ज्यानमारा इज्जत- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यानमारा इज्जत

महिला वा पुरूष, जो भिक्टिम भए पनि यसको मुख्य ध्येय महिलाको यौनिकतामाथिको नियन्त्रण नै हो । महिलाको योनीमा संग्रह गरिएको परिवार र समाजको मर्यादाकै लागि उसले जीवनभर यसको मूल्य तिरिरहनुपर्छ ।
सरला गौतम

काठमाडौँ — जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक कैद हो ।

ऊबेला सम्पत्तिका लागि यौनिकता कैद भयो, समयक्रममा यो प्रतिष्ठासँग जोडियो । कथित प्रतिष्ठाका लागि महिलाको ज्यान नै लिन थालियो । परिवार र समाजको कथित इज्जत महिलाका लागि ज्यानमारा साबित भयो ।

यही मंसिर १४ गते एउटा डरलाग्दो अपराधको समाचारले अखबारहरू भरिए । रौतहट माधवनारायण नगरपालिका–७ की सत्र वर्षीया किशारी अमृताको आफ्नै बाबुको योजनामा गोली हानी हत्या गरियो । परिवारले तिरस्कार गरेको, उमेर दोब्बर जेठो र कथित तल्लो जातिको एक पुरुषसँग अमृताको प्रेम थियो । रामअयोध्याले छोरीको हत्या गर्नुको मूल कारण उनले कमाएको कथित सामाजिक मर्यादा नै हो । छोरीको निजी–साथी छनोटले उनको मर्यादामा पहिरो गयो र आफ्नै छोरीको ज्यान लिए । आफूसँगै सुतिरहेकी छोरीको हत्यालाई सजिलो पारिदिन शौचालय जाँदै गरेकी अमृताकी आमा सीतादेवीको हृदयको चित्र कस्तो थियो होला त्यसबखत ? सृष्टिकर्तालाई थाहा होला ।

२०६९ सालमा बाराको प्रस्तोता गाविसमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । १० कक्षा पढ्ने बिन्दु ठाकुरलाई परिवारका सदस्यले जलाएर मारिदिएका थिए । उनको दोष पनि उस्तै थियो– कथित दलित जातिको साथीसँगकै प्रेम ।

अमृताको हत्यापछि नेपाली अखबारले ‘नेपालमा अनर किलिङ भित्रियो’ भन्ने भावमा समाचार लेखे । सामाजिक सञ्जालका अभियन्ताले त्यस्तै प्रतिक्रिया जनाए– ‘के अब नेपालमा पनि अनर किलिङ भित्रिएको हो’ भन्ने व्यहोराको । प्रहरीमा अनर किलिङको अभिलेख नै छैन भनेर एक अनलाइन पत्रिकाले लेख्यो । अनर किलिङलाई केवल कट्टर मुस्लिम परिवारमा हुने अपराध हो भनेर ट्याग लगाइएको छ, तर यसो होइन । विश्वव्यापी रूपमा मूलधारका मिडियाको कभरेजको कारण यो अवधारणा विकास भएको हो ।

जातीय र साम्प्रदायिक मर्यादासँग जोडिएको यस अपराधसँग जोडिएको अर्को आयाम हो– महिलाको यौनिकतामाथिको नियन्त्रण । नेपालमा यो प्रकृतिको घटनालाई अनर किलिङको कुनै शाब्दिक उल्था दिइएको छैन । यसैले यो प्रकारको अपराधलाई ‘इज्जत हत्या’ भन्न सकिन्छ । पतिको मृत्युपछि विधवा महिलाले अर्को पुरुषसँग यौनसम्बन्ध राखिन् भने परिवारको मर्यादामा आगो लाग्छ भन्ने धारणा हिजोको समाजले राख्थ्यो । यही कारण एक जीवित महिलालाई काठको मुढाजस्तो गरी आगोमा झोस्थ्यो । मर्यादा जोगाउन गरिएको त्यस समयको अपराध ‘इज्जत हत्या’ नै हो । यसैले अनर किलिङ नेपाली समाजमा हिजोदेखि आजसम्मै जीवित छ । कथित इज्जत, इज्जत होइन समाजको कलकं हो ।

सर्वव्यापी इज्जत–हत्या

अनर किलिङ केवल मध्यपूर्व र दक्षिण एसियाका मुस्लिम सम्प्रदायप्रधान देशहरूको समस्या होइन । विश्वव्यापी रूपमा छरिएको हिन्दु–मुस्लिम परिवारभित्रको ‘इज्जत हत्या’को रङ, आयाम फरक देखिन्छ । तर, घटना भने कुनै एक समुदायको मात्र निधारको कालो टीका होइन । सन् २०१० मा मिडल इस्ट फोरममा छापिएको फिलिस चेस्लरको अनर किलिङ बारेको शोधपूर्ण लेखले यो समस्या विश्वव्यापी भएको देखाएको छ ।

