एक मार्क्सवादी पोपको अवसान
‘दाइ, हाम्रो पोपको निधन भो नि !
एका–बिहानै विराटनगरबाट वासु न्यौपाने भाइको फोन आयो । म अलमल्ल परेँ । उनले थपे, ‘कृष्ण दाइ क्या बीए कृष्ण दाइ ।’ मैले लामो निःश्वास छोडेँ । हाम्राबीच थप कुरा भएनन् ।
लगत्तै धरानबाट लक्ष्मण बस्नेत भाइले फोन गरे । फेरि बंशी मोक्तान दाइको फोन आयो । उहाँले पहिलो वाक्य उच्चारण गर्दै भन्नुभो, ‘हाम्रो नेता त खस्नुभो नि हरि भाइ ।’
मैले केही प्रतिक्रिया जनाइनँ । भनें— भरै फोन गर्छु ।
थाहा छैन, रामनाम सत्य हो या मिथ्या । तर, मृत्यु शाश्वत सत्य हो । कोहीकोहीको मृत्युचाहिँ असाध्यै बिझाउने रहेछ । मलाई नि बिझायो । म अहिले पनि बिझिरहेछु । मैले उहाँको सान्निध्यमा धेरै दिन र रात बिताएको थिएँ । धेरै बाटाहरू उहाँको पछि लागेर सँगै हिँडेको थिएँ । कैयन मिटिङ र बैठक तथा प्रशिक्षणमा उहाँका अकाट्य तर्क सुनेर पुलकित भएको थिएँ । उहाँलाई पाएर हामी साँच्चिकै गौरवान्वित हुन्थ्यौं ।
उहाँ मार्क्सवादका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । उहाँको राजनीतिक स्कुलको म विद्यार्थी थिएँ । उहाँ मेरो गुरु हुनुहुन्थ्यो । उहाँको निधनले नेपालको राजनीतिमा उहाँसँगै एउटा ‘स्कुल अफ थट’ को अवसान भएको छ । उहाँ संस्कृति निर्माता पनि हुनुहुन्थ्यो । उहाँ हुनुहुन्थ्यो— शीष्टता, भद्रता, सम्मान र आफ्नो राजनीतिक, वैचारिक मान्यतामा सतीसालजस्तै स्थिरतामा रमाउने राजनीतिक संस्कारको पर्वतक । ती सबै उहाँसँगै अवसान भए ।
‘पोपकोमा जाने होइन भरै ? कहाँ भेटेर जाने ?,’ गजेन्द्र थापाको प्रश्न थियो हामीलाई । नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको जिल्ला कमिटीको बैठक सकेर खाना खान निस्कने समयमा हामीलाई सोधिएको यो प्रश्न मेरा निम्ति अनौठो थियो । मेरो अनुहारको भाव पढेर उनले फेरि भने, ‘आदरणीय नेताजीबाट बोलावट भा’छ नि । जाने होइन प्रवचन सुन्न ?’
धरान धेरै मामलामा फास्ट थियो । सोलु, खोटाङदेखि ताप्लेजुङ पाँचथरसम्मका दुर्गम पहाडी जिल्लाहरूको आवश्यकताको गर्जो टार्ने गौँडो मात्र थिएन धरान । दार्जिलिङ, डुवर्सदेखि बनारस, अलाहावाद हुँदै मलाया, हङकङ, ब्रुनाईदेखि बेलायतसम्मको मूल जक्सन थियो धरान । लेक, बेंसी, हिमाल, पहाड, मैदानको यो संगम थियो । सबै खालका चालचलन, रीतिरिवाज, चाडपर्व, बसाइँसराइ र बिहे गराइसँगै भित्रिन्थे र साझा हुन्थे । छुवाछुत, जातपात, हेलो–होचो धरानमा न–बराबर थियो । सबैले सबैलाई सम्मानभाव प्रवाहित गरिरहेझैँ महसुस हुन्थ्यो । बाहिर मात्रै सुग्घर–सफा थिएन, धरान भित्रैदेखि सबै मानेमा सेक्युलर थियो– शिक्षा, स्वास्थ्य, रोजगारी, जाति, भाषा, संस्कृति सबै विषयमा फास्ट फरवार्ड । लाहुरेको बस्ती, बेलायती र भारतीय सैन्य भर्ती केन्द्र मात्र थिएन धरान, शिक्षाको ठूलो हब पनि थियो । पाक्षिक–साप्ताहिक रूपमा सम्पन्न हुने कविगोष्ठी, निबन्ध प्रतियोगितामा तथा