बेन्चहरू एउटा कुनामा सीमित भएका थिए । पंक्तिकारलाई लाग्यो सन् २०३० तिर यो तुलनात्मक तस्बिर छाप्न न्युयोर्कको हरेक छापा राजी हुनेछ । तर, इलेक्ट्रोनिक कपी बनाउन पंक्तिकारले जाँगर गरेन । आखिर एक दिन एउटा विमानस्थलको चेकिङमा किस्तीमै मोबाइल छुट्यो । आज एकदम चुकचुक लाग्छ ।)

अब स्पष्टै छ, पौभाको कम्तीमा ६ सय वर्षपछि युरोपले भाङ्ग्राको क्यानभासमा चित्र सुरु गर्‍यो भन्नुको अर्थ हो, त्यसले प्रकारान्तरले नेपालबाटै पेन्टिङ शब्द र पेन्टिङ गरिने माध्यम अनुकरण गर्‍यो । पौभा नेटले भनेजस्तो ११औं शताब्दीमा मात्र विस्तारित भएको होइन ।

आठौं शताब्दीमा जापान पुग्यो भन्ने माथिको वाक्यांशबाटै थाहा हुन्छ ।

भएको भए इस्वीको पहिलो शताब्दीदेखि चौथो शताब्दीसम्मको पेन्टिङका निम्ति चीनको डनहुवान गुफा प्रसिद्ध हुने नै थिएन । किनभने ती बौद्ध पेन्टिङका निम्ति थिम भनेको बौद्ध कथाहरूका निम्ति केही दृश्य सामग्री हुनैपर्‍यो ।

महाकालीपारिको काँगडा मिनिएचरमाथि आनन्द कुमारस्वामी आधिकारिक ज्ञाता थिए । मेचीपारि कुनै मिनिएचर स्कुल भएको देखिँदैन हिमाली शृंखलामा । यो भागमा थांका वा पौभामाथि जुन विशाल परिश्रम शासकीय र नागरिक स्तरमा चल्नुपर्थ्यो, त्यो चलेन । त्यसका ज्ञाताहरू भन्छन्— चीनले थांका बनाउने दस हजार जनाको जनशक्ति तयार गरिसक्यो तर आफूले जानेको कुरा मर्ने बेलासम्म नसिकाउनुमा थांका गुरुहरूकै दोष छ ।

चित्रकार टिसियनले टिन्टेरेट्टोलाई कला नसिकाएर भगाएको सम्झना आउँछ यस्तो सुन्दा । यो नेपाली कला प्रत्येक शालीन नेपालीको घरमा हुनुपर्ने कला हो । यो नभई के भिन्चीको कुरा, के रेम्ब्राँको कुरा, के डेगास र सेजाँको कुरा, के मोनेंको कुरा ?

अब हाम्रा स्वनामधन्यहरूले बाह्रौं शताब्दीमा को फ्रेन्च नेपालमा घुम्न आएको थियो र यो ज्ञान लग्यो ? भनेर खोज्न र प्रश्न गर्न थाल्नेछन् । हाम्रो सोचाइको ढाँचा र अनुसन्धानको परम्परै यस्तो छ ।

रेशममार्गका तीन साना हाँगाहरू, जुम्ला र मुस्ताङपछि नेपाल छिरेर तराईको लुम्बिनीसम्म पुगेको आधुनिक विवरण तिनले खोजेर हेरे हुन्छ । (लिंकिङ रुट्स फ्रम द सिल्क रोड थ्रु नेपाल– सुजन फोन डेर हेइडी, सेकेन्ड इन्टरनेसनल कन्फ्ररेन्स, उकोगामा उमन्स युनिभर्सिटी, २०१२) यही कारण रुकुम, टक्सेरामा आज पनि बनिरहेको फट्टु युरोपमा फेल्ट हुन पुगेको हो । र, फेल्ट नै कागजको प्राचीनतम रूप हो । प्राणीको फाइबरको सट्टा वनस्पतिको फाइबर (काठको गुदी, पल्पको अर्थमा) प्रयोग गर्दा एकाएक फट्टु पातलिन गएर पनि कागज उत्पन्न भएको हो ।