सन् २०१३ मा ‘मिडल इस्ट’ पत्रिकाले नै यसका आयामहरूबारे चर्चा गरेको थियो । त्यस अध्ययनका अनुसार, पाकिस्तानमा हुने अनर किलिङको घटना भारतको हिन्दु र शिख सम्प्रदायको भन्दा फरक प्रकृतिका हुन्छन् । तर, कम त्रासदीपूर्ण हुँदैनन् । फिलिसकै लेख ‘हिन्दु भर्सेस मुस्लिम अनर’ हिन्दु बाहुल्य भएको भारत र मुस्लिम बाहुल्य भएको पाकिस्तानमा अनर किलिङको सम्पूर्ण अपराधको आधा अपराध हुने गरेको तथ्य सार्वजनिक छ । सन् २०१० मा हरियाणामा मात्र ९०० ‘इज्जत हत्या’को केस रिपोर्ट गरिएको थियो । बाँकी २०० केस सिंगो भारतको थियो । २०१० मै पाकिस्तानमा ८०० ‘इज्जत हत्या’को केस रिपोर्ट गरिएको थियो ।

अक्टोबर २५, २०१० को ‘टाइम्स अफ इन्डिया’ ले नेपालकै काभ्रेको घटनालाई अनर किलिङ भनेको छ । ओखलढुंगाको डिकेबहादुर थापामगरले काभ्रेकी पार्वति दनुवारसँग प्रेम विवाह गरे । पार्वतीका बा निराराज यो विवाहसँग रुष्ट थिए । केही दिनमै डिके थापामगर आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परे । उनको शरीर र टाउकोको चोटले त्यो हत्या हो भन्ने प्रहरीले पुष्टि गर्‍यो । र, निराराजलाई हत्याको आरोपमा पक्राउ गर्‍यो । यस्ता प्रकृतिका घटनामा महिलाले यौनिक र जातीय शुद्धताको बिँडो थाम्नुपर्ने देखिन्छ भने पुरुषले जातीय शुद्धताको ।

मुस्लिम सम्प्रदायमा बेमेल साम्प्रदायिक विवाहको सवालमा अनर किलिङको घटना हुने गर्छन् । हिन्दु सम्प्रदायमा बेमेल जातिको केसमा यस्ता घटना हुने गरेका छन् । भारतमा जातीय शुद्धता रेगुलेसनका लागि बनेको खाप पञ्चायतले बेमेल विवाहमा कारबाहीको रूपमा यस्ता अपराध गरेको पाइन्छ । कतिपय केसमा प्रहरीले नै ‘इज्जत हत्याको’ लागि विवाहित जोडीलाई पञ्चायतमा बुझाएका घटना पनि छन् । संसारभर अनर किलिङ भनेर कुख्यात भएको ‘इज्जत हत्या’मा साम्प्रदायिकता, जातीयता, यौनिकताको मिश्रित अन्धविश्वास र पुरातन जेलिएको छ ।

२०१० अप्रिल–२९ मा दिल्लीकी पत्रकार निरूपमा पाठक आफ्नै घरको बाथरुममा मृत फेला परिन् । आफूभन्दा तल्लो भनिने जातका पत्रकारसँग उनको प्रेमसम्बन्ध थियो । र, उनी गर्भवती थिइन् । बिहेका लागि परिवारलाई राजी गराउन घर पुगेका बेला उनकै आमा काल बनेर आइन् । र, बाथरुममा थुनेर उनको हत्या गरिन् । यो केस हिन्दु सम्प्रदायमा हुने अनर किलिङको ज्वलन्त नमुना हो । भारतीय अधिकारकर्मी र मिडियाले यो केसलाई प्राथमिकताका साथ उठाए । सन् २०१० मा ‘टाइम म्यागजिन’ ले यसलाई हिन्दु अनर किलिङको केसको रूपमा रिपोर्ट गरेको थियो ।

सन् २०१८ सेप्टेम्बर–१४ का दिन हैदराबादमा प्रणय कुमार नामका चौबीस वर्षीय युवाको अस्पताल सामुन्ने हत्या भयो । आफ्नी गर्भवती श्रीमतीको चेकजाँचका लागि उनी अस्पताल पुगेका थिए । श्रीमतीकै अगाडि उनको ज्यान लिइयो । उनकी श्रीमती अमुर्ता बर्सिनी र प्रणयले प्रेम विवाह गरेका थिए । प्रणय दलित जातिका थिए, अमुर्ता वैश्य जातकी थिइन् । यही कारण अमुर्ताको परिवार यो विवाहको खिलाफमा थियो । आफ्ना पिता र काका हत्यामा संलग्न भएको भन्दै अमुर्ताले पितालाई मुत्युदण्ड दिनुपर्ने माग प्रशासनसमक्ष राखेकी थिइन् ।