अन्य साहित्यिक कार्यक्रममा दर्जनौं नयाँ कवि/लेखक देखा परिरहन्थे । मुलुकमै नाम चलेका हस्ती साहित्यकारहरू धरानले उत्पादन गरेको थियो । हप्तामा कुनै–कुनै साहित्यक पत्रिका कसै न कसैले निकालिरहेकै हुन्थ्यो । संगीत त रगरगमै घुसेजस्तो लाग्ने । अंग्रेजी, नेपाली, हिन्दीका गीत र कन्सर्टहरू कुनै न कुनै चोकमा महिना नबिराई भइरहेकै हुन्थ्यो । जानेमानेका कलाकारहरू देश विदेशबाट आइरहन्थे । धरान आफैंले एक से एक संगीतकार, गीतकार तथा गायकहरू जन्माएको थियो ।
एक से एक तर्कबाजहरू हरेक बिहान–साँझ आ–आफ्नो झुन्डसहित धरानका तीन मूल चोकहरूमा आर्थिक, सामाजिक र राजनीतिक विषयमा बहस चलाइरहेका भेटिन्थे । ती नयाँ शैली, नयाँ उमंग र आ–आफ्नो विचारधारामाथि चियाको चुस्की लिँदै प्रस्तुति दिइरहेका हुन्थे । समष्टिमा हेर्ने हो भने, नेपालमा यस्ता विचार आदानप्रदान नै हुँदैनन् । बहस वस्तुमा केन्द्रित रहेर छलफल नै हुँदैनन् । त्यसका लागि एक प्रकारको औपचारिक आयोजना, आयोजक, भेन्यु, खानपिन नै खोजिन्छ । तर, धरान आफ्नै हिसावले चोकचोकमा आफैँले तिरेको कालो चिया पिएर राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा हरेक दिन अनौपचारिक बहस चलाइरहेको थियो । यो अनौपचारिक बहस–छलफलको संस्कार र सस्कृंति देशभरि नै आवश्यक छ । यसले तर्क निर्माण गर्छ । यसले आमरूपमा भाषा, संस्कृति, रीतिरिवाजमा परिमार्जन, शिक्षा र स्वास्थ्यको रूपान्तरण आदिमा देखिने समस्या पहिल्याउनमा मद्दत गर्छ । सामाजिक क्षेत्रमा हात बटाउन वा स्वयं सेवाको महत्त्व बढाएर आमसहभागिताका लागि बाटो खोल्छ । यस अर्थमा साह्रै जीवन्त लाग्थ्यो धरान । खै हिजोआज कस्तो भा’छ कुन्नि ? तर, त्योबेला मलाई लाग्थ्यो, भोलि बिहानै धरानमा एउटा नयाँ शब्दको आविष्कार भइसक्छ । नयाँ भाषा र बोली भित्रिसकेको हुनेछ, नयाँ गीत–संगीतको जन्म भइसकेको हुनेछ । नयाँ कामको थालनी गर्न मानिस जुटिसकेका हुनेछन् ।
धरान कसरी यस्तो जीवन्त सहरको रूपमा स्थापित भयो ? आफ से आफ एकै दिन वा महिना वा वर्षमा सम्भव भएको त होइन । यसका स्रष्टा को–को हुन् ? यसको आर्थिक, सामाजिक तथा राजनीतिक जीवनमा सन्तुलन कसरी मिल्दै गयो ? सबैभन्दा ठूलो कुरा त अत्यन्त घृणित जातिवादी, संकीर्ण छुवाछुतमुक्त धर्म–निरपेक्ष समाजसहितको धरानको नीब को–को मिलेर गाडे ? यस्तो पूर्णतातर्फ उन्मुख समाजको ठूलो समुदाय साक्षर र शिक्षित नभई सम्भव हुन्न । योजनाबद्ध खाका नकोरी शैक्षिक हुन् या स्वास्थ्यसँग सम्बन्धित होस् या अन्य कुनै सामाजिक प्रतिष्ठानको स्थापना हुन सम्भव हुँदैन । र, यस्तो काम कोही एक्लैले गरिसाध्य पनि हुन्न । मलाई लाग्छ, यस्तो समाज निर्माणको नीब राख्ने श्रेय विक्रम संवत् २०१६ सालमा भएको निर्वाचनले खडा गरेको धरान म्युनिसिपालिटीलाई जान्छ, जसको उपनेतृत्व कृष्णप्रसाद श्रेष्ठ (बीए) ले पनि गर्नुभएको थियो । लामो समय धरान नगरपालिकाको प्रधानपञ्च रहनुभएका सूर्यप्रसाद उपाध्यायले लेख्नुभएको लिखतले (शेषराज सिवाकोटी सम्पादित कृष्णप्रसाद श्रेष्ठ अक्षरको अभिवादन, पृष्ठ १०१–०४०) पनि पुष्टि गर्छ ।