यही फट्टुबाटै हामी फिता शब्द प्रयोग गर्दै छौं । यसैको हाम्रो रूपान्तरण बित्ता हुन पुग्छ । र सम्भवतः अंग्रेजीको फिट यसैबाट आउँछ ।

फेरि बाटो मोडिन्छ

भक्तपुरमा एउटा थर प्रचलित छ— कसजू । वर्णाश्रममा जाने हो भने यो कायस्थको रूपान्तरण मात्र हो । कायस्थलाई इन्डियातिर लेखनदास वा मुन्सीको नामले पनि चिनिन्छ ।

इन्डियाको आसामको दक्षिणी भाग, त्रिपुरा, उडिसाको केही भाग, हिजोको पश्चिम बंगाल र बंगलादेशलाई भाषागत कोणले जोडेर हेर्ने हो भने यो ग्रेटर बंगाल हो । र, ग्रेटर बंगाल हिमालयको हिलो माटो बगेर खाडीमा लाखौं वर्षदेखि थुप्रिँदै बनेको विशाल धान खेत हो, जहाँ विगतमा विशाल धानका फाँटहरूले जमिनदारीको बृहत्तर विकास हुन गयो । त्यससँगै बन्न गयो, कायस्थहरूको विशालतम् बसोबास भएको इलाका । चीनमा धान खेती सुरु भएको साढे १३ हजार वर्ष भइसकेकाले बंगाललाई १० हजार वर्षमा स्थिर गरियो भने उति गलत हुने छैन भनेर त्यो समय दिइएको हो ।

सर्वपरिचित कपास अर्थात् संस्कृतमा कार्पासको प्रजाति गस्सिपियम आर्बोरियम पाकिस्तानदेखि इन्डियासम्मको रैथाने प्रजाति मात्रै मानिएको छैन, मलमलको मूल स्थान बंगाल नै मानिएको छ, जसलाई अंग्रेजहरूले पहिलोपल्ट इराकको मोसुलमा देखेकोले मात्रै मस्लिन नाम रहन गएको हो । इन्डियामा कापरी वा कापडिया भनेको कायस्थ नै हो ।

र, अर्को परिचित र आर्बोरियमबाट विकसित मानिने कपासको प्रजाति कोक्टी वा कोगिटा (गस्सिपियम

अब्ट्युसिफोलियम) र कागत भन्ने शब्दको रूप मिल्न पुग्छ । ‘क’ लाई छोडिदिएपछि रहेको गात वा गाताको अर्थ जिल्दा (बुक कभर) हुन्छ ।

कपासको रेसा अर्थात् तागा वा फाइबरबाट जुन कागज आज पनि बन्छ, त्यसलाई कटन पेपर भन्छन् । कटन पेपर आजभोलि बैंकका नोटहरू छाप्नमा प्रायः प्रयोगमा ल्याइन्छ । र, लेखनदास भनिने कायस्थको ‘थ’ अक्षर ‘त’ बाट फरक छैन । ‘त’ ‘लो पिच’ हो, ‘थ’ ‘हाई पिच’ मात्र । यसैले कायस्थको व्युत्पत्तिको संस्कृतज्ञहरूले लगाउने र्थ (ब्रह्माको कायाबाट उत्पन्न भएकाले कायस्थ) को तुक नै देखिन्न ।

चित्रगुप्त कायस्थहरूका आदिपुरुष मानिन्छन् ब्रह्मा, गरुड र मत्स्यपुराणअनुसार । तर, पुराण लेखनको अधिकतम काल इसापूर्व १४०० वर्षभन्दा बढी जाँदैन । कपासको खेती भएको भने सात हजार वर्ष इसापूर्व नै सुरु भइसकेको मानिन्छ ।