प्रणयको केसलाई नेपालमा भइरहने जातीय अहंकार कारक भएका घटनाहरूसँग जोडेर हेर्न सकिन्छ । रुकुम चौरजहारीमा जेठ १० गते पूरै देशको सभ्यतामाथि कालो पोतिने गरी बर्बर अपराध भयो । आफ्नी प्रेमिका लिन अठार जना साथीसहित गएका नवराज विक र उनका छ जना साथीलाई पूरै गाउँलेले लखेटी लखेटी मारे । अनर किलिङको नाममा समाजका अगाडि कपडाले छोपेर ढुंगा हानी हानी मार्ने कुनै समुदायको बर्बरताभन्दा कम बर्बर घटना होइन यो । मुस्लिम सम्प्रदायमा महिला र हिन्दु सम्प्रदायमा पुरुष बढि पिडीत पाईएको छ ।

जातीयता हावी भएको समाजमा कथित उपल्लो जात र तल्लो जातको मानसिकताका कारण बेमेल विवाहको केसले द्वन्द्व निम्त्याएको हुन्छ । यसले धेरै युवाको ज्यान लिएको छ । हामीले अनर किलिङलाई मुस्लिम समाजमा परिवारले छोरीचेलीको ज्यान लिने घटना भनेर बुझेका छौं । नेपालमा पनि यो कुप्रथा केवल तराई–मधेसको हो भनेर ट्याग लगाएका छौं । तर, यो हिन्दु, मुस्लिम, तराई, पहाड सबैतिर भइरहेको अपराध हो । यो जातीय अहंकार र कृत्रिम प्रतिष्ठासँग जोडिएको विषय हो । यस्तो घटनालाई जातीय वा साम्पदायिक बेमेलको समस्या भनेर हेरिन्छ, जुन सत्य हो । तर, यसमा अन्तरनिहित महिलाको यौनिकता नियन्त्रणको सवालमा बहस भएको छैन ।

यो बहुआयामिक समस्यालाई हेर्ने नजर पनि बहुआयामिक नै हुनुपर्छ ।

परम्परा र आधुनिकताको टक्कर

परम्परागत रूपमा एक हिसाबले चल्दै गएको समाजमा आर्थिक–सामाजिक गतिशीलता र प्रविधिको प्रवेश द्रुत गतिमा भयो । संसारभरि नै भइरहेको परिवर्तनले दक्षिण एसियाका कठोर परम्परागत समाजमा आफ्नो प्रभाव जमाउन थाल्यो । नेपालमा विगत पन्ध्र वर्षमा सामाजिक–आर्थिक गतिशीलताका कर्ताहरू बनेर महिलाहरू निकै अघि आए । उनीहरूको रफ्तार र हातमा भएको आधुनिक प्रविधिको तुलनामा पुरातनमा जेलिएको सामाजिक परम्पराको गति मिल्दैन । युवा मस्तिष्कले चाहेको आधुनिक व्यवहारलाई समय समयमा परम्पराले रिजेक्ट गरिदिन्छ । यी दुईको जुन ठाउँमा भेट हुन्छ, त्यहाँ दुर्घटना हुन्छ । ज्यानै लिने सम्मका घटना हुन्छन् । ज्यानमारा–इज्जतका लागि महिलाहरूले ज्यानको बलि दिँदै आए, दिइरहेकै छन् ।

पाकिस्तानी सोसल मिडिया सेलेब्रिटी कान्दिल बलोच आफ्ना प्रखर र पुरातनविरोधी प्रस्तुतिको कारण युवाहरूमाझ छिटो चर्चामा आइन् । महिला अधिकारको सवाल, जीवनशैलीको विषयदेखि लिएर विभिन्न कन्ट्रोभर्सियल मुद्दामा उनी आफ्ना भिडियोमा मुखर हुन थालिन् । उनीसँग उनको पुरातन समाज रुष्ट हुन थाल्यो । आफ्नै भाइ र पिताको नजरमा उनी आँखी भइन् । २०१३ देखि उनी चर्चामा आउन थालेकी थिइन् । २०१६ पन्ध्र जुलाईमा आफ्नै घरमा सुतिरहेको बेला उनका भाइले उनको हत्या गरे । हत्याको कारण प्रशासनसमक्ष प्रस्तुत गर्ने क्रममा बालोचका भाइले भने, ‘उनले परिवारमा अमर्यादा भित्र्याइन् ।’ एक प्रभावी सेलेब्रिटीमाथि परिवारले गरेको यो अपराधले देशी–विदेशी सञ्चारमाध्यममा व्यापक स्थान लियो । पाकिस्तानकी बालोच र रौतहटकी अमृताले भोगेको नियति समान, आयाम फरक छ ।