मार्क्सवादीकालीन घटक, दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको उहाँ प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । उहाँ पूर्वी नेपालको गिनेचुनेका कविमध्ये एक मानिनुहुन्थ्यो । असाध्यै राम्र्रो समालोचक हुनुहुन्थ्यो । शान्ति वा मैत्रीका विषयमा होस् वा अन्तर्राष्ट्रिय युद्ध, आणविक प्रतिस्पर्धाका कुरा हुन् या असंलग्न आन्दोलन, मध्यपूर्व, प्यालेस्टाइनहरूको इन्तिफाद आन्दोलनमाथिको ऐक्यबद्धता, अमेरिकाले लादेको भियतनाम युद्ध होस् या फौजी जुन्टामार्फत चिलीमा गरिएको नवउदारवादी प्रयोग, यी सबैबारे जब कृष्ण दाइ इतिहास, तर्क र तथ्यसहित बहसमा उत्रनुहुन्थ्यो कसको ताकत हुन्थ्यो औँलो उठाउने ? यस अर्थमा उहाँ ‘पोप’ अर्थात् शिखर तर्कबाज हुनुहुन्थ्यो । पढ्दै जाँदा पछि थाहा भयो, उहिल्यै दोस्रो अन्तर्राष्ट्रियका नेता कार्ल काउत्सीलाई मार्क्सवादको पोप भनिन्थ्यो रहेछ । गजेनले पढेर भनेका थिए या त्यत्तिकै थाहा भएन । तर, हामी जब भेट हुन्थ्यौँ, कृष्ण दाइका बारेमा कुरा गर्थ्यौं । उहाँका पछिल्तिर हामी उहाँलाई पोप नै भन्थ्यौँ । यो आदर र सम्मान नै थियो । होच्याउन वा खिसी गर्न होइन ।
०३४/३६ सम्म म धरानमा रहेँ । महेन्द्र क्याम्पस धरानमा इन्टरको पढाइ समापनपछि मैले धरान छोड्ने निधो गरेँ । बिदावारीका लागि कृष्ण दाइकहाँ पुगेँ । हामी झन्डै तीन घण्टा जति गफियौँ । म उहाँसँग खुलेर कुरा गर्न धकाउँथेँ । उहाँ अनौपचारिक हुन खोज्दा मलाई कता कता असजिलोजस्तो लाग्थ्यो । मैले लामो अन्तरालमा उहाँसँग सैद्धान्तिक, वैचारिक तथा सांगठनिक विषयभन्दा बाहिर केही कुरा पनि गरेको थिइनँ । त्यो दिन निचोडमा उहाँले मलाई तीनवटा कुरा भन्नुभो । पहिलो, लामो समय राजनीतिमा रहन्छु भन्ने अठोट गर्ने हो भने धेर्यवान हुन सिक्नुपर्छ । अत्तालिनु वा ईर्ष्यालु हुन छोड्नुपर्छ । हतारमा प्रतिफल प्राप्त गर्न खोज्दा लोकप्रियतावादको सिकार हुन पुगिन्छ, जसले आफूलाई मात्र होइन मुलुकलाई पनि घाटा गर्छ । दोस्रो, अध्ययन गर्ने बानी बसाल्नुपर्ने हुन्छ । अध्ययनले विनयशील हुन सिकाउँछ । बिनाअध्ययन, अनुसन्धान गफ दिने काम चटक्कै छोड्नुपर्छ । यसले आफूलाई मात्र घाटा गर्दैन देशलाई पनि धोका हुन्छ । तेस्रो दिगो राजनीति गर्न खोज्नेले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, राजनीतिमा अहंकार सबैभन्दा खतरनाक शत्रु हो । अहंकारले स्वस्थ छलफल र बहसलाई निषेध गर्छ र संगठनभित्रको आन्तरिक प्रजातन्त्रको अन्त्य गर्छ ।
मलाई मेरो घर खोटाङ फर्कनु थियो । उहाँले बाटो खर्चस्वरूप दुईवटा किताब दिनुभो– एउटा जोन मिनियार्ड किन्स लिखित ‘द जेनरल थ्योरी अफ इम्प्लोयमेन्ट, इन्ट्रेस्ट एन्ड मनी’, अर्को लेनिनको ‘स्टेट एन्ड रेभ्युल्युसन’ । ती किताब अहिले पनि मसँग सुरक्षित छन् ।