फेरि नेपाल फर्कौं । कार्पासबाट खोपासी बनेको भनेर अनुमान गरिने शिवदेव प्रथमको अभिलेख इस्वीको छैटौं शताब्दी मात्रको हो । र, भक्तपुरलाई खोप्रिङ्ग तोक्ने अभिलेख पनि उनकै हो । अघिल्लै लेखमा लेखिसकियो, भक्तपुरको पुरानो नाउँ भोटगाउँ हो र कागजको नेवारी नाम भों हो पनि, जसले कागज भोटबाटै आएको देखाउँछ निश्चय नै ।

तर, इसापूर्वको पहिलो हजार वर्षमा बनेको मानिने मत्स्यपुराणमा चित्रगुप्तको नाम परिसकेकाले त्यसको उल्टो इसापूर्व दोस्रो शताब्दीको मात्र चिनियाँ कागजको प्रमाणले, कागजको आविष्कार चीनमा भएको पुष्टि पनि हुँदैन । भलै आज विश्वसँग कटन पेपरको प्राचीनतम् प्रामाणिक नमुना नहोस् । आफूले अनुसन्धान गर्न सकिएन भनेर त्यसको अस्तित्व नमान्ने कुरा आउँदैन ।

जहाँसम्म इजिप्टको पिपिरी (साइपेरस पेपिरस) को कुरा छ त्यो कागज बनाउने प्रविधिको नभएकाले, अंग्रेजीको पिथ प्रयोग हुने भएकाले कागज वर्गको मानिँदैन । ताडपत्र, भोजपत्र वर्गमा राखिन्छ । इसापूर्व ४००० वर्षदेखि त्यसको उत्पादन भइरहेको मानिए पनि नेपाली पात बाजालाई भनिने पिपिरी र इन्डियन पापड शब्दसँग पेपिरस मिल्न पुगेको छ । सबैको मूल पाप्रा हो । पिथ र पत्र शब्द पात, पतिंगरबाटै आउने हो । यसले पनि कागजको प्राचीनता र प्रयोगलाई चीनसँग जोडेर हेर्न मिल्दैन ।

पुछारमा

जुन वस्तुको अत्यावश्यकता आफूलाई हुन्छ, मानिसले सकेसम्म त्यसको उत्पादन आफैं गर्छ । मुद्राको आविष्कार भएको २८०० वर्ष मात्र भयो । यस्तो बुझिन्छ, कपडाका प्राचीन आविष्कारकहरू लेखनदास हुँदै कालान्तरमा बन्धकी कारोबारी (पन ब्रोकर) बन्न पुगे, हिजोसम्ममा ती सराफीमा परिणत भए र आजको भाषामा भन्नुपर्दा बैंकर बन्न पुगे । जतिबेला वर्णाश्रमको जन्म भयो, तिनलाई कायस्थ भन्न थालियो । भन्न खोजेको तिनको व्यवसायको जन्म वर्णाश्रमभन्दा पहिला नै बनिसकेको थियो ।

चीर अर्थात् कपडाबाट कागजको चिर्कटो शब्द बन्ने हो । जति बेला भाषा ‘टोनल ल्यांगवेज’ का रूपमा थियो । संस्कृतले चीरको बीचमा त थपेर आफ्नो शब्द बनाएको मात्र हो, पछिल्लो रूपान्तरण हेरेर ।

ती लेखनदास हुँदा लिपिको आविष्कार भएकै थिएन । यसैले अरूले नबुझ्ने संकेत चिह्न (चित्रलिपि) जे तिनले बनाउन पुगे, त्यसलाई चित्रगुप्त नामक मानव रूपमा संस्कृतले टिप्यो । अक्षरलाई मात्रिका अक्षर भनेर हरेक अक्षरको देवी स्वरूप दिने चलनबाट पनि यो थाहा हुन्छ (हेरे हुन्छ मात्रिका अक्षर रहस्यम– धनशमशेर जबरा) यही कायस्थहरूको लिपिविन्यासले नै पछि काइते अक्षर, कलत्र, कलौते अक्षर, कागले छेरेको अक्षरजस्ता शब्दहरू जन्माउन पुग्यो । काइते शब्द फेरि पनि कागतसँग मिल्न गएको छ । कार्पास रूपान्तरण बन्न गएको देखिन्छ कायसमा । सुत (धागो) र सुद (ब्याज) को भाषिक मूल एउटै देखिन्छ, तराईमा आफूलाई सुद बनियाँ भनेर चिनाउने कायस्थहरू भेटिन्छन् पनि ।