परिवार, संस्कार, समाज सबैको मर्यादाको परिभाषा महिलाको योनीमा खोजिएको छ । यसले महिलाको जीवनको हर–पक्षमा प्रहार गरेको छ । बढ्दै गएको सामजिक–आर्थिक गतिशीलताका कारण निजी जीवनको छनोटमा महिलाहरू सचेत भएका छन् । आफ्नो प्रेम जीवन र यौन जीवनको अधिकारमा जागरुक भएका छन् । परिवार अझै पनि छोरीको यौवनको साँचो आफ्नै हातमा राख्न चाहन्छ । यही टकरावका कारण हिंसा हुन्छ ।

श्रीमान् मरेपछि जिउँदै चितामा पोल्ने परम्पराको कारक पनि यौनिक मर्यादा नै हो । यो खतरनाक ‘इज्जत हत्या’ हो । हिजो जुन रूपमा यैनिकता इज्जतको पर्याय थिया, आज त्यो प्रकृति फेरिएको छ । रूप मात्र फेरिएको छ तर अर्थ फेरिन बाँकी छ ।

इज्जत हत्याले कसको हुर्मत लिन्छ ?

रौतहटकी अमृताको चितासँगै उनका रहर, सपना, उनले बाँचेर साँच्न पाउने मिठा पलहरू सबै खरानी भए । नवराज र उनका साथीहरूको पनि उही हाल भयो, जे अमृताको भयो । नवराजकी प्रेमिका, जो यो सबै अपराधको साक्षी बसिन्, उनको जीवनको कुन कुना हान्न बाँकी होला यो घटनाले !

बर्बर घटनामा प्रेमीको हत्या भयो । १७ वर्षे किशोरी सुष्मा मल्ल अपराधीको रूपमा समातिइन् । उनीमाथि हेर्ने नसकिने स्तरको साइवर बुलिङ भयो । यो घटनामा नवराज जातीय अंहकारको सिकार भए । सुष्मा यौनिक र जातीय शुद्धता दुवै पुरातनको सिकार भइन् । नवराज र उनका साथीले भोगेको प्रत्यक्ष हिंसाको परोक्ष असर सुष्मामा जीवनभर पर्नेछ । यसले उनको करिअर र आर्थिक गतिशीलतालाई हान्नेछ । बेमेल विवाहको परिणाम के हुन्छ भनेर देखाउन जुन अपराध गरेर समाजले पौरख देखायो, त्यसले समाजमा गहिरो मानसिक त्रासको सृजना गरेको छ । शैक्षिक र आर्थिक उन्नतिको मार्गमा लाग्नका लागि अवरोधको काम गर्छ यो मानसिक त्रासले । सुष्मा प्रत्यक्ष प्रभावित भए पनि यो घटनाले धेरै युवतीको आत्मविश्वासमा हानेर गयो । घुमेर यसको क्षति समाजले नै भोग्ने हो, समग्रमा देशले भोग्ने हो ।

नवराजको केस जातीय अहंकारको त हो, सँगै यो ‘इज्जत हत्या’ को विषय पनि हो । छोरीको यौनिक अधिकारलाई परिवारको मर्यादाको पर्याय मानेको परिवारले नवराजलाई त्यही मर्यादामा हिलो छ्याप्न आएको अपराधी देख्यो । जातीय अहंकारको दलदलमा फसेको जनप्रतिनिधिकै सहयोगमा सामूहिक आक्रमण गर्‍यो । ‘इज्जत हत्या’ को केसमा हिन्दु सम्प्रदायका युवाहरूले जातीय र याौनिक खबरदारीको दोहोरो मार खप्नुपरिरहेको देखिन्छ ।

यस्ता युवामाथि गुज्रिएको भयाभह घटनाको असर उसले परिवार र समाजलाई दिने उत्पादकत्वमा पर्छ । यस्ता घटना केही बेरको समाचार बन्छन् र दृश्यबाट ओझेलमा जान्छन् । र, कसैको निजी जीवनको एक कहानी बनिदिन्छन् । तर, त्यसबाट लामो समयसम्म समाज र देशले बेहोर्ने सामाजिक–आर्थिक क्षतिको कमै हिसाबकिताब गरिएको छ । सामाजिक संरचना र शान्ति खल्बलाउने यस्ता घटना निजी जीवनको कालो पक्ष मात्र होइनन््, राज्यको सामाजिक, आर्थिक उन्नतिमा तेजाब छर्ने खतरनाक विषय हुन् ।

