स्त्रीरत्‍न-१९९२

१९९२ को ‘शारदा’ मा ‘स्त्रीरत्न’ कथा लेखेर पुरस्कृत भएकी कुमारी तुषारमल्लिका को थिइन् ? यसबाहेक उनले अरु साहित्यिक रचना किन प्रकाशित गरिनन् ?
सुमनराज ताम्राकार

आधुनिक नेपाली कथाको प्रस्थानविन्दु मानिने ‘नासो’ का लेखक गुरुप्रसाद मैनालीको नाम धेरैले सुनेका छन् । तर, पहिलो नेपाली नारी कथाकार कुमारी तुषारमल्लिकाको नाम सुन्ने कमै होलान् । संयोग के भने दुवैको पुर्ख्यौली घर काभ्रे हो– मैनालीको कानपुर हो भने तुषारमल्लिकाको बिहाबर, कुशादेवी ।

स्त्रीरत्‍न-१९९२

तुषारमल्लिका प्रसिद्ध साहित्यकार सुब्बा देवीप्रसाद सापकोटाकी नातिनी हुन् । १५ वर्षकै हुँदा ‘शारदा’ पत्रिकामा (१९९२ असार) तुषारमल्लिकाको ‘स्त्रीरत्न’ कथा प्रकाशित भएको थियो ।

काभ्रेकै साहित्यकर्मीलाई समेत उनीबारे खासै थाहा छैन । पनौती साहित्य समाजले ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ प्रकाशनको तयारी गरिरहँदा दसैं–तिहारको छेकोमा हामीबीच उनको चर्चा भयो । लामो प्रयासपछि दीपक अर्यालको सहयोगमा मदन पुरस्कार पुस्तकालयमा संचित माइक्रोफिल्मिङबाट उनको ‘स्त्रीरत्न’ कथा झिकाइयो र उक्त विशेषाङ्कमा समेट्न सफल भइयो । विशेषाङ्कमा तुषारमल्लिका कुशादेवी, काभ्रेका देवीप्रसाद सापकोटाको छोरी भनेर उल्लेख गर्‍यौं तर हामी गलत ठहरियौं । हामीले साभार गरेको पुस्तकमा उनीबारे गल्ती लेखिएको रहेछ ।

२०७३ सालमा प्रकाशित अन्वेषक शिव रेग्मीको एउटा आलेख भर्खरै हाम्रो हात पर्‍यो । रेग्मीले तुषारमल्लिकाबारे धेरै तथ्य थाहा पाएका रहेछन् । रेग्मी लेख्छन्, ‘शारदा (मासिक) पत्रिका वर्ष १ अंक ५, १९९२ साल असार महिनामा ‘स्त्रीरत्न’ शीर्षक कथा छपाएर एक वर्षको शारदा पत्रिका पुरस्कारस्वरूपमा उपहार पाउने कुमारी तुषारमल्लिका को थिइन् ? यो एउटा कथाबाहेक उनले अरू साहित्यिक रचनाहरू किन प्रकाशित गरिनन् ? उनीबारे जान्ने सुन्ने व्यक्तिमध्ये जीवित एक मात्र युगकवि सिद्धिचरण श्रेष्ठ रहेको र उनीबाट केही जानकारी पाउन सकिन्छ कि भनी मैले २०४८ सालमा ‘शारदाकी स्त्रीरत्न’ शीर्षक एक लेख लेखेको थिएँ । तर, लेख अथवा पत्रिका निक्लँदा एकातिर सिद्धिचरण श्रेष्ठको निधन भइसकेको थियो भने अर्कोतिर त्यति धेरै प्रचार नभएकाले हो वा अन्य कुनै कारणले हो कतैबाट कुनै प्रकारको प्रतिक्रिया वा जानकारी प्राप्त हुन सकेन ।’

अन्ततः निराश भएका रेग्मीका आँखीभौं एकाएक उचालिन्छन्, २०५२ वैशाख ९ गते शनिबारको गोरखापत्रमा छापिएको एउटा श्रद्धाञ्जली देखेपछि । श्रद्धाञ्जली विज्ञापन रहेछ— श्रीमती तुषारमल्लिका जोशीको निधनको वार्षिक पुण्यतिथिको । उक्त विज्ञापन विराटनगर निवासी तुषारमल्लिकाका माहिला छोरा रवीन्द्रनाथ जोशी र उनको परिवारका तर्फबाट छापिएको थियो । श्रद्धाञ्जली देखेपछि गोरखापत्र संस्थानमार्फत तुषारमल्लिकाकी माहिली छोरी बिना आचार्यसँगको भलाकुसारीपछि सो लेख लेख्ने अवसर प्राप्त भएको रेग्मीले उल्लेख गरेका थिए ।