लक्ष्मी वा सम्पन्नताको प्रतीक मानिने योमरी आफैं पनि चराको आकारमा बनाइन्छ । त्यसमाथि भक्तपुरकै एक कोजूको भनाइ छ— पूजामा चढाइने योमरीभित्र पिठोकै चरा बनाएर पनि हालिन्छ । यसलाई ‘वम भत्तु’ भन्छन् ।

भत्तु इन्डियामा सुगालाई भनिने पट्टुबाट बनेको हो । नेवारीमा सुकुभत्तु पनि भन्छन् । संस्कृतमा सुक भनेको सुगा नै हो । नेवारीमा भत्तुस्वाँ फलेदो (जसबाट डोटीको फलेडी बन्न गएको छ), दार, मन्दार अर्थात् इरिथ्रिना जाति प्रजातिलाई भनिन्छ । नेपालीमा यही सुगा फूल हो ।

र, प्रायः कायस्थका घरका ढोकाका दुईतिर कलशमाथि सुगाअंकित चित्र कोरिन्छन् वा चित्रकारले बनाएका चित्रपट टाँगिन्छन् । यसमा एकातिर शुभ र अर्कोतिर लाभ लेखिन्छ । लाभ तराईमा कायस्थकै थर हो, यही थर भक्तपुर पुगेपछि लवजू हुन्छ । र, सुगा बंगालदेखि तराईसम्मकै अर्थात् ऊष्ण प्रदेशीय पन्छी हो, नकि उपत्यकाको ।

वमचाहिँ यमबाट आएको हो, जसको अर्को नाम चित्रगुप्त बनाइदिएको छ, संस्कृतको पौराणिक परम्पराले । यसैले कतिपय ज्योतिषीहरूले मानिसहरूको भाग्य निर्धारण लेखिएको कागज सुगालाई टिप्न लगाउँछन् ।

तर, चित्रलिपि (हेरोग्लाइफिक्स) का तिनका नमुना आज छैनन्, जसबाट ब्राम्हीलगायतका अन्य स्थानीय लिपिको पनि प्राचीन रूप नियाल्न सकियोस् । बरु पौभाका निर्माता चित्रकारहरू कहाँनेरबाट अलग हुँदै गए यति बेला भन्न सकिन्न ।

र, इन्डियासँग प्रामाणिक नमुना नभएकाले चित्रगुप्तका सन्ततिले बनाएको लेनदेनको चिर्कटो नै चीनको नोट आविष्कारको मोडेल थियो पनि भन्न सकिन्न ।

बरु निश्चय नै त्यो चिर्कटो यमसुक हुँदै तमसुक बन्न पुग्यो चाहिँ भन्न सकिन्छ । बृहत् नेपाली शब्दकोशले तमसुकलाई अरेबिक मूलको भनेर तोक्नु सही ठहर्दैन । अरेबिक शब्द भण्डारमा हाम्रा शब्दकोशकारहरूको ‘तमस्सुक’ नै छैन (हेरे हुन्छ अ डिक्स्नरी अफ मडर्न रिटन अरेबिक– हान्स वेहर, १९७६) ।

चीर अर्थात् कपडाबाट कागजको चिर्कटो शब्द बन्ने हो, चरा हो सुगा, कारबाट कार्पास भएको हो— सबैको मूल सार हो । जति बेला भाषा ‘टोनल ल्यांगवेज’ का रूपमा थियो । संस्कृतले चीरको बीचमा त थपेर आफ्नो शब्द बनाएको मात्र हो, पछिल्लो रूपान्तरण हेरेर । यसैले कपासको बोटको नामै उसको भाषामा— चित्रदण्डक ।

प्रकाशित : पुस ४, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?