आफ्नो प्रमी रोजेकोमा महिलालाई आफ्नै परिवारले हत्या गर्नु वा परिवारले प्रेमिको हत्या गरिदिनु, यो दुवै अनर किलिङ हो । प्रत्यक्ष र परोक्ष रूपमा महिलाहरू ‘इज्जत हत्याको’ जाँतोमा पिसिन्छन् । ज्यान गए गइहाल्यो, आफूले रोजेको मानिसको ज्यान गयो भने पनि उसको जीवन आधा मृत समान भयो । यो मानसिक त्रासदीबाट बाहिर आउन कति समय लाग्ला ? या आउनै नसक्लान् ? प्रेमिकाको हत्या भएको पुरुषको मनोदशाको वस्तुपरक असर पनि समाजले बेहोर्नैपर्छ । हिंसा भोगेको मानिस हिंस्रक भएर निस्कने सम्भावना प्रचुर हुन्छ, समाजमा हिंसाको अन्तहीन चक्र बन्छ । हिंसाविरुद्धका अभियानमा समेत ‘इज्जत हत्या’ को परोक्ष सिकार भएका युवाको मनोभावना र उनीहरूका जीवनका दुष्चक्रको चर्चा भेटिँदैन ।

महिला वा पुरुष, जो भिक्टिम भएको केसमा पनि मुख्य ध्यय भनेको महिलाको यौनिकतामाथिको नियन्त्रण नै हो । महिलाको योनीमा संग्रह गरिएको परिवार र समाजको मर्यादाकै लागि उसले जीवनभर यसको मूल्य तिरिरहनुपर्छ । महिलाको काम र व्यवसायले माग्ने गतिशीलता यही कारण प्रभावित हुन्छन् । महिलाको यौनिकतामाथिको यो कर्के नजरले समग्र अर्थतन्त्रले बेहोर्ने क्षतिको हिसाब गरिएको छ त ?

अनर किलिङ वा अन्य हिंसाको सवाल केवल पारिवारिक र सामाजिक होइन, यो राजनीतिक र आर्थिक मुद्दा पनि हो । सन् २०१६ को यूएन वुमनको रिपोर्टमा अमेरिकामा हुने महिला हिंसाको केसले पुर्‍याएको वार्षिक आर्थिक क्षति ५ दशमलव ८ बिलियन डलर र अस्ट्रेलियामा ११ दशमलव ३८ बिलियन डलर देखाएको छ । यसरी आर्थिक आँकडा निकालेर हेर्ने हो भने ‘इज्जत हत्या’ लगायत अन्य हिंसाको आर्थिक हिसाब नेपालमा कस्तो देखिएला ?ज्यानमारा–इज्जतले कति युवाको बलि पर्खेर बसेको छ, यो डरलाग्दो कुरा हो ।

हाम्रो पारिवारिक–सामाजिक इज्जत र मर्यादाले अबको समयमा यस्तो परिभाषा मागेको छ– ज्यानमारा इज्जत जोगाउने होइन, ज्यानमारा इज्जतको आहारा बन्नबाट नागरिक जोगाउने हो । यसका लागि परिवार, समाज, राष्ट्रिय र स्थानीय सरकारको प्रतिज्ञा चाहिएको छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : पुस ३, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

डुमेरो [पुस्तक अंश]

समाचारमा फोटोचाहिँ गाउनमा पोखिएको वाइनको दागसहितको थियो । वाइन लिन निहुँरिँदै गर्दा देखिएको क्लिभेजसहितको अर्को फोटो पनि थियो ।
सरला गौतम

तीन महिना भयो डेरामा बस्न थालेको । अनामनगरमा । एक्लै । दुइटा ससाना कोठा, बरन्डासहित । बार्दलीबाट देखिने अगाडिको खाली भागमा रूखबिरुवा पनि । काठमाडौंको मध्यभागमा यतिको हरियो काफी लागिरहेको छ । छेउमा एकजना वकिल बस्छन् । घरबेटी माथिल्लो फ्ल्याटमा बस्छन् । पानी ठीकै आउँछ ।

सामानको नाममा एकजोर सिरक–डसना र झोलामा केही कपडा । डसना भुइँमा प्लास्टिक ओछ्याएर फिँजारेकी छु । अरू सामान केही छैन । नाटकबाट आएको पैसाले चुलो किनेकी छु । खाट किन्न सकेकी छैन । भाँडाकुडा एकएक सेट छन्, पकाउने र खाने । सुप्रियाकहाँ जान नपाएको दिन एक छाक मात्र खाने गरेकी छु ।