***

१९६५ सालतिर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाको कोपभाजनमा परी सुब्बा देवीप्रसाद सापकोटा (१९३०–२०१०) ले आफ्नो सर्वस्व गुमाएका थिए । त्यसपछि उनी भारत निर्वासित भए । उनका माहिला छोरा–बुहारी लक्ष्मीप्रसाद र बसुन्धराकी माहिली छोरीका रूपमा तुषारमल्लिकाको जन्म भएको रेग्मीले उल्लेख गरेका छन् ।

बनेपाको ‘अक्षरधाम’ मा प्रकाशित सुनील सापकोटा (तुषारमल्लिकाका भदा) को लेखमार्फत थप कुरा थाहा भयो । देवीप्रसाद सापकोटा बनारसमा निर्वासित छँदा विसं १९७७ मंसिरको बालाचर्तुदशीका दिन त्यहीं तुषारमल्लिकाको जन्म भएको उनले उल्लेख गरेका छन् । यस हिसाबले तिथिअनुसार, आइतबार (भोलि) तुषारमल्लिकाको शतवार्षिकी हो ।

सुनील सापकोटाका अनुसार, म्याट्रिकसम्मको शिक्षा प्राप्त गरेकी तुषारमल्लिकाको १९९२ मा पूर्वोत्तर भारतस्थित सिलोङनिवासी जोशी थरका इन्डियन आर्मीसँग विवाह भएको थियो । १९९० को महाभूकम्पलगत्तै लेखिएकाले होला, ‘स्त्रीरत्न’ कथाको प्लट पनि भूकम्पकै छ । ‘शारदा’ पत्रिकाले त्यसबेला कथा प्रतियोगिता गरेको थियो । प्रतियोगितामा विश्वेश्वरप्रसाद कोइरालालाई पछि पार्दै तुषारमल्लिका पुरस्कृत भएकी थिइन् । ‘शारदा’ को सम्पादन मण्डलले लेखेको थियो, ‘गतांकको सूचनाबमोजिम पुरस्कारयोग्य लेख यही ठहर्‍यो । एउटी लेखिकालाई पुरस्कार दिन पाउँदा वास्तवमा हामीलाई हर्ष लागेको छ ।’

१५ वर्षमै कथा लेखेर पुरस्कृत भएकी तुषारमल्लिकाका अन्य रचना कतै छापिएको देखिँदैन । तर, उनका भदा सुनील सापकोटा लेख्छन्, ‘तुषार फुपूले बनारसमै छँदा कविताहरू पनि लेखेर ‘गोरखा’ पत्रिका र हिन्दी भाषिक ‘हंस’ मा प्रकाशित गरेकी थिइन् ।’ ज्ञात रहोस्, राणाशासनविरुद्ध धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीलाई सम्पादक बनाई ‘गोरखा’ पत्रिका निकाल्ने उनका हजुरबुबा देवीप्रसाद सापकोटा नै थिए ।

सुनील भन्छन्, ‘जीवनको अधिकांश समय भारतको सिलोङमा बिताएकी तुषारमल्लिका जीवनको उत्तरार्द्धतिर सिलोङको आफ्नो श्रीसम्पत्ति बेचेर काठमाडौंमा बस्न आउनुभएको थियो । सिलोङमा हुनेखाने परिवारमा पर्थ्यो, फुपू–फुपाजूको परिवार ।’ तुषारमल्लिकाको मृत्यु ५० को दशकमा काठमाडौंमा भएको थियो ।

प्रज्ञा प्रतिष्ठानकी पूर्वप्राज्ञ सुलोचना मानन्धर भन्छिन्, ‘हामीले यसअघि पहिलो नेपाली नारी कथाकार मोतीलक्ष्मी ठानेका थियौं । अहिले आएर नयाँ सूचना पाइयो ।’ नेपाली सामान्यज्ञानका पुस्तकमा पनि पहिलो नारी कथाकारका रूपमा मोतीलक्ष्मीकै नाम उल्लेख छ ।

पहिलो नेपाली नारी कथाकार तुषारमल्लिकालाई हामीले किन यथोचित सम्मान दिन सकेनौं ? धुलिखेल नगरपालिकाले धुलिखेल डाँडामा गुरुप्रसाद मैनालीको सालिक निर्माणको योजना बनाएझैं पनौती नगरपालिकाले पनि कुशादेवीमा तुषारमल्लिकाको सालिक किन नबनाउने ?

प्रकाशित : मंसिर २७, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?