एसएलसी पास भएर काठमाडौंमा इन्टर पढ्न आउँदा ०६/०७ तिर नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको सदस्यबाट उहाँको राजनीतिक यात्रा सुरु भएछ । बनारस र काठमाडौंबाट क्रमशः बीए, बीएल गरिसकेपछि उहाँ कम्युनिस्ट पार्टीको अविरल कार्यकर्ता बन्नुभयो र धरानलाई नै आजीवन कर्मक्षेत्र बनाइरहनुभयो । कूदेतामार्फत व्यवस्थै परिवर्तन भएपछि उहाँका कतिपय साथीहरू मौकापरस्त राजनीतिको पछि लागे । पार्टी विभाजन भयो । कतिपय विभाजनका समयमा उग्र कुरा गर्ने नेता–कार्यकर्ताहरू अन्य धन्दा र पेसामा लागे । तर, उहाँ स्वअध्ययन, चिन्तन तथा केही दिगा र भरपर्दा साथीहरूसहित कम्युनिस्ट आन्दोलनको मूलधार समातेर निरन्तर लागिरहनुभयो ।
धेरैले कृष्ण दाइका पछिल्तिर कुरा काट्थे– ‘कुवाको ब्याङ’, लाटो देशको गाँडो तन्नेरी, अवसरको पहिचान गर्न नजान्ने, स्वघोषित बुद्धिजीवी, घमण्डी, ढोङी । बाहिर केही भन्न नसके पनि भित्रभित्रै दाजु–भाइ, इष्टमित्र जहान परिवार पनि खुसी थिएनन् । किनकि उहाँले वर्षौंवर्ष सुको कमाइरहनुभएको थिएन । उल्टै नयाँ किताब, नयाँ जर्नल पढ्न परिवारलाई नै दुहुने । नवउदारवादी व्यक्तिवादतर्फ उन्मुख समाजमा नकमाउने, पपुलिजम समातेर राजनीतिक ओहोदामा पुग्न नखोज्ने, राजनीतिक तथा सामाजिक आदर्शलाई ताकमा झुन्ड्याएर मुलुकभित्रको ‘लखनौ लुटमा’ सामेल हुन नचाहेको ब्यक्तिलाई हिजोआज परिवारभित्रै पनि घिनको दृष्टिले हेरिन्छ । अनुभवले भन्छ, एउटा मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएर निरन्तर आफ्नो राजनीतिक आदर्शमा लाग्छु भन्न गाह्रै हुने रहेछ ।
उहाँ कहिल्यै कसैसँग केही माग्न जानुभएन । उहाँ योग्यता क्षमताका हिसाबले आर्थिक, राजनीतिक, शैक्षिक तथा कूटनीतिक नीति निर्माणमा प्रगतिशीलका तर्फबाट ठूलो सहयोग पुर्याउने क्षमता राख्नुहुन्थ्यो । माथि नै चर्चा गरियो– धरान परिष्कृत हुनमा उहाँको नेतृत्वमा निर्माण भएको शिक्षासम्बन्धी योजना महत्त्वपूर्ण थियो । कम्तीमा उहाँको अनुभव राष्ट्रिय शिक्षा नीति निर्माणमै पनि सहयोगी हुन सक्थ्यो । विसं २०५१ देखि २०७४ सम्म बनेका कुनै पनि सरकारले उहाँको योग्यता–क्षमताको उपयोग गर्ने रुचि देखाएनन् । सबका सब लोकप्रियतावादी हुँदै राजनीतिक रूपमा स्खलित हुने यात्रामा सवार छन् । यद्यपि विरासतमा उहाँले अनमोल रत्न छोडेर जानुभएको छ । ती हुन्– पुराना–नयाँ सबै किसिमका राजनीतिक सामाजिक दस्तावेजहरू, अमूल्य किताबले भरपूर भव्य पुस्तकालय । अब तिनलाई नगरपालिकाले सम्हाल्ने कि शिक्षा मन्त्रालयले कि कुनै विश्वविद्यालयले ? सम्भवतः केही बहुमूल्य लिखत पनि हुन सक्छन्, जसले भावी पिँढीलाई मार्गदर्शन गर्न सकोस् ।
दाइले धर्ती छोड्नुभो । धेरै आदर्शहरू पनि छोड्नुभएको छ । कृष्ण दाइप्रति गौरवबोधका साथ हार्दिक श्रद्धाञ्जली ।
प्रकाशित : पुस ४, २०७७ ११:३६