बिहान उठेँ कोठाभरि मन पोखियो, असरल्ल । खानेकुरा सबै सकिएको छ । चामल, दाल, तरकारी केही छैन ।

ओछ्यानको पत्रबाट पचास रुपैयाँ निकालेँ । दूध र बिस्कुट किन्न हनुमानथान चोकतिर गएँ । बाटोमा नारायणगढका एक चिनेका मान्छे भेटिए । छलेर हिँड्न खोज्दा पनि देखिहाले । नजिकै आएर मलाई तलदेखि माथिसम्म नियाले ।

निकै बेरपछि मुस्काउँदै उनले भने, ‘कति दुब्ला’की ! अलि खाने गर । जीउडाल त भरिलो–पोषिलो पो राम्रो !’

मैले भनेँ, ‘दुब्ला’को होइन, स्लिम भ’को । मेरो पेसा नै त्यस्तो छ ।’

ओठ लेब्य्राउँला जस्तो गर्दै उनी एकातिर लागे । ठीकै भयो ।

यता सुइँय्य सिटी बज्यो । यसो हेरेको डिस्को रैछ । उसले सिटी फुक्यो, मोटरहरूको अघि उभिएर हात हल्लायो । अनि गएर रूखमुनि बस्यो । पसलछेउ उभिएर यो सब हेरेँ ।

पसल र घरको दूरी धेरै छैन । पसलको छेउमा एउटा रूख छ । रूखमुनि सुस्ताएर बसिरहन्छ डिस्को । ऊ त्यहीँ सुत्छ । तीस हाराहारीको मानिस छ । उसको साथमा एउटा कुकुर छ । काँसी भनेर बोलाउँछ । पुक्कपुक्क गाला भएको डिस्कोको अनुहारमा अजिबको शान्ति छ । मोटेमोटे, डल्ले छ । कसैले केही दिए हात थाप्छ । माग्दैन । हातमा एउटा सिटी टुट्दैन । बाटोमा भीड बडेपछि आएर फुक्न थाल्छ । ‘ट्राफिक हुँ म’ भन्छ । उसको नरम मिजासकै कारण मानिसहरू उसलाई केही न केही दिइरहन्छन् ।

नजिकै गएँ । उसको खबर सोधेँ । कसैले उसको सिरक चोरिदिएछ । उसले खबर बुझाउँदै गर्दा रूखमा आयो एउटा काग । मैले पीर जताएँ, ‘अब के गर्छौ त ? अहिले त जाडो छैन । जाडो महिनामा के गर्ने ?’

उसले मस्त अन्दाजमा भन्यो, ‘त्यो बेलासम्म कसै न कसैले दिइहाल्छ नि !’

काँसी उसको छेउमा आयो । डिस्कोले उसको गर्दन मुसारिदियो । मैले एउटा ग्लुकोज बिस्कुट डिस्कोलाई दिएँ । उसले धन्यवादको भावमा टाउको हल्लायो । खोल्यो । तीन पुरिया काँसीलाई दियो । एउटा मिचेर कागलाई भन्यो, ‘आइजा खा ।’

डिस्कोलाई फर्कीफर्की हेर्दै म कोठातिर गएँ । मेरो ज्यान साँच्चै गल्दै गएको छ ।

दूध लिएर कोठानजिक पुग्दा घरबेटीको टेलिफोन बज्यो । अडिएर सुनेँ । मैलाई कसैले फोन गरेका हुन् कि ? निर्माता र निर्देशकहरूलाई घरबेटीकै फोन नम्बर बाँडेकी छु ।

फोन मेरो होइन रैछ । बोलाएनन् । कोठाभित्र छिरेँ ।

चियामा सातु घोलेर खाएपछि बीपीको आत्मवृत्तान्त पढ्न थालेँ । बनारस बस्दा एक छाक चनाको झोल र भात खाएको प्रसङ्ग । हिजोदेखि आफैँ पनि त्यसमै अडिएकी छु । मेरो कोठामा त चना पनि छैन !

एक बजे डेराबाट निक्लेर पशुपतिनाथतिर लागेँ । ज्ञानेश्वरमा ठेलामा रसिला तरबुजा देखिए । एक छिन अडिएर हेरिरहेँ । ठेलावालाका आँखा पनि मैतिर सोझिन थाले । अनि हिँडें ।

अलि पर पुगेपछि दुई घोगा हरिया मकै किनेँ । पैसा पनि सकियो ।

ब्यागबाट बोतल निकालेर पानी खाएँ । उमालेर हालेको पानी अझै सेलाएको रहेनछ । तरबुजाको तलतल मन तातो पानीले मेटेन ।

पशुपतिनाथ पुगें । मूल ढोकाबाट भित्र पसें । ज्योतिर्लिङ्ग देखिने गरी वरै बसें, सिँढीमा । मूर्तिलाई एकोहोरो हेरें । आँखामा तलाउ जम्न थाल्यो । आँसु रोकेँ । र मनमनै भनें, ‘शम्भो मलाई बचाइदेऊ मात्र, बाँकी काम त म आफैं गर्छु !’

निकै बेर बसेपछि उठें । कता जाऊँ ! लागें आर्यघाटतिर । धूवाँधूवाँ मानिसको जिन्दगी ! मैले पनि छाडिजाने होला । यो अनित्य चोला । आगोमा पोलिएझैं लागेको यो समय पनि हुने त होला, यसरी नै धूवाँधूवाँ ।

वाग्मती पुल तरेर सिँढी उक्लिएँ । अलि माथि एकातिर तीन–चार जना जोगीले चिलिम तान्दै रैछन् । म त्यतै गएँ । यिनलाई कति आनन्द ! मैले एकोहोरो हेरिरहेँ; उनीहरू मलाई हेरेर हल्का मुस्कुराए । मैले गाँजा मागें एक जनासँग । एकजना ताइरे ज्यानधारीले चुरोटमा गाँजा भरेर सल्काएर दिए । सजिलै, पानी दिएजस्तै ।

मैले गाँजा तानें र धूवाँ घाँटीबाट तल नझारी उडाएँ । ‘खान जानेन’ भन्दै जोगीहरू हाँसे । उडेको धूवाँलाई हेरिरहेँ । धूवाँमै हराइरहेजस्तो लाग्यो मनका सन्तापहरू । वरिपरिका मानिसहरू मलाई हेर्दै हिँडें । भन्नै मन लाग्यो, ‘हे मानिसहरू, हृदयको आगो देखिन्न । देखिन्छ त केवल धूवाँ ।’

यो मादक धूवाँसँगै उडिजान पाए कतै । आहा !!

एक खिली उडाइसकेपछि जोगीहरूलाई ‘जय शम्भो’ भनें । उनीहरूले कोरसमा फर्काए, ‘जय शम्भो !’

म भने आएकै बाटो फर्कें । आरतीको बेला भइसकेको रैछ ।

नीलोनीलो आकाशमुनि कैलाशपतिको यो अखडा । जिस्क्याएर जूनको उज्यालोलाई बल्न थाले दियोहरू । प्रदीप्त पारिदिए हृदयको एउटा कुना ।

‘हे शम्भो तिमी मालिक कैलासको

म महारानी आफ्नै साम्राज्यको

कण्ठभरि बोकेर विष समुद्रको

जसरी मुस्काउँछौ तिमी

पिएर सप्पै सहरको विष एक दिन

के सक्छु होला म पनि उन्मुक्त हाँस्न ?’

मेरो हातमा ‘नगरी’ छ । पल्टिएको पानामा मेरै समाचार छ, ‘अभिनय एक आना, फेसन र नखरा चार आना’ शीर्षकमा । लेखिएको छ—

‘सिनियर कलाकारदेखि पत्रकारसम्म कसैलाई मिजास नदेखाउने सिमरन घमन्डको पोको नै हुन् । सिने क्षेत्रमा प्रवेश गरेको तीन–चार वर्षमै उनले आफ्नो कला र मेहनतले सफलता हासिल गरेकी होइनन् । उनको चलाखी, निर्माता–निर्देशकसँगको उठबस, अरू हिरोइनलाई पाखा लगाउन सक्ने ‘खुबी’ उनी चम्कनुको मुख्य कारण हो । शुक्रबार हिमालयन होटलमा भएको एउटा पार्टीमा हातमा वाइन समातेर हल्लिरहेकी सिमरनले छाती ह्वाङ्ङ देखिने लुगा लगाएकी थिइन् । सहरका प्राय: सबै निर्माता र निर्देशक जम्मा भएको उक्त पार्टीमा सबैको ध्यान आफूतिर खिच्नु उनको उद्देश्य देखिन्थ्यो । रूपक नामका सामान्य निर्मातासँग सिमरनको लामो अफेयर पनि हिमालयन होटलको हलमा पोखिएको थियो । वाइनले ढलपल गर्दै गरेकी सिमरनको कम्मरमा रूपकको हात घरीघरी पुगिरहेको थियो । अभिनयमा दक्खल भएका तर नखराले चलखेल गर्न नसक्ने नायिकाहरू सिमरनकै कारण ओझेलमा छन्... ।’

समाचारमा फोटो चाहिँ गाउनमा पोखिएको वाइनको दागसहितको थियो । वाइन लिन निहुँरिँदै गर्दा देखिएको क्लिभेजसहितको अर्को फोटो पनि थियो ।

केही वर्षअघि श्रीषा कार्कीले यस्तै समाचारका कारण आत्महत्या गरिन् । उनका लागि म कति रिसाएकी थिएँ ! आज रिस उठेन; मेरा नौनाडी गले । यो समाचार बाआमाले पढे के भन्लान् ? के भन्लान् आफन्तले ? अरूका बारेमा पढ्दा त हिरोइनका बारेमा यस्तो लेखेछ भन्दै पत्रिका हेर्थे !

निर्माताहरूसँग साँठगाँठ ! सुनाकोठीतिर कुन मारवाडीले घर पनि किनिदिएको छ रे मलाई ! आफ्नो कमाइचाहिँ फ्ल्याटको भाडा तिर्दातिर्दा सकिन्छ !

फेसबुक खोलेर हेरें । फिल्म उद्योगका केही मानिसले लेखको स्क्रिनसट सेयर गरिसकेछन् । मेरो छाती ह्वाङ्ङ परेको छ । नशामा मदहोस भएजस्ता आँखा । ढल्केको ज्यान । बीचसडकमा नाङ्गै छुजस्तो लाग्यो ।

मोबाइल बज्यो । उठाइनँ । पत्रिका कुनामा मिल्काएर बसिरहें, एकै ठाउँ । कम से कम रूपक दाइसँग त नाम नजोडिदिएका भए हुने नि ! भोलिदेखि म कसरी बाहिर निस्कनु ! घर कसरी जाने होला ! यहीँ घरबेटीले के सोच्ने होलान् ! कहाँ लुकाउने होला मैले आफूलाई !

राति आठ बजेको समाचारको धुन बजेको सुनियो, छिमेकको टीभीमा । दूध तताएँ; ओछ्यानमा बसेर पिएँ र ग्लास छेउमा राखेर पल्टिएँ । तेजाबले शरीरमा पोलेसरि पोल्यो । सरेयाम बीच सडकमा राखेर कसैले ढुङ्गा हानेसरि दुख्यो ।

उठेर दराज खोतलें । अर्जुन–कृष्ण संवाद पढ्न कोसिस गरें । सकिनँ । कसरी भन्छौ कृष्ण– यो तिमीलाई दुखेको होइन, फगत भ्रम हो भनेर ? तिम्रो शरीर र आत्मा फरक हो भनेर ? सास आएर घाँटीमा रोकिन्छ जस्तो भयो । युट्युबमा ‘महाभारत’ खोजेँ ।

मर्छुजस्तो लागेको दिन ‘महाभारत’ हेर्ने गर्छु । यो जीवनमा कर्मले अघि बढ्छु जस्तो लागेको दिन ‘महाभारत’ हेर्छु ।

घरको सम्झ्ना आयो । अनि सम्झिएँ ती साँझहरू । बाको लयात्मक आवाजमा ‘महाभारत’ का श्लोक सुनिरहेको । ‘आज कोही रुन पाउँदैन, नत्र म पढ्दिनँ’ भन्दै लगाएको घुर्की । वरिपरि हामी बसेको । ‘हुन्छ, रुन्नौँ’ भनेर वरिपरि बसेर सुनेका कथा । सुरु भएपछि मनमा छाएको बादल । नथामिएर भिजेका आँखा । बाहुलाले पुछेको आँसु । अभिमन्युको चक्रव्यूहको कथा सुरु नहुँदै रुन थाल्थेँ म । एक छिनमा रुनुपरिहाल्छ, देर किस बात की भने जस्तो गरी † बा मलाई हेरिरहन्थे । अनि पुस्तकको पानो बन्द गर्थे ।

बा, आज म आफैँ चक्रव्यूहमा परेकी छु ! म मर्छु कि निस्कन्छु होला, बा ?

कामेको हातले युट्युब अन गरेँ । ‘द्रौपदीको चीरहरण’ । दु:शासनले घिसार्दै सभामा ल्यायो । एकएकले अपमान गरे । भीष्म, द्रोण र विदुरले शिर निहुर्‍याए । उनका पाँच पतिले शिर निहुर्‍याए । अनि तान्न थाल्यो दु:शासनले सारी । ‘कृष्ण ! कृष्ण !’ पुकार्छिन् द्रौपदी । छोपिदिन्छन् लाज कृष्णले ।

हे केशव, द्रौपदीको त तिमी थियौ; म पुकारूँ कसलाई ?

-सरला गौतमको भर्खरै प्रकाशित उपन्यास ‘डुमेरो’ अंश

प्रकाशित : श्रावण २४, २०७७ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×